कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वृत्तान्त : सेयर्ड मदरहुड

सेयर्ड मदरहुडको अर्थ अनिवार्य रुपले एक साथी जैविक प्यारेन्ट हुनु र अर्को पार्टनर गर्भावधि प्यारेन्ट हुनु हो । र, यो प्रविधिले लेस्बियन, एकल महिला तथा अन्य क्वेर युगलका लागि सन्तान प्राप्तीको नयाँ बाटो सृजना गरिदिएको छ ।
कल्पना वान्तवा

ओई ! बतासे, खोटी कर्म, हरामी, पुङमाङे...!’ भनेर बाबुको टुंगो नलागेका मानिसलाई हियाएर बोल्ने, खिल्ली उडाउने र हेप्ने दिन अब तुरिए ! आमाले बच्चाको बाबु नचिनाउँदा वा चिनाउन नसक्दा आमाको चरित्रमा खोट लगाउने जमाना पनि ‘उहिलेका कुरा खुइलिए’ भइसक्यो । म मेरो सन्तानको बायोलोजिक बाबुबारे बताउन चाहन्नँ भने देश–दुनियाँ र समाजले जेसुकै सोचोस्, मलाई बालै फरर !

वृत्तान्त : सेयर्ड मदरहुड

कल्पना गरौं, लेस्बियन दम्पतीसँग आ–आफ्नो पाठेघर छ र उनीहरू सन्तान चाहन्छन् भने उनीहरूको दिमागमा सुरुमा आउने विचार भनेको या त धर्मपुत्र/धर्मपुत्री पाल्नु वा आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन अर्थात् पाठेघरबाहिर डिम्ब र शुक्रकीटको निषेचन) रोज्नुहुनेछ । दुवै विकल्प सही छन् । तर, आफ्नो बच्चाको जन्ममा दुवैको प्रत्यक्ष संलग्नता भइदिए कति खासा हुन्थ्यो भनेर ति समलिंगी दम्पतीले कल्पना गर्छन् र अहिले आएर यस्तो कल्पनाले साकार रूप लिएको छ । यो प्रविधि–प्रक्रियालाई ‘सेयर्ड मदरहुड’ (साझा मातृत्व) भनिन्छ । र, यसको थालनी भइसकेको छ, जसबाट धेरैभन्दा धेरै महिला समलिंगी जोडीले यो प्रक्रिया अंगीकार गरिरहेका छन् ।

सामान्यतया आईभीएफ अर्थात् इन भिट्रो फर्टिलाइजेसन (पाठेघरबाहिर निषेचन) प्रविधिबाट बच्चा जन्माउने प्रक्रिया धेरै पहिले सुरु भइसकेको हो । अहिलेको समयमा आईभीएफ उतिसारो उदेकलाग्दो रहेन । आईभीएफमा डिम्ब र शुक्रकीटलाई ल्याबमा एउटा ट्युबमा राखेर निषेचन गराइँदै इन्क्युबेट गराइन्छ, र तीनदेखि पाँच दिनभित्र त्यो भ्रूणलाई टेस्टट्युबबाट निकालेर महिलाको पाठेघरमा राखिन्छ । पाठेघरमा भ्रूणलाई स्थापित गर्ने क्रिया सफल भएपछि प्राकृतिक रूपमा जस्तै गर्भको बच्चा नजन्मिउन्जेल गर्भाशयमा रहन्छ । केही दिनसम्म जननीको देहबाहिर टेस्टट्युबमा बसेको कारण नै यो प्रक्रियाबाट जन्मेकालाई ‘टेस्टट्युब बेबी’ भनिएको हो ।

ब्रिटेनका एक महिला समलिंगी (लेस्बियन) जोडीले सन् २०१९ अक्टोबरमा छोरा ओटिसलाई जन्माए । पत्नी लान्स कर्पोरल डोना फ्रान्सिस स्मिथले एघार वर्षसम्म एक फौजी अधिकृतको रूपमा ब्रिटेनबाट गएर अफगानिस्तानमा एघार वर्षसम्म सेवा गरिन् । पति ज्यास्मिन लन्डनमै एक डेन्टल नर्सको रूपमा कार्यरत् थिइन् । सन् २०१४ मा पहिलो पटक अनलाइनमा भेटेर साथी बनेका उनीहरूले सन् २०१८ को अप्रिलमा बिहे गरेका थिए ।

डोना र ज्यास्मिनले चलनचल्ती भन्दा बिलकुलै भिन्न प्रविधिबाट ओटिसलाई जन्म दिए । ओटिसको शरीरले दुवै आमाहरूको रगत पाएको छ । डोना र ज्यास्मिन दुवैले आफ्नो बच्चाको आमा बन्ने सौभाग्य पाए । उनीहरूले कृत्रिम इन्क्युबेसन नगरी आफ्नै गर्भाशयमा इन्क्युबेट गरे । दाताबाट लिइएको वीर्य र पत्नी डोनाको डिम्बलाई लघु क्याप्सुलमा केही समय ल्याबमा राखियो । फर्टिलाइज्ड अर्थात् निषेचन हुनासाथ इन्क्युबेट हुन्जेल त्यो क्याप्सुललाई डोनाकै गर्भमा अठार घण्टासम्म राखियो र त्यो फुटेर युग्मज बनेपछि डोनाकै पाठेघरमा टाँसिएकाले वृद्धि–विकासका निम्ति आवश्यक रगत र खुराक सो भ्रूणलाई त्यहीं प्राप्त भयो । तत्पश्चात् भ्रूणलाई पति ज्यास्मिनको कोखमा सारियो अनि पूरा गर्भ अवधिभरि ज्यास्मिनले गर्भधारण गरिन् र बच्चालाई जन्म दिइन् ।

टेस्टट्युबमा राखिएको भ्रूणलाई गर्भाशयमा सफलतासाथ बस्नलायक बनाउन ल्याबको कृत्रिम परिवेशमा तीन दिनदेखि पाँच दिनसम्म लाग्छ, तर डोनाहरूको मामिलामा डोनाले मात्र अठार घण्टा आफ्नो पाठेघरमा भ्रूण राखिन् । आमाको पाठेघर भ्रूणका लागि एकदम अनुकूल र प्राकृतिक हुने भएकाले भ्रूणलाई अर्को गर्भमा स्थानान्तर गर्नका लागि अठार घण्टा पर्याप्त हुन्छ भनिन्छ ।

कोलचेस्टर, एसेक्सको एक अस्पतालमा ज्यास्मिनले छोरा जन्माएपछि बीबीसीलगायत, टेलिग्राफ, डेली मेल, मेल अनलाइन आदिले पनि यो खबरलाई प्राथमिकतामा राखेर प्रसारण गरण्को थिए । नौलो प्रविधिद्वारा यिनले सन्तान प्राप्त गरेको कारण होला उतिबेला यो लेस्बियन जोडीबारेका खबर ब्यापक र बहुचर्चित बनेका थिए ।

युनिभर्सिटी अफ साउथह्याम्पटनको कमप्लिट फर्टिलिटी सेन्टरका निर्देशक प्रोफेसर निकोलस माकलनका अनुसार, सेयर्ड मदरहुडको अर्थ अनिवार्य रूपले एक साथी जैविक प्यारेन्ट हुनु र अर्को पार्टनर गर्भावधि प्यारेन्ट हुनु हो । र, यो प्रविधिले लेस्बियन, एकल महिला तथा अन्य क्वेर युगलहरूका लागि सन्तान प्राप्तिको नयाँ बाटो सृजना गरिदिएको छ ।

दुवै प्यारेन्टले बच्चासँगको एउटा विशेष किसिमको सम्बन्ध साझा गर्छन्, चाहे त्यो बच्चा गर्भमा बोकेर होस् या त डीएनए सेयर गरेर होस् । दुवै जन्मदातामा आफ्नो सन्तानको सृष्टिप्रति मातृत्वको आधारमा आफू बराबरी सम्बन्धित भएको अनुभव पनि सृजना हुन्छ यसमा । प्रोफेसर म्याकलन बताउँछन्— धेरैजसो मुलुकमा यो प्रविधिको विकास फैलिएर धेरै दम्पतीले यसबाट लाभ लिएका छन् । यसले दुवै आमालाई मातृत्वको महान् अनुभवसँग साक्षात्कार हुने मार्ग प्रशस्त गर्दै अपार भावनात्मक सन्तुष्टि प्रदान गरे तापनि कतिपय देशहरूमा सेयर्ड मदरहुड अझै अवैधानिक छ ।

‘सेयर्ड मदरहुड’ नाउँ दिइएको यो प्रविधिबाट ज्यास्मिन र डोनाले बच्चा जन्माएको घटना विश्वमै प्रथम हो भनेर सन् २०१९ डिसेम्बर ४ को बीबीसी न्युजमा, लन्डन विमेन्स क्लिनिकका म्यानेजिङ तथा साइन्टिफिक डाइरेक्टर डाक्टर कमल आहुजा बताउँछन् । जे होस् ! त्यसयता शारीरिक तथा मानसिक रूपले योग्य सारा महिला समलिंगी जोडीलाई यो प्रविधिबाट बच्चा पाउन र साझा मातृत्वको गौरवशाली अनुभव प्राप्त गर्न लन्डन विमेन्स क्लिनिकले ढोका खोलिदिएको छ । लन्डन विमेन्स क्लिनिक, यूकेका टप इनफर्टिलिटी क्लिनिकमध्ये एकमा पर्छ ।

डोना टेलिग्राफलाई भन्छिन्, ‘यो सुखद अनुभव बाडिरहँदा हामी अभिभूत भएका छौं । किनकि समलिंगी महिला युगलमा बच्चाप्राप्तिको सम्पूर्ण प्रक्रियामा एक जनाले आवश्यक सबथोक गर्छिन् र अर्को एक जना गर्भवती भएर बच्चा जन्माउँछिन् । तर, हामी दुवै यो प्रक्रियामा बृहत् रूपमा सँगसँगै सामेल भएका छौं, जसले हामीलाई भावनात्मक तवरले झन् धेरै नजिक ल्याएको छ । हुनलाई हामी घनिष्ट दम्पती त हौं नै, तर साझा मातृत्व भोगाइले हामी दुवै ओटिससँग विशेष किसिमले सम्बन्धित रहेको लगाव महसुस गर्दैछौं, जुन यही माध्यमका कारण हो ।’

लन्डन विमेन्स क्लिनिकका एक प्रवक्ता, जसले यो प्रक्रियालाई सम्पन्न गरे, उनी भन्छन्, ‘दोस्रो आमाको गर्भाशयमा स्थापित हुनुपहिले यो प्रक्रियाले भ्रूण र प्रथम आमाबीच हुने अन्तरक्रियालाई मार्ग प्रशस्त गर्छ । जीवित पर्यावरणमा फर्टिलाइजेसन हुँदा दुवै मातालाई गर्भावस्थामा भ्रूणसँग व्यावहारिक र भावनात्मक आसको सम्बन्ध हुने अनुभव मात्र नभएर, भ्रूणलाई महत्त्वपूर्ण पोषक तत्त्व र अन्य आवश्यक पदार्थ पनि आमाको कोखको प्राकृतिक पर्यावरणले प्रदान गर्छ ।’

१०० भन्दा बेसी बच्चा लेस्बियन जोडीले कृत्रिम इन्क्युवेसनद्वारा जन्माइसकेका भए पनि यो ‘सेयर्ड मदरहुड’ चाहिँ डोना र ज्यास्मिनले जन्माएको प्रविधिबाट विश्वमै पहिलो हो, जसमा दुवै जननीले बहुतै खास प्रकारको योगदान गरेका छन् ।

कुनै बखत, अवैध गर्भधारण गरेको अभियोगमा महिलालाई समाजको अघिल्तिर उभ्याएर गाउँमा पञ्चैती बसेका तथाकथित् ठूला ठालुहरूले केरकार गर्ने गर्थे । लाज, अपमान र क्षोभले त्यही क्षण धर्तीमै भासिइजाऊँ भइरहेकी असहाय नारीउपर ‘तेरो गर्भको बच्चाको बाबु को हो भन् !’ जस्ता निकृष्ट शब्दबाण तारन्तार प्रहार गरिरहेका दृश्य सम्झँदा अहिले मलाई उधुमै छटपटी र असह्य पीडा हुन्छ, कस्तो परपीडक थियो त्यो बेला र समय भनेर !

त्यसबखत आफू सानी मान्छे, त्यो लज्जास्पद परिवेशको रमिते हुनुबाहेक कसैलाई ‘किन यस्तो हुँदै छ ?’ भनेर सोध्ने ह्याउ नै थिएन ।

तर अहिले सोच्छु, अब कसले सोध्न सक्छ कुनै नारीलाई कि तिम्रो यो बच्चाको बाबुचाहिँ को हो नि ? भनेर ! कसले गर्न सक्छ कुनै महिलालाई यो सोध्ने दुस्साहस कि तिमीले कुन पुरुषको वीर्यसँग आफ्नो डिम्बको समागम गराएर नानी पाएकी हौ ?

यो दुनियाँ–संसारमा कोही कोहीबाहेक को महिला त्यस्ती होली, जो मन–प्राणले प्रेम गरेको मायालुको अंश आफ्नो डिम्ब र रगतसँग मिसाउँदै गर्भमा राखेको बच्चा जन्माउन नचाहोस् ! चाहे जतिसुकै अप्ठ्यारा आइलागून्, भलै थालनीदेखि अन्त्यसम्मको अनुष्ठानमा अधैर्य बनेर पर्खंदै अनेकन जोखिम र चुनौतीको सामना गर्न किन नपरोस्, अत्यन्त प्यारो मानिस र आफ्नो अस्तित्वको हिस्साको साझेदारीमा मातृत्वको अभिमान, गर्व र अमूल्य प्रेमको निसानीलाई जन्माएर त्यो वर्णनातीत सुख र सन्तोकको इच्छा कुन नारीले अन्तरमनदेखि नगरोस् !

साझा मातृत्व अर्थात् ‘सेयर्ड मदरहुड’ नाउँको प्रविधिको फड्कोले ती तमाम नारीको मनोकांक्षा पूरा गरिदिने बाटो खोलिदिएको छ । सबैको जय होस् !

प्रकाशित : असार १२, २०७८ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?