जीवन गीत
कुन शोकमा छ प्रकृति
आकाश रोइरहेछ ।
एकालापमा छन् बाटा
मृत्यु र जीवन, दुवैको
खबर बोकेर
हावा बेतमास बहिरहेछ
बजाउँदै कहिले साइरन झस्काउँछ हुरी
समय पनि कति निर्मम, निष्ठुरी !
बेचैनीले घेरिएछन् मन
झ्यालका चेपचेपमा आँखाहरु च्यापिएछन्
यो रंगीन सहर हो कि मसानघाट
धूवाँमा उडिरहेछन् लासैलास
रोदन र क्रन्दनमा अभिशप्त छन् विश्वास
त्यै पनि ठेलेर विरुवाको टुसाले
ढुंगालाई पल्टाऊँ भन्छ
त्यै पनि छरेर उज्यालो उषाले
अझै जीवन बाँकी छ भन्छ
झरीमा झरिदिएर असरल्ल
शिरीषका फूलले
सारा दुःखलाई फिका बनाइरहेछ ।
प्रकाशित : असार ५, २०७८ १३:४६प्रतिक्रिया