कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

हजार वर्षदेखि पाकिरहेको एक कप चिया

मानव इतिहासका महत्त्वपूर्ण घटना–निर्माणमा कतै प्रतक्ष्य संलग्न र कतै साक्षी हुँदै दक्षिणपूर्वी एसियाको रैथाने एक साधारण बुट्यानको पात (चिया) ले संसार भ्रमण गर्‍यो ।
विकास बस्नेत

संसारमा पानीपछिको दोस्रो प्रचलित पेय हो– चिया । मानव समाजझैं विविधतापूर्ण छ चियाको पेय संस्कृति । चिनियाँहरू सानो कपबाट सुरुप्प पार्छन्, जापानीहरूको विशिष्ट ‘चिया सेरेमनी’ नै छ, तिब्बतीहरू नौनी हाल्छन्, रुसी कागती–चिया मन पराउँछन्, उत्तरी अफ्रिकामा पुदिना हालिन्छ, अफगानीहरू अलैंची हाल्छन् । बेलायतीहरू चिसो दूध र चिनी थप्छन् ।

हजार वर्षदेखि पाकिरहेको एक कप चिया

संस्कृति र धर्म, अन्वेषण र व्यापार, सामाजिक व्यवहार र औद्योगिक क्रान्तिसम्मको कथामा घोलिएर ‘क्यामेलिया साइनेन्सिस’ भन्ने एक बुट्यानको पातले बृहत् भूगोल र लामो कालखण्ड बिताएर यो भव्य लोकप्रियता आर्जन गरेको थियो ।

चिया र चीन

त्यसो त दोस्रो चिनियाँ सम्राट् तथा प्रथम कृषिविज्ञ सेन नोङ (इपू. २७३७–२६९७) चिया चाख्ने पहिलो मानिस हुन् भन्ने मिथक प्रचलित छ । एक पटक पिउने पानी उमालिरहेका बेला नजिकैको एउटा बिरुवाबाट केही पातहरू हावाले उडाएर उम्लिरहेको पानीको भाँडोमा झारेछ (त्यो चियाकै बिरुवा थियो) । पात मिसिएको पानी स्वादिलो थियो र त्यसले सेनलाई फुर्तिलो बनायो । चियाको प्रथम प्रयोगका थुप्रै मिथकमध्ये यो चर्चित छ । (फर अल द टी इन चाइना, सारा रोज) ।

खानाप्रतिको लोभ र जिज्ञासा मान्छेको आधारभूत चरित्र हो । ऊर्जा, स्वाद, शक्ति, उपचार, स्फूर्ति, मात र मृत्युका लागि समेत मानिसले चाखेर प्रयोग नगरेको वनस्पति भेट्न मुस्किल होला । त्यसैले चियाको टर्राे, तीतो स्वाद र स्फूर्तिदायक गुण थाहा पाउन मान्छेले ती सम्राट् सेन नोङलाई पक्कै कुर्नुपरेन । पानीमा उमालेर दैनिक पेयका रूपमा चिया प्रयोग गरिएको पहिलो निर्विबाद प्रमाणचाहिँ इसापूर्व ५९ मा चिनियाँ दरबारका कवि वाङ बाओले दिएका छन् । आफूले खरिद गरेका एक कमारोसँग वाङले गरेको करार–नामामा अन्य घरेलु कामको लामो फेहरिस्तसँगै ‘चिया उमालेर डबकामा हाल्ने’ र ‘वुयाङ (नजिकैको बजार) पुगेर चियापत्ती किनेर ल्याउने’ पनि उल्लेख छ । सम्राट् सुवान (इसापूर्व ५३–५०) को शासनकालमा पूर्वी छेङ्दुको पहाडमा वु लिझेन भन्ने कुनै एक सामन्तले चियाको ७ वटा बोट लगाएको भन्ने अभिलेख छ ।

सिल्क रोडमा ऊँटको क्याराभान र सामुद्रिक रुटमा अरबीको जहाज हुँदै भारत, जापान, कोरिया, मिश्र, मेसोपोटामियाका कुलीनहरूको घर–घरमा चीनको सिल्क, चिया, कागज र सेरामिकको विलासिता पस्यो ।

बौद्ध धर्म र चिया विस्तार

इसाको पहिलो शताब्दीका सम्राट् मिङ दी सपनामा गौतम बुद्ध देखेछन् । त्यसपछि मिङलाई बुद्धको शिक्षाबारे जान्न उत्कट इच्छा जाग्यो । उनले भारतदेखि हालको अफगानिस्तानसम्म आफ्ना दूतहरू पठाए । दूतहरू थुप्रै मूर्ति, संस्कृत भाषाका बौद्ध ग्रन्थ र दुई जना बौद्ध भिक्षु (कश्यप मतङ्गा र धर्मतारा) सहित चीन फर्किए । संस्कृत भाषाको बौद्ध साहित्यलाई चिनियाँ भाषामा पहिलो पटक अनुवाद कश्यप र धर्मताराले नै गरे ।

हान शासनकाल (सन् २५–२२०) तिर पूर्वी चिनियाँ भू–भागमा शृंखलाबद्ध द्वन्द्व सुरु भयो । बौद्ध धर्मप्रति चिनियाँ शासकहरूको उदारता, राजनैतिक उथलपुथल र सामूहिक बसाइँ–सराइँको यो कालखण्ड नयाँ धर्म अनि पेय दुवै विस्तारका लागि उपयुक्त भयो । बौद्धमार्गीहरूमा मद्यपान र मध्याह्नमा ठोस आहरा निषेध थियो । ध्यान र एकाग्रताको अभ्यास चाहिने बौद्धमार्गी–दैनिकीमा निद्रा भगाउने र स्फूर्ति जगाउने निकै उपयोगी पेय बन्यो– चिया । योग, ध्यान, ग्रन्थहरूको अध्ययन–अनुवाद, कर्मकाण्ड, पूजाअर्चना र पाहुना सत्कारमा समेत भिक्षुहरूले चिया प्रयोग गर्न थाले । बौद्ध उपदेशको प्रचार गर्दै किसान, मजदुरदेखि शासकको घरदैलोसम्म पुग्ने भिक्षुहरूले नयाँ धर्म, संस्कार र खाद्य संस्कृतिको संवाहकका रूपमा काम गरे (द टेस्ट अफ एम्पायर, लिज्जी कलिघंम) ।

बौद्ध धर्मसँग चियाको अभिन्न साइनो बोधिधर्म मिथकमा पनि छ । बोधिधर्म भारतबाट बौद्ध धर्म प्रचारका लागि चीन पुगेका थिए । कठोर साधना गरिरहेका बोधिधर्म एक पटक निदाएछन् । ब्युँझँदा आफू तपस्याबाट विचलित भएको थाहा पाएर उनलाई असह्य पीडा भयो । आवेगमै उनले आफ्ना आँखाका दुई ढकनी काटेर मिल्काइदिए । भोलि पल्ट त्यहाँ दुई थान चियाको बोट उम्रिएको देखे । उक्त बिरुवाको पात चपाउँदा उनलाई भित्रैबाट आनन्द, स्फूर्ति र आफ्नो तपस्या अगाडि बढाउने शक्ति पैदा भयो ।

ताङ वंशको (सन् ६०९–९०७) शासनकाललाई चिनियाँ सभ्यताको स्वर्णयुग मानिन्छ । यही समय चीन सबैभन्दा ठूलो, शक्तिशाली र वैभवशाली साम्राज्यका रूपमा उदय भयो । चाङ्गान (हालको सियान) राजधानी कायम भयो । पूर्वाधार, जनसंख्या र चुस्त व्यवस्थापनसहितको भव्य यो महानगर संसारभरिकै सांस्कृतिक केन्द्र बन्यो । फारसी, यहुदी, अरबी व्यापारी, बौद्ध र दाओ धर्म प्रचारक, इसाई मिसनरीहरू त्यहाँ देखिन थाले । सिल्क रोडमा ऊँटको क्याराभान र सामुद्रिक रुटमा अरबीको जहाज हुँदै भारत, जापान, कोरिया, मिश्र, मेसोपोटामियाका कुलीनहरूको घर–घरमा चीनको सिल्क, चिया, कागज र सेरामिकको विलासिता पस्यो ।

ताङ वंशको आरम्भमा चिया र बौद्ध धर्मको एकता झन् झांगियो । तिब्बती पठारमा लडाकु फिरन्ते जातिका नाइके स्रङ चङ गम्पोको नेतृत्वमा तिब्बतको एकीकरण भयो । गम्पोको सम्भावित आक्रमण टार्न चिनियाँ सम्राट ताई जोङले राजकुमारी वेनचेङलाई गम्पोसँग विवाह गराइदिए (द ट्रु हिस्ट्री अफ टी) । सन् ६४१ मा राजकुमारीले याकको लस्करमा लिएर आएको दाइजोमा रेशमकीराको अण्डा, बौद्ध धर्मग्रन्थ र बुद्धमूर्तिका साथमा चिया पनि पर्याप्त थियो । चिया र बौद्ध धर्म एकसाथ यसरी तिब्बत पुग्यो । ताङ वंशको मध्यसम्ममा दाउरा, तेल, चामल, सोया सस र भिनेगरसहित चिया पनि सात प्रमुख दैनिक आवश्यकताको वस्तुमा समावेश भइसकेको थियो (अ हिस्ट्री अफ फुड) । तिब्बतलगायत छिमेकीलाई चियाको मोहमा पारिसकेको चीनले युद्धका लागि आवश्यक घोडासँग चियाको सौदा गर्ने विदेश नीति बनाएको थियो । यही कालदेखि नै चियामा राज्यको पूर्ण एकाधिकार स्थापित भएको हो ।

बुद्ध धर्मकै फेरो समातेर चिया जापान पुग्यो । बौद्ध ग्रन्थको अध्ययन गर्न सन् ८०४ मा चीन पुगेका दुई जापानी भिक्षु साइचो र कुकाईले चियालाई जापान पुर्‍याए । यसको दुई शताब्दीपछि सन् १११९ मा चीनबाट जेन बौद्ध धर्म अध्ययन गरेर जापान फर्केका म्योआन इसाईले चिया र जेन बौद्धधर्मलाई लोकप्रिय बनाए ।

तर, चौधौं शताब्दीमा मंगोल शासनकालमा सुस्ताएको चियाको विस्तार मिङ वंशमा (१३६८–१६४४) ब्युँतियो । चिया पकाउने–पिउने काममा मिहिन र लामा कर्मकाण्डहरू जोडिन थाले । धर्मसँग यसको जरो पहिल्याउँदै चिया पुन: एक पटक आध्यात्मिक र शारीरिक स्फूर्तिका लागि आवश्यक पेयका रूपमा स्थापित भयो । त्यसपछिका शासनकालमा चीनको आर्थिक क्रियाकलापको थप सुदृढ केन्द्र बन्न पुग्यो– चिया ।

चियाको एसिया परिक्रमा

परम्परागत उत्पादन, वितरण, उपभोग प्रणाली र बजार विस्तारको सीमाभित्र रहेर १७ औं शताब्दीसम्म चीनलाई केन्द्र मानेर चिया दक्षिण पूर्वी र मध्यएसियामा फैलियो । अरबी जहाज र सिल्क–रोडको बाटो हुँदै चिया विस्तारको यो पहिलो चरण थियो । नवौं शताब्दीमै अरबका साना पानी जहाजहरू क्यान्टोन

(हालको ग्वान्जाओ) सम्म पुगिसकेका थिए । व्यापारी सुलेमानले त्यो समयमा पनि चियाको व्यापार हुने गरेको उल्लेख गरेका छन् (सिल्क रोड, सिन्रु ल्यु) । पर्सियाका विद्वान् अल विरुनी चियाविज्ञ नै थिए । उता इरानमा भने तेह्रौं शताब्दीमै मंगोलहरूले चिया पुर्‍याइसकेका थिए । चियाको फारसी शब्द ‘चाय’ चिनिया शब्द ‘चा’ सँग निकै मिल्दो छ । यसबाट पनि एसिया र मध्यपूर्वको चिया–यात्रा निकै पुरानो भएको पुष्टि हुन्छ ।

एकाधिकार र ट्रेड सिक्रेट

सोह्रौं शताब्दीमा पहिलो युरोपेली पुग्दा चीन आफ्नो सभ्यता, हैकम, भूगोल र वैभवको उचाइमा थियो । चिनियाँहरू आफूलाई ब्रह्माण्डकै केन्द्र ठान्थे । चिनियाँहरूको संस्कृति र बौद्धिक उपलब्धिको जोडा थिएन । कागज, बारुद, चुम्बकीय कम्पासजस्ता कुनै पनि त्यस्तो प्रबिधि युरोपेलीसँग थिएन, जुन चिनियाँसँग थियो ।

चीन–अर्थतन्त्रका लागि चिया अत्यन्तै महत्त्वपूर्ण थियो । र, चियाको उपभोग अनि व्यापार इतिहासमा सम्पूर्ण समय चीनकै एक्लो पकड रह्यो । चिया खेती, प्रशोधन र उत्पादनसम्बन्धी ज्ञानलाई चीनले ‘ट्रेड सिक्रेट’ का रूपमा कायम राख्यो । सन् १४०९ मा तैमरलिनका छोरा शाह रूखले चीनको दरबारमा पठाएका दूत फर्कने बेला चियाको बीउ/बेर्ना तस्करी गरेको हुन सक्ने आशंकामा उनको शरीर खानतलासी गरिएको थियो । सन् १८२४ मा कसैगरी ७० लाख बीउ तस्करी गरेर भागेका डच इस्ट इन्डिया कम्पनीका लेभाइन ज्याकोबसनलाई चीनले टाउकोको मोल तोकेको थियो (अल अबाउट टी, हेलेन सवेरी) । ब्रिटिस इस्ट इन्डियाका लागि चियाको बेर्ना तस्करी गरेर ल्याएका रोबट फच्र्युनको कथा जासुसी उपन्यासको झल्को दिने खालको छ । चीनलाई आधार बनाएर संसारमा चिया–विस्तारको यो पहिलो अध्याय थियो ।

चियाको युरोप यात्रा

सोह्रौं–सत्रौं शताब्दीमा युरोपका कुलीनहरूमा केही विशिष्ट रुचि विकास भए– विदेशी उपभोग्य सामग्रीले शरीर, आवास र थाली सजाउने । लामा दूरीका व्यापारले मानिसको खान्की, ओखती र उपभोग संस्कृतिमा व्यापक परिवर्तन ल्याउन थाल्यो । सन् १५०० देखि १८०० भित्र अन्तर–महादेशीय व्यापार फस्टाइसकेको थियो । एसियालाई भू–मध्यसागरसम्म सिल्क रोडले जोडेको थियो भने मरीच, मसला, पस्मिना र चिया व्यापारिक वस्तु थिए । यस्तैमा कानेखुसी हुँदै गाइँगुइँ गफमा युरोप पुगेको थियो चिया ।

युरोपेली अभिलेखमा चियाको पहिलो उल्लेख भेनिसका अधिकारी जिओभानी बाटिस्टा रामुसियोले सम्पादन गरेको यात्रा वृत्तान्तको ठेलीमा छ । उनले फारसी व्यापारी हाजी मोहम्मदको मुखबाट अरबमा प्रचलित पेय ‘चाय’ बारे सुनेको लेखेका छन् । पूर्व र पश्चिमको व्यापारिक–सांस्कृतिक संगम थियो– भेनिस । मध्यपूर्वमा त्यसबेलासम्म फाट्टफुट्ट चियापसलहरू खुलिसकेका थिए । यस्तोमा पहलो पटक सन् १६१० मा नेदरल्यान्डको पानीजहाजले जापानबाट पहिलो पटक व्यापारिक प्रयोजनका लागि चिया लिएर आयो । त्यहाँबाट फ्रान्समा सन् १६४० मा र बेलायतमा १६५० मा चिया पुग्यो । युरोपेलीका लागि यो पेय विल्कुल बिरानो थियो । सन् १६८५ मा मनमाउथको ड्युककी विधवा पत्नीले एक पाउन्ड चिया स्कटल्यान्डमा रहेका आफ्ना आफन्तलाई उपहार पठाइछिन् । प्रयोग–विधि थाहा नपाएर नोकरले पानीमा भकभक चियापत्ती उमालेछ, अनि पानी फालेर चियाको छोक्रालाई सागझैं पस्केछ (टी : अ ग्लोबल हिस्ट्री) ।

चिया, दूध र चिनी

मकाउ र क्यान्टोनका मञ्चु शासनका अधिकारीहरूले दूध चिया पिएको र सन् १६५५ मा आफूलाई पनि पिउन आग्रह गरेको डच व्यापारी जोहाननले लेखेका छन् । युरोपमा भने फ्रान्सेली सम्भ्रान्त म्याडम डेला सेभाइनेले एक बिरामी साथीलाई लेखेको पत्रमा चियामा दूध मिसाएर पिउन सल्लाह दिइएको छ । त्यसयताका युरोपेली पेन्टिङहरूमा टी–पट सेटछेउमा दूधको जग पर्याप्त देख्न सकिन्छ । सम्भवत: महँगा चिनियाँ सेरामिक्सहरू तातो चियाले फुट्ने भएकाले दूध हालेर चिस्याउन थालिएको हुन सक्छ (टी : अ ग्लोबल हिस्ट्री) । तर, फ्रान्समा कफी र चकलेटका अगाडि चियाको प्रभाव जम्न सकेन । दूध मात्रै होइन वेस्ट इन्डिजको उखुबाट उत्पादित चिनी पनि युरोपमा आएर चियासँग मिसियो । युरोपेलीको नियमित भोजनमा धरतीका दुई कुनाबाट आएका खुराक एक ठाउँ जोडिनु अर्काे छुट्टै रोचक कथा हो ।

बेलायत र चिया

सन् १६६२ मे १३ का दिन चौधवटा बेलायती युद्धपोत पानीजहाज पोर्ट्समाउथ बन्दरगाहमा प्रवेश गर्‍यो । बाटोमा आँधी आएकाले तीन साताअघि पोर्चुगलको लिसबनबाट हिँडेका सवारी रोकिएका थिए । मूल पानीजहाज ‘चाल्र्स’ मा भीआईपीको सवारी थियो । जहाजमा पोर्चुगलकी राजकुमारी क्याथरिन थिइन् । आफ्नो आगमनको सूचना दिँदै हुनेवाला पति, बेलायतका राजा चाल्र्स द्वितीयलाई उनले पत्र पठाइन् ।

६ दिनपछि चाल्र्स पनि पोर्ट्समाउथ पुगे । त्यही बिहान उनीहरूको विवाह भयो । ऋणमा डुबेका चाल्र्सलाई दाइजोमा पाँच लाख स्टर्लिङ पाउन्ड नगद दिइने प्रस्तावले विवाहसम्म पुर्‍याएको थियो । अन्तत: आधा मात्रै नगद दिन सक्ने भनिएपछि विवाह झन्डै रोकिएको थियो । नगदबाहेक आधा रकमबराबरको मरमसाला र चिनी दिइने प्रस्तावले विवाहको कुरो फेरि अगाडि बढेको थियो । भनेजस्तो दाइजो नपाएकाले बेलायत र पोर्चुगलको सम्बन्ध पछिसम्म पनि राम्रो हुन सकेन । तथापि पोर्चुगलबाट दाइजोका अन्य सामग्रीका साथमा चाल्र्सले ल्याएका दुई चीजले बेलायत, विश्व र चिया संस्कृतिको समेत इतिहास बदलिदियो । ती दुई चीज थिए– चियाको बाकस र बेलायतलाई बम्बईको व्यापारिक बन्दरगाह प्रयोगको अधिकार ।

चियाको लत लागेकी क्याथरिनले सम्भ्रान्त–सर्कलमा यसलाई स्थापित गरिन् भने बम्बईको व्यापारिक र सामरिक महत्त्वको बन्दरगाहले बेलायतलाई चिया व्यापारका लागि रणनीतिक पकड दियो । बेलायतमा चिया स्थापित हुनु र व्यापारको माध्यमबाट बाँकी दुनियाँसँग बेलायतको अद्वितीय सम्बन्ध विस्तारको हुनुको एउटै आधार चाल्र्स–क्याथरिन विवाह थियो ।

इस्ट इन्डिया कम्पनी

इस्ट इन्डिया कम्पनीको स्थापना हुनु नै विश्वव्यापी चिया विस्तारको अर्काे आरम्भ थियो । इस्ट इन्डिया कम्पनीलाई बेलायतले इस्ट इन्डिज मुलुकहरूबाट वस्तु आयात गर्ने एकाधिकार दिएको थियो । सन् १६०० मा स्थापना भएर १६१० मा हिरादोमा यसको पहिलो कार्यालय स्थापना भयो । आरम्भमा सीधै चीनसँग पहुँच थिएन, त्यसैले राजा चाल्र्सको चाकरीका लागि कम्पनीले नेदरल्यान्ड्ससँग किनेर चिया दरबार पठाउने गथ्र्याे । चिया र अन्य उपहारसँग प्रभावित दरबारले कम्पनीलाई जमिन अधिग्रहण गर्न सक्ने, मुद्रा निकाल्ने, सेना राख्ने, युद्ध तथा सम्झौता गर्नेदेखि न्याय निरूपणसम्मका असीमित अधिकार प्रदान गर्‍यो । सानो व्यापारिक फर्मको रूपमा स्थापित एउटा संस्था एक शताब्दी–अवधिमा बेलायती औपनिवेशिक शक्तिको खास मानक बन्यो ।

आरम्भमा कम्पनीले पूर्वबाट मरीच, दालचिनी, अलैंची र जाइदानाजस्ता मसला ल्याएर युरोपमा बेच्थ्यो । जहाजका अधिकारीहरू लुकाएर वा सहुलियतमा पाएको कार्गाे कोटामा फाट्टफुट्ट चिया ल्याउँथे । यसरी ल्याइएको चियाले बजारलाई थोरै भए पनि भरथेग गर्‍यो र चिया संस्कृति टिकाइरहन सहयोग पुर्‍यायो ।

कफी हाउसमा चिया बिक्री ! महिलाका लागि छुट्टै आउटलेटको व्यवस्था ! पत्रपत्रिकामा आउने चिया–विज्ञापन ! र, चियाको औषधीय गुणबारे डाक्टरहरूको प्रेस्क्रिप्सन ! यी इत्यादि कुराले चिया–विस्तारमा सहयोग पुर्‍यायो । तर, धेरै कुलीनका लागि पछिसम्मै चिया–सेवन केवल विलासिता थियो । सन् १६५० मा १ पाउन्ड चियाको मोल ६ देखि १० पाउन्ड स्टर्लिङ थियो अर्थात् हालको ५०० पाउन्ड बराबर (अ थस्र्ट फर एम्पाएर, एरिका रापापोर्ट) ।

सन् १६६९ मा कम्पनीले पहिलो पटक इन्डोनेसियाबाट चिया किनेर बेलायत ल्यायो । बिस्तारै चियाको आपूर्ति बढ्न थाल्यो । सन् १६७८ मा कम्पनीले ४७१७ पाउन्ड चिया लन्डनको बजारमा आपूर्ति गर्‍यो । इन्डोनेसिया टापुको मरीच र भारतको सुतीबाट कम्पनीको ध्यान अब चियामा मोडिन थाल्यो । त्यसमाथि वास्फ इन्जिनको प्रयोगबाट बनेका मेसिनले बेलायती कपडा उद्योगको उत्पादन ह्वात्तै बढायो । भारतबाट आयात गरिने सुती कपडालाई निरुत्साहित गर्ने कानुन बन्यो । सुती आयातमा कडीकडाउ तथा नाफामा गिरावट आएपछि इस्ट इन्डिया कम्पनीको पूरै ध्यान चियातर्फ मोडियो ।

चिया–आपूर्ति बढेसँगै यसको मूल्य पनि घट्यो । यति हुँदाहुँदै पनि सत्रौं शताब्दीको अन्त्यसम्ममा चिया अझै कुलीनहरूको विलासी पेय मात्रै रह्यो । सन् १७०८ मा पहिलोपल्ट सोझै चीनबाट चियाको आयात हुन थालेपछि यसको मोल घट्यो र समाजका सबै तप्काका लागि सहज उपलब्ध हुन थाल्यो । बिस्तारै चीनबाट आयात हुने प्रमूख वस्तु सिल्कलाई समेत चियाले उछिन्यो ।

अठारौं शताब्दीको आरम्भमा कानेखुसीमा सीमित पेय शताब्दीको अन्त्यमा सबैको भान्सासम्म पुग्यो । सन् १६९९ मा जम्मा ६ टन चिया आयात गरेको बेलायतले अर्काे शताब्दीको आरम्भमा ११ हजार टन पुर्‍यायो । कम्पनीको कुल व्यापारको ६० प्रतिशत हिस्सा चियाले ओगट्यो । राज्य–कोषमा जम्मा भएको १० पाउन्डमध्ये १ पाउन्ड चियाले कमाएर दियो । चिया आयात र व्यापारमा पाएको एकाधिकारले कम्पनीलाई राजनीतिक रूपमा निकै शक्तिशाली बनायो । आवश्यक ऐन–कानुन कम्पनीको सहजताका लागि निर्माण भयो । बेलायतमा युरोपका अन्य मुलुकबाट चिया आयात गर्न प्रतिबन्ध लाग्यो । चियामा लाग्ने कर/महसुल घटाइयो र यसले तस्करीबाट आउने चियालाई निरुत्साहित गर्‍यो । चियाको मोल घट्यो र बजार विस्तार भयो । अब चिया र कम्पनीबीचको व्यवधान डचहरू मात्रै रहे । डच कम्पनीसँगको शृंखलाबद्ध युद्ध सन् १७८४ मा टुंगियो । डच इस्ट इन्डिया कम्पनी नै सन् १७९५ मा खारेज भयो । त्यसपछि चिया बजारमा इस्ट इन्डिया कम्पनीको एकछत्र साम्राज्य सुरु भयो ।

चिया र अफिम

आफ्ना लागि आवश्यक वस्तु तथा सेवामा चीन आत्मनिर्भर थियो । तर, युरोपसँग चीनलाई बेच्ने कुनै वस्तु थिएन (युरोपले चीनसँगै चिया खरिद गरिरहेको थियो ।) त्यसैले स्पेनमा चिनी बेचेर प्राप्त भएको चाँदीसँग चिया साट्न बेलायतसमेत बाध्य थियो । तर, बिस्तारै चाँदीको पनि अभाव हुन थाल्यो । चाँदीको ठाउँमा अफिम विकल्पको रूपमा देखियो । चीनमा अफिमको राम्रो माग थियो । सत्रौं शताब्दीको आरम्भदेखि नै एसियाभरि अफिमको तस्करी हुन थालिसकेको थियो । चीन पनि अपवाद थिएन ।

चिनियाँ व्यापारीसमेत अफिमको सट्टा चिया साट्न उत्तिकै लालायित थिए । भारतमा अफिम उत्पादन, बिक्री र तस्करीमा कम्पनीको एकाधिकार थियो । त्यसैले कम्पनी यसैलाई मजबुत बनाउन कस्सियो । यसको व्यापारमा कम्पनीले छद्म रूपमा काम गर्न थाल्यो । क्यान्टोनका भ्रष्ट चिनियाँहरूको पनि यसमा सहयोग रह्यो । सन् १८३० मा आइपुग्दा चीनमा अफिमको निर्यात बढेर १५०० टनसम्म पुग्यो । चीन सरकारले नयाँ नियम–कानुन ल्याएर अफिम–निर्यात रोक्न खोजे पनि सकेन ।

सन् १८३४ मा चीनबाट पठाइएका नयाँ अधिकारीले क्यान्टोनमा आइपुगेको एक वर्षको अफिमको स्टक जलाइदिए । यसले विधिवत् रूपमा अफिम–युद्धको शुरुवात भयो । युद्ध एकपक्षीय झैँ भयो । बेलायतको आधुनिक हतियारसामु परम्परागत र मध्यकालीन हतियार भएको चीन टिक्न सकेन । सन् १८४२ मा हङकङसमेत बेलायतले कब्जा गर्‍यो ।

चीनले आत्मसमर्पण गर्‍यो । व्यापारका लागि थप पाँच बन्दरगाह खोल्न तथा जलाइएको अफिमको क्षतिपूर्ति पनि तिर्न चीन तयार भयो । आफू दुनियाँकै अजेय शक्तिका रुपमा रहेको मिथलाई दूरदराजको सानो टापुले ध्वस्त बनाइदियो । यसले राष्ट्रिय निराशा ल्यायो, विदेशीप्रति चिनियाँमा झन् घृणा जन्माइदियो । त्यसपछि बेलायत, जापान, अमेरिका, फ्रान्स र जर्मनीजस्ता मुलुकको साम्राज्यवादी स्वार्थको खेलमैदान बन्यो चिन ।

दक्षिण एसियामा चिया

आसामको ब्रह्मपुत्र नदीको माथिल्लो भेगमा आदिमकालदेखि नै त्यहाँका आदिवासीले चिया प्रयोग गर्दै आइरहेका थिए । चियाको अचार बनाएर वा फर्मेन्टेसन गरेर तयार पारिने ‘लेफेट’ भनिने परिकार अझै लोकप्रिय छ । त्यहाँदेखि बर्मा र थाइल्यान्डसम्मको चियाको रैथाने भू–भागका आदिवासीमा यस्तो परिकारको प्रयोग अझै छ । तर, आफ्नै रैथाने भूमिमा चियाको आम प्रयोगका लागि उन्नाइसौं शताब्दीको आरम्भ कुर्नुपर्‍यो । त्यसअघि चियाको नगन्य प्रयोग मात्रै थियो ।

पन्ध्रौं शताब्दीको आरम्भतिर उत्तरी अफ्रिकाको तटसम्म पुगेका चिनियाँ जलसेना प्रमुख झेङ हिको साथ लागेर आएका दोभाषे मा हुवानले बंगालबारे टिपोट गरेका छन्, ‘यहाँ धान र अन्न वर्षको दुई पटक पाक्छ । रक्सी तीन प्रकारको पाइन्छ । चियाचाहिँ बजारमा पाइन्न । मानिसहरू बरु पान खान्छन ।’ (ट्रु हिस्ट्री अफ टी) ।

चीनबाट युरोप पुगेको चिया सत्रौं शताब्दीको आरम्भमा डच व्यापारीले भारतमा ल्याए । सन् १६८९ देखि १६९३ सम्म सुरतमा बिताएका पादरी जोन ओभिङ्टन भन्छन्, ‘चिया सबै भारतीयको आम पेय हो । युरोपेलीझैं उनीहरू चिया मन पराउँछन् ।’ तर, उनले भनेझैं आम प्रचलनमा चिया आइसकेको थिएन ।

सन् १७७४ देखि नै कम्पनीले चीनभन्दा बाहिर चियाखेतीका लागि सम्भावित स्थान खोजी गर्न थालिसकेको थियो । त्यही वर्ष चियाका केही बेर्ना प्रयोगका लागि भुटान पठाइएको थियो । सन् १८१६ मा काठमाडौंमा खटिएका रेजिडेन्ट एडवार्ड गार्नरले पनि काठमाडौंमा भेटेको चियाको सम्भावित नमुना बिरुवा कलकत्ता रोयल बोटानिकल गार्डेनका प्रमुख नथानियल वालिचलाई पठाएका थिए । तर, त्यो चियाको बिरुवा पुष्टि भएन । उता मेजर रबर्ट ब्रुसले आसाममा काम गर्दा सन् १८२३ मै चियाका रैथाने बोट देखिसकेका थिए । चीनसँगको चिया–व्यापारमा कायम रहेको एकाधिकार तोडिने आशंका देखेको कम्पनी कुनै पनि हालतमा विकल्प चाहन्थ्यो । बेलायत पनि युरोप र आफ्ना उपनिवेशहरूमा चिया व्यापारले दिएको नाफा कुनै हालतमा गुमाउन चाहँदैनथ्यो ।

अल्पज्ञानले भारतमा चियाखेतीको पहिलो प्रयास सफल भएन । जसोतसो भारतमा उत्पादन गरिएको चियाको पहिलो नमुना १८३९ मा लन्डन पुर्‍याइयो । अर्काे वर्ष टी कम्पनीको स्थापना भयो, जसले आसाममा आफ्नै बगान बनायो । रबर्ट फच्र्युनले चीनबाट तस्करी गरेर ल्याएका २० हजार बेर्ना र आसामी जात दुवै खेतीको प्रयोग गरियो । आसाममा रैथाने आसाम–जात बढी सफल भयो । सन् १८६० मा चिया बगानको विस्तार दार्जिलिङमा गरियो । सन् १८७० मा आएर बल्ल चिया उत्पादनले भारतमा जग हाल्यो ।

चिया पिउने संस्कृतिमा बेलायतको प्रभाव रह्यो । बेलायतबाट दुलाहाको खोजीमा भारत आउने युवतीले उताको ‘दिवा चिया’ को संस्कृति पनि भित्र्याए । गर्मीले दिउसो काम गर्न नसक्ने बेलायती अधिकारी र तिनको सिको गर्ने भारतीय कर्मचारीतन्त्रमा बिहान घाम नचर्किंदै काम सक्ने चलन बस्यो । नोकरचाकरहरू चिया, दूध, चिनी र साथमा फलफूल वा बिस्कुट लिएर आउँथे । यसलाई छोटा हाजिरीसमेत भनिन्थ्यो ।

भारतमै चियाको ठूलो बजारको महसुस हुन समय लाग्यो । चियाको पातमा रहेको क्याफिनको लत विस्तार हुन भारतमा बीसौं शताब्दीको मध्य कुर्नुपर्‍यो । दक्षिण एसियामा भारतबाटै चियाको विस्तार भयो । ठूलठूला चिया बगानको स्थापना, सस्तो श्रमको शोषण तथा उत्पादन र वितरणमा नयाँ प्रणालीको आरम्भले केही दशकमै चिया उत्पादक/आपूर्तिकर्ताको एकाधिकारबाट चीन पछारियो । यसले चीनलाई अर्काे धक्का लाग्यो । कालान्तरमा भारत संसारकै ठूलो चिया उत्पादक र धरै उपभोक्तासमेत रहेको मुलुक बन्यो ।

०००

औद्योगिकीकरण र साम्राज्यवाद विस्तारको मियो बन्दै चियाले नै बेलायतलाई अद्वितीय रूपमा शक्तिशाली बनायो । चिया–आपूर्ति र यसको व्यापारबाट हुने नाफाको लोभले बेलायती विदेश नीतिलाई प्रभावित पार्‍यो । यसैले अमेरिकी स्वतन्त्रा संग्रामको जग खन्यो, उता चीनको प्राचीन सभ्यता धूलिसात भयो, भारत विश्वकै ठूलो चिया उत्पादक मुलुक बन्यो ।

रैथाने भूमिबाट उपहार र व्यापारमार्फत चियाले संसार डुल्यो । चिया जहाँ पुग्यो, त्यही समाजको संस्कार–शैली आत्मसात् गर्‍यो । रैथाने भूमिमा ‘टे’, ‘चा’ वा ‘चाय’ भनिने एक पेय संसार डुलेर स्वाद र परिचयमा केही नवीनता थप्दै, केही मौलिकता कायम राख्दै हाम्रो प्रिय पेय ‘चिया’ बनेर आइपुग्यो ।

(शनिबार प्रकाशन हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : असार ४, २०७८ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?