गाउँ फर्केको मान्छे
वर्षौंपछि–
यादहरुको बिस्कुन टिप्दै
गाउँ फर्केको छु म
र, यतिबेला
याङफेल लेकमा उभिएर
सोचमग्न–सोचमग्न
टोलाइरहेछु ।
...
बोकेर झोलाभरि कटमिरो सपना
तिर्खाहरुको क्षितिज चुम्न
समयको हात्तीछाप चप्पल पड्काउँदै कुनै दिन
यही बाटो सहर पसेको म,
गाउँ फर्किनै पो ढिलो गरेछु
म आउनुअघि नै
गाउँ पसिसकेको रहेछ
–कोकाकोला,
–डिउका हरिया बोतल
–र, तयारी चाउचाउ
समृद्धिको सप्तरंगी घोडा चढेर,
बादलपारि हराइजाने प्रवासी यादहरुमा अचेल
दिउँसै रक्सी पिउँदोरहेछ मेरो गाउँ
मनी ट्रान्सफरका बुथहरुमा लाइन लागेर,
ढुन्मुनिँदै साँझपख
घर फर्किँदो रहेछ मेरो गाउँ ।
...
हो, म त ढिलै फर्केछु गाउँमा
म आउनुअघि नै
गाउँ पसिसकेको रहेछ सिंहदरबार
सिंहदरबारसँगै
गाउँ पसिसकेको रहेछ
–बहुराष्ट्रिय कम्पनी र ठेकेदार
–जेसीभी, डोजर र जग्गा दलाल
सबभन्दा ठूलो कुरो त
म आउनुअघि नै
गाउँ पसिसकेको रहेछ ‘विकास’
विकास नै पसेपछि–
किन चाहियो र चराहरुले बाँसुरी बजाउने नाथे जंगल ?
किन चाहियो र मायालु बतास डुल्ने हरिया डाँडाकाँडा ?
धपाउँदै आली, सुर्कां र गराहरुबाट गीतजस्ता गौंथलीहरु
बनिसकेछ चारैतिर धूलाम्य मैदान
ठडिएछन् सबैतिर– करङजस्ता मल्टिनेसनल हाउजिङ
...
वर्षौंपछि–
यादहरुको बिस्कुन टिप्दै
गाउँ फर्केको छु म
र, यतिबेला
याङफेल लेकमा उभिएर
सोचमग्न–सोचमग्न टोलाइरहेछु
साँच्चि,
मैले गाउँ छोड्ने बेला
‘छिट्टै फर्की आऊ है’ भन्दै
क्षितिजभरि पर्खाइको जेसुम नजर बिछ्याइबस्ने
ती सज्जन गाउँलेहरु
चराहरुले झैं गुँड छाडेर
कता बसाइँ सरेछन् हँ ?
प्रकाशित : जेष्ठ २९, २०७८ १४:१२