ट्रयाजेडी, प्रतिष्ठा र सम्झना 

वैज्ञानिकहरूले तयार गरेको खोप नलगाऊ, तिमीलाई केही भएको छैन, मास्क नलगाऊ, त्यो मेरो राजनीतिको प्रतिकूल छ, भीडमा आऊ, म बोल्छु, तिमी सुन भन्ने शक्तिशाली मानिसले मानिसको अस्मिताको युद्धलाई जटिल बनाइदिए ।
अभि सुवेदी

ट्र्याजेडीको त्रासदी रूपान्तरण गर्दा भन्न खोजेको कुरा अलि बरालिने भएकाले त्यही शब्द प्रयोग गर्‍यौं । यस लेखमा ट्र्याजेडीसँग मानिसको सम्मान जोडिएको कुरा गरिएको छ । अनि कोरोना महामारीसँग लड्नेको मृत्यु र ट्र्याजेडीका पात्रका मृत्युको तुलना गरिएको छ ।

ट्रयाजेडी, प्रतिष्ठा र सम्झना 

कोभिडसँग जुध्ने मानिसको सम्मानलाई कसले विचलन गर्दै छन् भन्ने कुरा लेखेपछि ट्र्याजेडीका मलाई मन पर्ने व्याख्याता जर्ज स्टाइनर र तिनलाई भेटेको अनि त्यही अवसरमा डोरबहादुर बिष्ट दाइसँग पनि भेटेको नियमित आकस्मिकताको छोटो बयान पनि गरिएको छ ।

ट्र्याजेडीको पात्र मानिसको प्रतिष्ठाको निम्ति लडेर मर्छ । उसलाई केही आफ्नो वशभन्दा बाहिरको नियतिले घेरेको हुन्छ । ऊ त्यही अन्धशक्तिसँग लडिरहेको हुन्छ । जब उसले मर्नुपर्ने पक्का बुझ्छ, ऊ त्यो भयानक शक्तिसँग हार्दैन । ऊ जीवन भएर लड्छ अनि त्यसलाई लल्कार्दै मान्छेको प्रतिष्ठा बुझाएर मर्छ । म मानिस हुँ, मेरो मर्नु तिम्रा अन्ध नियतिमा छ, तर म अन्तिमसम्म लड्छु भन्नु मानिस मात्रको प्रतिष्ठाका निम्ति बोल्नु हो । त्यो नै ट्र्याजेडी हो । त्यो भयानक अन्त्य होइन मानिसको, प्रतिष्ठाको युद्ध हो ।

अहिलेको महामारीको युद्धमा व्यक्तिको जुन अन्त्य हुन्छ त्यो एक अर्थमा ट्र्याजेडी हो, तर अर्को अर्थमा त्यो महामारीमा भएको मृत्यु हो । त्यो मृत्युको कारण कुनै विषय आफूले छान्दा अनि त्यसको निम्ति लड्दा कालान्तरमा भएको अवस्था होइन । त्यो रोगका जीवाणुले आक्रमण गरेपछि लड्दा लड्दै भएको दुःखद अन्त्य हो । त्यसका पछाडि आफ्ना ट्र्याजेडीका भूल (ह्यामर्सिया) होलान् जस्तो कि सावधानी लिइएन होला, केही गल्ती भयो होला । तर, त्यसमा आफूले छान्ने कुरा धेरै छैन । ट्र्याजेडीमा जस्तो एउटा बाटो छान्दा अन्त्य भएको पनि होइन त्यो । तर, अहिलेको विश्वमा व्यापक बहस भएका अनि देखिएका केही कुराका उदाहरण छन् । मानिसको दुःखद अन्त्यलाई व्यापक बनाउने, त्यसलाई समाधानको बाटोतिर नलैजाने कर्म गर्ने मानिसहरू पनि निस्किए । शक्तिशाली देशका नेताहरूले आफ्नो बहुलठ्ठी प्रकट गरे ।

वैज्ञानिकहरूले तयार गरेको खोप नलगाऊ, तिमीलाई केही भएको छैन, मास्क नलगाऊ, त्यो मेरो राजनीतिको प्रतिकूल छ, भीडमा आऊ, म बोल्छु, तिमी सुन भन्ने शक्तिशाली मानिसले मानिसको अस्मिताको युद्धलाई जटिल बनाइदिए । अर्काथरी सरकार चलाउने र शक्ति बोकेका मानिस निस्के । मानिसको यो दुःखद अवस्थाको युद्धमा तिनले केही मद्दत गरेनन् । तिनका निःस्वार्थ कर्मले मानिसको दुःखमा केही कमी आउँथ्यो । तिनका केही मानवीय नीतिले मानिसलाई लड्न सजिलो हुन्थ्यो । तिनका केही त्याग, कार्यक्रमले हजारौंको जीवनरक्षा हुने थियो । महामारीसँग लडेको अवस्थामा खाने कुरा केही नपाएर मृत्यु हुनु, साधन भएकाहरूले मानिसको रक्षा–निम्ति त्यसको प्रयोग नगरिदिँदा जीवन गुमाउनु ट्र्याजेडीको पात्रले अन्धशक्तिसँग लडेजस्तै कथा हो ।

अरू एकाध पक्ष छन्, जसले मानिसको त्रासद अन्त्यलाई निर्मम बनाएका छन् । ती निर्लज्ज कर्म हुन् । मानिसको उपचार र जीवन–रक्षाको निम्ति आफ्ना दायित्वभित्र परेका कर्महरू नगरिदिनु त्यसको उदाहरण हो । तर, यहाँ दुईवटा कुरा देखिए । उपचार, खोप आदिजस्ता विषयलाई शक्तिमा हुनेहरूले धन कमाउन प्रयोग गरेका कथा विदीर्ण र लज्जास्पद हुन् । हाम्रोतिर र अरूतिर पनि उदाहरण भेटिए । अर्कोतिर ट्र्याजेडीमा मानिसको प्रतिष्ठाको विषयलाई भत्काउने कर्म गरिए । तिनमा सबैभन्दा कठोर कर्म महामारीलाई निरंकुश शासन गर्नेहरूले अवसरको रूपमा प्रयोग गरेको देखियो । कतिले महामारीको प्रयोग गरेर शासनमा एकाधिकार जमाए । यसको बहानामा ‘डिक्टेटरसिप’ का सूत्रहरू प्रयोग गरिए । अनेकौं देशले खोपलाई राष्ट्रिय प्रतिष्ठाको विषय बनाए । मानिसको प्रतिष्ठाको कुरा गर्दा अर्को कुरा पनि भेटियो । धनी देशले विपन्न देशलाई मद्दत गर्न नसकेको र नचाहेका उदाहरण व्याप्त भए । यो कुरा पहिले थाहा थिएन मानिसलाई । रंगभेद, जातिभेद, लैङ्गिक भेद अनि राजनीतिक भेद फटाफट खुल्दै गए ।

म आफ्नो आरम्भको विषयतिर फर्किन्छु । कोभिड महामारीले उठाएको वैचारिक बहसमा फेरि ट्र्याजेडीमा भेटिने मानिसको प्रतिष्ठाको युद्ध के हो भन्ने कुरा आएको छ । मानिसको जीवन जग–तितलमा सजिलो छैन । त्यसैले त्यसमा मानिसको प्रतिष्ठा नै सबैभन्दा ठूलो विषय मानिएको हो । बुद्धले अन्तिम ज्ञानको सार राख्दै भने, ‘दुःखले भरिएको जगत्मा जीवन चलाउन सजिलो छैन । त्यसैले म केही उपाय भन्छु, जीवनका निम्ति ।’ कार्ल मार्क्सले लेखे, ‘आफूभन्दा पहिलेका सबै दार्शनिकहरूले प्रकृति क्रियाशील छ, त्यसैले मानिस पनि उद्देश्ययुक्त र क्रियाशील हुनुपर्छ भनेनन् ।’ तर भन्नुपर्ने र गर्नुपर्ने त्यही थियो, मार्क्सले भने । प्राचीन ग्रीक नाटकहरूले एउटा अनौठै काम गरेको ‘ट्र्याजेडीको मृत्यु’ का लेखक जर्ज स्टाइनरले बुझाए । झन्डै ७५ वर्षजतिको छोटो समयमा ग्रीसमा चलेको यो दार्शनिक र काव्यको सामर्थ्यको तरङ्ग अहिलेसम्म चल्नुको कारण एउटा छ । त्यो हो, मानिसको ट्र्याजेडीमा उसको प्रतिष्ठा पनि जोडिएको हुन्छ । त्यही कारणले त्यसमा कविता छ, मानिस छ । उसको दुःखमा सम्मान छ । यसको अर्थ अहिले आएर झन् प्रस्ट भएको छ । अहिलेको महामारीमा लड्ने र दिवंगत हुने नरनारीलाई जति मात्रामा त्यो फैलियो त्यति नै मात्रामा तिनको सम्मान हुनुपर्छ भनी मान्नु हो । मानिसको नैरन्तर्य अत्यन्त शक्तिशाली पक्ष हो । सन् १९१८ तिरको स्पेनेली फ्लुले दक्षिण एसियाली क्षेत्रमा मात्र एक करोड पचास लाख मानिसको ज्यान लियो । तर, त्यसबाट मानिस बाहिर आए । मानिसले मानिसको सम्मान गरे । आजको सम्पन्न युगमा अनेकौं बखडा, राजनीति र प्रतिष्ठाका विषय झिकेर मानिसले मानिसकै प्रतिष्ठा बिर्सिएका कथा दिनदिनै विश्व स्वास्थ्य संगठन र देश देशका सही मिडियाले भनिरहेका छन् । धेरै कुरा खुलेका छन् ।

अन्त्यमा एउटा संस्मरण राख्न चाहन्छु । ट्र्याजेडी मेरो एउटा साहित्य अध्ययनको र अध्यापनको विषय हो । म यो विधालाई साहित्यको आत्मा मान्छु । ट्र्याजेडीको पछिको समयमा अत्यन्त शक्तिशाली व्याख्या गर्नेमा पहिले क्याम्ब्रिजका पछि भिएना विश्वविद्यालयका प्राध्यापक जर्ज स्टाइनर हुन् । जुलाइ १९८८ मा समकालीन लेखनमाथि क्याम्ब्रिजमा भएको एक महिने सेमिनारमा भाग लिन म ब्रिटिस काउन्सिलको ग्रान्टसमा गएको थिएँ । त्यहाँ म नेपालबाट आएको भनेपछि एक पाका दम्पती मसँग नजिक भए । दिउसो भित्रको कफी हाउसमा कफी खान गयौं । ट्र्याजेडीको कुरा उठाए ती प्राध्यापकले । मेरो पीएचडीको अध्ययनकै सिलसिला थियो । उनको कुराले उत्तेजित भएर मैले भने, ‘तपाईंका विचार ठ्याक्कै जर्ज स्टाइनरका जस्ता रहेछन् ।’ उनकी श्रीमतीले भनिन्, ‘तिमी जर्ज स्टाइनरसँगै कुरा गर्दै छौ ।’ म केही उफ्रिएँ खुसीले । त्यस दिनदेखि हरेक मौकामा मैले स्टाइनरसँग मेरा अनुसन्धानका समस्या छलफल गरेँ । तिनले ट्र्याजेडीको अन्त्यको विषयमा दिएको प्रवचन सुनेँ ।

अर्को सुन्दर प्रसङ्ग जोड्छु । त्यही ठाउँमा मेरा अति प्रिय नेपाली मानिस, डोरबहादुर बिष्ट दाइ अप्रत्याशित एक जना जापानी साथीसहित कफी खान पसे । मेरो उफ्रिने क्रम बढ्यो । मैले जर्ज स्टाइनरलाई डोरबहादुर दाइबारे भनेँ । स्मरणीय अवसर भयो । डोर दाइसँग आउने साथीसँग पछि जापानमा बिन्दु र मेरो पनि नजिकको मित्रता भयो । बिष्ट ‘फ्याटालिज्म’ किताबमाथि काम गर्दै थिए, अनि क्याम्ब्रिजमा सोसियोलोजी फ्याकल्टीका प्राध्यापक अर्नेस्ट गेल्नरसँग भेटिबस्थे ।

मेरा निम्ति ट्र्याजेडीको अर्थ आज अझ राम्ररी खुलेको छ । मानिसको जीवन मानिसले सहज पार्ने र आपसमा सम्मान गर्ने विषय आज अभूतपूर्व रूपमा चुनौती भएर आएको छ । ट्र्याजेडी त्यही काव्यात्मक अन्तर्शक्तिसँग जोडिएको मानव प्रतिष्ठाको एउटा युगान्तकारी कथा हो ।

प्रकाशित : जेष्ठ २९, २०७८ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?