आपत् र ओतको सहरी सम्बन्ध - कोसेली - कान्तिपुर समाचार

आपत् र ओतको सहरी सम्बन्ध 

श्रमिकका श्रम र सीपले धानिएको सहर आपत्मा ओत दिने समयमा जहिल्यै चुक्ने गर्छ ।
मिलन बगाले

जबजब कुनै देशमा आपत् आउँछ, सहरमा बढी खलबल मच्चिन्छ । आपत्को खबर देश–विदेश सबैतिर अलि चर्कोसँग सुनाउने हैसियत सहरकै हुन्छ । सहरमा ठूलो जनसंख्या हुने भएकाले समस्याका आयाम र गहिराइ पनि अनेक हुन्छन् ।

स्रोत–साधनमा गाउँभन्दा बढी बलियो हुने भएकाले खोज, राहत, उद्धार, उपचार आदि अनेक चरणको चक्र सहरले सजिलै पार गर्छ । यसो हुँदाहुँदै ती सबै चरणमा वर्गभेदको डोब प्रस्टै देखिन्छ । राज्यसत्तासँग ‘संवाद’ गर्ने हैसियत भएका नागरिक विपद्को चक्रबाट उम्किरहँदा श्रमिक समूह झिटीगुन्टा बोकेर सहर छोडेर हिँड्न विवश हुन्छन् । उनीहरूको श्रम र सीपले धानिएको सहर आपत्मा ओत दिने समयमा जहिल्यै चुक्ने गर्छ ।

गत वैशाखतिर जब कोरोना संक्रमणको दोस्रो लहर आयो, सरकारले निषेधाज्ञा घोषणा गर्‍यो । निषेधाज्ञा सुरु हुनुअघि घर फर्कनका लागि बाटोको म्याद पनि दियो । म्याद छोटो थियो । म्याद सुरु हुनासाथ आम सर्वसाधारणका दुःखका दिन आए, गाडी चढिनसक्नु भए ! घर जानुपर्ने हतारोमा कोरोना–भीडमै किचिएजस्तो भयो ! बस, जिप, ट्रक जे–जे भेटिन्छ त्यसमा कोचिएर, झुन्डिएर आम सर्वसाधारणले निकै कष्टकर यात्रा पार गरे । कतिपय ब्यक्ति खर्च–अभावमा गाडी चढ्न सकेनन् । कतिपय झुन्डिएर जान सकेनन्, सडकमै अलपत्र परे । कतिले कामबाट छुट्टी पाएनन् । आपत्मा ओत नपाउने र घर सजिलोसँग जान नपाउने कष्टकर कहानी यसपालि पनि दोहोरियो ।

केही लाख मान्छे गाउँ हिँडेपछि शान्त बनेको सहरमा सरकारले सन्तोषको लामो श्वास फेर्‍यो । गाउँ छिरेका नागरिकले पनि यात्राको सास्ती बिर्सिएर सन्तोषको श्वास फेरे । यो सन्तोषको श्वासभित्र आपत् झेल्दाको सुस्केरा आफैं बिलाएजस्तो भयो ।

सहरमा घर हुनेहरू या संस्थागत क्षेत्रमा जागिर गर्नेहरू आपत् आउनासाथ झिटीगुन्टा बोकेर गाउँ कुदिहाल्दैनन् । नियमित कमाइ र रोजगारीको सुरक्षाका कारण उनीहरूलाई त्यसरी कुदिहाल्ने बाध्यता हुँदै, केही समय आपत् थेग्ने आर्थिक हैसियत बनाएका हुन्छन् । अप्ठेरोमा सरसापटी दिने समूह, सञ्जाल वा संस्थाहरूसँग उनीहरू जोडिएका पनि हुन्छन् । आम सर्वसाधारणसँग पाखुरीको बलबाहेक बाँच्ने अरू उपाय हुँदैन । न बलियो बचत हुन्छ, न घरबेटीले सहयोगी भावना देखाउँछन्, न आपत्मा संस्थागत सहयोग नै पाउँछन् ।

काम दिने साहु वा रोजगारदाताबाट पनि राम्रो सहयोग पाउँदैनन् । गरेको कामको पूरै ज्याला परै जाओस् बाटो खर्च मिल्यो भने रोजगारदातालाई मनकारी ठान्नुपर्ने अवस्था छ । उनीहरूको उठ–बस आफूजस्तै निम्न आय वर्गका ब्यक्तिसँग हुने हुँदा चिनजानको समूहबाट दरिलो साथ पाउने सम्भावना पनि हुँदैन । केही समय धर्मशालाको बास, सार्वजनिक धाराको पानी, निःशुल्क भोजनको व्यवस्था, सार्वजनिक शौचालय आदि सुविधा ठूलो समूहलाई थेग्न सक्ने खालको छैन । केही मनकारीले आपत्कालीन सहयोगको व्यवस्था गरे पनि त्यसले ठूलो समूहलाई धेरै दिन धान्न सक्दैन । यति भएपछि हतारहतार सहर छोड्नुको विकल्प रहँदैन ।

०७२ सालको भुइँचालो र नाकाबन्दी, दोहोरिएको कोरोना कहर हाम्रो पुस्ताले झेलेका ठूलो आपत्का केही प्रतिनिधि उदाहरण हुन् । आपत् पर्नासाथ निम्न आय भएका वर्गका लागि सहरमा ओत नमिल्ने जनाउ घण्टी बजिहाल्छ । पसिना पोखेर बाँचिरहेको ठाउँमा जब असिना बर्सिन्छ, पसिना मूल्यहीन बन्छ । पसिनाले तुरुन्तै सहर छोड्ने बाटो खोज्छ । सरकारले सहरमा आउन दिन्छ, तर सजिलोसँग जाऊ भन्दैन । टिकटको कालोबजारी रोक्न खोज्दैन । राजमार्गको ठगी रोक्न खोज्दैन । सरकारलाई छिटोछिटो सहर खाली गर्ने रहर हुन्छ । नागरिकहरू त्यो रहर पूरा गरिदिन विवश हुन्छन् । तुरुन्त सहर छोडिएन भने अरू अनेक बाछिटा बेहोनुपर्ने हुन्छ । ग्यासका सिलिन्डर, तरकारी, दाल, चामल र नुन—तेलका प्याकेटहरू कुना पस्छन् । हरेक चीज छोइनसक्नु बन्छन् । तिनलाई छोइसक्नु बनाउन राज्यले बलियो पहल गर्दैन । एकातिर काम रोकिनु, अर्कातिर कुना पसेका सामानलाई मनाउन मरिहत्ते गर्नु ! अनि हतारहतार गाउँ पस्नुको विकल्प रहँदैन । यो दशा हरेक विपद्मा दोहोरिन्छ ।

वर्षौंदेखि श्रम पोखिरहेको सहरमा जब एक हप्ताका लागि मात्रै पनि आपत् पर्छ, सर्वसाधारण झिटीगुन्टा बोकेर कष्टकर र असुरक्षित यात्रा गर्न किन विवश हुन्छन् ? यसका दुईवटा आयाम छन् । अधिकांशका लागि सहर बाध्यताको बसाइ हो । गाउँबाट घरछेउको बजार, बजारबाट सदरमुकाम, सदरमुकामबाट अलि ठूलो सहर, राजधानी र विदेश पस्नु अनि अवसरको खोजी गर्नु अहिलेको आम जीवनको साझा विशेषता हो । सहर बसिखानु छैन, तर सामाजिक संरचनाअनुसार नपसेर पनि सुख छैन । गाउँमा मन मरे अडिन्न । अडिएको एकाध मनलाई पनि सहरतिर धपाउने हैसियत गाउँको छ । मुस्किलले धानिएको मन र चलेको सहरी जीवनको चक्र सानोतिनो आपत्को झोक्काले हल्लाइहाल्छ ।

झिलीमिली सहरमा अल्झिएको जीवनको दियो गाउँमा बलेको छ । आपत्–विपत्ले त्यो दियो मनमा जगाइदिन्छ र सहर एकैचोटि भीडभाडका साथ गाउँ पस्छ । आपत्–विपत्मा परेका आम नागरिकलाई सहायता गर्ने संयन्त्र सहरमा असाध्यै कमजोर छ । केही उपकारी दाताले सानोतिनो अभियान चलाए पनि राज्य स्तरबाट अप्ठेरोमा परेका ‘बाहिरिया’ नागरिकलाई मद्दत गर्ने भरपर्दो प्रणाली छैन । ‘केही समयका लागि गाउँ फर्कनुहोस् फर्कनका लागि भरपर्दो व्यवस्था मिलाउँछौं’ भन्ने हैसियत र प्रणाली राज्यले विकास गरेको छैन । रोजगारीको जग पनि त्यस्तै छ । धेरैजसोको रोजगारी ‘अनौपचारिक’ खालको छ । अनौपचारिक रोजगारीले आपत्–विपत्मा भर दिँदैन, उल्टो कहर दिन्छ । यस्तो भएपछि मूल सडकमा निस्केर घर जाने उपाय खोज्नुको विकल्प रहँदैन । राज्य सडकमा आइपुगेका नागरिकको संरक्षक बन्दैन, अलपत्र पार्नेको संरक्षक बनिदिन्छ– कहिले लुकेर, कहिले खुलेआम !

आपत्मा ओत नागरिकको अधिकार र राज्यको कर्तव्य हो । आपत्को चक्रबाट नागरिकलाई छिट्टै उम्काउनु राज्यको परम धर्म हो । लामो समय ओत दिन सकिँदैन भने थातथलोसम्म सहज तरिकाले पुर्‍याउने दायित्व राज्यको हो ।

राज्य नागरिकले भरेको ठूलो खुत्रुके हो । जिन्दावाद र मुर्दावादको नारा घन्काउन नागरिकको दुरुप्रयोग गर्ने, तर आपत्–विपत्मा ओत नदिने काम गर्न राज्य र राजनीतिक दल कसैलाई सुहाउँदैन । राज्यलाई उसको दायित्व सम्झाउँदै गर्दा आम नागरिक पनि गैरजिम्मेवार बन्न पटक्कै सुहाउँदैन । जानाजान भीडभाड, रामरमिता, तामझाम, धर्मकर्म, चाडपर्व र नारा–जुलुसका नाममा आपत्–विपत् भुलेर रमाउने बेला होइन यो ।

प्रकाशित : जेष्ठ २९, २०७८ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्

उपन्यासको उबडखाबड !

कोरोना महामारीले थलिएको साहित्यिक सुपरमार्केट थुप्रै कविलाई उपन्यासकारको औतारमा स्वागत गर्ने ताकमा छ । लकडाउनका कारण प्रकाशकसँग थानका थान पाण्डुलिपि थाती छन् । १ सय १८ वर्षमा सयौं उपन्यास लेखिइसकेका छन् । तर, के तिनले गिरीशवल्लभ जोशीको पहिलो उपन्यास ‘वीरचरित्र’ जतिको उचाइ लिए त ?
बेस्टसेलर र साहित्यिक उपन्यासमा झीनो सीमारेखा मात्रै छ । कतिपय बेस्टसेलर साहित्यिक ढाँचामै हुन्छन् । तिनमा साहित्यको गुण कम छ, बेस्टसेलरको गुण बढी ।
राजकुमार बानियाँ

प्रवेश विधा नै उपन्यास ! कथाको अभ्यासै नगरी एकैचोटि उपन्यासकार ! अझ नयाँ–पुराना कविको उपन्यासमै धुइरो ! सबैलाई उपन्यासमार्फत साहित्यको सुपरमार्केटमा पस्ने हतारो !

नेपाली साहित्यको उबडखाबड यस्तै छ । लेखक, पाठक र प्रकाशक कोही पनि उपन्यासबाट अघाएका छैनन् । लकडाउनका कारण प्रकाशकहरूसँग थानका थान पाण्डुलिपि थाती छन् । कविले कविलाई उपन्यासमै सवाल–जवाफ गरिरहेका छन् ।

कोरोना महामारीले थलिएको साहित्यिक सुपरमार्केट कैयौं कविलाई उपन्यासकारको औतारमा स्वागत गर्ने ताकमा छ । उपन्यासको उफानमा लेखक, पाठकदेखि समीक्षकसम्म भ्रमित छन् । के लम्बाइकै आधारमा उपन्यास साहित्यको ठूलो विधा मानिएको हो त ?

प्रचार, बजार र पुरस्कारमा उपन्यासको एकलौटी हुन थालेकाले मात्र कविहरूमा लघुताभास छाएको पक्कै होइन । कविता कविले मात्र पढ्छ भन्ने पनि लाग्दो हो । काव्यिक भाषा सर्वग्राह्य हुन सक्दैन नै ।

लोकजाहेर छ, लेखकलाई लेख्दाखेरि नै मजा आउँछ । जुनसुकै विधामा लेखे पनि उसकै मर्जी हो । तर, कतिपय लेखक व्यक्तिगत रुचि र रचनात्मक क्षमताभन्दा पनि बजारका कारण बरालिएका देखिन्छन् । उनीहरूले स्तरहीन र कामचलाउ आख्यानका कारण पाठकको रुचि घट्दै गएको तथ्यलाई भने आत्मसात् गरेका छैनन् ।

‘मानिस प्रशंसाको भोको हुन्छ, आलोचना मन पराउँदैन । मैले पनि पाठकको प्रशंसाका आधारमा विधा परिवर्तन गरेको हुँ,’ लेखक कृष्ण धरावासी भन्छन्, ‘लेखकले जुन विधामा प्रशंसा पाएको हुन्छ, ऊ त्यसै विधामा कलम चलाउँछ । जसले विधान्तरण गर्छ, ऊ धेरै परसम्म जान सक्छ ।’

नेपाली साहित्यमा उपन्यासको आँधीहुरी अहिले चले पनि १ सय १८ वर्ष लामो इतिहास छ । विसं १९६० मा मुद्रित पहिलो उपन्यास ‘वीरचरित्र’ का लेखक थिए, राणा दरबारका वैद्य गिरीशवल्लभ जोशी । उनी हिन्दी साहित्यका तिलस्मी उपन्यासकार देवकीनन्दन खत्रीका कस्ता ‘डाइहार्ड फ्यान’ थिए भने आफ्नो छोराका नामै देवकीनाथ राखे भने देवकीनन्दनकै देखासिकीमा रहरलाग्दो जासुसी उपन्यास लेखे ।

पूरै उपन्यास मुद्रित नभए पनि यसको मौखिक प्रचारप्रसार व्यापक भयो । नेपालमा बाटाघाटा, डुंगा र जहाजका सपना उनले उतिबेलै देखेका रहेछन् । त्यसयता सयौं उपन्यास लेखिइसकेका छन् । तर, के तिनले ‘वीरचरित्र’ जतिको उचाइ लिए त ?

उसो त रातारात कुनै पनि विधाले फड्को मार्दैन । ‘अंग्रेजी साहित्यमा कविता र नाटकको तुलनामा उपन्यासलाई आफ्नो गति पक्रन निकै लामो समय लागेको थियो,’ साहित्यका अध्येता शंकर तिवारी भन्छन्, ‘यो विधा मूलभूत रूपमा युरोपेली कला हो । यसलाई पश्चिमाहरूको आविष्कार भने पनि हुन्छ ।’

साहित्यका गहन अध्येताहरू बेलायतीभन्दा रूसी र फ्रेन्च भाषाका उपन्यासलाई विरलाकोटिको मान्छन् । कम उमेरमै नोबेल पुरस्कार पाएका अनि अमेरिकाका विश्वविद्यालयहरूमा साहित्य पढाउने टर्किस उपन्यासकार ओह्रान पामुकको शब्दमा राष्ट्र–राज्य र उपन्यासको अवधारणा अनि यसको चलनचल्ती समानान्तर रूपमा चलेका हुन् ।

उपन्यास विधाले साहित्यका परम्परागत विधालाई छायामा पार्न सफल भएको अवश्य हो । जो साहित्यका माध्यमबाट अभिव्यक्तिन चाहन्छन्, उनीहरूको पहिलो रोजाइ उपन्यास हुने गरेको पनि छ । यसको अर्थ अरू विधाको महत्त्व कम भएको होइन । युवाल नोआ हरारी त्यसका पछिल्ला दसीप्रमाण हुन् । उनको गैरआख्यानमा पनि औपन्यासिक गुण र गरिमा छ ।

त्यसो त भौगोलिक रूपमा नेपाल कविहरूकै देश हो । राजकीय पद, सम्मान, विभूषण, अलंकार प्राय: कविकै पेवा बनेका छन् । आदिकवि, युवाकवि, महाकवि, कवि शिरोमणि, युगकवि, जनकवि केशरी, कवि केशरी, लोककवि, राष्ट्रकविका नानाथरी पगरी कविलाई नै मिलेको छ । महाउपन्यासकार, आख्यान शिरोमणि आदि पगरी कुनै आख्यानकारले पाएको छैन । ध्रुवचन्द्र गौतमको ‘आख्यान पुरुष’ उपाधि अपवाद हो ।

‘दृश्यमा हेर्दा उपन्यास नलेख्ने साहित्यकार नै होइनजस्तो देखिएला । तर, यहाँ कविता नलेख्नेचाहिँ साहित्यकार नै छैनन्,’ आख्यानकार गनेस पौडेल भन्छन्, ‘नेपाली समाजमा कविता कति प्रिय छ भन्ने जिउँदोजाग्दो उदाहरण रामायण र महाभारत हुन् । काव्य भए पनि यिनमा सरस कथा छन् ।’ कथाहरूलाई कवितामा भन्ने युगका रचना हुन्, रामायण र महाभारत ।

कविता भर्सेस उपन्यास

उपन्यास प्रबन्ध लेखन हो भने कविता खुद्रा लेखन । सारा सर्जाम नजुटाईकन उपन्यास लेख्न सकिँदैन । मन हुँडलिएन भने कविता कसरी लेख्ने ? कविता झिलिक्क आउँछ, मिलिक्क जान्छ । कवितामा कथावाचक हुन्न बरु ‘पर्सोना’ हुन्छ । आख्यानमा वाचकको उपस्थिति अनिवार्य छ ।

कविता केन्द्रबाट किनारतिर जान्छ भने आख्यान किनारबाट केन्द्रतिर । कविताको अग्रभागमा कविता हुन्छ भने पृष्ठभागमा कथा । उपन्यासको अग्रभागमा कथा हुन्छ भने पृष्ठभागमा कविता । सबैजसो कवि उपन्यासलाई काव्यान्यास या काव्याख्यान भनिदिँदा मख्ख पर्छन् । तर, त्यसले आख्यान साहित्यलाई खासै न्याय गर्न सक्दैन ।

अनावश्यक विम्ब र प्रतीकले कथा अस्पष्ट र बोझिला हुन जान्छन् । ‘कविको उपन्यासमा के समस्या हुन्छ भने अग्रभागमा कविता हुन्छ, पृष्ठभागमा कथा,’ पौडेल थप्छन्, ‘कविका उपन्यासमा औपन्यासिक गुण कम हुन्छन्, काव्यात्मकता बढी । के नुन राम्रो भन्दै दूधचियामा नुन हालेर पिउने त ?’

कथा वस्तुपरक विधा हो भने कविता विषयपरक । कविता आफूभित्रको यात्रा हो भने कथा बाहिरी जगत्को । कविता र उपन्यास शैलीगत रूपमै फरक छन् । कविहरूले आख्यानको सत्त्व नबुझ्दा विधान्तरण दुर्घटित हुन जान्छ । कविता एकै खेपमा राम्रो हुन सक्छ । तर, उपन्यास लेख्नका लागि भन्दा पुनर्लेखनमा बढी समय लाग्छ । साग ओल्साएकै राम्रो हो फर्सी पकाएकै राम्रो ।

हुन त कतिपय कविको विधान्तरण फलदायी रह्यो । जस्तो : बुद्धिसागरको कवि व्यक्तित्वलाई उपन्यासकारले ओझेलमा पारिदियो । ‘बुद्धिसागरका कविता किताब निस्केको मात्र होइन, राष्ट्रिय कविता महोत्सवमा प्रथम पनि भए,’ तिवारी थप्छन्, ‘अंग्रेजी साहित्यमा डीएच लरेन्स, जेम्स जोयसदेखि थोमस हार्डीसम्म राम्रै कविता लेखेको भए पनि उपन्यासकारका रूपमा चिनिन्छन् ।’

डीएच लरेन्सले सगौरव लेखेका छन्, ‘म मानिस हुँ, जीवित छु । त्यसैले म उपन्यासकार हुँ । उपन्यासकार भएका नाताले म आफूलाई सन्त, वैज्ञानिक, दार्शनिक र कविभन्दा उत्तम ठान्छु, किनभने उनीहरू जीवन्त मानवका निश्चित पक्षलाई दर्साउने कामका उस्ताद त हुन् तर उनीहरूले मानव जीवनका समग्र पक्ष देखाउन सक्दैनन् ।’

पश्चिमा साहित्यका अनेकथरी वाद र सिद्धान्तको प्रयोगभूमि उपन्यास विधालाई बनाइए पनि यहाँ गोथिक–रोमान्स, साइन्स फिक्सन/फेन्टासी, हरर, स्पाई, मिस्ट्री, योङ एडल्ट, ग्राफिक, पल्प आदि जानरा छुट्टिएका छैनन् । त्यसरी लेखिएका पनि छैनन् ।

त्यसो त पछिल्लो दशकमा उत्कृष्ट र बेस्टसेलर दुवै मानिएको ‘कर्नाली ब्लुज’ को झीनो कथा पाठकलाई सायदै थाहा छ । कथा हो कि आत्मकथा हो, भेउ पाइँदैन । ‘एक्सन’ भन्दा ‘रियाक्सन’ बढी छ । उपन्यासमा त्यतिसारो ‘डिटेलिङ’ किन चाहिन्छ ?

कतिपय उपन्यासमा किस्सा छन्, कथा छैनन् । कुमार नगरकोटीका उपन्यासमा पाठकले एउटै सूत्रमा बाँधिएको कथा पाउँदैनन् । शिल्प चेतना भने उच्चकोटिकै भए पनि कथावस्तु एकदमै छिरलिएको छ । ‘इङ्नेपाली’ भाषाका कारण पनि उनको चर्को आलोचना हुन्छ । तर, फ्यान फलोअर्स हेर्दा उनको उपन्यासलाई कविताले जितेका छन् ।

नयनराज पाण्डेले मधेसका सीमान्तकृतलाई उपन्यासमा ल्याए । नयनका उपन्यासमा तराई र अलिअलि हिमाल आए पनि काठमाडौं खाल्डोका परम्परागत खस–आर्य, नेवारको गन्ध पटक्कै आउँदैन । नारायण ढकालले ‘हजार माइलको बाटो’ मा स्वैरकल्पना र जादुई यथार्थको चिनारी दिए । तर, पुनरुक्ति दोषबाट उनी मुक्त छैनन् ।

‘सेतो धरती’ मार्फत नाम र दाम दुवै कमाएका अमर न्यौपाने साहित्य छाडेर बेस्टसेलर बन्ने धुनमा लागेका देखिन्छन् । व्यावसायिक आकांक्षा मात्र राखेर एकपछि अर्को असफल आख्यानको चाङ लगाएको पाठक–आरोपबारे उनको प्रतिक्रिया पक्कै रोचक हुनेछ ।

साँच्चै भनूँ भने प्रकाशकहरूले नयनराज, बुद्धिसागर, अमर, नगरकोटी आदि चार–पाँचजनाको कोटरीमै सीमित गर्न खोजेका छन् उपन्यासलाई । यिनैलाई मियो बनाएर पाठकलाई मालदाम्लोमा फनफनी घुमाएका छन् । अरू लेखकले यिनकै शैली पछ्याएका छन् । यी लेखक पनि आफ्नै पूर्ववर्ती शैलीबाट दायाँबायाँ गर्दैैनन् । यिनले वर्षौंदेखि एउटै स्वादको व्यञ्जन पस्किँदा पनि अचाक्ली तारिफ पाइरहेका छन् ।

अमेरिकी लेखक स्टेफन किङ पाठकको असाधारण शक्तिसँग नतमस्तक छन् । उनको शब्दमा लेखकको कल्पनामा आख्यान सुरु हुन्छ र पाठकको कल्पनामा टुंगिन्छ । कलाको अक्कल मिलाएर नक्कल गरिनु ठीकै होला, नक्कलबमोजिम नक्कल साहित्यकै विडम्बना हो ।

‘धेरैजसो उपन्यासकारमा खालि रहर मात्र देख्छु । कतिपयले मलाई लेखिदिनोस् पनि भन्छन्, राम्रो नलागेपछि के लेखिदिने ?’ आख्यानकार एवं सम्पादक अविनाश श्रेष्ठ भन्छन्, ‘कुनै स्वप्निल कुरा राख्दैमा उपन्यास बन्दैन । त्यो व्यक्तिविशेषका लागि बन्ला, तर समाजका लागि बन्दैन । भोलिका लागि काम लाग्दैन । स्वैरकल्पना भनेको त यथार्थको पनि यथार्थ हो ।’

साहित्यको चीरहरण हुन नदिने जिम्मा सचेत समालोचकको हो । २०–३० वर्षयता त्यही ‘वाचडग’ को भूमिकामा ठूलो भ्वाङ परेको छ । जस्तो : कवितामा समाचालोचकले भूपी र मोहन कोइरालाको धार छुट्याइदिएका थिए । तर, नेपाली साहित्यको गुरुकिल्ली दाबी गर्ने त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू कमसल साहित्यकै महिमामण्डन गरेर थाक्दैनन् ।

‘सधैंभरि यस्तो अवस्था रहँदैन । कुनै कालखण्डमा छुट्टिनेछ, साहित्य र गैरसाहित्य । बलियो र कमजोर,’ अविनाश थप्छन्, ‘भारतमा लेखिएका उपन्यासमा इन्द्रबहादुर राईको ‘आज रमिता छ’ को चर्चा छ, मत्स्येन्द्र प्रधानको ‘नीलकण्ठ’ को छैन । चर्चामा नआए पनि नीलकण्ठमा पाठकलाई तृप्त पारिदिने सामथ्र्य छ ।’ मिडियाको उज्यालो नपुगे पनि ढिलोचाँडो गतिलो कृति किनारबाट केन्द्रमा आइपुग्छन् नै ।

कुन बेस्टसेलर, कुन बेस्ट बुक !

बेस्टसेलर र साहित्यिक उपन्यासमा झीनो सीमारेखा मात्रै हुन्छ । कतिपय बेस्टसेलर साहित्यिक ढाँचामै हुन्छन् । तिनमा साहित्यको गुण कम र बेस्टसेलरको गुण बढी हुन्छ । विदेशतिर पल्प फिक्सन र साहित्य प्रस्टै छुट्टिन्छन् । नेपालमा पनि पहिले छुट्टिएकै थिए । त्यसैले युधीर थापा, वसन्त, दीर्घवाहु, प्रकाश कोविद आदिले कहिल्यै ‘साहित्य’को दाबी गरेनन् । तिनलाई ‘सस्तो साहित्य’ मानेरै पढिन्थे ।

पहिले पहिले साहित्य र बेस्टसेलरका प्रकाशक पनि अलगअलग हुन्थे । कम्तीमा यौन, गृहिणी, गल्ली साहित्य प्रकाशकको नामबाटै छुट्टिन्थे । लेखक र प्रकाशकले इमानदारीपूर्वक नछुट्याइदिँदा कतिपय पाठक रनभुल्ल छन् । बरु कतिपय स्थितिमा प्रकाशकले राम्रा लेखकलाई बेस्टसेलरको अँध्यारो सुरुङतिर धकेलिदिएका छन् । समर्पित लेखकले वस्तु र शिल्पको सटीक संयोजनबाट के कमाल गर्न सक्दैन ?

उसो त बेस्टसेलरवालाले साहित्यिक उपन्यास लेख्नै नसक्ने पनि होइन । भारतमा ३०–४० वटा बेस्टसेलर उपन्यास दिएका असीत राईको ‘नयाँ क्षितिजको खोज’ त्यसको प्रमाण हो । ‘यस दृष्टिमा नयनराज पाण्डेले अहिलेसम्म आफूलाई बँचाएका छन्,’ अविनाश भन्छन्, ‘उनका उपन्यासमा सामाजिक सरोकार र उच्च कलात्मक चेत छ ।’

आँसु र यौनको बिगबिगी

स्वत:स्फूर्तभन्दा पनि फलानाले त लेख्यो, मैले किन नलेख्ने भन्ने होडबाजी पनि छ । विषय, पात्र, परिवेश र भाषाबीच तालमेल छैन । आँसु र यौनको मसलाबाट जबर्जस्ती सस्तो प्रभाव पार्न खोजिएको छ । प्रयोग र प्रगतिशीलताका नाममा कृत्रिमताको आड लिइएको छ । यस्तै संख्याले पनि कहिलेकाहीँ ‘सरप्राइज’ दिन्छ । नराम्रो उपन्यासका बीचमा राम्रो पनि आइदिन्छ । त्यही सुखद हुन जान्छ साहित्यलाई ।

कविता संलग्न लेखन हो, उपन्यास असंलग्न । त्यही कुरा नबुझ्दा कतिपय लेखक आफू लेखक हुँ कि पात्र भन्ने नै बिर्सिन्छन् । म भनिएका पात्र प्राय: लेखकसँगै हुबहु मिल्छन् । पात्रहरूले बोल्ने र कथावाचकको भाषा एकैथरी हुन्छ । तर, पात्रहरूको मुटुको धड्कन छामेको उपन्यास भेट्नै मुस्किल छ ।

ओह्रान पामुकलाई ‘द म्युजियम अफ इन्नोसेन्स’ पढेर पाठकहरूले प्रश्न गरेछन्, ‘यी सबै घटना तपाईंकै जीवनका हुन् ? उपन्यासको नायक केमल तपाईं नै हो ?’ उनले घुमाउरो जवाफ दिएछन्, ‘होइन, म केमल होइन । तर, म केमल होइन भनी पाठकहरूलाई विश्वास दिलाउनै गाह्रो छ ।’ प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएको अधिकांश उपन्यासको दुर्दशा यही हो ।

कतिपयका उपन्यास पहिलो या दोस्रो खेस्राजस्ता लाग्छन् । कतिपयको कथावाचन बाबा आदमले स्याउ टोकेको पालाको छ । कतिपय लेखक असफलता र आलोचना सहनै तयार छैनन् । फैसला लेख्ने लाइसेन्स पाएजस्तो गर्छन् । सबैले आजको भोलि नै पाठकको स्वागत पाउँदैनन् भन्ने पनि थाहा छैन ।

यति लामो कालखण्डमा ‘शिरीषको फूल’, ‘पल्लो घरको झ्याल’, ‘चपाइएका अनुहार’, ‘अनुराधा’, ‘सुम्निमा’, ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’, ‘घामका पाइलाहरू’, ‘कारागार’ आदि मानक उपन्यास आए । साहित्यिक गुणवत्ताका दृष्टिले उम्दा नमानिए पनि पठनीय उपन्यासको सूची भने लामै बन्न सक्छ ।

विधान्तरणको दुर्घटना

त्यसो त ‘पद्यकवि गद्यमा गयो भने मर्छ’ भन्ने यो लेखको आशय होइन । कतिपयको विधान्तरण र व्यावसायिक बन्ने आकांक्षामा खोट नहोला । लेखिरहेको विधाप्रति वितृष्णा या नयाँ विधामा स्थापित हुने आत्मविश्वास पनि होला । विधान्तरणमार्फत चाँडै चर्चित हुने रहर खराब पनि नहोला । लेखकले कमाउनै नहुने पनि होइन ।

‘म पहिले पहिले पद्यमा खुब रमाएँ, पछि आख्यान लेखें,’ छन्द कविताबाट उपन्यासमा एकोहोरिएका भुवनहरि सिग्देल भन्छन्, ‘पहिले मलाई कमैले मात्र चिन्थे, त्यसको दायरा सानो रहेछ । उपन्यासमा लागेपछि धेरैले चिने, यसको दायरा फराकिलो रहेछ ।’

कुनै विधामा प्रसिद्धि कमाएका लेखकका सबै विधामा सफल हुन्नन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको उपन्यास ‘चम्पा’ र आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाका कविता यसका ज्वलन्त दृष्टान्त हुन् । यी दुवैलाई लगभग दुर्घटित रचना भने पनि हुन्छ ।

देवकोटाको ‘चम्पा’ लामो कथाजस्तो छ भने कोइरालाका कविता जोन किड्सका कविताबाट अति प्रभावित छन् । लेख्दैमा न कविता बन्छ, न त उपन्यास । देवकोटाको मृत्युपरान्त २०२४ मा प्रकाशन भए पनि यो २००४ कै रचना हो ।

कोइरालाले ‘जेल जर्नल’ मा ‘मेरा एक संग्रह पुग्ने कविता छन्’ भनेको सार्वजनिक हुनासाथ छाप्न भ्याइहाले, ‘विश्वेश्वरप्रसाद कोइरालाका कविता’ (२०५९) । जम्मा २५ पृष्ठका १२ वटा कविता बुझाउन सम्पादक हरिप्रसाद शर्माले ७५ पृष्ठको परिचय, भूमिका र विश्लेषण प्रस्तुत गरेका छन् ।

अहिले पनि कतिपय उपन्यास चम्पाकालीन चेतनामै अड्किएका छन् । ‘कतिपय उपन्यास पेन्टिङमा जस्तो सीमित घटनाक्रममा आधारित नभएर इतिवृत्तात्मक छन् । भाषा र शिल्प नपुग्दा कमजोर देखिन्छन्,’ सम्पादक अविनाश श्रेष्ठ भन्छन्, ‘कतिपयले जीवनी लेख्नुपर्नेमा उपन्यास लेखेका छन् । समाजबारे पर्याप्त अध्ययन, अनुसन्धान उपन्यास लेख्नुभन्दा महत्त्वपूर्ण छन् । त्यसो नहुँदा लेखन व्यक्तिगत कुण्ठामा गएर टुंगिन्छन् ।’

अध्येता तिवारी बर्सेनि एक सय उपन्यास छापिए कम्तीमा तीन–चारवटा पठनीय आउलान् भन्ने झीनो आशा गर्छन् । साविक उपन्यासहरूले अतिरिक्त सौन्दर्य देखाउन सकेका छैनन् भने अधिआख्यान मात्र नभएर वैकल्पिक उपन्यास गयल छन् । नेपाली साहित्यले उपन्यासमा नयाँ धारको खोजी मात्र गरेको छैन, नयाँ शैलीको आह्वान पनि गरेको छ ।

मूलभूत रूपमा साहित्यको पाँच खुड्किले भर्‍याङ हुन्छ– भाषा, साहित्य, कला, सौन्दर्य र सत्य । हाम्रा अधिकांश उपन्यास भाषाको स्तरमा मात्र छन् । त्यसमा पनि अखबारी र वकालती भाषाको आधिक्य छ । पत्रकारले लेखेका उपन्यास चर्चित र पुरस्कृत हुनुको दुष्प्रभाव पनि हुन सक्छ ।

कतिपय पत्रकारले ‘फिचर’ लाई ‘फिक्सन’ बनाइदिएकाले अरू लेखक पनि देखासिकीमा ‘फिक्सन’ लाई ‘फिचर’ बनाउन तम्सिएका छन् । पुरस्कारदाताले कहिलेकाहीँ कृतिभन्दा व्यक्ति हेर्छन् । र, पुस्तकभन्दा पद हेरेर पुरस्कृत गरिदिन्छन् । तमसुकजस्ता लामा वाक्य र दोहोरो–तेहेरो अर्थ लाग्ने रकमी भाषा उपन्यासमा भेटिन्छन् ।

भाषाबाट साहित्यको तहमा उक्लिएका उपन्यास भेटिए पनि कलाको चरणमा पुगेका छैनन् । सौन्दर्य र सत्यमा कहिले पुगून् ? साँच्चै भन्ने हो भने आम उपन्यासको नियति ध्रुवचन्द्र गौतमकृत उपन्यासको नामजस्तै छ, ‘एक असफल आख्यानको प्रारम्भ’ ।

कतिपय नेपाली कविका कविताले भने मन्त्रकै हैसियत पाएका छन् । ‘कवितामा साहित्यको अन्तिम खुड्किलो पनि पार गरेका छन्, लेखनाथ पौड्यालले,’ आख्यानकार पौडेल भन्छन्, ‘यी शास्त्रीय कविको उचाइमा जाने छेकछन्द अरू कविले पनि देखाइरहेका छन् ।’

लेखकसँग उपन्यासको ‘टेस्टामिन’ मात्र होइन साहित्यको खुराकै खोज्छन् असल पाठकले । उपन्यासको रापतापमा लट्ठिएर कवितालाई किन नजरअन्दाज गर्ने ? कुनै पश्चिमा लेखकले यही पाठकीय मर्मलाई वाणी दिएका छन्, ‘कथाले मलाई झुठमुठबाट बाहिर निकाल्छ, कविताले सत्य ओकल्न बाध्य बनाउँछ । कथा पैदलयात्रा हो भने कविता नृत्य । मलाई दुवै चाहिन्छ ।’

(शनिबार प्रकाशन हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : जेष्ठ २८, २०७८ १९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×