कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

निर्बन्ध नायिकाको प्रस्थान

वानीराको जीवनको वास्तविक ऊर्जा र शक्ति एउटै विश्वासमा अडिएको थियो, ‘झन्डा उचालेर, डन्डा खाएर मलाई कहीँ पुग्नु छैन ।’
ज्ञानु पाण्डे

सम्बन्धहरूमध्ये सबैभन्दा उत्कृष्ट सम्बन्ध हो आत्मीयताको सम्बन्ध ! सबैभन्दा सुन्दर सम्बन्ध हो स्वेच्छाको सम्बन्ध । करको, दबाबको, बाध्यताको सम्बन्धभन्दा कता हो कता उपल्लोकोटिको सम्बन्ध हो श्रद्धाको सम्बन्ध ! आदरयुक्त प्रेमको सम्बन्ध । डा. वानीरा गिरि (विसं २००३–२०७८) सितको मेरो सम्बन्ध यही प्रकृतिको हो । 

निर्बन्ध नायिकाको प्रस्थान

उहाँलाई म ‘वानीरा दिदी’ को सम्बोधन गर्थें । उहाँबाट मैले सधैं आत्मीय, निकटस्थ र स्नेहिल व्यवहार पाएँ । भन्नेहरू भन्थे– ‘वानीरा घमण्डी छ, ऊ हत्तपत्त कसैलाई समय दिन्न ।’ तर, मेरो अनुभवमा उहाँ कहिल्यै ‘घमण्डी’ लाग्नुभएन । सायद एउटै कलेज पढाउने भएर हो, उहाँलाई देख्न–भेट्न पाउनु, गफ्फिन पाउनु, विचार–अनुभव सुन्न पाउनुजस्ता अवसरको उपलब्धता सधैं सहज थियो मलाई । कतिपय लेखक (खासगरी समकालीन) ले ‘कडा स्वभावकी महिला’ भनेर उहाँको कुरा काट्ने गरेको नसुनिएको होइन, तर मलाई भने उहाँ ‘कडा’ कहिल्यै लाग्नुभएन । हो, उहाँ स्पष्टवक्ता हुनुहुन्थ्यो । आफूलाई चित्त नबुझेको विषय मनमा दबाएर राख्नुहुन्नथ्यो, फ्याट्टै बोल्दिहाल्नुहुन्थ्यो । त्यो स्वभाव सायद धेरैलाई बिझाउँथ्यो, तर मलाई भने त्यही स्वभाव सबैभन्दा बढी मन पर्थ्यो ।

कलेजमा मेरा समवयी साथीहरू, जो आफूलाई चित्त नबुझेको कुरा तत्काल भनिहाल्ने स्वभावका देखिन्थे, तिनलाई म ‘वानीरा दिदी ब्रान्ड’ भनेर जिस्क्याउँथेँ । त्यस्तो स्वभाव राख्ने मित्रहरूलाई अझै पनि त्यही नामले जिस्क्याउँछु । यद्यपि भौतिक रूपमा वानीरा दिदी अब कतै भेटिनुहुन्न, तर सम्झनामा उहाँको छाप अझै ज्युँका त्युँ छ ।

वानीरा दिदीलाई सुरुमा मैले पद्मकन्या क्याम्पसमा गुरुआमाको रूपमा देखेकी/चिनेकी हुँ । विद्यालयस्तरको पढाइ सकिएपछि उच्चशिक्षा अध्ययनको क्रममा म पद्मकन्या भर्ना भएँ । लगातार चार वर्षसम्म विद्यार्थीका रूपमा त्यहाँ रहँदा जति पनि गुरु–गुरुआमालाई देख्ने–चिन्ने अवसर पाएँ, तीमध्ये वानीरा गिरि अलि बेग्लै प्रभावको लाग्नुभएको हो मलाई । उहाँको बोल्ने ट्युनदेखि हिँड्ने शैली अनि लबाइ–सजाइ अरू गुरुआमाको भन्दा अलग्गको लाग्थ्यो । बोलीपिच्छे ‘होइन हौ बहिनीहरू’ भन्नुहुन्थ्यो । सम्झन्छु– त्योबेला हामी साथी–साथी कुरा गर्दा पनि उहाँको दार्जिलिङे ट्युनको खुब नक्कल गर्थ्यौं र हास्थ्यौं बेस्सरी । उहाँ नेपाली पढाउनुहुन्थ्यो, तर अंग्रेजी पनि फरर्र बोल्नुहुन्थ्यो । सधैं हतारोमा झैं देखिनुहुने उहाँ निकै स्मार्ट गुरुआमा हुनुहुन्थ्यो ।

निकै फरासिली, हक्की, वाचाल अनि अलिअलि विद्रोही स्वभावकी लाग्ने उहाँबारे हाम्रो धारणा थियो– ‘वानीरा दिदीले नजानेको केही पनि छैन ।’ अझै सम्झना छ– कक्षामा पढाउँदा उहाँ पाठ्यपुस्तकभन्दा परपरसम्मका विषय उप्काउनुहुन्थ्यो । विदेशी लेखकका कुरा गर्नुहुन्थ्यो । कैयौं विदेशी कविका कविता उहाँलाई कण्ठ आउँथ्यो । अंग्रेजी कविका कविता अंग्रेजीमै सुनाउनुहुन्थ्यो, हिन्दी कविका कविता हिन्दीमै सुनाउनुहुन्थ्यो । मलाई असाध्यै रोचक लाग्थ्यो, उहाँको कक्षामा पढ्न !

वानीरा गिरिको साहित्यिक व्यक्तित्वसितचाहिँ म विश्वविद्यालयमा पढ्न थालेपछि मात्रै परिचित भएकी हुँ । कविताको कक्षामा सन्दर्भमा गुरुले उहाँको पनि नाम उच्चारण गरेको सुनेपछि नै हो, वानीरा दिदीको साहित्यिक व्यक्तित्वबारे पहिलोचोटि मेरो ध्यानाकर्षण भएको । त्यसपछि नै हो मैले विशेष हेक्काका साथ उहाँ साहित्यिक रचना खोजीखोजी पढ्न सुरु गरेको । एमएको थेसिस उहाँकै विषयमा गरेकी हुँ मैले । यो २०३९ सालको कुरा हो । त्योबेला कविता र उपन्यास विधामा गरी वानीरा दिदीका जम्मा तीनवटा कृति मात्रै प्रकाशित थिए ।

नेपाली समाजमा साहित्यमा कलम चलाउने नारीहरू त्यतिबेला अहिले जति धेरै संख्यामा थिएनन् । अझ त्यसमा पनि आधुनिकताको चेतसहित, प्रयोगवादी धाराको प्रभाव ग्रहण गर्दै अस्मिताबोधी स्वरका साथ कलम चलाउने सामर्थ्य भएका नारी प्रतिभाको संख्या ज्यादै थोरै थियो । त्यही संख्याभित्र वानीरा गिरि एक उल्लेख्य नाम हुनुहुन्थ्यो । मैले उहाँको साहित्यमा शोध गर्ने निधो गरी विभागमा प्रस्ताव गरें, विभागले स्वीकृत गर्‍यो । कलेज पढ्दै आफूलाई विशेष छाप परेको गुरुआमामाथि एमएको थेसिस गर्न पाउनुले मेरो मन खुसीले गद्गद् थियो । अर्को खुसी, डा. वासुदेव त्रिपाठी सर मेरो शोध निर्देशक हुनुभयो । उहाँकै निर्देशनअनुसार, शोधसमाग्री जुटाउने सिलसिलामा म प्रथमतः शोधनायक साहित्यकार वानीरालाई भेट्न गएँ पद्मकन्या कलेजमा । उहाँले खुसी हुँदै क्याम्पसमै अरू गुरु–गुरुआमाका अगाडि ‘मेरी विद्यार्थी’ भनेर अँगालो हाल्दा मेरो खुसीको सीमा रहेन ।

वास्तवमा त्यही घटनादेखि हो, वानीरा दिदीसितको मेरो सम्बन्ध दुईतर्फी आत्मीयताको आयाममा उक्लिएको । अध्ययनका लागि उहाँको घरको पुस्तकालय मेरा लागि खुला भयो । अधिकांश सामग्री त्यहीँबाट जुट्यो । शोधकार्य–क्रममा उहाँसित लामो अन्तर्वार्ता लिएँ, उहाँको व्यक्तिगत जीवनका अनेक पक्ष–पाटाहरूबारे पनि जानेँ–बुझेँ ।

७ वर्षको उमेरमै मातृविहीन वानीरामा सानै उमेरबाट साहित्यप्रति आकर्षण उद्बोधित भएको हो रहेछ । डीके खालिङद्वारा सम्पादित दार्जिलिङबाट निस्किने नेपाली पत्रिका ‘दियो’ (वर्ष ८, अंक ९) मा २०२० सालमा ‘मेरो साथी भन्छ’ शीर्षक कविता छपाएर उहाँ नेपाली साहित्यमा औपचारिक प्रवेश गर्नुभएको थियो । वानीराको साहित्यिक यात्राले खास गति समाउन सुरु गरेको चाहिँ उहाँ नेपाल भित्रिएपछि नै हो ।

२०२२ सालमा जसै उहाँलाई त्रिभुवन विश्वविद्यालयमा महेन्द्र छात्रवृत्तिअन्तर्गत एमए पढ्न अवसर प्राप्त भयो, त्यसैले नेपालमा बस्ने संजोग पनि जुरायो । एमए–विद्यार्थी छँदै २०२३ सालमा जनकपुर निवासी इन्जिनियर शंकर गिरिसित वैवाहिक सम्बन्धमा गाँसिएपछि उहाँ कानुनतः यतैको बासिन्दा हुनुभयो । एमएको पढाइ सकिनेबित्तिकै २०२५ सालदेखि उहाँले पद्मकन्या कलेज पढाउन सुरु गर्नुभएको हो । र, खासमा त्यही समयदेखि नै साहित्यिक वृत्तमा उहाँको नामले चर्चा पाउन सुरु गरेको हो ।

वानीरा गिरिको साहित्य–यात्राको पृष्ठभूमि पारिजातसित धेरै हदसम्म मिल्दोजुल्दो छ । पारिजातझैं वानीरा गिरिको जन्मघर पनि भारत हो । दुवै लेखकले आफ्नै रोजाइमा नेपाललाई कर्मथलो बनाए । दुवैका पिता चाहन्थे– छोरी चिकित्साशास्त्र पढोस्, डाक्टर बनोस् ! तर, दुवैले त्यो लाइन समाएनन्, साहित्यमा आए । अध्ययन र उच्च प्रतिभाको बलमा दुवैले नेपाली साहित्यमा आफ्नो नामलाई विशिष्ट कोटीमा स्थापित गरे । आधुनिक नेपाली साहित्यमा पारिजात र वानीरा गिरिको नाम शीर्षस्थ नारी हस्ताक्षरको रूपमा सुपरिचित छ ।

यद्यपि वानीरा दिदी आफूलाई कुनै लेखकसित तुलना गरेर मूल्यांकन गरेको रुचाउनुहुन्नथ्यो । ‘म मै हुँ, अरू कसैसित मेरो तुलना गर्नु जरुरी छैन’ भन्नेजस्तो व्यवहार गर्नुहुन्थ्यो । त्यस्तै व्यवहारले कतिपयले उहाँलाई ‘अहंकारी’ को रूपमा बुझेका हुन सक्छन् । तर, त्यो त उहाँको स्वभाव थियो, जसबाट उहाँ पन्छिन चाहनुभएन । आफ्नो अलग्गै स्वभावले पनि लेखन–वृत्तमा वानीरा अलग्गैसित चिनिने नाम बन्नुभएको थियो । तर, त्यतिले मात्रै उहाँ फरक पहिचानको लेखक बन्नुभएको पक्कै होइन । वानीरा गिरिलाई वानीरा गिरि बनाउने पहिलो र अन्तिम महत्त्वपूर्ण शक्ति भनेको उहाँमा अन्तर्निहित विशिष्ट किसमको सिर्जनशील क्षमता नै हो । विश्वसाहित्य अध्ययनमा (पनि) गहिरो रुचि राख्ने, हरेक विषयमाथि भिन्न किसिमले सोच्न सक्ने, उसरी नै लेख्न खोज्ने/लेख्न सक्ने, प्रचुर कला–सामर्थ्य भएको एक अत्यन्त सशक्त हस्ताक्षर हो– वानीरा ।

वानीराको कलमबाट नेपाली साहित्यले कविता, उपन्यास, निबन्ध, नियात्रालगायत विधामा एक से एक ओजिला कृति प्राप्त गरेको छ ।‘एउटा एउटा जिउँदो जंगबहादुर’, ‘जीवन थाय्मरु’, ‘काठमाडौं काठमाडौं’, ‘मेरो आविष्कार’, ‘कारागार’, ‘निर्बन्ध’, ‘शब्दातीत शान्तनु’, ‘पर्वतको अर्को नाम पार्वती’, ‘जंगल जंगल’, ‘रोकिनेले आकार दिन सक्तैन’, ‘द प्रिजन’, ‘फ्रम द लेक, लभ’, ‘फ्रम द अदर एन्ड’, ‘माई डिस्कभरी’ लगायत उहाँका किताब नेपाली साहित्यको अमूल्य धन हुन् ।

नेपाली साहित्यमा वानीराको योगदान साहित्यिक कृतिको सिर्जनामा मात्रै सीमित छैन, नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन पनि उहाँको सक्रियता महत्त्वपूर्ण थियो । विभिन्न समयमा अन्तर्राष्ट्रिय स्तरको साहित्यिक सभा–गोष्ठीमा नेपालको प्रतिनिधित्व गरेर विश्वका अन्य भाषाका लेखक विद्वान्समक्ष उहाँले नेपाली भाषा–साहित्यलाई चिनाउनुभएको छ । एउटा उदाहरण, सन् १९७६ मा तत्कालीन सोभियत संघमा सम्पन्न भएको युवा अफ्रो–एसियन लेखक सम्मेनलमा उहाँले नेपालबाट प्रतिनिधित्व गर्नुभएको थियो । स्मरणीय छ, यस उचाइको सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने उहाँ प्रथम नेपाली नारी स्रष्टा हुनुहुन्छ, जहाँ त्यसभन्दा १८ वर्षअघि महाकवि देवकोटाले प्रतिनिधित्व गर्नुभएको थियो ।

तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०२२ सालमा पहिलो पटक आयोजना गरेको कविता महोत्सवमा भाग लिई पुरस्कृत वानीरा गिरि साझा पुरस्कार पाउनेको सूचीमा पनि प्रथम नारी–लेखकमा गनिनुहुन्छ । २०७१ सालमा ‘विश्व नारी रत्न सम्मान’ बाट सम्मानित हुनुभएको उहाँ नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम नारी व्यक्तित्वको रूपमा पनि सुप्रसिद्ध हुनुहुन्छ । देशभित्रका सभा–समारोहमा उतिविधि सहभागी नहुने, सिर्जनामै एकोहोरो लागिरहन रमाउने उहाँले आफ्नो साहित्यिक जीवनमा प्रशस्त संख्यामा पाठक पाउनुभयो । वास्तवमा धेरै संख्यामा पाठक कमाउनु कुनै स्रष्टाका लागि जीवनकै ठूलो कमाइ हो, सम्मान र पुरस्कार हो !

वानीराको विचार थियो– ‘झन्डा उचालेर, डन्डा खाएर मलाई कहीँ पुग्नु छैन, कविहरूले जे सत्य छ त्यही बोल्न सक्नुपर्छ ।’ उहाँ आफ्नो विचार र सिर्जनाप्रति असाध्यै विश्वस्त हुनुहुन्थ्यो । त्यो विश्वास नै उहाँको जीवनको वास्तविक ऊर्जा र शक्ति थियो । तर, विडम्बना भन्नुपर्छ, जीवनको पछिल्लो कालमा त्यो विश्वासले उहाँलाई साथ दिएन । विश्वविद्यालयबाट प्राध्यापक पदमा पदोन्नति नभईकनै सेवानिवृत्त हुनुपर्दा उहाँको आत्मसम्मानमा ठेस पुगेको थियो । त्योबेला उहाँले आफ्ना लागि आफूभित्र आफैंले जगाएर राखेको आत्मविश्वासको आगोलाई उपयोग गरी त्यो ठेसलाई व्यवस्थापन गर्न सक्नुभएन । जीवनमा अनपेक्षित रूपमा आइलागेको त्यो धक्कालाई उहाँले धकेल्न सक्नुभएन । भन्नेहरूले भने— त्यही घटनाले वानीरा दिदीलाई डिप्रेसनमा लग्यो । र, अन्ततः उहाँ जीवनमा अल्जाइमरजस्तो घातक रोगको सिकार हुनुभयो । तर, म भन्छु, नियतिले उहाँको जीवनमाथि खेलेको क्रूर खेल थियो त्यो । नियतिका अगाडि कसको पो के लाग्छ !

वानीरा दिदीको भौतिक अवसानका लागि नियतिले कस्तो कु–क्षणको योजना गरेको रहेछ ! मृत्यु ज्यादै सस्तो भएको कोरोनाकालमा कोरोना संक्रमित भएर वानीरा दिदीले मृत्युवरण गर्नुपर्‍यो । दिदीको अन्तिम बिदाइ ज्यादै खल्लो हुन पुग्यो । उहाँको भौतिक अवसान सामान्य समयमा भएको हुन्थ्यो भने अन्त्येष्टिमा लेखकहरूको ठूलो भीड लाग्ने थियो । र, एउटा स्मरणीय घटनाका रूपमा उहाँको बिदाइ हुनेथियो, तर नियतिले त्यसो हुन दिएन । नियतिको नियत उहाँप्रति कति कठोर !

वर्तमान स्थितिमाथि कवि इन्दिरा प्रसाईले एउटा कविता लेखेकी छन् । ‘अब कहिले नआउनु वानीरा’ शीर्षक कविताको एउटा अंश यस्तो छ :

‘पञ्चेबाजा र सिंदुरे जात्रामा/अन्तिम बिदाइ गरिनुपर्ने

तिम्रो कोमल काया पनि/गड्याम् गड्याम बुट बजार्दे आएका

पीपीईका कठोर हातहरूले/अदृश्य बनायो’

नियतिले वानीरा दिदीलाई असमयमै हामीबाट छिनेर लग्यो । तर, शब्दहरूमा उहाँले आफ्नो अस्तित्वलाई जसरी अजम्बरी बनाउनुभएको छ, त्यसलाई भने नियतिले कदापि छुन सक्दैन । पार्थिव शरीरको अन्त्य भएपनि उहाँले छोडेर जानुभएका कालजयी सिर्जनामा उहाँ जीवित हुनुहुन्छ ! अनन्त कालसम्म जीवित रहनुहुनेछ !

प्रकाशित : जेष्ठ २२, २०७८ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?