२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

उहिल्यैदेखि गणतान्त्रिक हामी

तत्कालीन भारतमा जनजातीय समूहका नामबाट बनेका १६ वटा गणराज्य थिए । तीमध्ये नेपालमा पर्ने गणराज्य थिए– शाक्य, कोशल र विदेह । नेपालको पहाडी क्षेत्रमा चाहिँ गोपाल, किरात, लिच्छवि र अन्य रैथाने समुदायका गणराज्यहरु प्रचलित थिए ।
नेपालमा प्रारम्भमा गणतान्त्रिक (गणराज्य) व्यवस्था प्रचलित थियो । वंशगत राजतन्त्रको सुरुआत भएको १६०० वर्षजति मात्रै हुँदै छ । राजतन्त्रकालमा पनि स्थानीय स्तरमा गणतान्त्रिक अभ्यास विद्यमान थिए ।
भोगीराज चाम्लिङ

ल है ठारु (थारू) ज्यूहरू
ल है बाजी (वृज्जि) ज्यूहरू
ल है साप्ते (शाक्य) ज्यूहरू
ल है ठारू (थारू) ज्यूहरूको थातथलो हुँदै (जाँदै छौं)
ल है बाजी (वृज्जि) ज्यूहरूको थातथलो हुँदै (जाँदै छौं)
ल है साम्भा बाँसको धनुकाँड बोकेर शिर उभ्याउँदै छौं

उहिल्यैदेखि गणतान्त्रिक हामी

मुन्दुमको यो अनूदित रिसिया (श्लोक) मैले शिवराज र त्रिभुराज राईबाट धेरै वर्षपहिले संकलन गरेको थिएँ । नछुङ (धामी) हरूले मुन्दुम गाउँदै ‘सांस्कृतिक यात्रा’ (रिचुअल जर्नी) गर्ने क्रममा आदिम थलोदेखि सुरु गरेर हाल बसोबास गरिरहेको थलोहरूसम्मको नाम लिने गर्छन् । त्यस क्रममा वृज्जि (गणराज्य), शाक्य (गणराज्य) र थारूहरूको कुरा मुन्दुममा खुबै आउने गर्छ ।

तर, वंशावलीकार तथा दरबारनिकट इतिहासकारले नेपालमा सुरुदेखि नै राजतन्त्र थियो भन्ने ढङ्गले लेख्दै आएका छन् । राजतन्त्रलाई अनन्त टिकाउने बौद्धिक अस्त्र थियो त्यो । खासमा नेपालमा प्रारम्भमा गणतान्त्रिक (गणराज्य) व्यवस्था प्रचलित थियो । वंशगत राजतन्त्रको सुरुआत भएको त त्यस्तै १६०० वर्षजति मात्रै हुँदै छ । बरु राजतन्त्रकालमा पनि स्थानीय स्तरमा गणतान्त्रिक अभ्यासहरू विद्यमान थिए, अहिले पनि छन् ।

भारतमा चाहिँ नेपालमा भन्दा लगभग १००० वर्षपहिले नै वंशगत राजतन्त्र सुरु भइसकेको थियो । यसको कारण थियो, फलामको प्रयोग । भारतमा इसापूर्व छैटौं शताब्दीदेखि पूर्वी उत्तर प्रदेश र पश्चिम बिहारमा फलामको प्रयोगमा वृद्धि भयो । फलामका हातहतियारसहितका सेनाहरूको भूमिका बढ्न थाल्यो । फलामबाट बनेका कृषि औजारहरूको प्रयोगले गर्दा किसानहरूले पनि आफूले उपभोग गर्नेभन्दा बढी अन्न उब्जाउन थाले । ती अतिरिक्त अनाजहरू सेना र प्रशासन सञ्चालनका लागि संकलन गर्न थालियो । यसले मान्छेलाई आफ्नै जग्गा–जग्गामा बस्न र आफ्नो क्षेत्र विस्तार गर्न मात्रै प्रेरित गरेन, ठूला भौगोलिक राज्य (राजतन्त्र) हरू बन्ने परिस्थिति पनि निर्माण भयो (रामशरण शर्मा, इन्डियाज एन्सियन्ट पास्ट, सन् २०१९, पृष्ठ : १४५) ।

पछि थपिएका वैदिक ऋचाहरूमा गणराज्यहरूमा राजाको निर्वाचन हुने कुरा उल्लेख छ । शारीरिक रूपमा सुगठित र अन्य हिसाबले तगडा व्यक्तिलाई राजाका रूपमा निर्वाचित गरिन्थ्यो । अथवा, खेती गर्न जान्ने र बहादुरीपूर्वक लड्ने व्यक्ति गणप्रमुख (राजा) का रूपमा निर्वाचित हुन्थे । तर, ती राजाहरूका नियमित सेना हुँदैनथे । परिआउँदा जनजातीय समूहकै सदस्यहरू लडाइँमा सहभागी हुन्थे । भुइँतहमा चाहिँ ग्रामसभाहरूले प्रशासन सञ्चालन गर्थे । त्यहाँ पनि एउटा प्रमुख छनोट गरिएको हुन्थ्यो (रामशरण शर्मा, पृष्ठ : १२३) । राजतन्त्रमा एक जना व्यक्तिले निर्णय गर्थ्यो भने गणराज्यमा चाहिँ उपस्थित गणका प्रतिनिधि तथा जनताको बहुमतबाट निर्णय हुन्थ्यो ।

स्वायत्त र स्वतन्त्र गण र संघहरूको पनि फेरि साझा संघ बनेको हुन्थ्यो । गण र संघका प्रमुखहरूमा राजतन्त्रीय राजाहरूको जस्तो एकल विशेषाधिकार हुँदैनथ्यो । गणले सामूहिक रूपमा नियम–कानुनहरू बनाउँथ्यो, त्यो पालना गर्नु गणका सदस्यहरूको कर्तव्य हुन्थ्यो । कतिपय गणराज्यहरूमा सबै जनता सहभागी भएर आफ्नो मत राख्थे । बहुमत जनताको मत पारित गरिन्थ्यो (के. अन्तोनोभा, जी. बोन्गार्ड लेभिन र जी. कोतोभ्स्की, ए हिस्ट्री अफ इन्डिया, सन् १९७९, पृष्ठ : ९८, ९९) । त्यो कतिसम्म सामूहिक हुन्थ्यो भने वैशालीका लिच्छविहरूको सभा ‘सन्थागार’ मा ७,७०७ जना राजाहरू जम्मा भएर निर्णय गर्थे (रामशरण शर्मा, पृष्ठ : १६६) । भारतको पूर्वी उत्तर प्रदेश र बिहार समेटेर नेपालको पहाडको फेदसम्म फैलिएका ती प्राचीन गणराज्यहरू समानतामा आधारित जनजातीय विचारधाराबाट प्रभावित थिए ।

...

पहिला तराईका गणराज्यहरूकै कुरा गरौं । तत्कालीन भारतमा जनजातीय समूहका नामबाट बनेका १६ वटा ‘देशहरू’ (गणराज्यहरू) थिए (रिस डेबिस, बुद्धिस्ट इन्डिया, सन् १९०३, पृष्ठ : २३) । ती १६ देशमध्ये नेपालमा पर्ने गणराज्यहरू थिए– शाक्य, कोशल र विदेह । नेपालको पहाडी क्षेत्रमा चाहिँ गोपाल, किरात, लिच्छवि र अन्य रैथाने समुदायका गणराज्यहरू प्रचलित थिए ।

१. शाक्य गणराज्य : शाक्य गणराज्य पूर्वमा रोहिणी नदी (नेपाल), दक्षिणमा कोलीय राज्य (भारत), उत्तर–पूर्वमा मल्लहरूको राज्य कुसिनारा (भारत) र दक्षिण–पश्चिममा कोशल राज्य (नेपाल) सम्म फैलिएको थियो । शाक्यहरूले यो भूभाग इसापूर्व सातौं शताब्दीताका आफ्नो अधीनस्थ गरेका थिए (जेपी शर्मा, रिपब्लिक्स अफ एन्सियन्ट इन्डिया, सन् १९६८, पृष्ठ : १८७, २०२) ।

गौतम बुद्ध (जन्म इसापूर्व ५६७ – मृत्यु इसापूर्व ४८७) का पिता शुद्धोधन शाक्य गणराज्यका निर्वाचित राजा थिए । बुद्धका काकाका छोरा भद्दिय युवा उमरमै राजा निर्वाचित भएका थिए । शाक्य गणराज्यको कपिलवस्तुमा सन्थागारा (सभा) मा प्रशासनिक तथा न्यायिक विषयमा छलफल गर्न युवा तथा वृद्धहरू सबै सहभागी हुन्थे । सन्थागारबाटै आफ्ना प्रमुख चुन्थे (रिस डेबिस, पृष्ठ : १९≤ रामशरण शर्मा, पृष्ठ : १३७) जसलाई राजाको उपाधि दिइन्थ्यो (जेपी शर्मा, पृष्ठ : १८७) ।

कपिलवस्तुमा हलो महोत्सव गर्ने प्रचलन थियो । राजा शुद्धोधनले एक विशेष समारोहमा सिंगारिएका ७९९ मध्ये एउटा हलो समातेर जोत्दथे (सीताराम तामाङ, नेपाल : समाजविकासको ऐतिहासिक भौतिकवादी निरुपण, विसं २०६१, पृष्ठ : ६४) जसबाट पनि शुद्धोधन निर्वाचित राजा थिए भन्ने देखिन्छ ।

कपिलवस्तु सहरको वर्णन गर्ने क्रममा सातौं शताब्दीका चिनियाँ यात्री ह्वेन साङले सहरका बासिन्दा आफैँले आफ्ना प्रमुख नियुक्त गर्ने उल्लेख गरेका छन् (ह्वेन साङ, बुद्धिस्ट रिकर्ड्स अफ द वेस्टर्न वर्ल्ड, भोल्युम २, सन् १८८४, पृष्ठ : १४) । १३०० वर्षपछि त सहरका प्रमुख निर्वाचित हुन्थ्यो भने शुद्धोधनका पालामा त अवश्य पनि निर्वाचित हुन्थ्यो राजा अथवा भनौं गणप्रमुख ।

केही विद्वान्को मतमा शाक्य गणराज्यका ‘शाक्य परिषद्’ मा गौतम वंशका ५०० सदस्य थिए । उनीहरूले आफ्नो प्रमुख छनोट गर्नेदेखि महत्त्वपूर्ण विषयउपर छलफल गरी निर्णय लिन्थे (जेपी शर्मा, पृष्ठ : १९६–९७) ।

यहाँ छलफल गर्नुपर्ने एउटा कुराचाहिँ के भने ‘बुद्धले राजपाठ छाडेर हिँडे’ भनेर भयंकर बनाइएको छ । तर, बुद्धले राजपाठ त्यागेको कुरा सम्पूर्णतः सही होइन । त्यसबेला राजाका जेठा छोरा राजा हुने प्रचलन नै थिएन । शुद्धोधनपछि गौतम बुद्ध राजाका रूपमा निर्वाचित हुन पनि सक्थे, नहुन पनि सक्थे ।

२. विदेह गणराज्य : प्राचीन भारतमा आठ जनजातीय समूह मिलेर वृज्जि महासंघ बनेको थियो । त्यसमध्ये सबैभन्दा प्रभावशाली चाहिँ लिच्छवि र २३०० माइल क्षेत्रफल भएको विदेह (मिथिला) थियो । बुद्धको उदय हुनुभन्दा केही पहिले विदेह (मिथिला) मा राजा जनकले शासन गरेका थिए । त्यही प्रख्यात राजा जनककै स्मृतिमा अहिलेको जनकपुर नाम रहन पुगेको हो (रिस डेबिस, पृष्ठ : २६, ३७≤ शशिभूषण चौधरी, इथ्निक सेटलमेन्ट इन एन्सियन्ट इन्डिया, सन् १९५५, पृष्ठ : १६४) ।

विदेहको दक्षिणी सिमाना गंगा नदीसम्म फैलिएको थियो । विदेह गणराज्यभित्र अहिलेको भारतका चम्पारन, मुजफ्फरपुर, दरभंगा र पूर्णिया जिल्लाहरू पर्थ्यो । विदेहको पूर्वी सिमानाचाहिँ नेपालको कोसी (कौशिकी) नदीसम्म फैलिएको थियो । ‘बृहत् विष्णु’ पुराणअनुसार विदेह गणराज्य गण्डकदेखि कोसीसम्म, गंगा नदीदेखि हिमालय (पहाड) सम्म फैलिएको थियो । ‘शतपथ ब्राह्मण’ मा उल्लेख भएअनुसार, विदेह र कोशल राज्यलाई सदानीरा (गण्डक) नदीले छुट्याएको थियो (शशिभूषण चौधरी, पृष्ठ : १६४≤ जेपी शर्मा, पृष्ठ : १४४) ।

विदेहमा पनि शाक्य गणराज्यमा जस्तै राजाले हलो जोत्ने महोत्सव हुन्थ्यो । यसबाट विदेहमा निर्वाचित राजाको प्रचलन थियो भन्ने देखिन्छ (सीताराम तामाङ, पृष्ठ : ६४) । के भनिन्छ भने बुद्धको समयभन्दा पहिला विदेहमा राजतन्त्र थियो, बुद्धको समयमा यो गणराज्यमा परिणत भयो र वृज्जि संघमा समावेश भयो (जेपी शर्मा, पृष्ठ : १४४≤ शशिभूषण चौधरी, पृष्ठ : १६४≤ रिस डेबिस, पृष्ठ : २६) ।

बौद्ध साहित्यमा पनि विदेहलाई गणराज्यकै रूपमा उल्लेख गरिएको छ । अझ विदेघ राजा बन्नुभन्दा पहिला विदेहमा अनार्यहरू गणराज्यका प्रमुख हुन्थे । र, विदेहमा महिलाहरूको पनि केही राजनीतिक प्रभाव थियो (जेपी शर्मा, पृष्ठ : १४९–५५) ।

३. कोशल गणराज्य : उत्तर र दक्षिण कोशल गरेर दुईवटा कोशल गणराज्यहरू थिए । दक्षिण कोशलचाहिँ भारतमा पर्थ्यो । उत्तर कोशल गणराज्यको राजधानीचाहिँ बुद्धको समयमा श्रावस्तीमा थियो जुन नेपालमा पर्छ । बुद्धको समयमा ६ ठूला सहरमध्ये एक थियो श्रावस्ती (सावत्ती) ।

सम्भवतः कोशलको दक्षिण सिमाना गंगा नदीसम्म, उत्तरमा नेपालको पहाडसम्म, पश्चिममा नेपालबाट बग्ने राप्ती नदीको मुहानसम्म तथा नेपालमै बग्ने रोहिणी नदीसम्म फैलिएको थियो (रिस डेबिस, पृष्ठ : २५, ३९, ४०≤ शशिभूषण चौधरी, पृष्ठ : ६२) । कोशलको पूर्वी सिमाना सदानीरा (गण्डक) नदीसम्म फैलिएको थियो, जहाँ विदेह गणराज्यसँग सिमाना जोडिन्थ्यो (शशिभूषण चौधरी, पृष्ठ : ६३) । र, सातौं शताब्दीमा कोशलमा जनघनत्व अत्यधिक थियो (ह्वेन साङ, पृष्ठ : २०९) ।

...

अब कुरा गरौं पहाडका गणराज्यहरूको । पहाडका गणराज्यहरूमा सबैभन्दा उल्लेख्य किरात गणराज्य नै हो । त्यसबाहेक थुप्रै गणराज्यहरू थिए जसमध्ये केहीका बारेमा थोरबहुत चर्चा गर्न सकिन्छ । अन्यथा यसबारे शोध हुन बाँकी नै छ ।

४. गोपाल गणराज्य : वंशावलीहरूका अनुसार नेपालको प्रथम राजवंश गोपाल हो । तर, ती गोपालहरू पनि गणतान्त्रिक थिए । वंशावलीले के भन्छ भने मञ्जुश्रीले महाचीनबाट आएर धर्माकरलाई राजा नियुक्त गरे भने दक्षिणबाट काठमाडौं उपत्यका प्रवेश गरेका नेमुनिले ग्वालाहरूको स्वीकृतिमा गोपाललाई राजा बनाए (पुष्पलाल, छानिएका रचनाहरू, भाग १, विसं २०५३, पृष्ठ. ३३७) । मञ्जुश्रीले आफैं र ग्वालाहरूको सहमतिमा नेमुनिले राजा नियुक्त गर्ने कुराबाट थाहा हुन्छ, किरातकालभन्दा पहिला गणतान्त्रिक प्रणाली नै थियो ।

५. किरात गणराज्य : थुप्रै वंशावलीमा किरात राजाहरूको ३२ पुस्तासम्म नामावली दिइएको छ । तर, ती कोही पनि वंशगत राजाहरू थिएनन्, बरु निर्वाचित गणनायकहरू थिए (सीताराम तामाङ, पृष्ठ : ६०) । किरातहरूमा जातपात र उँचनिचको भेदभाव नभएका कारण सबै नागरिकहरूलाई समान अधिकार प्राप्त भएकाले किरात राज्य निकै व्यवस्थित र दह्रिलो पनि थियो (बाबुराम आचार्य, नेपालको सांस्कृतिक परम्परा, विसं २०५४, पृष्ठ : १८) । र, किरातहरूको गणराज्यको आकारचाहिँ लगभग अहिलेकै नेपालबराबर थियो भन्ने एकथरी विद्वान्हरूको मत छ ।

किरातहरूमा प्रचलित गणराज्य प्रणाली त ४०० वर्षअघिसम्म पनि बाँकी थियो । उदाहरणका रूपमा हलेसीगढी (खोटाङ) मा लगभग ४०० वर्षअघि होलैसुङ भन्ने किरात राजाको निधन भएपछि उनका हुर्किएका छोराहरूमध्ये ‘जसले लाप्पा खेल्दा जित्छ, उही राजा हुने’ सहमतिअनुसार साहिँला जिताराज राजा बने । लाप्पा खेल्नु पनि चुन्ने, चुनिने एउटा विधि नै हो ।

अझ किरातीहरूमा त गणतान्त्रिक चेतना यति मिहिनसँग सामाजिकीकरण भएको छ कि, यसको एउटा गज्जब उदाहरण दिन्छु । किरात राई धामीहरूले चिन्ता बसेर खड्गो (दशा) काट्दा सबैभन्दा मुनि राजाको मोहर राख्छन् । त्यसमाथि राख्छन् कुभिन्डो । कुभिन्डोलाई मृत्यु (काल) को प्रतीक मानिने भएकाले काट्नका लागि राखिन्छ । राजाको मोहरचाहिँ किन नि ? राजाहरू पनि किरातीहरूका लागि काल (मृत्यु) बराबर नै भएकाले कुभिन्डोसँगै राजाको मोहरलाई पनि काट्ने चलन छ । खासगरी लिच्छविहरूबाट विस्थापित हुनुपरेको, सेनहरूले किरात प्रदेशमा अधिकार जमाएको, अझ पृथ्वीनारायण शाहले त रहलपहल पनि मासिदिएको कारणले किरातीहरूमा राजतन्त्रप्रति सकारात्मक धारणा पाइँदैन । उनीहरू सांस्कृतिक–मनोवैज्ञानिक र वैचारिक हिसाबले नै गणतान्त्रिक छन् ।

६. लिच्छवि गणराज्य : अजातशत्रुले वृज्जि संघलाई आफ्नो राजतन्त्रमा अधिनस्थ गरेपछि लिच्छविहरू शताब्दीऔंसम्म मगध राज्यअर्न्तगत शासित भए । मगध साम्राज्य कमजोर भएपछि भने लिच्छविहरू स्वतन्त्र हैसियतमा पुनःस्थापित भए । यही क्रममा लिच्छविहरूका अनेकौं समूह नयाँ–नयाँ व्यवसाय र व्यापारहरूको खोजी गर्दै नेपाल आइपुगे (बाबुराम आचार्य, नेपालको सांस्कृतिक परम्परा, विसं २०५४, पृष्ठ : २५) । त्यसरी नेपाल (काठमाडौं) प्रवेश गर्नेहरूमध्ये एक थिए सुपुष्प र उनका अनुयायीहरू (हित नारायण झा, द लिच्छबिज, सन् १९७०, पृष्ठ : १०७) ।

ती लिच्छविहरू किरात–नेवार संस्कृति र भाषामा घुलमिल भए । सन् २५० आसपास किरात गणराज्य भङ्ग गरेर जयदेव प्रथमले लिच्छवि राज्य स्थापना गरे । तर, लिच्छविहरूले आफ्ना रीतिरिवाज मात्रै होइन राजा निर्वाचित गर्ने परम्परा पनि सँगै ल्याएका थिए (बाबुराम आचार्य, पृष्ठ : २६–२८) । बौद्धग्रन्थ ‘चिवरवस्तु’ मा उल्लेख भएअनुसार, लिच्छवि गणराज्यमा गणप्रमुखको निधन भएपछि जोकोही पनि उम्मेदवार बन्न सक्थ्यो (के. अन्तोनोभा र अरू, पृष्ठ : ९९) । यसबाट लिच्छविकालको प्रारम्भिक चरण लोकतान्त्रिक थियो भन्ने अनुमान गर्न सकिन्छ । इस्वी संवत्को चौथो शताब्दीसम्म लिच्छविहरूमा लोकतान्त्रिक प्रणाली प्रचलित थियो किनभने वृषदेव निर्वाचित राजा थिए । तर, उनले आफ्ना छोरा शंकरदेवलाई युवराज घोषणा गरेपछि नेपालमा वंशगत राजतन्त्र सुरु भयो (बाबुराम आचार्य, पृष्ठ : २६–२८) ।

७. अन्य जनजातीय गणराज्यहरू : १६ औं शताब्दीको मध्यसम्म पनि गोरखाका विभिन्न ठाउँमा मगर कविलाहरूको गणतन्त्रीय जनवादी व्यवस्था थियो । त्यसमध्ये एक लिगलिगमा बर्सेनि समाज भेला भएर नाइके छान्ने प्रचलन थियो । त्यही मौका छोपेर द्रव्य शाहले निजी सैन्यका साथमा त्यो क्षेत्र कब्जा गरेर (पुष्पलाल, पृष्ठ : ३३६) गोरखामा वंशीय राजतन्त्रको जग बसालेका थिए ।

त्यस्तै १२ मगराँतका मुखियाहरूको संयुक्त बैठक बस्ने चलन हिजोआज पनि छ । यो भनेको मगरहरूको १२ कविला राज्यको महासंघको अवशेष हो (पुष्पलाल, पृष्ठ : ३३८) । मगरहरू पहिला गोत्रनायकहरूको चुनाव गर्थे अनि ती गोत्रनायकहरूले १२ मगराँतका प्रजातीय नायक चुन्थे । ठीक यसैगरी १२ तिमाल (काभ्रे) का तामाङहरूले पनि पहिला १२ जना गोत्रीय नायक मुल्मी चुन्थे । ती १२ मुल्मीबाट प्रजातीय नायक घ्ले चुन्थे । घ्लेको नेतृत्वमा एउटा परिषद् बन्थ्यो, त्यसले नै १२ तिमालको शान्ति, सुरक्षा, वनजंगल र सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्थ्यो (सीताराम तामाङ, पृष्ठ : ५५–५६) । यस्तो प्रचलन थकालीहरूमा पनि पाइन्छ । दस लिम्बुवानको चुम्लुङ प्रणाली पनि यस्तै गणतान्त्रिक प्रणालीकै अवशेष हो ।

कतिसम्म भने भक्तपुरका राजा रणजित मल्लले ३२ टोलका नाइकेहरूको पञ्चायत बोलाएर त्यसले अनुमति दिएपछि मात्रै पृथ्वीनारायण शाहबाट पराजित भएर भागेका काठमाडौंका जयप्रकाश र पाटनका तेजनरसिंह मल्ललाई शरण दिएका थिए (पुष्पलाल, पृष्ठ : ३३८) भन्ने कुराले काठमाडौं उपत्यकामा समेत राजतन्त्रकालमै गणराज्यका अभ्यास जीवित रहेको स्पष्ट हुन्छ । थारूहरूको बडघर प्रथा यही गणतान्त्रिक अभ्यासकै जीवन्त साक्ष्य हो ।

खासमा नेपाली समाज राजतन्त्रीयभन्दा गणतान्त्रिक अभ्यास र चेतनासहितको छ !

प्रकाशित : जेष्ठ १५, २०७८ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?