थालीमा तरकारी कि मासु ?- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थालीमा तरकारी कि मासु ?

म शाकाहारी हुँ । तर, केही खाना नपाएर जीवन कि मृत्यु भन्ने अवस्था आयो भने म मासु नखाएरै मर्छु भन्दिनँ । र, सामान्य अवस्थामा मांसाहारीलाई अपमानित गर्नुपर्ने कारण पनि छैन ।
अरुणा उप्रेती

वैशाख १८ को कान्तिपुर ‘कोसेली’ मा शिक्षा रिसालको अनुभूति–लेख ‘एक शाकाहारीको एकालाप’ पढेपछि यो लेख लेखिएको छ । लेखक रिसालको आग्रह छ, ‘शाकाहारीलाई अपराधीजस्तो व्यवहार नगरियोस् । उनीहरूको मुखमा जबरजस्ती मासु नकोचियोस् !’ मेरो अनुभवमा शाकाहारीलाई अपराधीजस्तो व्यवहार गरिएको छैन, न त शाकाहारीको मुखमा जबरजस्ती मासु नै कोचिएको छ ।

म पनि एक शाकाहारी हुँ । म सुरुमा आफ्नै एउटा अनुभूति पाठकलाई सेयर गर्न चाहन्छु । १४ वर्षअघि । इरानको ‘वाम’ सहरमा म जनस्वास्थ्य विज्ञ भएर काम गरिरहेकी थिएँ, भूकम्प गएको क्षेत्रमा । एक दिन त्यस सहरबाट केही टाढा एउटा सानो सहरमा खाना खान गयौं । सानो चमेनागृहको मालिकलाई मैले भनें, ‘म शाकाहारी हुँ, मासु नहालेको परिकार दिनू है ।’ तिनले ‘हुन्छ’ भने र मेरा लागि नान, रोटी, सुप ल्याइदिए । म दंग परें । मुखमा सुप हाल्नेबित्तिकै मलाई थाहा भयो, त्यसमा मासु छ ।

‘मैले मासु खान्नँ भनेको, किन मासु हालेको ?’ मैले तिनलाई सोधें ।

‘यो त मासुको रस मात्रै हो, मासु त मैले झिकिसकेँ । यहाँ मासु नखाने मानिस आउँछन्, तिनीहरूका लागि हामी यसैगरी सुप पकाउँछौं,’ तिनले भने ।

३ महिना इरान बस्दा होटलमा मैले तरकारी, दाल कहिल्यै खाइनँ, फलफूल, दही–भात र भान्टा मात्र खाएँ । त्यसबेला मलाई अनुभव भयो, ‘मासुको टुक्रा नखाने मानिसहरू’ त्यहाँ शाकाहारी हुँदारहेछन् ।

अफगानिस्तान, पाकिस्तान बस्दा म आफैंलाई एउटै प्रश्न गर्थें, ‘मासु नखाए पनि मान्छे बाँच्न सक्छ ?’ खासमा ठाउँ र समयअनुसार गरिन्छ– मासु खाने कि नखाने भन्ने बहस ।

मेरा केही साथी ५ वर्षअघिसम्म मासु पाएपछि छाकमा आधा किलोसम्म खान्थे । अहिले मासु–खपत कम गरेका छन् । हाल उनीहरू सातामा ३ दिन ‘बिनामासुको’ खाना खान्छन् । र, त्यो कुरा बडो गर्वसाथ सुनाउँछन् ।

‘शाकाहारी कि मांसाहारी’ भन्ने बहस चल्दै गर्दा म भन्छु– ‘शाकाहारी हुँ । तर, अरू खाना केही नपाएर जीवन कि मृत्यु भन्ने अवस्था आयो भने म मासु नखाएरै मर्छु भन्दिनँ । तर, सामान्य अवस्थामा मांसाहारीलाई अपमानित गर्नुपर्ने र पापी नै भन्नुपर्ने जरुरी म देख्दिनँ ।’

मासु खानु स्वास्थ्यकर हो कि होइन ? शाकाहारी भन्लान्, ‘स्वास्थ्यकर होइन ।’ मांसाहारी भन्लान्, ‘शाकाहारीलाई प्रोटिन नै पुग्दैन ।’ शाकाहारीलाई लिएर मांसाहारीले राख्ने यो विचारप्रति मेरो तीव्र असहमति छ जति शाकाहारीले मांसाहारीप्रति राख्ने यस्तो विचारसँग– ‘मांसाहारीहरू सबै अस्वस्थ हुन्छन् ।’

मेरी ८४ वर्षीय आमा माछा–मासु त के लसुन–प्याजसमेत खान्नन् । तर, उनको शरीरमा रगतको कमी छैन, क्याल्सियम र अन्य सूक्ष्म पोषक तत्त्वको कमी पनि छैन । समय समयमा म आमाको रगत जँचाइरहन्छु । आमा अहिले पनि मीठो खाना पकाउँछिन् । उनलाई अन्य स्वास्थ्य समस्या त छ, तर माछा–मासु नखाएर हुने ‘स्वास्थ्य समस्या’ छैन ।

मेरी एक साथी छिन् । उनी पनि माछा–मासु खान्निन्, तर मिठाई भनेपछि हुरुक्कै हुन्छिन् । भन्छिन्, ‘मिठाई खान आजकल छाडेकी छु । तर, देखेपछि मन थाम्न सक्दिनँ । खान त एक किलो मिठाई पनि खान सक्छु ।’ उनको तौल ८५ केजी छ । दुवै घुँडामा समस्या छ । हिँड्न गाह्रो हुन्छ । भन्नुको अर्थ शाकाहारीहरू स्वस्थ हुन पनि सक्छन्/अस्वस्थ पनि ।

साताको दुई दिन मासु नखाने ‘बर्त’ लिएकी साथीचाहिँ चाडपर्वका बेला त्यो ‘बर्त’ लाई बाईबाई गर्छिन् र मज्जासँग मासु खान्छिन् अनि पश्चात्ताप गर्छिन् । उनलाई कब्जियतको समस्या परेपछि त्रिफला र इसबगोल खान्छिन् । खाना जे खाए पनि सन्तुलित र आफ्नो शरीरलाई विचार गरेर खाने हो भने सायद स्वास्थ्यमा कमै समस्या आउँछन् ।

‘सुत्केरीलाई खुट्टीको रस ख्वाएपछि मात्रै उनी तंग्रिन्छिन् र उनको दूध आउँछ’ भन्नेहरू के बिर्सन्छन् भने शाकाहारीले खाने दाल, सुप, ज्वानोको झोल, कोदो, फापर आदिले शरीरलाई पर्याप्त प्रोटिन दिन्छन् । ‘२५ वर्ष भयो मैले मासु नखाएको, तर मलाई न रगत कम छ, न सूक्ष्म पोषक तत्त्वको कमीले क्याप्सुल खानुपरेको छ,’ म आफ्नो अनुभव सुनाउँदा प्रायः भन्छु, ‘तर, मासु खाने मानिसले पनि विभिन्न तरकारी, दाल खाएपछि मात्रै उसको शरीरमा रेसादार पदार्थ पुग्छ । र, कब्जियत भएर अनेकथरी औषधि खानुपर्दैन ।’

सायद पहिले–पहिले मासु धेरै खान नपाइने भएकाले होला हामीकहाँ कुनै तरकारी स्वादिष्ट भए यस्तो भन्ने चलन छ, ‘मासु जत्तिकै मीठो !’

५० वर्षअघि हाम्रो घरमा दसैंमा बाहेक, शनिबार त्यो पनि पाहुना आउने दिनमा मात्रै मासु पाक्थ्यो । बुबासँग मासु किन्न को जाने भनेर घरमा म र दाइबीच सानोतिनो युद्ध नै हुन्थ्यो । किनभने ६ रुपैयाँको आधा धार्नी मासु किनेर/बोकेर ल्याउँदा ‘बक्सिस’ स्वरूप ‘मोहनभोग र स्वारी’ खान पाइन्थ्यो । मासु पकाएको भाँडा पनि लुछाचुँडी हुन्थ्यो, त्यसमा भात दलेर सोहोरेर खानका लागि ।

त्यसबेला यस्ता कुरा सुनिन्थे, ‘विदेशमा मानिसहरू बिहान–बेलुकै मासु खान्छन् । थोरै पैसामा मासु किन्न पाइन्छ, त्यहाँ तरकारी महँगो, मासु सस्तो हुन्छ ।’ यस्ता कुरा सुन्दा सोच्थें, ‘आहा ! त्यहाँ जान पाए त म कत्ति मासु खान्थें ।’

समय बदलिँदै गयो । दैनिक मासु खाने देश पुग्दा पनि हरियो तरकारी, भात, सुप, फलफूल नै खाएँ । फलफूल त जीवनको अभिन्न अंग बन्यो । तर, अहिले कसैले मलाई ‘मासु खाने कि नखाने ?’ भन्ने प्रश्न गरे मेरो उत्तर हुन्छ, ‘मन लागे खाने ।’ मासु खानेलाई ‘पापी’, ‘नर्क जान्छौ’ भनी प्रयोग गरिएका शब्दले मेरो मनमा पनि चसक्क बिझ्छ । तिब्बतको अनकण्टार कुना, जहाँ मासु मुख्य भोजन हो, त्यहाँ पुगेर ‘तरकारी खाऊ, मासु नखाऊ’ भन्न सकिन्छ होला ?

गंगटो, भ्यागुतो, मुसा, अनेकथरीका माछा खाने विश्वका भिन्न–भिन्न समुदायमा पुगेर ‘मासु खाए देवी रिसाउँछन्’ भन्ने तर्क गर्दा बुद्धिमत्ता होला ? खाना/भोजन मान्छेको संस्कृति, भौगोलिक अवस्थासँग गाँसिएको हुन्छ । जहाँ जे पाइन्छ, त्यसैलाई प्रयोग गर्ने हो । र, त्यसैबाट स्वस्थ बन्ने हो । शाकाहारीले मांसाहारीलाई र मांसाहारीले शाकाहारीलाई होच्याउनुको कुनै तुक छैन ।

मेरो घरमा पाहुना आउँदा उनीहरूका लागि मासु पाक्छ । म कसैको घरमा गए, उनीहरूले थालीमा पस्किएको तरकारी मीठो मानेर खान्छु । मासु पकाएकै भान्छामा पकाएको तरकारी भनेर म अपमान गर्दिनँ । म सोच्छु– हरेकले आफ्नो इच्छा, संस्कृति र आत्माले मागेअनुसार खान्छ । जे होस् मेरो मुखमा मासु कोचाइएको छैन ।

अमेरिकाको अलस्का, पश्चिम बंगाल र बंगलादेशका मानिसलाई ‘माछा नखाऊ पाप लाग्छ’ भन्दा कति नसुहाउँदो सुनिएला ? विश्वका कतिपय कुनाका मान्छे हजारौं वर्षदेखि चिप्लेकिरा, फट्याङ्ग्रा, सर्प आदि खाइरहेका छन् । उनीहरू ‘नर्क’ पुगेर ‘दुःख’ पाएको अनुभव कुनै पृथ्वीवासीले सुनेको छ ? खासमा ‘पाप’–‘धर्म’ को बहस बेकार छ । कृषि युग सुरु हुनुअघि हाम्रा पुर्खा मासु नै खान्थे । के उनीहरूलाई ‘पापी’ भनेर गाली गरिरहने ? कुनै धर्मले ‘मासु नखाऊ’ भन्छ । कत्तिको धार्मिक संस्कारमा मासु–अण्डा अनिवार्य हुन्छ ।

म ‘शाकाहारीले शाकाहारी खाना खाने, स्वस्थ रहने र मांसाहारीले मन लागुन्जेल मासु खाने र स्वास्थ्य समस्या परेपछि छोडिदिने’ सल्लाह दिन्छु ।

तर, धेरैले भनेझैं मासु खाने कि नखाने भन्ने विषयको बहसको कुनै टुंगो छैन ।

प्रकाशित : जेष्ठ १५, २०७८ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्

रिमाल– एक दु:खान्त

गोपालप्रसाद रिमाल कटुयथार्थवादी स्वप्नशील कवि थिए । उनका युगीन कालजयी कृति जहिले पढे पनि तिनले पाठकको मनमा एउटा अव्यक्त र गहिरो विरोधको भाव उत्पन्न गर्छन् । रिमालको जन्मजयन्ती (विसं १९७५ जेठ–१3, रिमालको जन्म मिति जेठ १८ कि १३ भन्नेमा सबैको एकैमत नदेखिए तापनि रिमालका सिर्जनामाथि विशेष अध्यन गरेका केशवप्रसाद उपाध्यायले जेठ १३ गते नै रिमालको जन्म भएको उल्लेख गरेका छन् ।) को साइतमा अर्का अग्रज कवि शैलेन्द्र साकारको रिमाल–सम्झना :
शैलेन्द्र साकार

मेरा अग्रज कविहरूमा मैले सम्झिरहने नाम हुन्— गोपालप्रसाद रिमाल, मोहन कोइराला, भूपी शेरचन र वासु शशी । हुन त यीबाहेकका कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, कालीप्रसाद रिजाल, क्षेत्रप्रताप अधिकारीहरू पनि मेरो सम्झनामा हरपल आइरहन्छन् । कैयौं दिवंगत भइसके र केही अझै छन् । राम्रा लेखकहरूमा रमेश विकल, भैरव अर्याल, शंकर लामिछाने र पारिजातहरू मेरो सम्झनाको आकाशमा झुल्किरहन्छन् ।

संक्षिप्त सांस्कृतिक कार्यक्रम (मद्यपान) मा बाँचुन्जेल मसँगै हिँड्न, बस्न र गफ गर्न रुचाउने भवानी घिमिरे, हरिभक्त कटुवाललाई ‘स्वर्गीय’ लेख्न अझ पनि मन मान्दैन । आफूभन्दा निकै जेठो भए पनि मलाई अत्यन्त माया गर्नुहुने बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथितहरूका कीर्तिलाई कसैले पनि धमिल्याउनु हुन्न भन्ने मलाई सदा लागिरहन्छ । त्यस्ता विलक्षण व्यक्तित्वहरूको सान्निध्यमै रहेर मैले आफ्नो सम्पूर्ण युवाकाल बिताएको सम्झेर अझै पनि मलाई आश्चर्य लागिरहन्छ । अझ आश्चर्य त लाग्छ, त्यो क्षणलाई सम्झेर जुनबेला मैले भर्खर काठमाडौंमा पाइला टेकेको थिएँ । त्यही बेलाको एउटा संस्मरण यहाँ कोर्नेछु :

एउटा पातलो, खस आर्यजस्तो देखिने मान्छे भूगोपार्कतिरबाट दौडँदै पीपलको बोटनेर आइपुग्यो ।

सबै कराए, ‘ऊ बहुलाहा कवि !’ (खासमा यो कटु–शब्द म यहाँ प्रयोग गर्न चाहन्नथें । यो शब्द अरूको भनाइमा प्रयोग गरिएको छ । यसको लागि क्षमा चाहन्छु ।)

तानिरहेको चुरोट फ्यात्त फालेर मैले त्यता हेरें ।

मसँगै हाँस्दै गफ गरिरहेका रोचक घिमिरे, भैरव अर्याल र सँगै उभिएका अरू एक/दुईजनाले पनि झ्वाट्ट त्यता हेरे ।

रोचकले भने, ‘खै राँचीबाट उपचार गराएर फर्केको भन्ने सुनेको थिएँ । निको भएर आएका होलान् भन्ने लागेको थियो, उस्तै देख्छु ।’ भैरव अर्यालले आफ्नो चुरोट नफालीकन घाँटी बसेको स्वरमा थपे, ‘यहाँ आएपछि फेरि बहुलाएका होलान् । त्यहाँ सबैले ठीक भइसके भने होलान् । सुनेको कुरा खै के ? खै के ?’

आँखैअगाडि होचो–होचो, पुरानो झल्लु कालो कोट लगाएको एउटा पुरोहितजस्तो मान्छे के–के फत्फताउँदै नयाँ सडकको ढोकातिर दौडेजस्तो गरेर छिटोछिटो हिँडिरहेछ । के हिँडिरहेछ भन्नु अनियन्त्रित चाल छ । तर, रक्सी खाएर हिँडेको जस्तो भने लाग्दैन । सबै पछाडि हट्दै छन् ।

‘पछाडि हट...’, ‘पछाडि हट,’ एकजना कराउँछ । ‘यसले कोटभित्र खुकुरी पनि बोकेको हुन सक्छ । अस्ति झन्डै एक जनालाई छप्काइदिएको,’ अर्को व्यक्ति कराउँछ ।

‘पछाडि हट...पछाडि’ सबै एकै स्वरमा हामीलाई भन्दै छन् । त्यो व्यक्ति कतै नहेरी के–के गुन्गुनाउँदै अघि बढ्दै छ । तर, त्यो गीत भने होइन, कानमा आइपुग्दा त्यस्तो लाग्दैन ।

रोचक भन्छन्, ‘यसलाई चिन्यौ साकार ? उनी नै हुन् गद्य कविताका प्रणेता कवि गोपालप्रसाद रिमाल ।’

मलाई भाउन्न होलाजस्तो हुन्छ । मैले अत्यधिक मन पराएका क्रान्तिकारी कवि त यिनै रहेछन् ! ‘यिनको हालत किन यस्तो ?’ म उनको पछि–पछि दौडिन्छु । उनी नयाँ सडकको पुरानो–पुरानो ढल्लाजस्तो ढोकाबाट देब्रे लाग्छन् । ठ्याक्कै अगाडि पर्न पनि डर छ । झ्वाट्ट खुकुरी निकाले भने ?

उनी अगाडि–अगाडि, म पछाडि अलि–अलि काम्दै । उनी नजिकै रहेको महांकालस्थानमा रहेको देवीको मूर्तिअगाडि ठिङ्ग उभिन्छन् । देवीको अगाडि उभ्भिएर विनीत भावमा दुवै हात जोड्छन् र प्रार्थना सुरु हुन्छ– आफैंले बनाएको देवीको स्तोत्र । गुनगुन आवाज आइरहेछ, तर केही बुझिँदैन । म पनि त्यसबेला १५/१६ को अल्लारे ठिटो ! साहित्यिक रुचि प्रशस्तै छ । त्यस समयका सम्पूर्ण नेपाली कवि–लेखकहरूलाई श्रद्धा गर्ने, गाउँबाट राजधानी आएर आफैं कवि भएर हिँडिरहेको ठिटो !

देवीको स्तोत्र पाठ गरिरहेका कवि झट्ट पश्चिम म भएतिर फर्कन्छन् । म भाग्छु । मलाई नै लखेटेजसरी ती ‘फोहरी’, ‘सनकी’ कवि त्यही बाटो पहिलेकै जस्तो हिँडाइमा फर्कंदै छन् । म पनि स्वाँ–स्वाँ गर्दै दौडेर पहिलेकै समूहमा हाजिर जनाउन आइपुग्छु– पीपलको बोटमुनि ।

मानिसहरू फेरि गफ गर्न थाल्छन्, कहिल्यै नटुंगिने गफ–

‘बीचमा त उनलाई ठीकै भएको थियो ।’ ‘...प्रति’ जस्तो उत्कृष्ठ कविता त्यसै कहाँ जन्मन्छ ? त्यो कविता कति शक्तिशाली छ तिमीलाई थाहा छ साकार ?’

‘अहँ छैन त...!’

‘सप्पै त आउँदैन तैपनि केही हरफ सुन...!’


‘यहाँ लेनिन जन्मनुपर्छ

यहाँ बुद्ध जन्मनुपर्छ

...मैले तिमीलाई माया गर्छु भन्नुका सट्टा

म तिमीलाई गर्भाधान गर्छु भन्न सक्नुपर्ने...’


कस्तो सजग र सशक्त कविता !


‘ओ युवती, ओ रूपवती...यहाँ माया मात्र पर्याप्त छैन

अर्कोपल्ट भेट हुँदा यसरी नै

मैले तिमीलाई भन्न सक्नुपर्छ

म तिमीलाई माया गर्छु होइन

म तिमीलाई गर्भधारण गर्छु ।

आफूलाई देखिने आफ्नो सन्तानभन्दा

अर्को कुनै ऐना छ ?

ओ युवती... ओ रूपवती

म तिमीलाई ....!’

म कुरैकुरामा त्यही बोटमुनि अल्मलिएँ । हाम्रा ‘बहुलाहा’ तर सशक्त नेपाली गद्य कविताका प्रणेता गोपालप्रसाद रिमाल भने नगरपालिका कार्यालयदेखि सिद्धिचरणको घरकै छेउबाट झोंछे हुँदै लगनटोलतिर लागे । कसैलाई सोधेँ, ‘होइन यी कवि के झोंछेमा बस्छन् ?’

सँगै उभ्भिएका रहेछन् तुल्सीनाथ ढुंगेल । उनैले जवाफ दिए, ‘होइन उनको घर नै छ लगनटोलमा । घर पुरानो भइसक्यो, आजभोलि नै ढल्लाजस्तो...। तल छिँडी र माथि कोठा भएको घर । छिँडीमा दिसा बस्न मिल्ने र माथि भान्सा । त्यही घरमा समाजसेवी कृष्णप्रसाद रिमाल र गायक हरिप्रसाद रिमाल पनि सँगै बस्छन् । अंशबन्डा गर्ने हो भने एक/एक कोठा पनि पुग्दैन ।’

कसैले सरकारप्रति गुनासो पोख्यो, ‘यस्तो प्रसिद्ध कविको उपचारमा सरकारले ध्यान दिनुपर्दैन ? कस्तो सरकार ?’

अर्कोले भन्यो, ‘भर्खर त राजाले ‘कू’ गरेका छन् । कांग्रेसको दुईतिहाइ भोटवाला सरकारलाई हटाएर पञ्चायत सुरु भएको छ । संविधान पनि भर्खर आयो नि ! खै मैले त हेर्न पनि पाएको छैन । हृषिकेश शाहले ड्राफ्ट गरेका रे संविधान । शोषणरहित समाजको स्थापना मूल उद्देश्य रहेछ यो संविधानको ।’

बिस्तारै साथीहरूको संगत छुट्दै गयो । आफ्नो पढाइ र जागिर खोज्ने कामतिर लागें म । पछि सुने, ‘उनको अकस्मात मृत्यु भयो । ‘आमाको सपना’ जस्तो कालजयी कृतिका स्रष्टा रिमालको साधारण मृत्यु भयो अकस्मात...।’

‘त्यो तिमी नै हौला भन्ने

मेरो जिन्दगीभरको सपना थियो’

तर, त्यो जिन्दगीभरको सपनाले तिमीलाई आफ्नो बाँसुरी बनाएनछ ।

विक्रम संवत् २०३१–३२ तिर निर्वासित अपदस्थ प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला भारतबाट मेलमिलापको नीति लिएर काठमाडौं आइपुगे । राजनीतिका साथै आफ्ना पुराना संस्मरणलाई लिपिबद्ध गर्नतिर लागे उनी । उनले ‘जेल जर्नल’ लेखे र वरिष्ठ वकिल गणेशराज शर्मालाई ‘आत्मवृत्तान्त’ बोलेरै लेखाए । पछि त्यो छापियो ।

यी दुई संस्मरणको पुस्तकमध्ये एउटामा कतै उनले भनेका रहेछन्—

‘अत्यन्त प्रतिभाशाली, इमानदार र क्रान्तिका संवाहक कवि थिए— गोपालप्रसाद रिमाल । उनलाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा राख्ने मेरो ठूलो इच्छा थियो । म प्रधानमन्त्री भएको बेला यो कुरा मैले सोचेको पनि हुँ । तर, मेरा केही मित्रहरूले मलाई त्यसो गर्न रोके । उनीहरूको नजरमा रिमाल राणाहरूका हितैषी र चाकरीदार हुन् । उनी बबरमहलमा मृगेन्द्रशमशेरलाई भेट्न गइरहन्थे । मलाई पनि उनीहरूको कुरा ठीकै लाग्यो । उनी नियुक्त भएनन् ।’

विपीको त्यो कुरा सत्य थिएन, अर्धसत्यचाहिँ थियो । उनी मृगेन्द्रशमशेरलाई भन्दा पनि उनका भाइ प्रसिद्ध साहित्यकार कवि जगदीशशमशेरलाई भेट्न त्यहाँ गइरहन्थे । जगदीशशमशेर राणा उनलाई निकै सम्मान गर्थे, माया पनि गर्थे । उनको घरको खाँचो पनि बेला–मौकामा टारिदिन्थे । हामीले पछि भेट्दा पनि जगदीशशमशेरलाई निकै उदार हृदयका भएको पाएका हौं । केदारमान व्यथितले प्रत्येकपल्ट हामीसँग भेटैपिच्छे एउटै कुरा गरिरहन्थे । त्यो कुराको पनि मलाई अहिले सम्झना भयो । ‘२००४ सालमा सरस्वती सदनको एउटा ठूलो कक्षमा एउटा बृहत् कविगोष्ठीको आयोजना भएको थियो । त्यो कविगोष्ठीमा संयोजक र प्रेरणा स्रोत नै जगदीशशमशेर थिए । सभापति पनि उनैलाई बनाइएको थियो । मैले नै राणाका छोरा, भाइ भएकाले जगदीशमशेरलाई सभापति बनाउन लगाएको थिएँ— राणाहरूको कोपभाजनबाट बच्न । त्यस बृहत् कविगोष्ठीमा उपस्थित राणाका केही नोकर–चाकरहरूले गोपालप्रसाद रिमाललाई कवितावाचन गर्न दिन हुन्न भनेर हुटिङ गरे । तर, जगदीशशमशेर राणाले उनीहरूको कुरा मानेनन् । उनकै सहमतिमा रिमालले बोल्न माथि उभ्भिएर जोसिलो शैलीमा एउटा ऐतिहासिक कालजयी कविता पाठ गरेका थिए । त्यो कविता थियो— आमाको सपना । त्यसैले पनि राणा–पुत्र कवि जगदीशशमेशर राणासँग र एक किसिमले उनका सम्पूर्ण परिवारसित कवि रिमालको सद्भावपूर्ण सम्बन्ध थियो ।’

प्रसिद्ध साहित्यकार निबन्धकार शंकर लामिछानेले भवानी भिक्षुको सम्पादनमा प्रकाशित साहित्यिक पत्रिका ‘धरती’ मा लेखेका छन्, ‘रिमाल र म फुर्सदको समयमा कविताको खोजी गर्दै काठमाडौं उपत्यकाको काँठतिर घुमिरहन्थ्यौं । एक ठाउँ एउटी राम्री तरुनी कठिनीलाई देखेर रिमाल विषयासक्त भएका थिए । तर, त्यो कठिनीले हामीलाई वास्तै गरिनँ । त्यही परिस्थितिको मृष्ठभूमिमा रिमालले एउटा कविता लेखेका थिए— पालेकी छोरी रहिछन्, पालेसितै बोलिनन्, हामीलाई वास्तै गरिनन्, हाम्रो रवाफ सहनै सकिनन् ।’ प्रगतिशील समालोचकहरूले उनको यो कवितालाई ‘प्रेम वर्गीय हुन्छ’ भन्दै प्रस्तुत कवितामा त्यो चेत देखियो भनेर रिमाललाई प्रगतिशील कवि थिए भनेर निकै व्याख्या गरेका छन् । रिमाल वास्तवमा कटुयथार्थवादी स्वप्नशील कवि थिए । भोगेको यथार्थलाई प्रस्टसित मनको चास्नीमा डुबाएर लेख्न सिद्धहस्त कवि थिए— रिमाल ।

आफूसँग गाँसिएको एउटा सानो अतीतलाई आज यसरी सम्झने कोसिस गरेको हुँ मैले । एसएलसीमा प्रथम श्रेणीमा प्रथम (बोर्ड फस्र्ट) उत्तीर्ण कवि गोपालप्रसाद रिमालको दु:खान्त कथाले मलाई बारम्बार झस्काइरहन्छ ।

मेरो विचारमा साहित्य र विरोध एकअर्कासँग गाँसिएको हुन्छ । ती एकअर्काका पूरक हुन्— फरक छैनन् । गोपालप्रसाद रिमालका ती युगीन कालजयी कृतिहरू जहिले पढे पनि त्यसले हाम्रो मनमा एउटा अव्यक्त र गहिरो विरोधको भाव उत्पन्न गर्छ । त्यो संवेदनशील उद्वेलनको स्वर नै आजको कविता हो र दिवंगत रिमाल प्रत्येक युगका लागि जीवित छन् हाम्रो अव्यक्त हृदयको गहिराइमा ।

(शनिबार प्रकाशन हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : जेष्ठ १४, २०७८ १९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×