सन्चै छ तिमीलाई ?
जीवन –
जे सोच्यो त्यसको विपरीत रहेछ
हिँड्दिन भनेको यो बाटो हिँडिरहेछु
जसले मेरा दुःखका कथाहरुलाई यो बाटोजस्तै लामो बनायो ।
कस्तो होला तिमीलाई कल्पना गरें
आज म तिम्रै घरछेउको बाटो भएर आएँ
हाम्रो स्मृतिहरुले नमीठो गरी गाँज्यो
भित्र कतै दुखेजस्तो भयो ।
यति धेरै दुखिरहने सम्झना उहिले सकिजानुपर्थ्यो
जसरी तिमीले छोड्यौ ती तमाम कुरा
ती एकान्त लामा बाटाहरु
यी आँखाहरु जसलाई पढेर कतिपल्ट हामीले आफैंलाई भेट्टाएका थियौं ।
अझै सम्झना छ
म,
त्यो दिन मुस्कुराएर सर्माएको तिमीले छिनमै थाहा पाएका थियौ
तिमीले बिर्सियाै नि ती स्मृतिहरुलाई ?
हो,
म सँगालेर राख्नेछु ती सबै ।
चिसो सिरेटोसँगै हिमाल हेरेर एकान्त त्यो चौतारामा बसेथ्यौं
सायद,
आफूले भोगी ल्याएको विगतलाई सम्झिएर
अनायासै एकअर्कालाई हेरेर रोएथ्यौं
कारण केही थिएन आँसु नै झर्नुपर्ने
हामी त्यसरी उदास उदास हुनुपर्ने
हामी त प्रेममा लिन थियौं र पूर्ण थियौं ।
आशा छ–
कुनै अखबारमा छापिनेछन् यी शब्दहरु
तिमीले त्यो बेला पढ्नेछौ र सम्झनेछौ मलाई
तिमी सन्चै छौ होला र आफ्नो जीवनमा खुसी
म,
वर्षौंपछि तिम्रो घरको बाटो भएर आएँ
सायद यसो हुनु पनि मैले नसोचेको जीवनको सुन्दर जोग हो ।
प्रकाशित : जेष्ठ ८, २०७८ ११:३७