'हामी भने त्यही गीत गाइरहन्छौं'

दुई दशकअघि (२०५९ जेठ १३) कवि कृष्ण सेन इच्छुकलाई प्रहरी थानाभित्रै चरम यातना दिएर राज्यले हत्या गरेको थियो । त्यसको कारण थियो– उनी विद्रोही विचार राख्ने पत्रकार थिए, क्रान्तिकारी कवि थिए र प्रतिबद्ध संस्कृतिकर्मी थिए ।
संगीत

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रो ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ– गाऊ न त गाऊ
तर, यो गीत नगाऊ हामी भने त्यही गीत गाइरहन्छौं !

'हामी भने त्यही गीत गाइरहन्छौं'

गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरी राज्यका सबै अंगमा कब्जा जमाउँदै अघि बढेका तत्कालीन डबल नेकपाका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्दै सडकमा निस्केको नागरिक जुलुस र स्रष्टा–सभामा प्रायः वामफलककै सर्जकहरूका गीत र कविताहरू गाइएका थिए ।

पारिजातको ‘मानुषी’, कृष्ण सेन इच्छुकको ‘प्रतिबन्ध’, जीवन शर्माको ‘झरनाको चिसो पानी’ र आहुतिको ‘गहुँगोरो अफ्रिका’ कविता प्रतिगमनविरोधी आन्दोलनका सडक–प्रदर्शनहरूमा धेरैपटक दोहोर्‍याइए । ‘लोकतन्त्र मार्च’ का दिन फागुन ७ गते टुँडिखेल परिक्रमा गर्ने बेला भृकुटीमण्डप छेउमै पुग्दा युवाहरूले इच्छुकको गीत अझ जोडजोडका साथ गुन्जाएका थिए– ‘तिमी भन्छौ, गाऊ न त गाऊ, तर यो गीत नगाऊ ! हामी भने त्यही गीत गाइरहन्छौं !’

भृकुटीमण्डप छेउमै इच्छुकको यो गीत रन्काउनुसँग एउटा ऐतिहासिक–स्मृतिको सम्बन्ध छ । त्यो त्यही ठाउँ हो, जहाँ दुई दशकअघि (२०५९ जेठ १३) कवि कृष्ण सेन इच्छुकलाई प्रहरी थानाभित्रै चरम यातना दिएर राज्यले हत्या गरेको थियो । त्यसको कारण थियो– उनी विद्रोही विचार राख्ने पत्रकार थिए, क्रान्तिकारी कवि थिए र प्रतिबद्ध संस्कृतिकर्मी थिए । भृकुटीमण्डपको पल्लोपट्टि रहेको महेन्द्र पुलिस क्लबभित्र हिरासतमै कुटीकुटी बेहोस पारेपछि छातीमा दुईवटा गोली ठोकेर उनको हत्या गरिएको थियो ।

देशमा प्रजातान्त्रिक भनिएको सरकार त थियो, मानवअधिकारको रक्षा र विचार–अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गर्ने भनिएको संविधान पनि थियो, तर त्यही ‘प्रजातान्त्रिक व्यवस्था’ ले विचार राखेकै कारण र सिर्जना गरेकै कारण आस्थाका आधारमा कवि पूर्णविराम, कथाकार नवीन विभासलगायतलाई बेपत्ता बनाएको थियो । अनि, कवि इच्छुकको क्रूरतापूर्वक हत्या गरेको थियो ।

त्यो ‘प्रजातान्त्रिक व्यवस्था’ लाई साँच्चिकै जनमुखी व्यवस्था बनाउने र गरिखाने वर्गको हित गर्ने नयाँ थिति बसाउने सपना देखेर इच्छुकले झैं हजारौं जिन्दगीले विद्रोहको बाटो रोजेका थिए । आज ‘प्रजातान्त्रिक’ व्यवस्थालाई ‘लोकतान्त्रिक’ वा ‘गणतान्त्रिक’ शब्दले मात्रै विस्थापन गरेको छ । हिजोका क्रान्तिकारी नेताहरूलाई आन्दोलनले आजको शासन व्यवस्थाका हर्ताकर्ता पनि बनाएको छ । कम्युनिस्ट वा समाजवादी नामका अनेक विशेषणधारी पार्टी र शक्तिहरू राजनीतिक दृश्यमा सक्रिय नै देखिन्छन् ।

तर, इच्छुकका सपनाहरू हत्या गर्ने ‘महेन्द्र पुलिस क्लब’ हरू आज भृकुटीमण्डपमा मात्रै छैनन्, हरेक पार्टीका मुख्यालयभित्र जबर्जस्त स्थापित छन् । फरक विचार राख्ने र लेखपढ गर्ने सर्जकलाई ‘बहुलाहा’ सिद्ध गर्ने शासकदृष्टिले मुख्य भनिएका पार्टीका मुखियाहरूकै दिमागमा घर गरेको छ । इच्छुकका कविताले संवर्द्धन गरेको क्रान्तिको आदर्श र उत्पीडित मानवजातिको साझा संसार निर्माण गर्ने सुन्दर सपनालाई ‘क्रान्ति प्रक्रिया’ बाटै निस्केका अगुवागणले हत्या गरिदिएका छन् ।

यस्तो वैचारिक विचलनको विकट हालमा आज कवि ‘इच्छुक’ लाई उनको रचनाधर्म र जीवन–व्यवहारको आलोकमा स्मरण गर्नुपरेको छ, जतिबेला उनका संगाती–कमरेडहरू नै प्रतिगमन र निरंकुशताका नाइकेहरूलाई ब्याड बनाइदिने काममा होमिएको स्थिति छ । उनका हिजोका मित्रहरूको ठूलो ताँती नै बालुवाटारतिर मुन्टो र जनताको बेहालीप्रति पिठ्यूँ फर्काएर अनन्त ‘म्युजिकल चेयर’ मा कुदिरहेको बेला छ ।

इच्छुक सामान्य श्रमजीवी परिवारमा जन्मे–हुर्केका थिए । पिता भारतीय सेनामा कार्यरत छँदा सपरिवार नै उतै भएकाले उनको जन्म (२०१३ कात्तिक १३) भारतको देहरादूनमा भएको थियो । रोजीरोटीको बाध्यताले विदेशी सेनामा काम गर्नुपर्ने आफ्ना बाबुको बाध्यता र आफ्नो निम्न–मध्यमवर्गीय पारिवारिक पृष्ठभूमिले उनलाई बालादिनबाटै नेपालको अर्थ–सामाजिक यथार्थको अनुभूति र वर्गभेदको बोध भएको देखिन्छ ।

२०३२ सालदेखि कविता–कर्म थालेका उनी जीवनको अन्तिम कालसम्म पनि सिर्जना र विचारमा अविच्छिन्न कायम रहे । तत्कालीन नेकपा (चौम) निकट विद्यार्थी संगठनबाट आफ्नो राजनीतिक यात्रा थालेका उनी विद्यार्थी संगठनकै केन्द्रीय संयोजक, अखिल नेपाल जनसांस्कृतिक संघका अध्यक्ष र प्रगतिशील लेखक संघका केन्द्रीय पार्षदसम्म रहे । पत्रकारिता क्षेत्रमा विचार–प्रतिबद्ध पत्रिकाहरू ‘जनादेश’ साप्ताहिक, ‘जनदिशा’ दैनिक, ‘कलम’ साहित्यिक प्रकाशनको सम्पादक रहिसकेका उनी पत्रकारहरूको साझा संगठन नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद पनि चुनिएका थिए । इच्छुकका लागि पत्रकारिता जागिर वा करिअर निर्माणको भर्‍याङ थिएन, त्यो उनका लागि वैचारिक–सांगठनिक उद्देश्य प्राप्तिको सेतु मात्रै थियो ।

राजनीतिक नेतृत्व हत्याउन, नेता कहलिन वा शीर्ष नेतृत्वको दाहिना सावित हुन भागदौड गरिरहेको अहिलेको करिअरमुखी युवापिँढी र अविचल क्रान्तिकर्मी इच्छुकको आदर्शबीच आकाश–पातालको भिन्नता पाइन्छ । पार्टीले पटकपटक केन्द्रीय समितिमा रहन आग्रह गर्दा पनि इच्छुकले आफूलाई साहित्यिक–सांस्कृतिक फाँटमै सीमित राख्न रुचाएको उनका निकटतम साथीहरू बारम्बार सुनाउँछन् । उनले तत्कालीन माओवादी पार्टीको क्षेत्रीय ब्युरो र तत्कालीन संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्यको भूमिकामा रहेर भने काम गरिसकेका थिए । इच्छुकको यस्तो रुचिलाई कतिले उनको कमजोरीका रूपमा चर्चा गर्ने गरेको पाइन्छ । तर, उनी प्रतिबद्ध जीवन र संगठित आन्दोलनका विरुद्धमा कहिल्यै गएनन् । अराजक र व्यक्तिवादी प्रवृत्तिको प्रतिवादमा उनको जीवन र लेखन दुवै समानान्तर रूपमा अघि बढिरह्यो । आन्दोलनमा संगठित भएकै कारण उनले जीवनको झन्डै एक दशक समय जेल र हिरासतमा बन्दी भएर व्यतीत गरे । जेल जीवनको अनुभव सँगालेका इच्छुकले ‘जेल’ शीर्षकमै कालजयी कविता पनि सिर्जना गरेका छन् । भूपी शेरचनको शैलीको लोककाव्यमय गद्य ढाँचामा लेखिएको उक्त कविताले विभेदकारी राजनीतिक व्यवस्थामा जेलभित्रको जीवन र जेलबाहिरको जीवनमा केही भेद नहुने भावोद्घाटन गरेको छ । कविता भन्छ–

जहाँ जीवन बन्धनहरूभित्र कैद हुन्छ

जहाँ सुन्दर सपना सधैं अवैध हुन्छ

जहाँ मुक्त आकाङ्क्षाहरू बन्देज हुन्छन्

जहाँ हार्दिक भावहरूमा ठेस लाग्छ

अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि

निर्धक्क सास फेर्न प्रतिबन्ध हुन्छ

बन्दुकको पहरा होस्

अथवा त्यो कानुनको घेरा होस्

के फरक पर्‍यो र ?

मित्र, भयभीत परिवेशमा त्रसित जिन्दगी

जहाँ बाँच्नुपरे पनि त्यो जेल हुन्छ !

क्रान्ति अभियानले हरेक पूर्णकालीन क्रान्तिकारीसँग दुईवटा क्षमता विकास गर्ने प्रणाली संस्थागत गर्न सक्नुपर्छ । पहिलो– उत्पादन, उद्यम र श्रमसँग सम्बन्धित सीप ! दोस्रो– अभिव्यक्तिको सिर्जनात्मक कलासँग सम्बन्धित ज्ञान ! नेपाली राजनीतिले आफ्ना पेसेवर नेता–कार्यकर्ताहरूलाई यसरी सीप र सिर्जनासँग जोड्ने संस्थागत प्रणाली बनाएको त देखिन्नँ । तर, इच्छुक यी दुवै क्षमता निर्माणका लागि निरन्तर समर्पित क्रान्तिकारी थिए । उनको श्रम गर्ने थलो थियो, पत्रकारिता र सम्पादन । उनको सिर्जना र चिन्तन गर्ने क्षेत्र थियो, कविताकर्म ! यो दुवै क्षमता विकासमा उनले कति व्यक्तिगत तहमा कोसिस गरेका थिए वा कति तत्कालीन पार्टीको योजना र जिम्मेवारीका कारण त्यो निर्माण भएको थियो, यो अलग्गै अध्ययनको विषय हो ।

तर, आफ्नो राजनीतिक जीवनलाई उनले असामाजिक, अनुत्पादनशील र असिर्जनशील हुन कहिल्यै दिएनन् । सिर्जन–यात्रा थालेको साढे दुई दशकमा उनका तीनवटा काव्यकृति ‘शोकाञ्जली’ (२०४८), ‘इतिहासको यस घडीमा’ (२०५५) र ‘बन्दी र चन्द्रागिरि’ (२०५७) प्रकाशित भए र थुप्रै निबन्ध, संस्मरण, समीक्षा पनि फुटकर रूपमा पत्रपत्रिकामा छापिइरहे । माओवादी आन्दोलनले शान्तिपूर्ण बाटो लिएपछि गठित इच्छुक सांस्कृतिक प्रतिष्ठानले उनका गद्य लेखनसहितका सम्पूर्ण रचनालाई तीन खण्डमा ‘इच्छुक रचनावली’ का रूपमा पुनर्प्रकाशन गरेको छ ।

जनसांस्कृतिक आन्दोलनमा संगाती रहेका, संगठनहरूमा सँगै काम गरेका र राजनीतिक काममा सँगसँगै जेलनेल खपेका इच्छुकका समकालीनहरूले उनीबारे धेरै ठाउँमा चर्चा गर्ने गरेका छन् । जनयुद्ध अन्त्यपछिको कालमा यसरी इच्छुक–संस्मरण लेख्ने लहरै चलेको थियो भन्न सकिन्छ । तर, इच्छुक समकालीन र अनुयायीहरूका मात्रै प्रिय थिएनन्, उनको योगदानलाई राजनीतिक क्षेत्रको अघिल्लो पुस्ताले पनि त्यति नै सम्मान र उच्च मूल्याङ्कन गरेको छ ।

साहित्यिक–सांस्कृतिक आन्दोलनमा इच्छुकका अभिभावक तथा अग्रणी रहेका समालोचक चैतन्यले एउटा संस्मरणमा लेखेका छन्, ‘पार्टी कमरेड र शुभचिन्तकहरूदेखि लिएर विरोधीहरूसम्मले पनि उहाँलाई मन पराउने गर्थे । यसो हुनुको मूल कारण उहाँमा मृदुभाषी स्वभाव, सर्वहारावर्गीय शिष्टता, शालीनता तथा भद्रताजस्ता विशिष्ट गुणहरू सन्निहित हुनु नै हो । सारमा उहाँमा दुश्मनहरूप्रति अपार घृणा र मित्रहरूप्रति अगाध स्नेहको भाव प्रचुर मात्रामा विद्यमान थियो ।’

अर्का अग्रणी समालोचक निनु चापागाईंले पनि इच्छुकको प्रतिबद्धता र इमानदार व्यक्तित्वको विशेष प्रशंसा गरेका छन् । ‘प्रगतिवादीहरूका बीच प्रगतिवादी हुँ भनेर देखाउने, दाबी पनि गर्ने तर प्रगतिवादी विचारलाई जस्ताको तस्तै मान्दिन भनेर छाती पिटेर हिँड्न पनि कत्ति नहिचकिचाउने अवसरवादी साहित्यकारहरूजस्ता थिएनन् उनी’, एउटा संस्मरणमा चापागाईंले लेखेका छन्, ‘मार्क्सवादीहरूका बीच एक खालको र अरूअरूका बीच अर्कै खालको छवि देखाउने अनौठो प्रवृत्ति एकथरी साहित्यकारमा अहिले पनि पाइन्छ । उनी त्यस्ता पटक्कै थिएनन् । प्रतिबद्धताले लेखनमा अवरोध पुर्‍याउँछ भनेर गुड्डी हाँक्नेहरूलाई त्यस्तो होइन भनेर एक खालको नमुना नै स्थापित गरेर देखाएका छन् उनले ।’

वाग्मती नदीले यो दुई दशकमा कष्टपूर्वक धेरै गन्धे ढल बगाइसकेको छ । इच्छुकको हत्या कसले गरेको थियो ? गणतन्त्र आइसक्दा पनि त्यसको कुनै खोजखन्तर कहिल्यै भएन । हजारौं इच्छुकहरूको बलिदानीको ब्याज असुल्ने राजनीतिक धन्दा अहिले पनि चलिरहेकै छ, त्यसको लेखा भविष्यले त पक्कै माग्नेछ । हिजो विद्रोही धाराको अगुवाइ गर्ने नेतृत्व र त्यही धारालाई दमन गर्ने राजनीतिक समूहबीच संसदीय ‘लुकामारी’ अहिले पनि उसरी नै चलिरहेको छ– कहिले ऐतिहासिक एकता, कहिले ऐतिहासिक विभाजनको अभिनय प्रदर्शन भइरहेकै छ ।

यस्तो बेलामा कृष्ण सेन इच्छुकका क्रान्तिचेती कविताहरूको विरासतले नयाँ बाटो खोजिरहेको छ । इच्छुक र हजारौं इच्छुकहरूको बलिदानको मूल्य जहाँनिर आज अलपत्र छ, त्यहीँनिरबाट नयाँ पिँढी फेरि ‘हामी भने त्यही गीत गाइरहन्छौं’ भन्दै सांस्कृतिक पदचाप पछ्याउन पक्कै आइपुग्ने छ । पछिल्ला सडक आन्दोलनहरूमा लहडमा इच्छुकका गीत पक्कै गाइएका थिएनन् । आजको राजनीतिक संकटको निकास अर्को राजनीतिले मात्रै गर्नेछ भन्ने विश्वास गर्ने कवि, संस्कृतिकर्मी र राजनीतिकर्मीले ती गीतलाई युगानुकूल नवार्थ दिनुपर्नेछ ।

समय झन् क्रूर बन्दै गएको छ भन्ने उदाहरण देशभित्र मात्रै छैन । संसारैभरि एकाधिकार जमाइरहेको प्रभुत्वशाली राजनीति झन्झन् क्रूर बन्दो छ । त्यसका लागि आजको कश्मीर हेरे पुग्छ, आजको बर्मा हेरे पुग्छ, आजको प्यालेस्टाइन हेरे पुग्छ । प्यालेस्टाइनलाई पश्चिमा शक्तिको आडमा निरन्तर ध्वंस गरिरहेको इजरायली प्रशासनको रवैया अहिले पनि उस्तै छ, जस्तो दुई दशकअघि इच्छुकले कविता लेख्ने समयमा थियो । त्यही प्यालेस्टाइनी सहर जेरुसेलमलाई सम्बोधन गर्दै इच्छुकले २१ वर्षअघि समवेदनापूर्ण सम्बोधनसहित ‘जेरुसेलम’ कविता लेखेका थिए । लेखको बिट मार्नुअघि सहिद कृष्ण सेन इच्छुकका सम्मानमा र घाइते सहर जेरुसेलमका सम्झनामा, त्यही कवितांश–

‘अहिलेदेखिन् होइन तिम्रो छाती

करौंतीले जस्तै चिरिएर

रक्तमुछेल भएको

दुई सहस्राब्दीभन्दा पनि जेठो

तिम्रो जीर्ण घाउ कति दर्दमय छ

त्यो म जान्दछु

तिम्रो अतुल पीडाको

असीम गहिराइ

तिमीमाथि भएको क्रूर जुलुमको

युगीन चाप

र, तिम्रो अनन्त वेदना

म चरम संवेदनाका साथ महसुस गर्दछु ।’

प्रकाशित : जेष्ठ ८, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?