कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

अंग्रेजी साहित्य र प्रिन्स फिलिप

'राजकुमार फिलिपले किप्लिङमा जोड दिएको कुराले हामी कस्तो अंग्रेजी साहित्य पढाउँछौं भन्ने प्रश्न फेरि उठाउँछ । '
अभि सुवेदी

अहिलेको कोरोना महामारीले आक्रान्त भएको बेला विश्वविद्यालयमा अध्ययन/अध्यापन गरिने विषयमाथि केही लेख्नुको खासै अर्थ छैन । तर, अहिले पनि भर्चुअलदानीको माध्यमले अंग्रेजी विभागको कक्षा लिने, पीएचडीका शोधार्थीको सुपरिवेक्षण गर्ने काम जारी राख्ने आदि गरिरहेकाले हाल छलफलमा उठेका विषयमाथि केही लेख्नु यो छोटो लेखको उद्देश्य रहेको छ ।

अंग्रेजी साहित्य र प्रिन्स फिलिप

अर्को कुरा ‘तपाईंहरू कस्तो अंग्रेजी साहित्य पढाउनुहुन्छ’ भन्ने मलाई धेरै सोधिने प्रश्न हो, जसको उत्तर लेखेर प्रकाशित गर्ने अवसर मिलेको छैन । हामीले अंग्रेजी भनेर अंग्रजी साहित्य नै पढाएको शताब्दी नाघिसक्यो ।

नेपाली साहित्यकारहरूले सेक्सपियर, रोमान्टिक कविदेखि आधुनिक कालसम्मका साहित्य पढे अनि प्रभावित पनि भए । अहिले उत्तरऔपनिवेशिक कालमा आएर अंग्रेजी साहित्यकै अध्ययन/अध्यापन गराउँदाको सन्दर्भमा भन्दा यसको पुनर्मूल्याङ्कन भएको छैन । मैले अंग्रेजी पढाएको आधी शताब्दी नाघ्यो । अंग्रेजी साहित्यको छपन्न/सन्ताउन्न सालतिर विज्ञ प्राध्यापक र विद्वान्‌ भएर पुनर्मूल्याङ्कन गर्दै व्यापक पाठ्यक्रम परिवर्तन गरेको बेला केन्द्रीय अंग्रेजी विभागको अध्यक्ष पनि आफू भएकाले यी प्रश्नको उत्तर लेख्नलाई म एक दायित्व सम्झिन्छु । हामीले ‘अंग्रेजी साहित्य’ लाई औपनिवेशिक कालको संरचनाबाट झिकेर परिवर्तन गर्‍यौं र यसको पाठ्यक्रमलाई अन्तर्विषयक (इन्टर्डिसिप्लिनरी) र अन्तर्सांस्कृतिक बनायौं । यसको प्रभाव सम्बन्धित अरू साहित्य विभागका पाठ्यक्रमहरूमा परेको हाम्रो अध्ययनले देखाएको छ ।

अंग्रेजी साहित्य भनेपछि ब्रिटिस साम्राज्यको विस्तारसँग जोडिएको साहित्य हो भनेर मान्ने गरिन्छ । ब्रिटिस वैचारिकीमा अंग्रेजी साहित्यलाई अंग्रेजी प्रभाव र साहित्यसँग जोडेर हेर्ने गरिन्छ । एउटा सानो, तर वाचाल उदाहरणबाट विषयभित्र पस्न चाहन्छु । सन् २००० को नोभेम्बर तेस्रो सातातिर महारानी एलिजाबेथका पति (अस्ति दिवंगत भएका) राजकुमार फिलिप भक्तपुरमा आयोजित कुनै हरित वातावरणको पुरस्कार ग्रहण गर्न नेपाल आएका थिए । उनको साथमा रहन राजकुमार ज्ञानेन्द्रलाई मिलाइएको देखिन्थ्यो । लैनचौरको एउटा घरमा सायद नेपाल ब्रिटेन सोसाइटीले उनका निम्ति गरेको कार्यक्रम थियो । त्यहाँ हामी सदस्यहरू उभिएर उनले भेट्ने कार्यक्रम मिलाइएको थियो । सबैसँग एकाध कुरा गर्दै फिलिप अघि बढे ।

मेरो पालोमा मैले भने, ‘म अंग्रेजी साहित्य पढाउँछु ।’ फिलिप उत्साहित भएर कुरा गर्न थाले । उनले ‘कुन कुन लेखकहरू पढाउनुहुन्छ, के–के पढाउनुहुन्छ ?’ भनेर सोधे । सेक्सपियरदेखि आधुनिक कालमा टीएस एलिअटसम्मका नाम एकसरो भने मैले । ड्युकले सोधे, ‘अनि, खोइ त किप्लिङको नामै आएन ? सबभन्दा पढाउनुपर्ने लेखक नै तिनै हुन् ।’ काम बितेछ नि जस्तो गरि उनले भने । मैले भने, ‘उनको उपन्यास ‘किम’ समालोचनाको अध्ययनमा पर्छ ।’ तिनी फेरि पनि किप्लिङको नाम लिएर अघि बढे । रुडयार्ड किप्लिङ (१८६५–१९३६) औपनिवेशिक भारतमा जन्मेका उपन्यासकार, कवि, बाल कथाकार नोबेल पुरस्कार विजेता अंग्रेजी लेखक हुन् । तिनका विषय अनि तिनको परिवेशमा उपनिवेशकालको भारत छ । ब्रिटिसहरू यिनका कविता र लेखनलाई उननिवेशसँग जोडेर महत्त्व दिन्छन् । यिनलाई लिएर होमी के. भाभाजस्ता उत्तरऔपनिवेशिक साहित्यशास्त्रीले गरेका अध्ययनहरूलाई हाम्रा विद्यार्थीहरू खुब प्रयोग गर्छन् ।

तर, राजकुमार फिलिपले किप्लिङमा जोड दिएको कुराले हामी कस्तो अंग्रेजी साहित्य पढाउँछौं भन्ने प्रश्न फेरि उठाउँछ । अंग्रेजी साहित्यलाई उच्च अध्ययनको विषय मानेर पढाउन किङ्ग्स कलेज लन्डनबाट सन् १८३१ मा थालिएको, तर भारतमा पनि त्यसपछि यो छिट्टै सुरु गरिएको इतिहास छ । अंग्रेजी उपनिवेशसँग जोडिएका विषयहरूमध्ये अंग्रेजी साहित्यलाई पनि लिने राजकुमार फिलिपको धारणा उनको निजी विशेषता होइन । अंग्रेजी उपनिवेशसँग जोडिएका अनेकौं विषयमध्ये अंग्रेजी साहित्य त्यसमा पनि यो भेकमा चिनिने किप्लिङका नाम जोडिएका छन् । उनीहरूका निम्ति नेपाल भनेको सिकारसँग अनि, समस्याहरू निकै बाँकी रहे पनि ब्रिटिस गोर्खाजस्ता विषयसँग पनि जोडिएको छ ।

अंग्रेजी साहित्य राजकुमार फिलिपले भनेजस्तो गरी अध्ययनमा लिइँदैन । राम्रा र प्रभावशाली अंग्रेजी साहित्यकारहरू विश्वभरि पढिन्छन्, हामी पनि पढ्ने र पढाउने अहिलेसम्म गरिरहेकै छौं । तर, यसको व्यापकता अंग्रेजी भाषाको व्यापकतासँग पनि जोडिएकाले अंग्रेजी उपनिवेशकाल र त्यो चेतनासँग जोड्नेहरूले यसलाई त्यही अर्थमा लिएका हुन् । त्यसैले राजकुमार फिलिपको प्रसङ्ग ल्याएको हुँ ।

राजकुमार फिलिपको सिकारको प्रसङ्ग आएकाले यहाँ एउटा कुरा जोड्न चाहन्छु । माथि उल्लेख भएझैं राजकुमार फिलिप २००० मा नेपाल आएका बेला भक्तपुरमा ‘जीवन्त ग्रहका २६ पवित्र उपहार’ यी एडिनबराका ड्युकले ग्रहण गरेका थिए । साथमा राजकुमार ज्ञानेन्द्र पनि थिए । यो वातावरण जोगाउन दिइने सम्मान हो । बार्बरा आदम्स भन्ने लेखक र हाम्री मित्रले अंग्रेजी–नेपाली पत्रिका ‘एक्रस्’ (वर्ष ४, अङ्क ३) मा एउटा लेख प्रकाशित गरिन् । त्यसको अंग्रेजी शीर्षकको नेपाली अनुवाद यस्तो हुन्छ– ‘संरक्षणवादीमा परिवर्तन भएका पुराना सिकारीहरू ।’

राजकुमार फिलिप ठूला सिकारी थिए । ज्ञानेन्द्रले महेन्द्र प्रकृति संरक्षण कोषमा अघिल्लो दिन दिएको भाषण सुन्दा ती साना हुँदा नै सिकारी भएको कुरा सम्झना भएर बार्बराले बयान गरेकी छन् । राजकुमार फिलिपबारेको संस्मरण निकै रोचक छ । सन् १९६१ मा महारानी एलिजावेथसँग नेपाल आएका बेला ‘जीवनमा सबैभन्दा ठूलो बाघ ढाल्ने’ चाहना राखेका थिए राजकुमार फिलिपले । त्यही बेला ब्रिटेनमा जनावरमाथिको निर्ममताको विरोध गर्ने रोयल सोसाइटीको आयोजनामा सर्वत्र विशाल विरोधहरू भइरहेको समाचार आयो । राजा महेन्द्र र नेपालीसामु ‘फेस सेभ’ गर्न ‘राजकुमार फिलिपले सिकार गर्ने बन्दुकको छुसी तान्ने औंलोमा नै चोट लागेकाले नसक्ने’ भनेर सूचना दिए । यसलाई ‘कूटनीतिक घाउ’ पनि भनियो ।

राजकुमार फिलिपजस्ता व्यक्तिहरूको महत्त्व एकताको प्रतीकात्मकतामा छ भनेर १९ अप्रिल २०२१ को ‘इकोनोमिस्ट’ पत्रिकाले लेख्यो । अनि ‘गार्जियन’ पत्रिकाले तन्ना टापुका वानुआतु जातिले राजकुमार फिलिपको मृत्युमा शोक मनाएको रोचक कथा लेख्यो । वानुआतुहरू राजकुमार फिलिपलाई बेलायतमा रानी फकाउन गएको उनीहरूको राजकुमारको रूपमा लिंदै तिनको फोटो बोकेर शोक गरिरहेका कथा छन् त्यसमा ।

सारांशमा भन्दा अंग्रेजी औपनिवेशिक ऐक्यका विम्बहरू सूक्ष्म र मानिसका विश्वासमा गहिरिएर बसेका हुन्छन् । ब्रिटिसहरूले अंग्रेजी साहित्य र भाषालाई त्यही रूपमा लिन चाहे पनि, अथवा किप्लिङ–चाहनाले काम गरे पनि ती दुवै कुरा अब अंग्रेजी साम्राज्य वा कमनवेल्थका अंग छैनन् । हामीले अंग्रेजी साहित्य अध्ययनमा परिवर्तन गर्दा त्यही अंग्रेजी साम्राज्य परिकल्पनाका मूल तत्त्वमा परिवर्तन गर्‍यौं । हामीले अंग्रेजी सिलेबसको नाम ‘अंग्रेजी साहित्य’ नभनेर ‘अंग्रेजीमा लेखिएको साहित्य’ बनायौं । त्यसमा अंग्रेजीमा राम्ररी लेखिएको साहित्य छ भने भारतीय, अफ्रिकी र नेपाली लेखकका कृति पनि अध्ययन गर्न सकिने बनायौं ।

अंग्रेजी भाषा पनि अब अंग्रेजको मात्र रहेन । त्यसैले त्यसका पनि विविधताहरूको प्रयोग गर्‍यौं । अर्को कुरा अंग्रेजी साहित्य पढ्नेले बहुल, तर सम्बन्धित विषयका पनि अध्ययन गर्ने पद्धति बनायौं । अहिले हाम्रा अंग्रेजीका विद्यार्थीहरू यतैका विषय, साहित्य र ‘कल्चरल स्टडिज’ लाई पनि पढ्छन् र पीएचडी पनि गर्छन् । त्यसो त अंग्रेजी र अमेरिकी लेखकका कृतिमाथि पनि काम गर्छन् ।

यसले अंग्रेजी अध्ययनको विस्तार भएको देखाउँछ । हामीले जुन अंग्रेजी साहित्य पढ्यौं, त्यसलाई परिवर्तन गरेर व्यापक बनायौं । अहिलेको अंग्रेजी साहित्य अध्ययन त्यही हो । भाषाको विषयमा ‘काठमाडौ पोस्ट’ मा निकै लेखिसकेको छु ।

अंग्रेजी साहित्यलाई राजकुमार फिलिपसँग जोड्ने यो अनौठो सन्दर्भको प्रसङ्ग वाचाल छ । अमुक देशको साहित्य त्यो देशको राजनीति र व्यवस्थाको अङ्ग हुँदैन । व्याख्याको कुरा हो । अहिले पनि मेरा अति प्रिय लेखकहरूमध्येमा सेक्सपियर एक छँदै छन् । साहित्य अध्ययन र साम्राज्यका सपनाहरूको सोझो सम्वन्ध हुँदैन । ती स्वतन्त्र गतिका नाम हुन् ।

प्रकाशित : जेष्ठ ८, २०७८ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?