कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराट् सांस्कृतिक सहचारी

घोडा चढी बाटुलेचौर पुगेर झलकमानको सारंगीमा कर्खा सुन्ने चेतन कार्की चराका चिर्बिरमा, खोलाको कलकलमा, नदीको सुसाइमा, जनजीवनका रोधी, झाम्रे, रत्यौली र विविध सांस्कृतिक कार्यक्रममा गाइने गीतमा माटोको सुगन्ध र लय भेट्थे ।
भूपेन्द्र खड्का

देशद्रोहको अभियोगमा चार सपूतलाई सहिद बनाएको घटनामा खाटा बस्न पनि पाएको थिएन । राणातन्त्रको दुन्दुभि प्रवृत्तिले समय नै आतंकित थियो । शासनलाई जलाउनुपर्ने राँको र जहान–परिवारका पेटका राँकाहरू बाल्न हरेक नेपाली उद्यत थिए । लाहुरेका पयरहरू दिन–रात लगाएर विदेशतिर कुदिरहेका हुन्थे । त्यस्तै कठोर समयको फेरोमा लाहुरे बाउको काँध चढी गोरखपुरको रेल–यात्रा गर्ने बालक हुन्– चेतन कार्की ५ वर्षका थिए उनी, भारतीय सेनाका कप्तान बुबाले देहरादून लैजाँदा । उतैको गोर्खा मिलिटरी स्कुलमा शिक्षा–दीक्षा भयो । कक्षा ९ सम्म ऐच्छिक संस्कृत पढ्ने उनी एक्लो विद्यार्थी भएपछि विज्ञान विषय लिए र मेट्रिकपछि पनि विज्ञान नै पढे । बीएस्सी पास गरे ।

विराट् सांस्कृतिक सहचारी

फुटबलका घघडान खेलाडी थिए । हिन्दी र उर्दू साहित्यमा गहिरो रुचि थियो । त्यसैले उनले विज्ञानलाई छाडेर हिन्दी भाषामा स्नातकोत्तर गरे । नेपाली भएकैले राम्रो जागिरका निम्ति उनी अयोग्य बने र नेपाल फिर्तीका लागि रेलको टिकट काटे ।

तानसेनको डाँडाबाट पोखरा आसपास हेर्दै जीवनका लयहरू सुसेलेका कार्की स्याङ्जाको वाँटरी गाउँमा फर्किए अनि बने– साहित्य, संगीत, सिनेमाका सहचारी र सूत्रधार ।

साहित्य

देहरादूनका नेपालीभाषीमाझ बोलिने हिन्दी भाषाको लवजले उनलाई लेखनमा लर्काएको हो । नौ कक्षामा पढ्दादेखि नै उनी साहित्य लेखनको उभारमा थिए । हिन्दी, उर्दू, अंग्रेजी र नेपाली भाषामा कविता लेखेर स्कुलमा पुरस्कार थाप्थे । संस्कृत भाषाका पनि विद्यार्थी भएकाले कथ्य र लेख्य दुवैमा विशेष दखल राख्थे ।

फुटबलको सपना मरेको थिएन । काठमाडौंमा भारतीय दूतावासको टिमबाट पुलिस टिमलाई ६ गोल ठोके । तत्कालीन आईजीपीले २०१८ सालमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को जागिर दिने आश्वासन दिए तर जागिर दिएनन् । त्रिचन्द्र कलेजमा लेक्चरर बन्ने सपना पनि तुहियो । त्यसपछि मत्स्य विकास केन्द्रको अधिकृत बनेर २०१९ सालमा पोखरा पुगे । कहाँ साहित्य र संगीत भन्दै हिँडेको मान्छे, कहाँ माछा पालनको जागिर ! र्‍याङको ठ्याङ मिलेन । तर, पनि जीवनलाई त मिलाउनु नै थियो, उनी माछापालन र त्यसको विकासका विशेषज्ञ नै बने । २०१९ देखि २०२५ सालसम्म ६ वर्ष पोखरा रहँदा उनी आफ्नो पेसाका पुजारी त भए नै, साथमा साहित्यका सहचारी बनेर निस्किए ।

मुस्ताङको थाकटुकुचेबाट झरेका, क्राइभेन चुरोटका लती, कविताले सत्ता थर्काउँदै गरेका अर्का जोसिला युवा भूपि शेरचनसँग गहिरो दोस्ती गाँसियो पोखरामा । घोडा चढेर पोखराका विभिन्न कार्यक्रममा पुग्ने ‘माछाका हाकिम’ को रस साहित्य र संगीतमा बस्यो । तीर्थ शेरचन, कल्याण शेरचनहरूको संगतमा पोखरामै ‘हिमाली सांस्कृतिक परिवार’ को स्थापना भयो । चेतन कार्कीले नाटक र गीत लेखेर स्थानीय सांस्कृतिक कार्यक्रममा मञ्चन गराए । कल्याण शेरचनको ‘कल्याण पकेटबुक्स’ बाट २ रुपैयाँ ५० पैसा मूल्य भएको उनको उपन्यास ‘आत्मा बेचेको छैन’ निस्कियो, २०२३ सालमा ।

त्यसपछि उनका ‘ढलेको गिलास’ र ‘हनिमुन’ लघुउपन्यास प्रकाशन भए । ‘हत्केलाले सधैं सूर्य छेकिँदैन’ (कवितात्मक टुक्राटाक्री संग्रह), ‘हो देश मेरो पनि’ (गजलसंग्रह), ‘बसीबियाँलो’ (कथासंग्रह), ‘जून निदाउन थाल्यो’ (कवितासंग्रह), ‘माया प्रीतिको चोखो कथा’ (गीतसंग्रह), ‘कल्पना टुट चुकी है’ (हिन्दी कविता), ‘दिल जिगर के टुकडे’ (उर्दू कविता), ‘साइट साउन्ड एन्ड पल्स’ (अंग्रेजी भाषा) उनका प्रकाशित पुस्तक हुन् ।

साहित्यका जरा बलिया बनाउने प्राङ्गारिक मल उनलाई पोखराले दियो । किताब निस्किए, चर्चित पनि भए तर साहित्य रचनामा मात्रै उनको मन अडिएन । पोखराको प्राकृतिकता, तालको मोहकता, हिमालको सौन्दर्य र गुफाका गहिराइमा उनले विराट् सिनेमाका फ्रेमहरू देखेका थिए, त्यति नै बेला ‘परिवर्तन’ सिनेमाका लागि हीरासिंह खत्री काठमाडौं आएका थिए । कार्कीले माछाको हाकिम पदबाट २०२५ को वैशाखमा राजीनामा दिए र काठमाडौंका लागि ‘अग्नि बस’ को टिकट काटे ।

सिनेमा

२०२५ सालको असारमा सूचना विभागले निर्माण गर्ने ‘चेतना’ नामक चलचित्रको कथा, पटकथा, संवाद र सहायक निर्देशक भई सिनेमा क्षेत्रमा चेतन कार्की प्रवेश गरेका थिए । तर, ‘चेतना’ बनेन ।

त्यसको एक वर्षपछि २०२६ सालमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत राजा महेन्द्रले निर्माण गर्न लागेको तेस्रो चलचित्र ‘परिवर्तन’ का लागि नेपालीभाषी भारतीय नागरिक हीरासिंह खत्री काठमाडौं आएका थिए । विसं २०२१ सालमा ‘आमा’ र २०२४ सालमा ‘हिजो, आज, भोलि’ निर्देशन गरेका खत्रीलाई गतिलो भाषा–ज्ञाता र पटकथा तथा संवाद लेखक नपाएर हैरान भएको थियो । खत्री हिन्दी बोल्थे, नेपाली राम्रो जान्दैनथे । हिन्दी, उर्दू, नेपाली, संस्कृत र अंग्रेजीमा दखल भएका चेतन कार्की भेट्दा सिनेमा ब्युँतने छनक खत्रीले पाए र उनलाई पहिलो नेपाली पटकथाकारका रूपमा ‘परिवर्तन’ मा भित्र्याए ।

सिनेमाका नायक मित्रलाल शर्मा र कलाकार नीर शाहको डेब्यु सिनेमा हो– परिवर्तन । भुवन चन्द ‘आमा’ पछि नायिकाको भूमिकामा खत्री–क्याम्पमा दोहोरिएकी थिइन् । सुटिङ गर्दै जाँदा एक ठाउँमा ‘अमेरिकाबाट स्नातक सकेर फर्किएका फलानाका छोरा फलानाको सफलताको खुसियालीमा यो पार्टी आयोजना गरिएको हो’ भनी उद्घोषकले भन्नुपर्ने रैछ । नीर शाहले अभिनय गरेको पात्रको त्यति बेलासम्म स्क्रिप्टमा नाम नै रहेनछ । निर्देशक खत्रीले ‘इस का एक नाम दे चेतन’ भनेपछि कार्कीले हत्त न पत्त नाम दिए– प्रचण्डशमशेर जबरा । नीर शाहलाई धेरैले पछिसम्म प्रचण्डशमशेर भनेरै बोलाए ।

कलकत्ताको ट्रलीगन्ज स्टुडियोमा सिनेमाका नायक मित्रलाल शर्माले करिब १४–१५ दिन लगाएर ‘बुझ्नै सकिनौ तिमीले’ गीतको सुटिङ सकेका थिए । पियानो बजाएर गाउँदै अभिनय गर्नुपर्ने सो गीत नै आजसम्मको धेरै समय लगाएर सुटिङ भएको नेपाली सिनेमाको गीत मानिन्छ ।

तत्कालीन राजा महेन्द्रले नेपाली सिनेमा प्रवर्दनका लागि स्थापना गरेको ‘शाही नेपाल चलचित्र संस्थान’ को निर्माण अधिकृतका रूपमा करिब १५ वर्ष जागिर खाएका चेतन कार्कीले धेरै सिनेमामा पटकथाकार, सहायक निर्देशक भई काम गरेपछि २०४३ सालमा शाही नेपाल चलचित्र संस्थानको निर्माणमा शिव श्रेष्ठ, रोषी कार्की र राजश्री क्षत्री स्टारर फिल्म ‘विश्वास’ निर्देशन गरे । राजनीतिक परिवर्तनको संघारमा देश उभिइरहेका बेला २०४६ सालमा उनले शान्ति फिल्म्सको ब्यानरमा अर्को फिल्म निर्देशन गरे– ‘मायाप्रीति’ । शर्मिला मल्ल, कृष्ण मल्लका साथमा नवकलाकार रवीन्द्र खड्का यही सिनेमाबाट उदाए । र, २०५२ सालमा करिश्मा मानन्धरका साथमा धीरेन शाक्यलाई ‘पहिलो प्रेम’ चलचित्रमा अभिनय गराउँदै कार्कीले नव–निर्देशकहरूको भीडमा आफ्नो अब्बल परिचय दिए । तर, सिनेमा निर्देशनको उनको यात्रा यहीं रोकियो । माओवादी ‘जनयुद्ध’ का कारण सिनेमा बन्न छाडे । हलहरूमा बम पड्किन थाले । त्यसको १२ वर्षपछि उनले निर्देशन गरेका सिनेमा नयाँ निर्देशकका निम्ति अर्काइभ–सिनेमा बनेका थिए । उनी गीत लेखनमा भने निरन्तर थिए ।

संगीत

देहरादूनमै मित्रसेन थापाका गीतहरू ‘लाहुरेको रेलिमाई फेसनै राम्रो, झमझम परेली आँखैकी गाजलु’ लगायत ग्रामफोनमा सुन्ने चेतन कार्की सानैदेखि लोकगीतका पारखी थिए । मित्रसेनका गीतमा टुक्का थपेर स्कुलमा गाउँदा स्याबासी पाउने कार्की कालान्तरमा गीतकार बनेर उदाए । उनको पहिलो गीत नातिकाजीको संगीत तथा तारादेवी र भुवन थापाको स्वरमा रेडियो नेपालबाट बज्यो, ‘दाइलाई बोलाऊँ भने लेक स्वर पुग्दैन ।’ अनि उनी गीतकारको दर्जामा दरिए ।

चेतन कार्कीले ‘परिवर्तन’ का सबै ८ वटै गीत लेखे । संगीतकार थिए– भी बलसारा– भारतीय संगीतकार ।

गण्डकी क्षेत्रका लोकलयलाई आधार मानेर लेखेका गीत उनले कलकत्तामा बलसारालाई सुनाए । नृत्य निर्देशक तीर्थ शेरचनले मादल र तबला बजाए, चेतन कार्कीले लय गुनगुनाए । उनीहरू चकित त त्यतिबेला परे, जब उनीहरूले गाएर सके, बलसाराले जस्ताको तस्तै हार्मोनियममा बजाएर सुनाए । कार्कीले गाउँदा–गाउँदै बलसाराले नोटेसन लेखिसकेका रहेछन् । त्यसपछि आफूले संकलन गरेका गीतको ‘संगीतकार हक’ उनै बलसारालाई दिए । त्यसपछि जन्मिए ‘बैनीको दया छ भने रोधीघरमा दाइ नाच्यो नभने’ र अन्य गीतहरू ।

नारायणगोपाल, मीरा राणा र भारतीय कोरसहरूको आवाजमा ती गीत रेकर्ड गर्नुअघि नारायणगोपालले एउटा अनौठो अत्तो थापे, ‘मलाई सिनेमामा एउटा सोलो गीत गाउन दिए मात्रै म लोक–युगल गीत गाउँछु, नभए गाउन्नँ ।’ निर्देशक हीरासिंह खत्री र उनलाई बडो सकस भयो । कार्कीले रातारात गीत लेखे, बलसाराले तत्कालै संगीत भरे र जन्मियो गीत– ‘बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो ।’

पोखरामा मत्स्य विकास केन्द्रको अधिकृत भएकै बेला उनले युवा झलकमान गन्धर्व, अली मियाँजस्ता लोक साहित्यका उम्दा प्रतिभालाई भेटेका थिए र उनमा जागेको थियो, लोकसंगीतको भोक । घोडा चढी बाटुलेचौर पुगेर झलकमानको सारंगीमा कर्खा सुन्ने चेतन कार्की चराका चिर्बिरमा, खोलाको कलकलमा, नदीको सुसाइमा, जनजीवनका रोधी, झाम्रे, रत्यौली र विविध सांस्कृतिक कार्यक्रममा गाइने गीतमा माटोको सुगन्ध र लय भेट्थे । तिनै लयहरूलाई आफ्ना धेरै गीतमा संगीतकारसँग बसेर नयाँ बान्की दिएका थिए उनले । २०४१ सालमा बीएस थापाको निर्देशन र गोपाल योञ्जनको संगीतमा निर्माण भएको चलचित्र ‘कान्छी’ मा अधिकांश गीत लेखे । यही चलचित्रबाट गोपाल योञ्जन र गायिका विमला राई, प्रसाद श्रेष्ठ पार्श्व गायनमा प्रवेश गरे भने प्रकाश श्रेष्ठ सुपरहिट बने । ‘कान्छी हे कान्छी’, ‘कलकल सलसल’, ‘यी ओठ तिम्रा’, ‘छोरीको जन्म हारेको कर्म’ जस्ता गीत नेपाली सिनेमाका मानक गीत बने ।

‘कान्छी’ मा गोपाल योञ्जनसँगको सहकार्यले उनको गीति लेखनमा झन् ऊर्जा थपियो । गोपाल योञ्जन साहित्य, संगीत, गायन, वादन आदि कलाका धुरन्धर थिए । उनीहरू दुईको जोडी जम्यो । पछि चेतनले निर्देशन गरेका ३ वटै सिनेमामा उनै गोपाल योञ्जनले संगीत भरे । ‘भुमरी’ चलचित्रमा गायिका संगीता प्रधान, जुजुकाजी रञ्जित, किरण प्रधानलाई गायिकीमा डेब्यु गराउन यो जोडी सफल भयो । ‘मायाप्रीति’ चलचित्रको ‘मायापिरतीको चोखो कथा यो’ अरुणा लामासँग गाइसक्दा किरण प्रधान चर्चित पार्श्व–गायक भइसकेका थिए । आफ्ना सर्वाधिक प्रिय संगीतकार गोपाल योञ्जनसँग केही व्यावसायिक विज्ञापन र नेपाल प्रहरीका लागि बनाइएको ‘सबैलाई चेतना भया’ नामक गीति नाटकमा पनि चेतनले सहकार्य गरे ।

व्याकरणका नियमहरू पालना गर्दै बोल्ने चेतन कार्की संस्कृत भाषाको मूल रुटलाई बिर्सन नहुने बताउँथे । भन्थे, ‘जर्मन भाषा वैज्ञानिक म्याक्स मुलरले ४० वर्षसम्म संस्कृतको अध्ययन गरेर संस्कृतमा भएका केही महत्त्वपूर्ण साहित्यलाई जर्मन भाषामा अनुवाद गरे । जर्मन नागरिकले अहिले वेदलाई जर्मन भाषामा अध्ययन गरिरहेका छन्, तर हामी भने संस्कृतलाई भुल्दै गइरहेका छौं ।’

सिनेमायी भाषामा संस्कृतिलाई भन्न सकियो भने हामी बाँच्छौं भन्ने मान्यता राख्ने कार्कीले ‘कन्यादान’ चलचित्रका लागि अर्को सांस्कृतिक गीत लेखे, ‘तीजको लहर आयो बरीलै ।’

गण्डकी प्रदेशको ‘बरीलै’ थेगोलाई टिपेर धर्मराज थापाले संकलन गरी गाएको गीत ‘नेपालीले माया मार्‍यो बरीलै’ को लयमा गुनगुनाई ‘टेप रेकर्ड’ निर्देशक प्रकाश थापाका साथमा संगीतकार मनोहरि सिंहलाई बम्बई पठाए । मनोहरिले केही परिमार्जन गरी संगीत गरे र गाइन् सुष्मा श्रेष्ठले । गीत व्यापक चल्यो । ‘कन्यादान’ फिल्म यही गीतका कारण हिट भयो । अहिले तीजे गीतको मानक गीतमा यसको गणना हुन्छ ।

नारायणगोपालको गीत छनोट, पेसाप्रतिको बफादारीपन र गायकीको उच्चकलाका कारण उनी सर्वाधिक मन पर्ने बताउने चेतन कार्कीका गीतमा नातिकाजी, भी बलसारा, गोपाल योञ्जन, दिव्य खालिङ, मनोहरि सिंह, शिलाबहादुर मोक्तान, नारायण वलीलगायतले संगीत भरेका छन् । तारादेवी, मीरा राणा, अरुणा लामा, आशा भोसले, संगीता राना प्रधान, विमला राई, सुनिता सुब्बाजस्ता गायिकाका साथै नेपाली संगीतको मूलधारका धेरै गायकले उनका गीतमा स्वर सजाएका छन् ।

देशले फेरेको गणतन्त्रको खास्टो चेतनलाई खास मन परेको थिएन । टुक्के महाराजभन्दा एउटै महाराज ठीक मान्ने उनी पछिल्लो समय केही सार्वजनिक कार्यक्रमबाहेक बाहिर उति देखिँदैनथे । नारायण वलीको संगीतमा नयाँ पुस्ताका कुन्ती मोक्तान, महेश सेवा, प्रवीण बेडवाल, अस्मिता अधिकारी, निशान भट्टराई, रचना रिमालहरूको स्वरमा आफ्ना गीत रेकर्ड गराइरहेका उनको एल्वम निकाल्ने सपना अपुरो नै रह्यो । उनको आफ्नै कथा संयोजनमा नारायण वलीको स्वर र संगीतमा ‘मर्न दिँदैन माया’ गीतको भिडियो हालै सार्वजनिक भएको छ । नृत्य–निर्देशक भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’ नामक नृत्यलिपि पुस्तकको हिन्दीमा अनुवाद गर्ने उनको सपना पनि अधुरै रह्यो ।

कन्फेसन्स

बिहान ८ः४५ । आइतबार, १२ असोज, २०७७ । दानागिरी हाइट, पुल्चोक ललितपुरस्थित ‘रेडियो कान्तिपुर’ को अतिथि–कक्षमा चेतन कार्कीको प्रवेश हुन्छ । रेडियोले उनलाई हट प्रपर्टी बनाएको छ । सूत्रधार छन्, संगीतकार नारायण वली । अफ एअरमा अन्तर्वार्ताअघि आधा घण्टा र कार्यक्रम सकिएपछि करिब १ घण्टा हाम्रो कुराकानी चल्छ । बिहान ९ः२० मा ‘शैली’ कार्यक्रममा मेरो चासोका विविधि प्रश्न सोध्छु कार्कीलाई । कार्यक्रमपछि फेरि अतिथि–कक्षमा जान्छौं । उनको सदावहार र सर्वमौसमीय पेय कोक नजिकैको पसलबाट मगाइन्छ । आफ्नो दबिएजस्तो गति, यति र मात्रा मिलेको भाषामा उनले पहिले धेरै नसुनिएका तर रुचिकर कुरा सुनाउँछन् ।

उनलाई मैले २०५६ सालमा पुल्चोकको दमकलपछाडिको मुरारी सिग्देलको पत्रिका पसलमा चिनेको हुँ । करिब २ दशक संगत गर्ने मौका पाएँ । सृजना कर्म, भोगाइ र जीवनका संघर्षका कथा सुन्ने ‘भाग्यमानी’ भएँ म । २०५९ साल भदौ ९ गते मेरो गीति एल्बम ‘आवरण’ को लोकार्पण गर्दै उनले ममा सफल गीतकार हुने लक्षण अहिल्यै देखिएको बताए, त्यो मेरा लागि आशीर्वाद नै बन्यो । यो अब्युचरी लेख्न मैले मेरा सम्झना, यादव खरेल, नीर शाह, संगीता राना प्रधान, नारायण वलीलगायतसँग कुराकानी गरेको छु । मसँग भएका औपचारिक संवादका अडियो सुरक्षित छन् । चेतन अंकल, तृतीय पुरुषको मध्यम आदर प्रयोग गरी मैले तपाईंमा शब्द–सुमन चढाएकोमा क्षमा चाहन्छु ।

मलाई सधैं आशीर्वाद दिइरहनुहोला– ‘हेर भूपेन बाबु ! कला, साहित्य, भाषा, संस्कृति र समाजको सेवा गर्ने व्यक्ति कहिल्यै मर्दैन ।’

हो, अंकल तपाईं सदा अमर हुनुहुन्छ ।

प्रकाशित : जेष्ठ ८, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?