१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

डोरबहादुरको अन्तिम अन्तर्वार्ता

शाह राजाहरूले आफूहरू भारतको चित्तोर राजघरानाबाट आएको र मुगल बादशाहहरूका सन्तति वा राजपुत आदि भएको दाबी अक्सर गर्थे । ‘मुगलहरूको धाक–रवाफ र चमकधमकबाट प्रभावित भएर उनीहरूले त्यस्तो दाबी गरेको’ विष्टले ठोकुवा गरिदिए ।
अच्युत वाग्ले

यो लेख नै लेख्ने कि नलेख्ने द्विविधामा अढाई वर्ष बितेछ । २०७५ माघ १० गते ‘अनलाइनखबर’ ले ‘डोरबहादुर विष्टको अन्तिम प्राज्ञिक योगदानका साक्षीको बयान’ शीर्षकको समाचार प्रकाशित गरेको थियो, दिवाकर प्याकुरेलको बाइलाइनमा । सन्दर्भ ‘नेपाली मानवशास्त्रका पिता’ भनेर मानेका विष्टको उनका सहकर्मी र अनुयायीहरूले मनाएको जन्मदिनको थियो । समाचारमा थप लेखिएको थियो, ‘तिनैमध्येका एक हुन् अमेरिकी मानवशास्त्री जेम्स एफ् (अर्थात् ‘जिम’) फिसर । विष्टका कतिपय अनुसन्धानमा सँगै काम गरेका फिसर विष्टको अन्तिम अन्तर्वार्ता लिने व्यक्ति आफैं भएकाले उनको अन्तिम प्राज्ञिक योगदानको सबभन्दा नजिकको साक्षी आफू भएको दाबी गर्छन् ।’

डोरबहादुरको अन्तिम अन्तर्वार्ता

फिसर–विष्टबीचको प्रेम, सहकार्य र परस्पर सम्मानको जुन गहिराइ छ, त्यसको कसैगरी अवमूल्यन भएको जस्तो छनक आउने गरी पनि केही लेखिनु अन्याय हुन्छ । फिसरले नेपालको भौगोलिक, जैविक र सामाजिक पक्षका अनेकौं पाटामा गहन प्राज्ञिक योगदान दिएका छन् । अहिले नेपाली गाँजा उत्पादनलाई खासगरी वैधीकरण, औषधिजन्य प्रयोजनका लागि व्यावसायिक उत्पादन, बौद्धिक अधिकार सुरक्षण र व्यापारको आवश्यकतामाथि जुन बहस सुरु भएको छ, त्यसले फिसरले गरेको अनुसन्धानको थप पाटोलाई उजागर गर्छ । सन् १९७५ मा प्रकाशित ‘क्यानाविस इन नेपाल : एन ओभरभ्यु’ शीषर्कको उनको खोजपत्रको महत्त्व अझ बढेको छ ।

यी सबै विषय आफ्नो ठाउँमा हुँदाहुँदै पनि ‘विष्टको अन्तिम अन्तर्वार्ता लिने व्यक्ति आफैं भएको’ फिसरको दाबीले कताकता असजिलो लागिह्यो । त्यसबारेको अभिलेखलाई यथार्थ प्रकाशमा ल्याउने वा नल्याउने ? सधैँ एक प्रकारको असजिलो महसुस भइरह्यो मलाई । त्यस अतिरिक्त विष्टको हरेक जन्मदिनमा आफूलाई उनको निकटस्थ देखाउने मानिसहरूले गर्ने सम्भव/असम्भव दाबीहरूलाई बेवास्ता गर्ने कि प्रतिवाद गर्ने द्विविधाले पनि अलमल्यायो । विष्ट बेखबर/बेपत्ता भएको २५ वर्ष पूरा भएको छ । र, फिसर भने अझै पनि प्राज्ञिक कार्यमै सक्रिय छन् । यसर्थ यो ‘अन्तिम अन्तार्वार्ताको दाबी’ बारेका केही तथ्य विष्टबारे चासो राख्नेका माझ अहिल्यै राखिदिनु उपयुक्त लागेको छ ।

अन्तिम अन्तर्वार्ता

फिसरले अन्तिम भनेको अन्तर्वार्ता २२ मे १९९१ मा काठमाडौंमा लिएका थिए । त्यो पहिले ‘दी वेनर–ग्रेन फाउन्डेसन फर आन्थ्रोपोलोजिकल रिसर्च’ मा र पछि १९९७ मा ‘हिमालय, दी जर्नल अफ दी एसोसिएसन फर नेपाल एन्ड हिमालयन स्टडिज’ मा छापिएको थियो । मैले विष्टसँग उनकै निवास जावलाखेलमा अगस्ट ६, १९९४ मा विस्तृत अन्तर्वार्ता लिएको थिएँ र त्यो अगस्ट १०, १९९४ को ‘दी इन्डेपेन्डेन्ट’ को अंकमा छापिएको छ । त्यो उनको ‘फेटालिजम एन्ड डेभलपमेन्ट’ पुस्तकको चर्चा र विवाद चुलीमा पुगेको समय थियो ।

फिसरले लिएको अन्तर्वार्ता प्राज्ञिक जर्नलमा छापिएकाले अन्तिम गणना गर्न खोजिएको हो कि भन्ने तर्क गर्न नसकिने होइन । तर, त्यो अन्तर्वार्तामा उनले बढी प्रश्न विषय–सारभन्दा पनि ‘मानवशास्त्रका पिता भनिएकोमा कस्तो लाग्छ ?’ भन्नेजस्ता मानवीय निजी प्रश्नहरू नै धेरै गरेका छन् । त्यसरी तुलना गर्दा पनि ‘दी इन्डेपेन्डेन्ट’ को अन्तर्वार्तामा नेपालको शिक्षा प्रणाली, शाहवंशीय राजाहरूको उद्गम र नेपालका जनजातिको सांस्कृतिक परिभाषाबारे उठाइएका विषयहरू कम प्राज्ञिक महत्त्वका छैनन् ।

विष्टले मसँगको अन्तर्वार्तामा नेपालको शाहवंशको मूलजरो मगर जाति नै भएको कुरा दोहोर्‍याए । शाह राजाहरूले आफूहरू भारतको चित्तोर राजघरानाबाट आएको र मुगल बादशाहहरूका सन्तति वा राजपुत आदि भएको दाबी अक्सर गर्थे । ‘मुगलहरूको धाक–रवाफ र चमकधमकबाट प्रभावित भएर उनीहरूले त्यस्तो दाबी गरेको’ पनि विष्टले ठोकुवा गरिदिए । चाप्लुसीका लागि राजाको इच्छाअनुसार इतिहास लेख्नेहरू त्यसको प्रतिवादमा उत्रिए । दरबारका केही चाटुकारहरूले त्यसको खण्डन हुनुपर्ने माग गरे र सम्भवत: राजा वीरेन्द्रलाई विष्टविरुद्ध उक्साए । तर, आफ्नो विचारमा विष्ट टसको मस भएनन् । खासगरी अन्तर्वार्ता अंग्रेजी भाषामा छापिएकाले दरबारका भारदारहरू अलि बढी नै उतर्सिएका थिए । यो घटनाले विष्टसँगको मेरो उठबस निकै बाक्लो भयो ।

त्यसलगत्तै, भदौको कुनै दिन विष्टले सोधे, ‘जुम्ला जाने बाबु ?’ हामीसँगै जुम्ला गयौं । सुर्खेतसम्म गाडीमा र त्यसउता कतै घोडा र कतै पैदल । उनको कर्णाली इन्स्टिच्युटमा म एक साता बसें । उनको छिट्टै फर्किने योजना बुझिएन । म फर्कें, नेपालगन्जको फ्लाइटमा । उनीसँग धेरै अन्तरङ्ग कुरा गर्ने अवसर जुट्यो । ती कुराकानीका विषयलाई कुनै औपचारिक आलेखको स्वरूपमा लेख्ने/नलेख्ने प्रस्टता पनि मेरो मस्तिष्कमा सायद कहिल्यै आएन ।

निराशाको जड

खासगरी चारवटा विषयमा विष्टका भनाइ र निराशा दोहोरिइरहन्थ्यो । पहिलो, उनी नेपालको शिक्षालाई साक्षरतामुखीभन्दा रोजगारीमुखी बनाउन चाहन्थे । कर्णाली इन्स्टिच्युट उनको ड्रिम पाइलट प्रोजेक्ट थियो । नेपालका नीतिनिर्माताहरूले उनको दूरदृष्टिलाई बुझ्न नचाहेकोमा उनमा ठूलो गुनासो थियो । दोस्रो, उनका खोज र प्रकाशनलाई अध्ययन नै नगरी उनलाई बाहुन–विरोधी भनेर लखेटिएकोमा उनी आक्रोशित थिए । बाहुनवाद र भाग्यवादको विरोधी हुनु र बाहुनको विरोधी हुनु फरक विषय हुन् भनेर आफूले बुझाउन नसकेको उनी दोहोर्‍याइरहन्थे । उनले खस बाहुनहरू पनि जनजाति नै हुन् भनेर गरिएको परिभाषा अहिले व्यवहारमा लागू गरिँदै छ । तेस्रो, उनलाई नेपाली समाजको व्याख्या पश्चिमा स्वार्थअनुरूप गरिदिएको र यहाँका मौलिक सामाजिक–सांस्कृतिक वास्तविकताहरूको बेवास्ता गरेको आरोप अक्सर लगाइयो । उनी त्यो मान्न पटक्कै तयार भएनन् । चौथो, आधारभूत रूपले उनी राजतन्त्र पक्षधर थिए । दरबारले उनलाई सन् १९७२ मा ल्हासाको वाणिज्य दूत बनाएकोमा अनुगृहीत भइरहनुपर्ने आग्रह मात्रै राखेन उनले शाहहरूलाई मगरका सन्तति भनिदिएकोमा तीव्र रूपले रुष्ट भयो ।

यी सबै कुराले विष्ट धेरै कोणबाट निराश थिए । उनले वास्तवमै नि:स्वार्थ ढंगले केही गर्न खोजेका थिए । एउटा ध्येयमा समर्पित ऋषिको जस्तो जीवन बिताउन खोज्दा अनि मुलुकका लागि केही गर्न कोसिस गर्दा पनि यति धेरै अवगाल र झन्झट आइलागेकोमा उनी दिक्क थिए ।

त्यसको चार महिनापछि, पुसमा उनी बेपत्ता भए । वास्तवमा उनी बेपत्ता नै भएका हुन् कि होइनन् भन्ने पनि तत्काल कसैको चासो बनेन । उनी कतै शान्तबास, अध्ययन वा ट्रेकिङतिर गए होलान् भन्ने धेरैलाई लाग्यो । कर्णालीतिरकालाई काठमाडौं गए हुन् भन्ने र काठमाडौंकालाई उतै होलान् भन्ने अनुमान भइरह्यो । धेरै महिनापछि मात्रै कसैले उनी बस चढ्दै गरेको देखेको अपुष्ट समाचार सुनायो । त्यसपछि उनको अस्तित्व रहस्यको गर्भमै छ । तर पनि उनले नेपालको समाज र त्यसको विकाससँगको अन्तर्सम्बन्धको उठान गरेको मन्थनको वैज्ञानिक जग खडा गरेको छ । उनका अन्तर्वार्ताहरू त्यसका राम्रा सन्दर्भ सामग्री हुन् र तिनको प्रामाणिकता तथ्यका आधारमा अभिलेखित हुनु उत्तिकै महत्त्वको विषय हो ।

(शनिबार प्रकाशन हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : जेष्ठ ७, २०७८ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?