डोरबहादुरको अन्तिम अन्तर्वार्ता
यो लेख नै लेख्ने कि नलेख्ने द्विविधामा अढाई वर्ष बितेछ । २०७५ माघ १० गते ‘अनलाइनखबर’ ले ‘डोरबहादुर विष्टको अन्तिम प्राज्ञिक योगदानका साक्षीको बयान’ शीर्षकको समाचार प्रकाशित गरेको थियो, दिवाकर प्याकुरेलको बाइलाइनमा । सन्दर्भ ‘नेपाली मानवशास्त्रका पिता’ भनेर मानेका विष्टको उनका सहकर्मी र अनुयायीहरूले मनाएको जन्मदिनको थियो । समाचारमा थप लेखिएको थियो, ‘तिनैमध्येका एक हुन् अमेरिकी मानवशास्त्री जेम्स एफ् (अर्थात् ‘जिम’) फिसर । विष्टका कतिपय अनुसन्धानमा सँगै काम गरेका फिसर विष्टको अन्तिम अन्तर्वार्ता लिने व्यक्ति आफैं भएकाले उनको अन्तिम प्राज्ञिक योगदानको सबभन्दा नजिकको साक्षी आफू भएको दाबी गर्छन् ।’
फिसर–विष्टबीचको प्रेम, सहकार्य र परस्पर सम्मानको जुन गहिराइ छ, त्यसको कसैगरी अवमूल्यन भएको जस्तो छनक आउने गरी पनि केही लेखिनु अन्याय हुन्छ । फिसरले नेपालको भौगोलिक, जैविक र सामाजिक पक्षका अनेकौं पाटामा गहन प्राज्ञिक योगदान दिएका छन् । अहिले नेपाली गाँजा उत्पादनलाई खासगरी वैधीकरण, औषधिजन्य प्रयोजनका लागि व्यावसायिक उत्पादन, बौद्धिक अधिकार सुरक्षण र व्यापारको आवश्यकतामाथि जुन बहस सुरु भएको छ, त्यसले फिसरले गरेको अनुसन्धानको थप पाटोलाई उजागर गर्छ । सन् १९७५ मा प्रकाशित ‘क्यानाविस इन नेपाल : एन ओभरभ्यु’ शीषर्कको उनको खोजपत्रको महत्त्व अझ बढेको छ ।
यी सबै विषय आफ्नो ठाउँमा हुँदाहुँदै पनि ‘विष्टको अन्तिम अन्तर्वार्ता लिने व्यक्ति आफैं भएको’ फिसरको दाबीले कताकता असजिलो लागिह्यो । त्यसबारेको अभिलेखलाई यथार्थ प्रकाशमा ल्याउने वा नल्याउने ? सधैँ एक प्रकारको असजिलो महसुस भइरह्यो मलाई । त्यस अतिरिक्त विष्टको हरेक जन्मदिनमा आफूलाई उनको निकटस्थ देखाउने मानिसहरूले गर्ने सम्भव/असम्भव दाबीहरूलाई बेवास्ता गर्ने कि प्रतिवाद गर्ने द्विविधाले पनि अलमल्यायो । विष्ट बेखबर/बेपत्ता भएको २५ वर्ष पूरा भएको छ । र, फिसर भने अझै पनि प्राज्ञिक कार्यमै सक्रिय छन् । यसर्थ यो ‘अन्तिम अन्तार्वार्ताको दाबी’ बारेका केही तथ्य विष्टबारे चासो राख्नेका माझ अहिल्यै राखिदिनु उपयुक्त लागेको छ ।
अन्तिम अन्तर्वार्ता
फिसरले अन्तिम भनेको अन्तर्वार्ता २२ मे १९९१ मा काठमाडौंमा लिएका थिए । त्यो पहिले ‘दी वेनर–ग्रेन फाउन्डेसन फर आन्थ्रोपोलोजिकल रिसर्च’ मा र पछि १९९७ मा ‘हिमालय, दी जर्नल अफ दी एसोसिएसन फर नेपाल एन्ड हिमालयन स्टडिज’ मा छापिएको थियो । मैले विष्टसँग उनकै निवास जावलाखेलमा अगस्ट ६, १९९४ मा विस्तृत अन्तर्वार्ता लिएको थिएँ र त्यो अगस्ट १०, १९९४ को ‘दी इन्डेपेन्डेन्ट’ को अंकमा छापिएको छ । त्यो उनको ‘फेटालिजम एन्ड डेभलपमेन्ट’ पुस्तकको चर्चा र विवाद चुलीमा पुगेको समय थियो ।
फिसरले लिएको अन्तर्वार्ता प्राज्ञिक जर्नलमा छापिएकाले अन्तिम गणना गर्न खोजिएको हो कि भन्ने तर्क गर्न नसकिने होइन । तर, त्यो अन्तर्वार्तामा उनले बढी प्रश्न विषय–सारभन्दा पनि ‘मानवशास्त्रका पिता भनिएकोमा कस्तो लाग्छ ?’ भन्नेजस्ता मानवीय निजी प्रश्नहरू नै धेरै गरेका छन् । त्यसरी तुलना गर्दा पनि ‘दी इन्डेपेन्डेन्ट’ को अन्तर्वार्तामा नेपालको शिक्षा प्रणाली, शाहवंशीय राजाहरूको उद्गम र नेपालका जनजातिको सांस्कृतिक परिभाषाबारे उठाइएका विषयहरू कम प्राज्ञिक महत्त्वका छैनन् ।
विष्टले मसँगको अन्तर्वार्तामा नेपालको शाहवंशको मूलजरो मगर जाति नै भएको कुरा दोहोर्याए । शाह राजाहरूले आफूहरू भारतको चित्तोर राजघरानाबाट आएको र मुगल बादशाहहरूका सन्तति वा राजपुत आदि भएको दाबी अक्सर गर्थे । ‘मुगलहरूको धाक–रवाफ र चमकधमकबाट प्रभावित भएर उनीहरूले त्यस्तो दाबी गरेको’ पनि विष्टले ठोकुवा गरिदिए । चाप्लुसीका लागि राजाको इच्छाअनुसार इतिहास लेख्नेहरू त्यसको प्रतिवादमा उत्रिए । दरबारका केही चाटुकारहरूले त्यसको खण्डन हुनुपर्ने माग गरे र सम्भवत: राजा वीरेन्द्रलाई विष्टविरुद्ध उक्साए । तर, आफ्नो विचारमा विष्ट टसको मस भएनन् । खासगरी अन्तर्वार्ता अंग्रेजी भाषामा छापिएकाले दरबारका भारदारहरू अलि बढी नै उतर्सिएका थिए । यो घटनाले विष्टसँगको मेरो उठबस निकै बाक्लो भयो ।
त्यसलगत्तै, भदौको कुनै दिन विष्टले सोधे, ‘जुम्ला जाने बाबु ?’ हामीसँगै जुम्ला गयौं । सुर्खेतसम्म गाडीमा र त्यसउता कतै घोडा र कतै पैदल । उनको कर्णाली इन्स्टिच्युटमा म एक साता बसें । उनको छिट्टै फर्किने योजना बुझिएन । म फर्कें, नेपालगन्जको फ्लाइटमा । उनीसँग धेरै अन्तरङ्ग कुरा गर्ने अवसर जुट्यो । ती कुराकानीका विषयलाई कुनै औपचारिक आलेखको स्वरूपमा लेख्ने/नलेख्ने प्रस्टता पनि मेरो मस्तिष्कमा सायद कहिल्यै आएन ।
निराशाको जड
खासगरी चारवटा विषयमा विष्टका भनाइ र निराशा दोहोरिइरहन्थ्यो । पहिलो, उनी नेपालको शिक्षालाई साक्षरतामुखीभन्दा रोजगारीमुखी बनाउन चाहन्थे । कर्णाली इन्स्टिच्युट उनको ड्रिम पाइलट प्रोजेक्ट थियो । नेपालका नीतिनिर्माताहरूले उनको दूरदृष्टिलाई बुझ्न नचाहेकोमा उनमा ठूलो गुनासो थियो । दोस्रो, उनका खोज र प्रकाशनलाई अध्ययन नै नगरी उनलाई बाहुन–विरोधी भनेर लखेटिएकोमा उनी आक्रोशित थिए । बाहुनवाद र भाग्यवादको विरोधी हुनु र बाहुनको विरोधी हुनु फरक विषय हुन् भनेर आफूले बुझाउन नसकेको उनी दोहोर्याइरहन्थे । उनले खस बाहुनहरू पनि जनजाति नै हुन् भनेर गरिएको परिभाषा अहिले व्यवहारमा लागू गरिँदै छ । तेस्रो, उनलाई नेपाली समाजको व्याख्या पश्चिमा स्वार्थअनुरूप गरिदिएको र यहाँका मौलिक सामाजिक–सांस्कृतिक वास्तविकताहरूको बेवास्ता गरेको आरोप अक्सर लगाइयो । उनी त्यो मान्न पटक्कै तयार भएनन् । चौथो, आधारभूत रूपले उनी राजतन्त्र पक्षधर थिए । दरबारले उनलाई सन् १९७२ मा ल्हासाको वाणिज्य दूत बनाएकोमा अनुगृहीत भइरहनुपर्ने आग्रह मात्रै राखेन उनले शाहहरूलाई मगरका सन्तति भनिदिएकोमा तीव्र रूपले रुष्ट भयो ।
यी सबै कुराले विष्ट धेरै कोणबाट निराश थिए । उनले वास्तवमै नि:स्वार्थ ढंगले केही गर्न खोजेका थिए । एउटा ध्येयमा समर्पित ऋषिको जस्तो जीवन बिताउन खोज्दा अनि मुलुकका लागि केही गर्न कोसिस गर्दा पनि यति धेरै अवगाल र झन्झट आइलागेकोमा उनी दिक्क थिए ।
त्यसको चार महिनापछि, पुसमा उनी बेपत्ता भए । वास्तवमा उनी बेपत्ता नै भएका हुन् कि होइनन् भन्ने पनि तत्काल कसैको चासो बनेन । उनी कतै शान्तबास, अध्ययन वा ट्रेकिङतिर गए होलान् भन्ने धेरैलाई लाग्यो । कर्णालीतिरकालाई काठमाडौं गए हुन् भन्ने र काठमाडौंकालाई उतै होलान् भन्ने अनुमान भइरह्यो । धेरै महिनापछि मात्रै कसैले उनी बस चढ्दै गरेको देखेको अपुष्ट समाचार सुनायो । त्यसपछि उनको अस्तित्व रहस्यको गर्भमै छ । तर पनि उनले नेपालको समाज र त्यसको विकाससँगको अन्तर्सम्बन्धको उठान गरेको मन्थनको वैज्ञानिक जग खडा गरेको छ । उनका अन्तर्वार्ताहरू त्यसका राम्रा सन्दर्भ सामग्री हुन् र तिनको प्रामाणिकता तथ्यका आधारमा अभिलेखित हुनु उत्तिकै महत्त्वको विषय हो ।
(शनिबार प्रकाशन हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)
प्रकाशित : जेष्ठ ७, २०७८ १९:१८