कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

त्यो किताब : त्यो कायाकल्प

गाउँमा भकाभक मानिस मर्न थाले । छेउकै आँगनकी मेरी भाया आई प्रशवकालमा मरिन् । तिनका काका–ससुरा लगत्तै पिसाब बन्द भएर मरे । दुवैलाई खोलाको डिलमा गाडेर गाउँले फर्के । यी सबैको दोष गाउँलेले गाउँवरिपरि अदृश्य घुमिरहने गहिली, काली, संसारी आदि ‘देऊ’ हरूलाई दिए ।
प्रमोद मिश्र

शिक्षक र अभिभावकले पाठ्यपुस्तक मात्र पढ्न लगाएको दबाबमुनि थिचिएर कक्षामा उत्तीर्ण नभइरहने एक विद्यार्थीले स्कुल–जीवनमा कस्तो तनाव झेलेर पढ्नुपर्छ ? तर, पाठ्यपुस्तकबाहेक एउटै मात्र किताब हात लागेपछि उसको जीवन कसरी बदलिन्छ ?

त्यो किताब : त्यो कायाकल्प

कलिलो मनमा कुँदिएको त्यस किताबले उसको अपरिपक्व अनुभव र अनुभूतिमार्फत उसैको जीवनमा कस्तो अर्थपूर्ण परिर्वतन ल्याउँछ ? आफ्नो समयको देहाती समाज, संस्कृति र शिक्षामाथि गम्भीरतापूर्वक आत्मइमानदारीसाथ एक प्राध्यापकद्वारा लेखिएको मर्मस्पर्शी बाल्यकालगाथा :

भाग १ : फेल

३ कक्षामा पुग्दासम्म म भुसकोल भइसकेको थिएँ । पढ्नमा लद्दु नभएको भए जाँचमा सबै विषय फेल हुने नै थिइनँ । जाँचका दिन माट्सा’बले जाँच–पुस्तिका बाँडे । पुस्तिकाको गाताका तीन धर्सामा मलाई के लेखौं के नलेखौं भयो । छेउकै चार कक्षामा पढ्ने गोलाल पक्कै जान्ने होला, मनमा लाग्यो र त्यसले कपीमाथि जे लेखेको थियो, त्यही सारें । त्यसपछि के लेखें, के लेखिनँ याद छैन । अरू दिन पनि यस्तै–यस्तै भयो । रिजल्ट निस्कने दिन विद्यार्थी, शिक्षक, अभिभावक चौरमा भेला भए । बुबा ‘देश’ जानुभएको थियो । हेड माट्सा’बले पास हुने विद्यार्थीका नाम भट्ट्याउन थाले । अन्तिमसम्म पनि मेरो नाम निस्केन । रुँदै घर पुगें । आमा निधार पिट्न थाल्नुभयो, ‘हमर करमे फुटल । दुनियाँ त दुश्मन भेलै, भेलै । यी मास्टरो सब हमर बेटाके दुश्मन भेगेलै ।’

यात्राबाट फर्केपछि बुबाले भन्नुभयो, ‘ई सन्तलाल कम राड (फटाहा) छै ! हमर बेटाके फेल कय देलक ।’ अनि झोक्किँदै स्कुल पुग्नुभयो, ‘किन मेरो छोरालाई फेल गरेको ? अरू पास हुन्छ अनि मेरो छोरा कसरी फेल हुन्छ ?’

महबतलालका साला थिए– हेडमास्टर सन्तलाल । थुत्लिवाल मास्टर हिँडेपछि तिनलाई ल्याइएको थियो । थुत्लीवाल मास्टर तीन–चार किलास पढेका थिए भने सन्तलाल मेट्रिक फेल । हाम्रो स्कुलमा पहिलो डिग्रीधारी शिक्षक भएकाले गाउँका गन्ने–मान्ने पहाडिया, मधेसिया सबैले तिनलाई सम्मान गर्थे । फेरि महबतलाल सुन्दर जिम्दारका छोरा । तिनको पनि साला भएकाले सन्तलाल माट्सा’बलाई कसले छुने ! त्यसअघिका सुक्ना र थुत्लीवाल मास्टरबारे कसैले न केही पास गरेको भन्थे न फेल किनभने सुक्ना मास्टरको बजारमा मिठाई पसल थियो भने थुत्लीवाल मास्टर पाटाधानको डन्डी थाप्थे हाटबजारमा । सन्तलाल सुक्ना मास्टरजस्तो काँचो बाँसको छडीले पिट्दैनथे । तिनको स्टेन्डर अलि माथि नै थियो । काठको चिप्लो रोल चलाउँथे । विद्यार्थीका खुट्टा–खुट्टामा हान्थे, जसले हत्केलामा दाग नबसोस् र हत्केला नफुटोस् । हत्केला फुट्यो भने खान्छ कसरी ? अनि काम कसरी गर्छ ?

बुबा रिसाएको देखेर, जाँच–कपी बुबालाई देखाउँदै तिनले राजवंशी भए पनि मैथिलीमा भने, ‘ई, देखु त ! केना पास करबै ?’ अनि भर्खरै तेह्रथुमबाट झरेका दुलाल सरतर्फ फर्केर भने, ‘यस्तो लेखेपछि कसरी पास गर्ने ?’ घरमा बुबाले सब कुरा भन्नुभो । बाँकी पाना लगभग खाली । काग–खुट्टे अक्षरले गर्दा मेरो कपी हो भन्ने ठम्याएछन् ।

मेरा सहपाठी कान्ध्रॅ र लैला चारमा गए । म तीनमै थन्किएँ । आमा बरालटोलीबाट दूध ल्याएर दही जमाउने अनि हाटबजारमा बेच्ने गर्नुहुन्थ्यो । म दहीच्युरा खाएर मात्रै स्कुल जान्थें । दहीच्युरा नभेटेका दिन स्कुल पनि हडताल । दहीच्युरासँगको मेरो अकाट्य प्रेमलाई मेरा गाउँले सहपाठीले फिँजाइसकेका थिए । ‘हन्डी फुटाई फुटाई पनि तीन पास हुन सकेन, हन्डीफोरा’ भनेर बजार र बजारपारिका केटाहरूले गिज्याउन थाले– चकचके बाँदरलाई यस्तै हुन्छ ! खुच्चिङ परो ! खरायोले कहीँ दौड जितेको छ ?’ ‘खरायो, खरायो दहीच्युरामा हरायो !’ ‘वरदे वीणापुस्तकधारणी वरदे’ वन्दनाबाट स्कुल थालेको मलाई तीन कक्षामा सरस्वती माताले लोप्पा ख्वाइदिइन् ।

त्यतिन्जेलसम्म स्कुल मेरा लागि पहाड भैसकेको थियो । सिलेट, खरी र मनोहर पोथी ठूलठूला आँखामा गाजल लगाएकी सरस्वती माताका पाउमा चढाएको थिएँ । स्कुल थाल्दा म चार वर्षको थिएँ । मभन्दा तीन तहमाथिका कक्षामा किशोरहरूलाई उमेर हेरी एकैचोटि फरक–फरक तीन/चार कक्षामा भर्ना गरिएको थियो ।

खरको छानो, बाँस र कर्चीको बेरा भएको एककोठे स्कुल भर्खर बनेको थियो । त्यसअघि हाम्रो भित्री मोरङको गाउँवरपर तीन–चार जना मात्र ‘लिखितम जिल्ला मोरङ धनीका नाम’ सम्म भट्याउने र साधारण स्रेस्ता लेख्ने अगुवाहरू थिए । हाम्रो गाउँका पहिला प्रधानपञ्च जहरसिंह राजवंशीले कसरी लेखपढ सिके वा उपप्रधान नरवम् खत्रीले कहाँ सही गर्न र श्रेस्ता सिके थाहा भएन । तर, मेरा पिताजीले एघार वर्षको उमेरमा घरबाट भागेर बनारस पुगेको र त्यहीं दुई बंगाली रेल कर्मचारीका भान्से भई आचार्यसम्म पढेको कुरा सुन्दै हुर्कें । तर, बुबाले आचार्यसम्मै पढ्नुभएको कुरा पछि मलाई पत्यार लाग्न छोड्यो किनभने मलाई चिठी लेख्दा हिज्जे र हिन्दीको लिंग निर्णयमा मनग्गै गल्ती गर्नुहुन्थ्यो । तर, तुलसीकृत ‘रामचरित मानस’ भने म कलेज पढ्दा पनि नबुझेका कुरा बिदामा घर फर्कंदा बुझाउन सक्नुहुन्थ्यो । त्यसैले पिताजीले यत्ति नै पढ्नुभएको थियो भन्ने ठोकुवाचाहिं गर्न सक्दिन । जे होस्, हाम्रो गाउँ–ठाउँका लागि जहरसिंह, नरवम खत्री र रामदेव मिश्र आदि नै जेफरसन, वासिङ्टन अनि गान्धी र नेहरू थिए ।

म पढ्ने उमेरको हुँदासम्म बुबाको पुराण भन्ने दिन सिद्धिसकेका थिए । पुराणका पहेंला पाताहरू घरको धरिनमाथि धूलाम्मे थिए । छुँदा मात्र पनि टुक्राटुक्रा हुन्थे । तर, भारत विभाजनपछि ढाका–चटगाँव ‘चेलाचाटी’ मा जान बन्देज लागे पनि आसाम, बंगाल, विहारको धनवाद र झरिया गइरहनुहुन्थ्यो । पुस्तैनी पेसा नै कानमा मन्त्र दिने (कनफुक्का) थियो । ठूला धाम (बद्री, केदार, रामेश्वरम्, द्वारका) र साना धाम (गया, काशी, प्रयाग) नेपाल, बंगाल, विहारका सीमान्त क्षेत्र र पहाडसमेतबाट तीर्थयात्री भने नब्बे दशकको पहिलो तीन वर्ष (नथलुनन्जेल) सम्म पनि लैजानुभयो । यस्तै यात्राबाट पिताजीले तालुखुइले बौयेलाल मास्टरलाई जोगबनीको बाटो दुई दिन लगाएर हिँडाउँदै ल्याउनुभएको थियो, मलाई अक्षर चिनाउन । तिनै बौयेलालले नै पहिलो दिन मलाई स्कुल लगेका थिए ।

यसरी संगठित रूपमा हाम्रो पठन–पाठनको थालनी त्यसै महान् झोपडीभित्र तीनवटा डेस्क र ब्रिन्चीका साथ भएको थियो । डेस्क–ब्रिन्चीपिच्छै एउटा कक्षा । तर, के गर्ने ! एकदिन पुग्दा त स्कुलभित्र धूवाँ बालेर सर्प धपाउँदै थिए मास्टर–विद्यार्थी सबै । एककोठे ‘फुस’ को स्कुल खरानी भयो । स्कुल सर्‍यो आधा कोस तल ठेलपेल बूढा घरछेउ । पल्लो गाउँका गोलाल, छिलाल, पृथ्वी दाजुभाइ, हाम्रो गाउँका भट्टीवाला (इँटको भट्टी, दारुको होइन) ओझाका ‘धक्कर’ छोरा भुट्टे, सदसरी नानीका भतिज ठन्डा र नाति ठुइया, दौनियाँका भाइ ‘गरम’, बजारका दोकानवाला जुँगे यादवजीका छोरा हरि आदिले गाउँगाउँ डुली खर र बाँस भेला पारे । खरको सानो बोझा सकी नसकी मैले पनि ओसारें । एक कोठाबाट स्कुल तीनकोठाको भयो । जंगल फँडानी सुरु भइसकेकाले डेस्क–ब्रिन्ची र कुर्सी पनि बने । ठेलपेलको बाँस घारीछेउमै भएकाले हरिया ताछिएका छडी पनि सजिलै आउने भए ।

मभन्दा अगाडिका कक्षामा प्रायः किशोर भइसकेका पाका छात्र थिए जो भर्खर कखरा, जोडघटाउ र ‘पहरा’ पढ्न थालेका थिए । तिनलाई कखरा पढाउन जहरसिंह प्रधानले हाटबजारमा डन्डी थाप्ने एक जना पोद्धार र मिठाई पसले अर्का चन्द्रदेव नाम गरेकालाई फकाएर हाम्रो मास्टर बनाए । ती बिहारको कुन ठाउँबाट आएका थिए, अहिले भन्न गाह्रो छ । मिठाई पसले, जो चमेरोजस्तै हाड–छालाका मात्र थिए, तिनलाई गाउँलेले ‘सुक्ना मास्टर’ भन्थे र धानचामल खुद्रा व्यापारीको चिउँडो अलि लामो भएकाले तिनलाई ‘थुत्लीवाल’ । डन्डी थाप्दा–थाप्दा दिक्क भएका मास्टरलाई तिघ्रे विद्यार्थी भेटेपछि के चाहिन्थ्यो ! जोड, घटाउ, गुना, भागा सजिलै आए पनि दुईएकान दुईदेखि बीसेकान बीससम्मको पहरालाई छिप्पिएको दिमागले कण्ठ गर्न भ्याउँदैनथ्यो क्यारे । फेरि त बाँसघारीबाट कर्ची ताछिन थालियो धमाधम । कर्ची पनि पिटिनेले नै स्वयं काट्नु र ताछ्नुपर्ने । अनि आदरका साथ सुक्ना मास्टरलाई टक्य्राउनुपर्ने, आफू कुटाइ खान ।

यादवजीका छोरा हरि पहरा कहिल्यै कण्ठ पार्दैनथ्यो । गयल पनि धेरै हुन्थ्यो । अनि अटेरी पनि गर्थ्यो । फलस्वरूप जहिले पनि बाहिर घाममा मुर्गी बन्थ्यो । मुर्गी बन्न कुर्कुच्चामा टुक्रुक्क बस्नुपर्थ्यो र हात–खुट्टा पछाडिबाट छिराएर अगाडि कान समाउनुपर्थ्यो । एक दिन गोलाल गयल भयो । उसले कर्ची काटेर ल्यायो र ताछेर हाँस्दै सुक्ना मास्टरलाई बुझायो । त्यसपछि मात्र सुक्ना मास्टरले उसका बलिया तिघ्रामा सुम्ला निकाले । हरि दिनहुँजसो मुर्गी बन्थ्यो । मुर्गी बन्दा कानबाट हात चिप्ल्यो कि तिघ्रामा छडी स्वाँट–स्वाँट । पल्लो गाउँका राजवंशी केटाहरू दिनहुँ छडी खान्थे । मभन्दा उमेरमा बारह–चौद वर्ष नै पाका अग्रजहरूको चरा र चौपाया रूप देख्दै मेरो सातो जान्थ्यो । अनि मेरो दिमागमा कखरा, जोडघटाउ कहाँबाट घुस्ने ! यसबीच बौयेलाल पनि बहुलाएर भारतबाट जसरी प्रकट भएका थिए, त्यसरी नै एक दिन अकस्मात् बिलाए । तिनी हुन्जेल लालटिनको सिसा साफ गर्थे र म जन्डलाई गाउँभरि खोजी–खोजी ल्याई फकाई–फकाई पढाउँथे ।

तिनी हिँडेपछि मेरो बास दौनियाँका छोरा करकको ‘बड्खा आङ्ना’ र खेतबाधमा हुन थाल्यो । त्यसपछि आमाले आँगनकै शेरसिंहको ढिकीमा धान कुट्दै मलाई पढाउन थाल्नुभयो । ‘क, ख, ग, घ लिख्’, आमाको आदेश हुन्थ्यो । मेरा आँखा सिलेटमा, दिमाग शिरमाथि नाच्दै गरेको छडीमा ! ढिकीच्याउँ, ढिकीच्याउँ, ढिकीच्याउँ, ढिकीच्याउँको आवाजबीच म लेख्थें– क, ख । ‘भएन’ भन्दै ढिकीच्याउँ, ढिकीच्याउँ शान्त हुन्थ्यो र मेरो मनमा ढ्याङ्ग्रो बज्न थाल्थ्यो । छडी टाउकामाथि नाच्दै गरेको मनले देख्थ्यो । ‘यही छै क, ख, ग, घ ?’ आमाको स्वर बल्थ्यो । फेरि जतन गरेर लेख्थें– क, ख, ग, घ । तर, के बिग्रिन्थ्यो, के बिग्रिन्थ्यो !

‘हमरा तु ठगैछे ? हम पढे नै जानैछि ?’ आमाको प्रश्न हुन्थ्यो ।

पढाइ नै के हो र यसका लागि यति सास्ती किन भन्ने थाहा नभएपछि मलाई के थाहा आमालाई पढ्न आउँछ कि आउँदैन ।

सन् २००२ मा तिलगंगाका डाक्टरले आँखा जाँच्ने यन्त्रमा चिउँडो राख्न लगाएर आमालाई आदेश दिए, ‘लु, आमै, परको अक्षर पढ्नुस् त !’

मतिर देखाउँदै आमाले भन्नुभयो, ‘ऊ, मेरो छोरा छ नि ! ऊ धेरै पढेको छ । उसलाई सोध्नु नि, बताइदिन्छ ।’ तर, त्यस बिहान, त्यस्तै अरू धेरै बिहान र साँझ उहाँको र मेरो अतीतको त्रास र भविष्यको अन्धकारले गर्दा होला छोरो रातारात कालीदास भइजाओस् भन्ने हुन्थ्यो क्यार मेरी आमालाई । तर, एकातिर म थिएँ महाको लद्धु, अर्धरात्रिमा खोला तर्नुअघिको कालिदास । दोस्रो मेरो मन सधैं करकसँग कहिले उसको आँगन पुगूँ र खेलूँ हुन्थ्यो । मेरा लागि ‘काला अक्षर भैंस बराबर’ भइसकेको थियो ।

भाग २ : पास

ठेलपेल घरनिरको स्कुल गाउँघरभन्दा अलि पर थियो, हाम्रो गाउँबाट सीधा आधा कोस दक्षिण । बजारबाट दक्षिण जति जानुपर्थ्यो त्यति नै हाम्रो गाउँबाट जानुपर्थ्यो । हाम्रो गाउँबाट भुट्टे, म र कान्ध्रॅ हिँडेर जान्थ्यौं । हामी एउटै कक्षामा पढ्थ्यौं । बीचमा फाँट परेकाले आँधीबेरी याममा काँडे असिनाले पिट्थ्यो । बौलाहा कुकुरको डर त सधैं भइरहन्थ्यो । हरिको भाइ राधा बौलाहा कुकुरले टोकेर मर्‍यो ।

सुक्ना मास्टरका लागि पहरा कण्ठ पार्नु र ह्यान्डराइटिङ लेख्नु विद्याको आद्योपान्त थियो । मलाई न पहरा कण्ठस्थ हुने न मेरो ह्यान्डराइटिङ राम्रो ! एक दिन म घरमा ह्यान्डराइटिङ नलेखी स्कुल पुगें । सुक्ना मास्टरले खोजी गरे । ‘परमोधवा ? आज दहीचुरा नहीं खाया क्या ? ही, ही, ही, ही !’ सुक्ना मास्टर सासै जाला गरी हाँसे । क्लासतर्फ फर्केर हेरे, ‘देखते हो इस्को ! रामनाम में आलसी, भोजनमें होसियार ! लेकिन आज यह हन्डी फोडेबिना स्कुल आगया ।’

तिनले ह्यान्डराइटिङ नलेख्ने जतिलाई डेस्कमा उभ्याए । पान चपाउँदै ङिच्च हाँसे । अनि स्वाँट–स्वाँट डेस्कमाथि उभिएकाको खुट्टामा हिर्काउन थाले एकएक गरेर । अरूले ऐया–आथ्था गरे/गरेनन् मैले भने भेउ पाइनँ । मेरो जीउसम्म छडी कतिखेर आइपुग्छ भनेर एक निमेष पर्खिरहें । मेरा पिंडौलामा छडी बज्रनेबित्तिकै मेरो भने पेन्टबाट न्यानो तरल पदार्थ स्वल्ल तल बगेर डेस्क भिज्यो । त्यस दिनदेखि भुट्टे र बजारपारिका केटाहरूले मेरो नाम परमुत राखे र मलाई उडाउन थाले । त्यसपछि ह्यान्डराइटिङ गर्नुपर्‍यो कि मेरो जीउमा काँडा उम्रिन थाल्यो । मेरो ह्यान्डराइटिङ बिग्रेको–बिग्रेकै रह्यो । पछि कलेज पढ्दा ह्यान्डराइटिङ–कपी किनेर लाख कोसिस गरे पनि सुध्रिन सकेन । महात्मा गान्धी र लियो टोल्सटोयजस्ताको त ह्यान्डराइटिङ बुझ्नै नसकिने थियो भने म नाथेको के कुरा भनेर आजपर्यन्त चित्त बुझाउनुपरेको छ ।

खर–बाँसको स्कुल फाँटमा परेकाले पद्मे रातिराति कक्षाकोठामा पसेर बास बस्न थाल्यो । बिहान बिहान उसको फोहोर–कसिंगर बजार र बजारपूर्वका केटाहरूले सफा गर्नुपर्थ्यो । लगत्तै हरिको भाइ राधा, जसलाई स्कुल आउँदै गर्दा बौलाहा कुकुरले टोकेको थियो, कुकरजस्तै भुकेर मर्‍यो । त्यसपछि ‘लौ बा अब सकिन्न’ भनेर गाउँलेले स्कुल भत्काए । बजारमै हजामहरूको झुप्रोमा स्कुल सर्‍यो ।

यसै समय मेरो भाइ जन्मियो– गोरो चिट्टो । आमा जहिले पनि आकाशतिर हेर्दै गुहार्नुहुन्थ्यो, ‘भगवान्के घरमें गोरो माटो मेरा लागि मात्र थियो । मेरो छोराका लागि थिएन ।’ त्यही आकाशमा बस्ने भगवान्ले आमाको बिन्ती सुनेर मलाई गोरो भाइ पठाइदियो । महेन्द्र माला भाग– दुईमा विनोद एउटा असल केटा हो भन्ने मैले पढेको थिएँ । त्यो असल पनि थियो गोरो पनि, मेरो भाइजस्तै ।

प्रमोद एउटा चकचके बाँदर, खरायो र हन्डीफोरा ह्यान्डराइटिङ नलेख्ने केटा हो भने के भो ? म बुद्धु र खराब भए पनि मेरो भाइ गोरो छ र असल हुनेछ भनेर मैले भाइको नाम विनोद राखें– प्रमोद–विनोद, खराब–असल, कालो–गोरो ! तर, चार महिना नकट्दै त्यसलाई खोकीले भेट्यो । आमाले ओझागुनी, धामीझाँक्री लगाउनुभयो । भुट्टेको ‘धक्कर’ बाउ भट्टीवाला ओझाले चौबाटोमा जडीबुटी हालेर रातो बाच्छीको गोइठा बालेर तेल तताएर मन्त्र कसे र नग्न शरीरले उभिएर त्यो तेल विनोदलाई लाउन भने । आमाले त्यसै गर्नुभयो । केही नचलेपछि बैलगाडामा चार घण्टा लगाएर भाइलाई रंगेली भुवनेश्वर झा डाक्टरकहाँ लग्यौं । तिनले सुई दिए ।

घर फर्काएर ल्याउँदा खोकी अझ बल्झ्यो । ढोलबज्जाकी काली, बेलड्याङ्ग्री स्वास्नी तेल लगाउन आउँथी । त्यसैले बोक्सी लाइदीकी भन्ने आमालाई भयो । साडी–चोलो दिन्छौं, पैसा दिन्छौं, बोक्सी छुटाइदे भनेर आमाले अनेक कबुल गर्नुभयो । तर, त्यसले ‘सत्, सत् मैले केही गरेकै छैन’ भनी । ‘डायन–जोगिन् कहाँ हुन्छ ? सब झूट कुरा हो, अन्धविश्वास’ भनेर बुबाले भन्नुभयो । तीन दिनका दिन घुर्रघुर्र गर्दै विनोदको सास बन्द भयो । बुबाले विनोदलाई थाङ्नामा बेर्नुभयो । एक हातमा कोदालो र अर्कोमा भाइ बोक्नुभयो अनि धमधमे दहको डिलमा गाडेर फर्कनुभयो । त्यसपछि गाउँमा भकाभक मानिस मर्न थाले । छेउकै आँगनकी मेरी भाया आई (आमाकी मित्तिनी) प्रशवकालमा मरिन् । तिनका काका–ससुरा लगत्तै पिसाब बन्द भएर मरे । दुवैलाई खोलाको डिलमा गाडेर गाउँले फर्के । यी सबैको दोष गाउँलेले गाउँवरिपरि अदृश्य घुमिरहने गहिली, काली, संसारी आदि ‘देऊ’ हरूलाई दिए । मलाई क्लेषको बादलले घेर्‍यो । स्कुलमा मास्टरको त्रास, गाउँमा देऊको महामारी ! एक–दुई महिनापछि टोमकुमारको बाँसखरको घरमा स्कुल सर्‍यो । मेरो तीन कक्षाको जाँच त्यहीँ भएको थियो ।

तर, रिजल्ट हुँदासम्ममा स्कुल अलि दक्षिणतर्फ शेरसिंह राजवंशीको जग्गामा सरिसकेको थियो । प्रधान, जो शेरसिंहका भिनाजु थिए, र अरू गाउँलेले कटान हुँदै गरेको जंगलबाट बेरा हाल्न बाकलको जोहो गरे । र, हामी छात्र–छात्राले फेरि गाउँ–गाउँबाट छानो हाल्न खरका बोझा बोकेर ल्यायौं । बाकल र खरको स्कुल ठडियो ।

सन्तलाल मेट्रिक फेल नभई आठ फेल मात्र रहेछन् । ती जसरी सीमा नजिकको राजवंशी गाउँबाट आएका थिए, त्यसरी नै त्यतै बिलाए । सुक्ना र थुत्लीवाल मास्टर पनि हराइसकेका थिए । तेह्रथुमबाट झरेका हरिप्रसाद हेडमास्टर भए । हल्ला सुनियो तिनले धरानबाट ‘नर्मल तालिम’ गरेका छन् । मेट्रिक फेल, आईए फेल त हामीले सुनेका थियौं, तर यो नर्मल तालिम के हो रे बाबा भनेर हामी छक्क पर्‍यौं । ‘नर्मल तालिम’ बडा एब्नर्मल लाग्यो हामीलाई किनभने तिनले छडीले विद्यार्थी पिट्ने चलन हटाए र कन्सिरीसम्म तान्न मिल्छ भने । मेरो मनमा त्रास अलि कम भयो । हाम्रो गाउँका ठन्डा, जसले अनिल नाम अंगाले ती पनि शिक्षक भए । ठन्डा मेरी सदसरी नानी (हजुरआमा) का भतिज थिए । मेरा लागि तिनी ठन्डा मामा थिए– बडा मिजासिला र मेही दासका चेला भएकाले माछा–मासु नखाने, झूट–चोरी नगर्ने, हिंसा–नशादेखि परै बस्ने !

अनि एक दिन आँखामा सेतो चस्मा, सेतै मिलेका सफा दाँत, सपक्क मिलेको सट–पेन्ट र कपाल मिलाएर कोरेका एक जना युवक बजारमा देखा परे । आश्चर्य के भने तिनी अंग्रेजी फरर बोल्न सक्थे । त्यतिन्जेल म अंग्रेजी भनेको ‘सीओडब्लू काउ, काउ माने गाई, डीओजी डग, डग माने कुकुर’ घोक्ने कुरा हो भन्ने ठान्थें । ती फिटफाट महाशयको नाम प्रेमकुमार राई हो भने । र, तिनी दार्जिलिङ भन्ने ठाउँबाट आएका हुन् भने । कस्तो होला दार्जिलिङ, जहाँ यस्ता फिटफाट अंग्रेजी बोल्ने खाइलाग्दा मानिस बस्दारहेछन् ! अनि तिनको डिग्री पनि कम छक्क पार्ने खालको थिएन । तिनी आईए फेल थिए । अनि त के थियो बुबाले तीन फेल भएको म भुसकोललाई तिनीसँग ट्युसन पढ्न पठाउनुभयो एकाबिहानै । तैपनि पढाइ–लेखाइमा मेरो मन बसेन । डर–त्रास मनमा बसिरह्यो । कालो अक्षर किन पढ्ने भन्ने मनमा लागिरह्यो । बजारपारिका केटाहरूको खिसीट्युरीले मन पिरोलिरह्यो ।

एक दिन हाम्रो छिमेकी प्रधान जहरसिंह, जो मेरा ‘मसा’ (ठूलो बुबा) हुन पुगेका थिए (तिनकी श्रीमतीलाई आमाले बाई दिदी भन्नुहुन्थ्यो), तिनको ठूलो धाप (बरन्डा) को कुनामा एउटा इँटाजत्रो मोटो किताब देखें । कौतूहल जाग्यो र पल्टाएँ । किताबको बीचबीचमा अचम्मै पार्ने फोटाहरू थिए । ती थिए धनुर्धारी, गदाधारी योद्धाका फोटा । पृथ्वी नै निल्ने राक्षसका फोटा । शिर सुँगुरको र सिंहको, तर जीउ मानिसका भएका फोटा । चमत्कारी, जटाधारी सहस्रवर्ष दीर्घायु ऋषि अनि हजारमुखे नागका फोटा । फोटा नै आङ जिरिङ्ग पार्नेछन् भने त्यसमाथि लेखिएका काला हरफ कति मन मच्चाउने होलान् भनेर कनीकुथी शब्द, वाक्य पढ्न र अर्थ्याउन थालें । त्यो किताबलाई ‘सुखसागर’ भन्छन् देहाततिर ।

त्यसअघि दसैं–तिहारमा बोर्डरपारि मसुन्डाबाट आएको महाभारत नाच हेरिसकेको थिएँ । नाचमा गीति संवाद बंगालीमा हुन्थ्यो भने गद्य संवाद हिन्दीमा । त्यसले पनि यस किताबका वाक्य बुझ्न सजिला भए । किताबमा परीक्षित भन्ने राजा थिए । श्रापले गर्दा सात दिनभित्रै सर्पदंशले मर्ने डरले तिनले साधु–सन्त र विद्वत् समाजलाई डाकी त्यसबाट बच्ने उपाय सोधे । सनकादि मुनिले सबैभन्दा जान्ने ऋषिका पनि ऋषि शुकदेव मुनिले मात्र यसको उपाय बताउन सक्छन् भन्ने जवाफ दिए । शुकदेव परीक्षित राजाका दरबारमा पुग्दा म जिल्ल परें । ती त सात वर्षका बालक पो रहेछन् । र, सधैं सातै वर्षका रहिरहने ! ती सातवर्षेले सृष्टिको आदि–अन्त्यका सबै कुरा जान्दा रहेछन् ।

मलाईचाहिँ एकातिर ऋषि मेरै उमेरका रहेछन् भन्ने कुराले कुत्कुत्यायो भने अर्कोतिर बडो ग्लानि भयो । एकातिर यी सातवर्षे छन्, जो संसारका सबै कुरा जान्दछन् र सबैका मान्य, पुज्य छन् । अर्कोतिर म सातवर्षे, जो तीन कक्षा पनि पास गर्न नसक्ने लद्दु छु, सबैले छिःछिः–दुरदुर गर्ने । फेरि ती ऋषिलाई मृत्युबाट बच्ने उपाय पनि थाहा रहेछ । मचाहिँ मृत्य–त्रासले सधैं निस्तब्ध । त्यसपछि त के थियो– दानापानी छाडेर म त्यस किताबमा लीन भएँ । उठ्दा, सुत्दा, गाई चराउँदा त्यही मोटो किताब कनीकुथी पढ्थें । आमा कराउन थाल्नुभयो, ‘स्कुलको किताप पढ्नु छैन, खाली फाल्टु किताब पढेर समय बर्बाद गर्छस् ! माय करे कुटान–पिसान बेटाके नाम दुर्गादत्त ।’

धान कुट्दै, मुढी भुट्दै, भक्का बनाउँदै, दूध उमाल्दै, घरधन्धा गर्दै आमाको चेतावनी आउँथ्यो, ‘फेरि फेल हुन्छस् । होस गर् । माय करे कुटान–पिसान बेटाके नाम दुर्गादत्त ।’ तीतो वचन र तिखा आँखा खप्न नसकेर म लुकीलुकी पढ्न थालें, गुहालीमाथिको टाँडमा । बोरामा लुकाएर गाउँदेखि उत्तरको जंगलमा गाईवस्तुलाई चर्न छाडेर पढें । त्यसपछि दैव–दानवका अद्भुत खेला र कालो अक्षरभित्र रोमाञ्चित पार्ने जादू–चमत्कार लुकेको हुन्छ भन्ने अनुभूति भयो ।

असुरमाथि सुरको, बिगार्नेमाथि सपार्नेको विजय हुन्छ अन्त्यमा भन्ने आशा पलायो । शुकदेव मुनिजस्तै भइयो भने मृत्युलाई पनि छल्न सकिन्छ भन्ने विश्वास जाग्यो । सातवर्षे शुकदेव सबैका आदरणीय पात्र हुन सक्छन् भने म सबैद्वारा अपहेलित, तिरस्कृत किन ? मगजका एक–एक तन्तु जागृत भए । प्रेमकुमार सरले पढाएका अक्षर बलेर आए ।

ह्यान्डराइटिङ काग–नङ्ग्रे भए पनि लेख्ने रफ्तारले गति लियो । एकाबिहानै उठाएर पढ्न बसाल्दा दिमागमा एक अक्षर नघुसे पनि दिउँसो पढेका पाठ सोझै अन्तस्करणमा पस्न थाले ।

छ महिनाको अर्धवार्षिकी (हाफ इयर्ली) परीक्षामा चार कक्षामा दुलाल सरले ‘प्रोमोट’ गराए । केटाहरूले अब हन्डीफोरा, परमुत, चकचके बाँदर, खरायो भन्न छाडे । ‘प्रोमोटेड’ नाम राखे, जो परमुतजस्तै मेरो नामसँग गाँसिएको थियो । तर, केटाहरूले मलाई के भनेर डाक्छन्, दुनियाँले के भन्छ भन्ने अब वास्ता लाग्न छाड्यो । मेरो ध्याउन्न त शुकदेव थिए र मानिस भएको आभास हुँदै थियो ।

छ महिनाभित्रै धानका पहेंला बाला लहलहाउँदै गर्दा वार्षिक परीक्षा आयो । जाँचमा औंलाभरि मसी धसिने गरी लेखें, रिजल्ट निस्क्यो । म त स्कुलभरिमै प्रथम (स्कुल फस्ट) पो भएको रहेछु । बुबा फेरि पनि ‘देश’ तिरै यात्रामा हुनुहुन्थ्यो । तर, घाँटीभरि फूलको माला र बाल्टीभरि कलम–कापी पुरस्कार लिएर म घर पुगेको देखेर आमा रुन थाल्नुभयो । हर्ष वा विषाद, जुन कुरामा पनि आँसु चुहाउने आमाको बानी मलाई मन परेन ।

प्रकाशित : जेष्ठ १, २०७८ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?