म्वाईंको रहस्य
प्रिय,
म बडो कृतज्ञ हुँदै त्यो समय सम्झिरहेछु–
त्यो समय हर्षको थियो वा थियो त्यो उदास,
म केही सोचिरहेकै छैन ।
तिमीले तिम्रो सर्वस्व दिएका थियौ मलाई,
मलाई थाहा नभएको कहाँ हो र ?
मलाई एकएक याद छ,
र, मैले पनि दिएकी थिएँ मेरो सर्वस्व तिमीलाई ।
त्यो पनि तिमी नै थियौ,
जसले भावहीन मुद्रामा मसँग बिदा माग्यो,
मलाई पुलुक्क हेरेर जो अन्तै हेर्न थाल्यो,
यतिखेर फेरि आयो धमिलो सम्झनामा त्यो पल–
हामी छुट्टिएको त्यो पल ।
मन लाग्छ, कोसिस गर्छु–
तिमीसँग आगो भई रिसाउन,
यो संसारै सल्काइदिन
तर, सक्दिनँ ।
यतिखेर तिमीसम्म पुग्ने बाटाहरु बन्द भएका छन्,
र, म यहाँ सुदूरबाट तिम्रा हत्केलाहरुसम्म पुगून् भनेर
पठाउँदै छु केही म्वाईंहरु,
जसले मलाई सकस हुँदा
अति प्रेमपूर्वक सहारा दिएका थिए,
त्यतिखेर, जतिखेर मलाई थाहा थिएन,
चुम्बनको रहस्य, म्वाईंको शक्ति ।
ओहो, ती अनुपम म्वाईंहरु नै त रहेछन्
जसले मलाई विछोडमा सम्हालिन
र, आफ्नो ख्याल राख्न सिकाइरहेका थिए ।
प्रकाशित : जेष्ठ १, २०७८ १०:१९