आमाबाट सरेका बान्कीहरु - कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आमाबाट सरेका बान्कीहरु 

म धन्य छु, आमाको विरासतस्वरूप आफूभित्र सलबलाइरहेका ती तमाम बान्कीहरूप्रति । 
उषा थपलिया

खेतीपाती, वस्तुभाउ, आधा दर्जन सन्तानको लोलोपोतो र अनगिन्ती घरधन्दाले साँझ ओर्लिएसँगै थकाइले आमाको मुहार क्लान्त भइसक्थ्यो । बेलुकाको खानापछि बुबा गाउँ टहलिन निस्कनुहुन्थ्यो । सन्तानहरू छिँडीकै सुकुल/गुन्द्रीमा यत्रतत्र पल्टिन्थे/निदाउँथे । भाँडा माझ्न बस्नुभएकी आमा अत्यधिक थकाइले हजार बार झप्को लगाउनुहुन्थ्यो । उँग्दै भाँडा माझ्दा पोखिएको पानीले भुइँ आहाल बन्थ्यो ।

अस्तव्यस्त निदाएका छोराछोरीलाई एकएक गरी चोटाको ओछ्यान पुर्‍याउनैपर्थ्यो । रात जत्ति छिप्पिए पनि मझेरी बढारेर सफाचट नबनाई र माझेर चम्किएका ढलौटका अम्खोराहरू पानीले भरिभराउ नपारी आमाको ज्यान ओछ्यान पुग्दैनथ्यो । राति बास बस्न आउने पितृ र भगवान् सुग्घर घरमा मात्रै पस्छन् र तिनका लागि सफा अम्खोरामा पानी भरेर राख्नुपर्छ भन्नुहुन्थ्यो आमा ।

‘अघिल्लो रातको जुठा–भाँडा माझेर बिहानी सुरु गर्दा दिन राम्रो हुँदैन’, आमा भन्नुहुन्थ्यो । संस्कारकै रूपमा ती बानी आफूमा उत्रिएको बताउँदा गर्व लाग्छ । व्यावहारिक जिम्मेवारी आफ्नै टाउकोमा परेपछि ती बानी ममा झन् अवलम्बन हुँदै आए । बिहेपछि त्यो झनै झांगियो ।

आमाले ‘स्त्रीधर्म’ को रूपमा आत्मसात् गर्नुभएका उबेलाका सबै कर्म खुसीसाथ मेरा हरेक व्यवहारमा न्यौछावर भइरहे । धर्मका लागि पूजा–आराधनामा घण्टौं लीन हुने आमाको बानी भने ममा सर्न सकेन । आमाका ‘कमजोरी’ भित्र औंलिने कतिपय स्वभाव भने ममा नसरेको आभास हुन्छ । आफूसँग जोरी खोज्ने हरकोहीलाई हायलकायल बनाएरै छाड्ने ओज आमासँग छ, जुन उमेरले ८ दशक कटिसक्दा पनि घटेको छैन ।

यदि आमाभित्र त्यो स्वभाव हुॅदैनथ्यो भने अवर्णनीय आरोह–अवरोह खेपेर पारिवारिक रथलाई अहिलेको शान्त, सुरम्य र समतल भूमिमा अड्याउन उहाँ सक्नुहुन्थेन । यसर्थ आमाको त्यो स्वभाव कमजोरी नभएर निर्भीक विशेषता हो भन्ने लाग्छ । तर, यता भने कुटिल चाल भएकाहरूको पीडादायी व्यवहारसमेत सक्दासम्म झेलिरहने मेरो स्वभाव छ ।

आमा कामबिना एकछिन बस्न नसक्ने, आठ दशकपछिको बुढ्यौलीमा पनि बानी उही छ । मेरो बानी पनि दुरुस्तै उहाँकै जस्तो छ । गाउँमा हुँदा गाई–गोठ, घाँस–भकारो, पानी–पँधेरो, खेतीबाली, उकाली–ओरालीदेखि अहिलेको राजधानी बसाइमा समेत अरूले नदेखेको काम यिनै आँखाले देखिहाल्छ ।

उच्च अध्ययनका लागि अरू छोराछोरीले घर छोड्दा बुबाआमालाई कुनै असर पर्दैनथ्यो, तर मैले घर छोडेको धेरै दिनसम्म उहाँहरूलाई बज्रपात परिदिन्थ्यो, यता मेरो हालत पनि उस्तै हुन्थ्यो । मैले एसएलसी पास गर्दा हर्षभन्दा बेचैनीले गलेको बुबाको अनुहार र केही दिनसम्म निःशब्द उहाँको व्यवहार मैले आजसम्मै भुलेकी छैन । सबैखाले काममा ज्यादा भरपर्दी छोरी आफूबाट टाढिने भई, यही चिन्ताले उहाँलाई त्यहाँसम्म पुर्‍याएको थियो ।

जुवा–तास खेलेको दृश्यले आमालाई भाउन्न छुटाउँथ्यो । बुबामा त्यो आदत बिलकुल थिएन, तर कहिलेकाहीँ उहाँका साथीहरू तास खेल्न हाम्रो घरको फलैंचा उपयोग गर्थे । नखेले पनि बुबा साथीहरूको खेला हेर्नुहुन्थ्यो । खेल हारेर घरजग्गा नै बन्धकीमा पारेजस्तो आमाको ‘बडी ल्याङ्ग्वेज’ बुबाले केही दिन नखेपी सुख हुन्थेन ।

अहिले राम्रो स्याहार र सुख–सयलका साथ ‘सहरिया’ बनाएर राख्ने मायालु छोराहरू तथा आआफ्ना व्यवहार सम्हालेर वसेका छोरीहरूप्रति एकदम गर्व छ आमालाई । तर, वर्षको एक दिन तिहारमा तिनै छोराछोरीले रमाइलोका लागि तास समाए भने फेरी आमाको भाउन्न छुट्छ । सानै उमेरमा टुहुरो भाइले गाउँलेका तिकडममा परी एक पटक जुवाकै कारण ठूलो हैरानी बेहोरेको कारण जुवातासले आमाको आक्रोश माथिल्लै तहमा पुर्‍याउँछ । त्यो समस्या आफूमा आइलागेन, तर जब आफ्नी छोरी ‘तारक मेहता का उल्टा चस्मा’ लगायत हिन्दी सिरियलमा एकचित्त हुन्छे, आमाको जुवातासकै भूत आफूमा सवार भैसकेको पत्तै हुँदैन ।

दृश्य सामग्रीमार्फत आफ्नो भाषा, संस्कृति र रहनसहनको पकड विश्वव्यापी बनाउन विशेषतः महिला–दर्शक लक्षित यस्ता टेलिसिरियल निर्माणमा दुई दशकभन्दा अघिदेखि भारतले ठूलै लगानी गरिरहेको छ । नेपाली महिलाको ठूलो हिस्सा ती सिरियलमा लठ्ठ छन् । यसले महिलाको क्रियाशील दिनचर्यामा मात्र होइन बोलीचाली, लवाइखुवाइ, आचरण व्यवहार, देखासिकीलगायत सबैतर्फ दुष्प्रभाव बढाइरहेको छ । हास्य नै सही, हिन्दी सिरियलमाथि छोरीको लगाव आमाको जुवातासभन्दा कम पीडादायी हुँदैन मेरा लागि ।

विद्यालयमा परीक्षा सुरु हुने पहिलो दिन सबै छोराछोरीलाई रातो टीका लगाइदिन आमा भुल्नुहुन्नथ्यो । मूलढोकाको दुवैतर्फ थापिएका तामाका कलशमा एक–एक सिक्का हाल्दै जलशेचन गरेर स्कुल जान्थ्यौं हामी । यसरी पठाएपछि कसैको परीक्षा नबिग्रने आमाको विश्वास, अनि त्यसैले ह्वात्तै बढाइदिने हाम्रो आत्मविश्वास ! दुवैबीच खुब तालमेल रहन्थ्यो । कमजोर रिजल्ट कसैले थाप्नु नपरेको सायद त्यही मनोविज्ञानको फल थियो कि ? बिदामा घर आएका छोराछोरी बिदा सकेर काठमाडौं सोझिँदा पनि आमा सोही विधान पूरा गर्नुहुन्थ्यो । बिनाअड्चन सन्तान गन्तव्य पुगून् भनेर आमाले साइतको तारतम्य गर्नासाथ आफ्नो भने छातीमा हिक्का छुटिसक्थ्यो ।

जलकलशमा खसाल्न आमाको हातबाट सिक्का लिनुअगावै घोप्टिएको अनुहार घर छेलिने घुम्ती पुगेपछि मात्र हो सीधा हुने । फर्केर घरतर्फ हेर्ने हिम्मत मरिगए नआउने, तर आफूबाट टाढा हुँदै गएका सन्तानको प्रत्येक पाइला नियाल्दै बलेसीमा उभिएका आमाबुबाको भावशून्य चेहरा नहेरेरै हृदयमा उत्रिहाल्थ्यो । प्रत्येक पाइला बोझिलो अनि विछोडको वेदनामा बरबरी उर्लेका आँसुले बाटो पहिल्याउन दिने सास्ती उस्तै । आमाबुबासँग विछोडिँदाको प्रत्येक पल यस्तै वेदनापूर्ण हुन्थे ।

छोरीलाई पहिलो पटक स्कुल पठाउँदा मैले पनि आमाकै सिको गरेर पठाएँ । तर, नर्सरी–केजीका खेलजन्य परीक्षाका लागि कलश, सिक्का, टीकाटालोसहित साइतको मेलोमेसो गर्ने जाँगर चलेन । कक्षा चढ्दै गएपछि सुरु परीक्षाका दिन त्यसरी नै पठाउने गरियो, तर जागिर र घरव्यवहारका सारा अभिभाराको एकलौटी थिचाइले दिनको १८ घण्टा घोटिनुपर्ने त्योबेला साइतका कुरा परीक्षाको अन्त्यतिर मात्रै सम्झने अवस्था बन्यो ।

आमाभन्दा आफ्नो चटारो चुलीमा पुर्‍याउने धृष्टता मेरो कदापि होइन, बरु उहाँको जति तेजिलो स्मरणशक्ति आफूमा नरहेको स्वीकारोक्तिचाहिँ पक्कै हो । ठूलो कक्षा उक्लिएपछि कतिपय बेला छोरी आफैं सम्झाउँछे टीका र साइतका लागि । उसलाई पनि खुब मन पर्छ हजुरआमाका ती बान्की । टीका र साइतले परीक्षा राम्रो हुन्छ भन्ने आमाको जस्तो विश्वास मसँग रत्तिभर छैन, तर छोरीको निधारमा रातो टीका लगाइदिँदा मात्र पनि आमालाई सम्झँदै मन आनन्दित बनिरहेको हुन्छ ।

आमाको झैं आफ्नो व्यवहारमा पनि भाँडाबर्तन टल्किएकै हुन्छन् । जुठाजन्य काम असरल्ल छोडेर न राति निद्रा लाग्छ, न दिउँसो बाहिरिने आँट आउँछ । घरको त के कुरा सडकमा फ्याँकिएका उल्टा चप्पलसमेत नसुल्ट्याई पाइला अघि सर्दैनन् । ढलेका भाँडा–बर्तन त अपशकुनकै चरम रूप लाग्छ । अन्न खेर फाल्न नहुने उहाँको शिक्षा मूलमन्त्रझैं अकाट्य छ । कर्मघर गएपछि हातभरिका चुरा बजाउँदै भान्साको काम गर्दा झन्झट लाग्नुको सट्टा आफैंमा आमाको प्रतिरूप उत्रिएको महसुस हुने गर्थ्यो ।

नसोचिएका परिस्थिति जीवनमा आइरहन्छन्, नखाएकै विषले पनि मर्माहत बनाइदिन्छ । तर, आफ्नो कर्तव्यबाट च्युत भइएको छैन भने हरेक कष्टपछि प्राप्त हुने आँट र दृढता नै हो । हरेक प्रतिकूलतालाई परीक्षा ठानेर सामना गर्न तत्पर भएपछि सफलता टाढाको मृगतृष्णा बनेर पक्कै रहन्न । आमाकै बान्कीहरू विरासत बनेर आफूमा अन्तरघुलन भएकाले हरेक अप्ठेरोमा निर्भीकतापूर्वक जुध्ने साहस मिलिरहेको छ । धन्य छु, आमाको विरासतस्वरूप आफूभित्र सलबलाइरहेका ती तमाम बान्कीहरूप्रति ।

प्रकाशित : जेष्ठ १, २०७८ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल-चीन सम्बन्धको एक आँखीझ्याल

पुस्तकले नेपाल चीनसँग नजिकिँदै गर्दा हिमाली समुदायमा यो बदलिँदो भूराजनीतिले ल्याएको परिवर्तन उजागर गरेको छ ।
दीपक अधिकारी

ठ्याक्कै मिति याद भएन, तर २०५१ सालतिर हुनुपर्छ । केही साथीहरूसित म पहिलोचोटि तिब्बतको सीमावर्ती बजार खासा गएको थिएँ । काठमाडौंबाट हामी चढेको बस अरनिको राजमार्गमा हुइँकिँदै करिब १० बजेतिर तातोपानी बजार पुगेको थियो ।

त्यहाँ खाना खाएर हामीले मितेरी पुल तर्‍यौं र चिनियाँ भूमि टेक्यौं । पहिलो पटक चिनिया–भूमि टेक्न लागेको म यति रोमाञ्चित थिएँ कि खासा बजार पुग्नएक घण्टा उकालो चढेको पत्तै भएन ।

अहिले त्यो सम्झना धूमिल भइसकेको छ । काठमाडौंबाट खासा जाने अन्य नेपालीले झैं केही विद्युतीय सामान, थर्मस र ब्ल्याङ्केट किनेको सम्झिन्छु । सामान देखाएर दाम सोध्दा चिनियाँले क्याल्कुलेटर थिचेका थिए । नेपालतिरको भिरालो बस्तीभन्दा फरक र भव्य लागेको थियो, खासा बजार ।

नेपाली लेखक अमिशराज मुल्मीको पुस्तक ‘अल रोड्स लिड नर्थ’ पढ्दै गर्दा एकदिने चीन यात्राका ती दृश्य मेरो स्मृतिपटलमा छाए । सीमावर्ती क्षेत्रका बासिन्दा, चीनसँग तिनका सम्बन्ध, ती समुदाय, क्षेत्र र सिङ्गो नेपालमा चीनको बढ्दो प्रभाव झल्काउने एक महत्त्वपूर्ण किताब हो यो । किताबले एकातिर चीनसँग नेपाल नजिकिँदै गर्दा हिमाली समुदायमा बदलिँदो भूराजनीतिले ल्याएको परिवर्तन उजागर गरेको छ भने अर्कोतिर नेपाल–चीन सम्बन्धबारे यो एउटा आँखीझ्याल पनि बन्न पुगेको छ ।

मूलधारको नेपाली सञ्चारमाध्यम र नेपालीले लेखेका किताबमा सीमान्तकृत हिमाली समुदायबारे विरलै लेखिएको वास्तविकता हाम्रासामु छ । यस हिसाबमा मुल्मीको पहिलो गैरआख्यान पुस्तक यस क्षेत्रका लागि एउटा महत्त्वपूर्ण योगदान मान्न सकिन्छ । यसको अर्को उल्लेख्य पक्ष भनेको चीन–नेपालबीच जनस्तरमा रहेको सम्बन्धको ऐतिहासिक र समकालीन वर्णन हो ।

मुल्मी त्यति बेला अब्बल लाग्छन्, जति बेला उनी हुम्लाको लिमीदेखि मुस्ताङ, उनको जन्मथलो पोखरा नजिकैको तिब्बती शरणार्थी बस्तीदेखि दरबारमार्गको कुनोमा रहेको चिनियाँ पुस्तकपसल चहारेर तिनको जीवन्त चित्रण गर्छन् । ती रिपोर्ताजलाई उनी त्यसको ऐतिहासिक पाटोसित बुन्छन् । यसरी उनले ती पात्र र ठाउँको जीवन, भूगोल, भूराजनीतिक परिस्थिति उजिल्याएका छन् ।

तीन भागमा विभाजित पुस्तकको पहिलो भागमा माथि चर्चा गरिएका नेपालको उत्तरी सीमामा बस्ने सीमान्तकृत समुदायको चित्रण गरिएको छ । दोस्रो भागमा तिब्बतलाई चीनले कब्जा गरेपछि नेपालले चीनसँग कसरी सम्बन्ध स्थापित गर्‍यो र त्यसमा भारतको के भूमिका थियो भन्ने चर्चा छ । सोही भागको एक अध्यायमा कसरी अमेरिकी खुफिया एजेन्सी सीआईएको सहयोगमा नेपाली भूमि प्रयोग गरेर खम्पा विद्रोह मच्चाइयो भन्ने विवरण समावेश छ । त्यही अध्यायमा सन् ’६० को दशकमा राजा महेन्द्र र तत्कालीन बीपी कोइरालाको चीनसँगको सम्बन्धको पृथक् शैलीबारे चर्चासमेत छ ।

चीनसँग नेपालको सम्बन्ध केलाउने क्रममा नेपालको ‘भ्वाइस’ सधैं दबिने गर्छ । दुई छिमेकीसँगको सम्बन्धका विषयमा नेपालले चालेका कदमलाई धेरैजसो भारत र चीनको लेन्सबाट हेरिन्छ । यसो गर्दा उनीहरूको सुरक्षा चिन्ता (भारतको हकमा खुला सिमाना र चीनको हकमा तिब्बती शरणार्थी) बारे बढी बहस हुन्छ । पछिल्लो समय विदेशी सञ्चारमाध्यममा पनि यही दृष्टिकोणबाट प्रेरित आलेख बढी आउने गरेका छन् । तर, नेपालका लागि पेचिलो सवाल दुई देशलाई एकअर्काविरुद्ध कार्डको रूपमा प्रयोग नगरी दुई छिमेकीको हित रक्षा गर्दै (अर्थात् उनीहरूलाई खुसी राख्दै) कसरी उनीहरूको प्रगति र वैभवबाट मुलुकले फाइदा लिन सक्छ भन्ने हो ।

‘अल रोड्स लिड नर्थ’ मा समसामयिक अवस्थाको स्थलगत विवरणसँगसँगै ऐतिहासिक दस्तावेज उद्धृत मात्रै गरिएको छैन, त्यसको विश्लेषणसहित नेपालजस्तो देशले के गर्नुपर्छ भनेर सुझाइएको पनि छ । त्यस क्रममा लेखकले विकिलिक्सदेखि पुस्तक, पत्रपत्रिका, प्राज्ञिक लेख, सम्बन्धित विज्ञ र पात्रहरूसँगको अन्तर्वार्ताको उपयोग गरेका छन् । उनी चिनियाँ लगानीको नेपालकै सबैभन्दा ठूलो होङ्सी सिमेन्टको कार्यालयमा त्यसका प्रमुख लेखाअधिकृत विकास अग्रवालसँग कुराकानी गर्छन् । चिनियाँ व्यवसायीलाई भेटेर उनीहरूले नेपालमा भोगेका चुनौतीमाथि चर्चा गर्छन् । नेपालका राजनीतिकर्मीको आन्तरिक खिचातानीले कसरी भूराजनीतिलाई प्रभावित पारेको छ भन्नेसमेत पुस्तकमा समेटिएको छ ।

लेखकले स्रोतहरूलाई उद्धृत गर्ने मामलामा धेरै मिहिनेत गरेको देखिए पनि चीनबारे नेपाली दृष्टिकोण समेट्ने क्रममा केही सीमित विज्ञ र पात्रमा भर परेका छन् । कतिपय विषयमा उनले आफैं रिपोर्टिङ गर्नुको साटो स्थानीय पत्रपत्रिका उद्धृत गरेका छन् । त्यस्तो अवस्थामा ‘फर्स्ट ह्यान्ड रिपोर्टिर्ङ’ को छुट्टै महत्त्व हुन्थ्यो । सम्भवतः पुस्तक बढी प्राज्ञिक भएर लेखकले अतिरिक्त स्रोतमा बढी भर परेको हुन सक्छ ।

शक्तिकेन्द्रहरूमा हुने द्विपक्षीय सम्बन्धबारेका छलफल र नीतिगत निर्णयलाई कसरी तिनबाट प्रभावित आममानिसको जीवनसँग जोड्ने भन्ने विषय भूराजनीतिक विषयमा कलम चलाउने लेखक तथा पत्रकारका लागि चुनौतीपूर्ण रहिआएको छ । यसलाई कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने सवालमा मुल्मीको पुस्तक एउटा ‘टेम्प्लेट’ हुन सक्छ ।

भारत र चीनको बीचमा च्यापिएको नेपालको भूमिका के हुनुपर्छ, यसका के कस्ता सीमा–बाध्यता छन् भन्नेबारे अंग्रेजी, नेपाली दुवै भाषामा कमै पुस्तक लेखिएका छन् । यस हिसाबमा अमेरिकी राजनीतिशास्त्री लियो ई. रोसको यस विषयको उम्दा पुस्तक ‘नेपाल : स्ट्राटेजी फर सर्भाइभल’ को उत्तराधिकारीका रूपमा मुल्मीलिखित ‘अल रोड्स लिड नर्थ’ लाई लिन सकिन्छ ।

प्रकाशित : जेष्ठ १, २०७८ १०:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×