नेपाल-चीन सम्बन्धको एक आँखीझ्याल

पुस्तकले नेपाल चीनसँग नजिकिँदै गर्दा हिमाली समुदायमा यो बदलिँदो भूराजनीतिले ल्याएको परिवर्तन उजागर गरेको छ ।
दीपक अधिकारी

ठ्याक्कै मिति याद भएन, तर २०५१ सालतिर हुनुपर्छ । केही साथीहरूसित म पहिलोचोटि तिब्बतको सीमावर्ती बजार खासा गएको थिएँ । काठमाडौंबाट हामी चढेको बस अरनिको राजमार्गमा हुइँकिँदै करिब १० बजेतिर तातोपानी बजार पुगेको थियो ।

नेपाल-चीन सम्बन्धको एक आँखीझ्याल

त्यहाँ खाना खाएर हामीले मितेरी पुल तर्‍यौं र चिनियाँ भूमि टेक्यौं । पहिलो पटक चिनिया–भूमि टेक्न लागेको म यति रोमाञ्चित थिएँ कि खासा बजार पुग्नएक घण्टा उकालो चढेको पत्तै भएन ।

अहिले त्यो सम्झना धूमिल भइसकेको छ । काठमाडौंबाट खासा जाने अन्य नेपालीले झैं केही विद्युतीय सामान, थर्मस र ब्ल्याङ्केट किनेको सम्झिन्छु । सामान देखाएर दाम सोध्दा चिनियाँले क्याल्कुलेटर थिचेका थिए । नेपालतिरको भिरालो बस्तीभन्दा फरक र भव्य लागेको थियो, खासा बजार ।

नेपाली लेखक अमिशराज मुल्मीको पुस्तक ‘अल रोड्स लिड नर्थ’ पढ्दै गर्दा एकदिने चीन यात्राका ती दृश्य मेरो स्मृतिपटलमा छाए । सीमावर्ती क्षेत्रका बासिन्दा, चीनसँग तिनका सम्बन्ध, ती समुदाय, क्षेत्र र सिङ्गो नेपालमा चीनको बढ्दो प्रभाव झल्काउने एक महत्त्वपूर्ण किताब हो यो । किताबले एकातिर चीनसँग नेपाल नजिकिँदै गर्दा हिमाली समुदायमा बदलिँदो भूराजनीतिले ल्याएको परिवर्तन उजागर गरेको छ भने अर्कोतिर नेपाल–चीन सम्बन्धबारे यो एउटा आँखीझ्याल पनि बन्न पुगेको छ ।

मूलधारको नेपाली सञ्चारमाध्यम र नेपालीले लेखेका किताबमा सीमान्तकृत हिमाली समुदायबारे विरलै लेखिएको वास्तविकता हाम्रासामु छ । यस हिसाबमा मुल्मीको पहिलो गैरआख्यान पुस्तक यस क्षेत्रका लागि एउटा महत्त्वपूर्ण योगदान मान्न सकिन्छ । यसको अर्को उल्लेख्य पक्ष भनेको चीन–नेपालबीच जनस्तरमा रहेको सम्बन्धको ऐतिहासिक र समकालीन वर्णन हो ।

मुल्मी त्यति बेला अब्बल लाग्छन्, जति बेला उनी हुम्लाको लिमीदेखि मुस्ताङ, उनको जन्मथलो पोखरा नजिकैको तिब्बती शरणार्थी बस्तीदेखि दरबारमार्गको कुनोमा रहेको चिनियाँ पुस्तकपसल चहारेर तिनको जीवन्त चित्रण गर्छन् । ती रिपोर्ताजलाई उनी त्यसको ऐतिहासिक पाटोसित बुन्छन् । यसरी उनले ती पात्र र ठाउँको जीवन, भूगोल, भूराजनीतिक परिस्थिति उजिल्याएका छन् ।

तीन भागमा विभाजित पुस्तकको पहिलो भागमा माथि चर्चा गरिएका नेपालको उत्तरी सीमामा बस्ने सीमान्तकृत समुदायको चित्रण गरिएको छ । दोस्रो भागमा तिब्बतलाई चीनले कब्जा गरेपछि नेपालले चीनसँग कसरी सम्बन्ध स्थापित गर्‍यो र त्यसमा भारतको के भूमिका थियो भन्ने चर्चा छ । सोही भागको एक अध्यायमा कसरी अमेरिकी खुफिया एजेन्सी सीआईएको सहयोगमा नेपाली भूमि प्रयोग गरेर खम्पा विद्रोह मच्चाइयो भन्ने विवरण समावेश छ । त्यही अध्यायमा सन् ’६० को दशकमा राजा महेन्द्र र तत्कालीन बीपी कोइरालाको चीनसँगको सम्बन्धको पृथक् शैलीबारे चर्चासमेत छ ।

चीनसँग नेपालको सम्बन्ध केलाउने क्रममा नेपालको ‘भ्वाइस’ सधैं दबिने गर्छ । दुई छिमेकीसँगको सम्बन्धका विषयमा नेपालले चालेका कदमलाई धेरैजसो भारत र चीनको लेन्सबाट हेरिन्छ । यसो गर्दा उनीहरूको सुरक्षा चिन्ता (भारतको हकमा खुला सिमाना र चीनको हकमा तिब्बती शरणार्थी) बारे बढी बहस हुन्छ । पछिल्लो समय विदेशी सञ्चारमाध्यममा पनि यही दृष्टिकोणबाट प्रेरित आलेख बढी आउने गरेका छन् । तर, नेपालका लागि पेचिलो सवाल दुई देशलाई एकअर्काविरुद्ध कार्डको रूपमा प्रयोग नगरी दुई छिमेकीको हित रक्षा गर्दै (अर्थात् उनीहरूलाई खुसी राख्दै) कसरी उनीहरूको प्रगति र वैभवबाट मुलुकले फाइदा लिन सक्छ भन्ने हो ।

‘अल रोड्स लिड नर्थ’ मा समसामयिक अवस्थाको स्थलगत विवरणसँगसँगै ऐतिहासिक दस्तावेज उद्धृत मात्रै गरिएको छैन, त्यसको विश्लेषणसहित नेपालजस्तो देशले के गर्नुपर्छ भनेर सुझाइएको पनि छ । त्यस क्रममा लेखकले विकिलिक्सदेखि पुस्तक, पत्रपत्रिका, प्राज्ञिक लेख, सम्बन्धित विज्ञ र पात्रहरूसँगको अन्तर्वार्ताको उपयोग गरेका छन् । उनी चिनियाँ लगानीको नेपालकै सबैभन्दा ठूलो होङ्सी सिमेन्टको कार्यालयमा त्यसका प्रमुख लेखाअधिकृत विकास अग्रवालसँग कुराकानी गर्छन् । चिनियाँ व्यवसायीलाई भेटेर उनीहरूले नेपालमा भोगेका चुनौतीमाथि चर्चा गर्छन् । नेपालका राजनीतिकर्मीको आन्तरिक खिचातानीले कसरी भूराजनीतिलाई प्रभावित पारेको छ भन्नेसमेत पुस्तकमा समेटिएको छ ।

लेखकले स्रोतहरूलाई उद्धृत गर्ने मामलामा धेरै मिहिनेत गरेको देखिए पनि चीनबारे नेपाली दृष्टिकोण समेट्ने क्रममा केही सीमित विज्ञ र पात्रमा भर परेका छन् । कतिपय विषयमा उनले आफैं रिपोर्टिङ गर्नुको साटो स्थानीय पत्रपत्रिका उद्धृत गरेका छन् । त्यस्तो अवस्थामा ‘फर्स्ट ह्यान्ड रिपोर्टिर्ङ’ को छुट्टै महत्त्व हुन्थ्यो । सम्भवतः पुस्तक बढी प्राज्ञिक भएर लेखकले अतिरिक्त स्रोतमा बढी भर परेको हुन सक्छ ।

शक्तिकेन्द्रहरूमा हुने द्विपक्षीय सम्बन्धबारेका छलफल र नीतिगत निर्णयलाई कसरी तिनबाट प्रभावित आममानिसको जीवनसँग जोड्ने भन्ने विषय भूराजनीतिक विषयमा कलम चलाउने लेखक तथा पत्रकारका लागि चुनौतीपूर्ण रहिआएको छ । यसलाई कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने सवालमा मुल्मीको पुस्तक एउटा ‘टेम्प्लेट’ हुन सक्छ ।

भारत र चीनको बीचमा च्यापिएको नेपालको भूमिका के हुनुपर्छ, यसका के कस्ता सीमा–बाध्यता छन् भन्नेबारे अंग्रेजी, नेपाली दुवै भाषामा कमै पुस्तक लेखिएका छन् । यस हिसाबमा अमेरिकी राजनीतिशास्त्री लियो ई. रोसको यस विषयको उम्दा पुस्तक ‘नेपाल : स्ट्राटेजी फर सर्भाइभल’ को उत्तराधिकारीका रूपमा मुल्मीलिखित ‘अल रोड्स लिड नर्थ’ लाई लिन सकिन्छ ।

प्रकाशित : जेष्ठ १, २०७८ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?