नदीझैं निर्मल यौटा रेशमी आवाज- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नदीझैं निर्मल यौटा रेशमी आवाज

म रहुन्जेल प्रेमध्वजप्रतिको मेरो प्रेम झन् मदिर हुनेछ । मलाई विश्वास छ निष्ठुर हुँदै गएको संसारमा कहीँ न कहीँ प्रेमध्वजहरू बाँची नै रहेका छन्–रहनेछन् ।
विप्लव प्रतीक

हरेक कुराको अन्त्य निश्चित छ, जे रचित छ ।
प्रेमध्वज दाइलाई सम्झिँदा सम्झनाको कुनचाहिँ गाँठो फुकाएर सुरु गरूँ ? तर, योजनाअन्तर्गत सम्झना कहाँ आउँछ ? र, योजना बनाएर सम्झिनु पनि के सम्झिनु ?

खबर सुन्नेबित्तिकै दिमागभित्र चिसो सिरेटो पसेको महसुस भयो । जेजेमा अल्झिएको थिएँ, तिनको लठारो त्यहीँ छिनाइदिएँ । जुरुक्क उठेँ, कौसीमा गएँ । चारैतिर हेरेँ, प्रेमध्वज दाइले कुनै बखत देखेको मैतीदेवीको फाँटमा काउली र पालुङ्गोको सट्टा साना–ठूला घरहरू थिए । बाली धेरै उमार्न युरिया हाल्छन् रे भन्ने सुनेको हुँ, तर यी फाँटमा कुन युरियाले हलक्क बढे घरहरू– कुन्नि ? खल्लो मन झन् खल्लो भइरहेको थियो । नजाने कताबाट एउटा काग कौसीको डिलमा आएर उभियो र काग्का भनेर एकपल्ट करायो । समाचार अघि नै आइसकेको थियो । बेचैन थियो मन, म त्यस कागतिर हेर्दै नहेरी तल्लो तलातिर ओर्लिएँ ।

बिस्तारै मेरो सम्झनाको अन्तरङ्ग कन्तुर खुल्दै गयो । दाइसँग गाँसिएका प्रत्येक क्षणहरू फटाफट ‘इमेज’ बन्न थाले र म आँखा चिम्लिएर त्यही दुनियाँमा सफर गर्न थालेँ । उहाँका पुराना गीतहरू दिमागमा गुन्जिन थाले । शब्दको अर्थ नबुझी बडो गम्भीर भएर गुनगुनाउँदै हिँडेको याद आयो । प्रेमध्वज दाइलाई हिन्दुस्तानका रफीसँग दाँज्थे त्यसबेलाका मान्छेहरू । नेपालमा कदर नभएर इन्डिया गए रे भन्ने हल्ला फैलिएको याद आयो । अनि याद आयो उनको एलपी आएको, जुन हल्ला थिएन । त्यसमा गाएका गीतहरू सुनेर राजा महेन्द्रले उनलाई नेपालै बोलाए रे भन्ने पनि सुनियो । हिन्दुस्तानी अभिनेत्रीसँग सम्बन्धको हल्ला पनि सुनियो । फलानो गीत फलाना सुन्दरीका लागि समर्पित भन्ने हल्ला पनि चल्यो । जे होस् दाइका बारे अनेक उडन्ते खबर र किस्साहरू सुनिन्थे । र, काठमाडौंलीहरू स्वाद लिईलिई त्यसलाई सुन्थे ।

म आठ वर्षको हुँदै बाले कविता लेख्न हौस्याउनुभएको हो मलाई । सोह्र वर्षको उमेर पुगेपछि गीत पनि लेख्न थालेँ । अहिले आएर सम्झिँदा ती गीत र कविता बडा काँचा थिए । जे होस्, गीत लेखिसकेपछि त्यसको मुन्तिर गायक प्रेमध्वज, सङ्गीत नातिकाजी र रचना विप्लव प्रतीक भनेर लेख्ने गरेको पनि याद छ । यो कुरा बेग्लै थियो कि यो कुरा दाइलाई मैले कहिल्यै भनिनँ र त्यो गीत पनि कहिल्यै देखाइनँ । त्यतिखेर मैले किन नारायणगोपाल लेखिनँ या बच्चुकैलाश लेखिनँ थाहा छैन । फत्तेमान दाइ त छिमेकमै थिए, किन उहाँको नाउँ लेखिनँ, थाहा छैन । दबदबा त तिनको पनि थियो ।

म किशोरवयमै हुँदा मेरो परिवार विखण्डित भयो । त्यस विखण्डनले मलाई जीवनमा थुप्रै अर्थपूर्ण कोसेलीहरू दिएको छ । एउटा कोसेलीचाहिँ प्रेमध्वज दाइका रूपमा मिल्यो । म जोडिएको नयाँ परिवारको दाजु साइनो पर्ने हुनुहुँदो रहेछ प्रेमध्वज । हामी अक्सर उहाँको बागबजारस्थित घरमा जान्थ्यौँ । अरूले उहाँलाई गोविन (गोविन्द) दाइ भन्थे । मेरो बानी भने प्रेमध्वज दाइमा बस्यो । उहाँको घरमा विभिन्न परिकारहरू हाम्रा निम्ति बन्थे । हाँसको मासु पहिलोपल्ट त्यहीँ खान पाएँ मैले । दाइको आमा, किरण भाउजूलगायत हामी सबै रमाइला कुरा गथ्र्यौं, खान्थ्यौं । तर, दाइ भने बडो अनुशासित । गलालाई स्याहार गर्न के खाने के नखाने भन्ने उहाँको आफ्नै सूची थियो । उहाँका छोराहरू सानै थिए । रफी, योगेश वैद्य र दाइको गीत बज्यो कि जेठा छोराले बाको गीत आयो भन्ने गर्थे । दाइ मुसुमुसु हाँस्नुहुन्थ्यो । उहाँको दाँजोमा म निकै सानो भए पनि मँसग आज यो रेकर्ड भयो, भोलि यो हुँदै छ भनेर सुनाउनुहुन्थ्यो । एक दिन उहाँको नयाँ गीत आयो । रेडियोमा दिन–रात घन्किन थाल्यो । एक दिन भेटेको बेला कस्तो लाग्यो भनेर मलाई सोध्नुभयो । कति नै ज्ञान थियो र मलाई ? मैले भनिदिएँ, त्यस्तो गीत तपाईंलाई सुहाउँदैन । मैले ज्ञानै नभई गरेको टिप्पणीलाई उहाँले गम्भीर भएर लिनुभयो, ‘ठीकै छ, एक्स्पेरिमेन्ट गरेको हो । कहिलेकाहीं गर्नुपर्छ । अनुरोध गरेको नाइँ पनि भन्न सकिनँ ।’

समय बित्दै गयो । मैले रसियन कल्चर सेन्टरमा जागिर पाएँ । अमेरिकन लाइब्रेरीमा पहिले नै उहाँको जागिर थियो । मेरो जिन्दगीले अर्कै दुनियाँ पाएको थियो । त्यसपछि उहाँको घर जाने चलन छुट्यो । केही वर्षपछि मेरो जागिर पनि छुट्यो । अब म फुक्काफाल भएको थिएँ । तर, दिउँसोको समय खिचापोखरीस्थित अमेरिकन लाइब्रेरी जाने र पढ्ने गर्थेँ । मलाई त्यसको लत लगाइदिने साथी शिशिर सुब्बा थिए । उनकै कारण फ्रन्ट डेस्कका हर्क गुरुङसँग चिनजान भयो । उनले मलाई एक दिन मेरा रुचिका केही किताब देखाउन माथि अफिसमा लगे । त्यहाँ देखेँ प्रेमध्वज दाइलाई । मतिर हेरेर मुसुक्क हाँस्नुभयो । उहाँको त्यो परिचित मुस्कान मेरा निम्ति थियो । म नजिक पुगेँ । नमस्कार गरेँ । वर्षौं भेट भएको थिएन, तर आत्मीयता उही थियो । ‘आउट अफ साइट, आउट अफ माइन्ड’ उहाँको मामिलामा मिलेन । छोटो कुराकानीमा उहाँले एउटा नयाँ अल्बम निकाल्ने योजना सुनाउनुभयो, अल्बमको नाउँ थियो– घाइते जवानी । ‘दाइ, यो टाइटल सुहाउला र ?’ दाइले भन्नुभयो, ‘साथीले राखिदिएको, कसरी नाइँ भन्नु ?’ कहिल्यै कसैको कुरा नकाट्ने, मुस्कुराइरहने, कुनै महत्त्वाकांक्षा नबोकेको र मृदुभाषी मान्छेलाई के सम्झाउनु ? हामी छुट्टियौँ ।

जिन्दगीसँग मलाई दिने विभिन्न सरप्राइजहरू थिए । एकपछि अर्को पाउँदै गएँ, स्वीकार गर्दै गएँ । देशमा पञ्चायतपछि प्रजातन्त्र भन्ने तन्त्र पनि आयो । म बिहानबिहान एकेडेमीको पछिल्तिर कोर्टमा ब्याडमिन्टन खेल्न जान्थेँ । हाम्रो समूहमा दीप श्रेष्ठ, हेमन्त श्रेष्ठ, शैलेन्द्र सिम्खडा आदि हुन्थे । एक दिन दाइलाई पर्खालबाहिर हिँड्दै गरेको देखेँ । उही मुस्कान । दौडिएर गएँ । ‘भाइ ब्याडमिन्टन खेल्ने रहेछ, मचाहिँ हिँड्नेमिन्टन,’ दाइले मुस्कुराउँदै भन्नुभयो । बिहानको शारीरिक अभ्यास छोड्नुहुँदैन है, शरीरलाई राम्रो हुन्छ भन्दै दाइ जानुभयो ।

एक दिन कवि गोपाल पराजुलीले ‘गरिमा’ का लागि प्रेमध्वज दाइसँग एउटा अन्तर्वार्ता लिइदिनुपर्‍यो भन्नुभयो । नाइँ भन्न सकिनँ । प्रश्नहरू तयार पारेँ । शब्द चयन र सङ्गीतकार चयनमा किन ध्यान दिनु नभएको भनेर एउटा प्रश्न बनाएँ । त्यसलाई पछि काटिदिएँ । एउटा नदीजस्तो मान्छे, जसले बिनाअपेक्षा बग्न मात्रै जान्यो उसका लागि ‘क्रिटिकल’ प्रश्नहरूको के काम ? अन्तर्वार्ता छापियो । ‘गरिमा’ मा कवि पराजुलीले चलाएको चलन थियो– अन्तर्वार्ता लिने–दिने दुवैलाई पारिश्रमिक दिने । मैले प्रेमध्वज दाइले पाउने सात सय रुपैयाँ घरमै लगेर दिएँ । ‘अहिलेसम्म कतिले अन्तर्वार्ता लिन आए, तर पैसा त कहिल्यै पाइनँ । यो तपाईंले आफैं दिएको त हैन नि ?’ मैले भनेँ, ‘यो यही पत्रिकाले भर्खरै चलाएको चलन हो, अरूले दिने चलन बनाएका छैनन् ।’

साढे चार दशक त्यत्तिकै बितेर गयो । खेर गयो या केही दिएर गयो थाहा छैन । जे मिल्यो या गुम्यो त्यो नियति थियो । तर, मेरो नियतिमा छैन रहेछ मेरो गीतले प्रेमध्वज दाइको आवाज पाउनु । ‘हर रात सपनीमा ऐंठन हुन्छ’ भन्ने गीत सुनेर उहाँले मेरो ‘कविता’ को र गायक दीप श्रेष्ठको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । उहाँहरूको पालामा रचनालाई कविता भन्ने चलन थियो । रह्यो मेरो कुरा– कतिलाई प्रेमध्वज दाइकै गीत गाएर मैले मख्ख तुल्याएको थिएँ । उहाँकै गीत गाएर साथीहरूमाझ प्रिय बनेको थिएँ । हामीबीच सम्बन्ध पनि मधुर थियो । सायद उहाँको नमाग्ने बानी र मेरो आग्रह नगर्ने बानीको संयोग होला त्यो ।

केही वर्षअघि धरानका भाइ किरण श्रेष्ठले प्रेमध्वज दाइलाई अभिनन्दन गर्न चाहेको योजना सुनाए । मैले ‘जाऊ, गएर भेट न त’ भन्दा उनी मानेनन् । मलाई सँगै गइदिन अनुरोध गरे । हामी गयौं । दाइलाई मैले सबै कुरा सबिस्तार सुनाएँ । ‘भाइ आइसकेपछि भैहाल्यो नि †’ उहाँले मान्नुभयो । एक छिन गीत–सङ्गीतको कुरा चल्यो । मैले पहिलोपल्ट दाइले केही गुनासो गरेको सुनेँ । ‘पहिलेजस्तो हिन्दुस्तानी सङ्गीत छैन अचेल । मनलाई चक्क छुने पहिलेका जस्ता गीतहरू अहिले खोइ ? अब हिन्दी गीत होइन इन्डियाका सबै गीत पन्जाबी । हामीकहाँ पनि राम्रो कविता पाई नै छाड्यो ।’ गुनासो गरिरहेका गायकलाई मैले पुलुक्क हेरेँ । गुनासो गर्दै हुनुहुन्थ्यो, तर बोलीमा आक्रोश थिएन, सुनाउँदै हुनुहुन्थ्यो–मुस्कुराएर ।

अचानक समयको सन्दुसबाट कोरोना निस्कियो । लकडाउन सुरु भयो । लकडाउनकै कारण एक वर्ष रोकिएको ‘भक्तराज सङ्गीत सम्मान’ ०७७ सालको उत्तराद्र्धमा एउटा कार्यक्रमअन्तर्गत प्रदान गरियो । त्यसैबेला हो प्रेमध्वज दाइसँग भेट भएको, सँगै तस्बिर खिचेको, म बिदा भएको र उहाँ रसिला आँखा लिएर मुस्कुराएको । झलझली आइरहेछ त्यो निश्छल अनि कताकता लजालु मुस्कानको सम्झना ।

मानिस पशुभन्दा श्रेष्ठ होला, किनभने ऊसँग शब्दहरू छन्, भावना अभिव्यक्त गर्ने औजार छ । तर, होइन, विभिन्न भाषाहरूबीच यत्रो शब्दको भण्डार भएका मानिसहरू उत्तिकै गरिब पनि छन् । देश लुटिनेहरूको वेदना के पीडा भन्ने शब्दले मात्रै व्यक्त गर्न सक्छ ? प्रेम वियोगमा नारी र पुरुषले भोग्ने विरह एउटै शब्दले बराबरी व्यक्त गर्न सक्ला ? नारी मनले सहेको वेदना र पुरुष मनले भोग्ने वेदना एउटै शब्दले कहाँ भन्न सक्छ र ? परदेशबाट वर्षौंपछि फर्किएको छोरोलाई देखेर प्रफुल्लित आमाको खुसी र अनेकौं विघ्नपछि मायालुलाई भेट्न पाउँदा प्रफुल्ल भएको प्रेमीको खुसीलाई केवल खुसी भन्ने शब्दले मात्रै व्यक्त गर्न सक्ला ? कतिपय ठाउँमा शब्दले पूर्ण रूपमा भावलाई व्यक्त गर्न सक्दैन । प्रेमध्वज दाईबारे केही लेखिरहँदा म भने एउटा नयाँ शब्द जन्माउन खोजिरहेछु– कहिल्यै कसैको कुरा नकाट्ने, मुस्कुराइरहने, कुनै महत्त्वाकांक्षा नबोकेको, मृदुभाषी मान्छेलाई म अबदेखि ‘अहो, कस्तो प्रेमध्वजजस्तो’ भन्नेछु ।

म रहुन्जेल प्रेमध्वज दाइप्रतिको मेरो प्रेम झन् मदिर हुनेछ । अब त्यही रेशमी स्वर भएका प्रेमध्वज भेट्न सम्भव नहोला । तर, मलाई विश्वास छ निष्ठुर हुँदै गएको संसारमा कहीँ न कहीँ प्रेमध्वजहरू बाँची नै रहेका छन्–रहनेछन् । तिनकै कारण संसारमा प्रेमको कमी हुने छैन । र, तिनकै कारण प्रेमको ध्वज हामीमाझ फहराईरहनेछ ।

(शनिबार प्रकाशन हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : वैशाख ३१, २०७८ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्

गुनिला अनुवादक

कृष्णप्रकाश श्रेष्ठ अनुवाद साहित्यका कारण हामीमध्ये धेरैका निम्ति बाँचेका थिए र आफ्ना कृतिमार्फत सधैँ बाँचिरहनेछन् ।
विप्लव प्रतीक

पुस्तक पढ्ने मेरो बानी ‘कमर्शियल’ हिन्दी साहित्यबाट सुरु भएको हो । तिनबाट म हिन्दी जासुसी उपन्यासको कक्षामा उक्लिएँ । तर, साहित्यसागरको रसपान गर्ने मेरो यात्रा त्यत्तिकैमा सीमित रहेन । कुन्नि कुन स्रोतबाट हिन्दीमा अनुवादित रुसी साहित्यको निकट पुगेँ । निकोलाई आस्त्रोभ्स्की, टोल्सटोय, दोस्तोएभ्स्की, चेखभ, इभान तुर्गनेभ र पुश्किनका किताब पढेपछि मैले फर्केर पनि हेरिनँ ती जासुसी र सामाजिक भनिने हिन्दी उपन्यासतर्फ । तर, तिनले पढ्ने बानी लगाएको गुन भने अहिले पनि बिर्सिएको छैन ।

भावना, सोच र महसुस मातृभाषामा अभिव्यक्त जब गरिन्छ, त्यसको महत्त्व र अर्थ हृदयको बडो करिब पुग्छ । नेपाली भाषामा दर्द अभिव्यक्त गर्दा ‘आइया’ शब्दले पीडित व्यक्तिलाई पीडा कम जसरी गराउँछ र वरिपरि सुन्ने व्यक्तिलाई जसरी ध्यानाकृष्ट गर्छ, अङ्ग्रेजी भाषामा ‘आउच’ वा ‘इट हर्टस्’ ले गर्ला र भन्ने लाग्छ मलाई । त्यसैकारण बडो धनी साहित्यमध्ये एक रुसी साहित्य हिन्दीमा पढिरहँदा त्यो नेपाली भाषामा पढ्न पाए हुन्थ्यो भन्ने मलाई लाग्थ्यो ।

यदि कृष्णप्रकाशले रुसी साहित्यलाई नेपालीमा अनुवाद नगर्दा हुन् त मेरो मनसुवा कसले पूरा गर्थ्यो होला र ? अनुवाद गर्नु भनेको सजिलो काम होइन । जुन भाषामा अनुवाद भयो त्यही भाषामै लेखिएको झैँ लाग्नु र मौलिक लेखन जस्तो छ अनुवादमा पनि त्यही हुनु नै अनुवादका चुनौती हुन् । उनले त्यही चुनौती अँगालेर अनुवादकर्ममै आफ्नो जीवन उत्सर्ग गरे । मेरा निम्ति उनी त्यसैले पनि बडो श्रद्धेय छन् र उनको कर्म मेरा लागि बडो स्तुत्य छ ।

म साहित्य–संसारसँग जोडिनेछु भन्ने मैले मेरो किशोरवयमा कहिल्यै पनि कल्पना गरेको थिइनँ । आज जोडिएको छु, र साहित्य–संसारसम्मको मेरो यात्रामा केही सेतुमध्ये एउटा महत्त्वपूर्ण सेतुका रूपमा म श्रेष्ठलाई हमेसा याद राख्नेछु । बौद्ध दर्शनमा कतै भनिएको छ– हामी अर्काका निम्ति बाँचेका हुन्छौँ । कृष्णप्रकाश पनि अनुवाद साहित्यका कारण हामीमध्ये धेरैका निम्ति बाँचेका थिए र आफ्ना कृतिमार्फत सधैँ बाँचिरहनेछन् ।

प्रकाशित : चैत्र २१, २०७७ १०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×