आमा
झरीको एक बिहान
आकाश नै धर्तीमा झरिरहेको बेला
तिमी भने आकाशतिरै गयौ
आमा, तिमी आकाश भयौ !
अब कसरी छुनु मैले आकाशलाई ?
आकाशमा छन् जूनतारा
अब तिम्रो सहारा
आकाशमै डुल्छ घाम
म एक्लो पो कता जाम्
न छ मसँग, तिम्रो कान्छीऔंला
न छ मसँग, तिम्रो मुटुको दरी
न छ मसँग, मैले ऐना हेर्ने तिम्रो आँखा
म त केवल
तिम्रो सम्झनालाई अघि लगाएर
पछिपछि कुदिरहेछु– यो संघर्ष–लोकमा
आमा, के आकाशबाट म देखिन्छु ?
कहिलेकाहीँ लाग्छ–
उधारो रासनपानीका निम्ति
किरानापसलेसँग याचना पो गर्दै छौ कि !
कहिलेकाहीँ लाग्छ–
बाउको कुटाइले मामाघरतिर पो भाग्यौ कि !
कहिलेकाहीँ लाग्छ–
मेरो पढाइको ऋण तिर्न
ढुङ्ग्री फुकालेर साहुको ढोकामा पो पुग्यौ कि !
र, कहिलेकाहीँ लाग्छ–
यो लठ्ठु छोरोलाई हल गाँसिदिन
कुटुम्बहरुको दैलो पो चहार्दै छौ कि !
तर अहँ,
कहीँकतै देख्तिनँ तिमीलाई
कहीँकतै भेट्दिनँ तिमीलाई ।
भदौको एक बिहान
जगत्ले नै आकार लिइरहेको बेला
तिमी भने अन्धकारमा विलीन भयौ
आमा, तिमी निराकार भयौ !
अब कसरी देख्नु मैले निराकारलाई !
अझै पनि
भीरपाखाहरुमा सुनिने दुःखको स्वर
तिम्रैजस्तो लाग्छ !
अभावको साँझमा
भन्ज्याङबाट भारी बोकेर झर्ने मधुरो छाया
तिमीसँग दुरूस्तै मिल्छ !
काखमा नानी च्यापेर
खोला किनारमा गिट्टी कुटिरहेका
ती आमाका अनुहारहरु
ठ्याक्कै तिम्रैजस्ता लाग्छन् !
आमा, के तिमी अझै यतैकतै छौ र ?
जीवनका हरेक बिसाउनीहरुमा
मलाई हाँस्न मात्र सिकाएर
किन रून सिकाएनौ ?
त्यसैले
तिमीबिनाको यो एकान्तमा पनि
म रून जानिरहेको छैन ।
प्रकाशित : वैशाख २५, २०७८ १०:०३