आमा- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आमा

राबत

झरीको एक बिहान
आकाश नै धर्तीमा झरिरहेको बेला
तिमी भने आकाशतिरै गयौ
आमा, तिमी आकाश भयौ !
अब कसरी छुनु मैले आकाशलाई ?

आकाशमा छन् जूनतारा

अब तिम्रो सहारा

आकाशमै डुल्छ घाम

म एक्लो पो कता जाम्

न छ मसँग, तिम्रो कान्छीऔंला

न छ मसँग, तिम्रो मुटुको दरी

न छ मसँग, मैले ऐना हेर्ने तिम्रो आँखा

म त केवल

तिम्रो सम्झनालाई अघि लगाएर

पछिपछि कुदिरहेछु– यो संघर्ष–लोकमा

आमा, के आकाशबाट म देखिन्छु ?


कहिलेकाहीँ लाग्छ–

उधारो रासनपानीका निम्ति

किरानापसलेसँग याचना पो गर्दै छौ कि !

कहिलेकाहीँ लाग्छ–

बाउको कुटाइले मामाघरतिर पो भाग्यौ कि !

कहिलेकाहीँ लाग्छ–

मेरो पढाइको ऋण तिर्न

ढुङ्ग्री फुकालेर साहुको ढोकामा पो पुग्यौ कि !

र, कहिलेकाहीँ लाग्छ–

यो लठ्ठु छोरोलाई हल गाँसिदिन

कुटुम्बहरुको दैलो पो चहार्दै छौ कि !

तर अहँ,

कहीँकतै देख्तिनँ तिमीलाई

कहीँकतै भेट्दिनँ तिमीलाई ।


भदौको एक बिहान

जगत्ले नै आकार लिइरहेको बेला

तिमी भने अन्धकारमा विलीन भयौ

आमा, तिमी निराकार भयौ !

अब कसरी देख्नु मैले निराकारलाई !


अझै पनि

भीरपाखाहरुमा सुनिने दुःखको स्वर

तिम्रैजस्तो लाग्छ !


अभावको साँझमा

भन्ज्याङबाट भारी बोकेर झर्ने मधुरो छाया

तिमीसँग दुरूस्तै मिल्छ !


काखमा नानी च्यापेर

खोला किनारमा गिट्टी कुटिरहेका

ती आमाका अनुहारहरु

ठ्याक्कै तिम्रैजस्ता लाग्छन् !

आमा, के तिमी अझै यतैकतै छौ र ?


जीवनका हरेक बिसाउनीहरुमा

मलाई हाँस्न मात्र सिकाएर

किन रून सिकाएनौ ?

त्यसैले

तिमीबिनाको यो एकान्तमा पनि

म रून जानिरहेको छैन ।

प्रकाशित : वैशाख २५, २०७८ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्

पढ्नु र लेख्नुका दिग्भ्रमहरू

पढ्नेले लेख्छन् भन्ने छैन र पढ्ने कुलत कुनै कुरा लेख्नका निम्ति हो भन्ने ठान्नु डरलाग्दो भूल हो । र, लेख्नका लागि पढ्नुपर्छ भन्ने धारणा झनै मूर्खता हो । मूर्खता शब्द हचुवामा प्रयोग गरिएको होइन, दोषारोपणकै लागि लेखिएको हो । जसले मौलिक जानकारी (प्राइमरी डाटा) मा दखल राख्छ, उसले केही लेख्नका निम्ति पढ्नु किन जरुरी छ ?
नेपालमा चलेको प्रवृत्ति बेग्लै छ । ‘तिम्रो फोहोर तन्ना सार्वजनिक स्थानमा नधोऊ’ को माने नबुझेर हो वा त्यो काँठ संस्कृति नै आफ्नो मौलिक भएकाले हो, फोटोकपी गरेर आफ्ना भाइभतिजा, नातेदारलाई मात्रै बाँडे हुने घरायसी विवरणका एक दर्जन नमुना यतिबेला बजारमा छन् ।
सौरभ

बितेका केही वर्षमा पुस्तक–वार्ताका करिब आधा दर्जन प्रस्तावलाई टारेपछि तलको विवरण दिनु बढी सामयिक लागेर लेखिएको छ ।

स्केच : दिपक गौतम

पढ्नु र लेख्नु एउटै होइन

पढेपछि मात्रै लेख्न सकिन्छ वा लेख्नका लागि पढ्नुपर्छ भन्ने धारणाले गर्दा नै हामीकहाँ ज्ञानको विकास नभएको हो । कहाँबाट कसले यस्तो भयावह अवैज्ञानिक मत हाम्रो मनमा स्थापना गरिदिएको हो ? भन्नै गाह्रो छ ।

कम्तीमा आधा दर्जन यस्ता मानिसलाई पंक्तिकार काठमाडौंमा चिन्दछ, जो राम्रै पढ्छन् तर लेख्दैनन् । एक मात्र त्यो पनि थोरैले अपवाद छन्, जसको लामो अन्तरालमा कहिलेकाहीं लेख आउँछ ‘द हिमालयन’ मा । अर्थात् पढ्नेले लेख्छन् भन्ने छैन र पढ्ने कुलत कुनै कुरा लेख्नका निम्ति हो भन्ने ठान्नु डरलाग्दो भूल हो ।

र, लेख्नका लागि पढ्नुपर्छ भन्ने धारणा झनै मूर्खता हो । मूर्खता शब्द हचुवामा प्रयोग गरिएको होइन, दोषारोपणकै लागि लेखिएको हो । जसले मौलिक जानकारी (प्राइमरी डाटा) मा दखल राख्छ, उसले केही लेख्नका निम्ति पढ्नु किन जरुरी छ ?

पढेर लेखेको राम्रो हुन्छ ?

पढेर लेखेको राम्रो हुन्छ भन्ने कुरा केही हदसम्म सही हो तर शतप्रतिशत सत्यचाहिँ किमार्थ होइन । पढेर लेखिएका तर देश, काल, समाज, युग कसैलाई कहीँ पनि पटक्कै डोहोर्‍याउन नसक्ने प्रशस्तै नेपाली किताबहरू सूचीबद्ध गर्न सकिन्छ ।

तर, सबै टिपिएका जानकारी (सेकेन्डरी डाटा) मा आधारित पुस्तक पनि राम्रो हुन सक्छ भन्ने कुराको एक अद्वितीय उदाहरण जगदीशचन्द्र रेग्मीको ‘काठमाण्डू शहर’ हो । मध्यकालीन काठमाडौंको बारेमा लेख्न सुरुवात गर्दा चाहिने तथ्यांकका निम्ति यो जस्तो भरपर्दो पुस्तक अर्को छैन । ‘काठमाडौं नगरायण’ ले जुन हचुवामा यो सरहलाई टिपेको छ, त्यो देख्दा नलेखेकै बेस हुन्थ्यो भन्नुपर्ने हुन्छ । नगरायणजस्तो ओजनदार शब्दको दुरुपयोग नगरिएको भए पंक्तिकारले यति टिप्पणी गर्ने थिएन नै ।

पढ्नु विद्वता होइन

अथाह पढ्नु र अनवरत पढ्नु विद्वता होइन, मात्र जानकारी प्राप्त गर्न भएको एक दौड हो । त्योभन्दा धेरै पर छ ज्ञान । त्योभन्दा कता हो कता छ संज्ञान र अझ कहाँ हो कहाँ छ प्रज्ञान ।

तैपनि हामी पढिरहन्छौं पुस्तकलाई, प्रकृतिलाई र अनेक रहस्यलाई एउटै झिनो आशाले– त्यो हो ज्ञानको खुट्किलो चढ्दै गए प्रज्ञानसम्म कसो नपुगिएला ? बितेको दस हजार वर्षमा विश्वभरिबाटै प्रज्ञानसम्म पुगेका मानिसको गन्ती गर्ने हो भने सय पनि नपुग्ला । किनभने सय वर्ष उमेर नाघ्दा पनि ज्ञानसम्म पुग्नै नपाई बितेर गएका छन् कैयौं ।

मस्तिष्कको अधिकतम उपयोग गर्दा पनि पंक्तिकारको कल्पनाशीलताले शून्यको अन्त्य ठम्याउन सकेको छैन । अरू कसैले सकेको भए बताइदिओस् । यसैले बहुविषयविज्ञ (पलिम्याथ) र बहुभाषाविज्ञ (पलिग्लट) हुँ भनेर छापामा निरन्तरजस्तो भइरहने दाबी देखेर पंक्तिकारलाई दिक्क लाग्छ । बेल्जियनहरूले सामान्यत: नौवटा भाषा जानेका हुन्छन् र यतिबेला लेटिन अमेरिकामा कोही ५८ वटा भाषा जान्दछ । तिनलाई विद्वान् मानिएको छ ? योगी नरहरिनाथ २८ वटा भाषा जान्दथे भन्ने पढेको छ पंक्तिकारले कतै । तर, उनलाई २८ भाषा जानेकाले विद्वान् मानिएको होइन ।

थाहा पाउनु, बुझ्नु एउटै होइन

थाहा पाउनु र बुझ्नु अत्यन्तै फरक कुरा हुन् । थाहा पाउनुमा एउटा फलक छ जानकारीको भने, बुझ्नुका हजारौं फलक हुन्छन् । अनुमान (स्पेकुलेसन, हाइपोथिकेसन) र प्रक्षेपण अत्यन्तै फरक कुरा हुन् । पहिलो एउटा फलकमा आधारित हुन्छ । दोस्रो अनेकौं फलकको एक निचोड हो ।

हाम्रा इतिहासकार र अन्य गैरविज्ञान विषयविज्ञहरूले बुझ्नु र प्रक्षेपण गर्नुलाई जब एउटै ठान्न पुगेको देखिन्छ बारम्बार, बेचैन हुन्छ मन ।

पढेर लेखेको लेख

मौलिक जानकारीमा दखल राख्नेले अध्ययनको पनि सहयोग लिनु राम्रो कुरा हो । तर, पढेको कुरा मात्रै लेख्नुपर्छ ठानेकाहरूले लेखेका कुराहरू अदालती फैसलाका पूर्ण पाठजस्ता हुन पुगेका छन् । फरक के मात्रै हो भने पुनरावेदन हाल्न अर्को कुनै लेखक आउँदैन । माओ जीवनको सुरुवातकालमा पुस्तकालयाध्यक्ष थिए । तर, तिनको छवि अध्ययनशीलको बनेन, अर्कै बन्यो । अंक र आँकडाका लागि तथ्यांकशास्त्र भन्ने विषय पहिला नै छ । त्यतिले नपुगेर डाटाम्याटिक्स शब्द जन्मिएको पनि युग भइसक्यो । यति सामान्य कुरासमेत भनिराख्नुपर्ने थिएन, भन्नुपरेकोमा खेद लागिरहेको छ ।

हामी अब पाचक युगमा रहेनौं । के साल्मोनेल्ला हो, के सिजेल्ला हो, के अमिबा हो, के ट्रिप्नोसोमा हो, के जार्डिया हो ? पाँच कक्षाका छात्रले भनिदिन्छ अचेल । गुदी (क्रक्स) के हो ? पहिल्याउन नसक्ने लेखोटले जति नै पढेर लेखिएको भए पनि कागजको नोक्सान गर्छ, पृथ्वीलाई भार हुन्छ भन्ने आफैंले बुझ्न सक्नुपर्छ ।

जान्नेहरूमा श्रेष्ठ

फलाना, फलाना र फलाना पनि यस विषयका विज्ञ हुन्, तर तीभन्दा जान्ने सर्वश्रेष्ठचाहिँ मै हुँ भन्ने दौड पनि काठमाडौंमा खुबै देख्न पाइन्छ ।

देउताका गतिविधि पुराणमा जति पाइन्छन्, पढिन्छन् तिनमा देउता ‘पर्फेक्ट’ छैनन् । देउता स्वयंले गतिविधि लेखेका भए आफूलाई पर्फेक्ट देखाउँथे होलान् तर मान्छेले उसको गतिविधि लेखेका हुन् । अनि लेख्नेले त्यो ‘इम्पर्फेक्सन’ किन दर्साइदिए होलान् ? भन्ने सामान्य ज्ञान पनि यी स्वयम्भू सर्वश्रेष्ठमा भेटिँदैन । उत्तर सरल छ— देउता पनि पर्फेक्ट छैनन् है भनेर हामीलाई पूर्वजहरूले जानकारी दिएका हुन् । त्यत्रो ज्ञान कम्तीमा ३५ सय वर्षदेखि प्रचलित हुँदा पनि यी स्वयं सर्वश्रेष्ठहरू आफू पर्फेक्ट भएको जुन दाबी गरिरहन्छन्, त्यो साँचो भन्ने हो भने ईष्र्या, दुष्ट्याइँ, निर्लज्जता र मूर्खताको स्वयं एक जिउँदो प्याकेज हुँ भन्ने प्रदर्शन हो । आफ्नो औसतपनको निरन्तर घोषणा हो ।

विद्वान् भनिने पात्रले आफैंले आफैंलाई श्री लगाएर सम्बोधन गरेको पनि देखेको छ, माननीय लगाएको पनि भेटेको छ, स्वामी भनाउनेहरू त प्रशस्तै भए । राष्ट्रिय व्यक्तित्व हुँ भनेको पनि पाएको छ । रुकुममा दर्शनार्थीका हातबाट खोसेर आफैंले आफैंलाई माला लगाउँदै हिँडेका नेताहरूको दौडादौड पनि देखेको छ । त्यहाँ आफैंले आफैंलाई विद्वत्जन भनेर छापामा छापेको देख्दा आश्चर्य मान्नुपर्ने कारण त छैन । ज्ञानको सम्बन्धित हीन ग्रन्थिले पात्रहरू कति ग्रस्त छन् स्वयं भन्ने कुराको यो प्रमाण हो ।

जानकारी किताबमा हुँदैन

जानकारी पहिला मस्तिष्कमा हुन्छ किताबमा होइन । कसैले किताबमा दर्ता गरिदिए त्यो जानकारी सार्वजनिक हुने हो । तर, तैंले यो जानकारी कहाँबाट लिइस् ? जस्तो पटमूर्खतापूर्ण प्रश्न ‘हलिस्टिक स्कुल’ का औसतहरूले गर्दै आइरहेका छन् । यही कारण लगभग २०–२५ वर्षयता बहुसंख्यकले भन्छन्— सर्च इन्जिन, गुगलमा खोजे भइहाल्यो नि ।

तर, सर्च इन्जिनमा कसैले सामग्री ‘फिड’ गरे न खोज्दा पाइने हो ? त्यसमाथि नेपाल विषयक सामग्री कसले हालिदिने ?

सूचनाको प्राकृतिक स्थापनालाई नै अस्वीकार गरेपछि त्यसले जन्माउने भनेको सिन्थेटिक आलु हो । अर्को अर्थ पनि छ— मौलिकताको नितान्त निषेध । प्राइमेरी डाटालाई निषेध गरेर ज्ञानको उत्पादनको कुरा गर्नु बालुवा रोपेर धान फलाउँछु भन्नुजस्तै हो ।

: पुस्तकको विशाल संग्रहले व्यक्ति विद्वान्मा दर्ता हुने होइन— पुस्तक वार्तामा बोल्ने र अन्तर्वार्ता लिने दुइटैमा भयावह भ्रम छ । कसैसँग सयवटा मात्रै पुस्तक छन् भने त्यो अपठित, ज्ञानहीन, बेबकुफ होइन । बेबकुफ त्यसप्रति धारणा बनाउने व्यक्ति हो । किताबको थुप्रोबीच बस्नु विद्वान् हुने परिचायक हो भने हरेक लाइब्रेरियन र पुस्तक पसले विद्वान् हुन् ।

किताबको थुप्रो तक्मा होइन

यो मानिस त पढैया होइन रहेछ, मसँग जति पनि किताब रहेनछन्— उहिल्यै मनुजबाबु मिश्र बगैंचा गएको बेला पारेर लगभग ३ हजार जतिको उनको पुस्तकसंग्रहप्रति कसैले औंल्यायो । पंक्तिकारले मनमनै प्रश्न गर्‍यो— तिमीसँग ५ हजार होलान्, तर तिम्रो छवि के छ ?

पुस्तकको विशाल संग्रहले व्यक्ति विद्वान्मा दर्ता हुने होइन— पुस्तक वार्तामा बोल्ने र अन्तर्वार्ता लिने दुइटैमा भयावह भ्रम छ । प्रश्न— यी प्रत्येक पुस्तकको कुन हदसम्म उपयोग गर्न सकिएको छ, पानापाना, शब्दशब्द कति पार गर्न सकिएको छ ? भन्ने हो । यसैले कसैसँग सयवटा मात्रै पुस्तक छन् भने त्यो अपठित, ज्ञानहीन, बेबकुफ होइन । बेबकुफ त्यसप्रति धारणा बनाउने व्यक्ति हो । किताबको थुप्रोबीचमा बस्नु विद्वान् हुने परिचायक हो भने हरेक लाइब्रेरियन र पुस्तक पसले विद्वान् हुन् । बैंकहरूका नोगजा र टेलरहरू अर्बपति हुन्, हरेक मोटर मर्मत–सम्भार केन्द्रका कामदार कार कम्पनीका मालिक हुन् ।

तीन अत्यन्त सुन्दर लागेका पुस्तक वार्ता हुन्— सुगतरत्न कंसाकार, रामशरण दर्नाल र जयराज पन्तका । पछिल्ला दुई बितिसके । कंसाकारले पूरै अन्तर्वार्तामा दुई पुस्तकको मात्र नाम बारम्बार दोहोर्‍याएका छन् व्यवस्थापन विषयका । उनको थरबाटै थाहा हुन्छ, उनी बौद्ध धर्मावलम्बी हुन् । बौद्ध मतमा संग्रहलाई दु:खको कारक मानिन्छ, चाहे अनावश्यक ज्ञानकै होस् । उनले सायद त्यो नियम पालना गरेकाले नै होला आफूलाई दुई पुस्तकमा मात्र सीमित गरेका छन् । तर, उनको व्यवस्थापन क्षमतामा कसैले आजसम्म शंका गरेको छ र ? ज्ञानप्राप्तिको चरम उपयोग यहाँभन्दा के हुन सक्छ ?

दर्नाललाई जस्तोसुकै कोणबाट सोधियोस्, संगीतका पुस्तकबाहेक अरूमा उनी मानौं अज्ञानी छन् । अर्थात् जतिको नाम लिए, ती तिनले हृदयदेखि नै पढेका पुस्तक हुन् । पन्त डोटीका हुन् । हिजो डोटी राज्यअन्तर्गत महाकालीपारिको भूभाग थियो । यसैले पनि होला, उनले नाम लिएका सारा पुस्तक जुनसुकै भाषाका होऊन्, हिजोका डोट्याली साम्राज्यभित्रबाट उठेर आउँछन् । प्रत्येक उत्तरमा हृदयभित्रदेखिको ज्ञानको मौलिकता छ । पंक्तिकारलाई अब जान्नु नै छैन यी तीन पात्रका पुस्तक संकलन कति हजारका छन् ? संख्याको अर्थ के छ यहाँ ?

अहं र हीनताबोध

करिब १२ सय वर्षयता पण्डितराज जगन्नाथका कृतिजस्ता केहीबाहेक संस्कृतमा खास उल्लेखनीय कृति लेखिएको छैन भन्ने गरिन्छ । ज्ञानको उत्पादन शून्य छ । त्यसमाथि भएको ज्ञान आध्यात्मिक जगत्सँग सम्बन्धित छ भौतिक उन्नतिसँग होइन । वेदमा तैलयान छ र धुम्रयान छ भनिदिएर मात्रै भएन, अर्कोले चन्द्रमामा रकेट पुर्‍याइसकेपछि ।

तर, वाल्मीकि क्याम्पसका गुरुदेवहरूको क्याम्पस आउँदा र जाँदा आकाशतिर हेरेर हिँड्ने बडिल्याङ्ग्वेजले के भनिरहन्छ भने— वरिपरि गोलभेंडा बेच्न, फोहोर बटुल्न बसिरहेकाहरूले के जानेका छन् र ? अज्ञानीहरू, मूर्खहरू, खानका काल ! वेदमा के छ ? पुराणमा के छ ? चरकसंहिताको उपचारमा के छ ? विशुद्ध व्याकरणमा के छ ? त्यो ज्ञान यिनलाई के थाहा ?

त्यो भटमासको कोसा बेचिरहेको ठेलागाडावालालाई गुरुदेवको त्यो १२ सय वर्ष पुरानो ज्ञानकै के काम ? र, गुरुदेवको यो ग्रेटवाल माथ गर्ने अहं ?

‘अन्नपूर्ण पोस्ट’ले यो शताब्दीका उल्लेखनीय सय शीर्षक छान्न एउटा मतदान गरायो, त्यसमा परेका आधाभन्दा बढी अंग्रेजीका पुस्तक पटक्कै उल्लेखनीय होइनन् । जस्तो : पंक्तिकारले १८ वर्षकै उमेरमा पढेको ‘द रोड टु नो ह्वेर’ र ‘काठमाण्डु ओ काठमाण्डु’ । रोड टु नो ह्वेरका लेखकको समवेदना सन्देश लेख्नेले पनि बडो महत्त्वपूर्ण किताब भनी लेखे । तर, यो सामयिक लेखहरूको सँगालो हो, जसका यावत् डाटाहरू थोत्रिसके । अर्थ के हो भने त्यो लेख्नेले यी किताबहरू पढेकै छैनन् । गोरा छालाहरूले लेखेका २–३ वटा पुस्तकहरू पनि बिनसित्तीकै छन् । अर्थात् ती किताबहरू जसले सिफारिस गरे तिनलाई अंग्रेजी बन्दुक पड्काइदिएजस्तो भएको हो । यो सिमाना नै नभेटिने हीनताबोध हो ।

त्यस मतदानका संयोजकलाई पंक्तिकारले आफ्नो टिप्पणी सुनाएपछि उनले दिएको जानकारी रिँगटा लाग्ने खालको थियो । उनले भने— ‘नेपाल निरुक्त’ एवं ‘निपजन र नेपाल’ दुइटै पुस्तक एउटै व्यक्तिले सिफारिस गरेका हुन् ।

यी दुई किताबबीचको के सम्बन्ध छ ? पढ्नेहरूले ती पुस्तकहरू एकैपटक सिफारिस गर्ने पात्रको बौद्धिक हविगत सहजै थाहा पाउनेछन् ।

यसैले यो लेख कोर्ने पंक्तिकार पढ्ने बानी भएको मानिस आफू होइन ठान्ने यावत् पाठकहरूलाई ठाडो सम्बोधन गर्छ— त्यस्तो हीनताबोध गर्नुपर्ने केही कारण छैन । नेपालमा असंख्य मानिसहरू पढेका होइनन्, पढेको छु भन्ने प्रदर्शन गर्ने स्वाँगे हुन् । सयवटा मात्रै किताब पढिएको छ भने पनि त्यो व्यक्ति विद्वान् हो, बोल्ने–लेख्ने आँट मात्रै नगरेको । मैदानमा आएपछि अर्को खेलाडीलाई उसले आफैंले चिन्छ ।

र, इन्डियाको ‘दूरदर्शन’ले धेरैअघि गरेको एउटा संवाद कार्यक्रममा आएको मन्तव्य दोहोर्‍याउँm— यी अंग्रेजी अखबारका रिपोर्टरहरू हामी भर्नाकुलरभाषी (गैरअंग्रेजी स्थानीयभाषी) हरूले खोजेर ल्याएको समाचार बटुलेर कट एन्ड पेस्ट गर्छन् । त्यो गाउँलेसँग कसरी जानकारी लिने क्षमता भए पो ? अब अंग्रेजी जानेको हुनाले नरेन्द्रमणि दीक्षित, रामप्रसाद मानन्धर, शंकरदेव पन्त हुने दिनहरू हिँडिसके । नेटले अंग्रेजी सच्याइदिन्छ । सम्भवत: ‘काठमाडौं पोस्ट’को सुरुका दिनहरूमा हृषीकेश शाहले म अंग्रेजी जानेकाले मात्रै ठूलो मान्छे भएको हुँ लेखिसकेकाले घैंटोमा घाम लाग्नुपर्ने समयले चौथाइ शताब्दी नाघिसक्यो । गैरआख्यानले खोज्ने कन्टेन्ट नै हो जब ।

अंग्रेजीका घाघ पत्रकार मनरञ्जन जोशीले एउटा प्रख्यात अंग्रेजी साप्ताहिकको सम्पादककै बारेमा भनेको सुनेको छ पंक्तिकारले— कट एन्ड पेस्ट हो त्यो ।

पुरस्कार पाएको पुस्तक

पुरस्कार पाएको पुस्तक एउटा समयको वा प्रतिस्पर्धीमध्येको एउटा राम्रो अवश्य होला । नभए त्यो पाउने कुरै थिएन । तर, त्यो पाएपछि, त्यसको प्रकाशक र पुस्तक पसलेले ढ्याङ्ग्रो पिटेको भरमा, बेस्ट सेलिङ भनिदिएको भरमा पुस्तक छान्ने र पढ्ने बानी बसाल्नु कान नछामेर कागको पछि लाग्नुजस्तै हो ।

एल्बर्ट आइन्स्टाइनले कहिले नोबेल पुरस्कार पाए र ? तर, सयौं–सयौं त्यो पुरस्कारका विजेताभन्दा पनि महान् मानिन्छन् उनी । प्रज्ञाको सदस्यता पुरस्कार हो ठान्नेहरूले पनि बुझे हुन्छ देवकोटा कहिले कुलपति भए प्रज्ञा प्रतिष्ठानको ? क्षणिक मान्यताहरूले लेख्ने र लेखिएको वस्तुको शाश्वत मूल्य हुन्छ भन्ने छैन । जसले यो कुरा बुझ्दैन, त्यसले किताबहरू छिचोल्छ, तर ‘किताबहरू’ पढ्दैन । नाम ठूलो त रामचन्द्र पौडेल र वामदेव गौतम दुवैको छ नि नेपाली दुनियाँमा तर उनीहरूले लेखेको समाजवादको पुस्तक पढेर कुनै टुंगोमा पुगिन्छ ?

भागवत पाठ गर्नेहरूले एउटा थेगो निरन्तर दोहोर्‍याउने गर्छन्— त्यसभित्रको कुनै न कुनै पानामा व्यासको दारीको रौं भेटिन्छ । गोरखपुरको गीता प्रेसमा छापिएको, बट्टाबन्द भएर आएका सय थान पल्टाएर आजै हेरौं, रौं कहीँ पनि भेटिँदैन । आफ्नै दारी खसालेर फेरि टिपे मात्रै हो ।

वाचकहरू स्वयंले त्यो भनाइको रहस्य नबुझेको के हो भने— पुस्तक कुनै पनि खराबै किन नहोस्, त्यसमा ज्ञानको एउटा धर्सो भए पनि भेटिन्छ–भेटिन्छ भनिएको हो । अर्थात् पुस्तक पसलका अति सामान्य किताब पनि उत्तिकै महत्त्वपूर्ण छ, त्यसबाट ज्ञान टिपेर लिने क्षमता आफ्नो हुनुपर्छ ।

पढ्ने कुरा पुस्तक मात्रै हो र छ भन्ने गलत मान्यता पनि कसरी बन्न गएको हो बुझ्नै गाह्रो छ । स्लाइडमा हिलोको लत्को पोतेर माइक्रोस्कोपले नियाल्नु पनि पढ्नु हो, स्वयम्भूको अटालीबाट काठमाडौं सहर नियाल्नु पनि पढ्नु हो । टेलिस्कोपले राति ताराहरू हेर्नु पनि पढ्नु हो ।

र, बाह्र घन्टा पढ्नु, दुई घण्टा पढेको माथि चार घन्टा घोत्लिन नसक्नु पुङमाङ (माथि र तल दुवैपट्टि मुख खुला भएको भाँडा) हुनु हो । खास पढ्ने भनेको पंक्ति नै होइन, तीबीचको शून्य, खाली अर्थात् सेतो ठाउँ हो ।

लेखिने कुरा

नारायणबहादुर सिंहको एउटा उक्ति दोहोर्‍याइदिऊँ— एउटा स्तम्भको आयु एक वर्ष मात्रै हो । अर्थात् नियमित लेख लेख्ने पात्र महान् हो भन्ने आम धारणा नै एक असत्य हो । सिंहले त्यसो भन्नुको कारण छ— स्तम्भ लेख्नेसँग एक वर्ष पुग्दा नपुग्दै मौलिक स्टकहरू सकिन्छन् । त्यसपछि चर्केको एलपी रेकर्डले एउटै ध्वनि बारम्बार दोहोर्‍याइरहेजस्तो पुरानै कुरालाई नयाँनयाँ वाक्यको लुगा मात्रै लाइदिन थाल्छन् ।

र, कन्टेन्ट भनेको हप्तैपिच्छे नयाँ जन्मिन पनि सक्दैन । स्तम्भ नपाउनेले हीनताबोध गर्ने होइन, स्तम्भ लिने गल्ती नै गर्नु हुँदैन । कुनै व्यक्तिको स्तम्भ हद भए ३ महिनासम्म मात्रै पढ्ने गरेको छ पंक्तिकारले ।

हावा र हुरी

तपाईंलाई पढ्ने मुड, लेख्ने मुड कति बेला आउँछ ? कस्तो आसनमा पढ्नुहुन्छ ? दिनको कति घन्टा पढ्नुहुन्छ ? जस्ता प्रश्न सोध्ने र त्यसमा एउटा रहस्यमयी गज्कानका साथ उत्तर दिइने चलन पंक्तिकारले २०२७/२०२८ देखि छापामा याद गर्दै आएको हो । किशोरकालको त्यो भावुकताले छोप्ने समयमा ती आसन र समयसारिणीका कुराहरू विष्मयकारी लाग्थे ।

तर, ती बेपत्ताका हावादारी स्वाङहरू रहेछन् भन्ने आज थाहा हुँदै छ । प्यान र कमोडमाथि बसेर पढे पनि हुन्छ, एउटा गोडा आकाशतिर फर्काएर पढे पनि हुन्छ, एउटा हातले दलिन समातेर झुन्डिँदै पढे पनि हुन्छ, बान्ता आउनै लागेको बेला पढे पनि हुन्छ, दिउसो ११ बजे पढे पनि हुन्छ, हातमा मदिरा लिएर पढे पनि हुन्छ । खाने मुखलाई जुँगाले छेक्दैन भन्ने हाम्रो उखानै छ ।

त्यस्तै एक मुडवादी लेखकमाथि दुई–तीन जना अन्य लेखकले गरेको प्रतिभाहीन भन्ने टिप्पणी (जनकलाल र रमेशनाथका) पढेपछि यहाँ नाम उल्लेख गर्नुपर्ने नै लागेन । क्षमता नभएकाले गर्ने हो आसन र समयसारिणीका कुरा । हेमिङ्ग्वेले जीवनभर उभिएर लेखे, बाल्ज्याकले घ्याम्पोका घ्याम्पो कफी पिएर लेखे ।

डायलन टमस, टीएस इलियट, काफ्फाका कुरा गरिरहनु नियमितजस्तै थियो ईश्वरवल्लभको । एक दिन पंक्तिकारले सोध्यो— तपाईंले कलेजमा पढ्नुभएको चाहिँ के हो ? उनले उत्तर दिए— मैले फलानो र फलानो विषय गरी सातवटा विषयमा स्नातक उपाधि लिएको छु । त्यसको दुई वर्षपछि थाहा भयो— ती यथार्थमा एउटा विषयका मात्रै स्नातक थिए । हरेक पश्चिमा लेखकको बारेमा अभिव्यक्ति दिँदा अभिनयसहित अतिरञ्जना गरेर आफूलाई बुझक्की देखाउने तिनको क्रनिक रोग थियो । अहिले पनि नेपाली छापाहरूमा यो रोग देखिन्छ, देखिरहिएको छ ।

देवकोटालाई देवकोटा बन्न कुनै आसन र मुड चाहिएको थियो ?

अन्तर्राष्ट्रिय स्तर

अन्तर्राष्ट्रिय स्तरको छ फलानो किताब तपाईंले पढ्नुभए हुन्छ— यसो भन्ने पात्र र सम्बन्धित पुस्तकका लेखक दुवै बितिसके । तर, उतिबेला त्यो पुस्तक खोजेर पढेपछि सिफारिस गर्ने व्यक्तिकै स्तरमाथि पंक्तिकारको मनमा दया जाग्यो । किनभने विदेशी स्थान नामहरूको उल्लेख हुँदैमा त्यो अन्तर्राष्ट्रिय स्तरको हुँदैन ।

खासगरी परराष्ट्र सेवाका पूर्वकूटनीतिज्ञहरूले लेखेका कृतिहरूमा नाम चलेका राष्ट्र प्रमुख, सरकार प्रमुख, विदेशी राजधानी, स्तरीय खानपिन, पहिरनका प्रशस्त सन्दर्भ हुन्छन्, पेसा नै त्यस्तो प्रकृतिको भएपछि विवरण त्यस्तो हुनु स्वाभाविक हो । तर, त्यस्तै संस्मरणलाई अन्तर्राष्ट्रिय स्तरको ठान्ने जुन भ्रम छ नेपालका बहुसंख्यकको— त्यो डरलाग्दो छ । हेनरी किसिंगरका पुस्तकहरू त्यही पाराका छन् ? आफैंले आफैंलाई प्रश्न गर्न नसकेको किन ? आफ्नो अवचेतन मनमा गढेका विदेश सम्बन्धित हीनताबोध पहिल्याउन नसकेको किन ?

अन्तर्राष्ट्रिय स्तरका होइनन् ग्रामीण स्तरका हुन् चेखबका, ओ हेनरीका, मोपाँसाका कथाहरू । तिनलाई अन्तर्राष्ट्रिय मान्यता दिलाएको मात्र हो पश्चिमले । इस्मत चुगताई र सहादत हसन मन्टोलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नसकेका हुन् इन्डिया र पाकिस्तानले । स्तर र मान्यताबीचको अन्तर छुट्टयाउन नसक्दा बेपत्ताको अन्योल छ कृतिको स्थानबारे नेपालमा । साहित्यिक रचनाहरू अन्तर्राष्ट्रिय स्तरको भनेर खोज्नु र लेख्ने प्रयास गर्नु यतीलाई खोजेजस्तै हो । गैरआख्यानसमेत पनि अन्तर्राष्ट्रिय स्तरको भन्ने हुँदैन, आईएसओ ९०० सिरिजको बाथटब भनेजस्तो । भौतिक उत्पादन होइन यो, प्रसिद्धि मात्रै अन्तर्राष्ट्रिय स्तरको प्रचारप्रसार मात्रै विश्वव्यापक हुन्छ कतिपयको ।

‘कर्नाली ब्लुज’, ‘सेतो धरती’ अन्तर्राष्ट्रिय स्तरका होइनन् भन्ने मापदण्ड के हो ? भर्नाकुलर भाषामा लेखिएकाले ? र, सलबेल्लोले अन्तर्राष्ट्रिय स्तरका उपन्यास लेखेको मानिने किन ? नोबेल पुरस्कार पाएकाले ? बुझाइको समस्यामा छन् नेपालीहरू ।

नाममा के छ ?

नाम चलेको मानिसको जीवनी भनेपछि त्यो पढ्न नेपाली मात्रै होइन, संसारै हतारिन्छ तर त्यस्ता ९९ प्रतिशतले स्वयं आफ्नै उक्ति ‘तिम्रो फोहोर तन्ना सार्वजनिक स्थानमा नधोऊ’ लाई उल्लंघन गरेका हुन्छन् । सरल कारण के हुन्छ भने सबैले आफूलाई दलाई लामा नै ठानेका हुन्छन् । आफ्ना सम्पूर्ण ‘ट्यान्ट्रम’ हरू बिक्न लायक छन्, प्रशंसा गरिन लायक छन्, अनुकरण गर्न लायक छन् भन्ने मनोविज्ञान छताछुल्ल हुन्छ त्यस्तो पुस्तकहरूमा ।

पोताला दरबारको दलाई लामा बस्ने माथिल्लो तलाको कक्षको पछाडिपट्टि शौचालय थियो, त्यसको प्वालबाट उनको दीर्घसंका भीरको तल सार्वजनिक स्थानमा खस्थ्यो, त्यसलाई टिपेर सुकाएर जडीबुटीको रूपमा प्रयोग गर्थे, हानथाप गर्दै तिब्बतीहरू भनेर लेखेका छन् ‘टिबेट’ शीर्षकको कृतिमा सेम्योर टपिङले ।

यसैले म हिलारी क्लिन्टनको जीवनी किन पढौं ? पंक्तिकारले पहिलोपल्ट डोनाल्ड ट्रम्पको नाम सुनेको सन् १९९१ मा जति बेला तिनकी पत्नी इभाना ट्रम्प थिइन्, ती ४ अर्ब डलरका मालिक थिए । तिनको जीवनी किन पढौं, नेहरूको जीवनी म किन पढौं ?

यथार्थमा कसैका जीवनी पनि अनुकरणीय हुँदैनन्, अनुकरणीय देखाइएका हुन्छन् । अनुकरणीय किन हुँदैनन् भने उसैको बाटो हिँडेर उसैले हासिल गरेको ठाउँमा पुगिन्छ ठान्नु नै गलत ठहर्‍याउँछ टाइम सिद्धान्त नामको चौथो आयामको सिद्धान्त लागू गर्ने हो भने । बुद्धले हिँडेको बाटोबाट निर्वाण प्राप्त उनैले गरे होलान्, अरूका निम्ति त्यही बाटो सही हुन्छ भन्ने ग्यारेन्टी छैन । कसले देखेको ग्यारेन्टी छ निर्वाण प्राप्त गरेको ?

नाममा के छ ? सेक्सपियरले नै भनेका छन् । तर, असंख्य मानिसहरू नामका पछाडि कुद्छन् । यो पाइड पाइपर अफ हेमलिन भन्ने कविताको मुसा आफू भइरहेको थाहा नपाउनुजस्तै हो ।

नाममा के छ ?– २

यता नेपालमा चलेको प्रवृत्ति भने बेग्लै छ । तिम्रो फोहोर तन्ना सार्वजनिक स्थानमा नधोऊको माने नबुझेर हो वा त्यो काँठ संस्कृति नै आफ्नो मौलिक भएकाले हो फोटोकपी गरेर आफ्ना भाइभतिजा, नातेदारलाई मात्रै बाँडे हुने घरायसी विवरणका एक दर्जन नमुना यतिबेला बजारमा छन् ।

समाजमा नाम चलेको मानिस मैले लेखेको भनेपछि छाप्न किन हुँदैन ? भएको हो यहाँनिर । तर, जुन प्रसंगहरूबाट पाठकले आहा भन्न सक्दैन, केही सिक्न सक्दैन, केही महत्त्वपूर्ण कुरा जान्न पनि सक्दैन, त्यस्ता कुराहरू समेटिएको ठेली पस्किदिनु पनि अपराध हो, अपराधलाई किन उत्साहित गर्ने ?

तिमीलाई किन पढूँ ?

‘राइजिङ नेपाल’ मा छापिएको एउटा धेरै पुरानो समाचारको सम्झना आइरहेको छ बिल गेट्ससम्बन्धी । आफ्नो फेसबुक अकाउन्ट बन्द गर्दा उनले दिएको कारण थियो— दिनको दसौं हजारले म तिमीलाई साथी बनाउन चाहन्छु भनेर सन्देश पठाउँछन् तर मेरो मनमा प्रश्न उठ्छ— के म तिमीलाई चिन्छु र ?

(पंक्तिकारले फेसबुक, ट्वीटर, ब्लग साइट, इन्स्ट्राग्राम जानाजान नचलाउनुको कारण भने अर्कै हो । उसको नामको फेसबुक अर्कैले चलाउँछ ।) ठीक त्यसैगरी एउटा पाठकले तिमीलाई किन पढूँ ? भनेर लेखकलाई निरन्तर सोधिरहन सक्दैन भने त्यो सक्कली पाठक होइन, पढ्ने प्रयास नगरे हुन्छ ।

पुछारमा

हिजो मात्रैको भाषा पाठशालाबाट सुरु भएको संस्थागत शैक्षिक संस्कारले पनि होला— अध्ययन र अध्यावसाय भन्ने कुरा नेपाली समाजमा उति गहिरोसँग भिजेको छैन । सय वर्षको हाराहारीमा पुगेका केही स्कुलहरू र एक शताब्दी पनि नपुगेको विश्वविद्यालय स्थापनाको कथाले ज्ञानको बलियो टेको मिलेको थियो हामीलाई भन्ने कुराको पुष्टि गर्दैन ।

कास्कीको चिसापानीमा कस्यप आश्रम (गुरुकुल) थियो भन्ने योगी नरहरिनाथको मन्तव्य र योगी याज्ञवल्क जनकपुरका थिए, जसको गार्गीसँग शास्त्रार्थ भएको थियो भन्ने कुराले यहाँ पनि नालन्दा थियो र तक्षशिला थियो भनिदिनु एकै छिन गफ गर्न अवश्य काम लाग्छ साँच्चै पुष्टि नहुन्जेल ।

काशीलाई एकथरीले र हार्वार्डलाई अर्कोथरीले बनाउने आदर्शका बीच च्यापिएको वर्तमान सोच प्रणालीमा मौलिक धरातल खोज्नु पनि आयरल्यान्डमा सर्प फेला पार्नुजस्तो कठिन कुरा हो ।

अध्ययन आफ्नै मनको सुखका लागि मात्र हो । नकि अरूको कुनै किसिमको अनुकरण गर्नका निम्ति भन्ने बोध नहुन्जेल चाहे नागरिकको नाममा होस्, चाहे देशको नाममा होस् चिन्तनको बलियो धरातल बन्दैन । र, जबसम्म त्यो धरातल निर्माण हुँदैन, लेखन भनेको अध्ययनको सहउत्पादन मात्र हो भन्ने अर्थ हाम्रो युगले बुझ्ने छैन ।

उखु पेलेर चिनी बनाउने क्रममा खुदो, अल्कोहल पनि सहउत्पादनका रूपमा आउँछन् । तिनलाई अरू उपयोगमा ल्याउन सकिन्छ, त्यसले नराम्रो नै गर्छ भन्ने छैन । तर, औषधिले शरीरमा पहिला नै विद्यमान रासायनिक तत्त्वसँग मिलेर बनाउने यौगिक पनि सहउत्पादन नै हो, त्यसले जे असर गर्छ साइड इफेक्ट भनिन्छ त्यसलाई भन्ने सबैलाई थाहै छ । यसैले लेखोटहरूले सधैं उपयोगी सहउत्पादनहरू गर्छन् भन्ने ग्यारेन्टी छैन । त्यसले साइड इफेक्ट पनि गर्छ । त्यहाँनेर चिन्तनको एउटा मौलिक धरातल नभएको मुलुकमा बहुसंख्यक लेखोटहरू पाठकहरूका निम्ति निरन्तर साइड इफेक्ट गर्ने प्रकृतिका हुन पुग्छन् । जे हामी देखिरहेछौं नै, त्यसमा के नै भन्नु छ र ?

(शनिबार प्रकाशन हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘कोसेली’बाट ।)

प्रकाशित : वैशाख २४, २०७८ १८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×