ओ अमेरिका  !- कोसेली - कान्तिपुर समाचार

ओ अमेरिका  !

मनप्रसाद सुब्बा

ओ अमेरिका  !
तिमीले सुन्यौ ?
कि एक तन्नेरी नेपाली भाषी कविले
तिमीलाई ठाडै काफरे भनेको छ  !

काफर त तिमी पक्कै नै हौ ।

भूतसँग डराएजस्तै भियतनामसँग डराउँथ्यौ

अहिले किम जोङ् उन् तिम्रो इन्सोम्निया भइराखेको छ ।

यौटा सानो टापु फेदरवेट बक्सिङ च्याम्पियनसित

तिमी हेबिवेट लगलग काम्छौ ।

कालो छालासित तिमी यस्तरी डराउँछौ

जसरी नानीहरु डराउँछन् अन्धकारसित ।

त्यो डर तिमी घुँडाको पांग्रामा बोकिहिँड्छौ

र, मौका पाउनासाथ

तिम्रो त्यो सेतो डर

कालो सुन्दर घिच्रो थिच्न झम्टिन्छ ।


हिजो दिउसै

फुटपाथमा हिँडिरहेकी मेरी एसियाली दिदीलाई

तिम्रो सेतो लातले भकुर्‍यौ

पूर्वेली घामले रन्केको उसको एसियाली अनुहारसित

तिमीलाई यत्रो डर ?


तिम्रो छालाको सेतो रङ त सेतो नै पनि कहाँ रहेछ र !

सातो उडेको सेतो पो रहेछ त्यो

कि अरु रङहरु देखेर सधैं तर्सिराखेको ।

उसबेला

रातो रगत कुदिरहेको राता अनुहारहरु देखेर

तिमी यति डरलाग्दो डरायौ

कि त्यो अनाम देशका राता इष्टदेव–देवीहरूलाई निमिट्यान्न नपारून्जेल

तिम्रो सेतो डर सेतोपन उडेको

सिसा भइरहृयो ।


तिम्रो सेतो डर यति हिंस्रक र आक्रामक छ

कि यो सधैं जाइलाग्छ मात्र ।

(डर नै डर पैदा गर्ने डरलाग्दो हुँदै जाँदोरहेछ ।)

तिम्रो विशालकाय चील अग्लो टावरमा बसेर

रहस्यात्मक ढंगले डर खिलखिलाउँछ– कु क्लक्स क्लाा... कु क्लक्स क्लाा...।


एकापट्टि बेल्टमा हतकडी र अर्कोपट्टि पिस्तोल भिरेर

के तिमी सारा संसारकै पुलिस बन्न खोजेको ?

पुलिस जो सत्ताकै एक कायर रुप न हो ।

तिमी पुलिस डेरेक सभिन

जसको घुँडामा ट्याटु गरेको मानचित्र

छ अमेरिकाको

तर, जुन मानचित्रमा छ कालो टाटो जर्ज फ्लोयडको घिच्रोको

र, त्यो कहिल्यै नमेटिने टाटोको

आकार बढेर

अहिले टेनेसीदेखि मिनियापोलिससम्म

पुगेको छ

टेनेसी जहाँबाट वासिङ्टन डीसी पुगेर मार्टिन लुथर किङ जुनियरले

यौटा इन्द्रेणी सपना टाागेका थिए क्यालिफोर्नियादेखि भर्जिनियासम्म

त्यै सुगन्धित सपनासँग डराउनसम्म डराएर

तिमीले लुकेर त्यो सपनाको आँखा फुटाउन गोली चलायौ

तर, त्यो सपना त

मार्टिनको आँखाबाट असत्य आँखाहरुमा

सङ्कल्प बलिसकेको थियो ।


तिम्रा तेह्रवटा राता–सेता तेर्सा धर्काहरुले

तिमी डल्लै पृथ्वी बेह्रेर बाँधिराख्न चाहन्छौ

अनि तिनै धर्काको एक छेउमा

थुप्रेर बसेका पचासवटा ताराहरु

यही पृथ्वीको आकाशमा चकाचौंध चम्केर

पृथ्वीका सारा आँखाहरुलाई निभाउन चाहन्छन् ।


धेरैले भन्छन्

कि यो अमेरिकाको शक्ति हो

तर, म भन्छु

कि डरको योभन्दा भयंकर प्रदर्शनी अरु के हुन सक्ला र  !

प्रकाशित : वैशाख १८, २०७८ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्

फिरन्ते फर्नको भ्यान

रीना मोक्तान

यस वर्षको ओस्कार एसियाली देश र महिला फिल्ममेकरका लागि ऐतिहासिक बन्यो । ओस्कारको ९३ वर्षे इतिहासमा निर्देशनतर्फको विधामा यस वर्ष पहिलो पटक २ महिला एकैसाथ मनोनयमा परे । आइतबार सम्पन्न अवार्डमा यी दुवै फिल्ममेकर रित्तो हात फर्किएनन् । चीनकी क्लोईले ‘नोम्याडल्यान्ड’ बाट निर्देशनतर्फ अवार्ड प्राप्त गरिन् भने ‘प्रमिसिङ योङ वुमन’ बाट एमरेल्ड फिनेलले ओरिजिनल स्क्रिन–प्लेका लागि ओस्कार उचालिन् । क्लोई निर्देशनमा ओस्कार जित्ने पहिलो एसियाली महिला बनिन् । यो विधामा अवार्ड प्राप्त गर्ने उनी दोस्रो महिला हुन् । यसअघि ‘दी हर्ट लकर’ बाट सन् २०१० मा क्याथरिन बिगेलोले यो अवार्ड प्राप्त गरेकी थिइन् ।

‘नोम्याडल्यान्ड’ बाटै फ्रान्सेस म्याकडोरमेन्डले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । यसअघि उनले सन् १९९७ मा ‘फार्गो’ र सन् २०१८ मा ‘थ्री बिलबोर्डस् आउटसाइड एबिङ, मिजोरी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । त्यस्तै ओस्कारमा यस वर्ष दक्षिण कोरियाली अभिनेत्री यजङ उङले ‘मिनारी’ बाट उत्कृष्ट सह–अभिनेत्रीको अवार्ड उचालिन् । ७३ वर्षीया यजङ ओस्कार जित्ने पहिलो दक्षिण कोरियाली अभिनेत्री बनेकी छन् । यसअघि वोङ जुन हुले ‘प्यारासाइट’ बाट उत्कृष्ट फिल्म र निर्देशकको अवार्ड जितेका थिए । वोङ जुन हुपछि क्लोई र यजङले एसियाली मुलुकको ओस्कारमा दमदार उपस्थिति देखाएका छन् ।

...

यस वर्ष उत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीको ओस्कार जित्ने ‘नोम्याडल्यान्ड’ एक अधेड उमेरकी महिलाको कथा हो । फिल्ममा अमेरिकाको आर्थिक मन्दीमा सबै कुरा गुमाएपछि भ्यान ड्वेलिङ (भ्यानलाई घर बनाएर फिरन्ते भएर बाँच्ने) मा बाँचेकी महिलाको जीवन देखाइएको छ । वर्षौंदेखि काम गर्दै आएको यूएसजी कोर्पोरेसन बन्द भएपछि ६० वर्षीया फर्न बेरोजगार बन्छिन् । त्यसैबीच पतिको निधन हुन्छ । सबै कुरा गुमाएपछि आफ्ना सामान बेचेर उनी एउटा भ्यान खरिद गर्छिन् । र, त्यही भ्यान लिएर विभिन्न ठाउँमा काम खोज्दै हिँड्छिन् । अभाव अनि एक्लोपनाबीच उनी कसरी त्यो साँघुरो भ्यानमा जीवन गुजार्छिन् ? ‘नोम्याडल्यान्ड’ को कथा यही नयाँखाले जीवनमाथि घुमेको छ ।

फर्नको सुत्ने कोठा त्यही भ्यान हो । भान्सा त्यहीँ छ । त्यही साँघुरो भ्यानमै ग्यास चुल्हो, एकसरो भाँडा, लत्ताकपडा, ट्वाइलेट र जीवन चलाउन अत्यावश्यक पर्ने सामग्री अटाएकी छन् फर्नले । सीधा उभिँदा शिर ठोक्किने भ्यान छ, त्यही भ्यानमा उनले आफूलाई पनि अटाएकी छन् । भ्यानको जीवन सजिलो छैन । असहजताबीच जीवन सजिलो बनाउन खोज्छिन् । गरिबीले गाँजिएको उनको जिन्दगीको चक्का सजिलै गुड्न तयार छैन । त्यसैले भेटेजति काम गर्छिन् । काम खोज्दै जाँदा एक जनाले फर्नलाई अवकाश लिने समय भइसकेको सुझाउँछिन् । तर, फर्न उनलाई भन्छिन्, ‘मलाई काम चाहिन्छ । मलाई काम गर्न मन पर्छ ।’

फर्न आत्मनिर्भर छिन् । एक्लो छिन् । नयाँ वर्षको उत्सव एक्लै मनाउँछिन् । सुरताल नमिलेको जिन्दगीमा उनले बजाउने बाँसुरी बेसुरको सुनिन्छ । मरुभूमिका दृश्यमा क्लोईले ‘सिउँडी’ लाई विम्बात्मक रूपले प्रस्तुत गरेकी छन् । दुई–तीन पटक दृश्यमा फर्न र ‘सिउँडी’ सँगै देखाइएको छ । अप्ठ्यारा ठाउँमा पनि उम्रने यी बिरुवाले फिल्ममा फर्नलाई विम्बात्मक रूपमा प्रस्तुत गर्छ । जस्तोजुकै परिस्थितिमा पनि अनुकूल भइदिने यो बिरुवाले जीवनका हरेक परिस्थितिलाई धैर्य र शक्तिसहित सामना गर्ने फर्नको प्रतिविम्ब गर्छ ।

आइस जम्ने चिसो ठाउँमा भ्यानभित्र कठ्याङ्रिँदै रात काट्छिन् फर्न । कहिले भ्यानको पांग्र्रा बिग्रन्छ त कहिले भ्यान नै बिग्रन्छ । उनी यी हरेक परिस्थितिलाई सहजै सामना गर्छिन् । सडकको नयाँ जिन्दगी र अभावबीच उनको संघर्ष चलिरहन्छ । बाँच्नकै लागि उनले गर्ने संघर्षको कथा फिल्ममा रोचक ढंगले प्रस्तुत गरिएको छ । अभाव र घटी–कमीबीच जीवन जिउनेहरूको कथा भन्छ फिल्म । दुःखका ठूला पहाडलाई धैर्य र साहसँग लड्न सिकाउने फिल्म हो ‘नोम्याडल्यान्ड ।’


फर्नले आर्थिक सम्पन्नतालाई पनि विम्बात्मक फ्रेममा देखाएकी छन् । भ्यान बिग्रेपछि फर्न आफ्नी बहिनी बस्ने ठाउँमा पुग्छिन् । बहिनी आर्थिक रूपले सम्पन्न छिन् । त्यसैले बहिनीको घरलाई पर्दामा हरियाली देखाइन्छ । उता फर्नलाई भने अक्सर उजाड स्थानमा देखाइएको छ । बहिनी फर्नलाई आफूसँगै बस्न अनुरोध गर्छिन् । तर, फर्न मान्दिनन् । उजाड भूमिको ती दुःखलाई किन छोड्न चाहन्नन् फर्न ?

फर्नलाई ठूलो कोठा र मिलेको बिस्तारामा निद्रै पर्दैन । उनले विस्तारै भ्यानको यात्रामा मिल्ने स्वतन्त्रता चाखिसकेकी हुन्छिन् । फिल्मले मानसिक स्वतन्त्रता खोज्नेका कथा पनि समेटेको छ ।

क्लोईले फर्नको कथा भन्न जेसिका ब्रडरले लेखेको गैर–आख्यान ‘नोम्याडल्यान्ड : सर्भाइभिङ अमेरिका इन द ट्वान्टी फस्ट सेन्चुरी’ लाई रोजिन्, जसले सम्पन्न अमेरिकाभित्रको गरिबी देखाउँछ । क्लोईले औपन्यासिक पात्रलाई वास्तविक पात्रहरूसँग उभ्याएर फिल्मको कथा भनेकी छन् । वास्तविक नोम्याडहरू लिन्डा मे, स्वांकी र बव वेल्सलाई पर्दामा उनीहरूकै कथाका लागि छनोट गरिएको छ । फिल्ममा फर्नको भूमिका निर्वाह गरेकी छन्– फ्रान्सेस म्याकडोरमेन्डले । फर्नको भूमिकालाई उनले जीवन्त ढंगले प्रस्तुत गरेकी छन् । फर्नको निराशा, एक्लोपना र जिन्दगीसँगको संघर्षलाई पर्दामा म्याकडोरमेन्डले दुरुस्तै बाँचिदिएकी छन् ।

फर्नको निराशा र एक्लोपना महसुस गराउने संगीत फिल्मको अर्को बलियो पक्ष हो ।

प्रकाशित : वैशाख १८, २०७८ १०:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×