सम्झनामा नाटक– नौटङ्की- कोसेली - कान्तिपुर समाचार

सम्झनामा नाटक– नौटङ्की

मेरो नाटक मञ्चनपछि साहित्य–सिद्धान्तकी प्राध्यापकले सोधिन्, ॅअग्निको–कथा नाटक लेख्ने नाटककार मरेको कति भयो ?’
अभि सुवेदी

गएको साललाई हामीले नाटक दिवसको बेला पारेर खुब सम्झ्यौं । मञ्चदेखि मिडियासम्मका चौतारीमा सम्झ्यौं । सबैका सम्झनाका तरङ्ग लगभग उस्तै थिए । आपत् परेका बेला नाटक गर्नेले जाने ठाउँ मञ्च नै हो । केही मञ्चन सडकमा पनि भए । तर, नेपालमा राजनीति गर्नेले नयाँ नाटक गर्ने शैली निकाले । उनीहरूले आफ्नै किसिमका गाईजात्रा नाच र अभिनय गरे । नाट्य–रङ्गमञ्चमा काम गर्नेहरूले यसको मर्यादाभित्र रहेर नाटक गरे । नाटक एउटा जीवनको शक्तिशाली कला हो भन्ने कुरालाई जोडतोडले सम्झाइबसे । एरिस्टोटलले भने नाटकको मूल आत्मा भनेको परिर्वन वा रिभर्सल हो । गम्भीर होस् कि कमेडी, नाटकको आत्मा भनेको एउटा अवस्थाबाट अर्कोमा हुने परिवर्तन हो ।

इतिहासमा पनि यस्ता परिवर्तन हुन्छन् । त्यसैले नै इतिहास बनिने हो । पश्चिमी विचारक हेगेलले ‘रिभर्सल’ हुन्छन् इतिहासमा भने । तिनका चेला कार्ल मार्क्सले भने– इतिहासै परिवर्तन भएर आउँछ । पहिले ट्र्याजेडी हुन्छ, अनि दोस्रोपल्ट नौटङ्की हुन्छ, कमेडी हुन्छ । शास्त्रतिर नलागी भन्ने हो भने तिनले ठीकै भनेछन् । हाम्रोमा हामीले रङ्गमञ्चमा देखाउन सक्नेभन्दा बढी नाटक समाजमा देखिए । राजनीति गर्नेहरूमा त्यस्ता नाटकका पटाक्षेप भए । कोही महान् क्रान्तिकारी कमिनिष्टहरू रामभक्त हनुमान भए । कोही अति नै परिवर्तनकारी विदूषक भए । कसैले साधुसन्तका विशाल भीडमा गएर एकल नाटक अभिनय गरे । कसैले कृष्णले गोवर्धन पहाड उचालेजस्तै नेपाललाई यसै माथि उचालेका अभिनय गरे । हामीले भने रङ्गमञ्चमा जीवनका मूल स्पन्दनका अभिनय गर्‍यौं ।

मलाई अहिले विगतका आफ्ना केही नाट्य अनुभवहरू यहाँ राख्न मन लागेको छ । धेरै छन्, लेख्दा सानो पुस्तिका हुन्छ । तर, केही अनुभव यो शनिबार पढिने कालममा राख्न चाहन्छु । केही आफ्नै नाटकहरू लिएर बाहिर गएका बेलाका अनुभव छन् । तिनमध्ये एकाध घटना सुनाउँदा अहिले कोरोनाले बन्दी भएको अवस्थामा रमाइलो लाग्छ ।

ढाकामा फागुन २०५७ को पहिलो साता एउटा ठूलो नाट्य महोत्सव भयो । त्यसमा नेपालबाट मैले लेखेको नाटक ‘आरुका फूलका सपना’ लिएर आरोहणको टोली गयो, म पनि गएँ । सुनील पोखरेलको निर्देशनमा यो नाटक प्रस्तुत भएको थियो । यस नाटकमा कवि मञ्जुलले पहिलोपटक कविको पाठ अभिनय गरेका थिए । हाम्रो नाटकबाटै त्यो महोत्सव उद्घाटन भएको थियो । त्यो बेला पनि अहिलेकै शेख हसिना प्रधानमन्त्री थिइन् । उनी पनि उद्घाटनमा आएकी थिइन् । तर, मञ्चमा गएर त्यसको उद्घाटन गर्ने जिम्मा भने मन्त्रीको थियो । यही कान्तिपुर कोसेली (२७ फागुन २०५७) मा यस्तो रिपोर्ट छापिएको थियो, ‘दिनभरि रंगमञ्च बनाउँदा बित्यो । बेलुका सात बजे उद्घाटन गर्न संस्कृति राज्यमन्त्री आउने भएकाले सुनीलको रंगमञ्चको पृष्ठभाग ढाकेर उद्घाटन र आयोजकका नाम अंकित ठूला ब्यानर नाटक हुने बेलामा हटाउने गरी टाँगियो । कवि मञ्जुल उठेर सूत्रधारजस्तो तीनवटा काल–खण्ड र स्थान पार गर्न बनाइएको एउटा गोलो मञ्च छलेर भाषण गर्ने माइकसम्म पुग्ने व्यवस्था थियो । उद्घाटनको क्रममा माइकतिर जाँदा मन्त्री मञ्जुलको त्यो त्रिकालिक आसनमा अल्झेर ड्याम्मै लडे । त्यो हटाउँछन् कि क्या हो भन्ने थियो, आईटीआई महासचिव अताउर रहमानले हटाउन दिएनन् ।’ प्रधानमन्त्रीसँगै ती मन्त्रीले पनि नाटक हेरे ।

अर्को सम्झना युरोप डेनमार्कको छ । डेनमार्कको आल्बोर्ग विश्वविद्यालय र आरोहण गुरुकुल थिएटरको सहकार्यमा त्यहाँको रङ्गमञ्चमा हेनरिक इब्सेनको ‘पुतलीको घर’ शीर्षकमा ‘अ डल्स हाउस’ र मेरो ‘अग्निको कथा’ मञ्चन भएका थिए । असोज १३, २०६० मा अल्बोर्ग विश्वविद्यालयमा यी नाटक नेपालीमा नै प्रस्तुत भएका थिए, तर भित्तामा केही अनुवादका वाक्यहरू पनि कुँदिरहेका थिए । त्यसैले दर्शकले नाटक सजिलै बुझेका थिए । निशा शर्माले इब्सेनको नाटकमा नोराको र ‘अग्निको कथा’ मा भिक्षुणीको पाठ खेलेकी थिइन् । दुवै पाठ उनले त्यसरी सरल र सहज किसिमले खेलेको देखेर त्यहाँका दर्शक चकित भएका थिए । त्यही बेला त्यहाँ ‘नेपालमा लैङ्गिकता र सामाजिक परिवर्तन अनि त्यसका राजनीतिक र सांस्कृतिक प्रभाव’ शीर्षकमा प्राध्यापक योहान्स स्मिटको विशेष सक्रियतामा सेमिनार पनि भएको थियो । त्यसका निम्ति प्राध्यापक लोकराज बराल, डा. चन्द्रा भद्रा, सुमन तुलाधर, म अनि आरोहण गुरुकुलका सुनीलले भाग लिएका थियौं । एउटा रमाइलो घटना सुनाउनु छ ।

आल्बोर्ग थिएटरमा माथि भनिएका नाटकहरू हुने दिन थियो । ‘अग्निको कथा’ मा भिक्षु–भिक्षुणी भएर खेल्ने कलाकारहरूले त्यो त्यति भीड नभएको सुन्दर नगरलाई धेरै मन पराएका थिए । हामी थिएटरमा पुगेपछि चन्द्राले उत्तेजित भएर हामीलाई सुनाइन्, ‘मलाई आज गजबै लाग्यो, बुझ्यौ अभि । यहाँ पनि भिक्षु–भिक्षुणीहरू भेटिने रहेछन् । हाम्रा गुम्बाकै जस्ता पहिरन लाएका घुमिरहेका थिए ।’ हामीलाई पनि सुनेर रमाइलो नै लाग्यो । नाटक सुरु हुने बेला भएकाले कलाकारहरू सबै थिएटरको हाम्रो कक्षामा भेला भए । डा. चन्द्रा भद्राले बाहिर सहरमा देखेका भिक्षु–भिक्षुणीको पहिरन लाएका भिक्षु–भिक्षुणी तिनै रहेछन् । चन्द्रा चकित परिन् । खुब हाँसो भयो । पहिले नै पहिरन लाएर उनीहरू घुम्न निस्केका रहेछन् । नाटक सम्पन्न भयो । तिनै नोरा भएर बाहिर बाटोमा सुनीलको शैलीमा बस्दा दर्शकलाई चकित पारेकी शक्तिशाली कलाकार निशाले मेरो नाटककी भिक्षुणी पूर्णिमाको पाठ जोडदार खेलेकी थिइन् ।

नाटक सकिएपछि अर्कोतिर भेटघाटको कार्यक्रम थियो । नाटकका प्राध्यापक, निर्देशक र त्यहाँका नाट्यकर्मीहरू भेला भए । खानपिनका बेला एक जना प्राध्यापक मेरो अगाडि आइन् । यिनलाई सेमिनारमा चिनेको थिएँ । उनले औपचारिक भाषामा सोधिन्, ‘डाक्टर, यो अग्निको कथा नाटक लेख्ने नाटककार मरेको कति भयो ?’ मलाई थाहा थियो, तिनले यो प्रश्न किन सोधिन् ! नोर्डिक देशहरू डेनमार्क, स्विडेन, नर्वे र फिनल्यान्डका एकल बलिया नाटककार हेनरिक इब्सेन हुन् । सबैका साझा र प्रिय नाटककार ! अहिले पनि तिनका नाममा विश्वभरि यी सबै देशले लगानी गर्छन् । बंगलादेशका नाटकका मित्रहरूका त्यहाँका राजदूतावासबाट सहयोग लिएर यिनका नाटक देखाउने चलन छँदै छ । हाम्रा पनि सुनील पोखरेल यिनको नाममा यसो केही सहयोग लिन सफल भएका हुन्, गुरुकुलका निम्ति । इब्सेन फेस्टिबल नै आयोजना गरे सुनील भाइले । भारत र पाकिस्तानका समूहहरूले पनि आएर यिनका नाटक र विविधतामाथि प्रस्तुति गरेका थिए । त्यता नलागौं । सार के हो भने यी नोर्डिक देशहरूमा नाटककार भनेको एकल इब्सेन–विम्ब हो, इब्सेन–रूपक हो । त्यो मरिसकेको हुन्छ । मिल्छ भने त्यो उन्नाइसौं शताब्दीको हुन्छ, खासै अहिले हुँदैन । मैले घुमाएर ती साहित्य सिद्धान्तकी प्राध्यापकलाई फ्रान्सेली रोलाँ बार्थको ‘लेखकको मृत्यु’ भन्ने लेख सम्झाएँ । लेखिसकेपछि लेखक मर्छ भन्ने उनको निर्वैयक्तिक सिद्धान्त पढाइ हिँंड्नेमा म पनि र मेरा अहिले रिटायर्ड भएका र पढाइरहेका विद्यार्थी पर्छौं । कुरा भन्दै जाँदा ती प्राध्यापकले बुझिन् अनि कराइन्, ‘ए, बुझेंँ, यो नाटक तिमीले लेखेको ?’ तिनले मलाई राम्ररी नियालेर सबै कोणबाट हेरिन्, हो जीवितै छ । अनि हाम्रा धेरै स्मरणीय छलफल भए । मित्र भयौं ।

त्यसपछि बराल सर, चन्द्रा, सुमन र म नेपाल फर्क्यौं । आरोहण थिएटर मस्को गए, जहाँ उनीहरूले मेरा पूर्वप्राध्यापक मित्र राजदूत लीलाप्रसाद शर्माको सहयोगमा चेखब थिएटरमा ‘अग्निको कथा’ प्रदर्शन गरे । लीलाप्रसादले भनेछन्, ‘हो, यसरी लेख्नलाई अभि विश्वविद्यालयमै बसे, हामी राजीनामा दिएर यता लाग्यौं ।’ इन्द्रबहादुर राई दाइले मलाई चिठीमा लेखेका थिए, ‘अभि भाइ, हामीसँग तपाईंको सम्झना छ, ले लेख्तै छौं ।’

यो लेख पनि ‘सम्झना छन्’ ले नै लेखेका हौं ।

प्रकाशित : वैशाख १८, २०७८ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्

फिरन्ते फर्नको भ्यान

रीना मोक्तान

यस वर्षको ओस्कार एसियाली देश र महिला फिल्ममेकरका लागि ऐतिहासिक बन्यो । ओस्कारको ९३ वर्षे इतिहासमा निर्देशनतर्फको विधामा यस वर्ष पहिलो पटक २ महिला एकैसाथ मनोनयमा परे । आइतबार सम्पन्न अवार्डमा यी दुवै फिल्ममेकर रित्तो हात फर्किएनन् । चीनकी क्लोईले ‘नोम्याडल्यान्ड’ बाट निर्देशनतर्फ अवार्ड प्राप्त गरिन् भने ‘प्रमिसिङ योङ वुमन’ बाट एमरेल्ड फिनेलले ओरिजिनल स्क्रिन–प्लेका लागि ओस्कार उचालिन् । क्लोई निर्देशनमा ओस्कार जित्ने पहिलो एसियाली महिला बनिन् । यो विधामा अवार्ड प्राप्त गर्ने उनी दोस्रो महिला हुन् । यसअघि ‘दी हर्ट लकर’ बाट सन् २०१० मा क्याथरिन बिगेलोले यो अवार्ड प्राप्त गरेकी थिइन् ।

‘नोम्याडल्यान्ड’ बाटै फ्रान्सेस म्याकडोरमेन्डले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । यसअघि उनले सन् १९९७ मा ‘फार्गो’ र सन् २०१८ मा ‘थ्री बिलबोर्डस् आउटसाइड एबिङ, मिजोरी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । त्यस्तै ओस्कारमा यस वर्ष दक्षिण कोरियाली अभिनेत्री यजङ उङले ‘मिनारी’ बाट उत्कृष्ट सह–अभिनेत्रीको अवार्ड उचालिन् । ७३ वर्षीया यजङ ओस्कार जित्ने पहिलो दक्षिण कोरियाली अभिनेत्री बनेकी छन् । यसअघि वोङ जुन हुले ‘प्यारासाइट’ बाट उत्कृष्ट फिल्म र निर्देशकको अवार्ड जितेका थिए । वोङ जुन हुपछि क्लोई र यजङले एसियाली मुलुकको ओस्कारमा दमदार उपस्थिति देखाएका छन् ।

...

यस वर्ष उत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीको ओस्कार जित्ने ‘नोम्याडल्यान्ड’ एक अधेड उमेरकी महिलाको कथा हो । फिल्ममा अमेरिकाको आर्थिक मन्दीमा सबै कुरा गुमाएपछि भ्यान ड्वेलिङ (भ्यानलाई घर बनाएर फिरन्ते भएर बाँच्ने) मा बाँचेकी महिलाको जीवन देखाइएको छ । वर्षौंदेखि काम गर्दै आएको यूएसजी कोर्पोरेसन बन्द भएपछि ६० वर्षीया फर्न बेरोजगार बन्छिन् । त्यसैबीच पतिको निधन हुन्छ । सबै कुरा गुमाएपछि आफ्ना सामान बेचेर उनी एउटा भ्यान खरिद गर्छिन् । र, त्यही भ्यान लिएर विभिन्न ठाउँमा काम खोज्दै हिँड्छिन् । अभाव अनि एक्लोपनाबीच उनी कसरी त्यो साँघुरो भ्यानमा जीवन गुजार्छिन् ? ‘नोम्याडल्यान्ड’ को कथा यही नयाँखाले जीवनमाथि घुमेको छ ।

फर्नको सुत्ने कोठा त्यही भ्यान हो । भान्सा त्यहीँ छ । त्यही साँघुरो भ्यानमै ग्यास चुल्हो, एकसरो भाँडा, लत्ताकपडा, ट्वाइलेट र जीवन चलाउन अत्यावश्यक पर्ने सामग्री अटाएकी छन् फर्नले । सीधा उभिँदा शिर ठोक्किने भ्यान छ, त्यही भ्यानमा उनले आफूलाई पनि अटाएकी छन् । भ्यानको जीवन सजिलो छैन । असहजताबीच जीवन सजिलो बनाउन खोज्छिन् । गरिबीले गाँजिएको उनको जिन्दगीको चक्का सजिलै गुड्न तयार छैन । त्यसैले भेटेजति काम गर्छिन् । काम खोज्दै जाँदा एक जनाले फर्नलाई अवकाश लिने समय भइसकेको सुझाउँछिन् । तर, फर्न उनलाई भन्छिन्, ‘मलाई काम चाहिन्छ । मलाई काम गर्न मन पर्छ ।’

फर्न आत्मनिर्भर छिन् । एक्लो छिन् । नयाँ वर्षको उत्सव एक्लै मनाउँछिन् । सुरताल नमिलेको जिन्दगीमा उनले बजाउने बाँसुरी बेसुरको सुनिन्छ । मरुभूमिका दृश्यमा क्लोईले ‘सिउँडी’ लाई विम्बात्मक रूपले प्रस्तुत गरेकी छन् । दुई–तीन पटक दृश्यमा फर्न र ‘सिउँडी’ सँगै देखाइएको छ । अप्ठ्यारा ठाउँमा पनि उम्रने यी बिरुवाले फिल्ममा फर्नलाई विम्बात्मक रूपमा प्रस्तुत गर्छ । जस्तोजुकै परिस्थितिमा पनि अनुकूल भइदिने यो बिरुवाले जीवनका हरेक परिस्थितिलाई धैर्य र शक्तिसहित सामना गर्ने फर्नको प्रतिविम्ब गर्छ ।

आइस जम्ने चिसो ठाउँमा भ्यानभित्र कठ्याङ्रिँदै रात काट्छिन् फर्न । कहिले भ्यानको पांग्र्रा बिग्रन्छ त कहिले भ्यान नै बिग्रन्छ । उनी यी हरेक परिस्थितिलाई सहजै सामना गर्छिन् । सडकको नयाँ जिन्दगी र अभावबीच उनको संघर्ष चलिरहन्छ । बाँच्नकै लागि उनले गर्ने संघर्षको कथा फिल्ममा रोचक ढंगले प्रस्तुत गरिएको छ । अभाव र घटी–कमीबीच जीवन जिउनेहरूको कथा भन्छ फिल्म । दुःखका ठूला पहाडलाई धैर्य र साहसँग लड्न सिकाउने फिल्म हो ‘नोम्याडल्यान्ड ।’


फर्नले आर्थिक सम्पन्नतालाई पनि विम्बात्मक फ्रेममा देखाएकी छन् । भ्यान बिग्रेपछि फर्न आफ्नी बहिनी बस्ने ठाउँमा पुग्छिन् । बहिनी आर्थिक रूपले सम्पन्न छिन् । त्यसैले बहिनीको घरलाई पर्दामा हरियाली देखाइन्छ । उता फर्नलाई भने अक्सर उजाड स्थानमा देखाइएको छ । बहिनी फर्नलाई आफूसँगै बस्न अनुरोध गर्छिन् । तर, फर्न मान्दिनन् । उजाड भूमिको ती दुःखलाई किन छोड्न चाहन्नन् फर्न ?

फर्नलाई ठूलो कोठा र मिलेको बिस्तारामा निद्रै पर्दैन । उनले विस्तारै भ्यानको यात्रामा मिल्ने स्वतन्त्रता चाखिसकेकी हुन्छिन् । फिल्मले मानसिक स्वतन्त्रता खोज्नेका कथा पनि समेटेको छ ।

क्लोईले फर्नको कथा भन्न जेसिका ब्रडरले लेखेको गैर–आख्यान ‘नोम्याडल्यान्ड : सर्भाइभिङ अमेरिका इन द ट्वान्टी फस्ट सेन्चुरी’ लाई रोजिन्, जसले सम्पन्न अमेरिकाभित्रको गरिबी देखाउँछ । क्लोईले औपन्यासिक पात्रलाई वास्तविक पात्रहरूसँग उभ्याएर फिल्मको कथा भनेकी छन् । वास्तविक नोम्याडहरू लिन्डा मे, स्वांकी र बव वेल्सलाई पर्दामा उनीहरूकै कथाका लागि छनोट गरिएको छ । फिल्ममा फर्नको भूमिका निर्वाह गरेकी छन्– फ्रान्सेस म्याकडोरमेन्डले । फर्नको भूमिकालाई उनले जीवन्त ढंगले प्रस्तुत गरेकी छन् । फर्नको निराशा, एक्लोपना र जिन्दगीसँगको संघर्षलाई पर्दामा म्याकडोरमेन्डले दुरुस्तै बाँचिदिएकी छन् ।

फर्नको निराशा र एक्लोपना महसुस गराउने संगीत फिल्मको अर्को बलियो पक्ष हो ।

प्रकाशित : वैशाख १८, २०७८ १०:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×