कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

एक शाकाहारीको एकालाप

कहिल्यै देख्नुभएको छ, बाघलाई ‘रोस्ट’ खाँदै नाचेको ? वा सर्पले चाडपर्व मनाउन भ्यागुता निलेको ? सायद मानिस मात्रै यस्तो प्राणी हो, जो यौन र मांसाहारी भोजन मनोरञ्जनका लागि गर्छ । मांसाहारी भोजन गर्न नपाएर मान्छे मरेको कतै सुन्नुभएको छ ?
एउटा यस्तो संसारको कल्पना गरौं, जहाँ शाकाहारीहरू अल्पमतमा नहोऊन् । उनीहरू कटुव्यंग्य र मानसिक पीडाको सिकार नहोऊन् । उनीहरूको मुखमा जबरजस्ती मासु नकोचियोस् !
शिक्षा रिसाल

‘म शाकाहारी हुँ । मासु खान्नँ ।’
यत्ति लेखेर बिट मारेको भए पनि हुन्थ्यो । न पढ्नेलाई झन्झट, न वनमारा भइने चिन्ता । न सम्पादकलाई घण्टौं लगाएर सम्पादन गर्नुपर्ने झमेला । (वनमारा अर्थात् ताइँ न तुइँका किताब लेखेर वन मार्ने र मास्ने लेखकहरूलाई कटाक्षस्वरूप भनिने शब्द ।)

एक शाकाहारीको एकालाप

‘म शाकाहारी हुँ । मासु खान्नँ, अण्डा खान्छु ।’

यत्ति लेखेर ट्वीटरमा पोस्ट गरेको भए पनि हुन्थ्यो । वा इन्स्टाग्राममा एउटा चिटिक्कको भेज डिजाइन गरेर ‘आई हेट ननभेज’ ठेल्दिएको भए पनि हुन्थ्यो । पढ्नेहरूले पढ्थे, अटेन्सन सिकर भन्थे, म गम खाएझैं गर्थें । सकिन्थ्यो ।

तर, वर्षौंदेखि भोगिआएका ती हरेक दुर्वचन र कटाक्षको आज एक–एक हिसाब लिनु छ ।

...

एउटा भनाइ छ, ‘दुनियाँमा सबैको विश्वास गर्नु, तर अण्डा खाने शाकाहारीको विश्वास नगर्नू ।’

हो, म अण्डा खाने शाकाहारी (भेज) हुँ । खासै मरिहत्ते त गर्दिनँ, तर कहिलेकाहीँ खानैपर्ने हुन्छ र खाइदिन्छु ।

म बाल्यकालदेखि नै मासुबाट टाढा बसेँ । मेरो मुखमा अहिलेसम्म जानीजानी परेको छैन । यसमा मेरो कुनै दोष छैन । तर, शाकाहारी भएकै कारण मैले यति धेरै व्यंग्य सामना गरिसकें कि नकुरा गर्नुस् !

यो संसारमा मांसाहारीको दबदबा छ । जहाँतहीँ उनीहरूकै बहुमत छ । उनीहरूका लागि शाकाहारीहरू मान्छे नै होइनन् । कदाचित मान्छेको रूपमा स्वीकार गरिहाले पनि शाकाहारीहरूका लागि यो धर्ती बनेकै होइनझैं गर्छन् (यो मेरो निजी बुझाइ हो । सबैसँग लागू नहुन पनि सक्छ ।)

पुनश्चः यो लेख मांसाहारीहरूको विरोधमा होइन । न त शाकाहारी बन्ने प्रेरणाको एउटा दस्ताबेज नै हो । यी त मेरा अनुभव मात्र हुन् । तर, शाकाहारीले मांसाहारी समाजमा गर्नुपरेको संघर्षको दस्ताबेज भने हो ।

शाकाहारीको आधाभन्दा बढी जिन्दगी त ‘किन शाकाहारी भएको ?’ प्रश्नको उत्तर दिँदैमा जान्छ ।

‘तपाईं कृष्ण प्रणामी हो ?’

‘तपाईंले पापको डरले मासु नखाएको हो ?’

‘तपाईं भगवान्मा विश्वास गर्नुहुन्छ है ? मासु खानुहुन्न नि त ?’

‘व्रत बस्नुहुन्छ ?’

‘ओम शान्तिमा लाग्नुभएको हो ?’

होइन । यीमध्ये म केही होइन ।

यस्ता प्रश्न शाकाहारीले मात्रै हो सामना गर्ने । मानौं उनीहरूले अक्षम्य गल्ती गरिरहेका छन् । हरेक शाकाहारीले जीवनका धेरै मोडमा आफूलाई कठघरामा उभिएको पाउँछ ।

यस्तै प्रश्न मांसाहारीलाई पनि उठे चित्त बुझाउन सकिन्थ्यो—

‘अहो ! किन मासु खाएको ?’

‘ऊ हेर हेर । त्यो मान्छे त मांसाहारी हो नि !’

‘तपाईंका लागि सोयाबिन वा कटहरको तरकारी बनाइदिऊँ ?’

म कहिलेकाहीँ यस्तो संसारको कल्पना गर्छु, जहाँ ९० प्रतिशत जति मानिस शाकाहारी छन् र बाँकी मांसाहारी । मांसाहारीहरू अल्पमत भएको त्यो संसार सम्झिँदा रमाइलो लाग्छ । मासु पनि लुकीलुकी खानुपरेको, कक्षामा पनि मासु खानेलाई सबैले गिज्याएको, मासु खानेलाई जबरजस्ती साग–पात खुवाएको । मासु किन्न पनि लुकी–लुकी जानुपरेको । आहा ! मलाई त सम्झिँदा पनि आनन्द लाग्छ ।

मानिस प्राकृतिक रूपमा शाकाहारी कि मांसाहारी भन्ने विषयमा धेरै बहस भइसकेको छ । यो बहसका पाटाहरू धेरै छन्, जसमध्ये शाकाहारीका तर्क यस्ता हुन्छन्—

— मानिस प्राकृतिक रूपमा शाकाहारी हो । मानिसका शारीरिक अंगहरूबाटै यो कुरा प्रमाणित हुन्छ । प्राकृतिक मांसाहारीहरूको दाँत चुच्चो र तिखो हुन्छ, तर मानिसको दाँत समथर नै हुन्छन् । शाकाहारीहरूले पानी मुखबाट लिन्छन् र निल्छन् भने मांसाहारीहरूले जिब्रोले चाट्छन् (उदाहरण बाघ, सिंह आदि) । शाकाहारीहरू जन्मनासाथ आँखाबाट देख्न सक्छन् भने मांसाहारीहरू जन्मँदा आँखा नदेख्ने हुन्छन् । उदाहरण— मानिसहरू जन्मँदै आँखा देख्ने हुन्छन् । मांसाहारीको नङ तिखो र चुच्चो हुन्छ भने शाकाहारीहरूको समथर । मानिसको नङ चुच्चो हुँदैन ।

— मांसाहारीको पाचन प्रक्रिया अर्को उदाहरण हो । शाकाहारीहरूको आन्द्रा लामो हुन्छ भने मांसाहारीहरूको छोटो । मानिसको आन्द्राको लम्बाइ लामै हुन्छ । शाकाहारीहरूलाई दिनमा दुई–तीन पटक खाना चाहिन्छ भने मांसाहारीहरूले राम्रो आहारा पाए हप्तौंसम्म नखाई बस्न सक्छन् । मानिसलाई खाना दुई तीन पटक चाहिन्छ ।

— शाकाहारीहरूमा शरीरको तापक्रम सन्तुलित गर्ने प्राकृतिक प्रक्रिया हुन्छ । चाहिनेभन्दा धेरै ताप पसिनाजस्ता कुराबाट निकाल्छन् । तर, मांसाहारीहरूमा यो सुविधा हुँदैन । उनीहरूले शरीरको तापक्रम सन्तुलित गर्न जिब्रो बाहिर निकाल्ने गर्छन् । मानिसको पसिना आउँछ ।

— मांसाहारीहरू एक्लै बस्न रुचाउँछन् । शाकाहारीहरू समूहमा बस्न रुचाउँछन् । मानिस सामाजिक प्राणी हो ।

मांसाहारीका पनि आफ्नै अलौकिक तर्क छन्—

— मानिस सर्वहारी हो । शरीरका प्रणालीहरू हेर्दा मानिस शाकाहारीजस्तो लागे पनि क्रमिक विकासले मानिसलाई दुवै चीज खान मिल्ने बनाएको छ । यदि शाकाहारी हुन्थ्यो भने मानिस यहाँसम्म आइपुग्दैनथ्यो । मानव विकासक्रमको सुरुआती कालमा उसले अधिकतम मांसाहारी खाना नै खायो । मांसाहारी खानामा पाइने उच्च पोषणले नै दिमागको आकार बढ्दै गएर अहिलेसम्म आइपुगेको हो । मानिस सर्वश्रेष्ठ हुनुमा दिमाग नै प्रमुख कारक हो । मानिस शाकाहारी खानामै ध्यान दिन्थ्यो त यति बुद्धिमान हुँदैनथ्यो ।

— ‘सर्भाइभल अफ द फिटेस्ट’ सिद्धान्तले पनि यही भन्छ । जसरी हुन्छ, यो संसारमा टिक्नुपर्‍यो । कुकुर प्राकृतिक रूपमा मांसाहारी हो । तर, उसले बाँच्नका लागि सबै खान्छ ।

— शाकाहारी खानामा सबै पोषणतत्त्व पाइँदैनन् । भिटामिन ‘बी–१२’, क्रियाटिन, ओमेगा–३ जस्ता पोषक पदार्थ मासुमा मात्र पाइन्छन् । मिहिनेत धेरै गर्नेलाई शाकाहारी खानाले मात्र पुग्दैन ।

— मासुजस्तो स्वादिलो अरू खाना हुँदैन । मासुले स्वादका साथसाथै ऊर्जा पनि त्यत्तिकै दिन्छ ।

यस्ता तर्क, बाझाबाझ, बहसहरू भइरहन्छन् । हुनु पनि पर्छ ।

तर, सुन्नुपर्छ यस्ता कुराहरू—

‘झोल झोल खा न त !’

‘आइल्यान्डमा १० दिन हराइस् अनि मासुबाहेक केही छैन भने के गर्छेस् ?’

‘साग–पातचाहिँ खान हुने । उनीहरूको चाहिँ जीवन होइन ? त्यसो भए साग–पात पनि नखा !’

‘अनि अण्डा खाएपछि मासुचाहिँ किन खान नहुने ? अण्डा पनि त जीवन हो !’

‘मासु नखाएरै हो यस्तो बिरामी परेकी । तिमीलाई भिटामिन बी–१२ नपुगेको हो !’

‘जिन्दगीमा कति ठूलो कुरा मिस गरिरा’छौ तिमीहरूजस्ता शाकाहारीले !’

यसो बुझ्दा शाकाहारी पनि धेरै किसिमका हुने रहेछन् ।

१) मासु नखाने तर अण्डा खाने– यो संख्या अलि बढी नै होला । यसमा म पनि पर्छु ।

२) मासु, अण्डा, माछा, दूध, दही केही नखाने अर्थात् भेगन– संसारमा हालसालै सुरु भएको यो चलनले पशुबाट निकालिएको कुनै चीज खाँदैन वा लाउँदैन ।

३) मासु, अण्डा केही नखाने तर ननभेज चाउचाउ खाने– यो नयाँ पुस्ता बिस्तारै आफ्नो पकड जमाउँदै छ ।

४) धार्मिक या आध्यात्मिक कारणले मासु, अण्डा, च्याउ, लसुन, प्याज केही नखाने– यो समूहका मानिस धार्मिक वा आध्यात्मिक कारणले ‘शुद्ध शाकाहारी’ बनेका हुन्छन् । आफ्नो खानालाई सात्त्विक भन्न रुचाउँछन् ।

५) अरू केही नखाने तर माछा खाने– यी बुझ्न नसकिने हुन्छन् । माछाचाहिँ मासु हुँदै होइन भन्ने सिद्धान्त बोकेका हुन्छन् । यसमा शारीरिक कारणले बाध्य भएर खान थालेका शाकाहारीहरू पनि हुन्छन् ।

६) न्युली टर्न भेज अर्थात् नयाँ शाकाहारीहरू– अचानक चेतना खुलेर वा पशु प्रेमका कारण मासु छोडेका हुन्छन् । तर, अरूले मासु खाएको देख्दा भित्रभित्र थुक पनि निलिरहेका हुन्छन् । यो समूहमा शारीरिक कारणले मासु छोडेका पनि हुन्छन्, जस्तैः कोलेस्ट्रोल बढेका, कलेजोमा बोसो जमेका आदि । यो समूहमा पर्नेहरूमध्ये कोहीकोही १–२ वर्षको संघर्षपछि पुनः मांसाहारी संसारमा फर्किने पनि हुन्छन् । कोही जीवनभर शाकाहारी पनि हुन्छन् । मांसाहारीलाई शाकाहारी शिक्षा दिनेहरूमा यी अग्रणी हुन्छन् ।

मांसाहारीहरू पनि अनेकथरी छन्—

१) हार्डकोर मांसाहारी– चलमलाउने लगभग सबथोक खाने । चीनतिर फर्किएपछि आफैं बुझिन्छ ।

२) सफ्टकोर मांसाहारी– सबै मासु नखाने । कोही खसी–कुखुरा खाने, भैसी–राँगा नखाने । राँगाको मासु देख्यो कि वाकवाकी आउने ।

३) कुखुरा वा सुँगुर नखाने तर अरू खाने– कुखुरा वा सुँगुरहरूले बिष्टा खान्छन् भनेर घीन मान्ने ।

४) बफ र पोर्कमा प्राण हाल्नेहरू– यो संख्या बढ्दो छ । बफ र पोर्कका फ्यानहरूमा प्रायः नयाँ पुस्ता छन् ।

५) पशु हिंसाको विरोध गर्ने, तर हिंसारहित मासुचाहिँ खाने । लोल– शाकाहारी हुनुको दुःख यहाँ बयान गरी नसक्नु छ ।

दस जनाको पार्टी गर्नुपर्नेछ र त्यहाँ एक जना शाकाहारी छ भने उसले पार्टीभर आफू सीमान्तकृत भएको महसुस गर्छ । बाँकीले पनि उसलाई बोझ ठान्छन् । ठूलो समूहमा आफू एक्लो शाकाहारी परियो भने संसार त्यहीँ सकिएझैं हुन्छ ।

म किन मासु खान्नँ भन्ने विषयमा प्रस्ट छु । म मानव शरीरजस्तै मासु र रगत बग्ने चीज खान सक्दिनँ । त्यसभित्र पनि मेरो शरीरजस्तै रगत बग्छ । त्यो चोक्टाभित्र पनि केही क्षणअघि मेरोजस्तै जीवन दौडिरहेको थियो । बिरुवा खाँदाचाहिँ त्यस्तो लाग्दैन । कहिलेकाहीँ च्याउ खाँदा पनि मासुकै झल्को आउँछ ।

धेरैले भन्छन्, ‘बिरुवामा पनि त जीवन हुन्छ । त्योचाहिँ खान हुने ?’

बिरुवामा जीवन हुन्छ– हो । तर, खान सकिने चीजहरूमा बिरुवा सबैभन्दा कम अप्ठ्यारो लाग्ने चीज हो । अब केही त खानैपर्‍यो, मर्नुभएन ।

अरू थप्छन्, ‘बिरुवाको पनि मन होला । परिवार होला । छोराछोरी होलान् । उनीहरूको मृत्युमा पनि त शोक मनाउने हुन्छन् होला । बिरुवाको पनि प्रेम जोडीहरू होलान् । उनीहरूका पनि सपना होलान् । अरूको सपना निमोठ्ने ? आदर्श फ्याँक्ने, तर आफैं आदर्श नपछ्याउने शाकाहारीहरू वास्तवमा हिप्पोक्र्याट हुन् ।’

यदि यसै हो भने हो— हामी आडम्बरी हौं । हामीजस्ताकै शरीर खान नखोज्नु हाम्रो दोष हो । पशुहरूप्रति दयाभाव राख्नु हाम्रो कमजोरी हो । हामी नालायक हौं । पुग्यो ?

सुनेअनुसार, संसारको सबैभन्दा धेरै मासु खाने देश हो चीन (रिसर्च र डाटातिर अल्झिनँ) । यता हेर्‍यो मासु, उता हेर्‍यो मासु ! चीनमा मैले एक महिना गुजारें । लाग्यो, उनीहरू मासुका सर्वाधिक ठूला खपतकर्ता हुन् । चिनियाँहरूबारे तुक्का नै प्रसिद्ध छ, ‘उनीहरू हिँड्नेमा मान्छे र उड्नेमा जहाजबाहेक सबथोक खान्छन् ।’

चीनमा मैले खाने चीजहरू थिए— साग, काँचो गोलभेंडा, कफी, कोक, पानी । कहिलेकाहीँ पानीमा पनि मासु छ कि भनेर आँखा फट्टाएर हेर्थें । ‘मासु खान्नँ’ भन्दा मलाई यसरी हेर्थे, मानौं म अर्कै लोकबाट आएको प्राणी हुँ । एलियन हुँ ।

घुमफिर गर्ने शाकाहारीलाई धेरै सकस छ । यता मासु, उता मासु ! ‘सी फुड’ रे अझ ! एउटा युद्ध मैदानमा छिरेजस्तो हुन्छ शाकाहारीको जीवन । हरेक खाना ओल्टाई–पल्टाई हेर्नुपर्ने– कतै मासुको टुक्रा त परेको छैन ?

शाकाहारीहरू पछि मांसाहारी बनेका उदाहरण पनि धेरै छन् । तर, त्यो संख्या कम छ । यसो बुझ्दा शाकाहारीबाट मांसाहारी बन्नेहरूभन्दा मांसाहारीबाट शाकाहारी बन्ने नै धेरै हुन्छन् । केही त कारण होला ।

कति शाकाहारीले त मासु पकाएको भाँडामा पकाएको सम्म खाँदैनन् । ती शाकाहारीलाई होटल वा रेस्टुराँमा जाँदा कति सकस होला ? झन् चीनजस्तो देश त सजाय भोग्न गएजस्तो हुन्छ ।

चीनमा हुँदा एक दिन एउटा बेकरीभित्र छिरें । एउटा स्यान्डविच कुकी उठाएँ । रुममा गएँ । चिया बनाएँ । कुकी खान्छु भनेर हेर्नै लागेकी थिएँ, त्यसमा त ह्याम रहेछ । ल खत्तम !

बिस्कुटको बीचमा पनि मासु ! केही न केही त पाइएला नि भन्यो— जताततै मासु । धन्न आलुले मेरो ज्यान धेरै पटक बचाएको छ । त्यसैले आलु मेरो प्रिय तरकारी हो ।

अब भन्नुहोला— आलुको पनि त जीवन हुन्छ !

यस्ता आलु जीवन !

कतै पाहुना भएर जाँदा वा भोजमा मासु नखानेका लागि भनेर बनाइएका पनिर र च्याउको टन्टा फेरि अर्कै छ । अरूले मासु खाँदा शाकाहारीहरूलाई केही ‘स्पेसल’ त खुवाउनैपर्‍यो । च्याउ र पनिर त्यस्तै ‘स्पेसल’ हुन् ।

आज म सम्पूर्ण शाकाहारीहरूको प्रतिनिधित्व गर्दै भन्छु– हामीलाई पनिर खुवाउनु पर्दैन । हामीलाई च्याउ खुवाउनु पर्दैन । हामीलाई सामान्य खाना खुवाए पुग्छ ।

मेरो एउटा शाकाहारी साथी भन्छ, ‘शाकाहारी हुनु भनेको अल्पमत होला । तर, म जहाँ पुग्छु एउटा न एउटा शाकाहारी हुन्छ नै । प्रकृतिले पनि साथी छ्ट्युाइदिएको जस्तो लाग्छ । म एक्लै पर्दिनँ । तर, कहिलेकाहीँ एक्लै पर्दाचाहिँ धेरै सकस हुन्छ । मांसाहारीहरू हिप्पोक्र्याट हुन् । कुकुर र बिरालोको चाहिँ खूब माया गर्ने, सँगै सुताउने गर्छन् । तर खसी, कुखुरा, भैसी, सुँगुरचाहिँ खाने रे ! जीवन त जीवन नै हो नि । उनीहरू पशुप्रेमी हैनन्, मात्र कुकुर र बिरालो प्रेमी हुन् ।’

यो पशु हिंसाको कुरा फेरि हरेक वर्ष दसैंताका सुरु हुन्छ । दसैं आउनै लाग्दा एउटा हूल आवाज उठाउँछ, ‘पशु हिंसा बन्द गर् !’

यो आवाज छठ वरपरसम्म आइपुग्दा हराइसकेको हुन्छ । फेरि गढीमाई मेला आउँछ । सारा देश बीभत्स तस्बिर देखेर दुःखमा डुब्छ । अनि अर्को हप्तादेखि फेरि तन्दुरी र सेकुवामा हराउँछ ।

कतिले पशु हिंसाको पक्षमा तर्क पनि गर्छन्, ‘हिंसा भन्ने कुरा यो चराचर जगत्मा सबैतिर छ । बाघ र सिंहले हिंसा गरेनन् भने शाकाहारी भएरै मर्छन् । गिद्धले मासु खाएन भने यत्तिकै नास भएर जान्छ । हिंसा भन्ने कुरा प्रकृतिले नै दिएको छ ।’

हो, तर उनीहरूका लागि मासु खानु वा सिकार गर्नु बाध्यता हो । उनीहरू केही कुराको सेलिब्रेसन गर्न मासु खाँदैनन् । वा भनौं मनोरञ्जनका लागि मासु खाँदैनन् ।

कहिल्यै देख्नुभएको छ, बाघलाई ‘रोस्ट’ खाँदै नाचेको ?

कहिल्यै देख्नुभएको छ, बाजले न्यु इयर इभमा ‘बीबीक्यू’ गरेको ?

वा, सर्पले आफ्नो चाडपर्व मनाउन भ्यागुता निलेको ?

सायद मानिस मात्रै यस्तो प्राणी हो, जो यौन र मांसाहारी भोजन मनोरञ्जनका लागि गर्छ । मांसाहारी भोजन गर्न नपाएर मान्छे मरेको कतै सुन्नुभएको छ ?

प्रायः धर्ममा बलि चढाउने कुराको बहस पनि यहाँ धेरै नै हुने गर्छ । म सोच्छु— के साँच्चै ‘भगवान्’ ले बलि खोज्छन् होला ? बलिको रगत पिउँदा खुसी र सुखी हुन्छन् होला ?

यो बहसको कुनै टुंगो छैन । तर, यस्तो संसारको कल्पना त गर्न सकिन्छ नि, जहाँ शाकाहारीहरू अल्पमतमा नहोऊन् । उनीहरू कटुव्यंग्य र मानसिक पीडाको सिकार नहोऊन् । शाकाहारीहरूलाई अपराधीजस्तो व्यवहार नगरियोस् । उनीहरूको मुखमा जबरजस्ती मासु नकोचियोस् !

प्रकाशित : वैशाख १८, २०७८ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?