फिरन्ते फर्नको भ्यान

रीना मोक्तान

यस वर्षको ओस्कार एसियाली देश र महिला फिल्ममेकरका लागि ऐतिहासिक बन्यो । ओस्कारको ९३ वर्षे इतिहासमा निर्देशनतर्फको विधामा यस वर्ष पहिलो पटक २ महिला एकैसाथ मनोनयमा परे । आइतबार सम्पन्न अवार्डमा यी दुवै फिल्ममेकर रित्तो हात फर्किएनन् । चीनकी क्लोईले ‘नोम्याडल्यान्ड’ बाट निर्देशनतर्फ अवार्ड प्राप्त गरिन् भने ‘प्रमिसिङ योङ वुमन’ बाट एमरेल्ड फिनेलले ओरिजिनल स्क्रिन–प्लेका लागि ओस्कार उचालिन् । क्लोई निर्देशनमा ओस्कार जित्ने पहिलो एसियाली महिला बनिन् । यो विधामा अवार्ड प्राप्त गर्ने उनी दोस्रो महिला हुन् । यसअघि ‘दी हर्ट लकर’ बाट सन् २०१० मा क्याथरिन बिगेलोले यो अवार्ड प्राप्त गरेकी थिइन् ।

फिरन्ते फर्नको भ्यान

‘नोम्याडल्यान्ड’ बाटै फ्रान्सेस म्याकडोरमेन्डले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । यसअघि उनले सन् १९९७ मा ‘फार्गो’ र सन् २०१८ मा ‘थ्री बिलबोर्डस् आउटसाइड एबिङ, मिजोरी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । त्यस्तै ओस्कारमा यस वर्ष दक्षिण कोरियाली अभिनेत्री यजङ उङले ‘मिनारी’ बाट उत्कृष्ट सह–अभिनेत्रीको अवार्ड उचालिन् । ७३ वर्षीया यजङ ओस्कार जित्ने पहिलो दक्षिण कोरियाली अभिनेत्री बनेकी छन् । यसअघि वोङ जुन हुले ‘प्यारासाइट’ बाट उत्कृष्ट फिल्म र निर्देशकको अवार्ड जितेका थिए । वोङ जुन हुपछि क्लोई र यजङले एसियाली मुलुकको ओस्कारमा दमदार उपस्थिति देखाएका छन् ।

...

यस वर्ष उत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीको ओस्कार जित्ने ‘नोम्याडल्यान्ड’ एक अधेड उमेरकी महिलाको कथा हो । फिल्ममा अमेरिकाको आर्थिक मन्दीमा सबै कुरा गुमाएपछि भ्यान ड्वेलिङ (भ्यानलाई घर बनाएर फिरन्ते भएर बाँच्ने) मा बाँचेकी महिलाको जीवन देखाइएको छ । वर्षौंदेखि काम गर्दै आएको यूएसजी कोर्पोरेसन बन्द भएपछि ६० वर्षीया फर्न बेरोजगार बन्छिन् । त्यसैबीच पतिको निधन हुन्छ । सबै कुरा गुमाएपछि आफ्ना सामान बेचेर उनी एउटा भ्यान खरिद गर्छिन् । र, त्यही भ्यान लिएर विभिन्न ठाउँमा काम खोज्दै हिँड्छिन् । अभाव अनि एक्लोपनाबीच उनी कसरी त्यो साँघुरो भ्यानमा जीवन गुजार्छिन् ? ‘नोम्याडल्यान्ड’ को कथा यही नयाँखाले जीवनमाथि घुमेको छ ।

फर्नको सुत्ने कोठा त्यही भ्यान हो । भान्सा त्यहीँ छ । त्यही साँघुरो भ्यानमै ग्यास चुल्हो, एकसरो भाँडा, लत्ताकपडा, ट्वाइलेट र जीवन चलाउन अत्यावश्यक पर्ने सामग्री अटाएकी छन् फर्नले । सीधा उभिँदा शिर ठोक्किने भ्यान छ, त्यही भ्यानमा उनले आफूलाई पनि अटाएकी छन् । भ्यानको जीवन सजिलो छैन । असहजताबीच जीवन सजिलो बनाउन खोज्छिन् । गरिबीले गाँजिएको उनको जिन्दगीको चक्का सजिलै गुड्न तयार छैन । त्यसैले भेटेजति काम गर्छिन् । काम खोज्दै जाँदा एक जनाले फर्नलाई अवकाश लिने समय भइसकेको सुझाउँछिन् । तर, फर्न उनलाई भन्छिन्, ‘मलाई काम चाहिन्छ । मलाई काम गर्न मन पर्छ ।’

फर्न आत्मनिर्भर छिन् । एक्लो छिन् । नयाँ वर्षको उत्सव एक्लै मनाउँछिन् । सुरताल नमिलेको जिन्दगीमा उनले बजाउने बाँसुरी बेसुरको सुनिन्छ । मरुभूमिका दृश्यमा क्लोईले ‘सिउँडी’ लाई विम्बात्मक रूपले प्रस्तुत गरेकी छन् । दुई–तीन पटक दृश्यमा फर्न र ‘सिउँडी’ सँगै देखाइएको छ । अप्ठ्यारा ठाउँमा पनि उम्रने यी बिरुवाले फिल्ममा फर्नलाई विम्बात्मक रूपमा प्रस्तुत गर्छ । जस्तोजुकै परिस्थितिमा पनि अनुकूल भइदिने यो बिरुवाले जीवनका हरेक परिस्थितिलाई धैर्य र शक्तिसहित सामना गर्ने फर्नको प्रतिविम्ब गर्छ ।

आइस जम्ने चिसो ठाउँमा भ्यानभित्र कठ्याङ्रिँदै रात काट्छिन् फर्न । कहिले भ्यानको पांग्र्रा बिग्रन्छ त कहिले भ्यान नै बिग्रन्छ । उनी यी हरेक परिस्थितिलाई सहजै सामना गर्छिन् । सडकको नयाँ जिन्दगी र अभावबीच उनको संघर्ष चलिरहन्छ । बाँच्नकै लागि उनले गर्ने संघर्षको कथा फिल्ममा रोचक ढंगले प्रस्तुत गरिएको छ । अभाव र घटी–कमीबीच जीवन जिउनेहरूको कथा भन्छ फिल्म । दुःखका ठूला पहाडलाई धैर्य र साहसँग लड्न सिकाउने फिल्म हो ‘नोम्याडल्यान्ड ।’


फर्नले आर्थिक सम्पन्नतालाई पनि विम्बात्मक फ्रेममा देखाएकी छन् । भ्यान बिग्रेपछि फर्न आफ्नी बहिनी बस्ने ठाउँमा पुग्छिन् । बहिनी आर्थिक रूपले सम्पन्न छिन् । त्यसैले बहिनीको घरलाई पर्दामा हरियाली देखाइन्छ । उता फर्नलाई भने अक्सर उजाड स्थानमा देखाइएको छ । बहिनी फर्नलाई आफूसँगै बस्न अनुरोध गर्छिन् । तर, फर्न मान्दिनन् । उजाड भूमिको ती दुःखलाई किन छोड्न चाहन्नन् फर्न ?

फर्नलाई ठूलो कोठा र मिलेको बिस्तारामा निद्रै पर्दैन । उनले विस्तारै भ्यानको यात्रामा मिल्ने स्वतन्त्रता चाखिसकेकी हुन्छिन् । फिल्मले मानसिक स्वतन्त्रता खोज्नेका कथा पनि समेटेको छ ।

क्लोईले फर्नको कथा भन्न जेसिका ब्रडरले लेखेको गैर–आख्यान ‘नोम्याडल्यान्ड : सर्भाइभिङ अमेरिका इन द ट्वान्टी फस्ट सेन्चुरी’ लाई रोजिन्, जसले सम्पन्न अमेरिकाभित्रको गरिबी देखाउँछ । क्लोईले औपन्यासिक पात्रलाई वास्तविक पात्रहरूसँग उभ्याएर फिल्मको कथा भनेकी छन् । वास्तविक नोम्याडहरू लिन्डा मे, स्वांकी र बव वेल्सलाई पर्दामा उनीहरूकै कथाका लागि छनोट गरिएको छ । फिल्ममा फर्नको भूमिका निर्वाह गरेकी छन्– फ्रान्सेस म्याकडोरमेन्डले । फर्नको भूमिकालाई उनले जीवन्त ढंगले प्रस्तुत गरेकी छन् । फर्नको निराशा, एक्लोपना र जिन्दगीसँगको संघर्षलाई पर्दामा म्याकडोरमेन्डले दुरुस्तै बाँचिदिएकी छन् ।

फर्नको निराशा र एक्लोपना महसुस गराउने संगीत फिल्मको अर्को बलियो पक्ष हो ।

प्रकाशित : वैशाख १८, २०७८ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?