२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ऋतु–विचार २.०

अरु बेला ऋतुबोध हुन्थ्यो– मौसमी चाडबाडको छुट्टीमा, बिहेव्रतबन्धको लगनमा, बच्चाहरुको ‘समर भ्याकेसन’ मा, गर्मी पसेको आँप वा तुसारोले तिख्खर बनेको रायोको सागमा । तर, २०७७ मा हामीले ऋतुबोध गर्‍यौं छटपटीमा, मृत्युसन्त्रासमा, मास्कभित्र निस्सासिँदै फेरिएका अनन्त सुस्केराहरुमा ।
शिवानीसिंह थारू

भूमिका
तपाईंले ठीक बुझ्नुभयो ! यो शीर्षक कविशिरोमणि लेखनाथ पौड्यालकृत ‘ऋतु–विचार’ खण्डकाव्यकै हो । ‘ऋतु–विचार’ को पछिल्तिर ‘२.०’ थप्ने धृष्टता सायद मैले गर्दैनथें होला यदि यो कोरोनाकालमा नपढेको भए ।

ऋतु–विचार २.०

क्यालेन्डरको गते, तारिख र बारमा गएको वर्ष समयबद्ध थिएन । अँध्यारो र उज्यालोको औंसी, प्रतिपदा र पूर्णिमामा रेखांकित थियो । यहीबीच क्यालेन्डरले ‘आफू छु’ भन्ने बोध गरायो मात्र चारचोटि । वा यसो भनौं, कोरोनाकालमा क्यालेन्डरले हाम्रा लागि केवल चारवटा गते लिएर आयो । २०७६ को चैत ११, २०७७ का जेठ १, साउन ६ र पुस ५ । हामी झस्कियौं, तर्सियौं र आशातीत भयौं– ‘७६ को चैत ११ मा लकडाउन सुरु हुँदा ! ’ ७७ को जेठ १ मा कोरोनाले पहिलो मृत्यु हुँदा ! साउन ६ गते लकडाउन खुल्दा ! र, पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दा । त्यसबाहेक वैशाख १, असार १५ वा माघ १ लाई हामीले पात्रोमा होइन ! ऋतुको उष्ण, शीतोष्ण र वर्षादीमा बाँच्यौं ।

अरू बेला ऋतुबोध हुन्थ्यो– मौसमी चाडबाडको छुट्टीमा, बिहेव्रतबन्धको लगनमा, बच्चाहरूको ‘समर भ्याकेसन’ मा, गर्मी पसेको आँप वा तुसारोले तिख्खर बनेको रायोको सागमा । तर, २०७७ मा हामीले ऋतुबोध गर्‍यौं छटपटीमा, मृत्युसन्त्रासमा, मास्कभित्र निस्सासिँदै फेरिएका अनन्त सुस्केराहरूमा ।

यस्तो असंगत समयमा कसैले लेखनाथको ‘ऋतु–विचार’ को पाना सरसर्ती पल्टाओस्, एकपलकमा संगति नभेट्टाओस् । कहाँ यो समयको महाअन्त्य जस्तो काल, कहाँ यो काव्यरसको माधुर्यमा सृजित वर्णन । तर, जब गृष्म–विचार, वर्षा–विचार र हेमन्त–विचारको खण्डमा पुगिन्छ, तब बल्ल सत्याभास गरिन्छ । ‘महाअन्त्य’ जस्तो क्रूरतम समय र प्रकृतिको अतिशयमा सामान्जस्य अनुभूत गर्न थालिन्छ किनभने कविशिरोमणिले हावाको बयेल्याइ, आकाशको नीलिम, वर्षाको घटाटोप, अग्निको तपक, माटोको सुगन्धी बाफमा गरिएको ऋतुबोधमा मान्छेका प्रकृति र उसका जीवन नियतिका भेद पनि उद्घाटित गरेका छन् ।

कोरोनाकालमा ‘ऋतु–विचार’ पढिरहँदा काव्यिक चेतले हृदयको चक्षु खुल्यो नै । विभिन्न रङमा परिवर्तन भइराखेको ऋतु मांसल आँखाले देखे पनि खरानी–नीलो रङमा अनुभूत हुन थाल्यो । लाग्यो, दोस्रो विश्वयुद्धपछि विश्वमा अहिलेजस्तो मान्छे एक्लो–अलग्गिएको सायदै थियो । यो एकलानुभूतिमा मान्छेले आफूसित पट्याएर राखेका र आफूबाट दफन गरिएका स्मृतिहरूमै ऋतुबोध गरेको हुनुपर्छ ।

त्यसमानेमा कविशिरोमणिको खण्डकाव्य ‘ऋतु–विचार’ जहाँ टुंगिन्छ, त्यहींबाट सुरु हुन्छ ‘ऋतु–विचार २.०’ को कोलाज । तर, यो कोलाज तीनमहिने लकडाउनको एकलानुभूतिमा गरिएको ऋतुबोधको ऋतु–विचार हो । मात्र तीनवटा ऋतुका विचार यहाँ प्रस्तुत गरिएको छ ।

अथ वसन्त–विचार

कतिले यो वसन्तमा विवाहको वर्षगाँठ मनाए । कति खुरदुरे सम्बन्धको कुइनेटोबाट गुज्रिए । कतिको सामाजिक सञ्जालमै देखादेख पर्‍यो, ‘मेसेन्जर’ ‘ह्वाट्सयाप’ मा जिस्काजिस्की । यसरी यथार्थको तेस्रो आयामलाई उधारो राखेर चलिरह्यो कोरोनाकालीय ‘टु डाइमेन्सनल लभ स्टोरी’ !

कति सम्बन्ध बनिरहँदा कति सम्बन्ध भत्किए पनि । तर, कतिले एक्लाएक्लै कल्पिएर सम्बन्ध बाँचे । ती थिए वैदेशिक रोजगारीले टाढिएका पतिपत्नी । जति चर्चा वैदेशिक कामदारको रेमिट्यान्सले धानेको अर्थतन्त्रमाथि हुन्छ, त्यति घोत्ल्याइ उनीहरूका आधा–अधुरा वैवाहिक सम्बन्धमाथि हुँदैन । सत्य त के हो भने वैदेशिक रोजगारीले आज धेरैजसो जोडीहरू ‘लङ डिस्टेन्स’ सम्बन्ध बाँचिरहेका छन् । एउटा असंगत (एब्सर्ड) पर्खाइ कुरिरहेका छन् । लकडाउन भएपछि अनिश्चितताले तड्पिएका कुनै जोडी थिए भने ती तिनै थिए ।

‘७६ को चैत ११ देखि घरभित्रको भित्रै थुनिँदा बाहिर चैतेहावा बौरिएको थियो । बिस्तारै बौरिएको हावा जब स्थिर भयो, वातावरण वसन्तले रागिलो बनेको थियो । सहररूपी झ्यालखानाको जालीझ्यालबाट ऋतुविचारी हुँदा अरूहरूलाई वसन्त त्यसै खेर गयो भन्ने भान भयो होला । एकअर्काबाट टाढिएका पति रपत्नीहरूलाई भने वसन्त खट्किएको हुनुपर्छ किनभने लकडाउनले लामो दूरीको सम्बन्धमा झनै दूरी थपिदिएको थियो ।

काल–बेलामा कतै केही भइहाले... ? पछिल्लो भेटघाट नै अन्तिम हुने हो कि... ? अनिष्ट शंकाले उनीहरूलाई अस्थिर तुल्याएको थियो । त्यसपछि टाढिएर बसिरहेको जीवन थितिमाथि उनीहरूले पुनर्विचार गरेका होलान् । पुनर्विचार गर्दागर्दै कतिको सम्बन्ध नै द्विविधामा परेको होला । यस्तो बेलामा उनीहरू आफैंले आफूलाई खोतले होलान् । यो खोतल्याइले सुदूरस्मृतिका दृश्यांश त्यसैत्यसै झुल्किए होलान् ।

वैशाखमा जोडिएको सम्बन्धलाई सम्झिँदा उनीहरूले ती स्मृतिहरूमा वसन्तबोध गरे कि गरेनन् ? ती स्मृतिलाई रंग्याउने ऋतुका रङ कसरी स्पर्श गरे होलान् ?

भनूँ है त ! आरुका रूखमा झ्यांगिएका गुलाबी याद र भोगटे फूलको गुलियो–अमिलो बास्नामय सम्झनाहरू ।

गएको वसन्तमा मेरो विवाहको बाह्रौं वर्षगाँठ पुगेको थियो । अर्थात् बाह्र वर्ष लामो ‘लङ डिस्टेन्स’ सम्बन्ध । अघिअघिका वर्षमा सँगै बस्न पाइयोस् कामनाका साथ वर्षगाँठ मनाइन्थ्यो । तर, यस वर्ष एक्लाएक्लै मर्नु नपरोस् भन्दै रूँरूँ लाग्ने ऐंठनमा मनाइयो किनभने त्यतिबेला कोरोना भाइरसले इटालीको लोम्बार्डीमा वृद्ध, बूढाबूढीलाई सिनित्तै पारिरहेको थियो । र, मलाई एउटै दृश्यले विचलित बनाएको थियो । स्थिति गम्भीर हुँदै गएका बिरामीले आईसीयू वार्डमा राखिनुअघि भिडियो कलबाट आफ्नालाई हात हल्लाएको दृश्य । अन्तिम बिदाइ गरिरहेझैँ लाग्ने त्यो दृश्यले सबैलाई विह्वल बनाएको थियो ।

मेरा पति इटालीमा नभए पनि, हामी वृद्धवृद्धा नभइसके पनि, थियौं त हामी पनि जोडी नै । बस् ! त्यो महिनाभरि मध्यरातमा अचानक आँखा खुल्थ्यो । त्यसपछि सुत्न सकिँदैनथ्यो । अनि याद आउँथ्यो ‘६३ सालको वसन्त । त्यही वसन्त जब म बिहेबाट भाग्न खोजिरहेको थिएँ । र, ऊ कहिले उत्साही भएर, कहिले उदास भएर बिहेको प्रस्ताव गरिरहेको हुन्थ्यो । उसलाई साथ दिएको थियो– काठमाडौंमा ढकमकिएको त्यस वर्षको वसन्तले ।

त्यसताका थेसिस सकाएर म भाइभाको तयारी गर्दै थिएँ । म सँगसँगै एक दिन ऊ पनि कलेज आएको थियो । त्यस दिन हामीले एकअर्काबाट छुट्टिने निर्णय गरेका थियौं । टीयू परिसरको शिरीषको रूख तलतल हामी चुपचाप हिँडिरहेका थियौं । वसन्तमा फुलेको शिरीष रूखमा जति ढपक्क थियो, भुइँमा त्यतिकै ओछिइएको थियो । उसको अनुहारमा परेको बैजनी छायामा उदासी झनै गाढा भएर देखिएको थियो । उसलाई भुलाउन मैले शिरीषका फूल भुइँबाट टिपेर औंलाहरूमा घुसाएँ र स्कुलमा पढ्दा हामी यसै गर्थ्यौं भनें । कि त ठुल्ठूला नङ्ग्रा भएका राक्षस बन्थ्यौं कि चाहिँ नक्कली केटीको स्वाङ पार्थ्यौं भनें । उसले गम्भीर भएर त्यसैको चुट्किला बनायो । आफू नहाँसीकन उल्टै मलाई हँसायो ।

मध्यरातमा सम्झिन पुगेका यस्ता स्मृतिले मन तनिक मुस्काउँथ्यो । तर, अन्तस्तल कताकता भासिँदै जान्थ्यो ।

त्यो वसन्त आन्दोल नै आन्दोलनको ऋतु पनि थियो । कहिले कता बन्द भइदिन्थ्यो कहिले कता । प्रायः लखरलखर हिँडेरै हामी एकअर्कालाई भेटिरहेका हुन्थ्यौं । रेस्टुरेन्टमा चिया वा कफी खान आन्दोलन छिचोल्दै हिँड्नुपर्थ्यो । त्यसैले नजानिँदो पारामा हामी त्यस महिनामा पाउने काफलतिर पो लहसियौं । चिया–गफ भनेझैं हामी हरेक भेटमा एकेक सोली काफल खाँदै गफ चुट्न थाल्यौं । पछिपछि त भेट नै काफल खानका लागि हुन थाल्यो ।

त्यसपछिका वर्षहरूमा बाटोमा काफल देख्दा खासै वास्ता गरिँदैनथ्यो । तर, लकडाउन लम्बिरहेको ‘७७ को वैशाखमा त्यो याद ताजा भइआउँदा लाग्यो, अब पाएँ भने एक झोला किनेर खान्छु । गुलियो–गुलियो, रसिलो–खट्टो काफल सम्झेर कसको मुख नरसाओस् ! तर, यादहरूको मसलामा मोलेको काफल चुस्दा मुखको साथमा आँखा पनि रसाउने हुन्, पक्का हो !

यस्तै यादहरूमा लोलाउँदै जब मिरमिरे बिहान हुन्थ्यो, आँखा लाग्न थाल्थ्यो । त्यहीबेला टोलका बाँस झ्याङबाट कोइलीको कुहुकुहु सुनिन्थ्यो । वसन्त कोकिलले मनका खाली ठाउँ भरिदिँदा उदासी पनि थिग्रिन थाल्थ्यो । त्यही उदासीले सान्त्वनामा थपथपाउन थाल्थ्यो । कोरोनाले संक्रमित भई एक्लै मर्नुपरे एउटा आभास काफी थियो– मनलाई शान्ति दिने । कोही त थियो, जसले बेज्यान भइसकेको हृदयलाई फेरिदेखि माया दुख्ने बनाएको थियो ।

अथ ग्रीष्म–विचार

अघिअघिका जेठ भुतभुते तापमा ग्रीष्म लिएर आउँथे । उफ गर्मी ! हाई गर्मी ! को निसास्याइसँगै उष्ण हामीबाट गुज्रेर जान्थे । तर, कोरोनाकालको जेठ ननिको संकेतसहित मध्याकाशमा चढेको थियो ।

जेठ सुरु हुँदा सहरहरू लकडाउनको सुनसानमा थिए । चकमन्न सहरका असंख्य कोठामा बन्द थिए, ज्यालादारी मजदुरहरू । जसै घामका कडा दिनहरू सुरु भए, जेठका दिनहरू लम्बिँदै गए, पोलिनबाट बचेका ती मजदुर भित्रभित्रै बाफिन थाले । आफ्नै ताता निःश्वास र चिटचिट पसिनामा उम्लिन थालेको भोकाग्निले उनीहरूलाई पोल्न थाल्यो । अन्ततः भोक र प्यासको रूपमा ग्रीष्मयामको डाह उनीहरूसम्म पुगेरै छाड्यो ।

भोकले मर्ने कि कोरोना भाइरसले, दुईमध्ये एक विकल्पको कफन बाँधेर मजदुरहरू बाँचिनलाई हिँडे । ग्रीष्मयामको प्रचण्ड गर्मीमा माइलौंमाइल हिँडेरै घर फिर्ने यात्रा दर्दनाक थियो । र, यही नै मध्यआय र न्यूनआय भएका देशका श्रमिक वर्गको त्रासदी बन्यो ।

मलाई भने कोरोनाकालको ग्रीष्मयाममा घटेको एउटा घटना अबको वर्षौंवर्ष याद रहिरहनेछ । कथाजस्तो लाग्ने त्यो घटना भारतको उत्तरप्रदेशका दुई मित्रहरूको भोगाइ हो । उत्तरप्रदेशबाट गुजरातको कपडा मिलमा काम गर्न पुगेका दुई श्रमिकहरूको यो घरफिर्ती संघर्षको कथा पनि हो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा फोटोद्वारा भारतीय पत्रिकाहरूले यो केस पछ्याएका थिए । तर, मैले यसलाई पहिलोपटक ‘न्युयोर्क टाइम्स’ मा पढेको थिएँ । संसारभर यस्ता भोगाइ थुप्रैले त्यतिबेला झेलिरहेका थिए । तीमध्ये यो घटना कोरोनाकालको प्रतिनिधि कथाका रूपमा सुनाइनेछ सायद । किनभने यो भोगाइ भारतीय कपडा मिलका मजदुरहरूको भोगाइ भए पनि यो संसारका सबै श्रमिकहरूको कथा हो ।

यसलाई फेरिदेखि मैले कथ्दा ऋतुविचारी भएर कथ्नेछु किनभने यो कथाको खलनायक कोभिड–१९ को कहर र चार घण्टाको जानकारीमा भारतभर लकडाउन गर्ने नरेन्द्र मोदी सरकारको निर्णय त हुँदै हो । त्यसपछिका भोगाइलाई अझ मार्मिक बनाउने ग्रीष्मयामको प्रचण्डता पनि हो ।

सन् २०२० को मे १४ अर्थात् जेठ १ गते मोहम्मद सैयुब र अमृत कुमार लकडाउनमा थुनिएको एकाउन्न दिन पुगिसकेको थियो । बाइस वर्षीय मोहम्मद सैयुब र चौबीस वर्षीय अमृत कुमार उत्तरप्रदेशको एउटा सानो गाउँ देवारीका हुन् । कामको खोजीमा उनीहरू गुजरातको व्यापारिक सहर सुरत पुगेका थिए । सैयुब धागो कारखानामा काम गर्थ्यो भने अमृत कपडा र सारीको कारखानामा ।

सैयुब मुसलमान र अमृत हिन्दु दलित भए पनि उनीहरू एउटै दुःखले दुखेका थिए र एउटै सपनाले पुलकित हुने गर्थे । र, त्यो थियो गरिबी र गरिबीको अभावहरू पुर्ने चाहना । त्यसैले रातमा चार घण्टा मात्र सुतेर सोह्र घण्टा घोटिने गरेका थिए यी मनुवा ।

तर, पाँच वर्ष बित्दा–नबित्दै यस्तो समय आयो, जब उनीहरू रातारात त्यहाँबाट घर फिर्नुपर्‍यो । जुन यात्रा उनीहरूले देवारीबाट सुरत आउँदा ३६ घण्टा ट्रेनमा गरेका थिए, फर्किंदा एउटै ट्रकमा बहत्तर जनासित किचिएर यात्रा गर्नुपर्ने भयो ।

उनीहरूले सुरतबाट देवारीसम्म ९२० माइल टाढाको यात्रा तय गर्नु थियो । त्यसका लागि उनीहरू मे १४ को राति ९ बजेतिर कोठाबाट हाई–वेतर्फ हिँडे । साथमा एक बगाल उत्तरप्रदेशका मजदुरहरू थिए । ती सबैले ट्रक–ड्राइभरलाई भई–नभई चार हजार बुझाएका थिए । ट्रक–ड्राइभरले सुटुक्क आउन भनेको हाई–वे कोठाबाट १५ किलोमिटर टाढा थियो । यसैले सुरक्षाकर्मीबाट बच्दै, शंकालु आँखाबाट बचाउँदै उनीहरू हिँड्न थाले ।

ग्रीष्मयामको रातमा आर्द्रता बढेको थियो । आर्द्रताले हावालाई झन् तातो बनाएझैं भान हुन्थ्यो । यस्तोमा तिर्खा उतिसाह्रो नलागे पनि शरीरको पानी गर्मीले सोसिरहेकै हुन्छ । भए पनि हपहप पसिना काढ्दै उनीहरू अघि बढिरहे । कोरोना भाइरसको अघि मौसमको प्रतिकूलता त केही पनि थिएन सैयुब र अमृतजस्ताका लागि । यी सब खपेरै उनीहरू घर पुग्न चाहन्थे जसरी नि ।

रातको दुई बजे उनीहरू ट्रकमा लदालद भरिएर सुरतबाट हिँडे । ठाउँ नपुगेर सैयुब र अमृतलाई माथिको हुटमा चढ्न भनियो । निरुपाय उनीहरू, हुटैमा बसेर यात्रारत भए ।

बिहानी हुँदा ट्रक मध्यप्रदेश पुगिसकेको थियो । जसोजसो आफ्नो प्रदेश नजिकिन थाल्यो, उनीहरूको घर पुगिने आशा चुलिँदै गयो । बिस्तारै उनीहरूको ख्यालबाट ओझेल हुन थाल्यो टीभीमा देखेका कोभिड–१९ का भयावह दृश्य । कोरोना भाइरसले मरेकाहरूको शरीर खाल्डो खनेर मृत चौपाया फालेझैं फालिएका शवको त्रासदीभन्दा भावी योजनाबारे उनीहरू गफिन थाले । सैयुबका बा खेतको भारी परिश्रमले ऋणको समस्याले ओछ्यान लागेका थिए । उनलाई राम्रो ठाउँमा उपचार गर्ने सैयुबले योजना बनाएको थियो । अमृतले बहिनीका लागि पैसा जम्मा गरिरहेकोले आउने साल उसको विवाह गर्ने योजना बुनिरहेको थियो ।

दिउँसोतिर गर्मीको तापक्रम ४२ डिग्री सेल्सियस पुग्यो । सैयुब र अमृत थाप्लोमा घाम र सरसराउँदो तातो हावा खाएरै ट्रकको हुटमा बसेका थिए । अचानक अमृतले उसलाई जाडो लागेको सैयुबलाई भन्यो । अमृतलाई छाम्दा ज्वरो पनि आइरहेको थियो । हावा बेस्सरी लागेर होला भनेर सैयुबले तल ट्रकमा आफूहरूलाई सार्न लगायो । ट्रकभित्र अमृतको हालत झनै खराब भयो । खलखली पसिना आए पनि अमृत लुगलुग कामिरहेको थियो । ट्रकमा बाँकीहरू सतर्क भए । सैयुबले ड्राइभरलाई बाटोमा औषधि पसल देखिएमा रोकिदिन अनुरोध गर्‍यो । तर, जसै ट्रक अगाडि बढ्दै गयो अमृत खोक्न पनि थाल्यो । यसपछि अरू यात्रुहरूले विरोध गर्न थाले । डाक्टर नै ज्वरग्रस्त बिरामीसित त्रसित हुने समयमा सँगसँगै यात्रा गर्ने जोखिम कसले मोलोस् ! उनीहरूले अमृतलाई ट्रकबाट तुरुन्त निकाल्न लगाए । औषधि पसल नआइन्जेल धैर्य राखिदिन सैयुबको अनुनयविनय कसैले सुनेन । त्यसपछि उनीहरू दुवैलाई अनकण्टार हाई–वेमा छाडेर ट्रक त्यहाँबाट गुड्यो ।

कति गाडी पास भए, कति ट्रक उनीहरू हुँदै गुज्रिए तर कसैले देखेनन्– रोड किनारमा सैयुबले आफ्नो काखमा राखेको बेहोस अमृतलाई, उसलाई होसमा ल्याउने कोसिस गरिरहेको लाचार सैयुबलाई । निकैपछि स्थानीय एक जना नेताले देखेर उनीहरूलाई कोलारस भन्ने ठाउँको अस्पतालमा भर्ना गरिदिए ।

जानेबित्तिकै दुवै जनाको पीसीआर टेस्ट लिइयो । त्यसको रिजल्ट दुई–तीन दिनमा आउने जानकारी सैयुबलाई दिइयो । त्यतिन्जेल धुकधुकी मात्र बाँकी रहेको अमृतलाई भेन्टिलेटरमा राखियो र सैयुबलाई क्वारेन्टाइनमा । त्यसपछि सैयुबले अमृतको होस आओस् भनेर अल्लाहसित ‘दुआ’ गर्न थाल्यो । अर्को दिन बिहान एक जना नर्स क्वारेन्टाइन वार्डमा आएर उसलाई खबर दिइन्– अमृतको मृत्यु भएको ।

सैयुब बिलकुलै स्तब्ध भयो । भारी मनले उसले अमृतको बाबुलाई खबर गर्‍यो । मृत छोरोसम्म आइपुग्न अमृतका बाबु तड्पिए । कडा लकडाउनमा ‘परमिट’ का लागि कहाँ–कहाँ ताकेता गरे । तर, स्वीकृति पाएनन् । त्यसमाथि गाउँलेहरूले थाहा पाएर अडान राखे, अमृतको शव देवारी ल्याउन नपाउने । कोरोनाले नै मरेको उनीहरूले शंका गरिसकेका थिए । अमृतका बाबुले त्यसपछि दुःखी हुँदै सैयुबलाई छोरोको शव कोलारसको शिवपुरीमा रहेको विद्युत् दाहगृहमा जलाइदिन भने । हुन सक्छ, अमृत दलित भएकैले उसको बाबुको पीडालाई नगन्य मानिएको होस् । ‘पावर’ लगाउन नसक्ने भएरै उनले न कोलारस जान स्वीकृति पाए न छोराको शव देवारीसम्म ल्याउन कसैको साथ–सहयोग । अन्त्यमा मोहम्मद सैयुब नै एक र अन्तिम भर हुनपुग्यो ।

दुई दिनपछि पीसीआर टेस्टको परिणाम आयो । उनीहरू दुवैको रिपोर्ट नेगेटिभ थियो । भरे त अमृतको मृत्यु ‘सिभियर डिहाइड्रेसन’ अर्थात् शरीरमा पानीको मात्रा अत्यधिक कम भएर भएको रहेछ । ४२ डिग्रीको आँखा तिरमिराउने गर्मीले अमृतको शरीरको पानी सोसेसँगै प्राण पनि सोसेर लगेछ । थाहा पाउनेबित्तिकै सैयुब उभिएकै ठाउँमा धरमरियो । छेउको भित्तामा अडेस लगाउँदै उसको मुखबाट निस्क्यो– ‘या खुदा !’

अथ वर्षा–विचार

झमझम परिरहेको वर्षाको पानीमा गएर उभिनु । आँखा चिम्म गरी अनुहार आकाशतिर पार्नु । त्यसपछि मुख आँ गरी जिब्रो थाप्नु । अनौठो ! शरीर भिजाइरहेको वर्षाको पानी मुखभित्र भने गंगाजल छर्किंदा जत्तिको मात्र पर्छ । तर जति पर्छ, परेजतिले तिर्खाको स्वाद जगाइदिन्छ । किनभने वर्षाको पानी त्यसरी चाख्दा अचम्मैले नलागेको तिर्खा लाग्न थाल्छ ।

यो तिर्खा प्यासको हुँदैन, हाम्रो स्वादको स्मृतिमा बसेको पानीयत्वको सम्झनाको हुन्छ ।

आशिंक लकडाउनमा जब यस वर्षको वर्षा ऋतु सुरु भयो, यही पानीको स्वाद पनि हामीमध्ये कति जनाको हरायो किनभने २०७७ को साउन ७ सम्ममा १७,९९४ जना कोभिड–१९ संक्रमित भइसकेका थिए । संक्रमित सबैमा एकैनासका लक्षण थिएनन् । टाउको टनटन दुख्ने, जीउ कटकट खाने, पिँडौला फतक्कै दुख्ने, पखाला खलखली लाग्ने, सबै चीज गनाएर वाक्वाकी लाग्ने, जिब्रोबाट स्वाद हराउने, घ्राणशक्ति स्वाट्टै जानेजस्ता लक्षण भने सामान्य देखिएको थियो । यी लक्षणमध्ये स्वाद र सुवास हराउनेचाहिँ कोरोना नेगेटिभ भइसक्दा पनि कतिमा रहिरह्यो । अझ कतिको हराइरहेकै छ ।

स्वाद भनेको जिभ्रोको रसेन्द्रिय मात्र होइन । लगभग असी प्रतिशत सुवास पनि हो । नुनिलो, गुलियो, अमिलो, तीतोबाहेकका अरू स्वाद सुवासबाटै आउने हो । त्यसैले त खरो भोक लाग्दा छिमेकीको भान्साबाट आएको बास्ना नाकले टिपिहाल्छ । भन्न खोजेको, भोक लाग्दा हाम्रो घ्राणशक्ति अझ तिखो भएर आउँछ । यसैले स्वाद र सुवास दुवै हराउनु भनेको हाम्रो स्वादको स्मृति स्वाट्टै मेटिनु हो । स्वादको स्मृति मान्छेको चेतनाबाट मेटिनु भनेको जिन्दगी आधा विस्मृत हुनु हो ।

त यतिन्जेल हामीले कति सामान्य गरी लिइरहेका रहेछौँ, हामीमा सुँघ्न सक्ने शक्ति र स्वाद थाहा पाउने इन्द्रियहरूलाई । कोभिड–१९ को संक्रमणले भने ती इन्द्रियहरूको महत्त्व बुझाइदिएको छ । विशेषगरी तिनीहरूलाई, जसको चौध दिन कटेर बीस–पच्चीस दिनसम्म पनि स्वाद र सुवास हराएको हरायै थियो । कतिको त अझसम्म पनि फर्किएको छैन । डाक्टरहरूसँग पनि ठ्याक्कै यसको जवाफ छैन ।

स्वाद र सुवास जाने गरी कोभिड मलाई पनि सर्‍यो भने ? झटपट म आफ्नो अनुहारको मास्क नाकको डाँडीमै पुर्‍याउँछु, च्युँउडोमा मास्क झारेका अर्ध–मास्कधारीहरूलाई हेर्दा ! कहिलेकाहीँ रेडियोमा जब यसैबारे कार्यक्रम सुन्न पुग्छु, पीडितहरूले आशंका जताइरहेका हुन्छन्– स्वाद र सुवास कहिल्यै नफर्कियो भने ? यो परिस्थिति आफूमा आरोपित गर्दा म आफ्नै घ्राणशक्ति जाँच्न पुग्छु, एउटा लामो न लामो सास तानेर !

त्यसपछि डरजस्तो खुलदुली लाग्न थाल्छ– उसो भए स्वाद र सुवासले जगाउने हाम्रो स्मृति कहाँ गएर बस्छन् त ? धूपको बास्नाले ल्याउने आमाको याद, रातो लाइफब्वाई साबुनको बास्नाले ल्याउने होस्टलको याद, पिपरमिन्टको स्वादले ल्याउने स्यानोमा खाने जिनताङको याद...सदाका लागि गुम्ने हो त ?

यो डरले अझ नजिकबाट चिमाटेर गयो असारको अन्तिम साता ।

असारमा तीनमहिने लकडाउन खुकुलो पारिएको थियो । मलाई खालीखाली रित्तो देखिएको निःस्पन्द सहरको चक्कर लगाउन मन लाग्यो । यो मन लाग्नुको कारण एउटै थियो । पत्रिकामा अर्थ पृष्ठमा छापिएको ठमेलको सुनसान चोक र गल्ली । त्यो सुनसानमा उराठिलो सपाटपन थियो । आफ्नो आत्मा हराएको प्राचीन सहरजस्तो । त्यतै कतै मेरा स्मृतिहरू भड्किएका थिए, ठमेललाई ‘ठमेल’ बनाउने विशिष्टता खोज्दै । त्यो ठाउँको एक्लोपन हेर्न नसकेर म पनि साथ दिन पुगेँ एक्लै ठमेलतिर ।

ठमेल पुग्दा सुनसान दोबाटाहरू उस्ताउस्तै देखिए । यता जाऊँ कि उता, रनभुल्ल बनाउने गल्लीहरूमा न आफूतिर तान्ने आकर्षण थियो, न मेला भर्न आएका झैं लाग्ने रंगीचंगी मान्छेहरूको रेलो । ठमेल सटरै सटरहरूको एक–लाइने सपाट भित्तामा परिणत थियो । त्यसलाई कुनै पनि सहरको जुनै पनि ठाउँ भन्न सकिन्थ्यो । ठाउँको खासपनबिना मेरा यादहरू भुत्ते बन्न पुगे । यी दोबाटाहरूमा ओहोरदोहोर गरेको सम्झना त आयो तर ती पाइला कुन–कुन गल्ली र कुनोतिर सोझिएका थिए, यादहरू एकअर्कामा खापिएर गुजुमुज्ज भए ।

खासमा काठमाडौंको ठमेलमा मेरा विशेष यादहरू बुनिएका छन् । काठमाडौंमा २०६३ सालभन्दा अघिका तन्नेरीहरूलाई कहाँकहाँ नै आएजस्तो लाग्ने ठाउँ नै ठमेल र दरबारमार्ग थियो । यहाँ आएपछि कसैले देख्ने छैनको भ्रम पलाउँथ्यो र त्यसले फुक्का हुने छुट दिन्थ्यो । अहिलेजस्तो दिनभरि हराउनका लागि ठाउँठाउँका सपिङ मल, जताततै क्यूएफएक्सका सिनेमा हल, रेस्टुरेन्ट र क्याफेहरूको बिगबिगी कहाँ थियो र ! त्यसैले ठमेल मेरो पुस्ताका थुप्रै प्रेमीप्रेमिकाका मिलन र विछोडहरूको साक्षी हो । त्यस मानेमा मेरो पनि हुने नै भयो । यस ठाउँले जुराएका भेट, सुन्दर संयोग, नियास्रा बिदाइहरूले ठमेल खास हुन पुगेको छ ।

तर, ती यादहरू ताजा भई आउने माध्यम यहाँका मिहिन विशेषताहरूले हुन्, जुन हाम्रा आँखालाई भन्दा हाम्रा इन्द्रियहरूलाई छोएर जान्छन् । जस्तो कि हट ब्रेड्समा आउने डुनट र दालचिनीको बास्ना, स्यानस्याना रेस्टुरेन्टहरूमा रगमगिने स्पिरिट र चुरोटको गन्ध । प्रार्थनाको तोरण पाउने पसलमा बजाएको ‘ओम माने पेमे हुँऽऽ’ को मन्त्रोचारणसँगै महकिएर आउने मसलाको धूप ! नीलो प्रकाशमा डुबेको रेस्टुरेन्टबाट आउने रेग्गे संगीतको रिदमिक धुन । यी सबैले हतारिएर हिँडिरहेको पाइलालाई सुस्त बनाउँछन्, स्मृतिलाई फेरिदेखि तिनले हर्रर्र बनाएर जान्छन् । तर, आंशिक लकडाउनको ठमेलमा यीबिना मेरा यादहरूका बास्ना, स्वाद र स्पर्श सबै गायब थिए ।

यी त एक दिन कोरानाकाल सक्किएपछि फेरि पनि जीवन्त भइजालान् । तर, कोभिडको लामो समयसम्म हुने प्रभावको रूपमा बास्ना र सुवास हराउनेहरूका लागि यस्ता स्मृतिहरू गुम्ने त होइनन् ? यो डरले चिमोट्दा म काठमाडौं गेस्ट हाउसको चौबाटोमा धेरैबेर अड्न सकिनँ । एक फन्को लगाएर फर्किहालेँ ।

फर्किंदा म मोटरसाइकल कुदाएर आएको थिएँ किनभने मलाई झलझली याद आइरहेको थियो, गत वर्ष ठमेलमा बिताएको वर्षाको एक साँझ । फर्कंदा बादल चुहुँला–चुहुँला गरिरहेको थियो र मैले यसपालि पनि रेनकोट बोकेकी थिइनँ । गत वर्षामा ठमेल आउँदा म निथ्रुक्क भिजेकी थिएँ । बाटोमा गुड्दागुड्दै वर्षामा रुझ्नु हामी मोटरसाइकलेका लागि सामान्य हो । तर, त्यस दिन ? टेकुदेखि जमलसम्मको ट्राफिक जाममा रोकिँदै घस्रिँदै लगातार पैंतालीस मिनेटसम्म झमझम पानीमा रुझ्नुपर्दा मेरो बिजोग भएको थियो । त्यसरी त मैले बाथरुममा पनि नुहाउने गरेको थिइनँ । जे होस् त्यस दिन यसरी भिजियो, जसरी वर्षालाई भोग्नुपर्ने हो !

यसरी मरिहत्ते गरेर ठमेल जान लागेको कारण थियो एउटा साथीसितको अन्तिम भेट । ऊ अमेरिका जाँदै थियो । र, त्यो हाम्रो सानोतिनो ‘फेयरवेल’ थियो । तर, अब चिसो लुगामा लपक्क टाँसिएर, पानीमा भिजेर फुलेको जुत्ता लगाएर, आफूलाई तपतप चुहाउँदै त के ‘फेयरवेल’ मनाउन जानु ! तर, कुनै कुनै सम्बन्ध भन्नलाई मित्रता भने पनि ती साथीभन्दा खास हुन्छन्, फेरि ती प्रेमी पनि होइनन् । यस्ता अपरिभाषित सम्बन्धले अप्ठ्यारा परीक्षा लिइरहन्छन् । त्यसैले लौ त भनेर भिजिँदै ठमेल पुगियो । पर्यटकहरूले लगाउने फ्यालफ्याले लुगा किनियो, फित्ते चप्पल पहिरियो, भिजेका लुगा र जुत्ता पोलिथिनमा कोचियो अनि हिँडियो बिदाइको उत्सव मनाउन । चिन्ता मलाई एउटै कुराको भइराखेको थियो । ब्यागमा पढिराखेको चार्ल्स डिकेन्सको उपन्यास ‘ग्रेट एक्सपेक्टेसन्स’ लफ्रक्क भिजेको थियो ।

...त्यसपछि

आंशिक लकडाउनमा गरिएको ठमेल यात्रापछि एक हप्तामा लकडाउन खुल्यो । २०७७ को साउन ६ गते लकडाउन खुल्दा जोखिम टरिसकेको थिएन । तैपनि कालो बादलको बीचबीचबाट चोर घामले चियाउँदा हुने घमाइलो एकछिनलाई सबैले महसुस गरे । तर, त्यसपछिका दिन झनै चुनौतीपूर्ण थिए, जुन अझसम्म पनि छँदै छ । भए पनि हामीलाई छ वर्षअघिको ७.८ रेक्टर स्केलको भूकम्पले सिकाएर गएको छ– यो समय पनि बितेर जानेछ ।

प्रकाशित : वैशाख १८, २०७८ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?