कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एक योगीको स्वप्न संसार

अक्सर जोगीहरु गुफा–तपस्वी र संसारविमुख हुन्छन् । श्याल्पा तेन्जिङ रिम्पोछे भने यस मामिलामा भिन्न देखिए । यी बौद्ध गुरू संसारतिरै फर्केर, संसारमै बसेर नयाँ संसार बनाउने धुनमा छन् ।
तिब्बती गुरु झ्याड्रेल रिम्पोछेका चेला श्याल्पा रिम्पोछेको देशना छ– जीवन एक अवसर हो, आनन्द भोग गर्ने ।
घनश्याम खड्का

बितेका कुराले हाम्रो जीवनमा के अर्थ राख्छ ? हजारौं वर्षअघिको कुनै घटना वा व्यक्तिको निर्णयले अहिलेको समाज र मानिसलाई के प्रभाव पार्छ ?

एक योगीको स्वप्न संसार

झट्ट हेर्दा लाग्छ, उहिलेका कुरा खुइलिए, बितेका कुरा बिलाए, जीवन अहिलेको हो, यो पूर्णतः विगतबाट मुक्त छ । तर, खोज्दै गयो भने प्रत्येक ठाउँ, प्रत्येक मानिस विगतसँग जोडिन पुग्छ । अहिले देखिएका प्रत्येक वस्तु, मानिस र घटनाको एक्लाएक्लै अस्तित्व छैन । त्यो जोडिएको छ बितेका दिनहरूसँग, मानिसहरूसँग र घटनाहरूसँग । यहाँसम्म कि कसैका बितेका विचारसमेत हाम्रा जीवनमा निर्णायक परिघटना बोकेर आइदिन्छन् ।

अचेल तिब्बती लवजमा झोग्छेन् भनेर पश्चिमी जगत्मा प्रसिद्ध अतियोग महासन्धिका गुरु श्याल्पा तेन्जिङ रिम्पोछेसँग हालै एउटा लामो कुराकानी गरेपछि मेरा मनमा यस्तै विचार आए । पच्चीस सय वर्षअघि लुम्बिनीको माटोमा फुलेको ज्ञानको कमलको सुवासले यी रिम्पोछेको जीवनलाई पनि छोएको छ ।

झ्वाट्ट हेर्दा लुम्बिनीमा जन्मे–हुर्केर बोधगयामा तपस्या गर्दा सिद्धार्थ गौतमलाई खुलेको ज्ञानले उनलाई बुद्ध बनाएको र श्याल्पा रिम्पोछेले गुम्बामा ध्यान सिकाएको कृत्यमा कुनै सम्बन्ध नदेखिन सक्छ । तर, नियालेर हेर्दा बुद्धले निर्वाण पाउनु र बुद्ध दर्शनलाई अनेक रिम्पोछेले झैं उनले पनि अगाडि बढाउनुमा एक नियमित प्रवाह भेटिन्छ, चेतनजगत्‌को ।

सिद्धार्थ गौतम बाबुको इच्छा मुताविक राजपाठमै लागेका भए धेरै मानिसको जीवनमा ध्यान र ज्ञानको बाटो पुग्ने थिएन । न बालक जिग्मेद तेन्जिङ वाङ्पो टुल्कु (कुनै सिद्ध योगीको महाप्रस्थानपछि भएको अर्को जन्म) भएको भविष्यवाणी नै गरिन्थ्यो, न उनी यसरी श्याल्पा रिम्पोछे भनेर नै चिनिन्थे ।

बुद्धको परिनिर्वाण भएको सयौं वर्षपछि दक्षिण भारतको ओडियानका योगी पद्मसम्भव र शान्तरक्षितले उनको अध्यात्म–दर्शनलाई तिब्बत पुर्‍याए । त्यतिबेलाका प्रसिद्ध बौद्ध विश्वविद्यालयहरू नालान्दा, विक्रमशील र ओदन्तपुरीहरू जलाइएपछि र धार्मिक दंगामा भिक्षुहरू काटिएपछि कुनै समय पूरै भारत वर्षमा फैलिएको बौद्ध धर्म भारतबाटै हरायो । यता हुरीमा हत्केलाले छोपेर जोगाएको दियोजस्तै गरी बौद्ध दर्शनको महायान र वज्रयानलाई तिब्बतले जोखाइराख्यो सदियौंसम्म । त्यसैको प्रतिफल अहिले त्यो एसिया, युरोप र अमेरिका हुँदै संसारभर पुगेको छ । तिब्बतमा कम्युनिस्ट अतिक्रमण भएपछि सन् ६० को दशकदेखि बाहिरी संसारमा पुगेको महायान र वज्रयान युरोप–अमेरिका पुर्‍याउने केही रिम्पोछेहरू छन्, जसमध्ये श्याल्पा तेन्जिङ पनि एक हुन् ।

गुम्बाहरूमा मात्रै नभएर हार्वर्डदेखि यल विश्वविद्यालयमा समेत पुगेर मनुष्य जीवनलाई सार्थक पार्ने उपायबारे बौद्ध दर्शनको सार बुझाउने गरी प्रवचन दिने यी रिम्पोछेका चेलाचेली हङकङदेखि बेलायतसम्म र चीनदेखि अमेरिकासम्म छन् । कम्युनिस्ट आक्रमणपछि तिब्बतको थातथलो खामबाट धेरै बौद्धमार्गी नेपाल हुँदै भारत र अन्यत्रका मुलुक पुगे । त्यसमध्ये नेपालको तिब्बती सीमानजिक हिमालयको काखमा एक दम्पतीको कोखमा ६ दशकअघि एक बालक जन्मिन पुग्यो, जसको नाम राखियो जिग्मेद तेन्जिङ वाङ्पो । एक वर्ष पनि नपुग्दैका तेन्जिङले एक दिन गुम्बा अघिल्तिर हात जोडेर शिर निहुराएछन् । मावलीतिरकी हजुरआमा फुन्स्टोक डोल्मा यो देखेर चकित परिछन् र लामाहरूकामा उनलाई लगेर घटनाको सविस्तार व्याख्या गरिछन् ।

‘यो बच्चा विशेष छ,’ उनीहरूले भनेछन्, ‘उनको राम्रो ख्याल गर्नु ।’ तेन्जिङ चार वर्षको पुगेपछि दुई बूढा लामाहरू कर्मा टासी र रिट्रुल रिन्जिन चोख्यालले बालक एक पवित्र र विशेष मानव भएको घोषणा गरे । तेन्जिङको ध्यानास्थ हुने बालापन देखेर उनी तिब्बततिरका एक योगीको टुल्कु भएको अनुमान गर्नेहरू बढ्दै गए । यसले बालक तेन्जिङको जीवनमा ठूलो प्रभाव पार्न पुग्यो । उनलाई भारत लगियो, जहाँ अहोरात्र उनले पढाइ र ध्यान गर्नुपर्‍यो ।

‘अरू साथीहरू चौरमा मस्तले खेलिरहेका हुन्थे, मलाईचाहिँ पढ्न लगाइन्थ्यो जतिखेर पनि,’ रिम्पोछेको बाल्यकालीन सम्झना छ, ‘त्यो देख्दा मलाई पनि खेल्न मन हुन्थ्यो, तर त्यसो गर्ने छुट मिल्दैनथ्यो ।’ तिब्बती बौद्ध परम्परामा टुल्कुले पहिलेको जीवनको धार्मिक कामलाई औपचारिक रूपमा निरन्तरता दिने कामलाई गद्दी आरोहण भनिन्छ, जो आठ वर्षको उमेरभित्र गरिसक्नुपर्ने मान्यता छ । तर, आफ्नो तिब्बतस्थित गुम्बामा जान सक्ने अनुकूलता नमिल्दा उनी बनारसमै पढेर बसे । अचम्म के भने भनिएजस्तै आठ वर्ष कटेपछि तेन्जिङ निकै बिरामी परे ।

‘गद्दी आरोहण नगरेसम्म उनलाई निको हुने छैन,’ छोराको सुर्ताले आँसु चुहाउँदै गुहार्न पुगेकी उनकी आमा रिन्छेन पाल्मोलाई लामाहरूले उत्तर फिराए । उनकी हजुरआमा तिब्बती अक्षरहरू पढ्न जान्दिनथिन्, तर सबै लामामन्त्रहरू भने उनलाई कण्ठस्थ थियो । नातिको स्वास्थ्य राम्रो होस् भनेर उनी सधैँ ती मन्त्र पढ्थिन् । तर, तेन्जिङको स्वास्थ्य सधैँ दुर्बलका दुर्बल नै रह्यो । यस्तै दुर्बलताका बीच तेन्जिङले बनारसमा संस्कृत र राजनीतिकशास्त्रमा शास्त्री पास गरे भने बौद्ध दर्शनमा चाहिँ पीएचडीसरहको अध्ययन टुंग्याए । दर्शनशास्त्रमा रुचि बढेकाले उनलाई पुनर्जन्म र औतारी कर्ममा आशंका हमेसा रहिरह्यो । तर, भविष्यवेत्ताहरूले उनको गद्दी आरोहण खामको श्याल्पा गुम्बामा छिट्टै हुने र त्यसपछि समुद्र पार पुगेर उनले ध्यान र प्रज्ञालाई फैलाउने ठोकुवा गरे । नभन्दै त्यस्तै भयो पनि । एक दिन उनी सुटुक्क ल्हासाबाट ट्रकमा चढेर दुई दिनपछि खाम पुगे, सन् १९८७ मा । तेन्जिङ चढेको ट्रक सँगसँगै माथिमाथि दुई ठूला चील पनि खाम पुगे ।

तिब्बतमा धर्मलाई रक्षा गर्ने दुई धर्मपालहरूको पूजा गर्ने चलन छ । तिनै दुई धर्मपालहरू चील बनेर ल्हासादेखि रिम्पोछेलाई श्याल्पा गुम्बामा ल्याएको विश्वास खामवासीहरूमा निशंक रूपले छायो । परिणामतः खामवासीले उनलाई गद्दीमा बसालेर श्याल्पा तेन्जिङको पाँचौं अवतार भएको उद्घोष गरे । त्यसअघि श्याल्पाका अवतार मानिएका चार लामाहरू लाम्दाक, गोन्पो रिन्चेन, दाक्पा छुल्ठिम र कर्मा दोर्जेको गद्दी आरोहण भएको थिएन । सयौं वर्षपछि तेन्जिङले चाहिँ श्याल्पाको गद्दीधारी रिन्पोचे हुने पहिलो अवसर पाए । श्याल्पाको अर्थ हुन्छ, ‘मापित’ अर्थात् राम्रोसँग नाप लिइएको । यसको तात्पर्य हो, परीक्षामा उत्तीर्ण । संसारको दुःखलाई बुझेको, यसको भ्रमित वास्तविकतालाई थाहा पाएको र कहिल्यै ननासिने ज्ञानको आलोकमा उद्भाषित हुन पुगेको चित्तलाई पनि तिब्बती शब्द श्याल्पाले संकेत गर्छ ।

बौद्ध दर्शन तिब्बतमा पुग्नुअघि वोन्पोहरूको संस्कृति चलिआएको समयमा पनि श्याल्पा शब्द प्रचलित थियो र सिद्धहरूलाई श्याल्पा नै भनिन्थ्यो । उनै प्राचीन श्याल्पा रिम्पोछेको सम्मानमा खाम नदीको किनारमा उभिएको दुई सय वर्ष पुरानो श्याल्पा गुम्बामा चिनियाँ कम्युनिस्ट सरकारको आँखा छल्दै धेरै तामझाम नगरी गुप्त रूपमा उनको गद्दी आरोहण भयो । भविष्यवाणी भएजस्तै, गद्दीमा बसेपछि श्याल्पाको स्वास्थ्यमा जादुगरी सुधार आयो । अर्को रमाइलो पनि के भने उनी खामबाट काठमाडौं फर्केलगत्तै अमेरिकाबाट धर्मदेशना गरिपाऊँ भनी निम्तो आयो ।

यसरी मध्ययौवनमा गुरु बनेर सन् १९८८ मा श्याल्पा रिम्पोछे न्युयोर्क पुगे, जहाँ उनका वर्षौं वर्ष गोराहरूलाई ध्यान सिकाएर बित्यो, बितिरहेछ । रहँदा–बस्दा उनले धेरै अमेरिकीलाई बौद्धमार्गी बनाए । तिनको प्रेमपूर्ण आग्रहलाई स्वीकार गरी उनी आफू पनि अमेरिकी नागरिक बने । यो तीन दशकका दौरान न्युयोर्कलाई नै स्थायी कार्यथलो बनाएर रिम्पोछेले मानव बस्ती भएका सबै महादेशहरूमा पुगी धर्मदेशना गर्न भ्याए । चेलाहरूले दिएको दानको पैसाले उनले कपनमा श्याल्पा गुम्बा पनि बनाए, जहाँबाट दक्षिण हेरे उनी बालककालमा बसेको बौद्ध देखिन्छ, उत्तरतिर हेरे तिब्बत सहर छेउछाउका हिमाली–चुचुरा मुस्कुराउँछन् । बर्सेनिजसो नेपाल घुम्न आउने रिम्पोछेका चेलाहरू यहाँ बसेर ध्यान गर्न आनन्द मान्छन् ।

उनले अमेरिकी चेलाहरूलाई दिएको उपदेशको सारसंक्षेप ‘लिभिङ फुल्ली’ भन्ने पुस्तक सानफ्रान्सिस्कोस्थित प्रसिद्ध प्रकाशन गृह ‘न्यु वर्ल्ड लाइब्रेरी’ ले सन् २०१२ मा प्रकाशित गर्‍यो, जसलाई संसारभरका पाठकले निकै मन पराए । नेपालीमा ‘प्रत्येक श्वासमा आनन्द’ शीर्षकमा अनूदित पनि छ यो ।

प्रसिद्ध तिब्बती गुरु झ्याड्रेल रिम्पोछेका चेला श्याल्पा रिम्पोछेको देशना छ, जीवन एक अवसर हो, आनन्दभोग गर्ने । प्रत्येक क्षण स्वतन्त्र छन्, जसलाई महसुस गर्न संस्कारहरूले भरिएको चित्तका कारण सम्भव हुन नसकेको मात्रै हो । सबै संस्कार अर्थात् ‘कन्डिसन’ हरूलाई फालेर संसारलाई र जीवनलाई जस्ताको तस्तै हेर्न उनी मानिसहरूलाई असंख्य तरिकाले सिकाइरहेका हुन्छन् । ‘पश्चिमाहरूमा मैले अन्तरजगत्प्रतिको अद्भुत आकर्षण देखेँ,’ रिम्पोछे भन्छन्, ‘मोक्षको कामना भौतिक पुगिसरी नभई आउन सक्दैन रहेछ, हामी बुद्धकै देशका मान्छेमा बुद्धका बारेमा ज्ञान र चासो कम भएको भौतिक दरिद्रताले नै हो ।’

उनी चाहन्छन्, आफूलाई जन्मदिने देश नेपाल नै बौद्ध दर्शनको मार्गदर्शक बनोस् । विश्वमा हराउँदै गएको शान्ति र बढ्दै गएको तनावपूर्ण जीवनको समाधान गर्ने सूत्र नेपालले नै दिन सकोस् । शान्तिका परम अन्वेषक बुद्धको जन्मस्थल लुम्बिनीमा त्यो सामर्थ्य भएको उनका आँखाले देखेका छन् । ‘मनुष्य विभाजित छ, अनेक धर्म र सम्प्रदायका नाममा,’ उनी भन्छन्, ‘ती सबलाई शान्तिको अटुट स्रोतसँग जोड्न सक्ने क्षमता नेपालसँग छ, त्यो पवित्र भूमि लुम्बिनी नै हो ।’

मक्कामदिनामा मुस्लिमहरू मात्रै, जेरुसेलम र वेथलहेममा यहुदी र क्रिस्चियनहरू मात्रै अनि अयोध्या तथा मथुरामा हिन्दुहरू र बोधगयामा बौद्धहरू मात्रै जाने हुँदा संसारमा सबै मान्छेका लागि साझा आध्यात्मिक ठाउँ छैन भन्छन् उनी ।

‘शान्तिका अग्रदूत बुद्धको जन्मस्थलमा नै त्यस्तो एक अवसर छ, जहाँ हामी सबै मनुष्य जातलाई ल्याउने सामर्थ्य राख्छौं,’ उनी भन्छन्, ‘किनभने शान्ति खोज्ने बुद्धको तरिका धर्म र सम्प्रदायभन्दा माथि छ, जसलाई सबैले पछ्याउन हिचकिचाउनै पर्दैन ।’

यही ठानेर उनी लुम्बिनीमा ‘विश्व शान्ति धाम’ निर्माण गर्ने एक स्वप्निल योजनालाई मूर्तरूप दिने प्रयासमा हालैका दिनहरू बिताइरहेका छन् । हलिउडसहित संसारभरका उनका अनुयायीहरू कम्तीमा ५ अर्ब रुपैयाँ लाग्ने यो परियोजनालाई सक्दो सघाउन लागिपरेका छन् ।

स्विट्जरल्यान्डले डावोसमा बर्सेनि विश्व अर्थतन्त्रबारे अन्तर्राष्ट्रिय बहस चलाएर आफ्नो देशको पर्यटन र कूटनीति दुवैको खुब विकास गर्दै आएको छ ।

‘नेपालले पनि लुम्बिनीमा विश्व शान्ति सम्मेलन आयोजना गरेर हरेक वर्ष संसारभरका नेतामाझ छलफल चलाउन सक्छ,’ उनी भन्छन्, ‘यसो गर्दा देशको अर्थतन्त्र पनि बलियो हुन्छ, नाम पनि सबतिर फैलिन्छ, बुद्धको ज्ञानबाट मनुष्य जातिले लाभ पनि लिन सक्छ ।’

सन् २०१३ बाट काम काम सुरु भएको शान्तिधामको जग बनाउने र विद्युतीय उपकरण राख्ने अजंगका सुरुङजस्ता दुई घर बनाउने काम पूरा भइसकेको छ । शान्तिधामको जगमा १७ मिटर लम्बाइ र दुई फिट गोलाइका २ सय ९० पिलरहरू बनिसकेका छन् । अबका तीन वर्षभित्र त्यसमाथि तीन तलाको जग बस्नेछ, अनि तेह्र तलाको कमलाकार श्वेत भवन खडा हुनेछ । बीचमा बुद्धकी आमा मायादेवी र उनका साथमा बालक बुद्धको ठूलो मूर्ति हुनेछ भने आधुनिक सुविधाका पुस्तकालय, १५ सय मानिस अट्ने अन्तर्राष्ट्रिय सभाहल तथा अन्य सुविधापूर्ण स्थल बन्नेछन्, जहाँ निःशस्त्रीकरणदेखि विश्व शान्तिका लागि हुने प्रयासमा अन्तर्राष्ट्रिय वार्ता गराउने रिम्पोछेको योजना छ । अब आउने वर्ष पूरा हुने भनिएको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलबाट संसारभरका मानिस सिधै बुद्धको जन्मस्थल आउन सक्ने सुविधाका कारण पनि शान्तिधाममा मानिसको आवागमन सहज हुने उनी ठान्छन् ।

छोरालाई जन्म दिएपछि आफ्नो ज्यान जान्छ भन्ने तथ्य थाहा पाउँदा–पाउँदै पनि आमा बन्न तयार मायादेवीलाई संसारले बिर्सेकोमा श्याल्पा रिम्पोछेलाई चित्त बुझेको रहेनछ । त्यसैकारण उनी शान्तिधाममा मायादेवीको भव्य मूर्ति कुँदाउने तयारीमा छन् । उनी भन्छन्, ‘यो संसारमा मानिस दुःखी छन् भने निष्काम प्रेमको अभावले छन् । यो निःसर्त प्रेमलाई सांसारिक प्रेम भनेर गलत नबुझियोस् भन्नका लागि बुद्धले करुणा शब्दको प्रयोग गरे ।’

‘निर्वाण प्राप्त नभई सत्त्वहरूको हित गर्ने महाकरुणाको उत्पाद हुँदैन, तर सांसारिक अवस्थामा निःसर्त प्रेम नामको करुणाको छेउछाउ पुग्ने कुनै प्रेम छ भने त्यो आमाले बच्चालाई गर्ने प्रेम हो, जसमा आसक्ति र स्वार्थ होइन, एक स्वाभाविक करुणाको बहाव हुन्छ,’ रिम्पोछे भन्छन्, ‘यही सत्यलाई संकेत गर्न लुम्बिनीमा मायादेवीको मन्दिर हुनु अपरिहार्य छ ।’

जर्मनीको संसद् भवनका डिजाइनर प्रसिद्ध आर्किटेक्ट प्रोफेसर स्टिफिन ब्राउनफेल्सले रिम्पोछेको शान्तिधामको प्राथमिक नक्सा कोरिदिए । त्यसमाथि बौद्ध दर्शन झल्कने गरी प्रशस्त परिमार्जन रिम्पोछे आफैंले गरिदिए । फुलेको कमलको आकारले मनुष्यले पाउन सक्ने परम ज्ञानको अवस्थालाई, तेह्र तलाका तेह्र पत्रले ध्यानका तेह्र अलग भूमिलाई र त्यस मुन्तिरका तीन तहका जगले बुद्ध, धर्म र संघ गरी त्रिरत्नलाई संकेत गर्नेछन् ।

हरेक देशका आ–आफ्ना गुम्बाले लुम्बिनीको बृहत् क्षेत्रफल भरिएको छ । शान्तिधामलाई भने पृथ्वीवासीको साझा धरोहर बनाउने उनको परिकल्पना छ । ठूलो धनराशि खर्च हुने शान्तिधामको निर्माणमा उनलाई हजारौं शिष्यले सघाउन अघि सरेका त छन् नै । नेपालभित्र प्रतिमानिस एक रुपैयाँ र नेपालबाहिर एक डलरको मुठीदान उठाउने अभियान पनि उनले चलाएका छन् । त्यसका लागि नेपालभित्र इसेवा र नेपाल बाहिरको मुठीदानका लागि पे–पालले सेवा शुल्क नलिईकनै रकम शान्तिधामकै खातामा पुग्ने गरी व्यवस्था मिलाएर सहयोग पनि गरेका छन् । एक रुपैयाँ वा एक डलर जसले पनि दिन सक्ने हुँदा यो एक निःसर्त दान हुन जान्छ । निःसर्त कर्म सानो भए पनि त्यसले खुसी ल्याउने उनको व्याख्यान सामान्यजनले मन पराएका पनि छन् ।

‘पृथ्वीमा झन्डै आठ अर्ब मानिस छन्, यीमध्ये आधाले मात्रै पनि एक/एक डलर दिए भने शान्तिधामलाई चाहिनेभन्दा निकै नै बढी कोषको जुगाड हुन्छ,’ रिम्पोछे भन्छन् । सकेसम्म बढी मानिसको सद्भाव बटुलेर शान्तिका लागि पृथ्वीमा साझा काम होस् भन्ने रिम्पोछेको कामना छ ।

यति ठूलो परिणामको काम एक्लो योगीको प्रयासमा सम्पन्न होला र भनी मानिसहरू उनीप्रति आशंका र अविश्वासका दृष्टिले हेर्दारहेछन् । उनीचाहिँ मन्द मुस्कानसहित जवाफ दिन्छन्, ‘निःसर्त प्रेमले गर्ने कुनै पनि काम न सानो हुन्छ न ठूलो नै, न असम्भव हुन्छ न अनौठो नै ।’

संसार त्यागेको जोगीलाई किन यति ठूलो काम गर्ने मन ? किन उनलाई विश्व शान्तिधाम बनाउने इच्छा ? के पाउँला भनी उनी अघि सरेका यो विधि झन्झटिलो र खर्चिलो काम अघि सारेर ? मेरा यी प्रश्नको उत्तरमा पनि उनको उस्तै सौम्य मुस्कुराहट उद्भाषित भयो । अनि उनले शान्तसँग जवाफ फिराए, ‘कुनै पनि योगीलाई संसारबाट लिनु केही छैन, उसले त दिने मात्रै हो । किनभने लिने चाह हुन्जेल तपाईं संसारको बन्धनमा पर्नुहुन्छ, दिने चाहले बन्धन तोड्छ, त्यसैले म के भन्छु भने, योगी नभई कसैले केही संसारलाई दिनै सक्दैन ।’

प्रकाशित : वैशाख ११, २०७८ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?