अनि मैले जात ढाँटें- कोसेली - कान्तिपुर समाचार

अनि मैले जात ढाँटें

धनकुमारी सुनार

हेटौंडा बजारको मुटुमै जन्मे–हुर्कें म । त्यो टोललाई ‘कामी टोल’ भनिन्थ्यो । टोलको चलनचल्ती र औपचारिक नामचाहिँ स्कुल रोड थियो । मेरो घरअगाडि मकवानपुरकै दोस्रो पुरानो भुटनदेवी मावि (२०१६) र अर्को आधुनिक राष्ट्रिय मावि थियो, जहाँ मैले दिवा–रात्रि गरी दुई फरक कालखण्ड र किस्तामा एसएलसीसम्मको अध्ययन पूरा गरें । जातीय हिसाबले त्यो मिश्रित बस्ती थियो । घरवरिपरि बाहुन, क्षत्री, मगर र नेवारहरूको बाहुल्यता थियो ।

बा–आमाका अनुसार म जन्मेको ठाउँ मेरा बा, ठूला बा र उहाँका आफन्तजन मिली २०१५ सालतिर फँडानी गरी बसालिएको बस्ती थियो । तर, मैले थाहा पाउँदा बाको दुई दाजु र हाम्रो परिवार गरी हामी तीन घर मात्र थियौं त्यहाँ । म बुझ्ने हुँदा हामी तीन परिवारको माटोको एकपाखे, तर दुईतले घर थियो । अन्य आफन्त त्यहाँबाट बसाइँ सरिसकेका थिए । छेउछाउमा कथित उच्च जातका मानिसहरूको बाक्लो बस्ती भएकाले होला मैले बुझ्ने भएदेखि नै छुवाछूतको अपमान र बहिष्करण भोगें । मलाई राम्रैसँग सम्झना छ– हाम्रो घरमा धेरै पछिसम्म खानेपानीको धारा थिएन । सार्वजनिक धारा र व्यक्तिगत धारामा पानी भर्नुपर्ने भएकाले आमा, ठूलीआमा, भाउजू, म धाराबाट टाढै बस्थ्यौं । सबैले पानी भरिसकेपछि मात्रै पानी भर्न पाइन्थ्यो । गाउँमा आफन्तका तीन घरबाहेक अन्य घरमा पस्न पाइँदैनथ्यो । तर, अन्य जातका मानिस भने सिधै हाम्रो घरका चोटाकोठा गर्थे ।

साथीको घर जाँदा कहिलेकाहीं आँगनबाटै उनीहरूका आमा–बा, हजुरआमाहरू हप्काउँथे, ‘उता जा, यता छोलिस् !’ बुझ्ने भएपछिचाहिँ छुवाछूत–अपमानले मलाई असाध्यै पीडा दिन्थ्यो । सोच्थें– किन म अछूत भएर जन्में ?

आमा, बा, ठूलीआमा, अन्य आफन्तले जात व्यवस्थाका उँचनीचका सम्बोधन र व्यवहार पचाइसकेका थिए । उनीहरू गाउँका कथित उच्च जातका पुरुषलाई ‘बाजे’ र महिलालाई ‘बज्यै’ भनेर सम्बोधन गर्थे । उनीहरूका घर–आँगन पुग्दा बढो सतर्कता अपनाएर अलग्गै बस्थे । तर, उनीहरूचाहिँ मेरा बा–आमालाई जात काढेर बोलाउँथे– ‘कान्छा कामी’, ‘कान्छी कमिनी’ ! बालाई ईश्वरीमान सुनार र आमालाई गंगादेवी विक भनेर कसैले कहिल्यै बोलाएनन् ।

अहिले पो बुझ्दै छु, के रहेछ पहिचानको राजनीति ! जब व्यक्तिको वास्तविक पहिचान नै अदृश्य पारिन्छ र सम्बोधनमै अपमान गरिन्छ, तब कसरी हुन्छ व्यक्तिको मर्यादा र अस्तित्वको गणना ? सानैदेखि म र मजस्तैहरू माथि हुने जातीय उत्पीडन र हिंसाले समाज व्यवस्थाप्रति ममा असन्तोष भरिदियो । बाल्यकाल र किशोरीकालमा घोषित प्रथा प्रचलनमा जे गर्नुहुन्न भन्थ्यो समाज, म त्यही गर्थें । छुवाछूतसँग जोडिएका हरेक अभ्यासमाथि मेरो प्रश्न र विरोध थियो, चाहे त्यो महिनावारीसँग जोडिएको छोइछिटो होस् वा जातसँग । मलाई आमा–बा र अझ बढी कथित उच्च जातका बाहुन–क्षत्रीले पुज्ने ईश्वरप्रति चरम गुनासो थियो । अन्ततः १२/१३ वर्षकै उमेरमा म धर्मकर्म नगर्ने नास्तिक भएँ । र, पहिलोपटक महिनावारी हुँदा नजिकैको मन्दिर गएर देवीलाई छोएँ । समाजको आँखामा मैले ठूलो पाप गरें । मभित्र जातीय विभेद र उत्पीडनविरुद्घ मुक्तिको यति चाहना थियो त्यो आगोमा घिउ थप्ने काम तत्कालीन मालेले ०४१/०४२ सालतिरै गर्‍यो । तत्कालीन माले पार्टी जातीय, वर्गीय र आर्थिक उत्पीडन हटाउने मसिहाका रूपमा मेरोअघि उपस्थित थियो । तर, कहिलेकाहीं रमाइलो के हुन्थ्यो भने जातीय, वर्गीय, लैंगिक विभेद र उत्पीडनको अन्त्य गर्ने सपना देखाएको पार्टीमै बेला–बेला मुक्तियात्रामा सँगै हिँडेका कमरेडबीच जात व्यवस्थाको अजंग पर्खाल उभिन्थ्यो ।

कम्युनिस्ट पार्टीकै प्रशिक्षण र गोप्य बैठकमा कमरेडहरू भन्थे– ‘कमरेडले आफ्नो रियल जात किन भन्नुपर्‍यो र ? घर–गाउँमा अप्ठेरो पर्छ । आखिर ‘कमरेड दलितजस्तो देखिनुहुन्न क्यारे !’ यो मेसोमा मैले थुप्रै ठाउँमा अनिच्छित भएर पनि जात ढाटें । आफू आबद्घ कम्युनिस्ट पार्टी–नेताहरूभित्रै जब जातभात र छुवाछूतबारे गराइ र भनाइमा दोहोरो चरित्र देखियो तब जातीय उत्पीडन–छुवाछूत अन्त्यका लागि छुट्टै मोर्चा जरुरी छ भन्ने ठम्याउन मलाई गाह्रो भएन । त्यसयता जातीय उत्पीडनविरुद्घ संगठनमा आबद्घ हुँदै झन्डै अढाई दशकको दलित आन्दोलनको यात्रा गरिसकें । यसबीच २०४६ र २०६२/०६३ गरी २ ठूला राजनीतिक परिवर्तन भए । १० वर्षे माओवादी ‘जनयुद्घ’ सुरुवात गर्नेले नेपालको वर्गीय–जातीय सत्ता ढालेर कायापलट नै गर्छु भने, तर जात–व्यवस्थाको पर्खाल भत्काउने काम ‘घुमिफिरी रुम्जाटार’ भयो । कैयौंपटक देखेको छु– काठमाडौंमै मैले मात्र होइन, थुप्रै दलितले डेरा पाएका छैनन् । दलित समुदायका थुप्रै व्यक्तिका अन्तर्जातीय विवाह भत्केका छन् । परिवर्तन भएन भनौं भने मेरै जीवनकालमा दुईपटक देशको संविधान कोरियो । तर, गणतन्त्र प्राप्तिपछि पनि दलितहरू चुलो छोएकै निहुँमा मारिएका छन् ।

जातको राजनीति गर्नु नपरोस् लाग्छ कहिलेकाहीं । अत्यन्तै माया–श्रद्घा गर्ने प्रिय बाहुन–क्षत्री साथीहरू बेलाबेला भन्छन्, ‘तपाईंले आफूलाई म किन दलित भनेर चिनाइराख्नुपर्‍यो ? अब दलितबाट माथि उठ्नुस् के ! तपाईं हामीभन्दा हरेक हिसाबले माथि हुनुहुन्छ !’

कुरा सुन्दा हो झैं लाग्छ । यसो हेर्दा सहरमा सबै जातका साथीभाइसँग चिया, कफी खाइएकै छ, पार्टी–मिटिङहरूमा बसेर मानवअधिकार, समानताका कुरा गरिएकै छ, कानुन–संविधानमा सबै नेपालीको समान हो भनेर लेखिएकै छ, दलितसम्बन्धी विशेष मौलिक हकमा छुवाछूतलाई दण्डनीय मानिएकै छ । तर, कहिलेकाहीं गम्छु, ‘कतै मभित्रकै जातीय संकीर्णता पो नहटेको हो कि ?’ तर, जब समाजमा पढेलेखेका, देश–विदेश घुमेका साथी–भाइका निजी संस्कारसँग जोडिएका बिहे व्रतबन्ध र मृत्यु संस्कारसँग जोडिएका क्रियाकलाप हुन्छन् तब म र अन्य मजस्तै दलितलाई गरिने छोइछिटो फुत्त बाहिर निस्कन्छ । जब कुनै दलित समुदायका व्यक्तिबाट सामान्य गल्ती–कमजोरी हुन्छ तब उच्च बौद्घिक दाबी गर्नेले नै दलितको कमजोरीलाई जातसँग जोडेर तुलना गर्छ । त्यतिबेला देखिन्छ ऊभित्रको कट्टर मनुवादवाला संकीर्णता, जुन उच्च जातीय अहंकारले जागृत छ ।

प्रकाशित : वैशाख ४, २०७८ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्

महान प्रेमीको खोजी

धनकुमारी सुनार

महान प्रेमीको पर्खाइमा छु म,सपनीमा हैन, यर्थाथको भूगोलमा   निष्कपट, निश्चल र प्रेमील मनसहितको सग्लै प्रेमी खोजिरहेको छु अनवरत

आठ हजार वर्षदेखि प्यासिलो अधरसहित बाटो कुरिरहेकी छु

केवल उसको प्रतिक्षामा मेरा वैशालु उमंगहरु रित्तिँदै,

चाउरिँदै छन् दिनप्रतिदिन ।

शताब्दीऔंदेखि निरन्तर खसेका मेरा अश्कहरु

अञ्जुलीमा थाप्दै मूल्यहीन बन्नबाट जोगाउने अभिलाषाहरु

बाँच्दै, मर्दै फेरि बाँच्दै अर्धचेत मूल बाटोमा बेवारिस लडेको छ


मेरो कल्पनाको प्रेमी

केवल मेरो वदनको श्रृंगारिताको तारिफमा रुमल्लिने छैन्,

न त मेरा झोल्लिएका स्तन, रसविहीन अधर र

कुसमयमै कुप्रिएको शरीरप्रति विकर्षण दर्शाउने छ ।


मेरो प्रिय,

प्रश्नहरुको कठघरामा उभिएर आज तिमीले जवाफ दिनैपर्छ

किनकी तिमी पनि त महिला शरीरकै एक अंश हौ

कसरी पटक पटक मेरो सग्लो शरीरलाई क्षतविक्षत पार्न सक्छौ ?

कसरी मभित्र दनदनी बलिरहेको

युगीन चेतना माथि आगो झोस्न सक्छौ ?

हरेक युगमा अनेकन सत्ताका लागि ,

मेरो बाजी कसरी लाउन सक्छौ ?

मेरो कोमल योनीमा विर्यको सट्टा पटक-पटक

कसरी तेजाब खन्याउन सक्छौ ?

तिमीले कोपरेका मेरा वक्षका क्षतविक्षत भूगोललाई

कसरी निर्मम बेवारिसे छाड्न सक्छौ ?


उफ ! म थिलथिलो भएकी छु ,

पितृसत्ताको तिम्रो ताबेदारीमा

छिनछिनमै हरियो, निलो र सेता रंगहरुको काँचुलीमा फेरिने

तिम्रो बहुरंगी रुपहरुले बेस्सरी चिमोट्छ मलाई

गिज्याउँछ र निचोछ रक्ताम्मे हुनेगरी


म मर्माहत भएकी छु,

मेरो विश्वासमा रंग भर

मेरो अभीप्शालाई मान गर

कैयौं युगदेखि कच्चल्टिएको घाउमा मलमपट्टी गर प्रिय ।


म यस युगकै शुन्दर र सिर्जनशील प्रेमिका हुँ

म पूर्ण प्रेमको भोको छु,

मेरो युगीन उत्पीडनको क्षतिपूर्ति दिने आँट गर

म त अगांलोभरि विश्व समताको ज्वाला बोक्ने

माक्र्स, लेनिन र रोजाकै लयकै प्रेमीको खोजीमा छु ।

म विश्वस्त छु ,

एकदिन गर्विलो शिर लिएर

यो समयकै महान प्रेमी मेरो सामुन्ने उभिने छ

र,

रातो गुलाफको साटो मलाई राता विचारहरु अर्पण गर्नेछ

रक्तबीजहरु गर्भने छ मेरा गर्भमा,

म जन्माउने छु असंख्य सार्वभौम प्रेमील जोडीहरु

जो अर्पित हुनेछन् आमा र छोरीहरुको ओजिलो यात्रामा ।

प्रकाशित : भाद्र ६, २०७७ १४:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×