गलबन्दी- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गलबन्दी

नीर शाह

उसले बिहानै खाजा बनाइसकेकी रहिछ । खाजालाई एउटा कपडामा पोको पारेर उसले मलाई दिई । म पँधेरोबाट मुख धोएर कुल्ला गरेर भर्खरै घरभित्र पसेको थिएँ ।

‘सुनखानी गाउँ पुग्न छिटोछिटो हिँड्दा नि चार घण्टा जति लाग्छ, बाटो राम्रो छैन । साँझ पर्नुअगाडि नै पुग्दा राम्रो हुन्छ,’ उसले मायालु स्वरमा भनी ।

मैले हुन्छको भावमा टाउको हल्लाएँ ।

‘बाटामा भोक लागेसि सेल र चिउरा खानु अलिकति सखर पनि राखिदिएकी छु ।’

आज अचानक मैले त्यस महिलाको अनुहारमा आफ्नो आमाको मुहार देखें । मैले त उसलाई चिनेको २४ घण्टा पनि भएको छैन, के विधि आफ्नैजस्तो गरेर माया गरेकी ! मैले उसको खुट्टा छोएर ढोगें । मनमनै भनें, ‘धन्य छौ आमा ।’

त्यसपछि उसलाई मैले घाँटीमा बेरेको गलबन्दी झिकेर दिएँ र भनें, ‘खै तपाईंको छोरालाई भेट्न पाइएन, मेरोतर्फबाट यो गलबन्दी उपहार दिनुहोला ।’

उसले मलाई एकनास हेरिरही, कताकता उसको आँखामा आँसु टिलपिलाएको मैले देखें । मैले अनायासै भनें, ‘हस् त म जान्छु ।’

अनि म बाटो लागें ।

बाटोभरि मैले हिजोको दिन सम्झें ।

हिजो यो गाउँ आइपुग्दा, राति अबेर भइसकेकाले म यही घरको तरकारीबारीनेरको सानो इनारमा अडेस लगाएर बसेको थिएँ । चिसो थियो, म जाडोले कापिरहेको थिएँ । एउटी साठी वर्ष जतिकी वृद्धा ‘को रामेश्वर हो ?’ भन्दै बाहिर निस्की । मैले ‘म रामेश्वर हैन, सुनखानी गाउँ जान हिँडेको रात परिसकेकाले यहीं बिसाएको’ भने । वृद्धाले भित्र आउन भनी, तातो भात र गुन्द्रुकको तरकारी खान दिई । चुलो नजिकै एउटा गुन्द्री बिछ्याइदिई र ‘यहीं सुत’ भनी ।

यति गरुन्जेल उसले मलाई रामेश्वरबारे सबै बताई । रामेश्वर उसको एउटै छोरो ! रक्सीको मातले चुर भएर हिँड्ने, कुलतमा लागेको ! बाउ बितेपछि कति दुःख गरेर उसले रामेश्वरलाई हुर्काई, तर ऊ खराब गाउँलेको संगतमा पर्‍यो र बिग्रियो । अस्ति राति रामेश्वरले आफ्नै आमालाई अमखोराले हान्यो र मनपरि गाली गर्‍यो, पैसा दिएन भनेर । त्यसपछि ऊ घरबाट गएको आजसम्म फर्केको छैन ।

सोच्दासोच्दै म निकै तल आइपुगिसकेको रहेछु ।

छेउबाटै बगिरहेको कुलो ! कुलोनिर बसें र खाजा खान थालें ।

परबाट एक हूल मान्छे र सिपाहीहरू (पुलिसको बर्दी लगाएको) एक जनालाई हत्कडी लगाएर डोर्‍याउँदै छिटोछिटो म भएतिरै आउँदै थिए । के भएको रहेछ ! मेरो मनमा खुलदुली जाग्यो । हूल नजिक पुगेपछि मैले एक जना अधबैंसेलाई सोधें, ‘के भएको, त्यो हत्कडीले बाँधेको मान्छे को हो ?’

अधबैंसेले भन्यो, ‘यसले आफ्नै आमालाई बन्चरोले हानेर मारेछ, गाउँलेले समातेर पुलिसलाई बुझाएछन्, सदरमुकाम लैजान लागेको ।’

मैले मनमनै सोचें— कस्तो निर्दयी मान्छे आफ्नै आमालाई मार्ने ! हूल मलाई त्यहीं छाडेर अगाडि बढ्यो । मैले हत्कडी लगाएको मान्छेलाई नियालेर हेरें । उसको गर्धनमा मैले बिहान उपहार दिएको गलबन्दी झुन्डिएको थियो ।

मेरो मुखबाट सानो स्वरमा अनायास एउटा शब्द निस्कियो, ‘रामेश्वर !’

प्रकाशित : वैशाख ४, २०७८ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्

वासना र दुर्गन्धको आख्यान

प्रतिगन्धमा जीवित र मृत चरित्रहरूको, भूतप्रेत र आत्माहरूको अनि यथार्थहरूको प्रयोग समान रूपले गरिएका छन् ।
लक्ष्मीशरण अधिकारी

नेपाली औपन्यासिक जगत्का चर्चित उपन्यासकार हुन्— सरुभक्त । उनको पछिल्लो उपन्यास ‘प्रतिगन्ध’ ले नेपाली मूलका डायस्पोराले नयाँ भूमिमा भोगेको तनावलाई मुख्य विषय बनाई नेपाली डायस्पोराको कथा भनेको छ ।

डायस्पोराको प्रारम्भिक अर्थ छर्नु वा फिँजाउनु हो । अहिले पनि यसको अर्थ छरिनुसँग सम्बन्धित छ । तर, यसले आफ्नो व्युत्पत्तिको कथाभन्दा केही भिन्न अर्थ बताउँछ । सुजाता मूर्तिका अनुसार, डायस्पोराले बसाइँसराइ गरेका जनसङ्ख्याको दोहोरो प्रवृत्तिलाई जनाउँछ । दुवै संसारसँग एकैसाथ उड्नु, दुवै संस्कृतिका बीचमा च्यापिनु र दुवै स्थानलाई एकसाथ हेर्नु डायस्पोरिक सौन्दर्यानुभूति हो । विलियम सफ्रनका अनुसार, डायस्पोराहरू आफ्नो पुर्ख्यौली भूमिलाई आफ्नो असली आदर्श घर मान्छन्, जहाँ अनुकूल समयमा उनीहरू वा उनका सन्तति फर्किनुपर्छ भन्ने मान्यता राख्छन् । उनीहरू सामूहिक रूपमा आफ्नो पुर्ख्यौली मातृभूमिको पुनःस्थापना साथै सुरक्षा र विकासका लागि खटिनुपर्छ भन्ने विश्वास गर्छन् । स्टेभन भेट्रोभेकका अनुसार, आश्रित देश र मातृभूमिबीच बाँडिएको निष्ठाले त्यहाँ राजनीतिक बनोटको तनाव हुन्छ । ‘प्रतिगन्ध’ उपन्यासमा विविध कारणले अमेरिका पुगेका नेपाली डायस्पोराहरू अमर, महेश, युवराज, रवि जोन्सन, अर्पणा र विवेकको कथा भनिएको छ ।

उपन्यासको मुख्य पात्र अमर अमेरिकी नागरिक थोमससँग भन्छ, ‘अमेरिकालाई सपनाको देश भन्छन् । नेपालबाट पनि हजारौँ मानिस त्यहाँ पुगिसकेका छन् । म सोच्दै छु, यदि सपना नै देख्नु छ भने अमेरिका पुगी सपना किन नदेखूँ ?’ परिवारलाई राम्रो वातावरण दिन अमर अमेरिका जान्छ । लाहुरे संस्कृतिमा हुर्केको पात्र महेश पृथ्वीनारायण क्याम्पसमा पढ्दै गर्दा साथीहरूको संगतले वामपन्थी राजनीतिमा सहभागी हुन्छ । क्याम्पस पढ्दा ‘पुँजीवादी र साम्राज्यवादी सत्ताको नाइके’ भनी घृणा गरिएको देश जान उसले चाहेको हुँदैन । तर, आफ्नो देशको राजनीतिक अवस्था र पारिवारिक कुण्ठाका कारण ऊ अमेरिका जान बाध्य हुन्छ । युवराज फिल्ममा हिरो बन्न असफल हुन्छ, प्रेममा असफल हुन्छ । ऊ आवेगमा अमेरिका हिँड्छ । रवि टुहुरो हुन्छ । पिटर जोन्सन नामको अमेरिकी नागरिकले रविलाई धर्मपुत्र बनाएर अमेरिका लैजान्छ । अर्पणा अमेरिकी नागरिक जेम्ससँग प्रेममा परेर अमेरिका जान्छे । अमेरिकामा प्रत्येक चरित्रले व्यक्तिगत र समष्टिगत रूपले संघर्ष गर्छन् ।

यस उपन्यासका पात्रहरूमा अर्पणा र विवेकबाहेक अरू पात्रको पारिवारिक स्थिति तनावपूर्ण छ । अमरको पारिवारिक स्थिति नेपालमा प्रेमपूर्ण थियो तर अमेरिका गएपछि पति–पत्नीको सम्बन्ध तिक्ततापूर्ण हुन्छ । अमर अनुकूल पात्र र अमेरिकी पत्नी आरती प्रतिकूल पात्र बनेजस्तो देखिए पनि आरतीको निर्णय र रहस्यमय जीवनलाई दोषारोपण गर्न सकिँदैन । अमरमा मातृभूमिप्रति अनुराग छ । आरतीले अमेरिकी संस्कृति आत्मसात् गरेकी छ । यही विषयमा द्वन्द्व चर्किंदै जाँदा आरतीले घर छाड्छे । अमरका छोराछोरी अमेरिकी समाजअनुरूप स्वतन्त्रता खोज्छन् । अमर र छोराछोरीबीच भिन्न सांस्कृतिक द्वन्द्व हुन्छ । महेश अमेरिकामा सार्थक र सामाजिक जीवनको खोजी गर्छ । युवराजमा विसंगत चेतना छ । उसले जीवनलाई कुरूप र मृत्युलाई सुन्दर देख्छ । रवि जोन्सनमा विवादित चेतना छ । अर्पणामा प्रेम, समर्पण र महत्त्वाकांक्षाहरू प्रबल छन् ।

आश्रित भूमिमा पुगेर सबै पात्रले आर्थिक प्रगति गरेका छन् । बाँच्नका लागि कमाउनुपर्छ भन्ने चेतना ती सबै पात्रमा छ । आश्रित भूमि अमेरिकामा उनीहरू सधैँ व्यस्त हुन्छन्, संघर्षशील हुन्छन् ।

डायस्पोराहरूले अल्पसंख्यक र सीमान्तकृत हुनुको पीडा झेल्छन् । त्यसबाट बच्नका लागि संगठनको निर्माण गर्छन् । अमरको नेतृत्वमा ‘जमघट नेपाल’ नामक संस्था खुल्छ । महेश, रवि, युवराजलगायतका पात्रहरू सदस्य हुन्छन् । उनीहरू विदेशमा श्रम बेच्ने हो, अस्तित्व बेच्ने होइन भन्छन् । अमेरिका एउटा प्र्रणाली भएको देश हो । यहाँबाट पाठ सिकेर आफ्नो जाति र देशलाई केही दिने प्रयास गर्नुपर्छ भन्ने विचार अमरले व्यक्त गर्छ ।

नेपाली डायस्पोराहरूमा एकातिर हामी सगरमाथाका देशका नेपाली, बुद्धको देशका नेपाली, वीर गोर्खाली हौँ भन्ने उच्चताबोध छ भने अर्कातिर आफ्नो अस्तित्व बिर्सिएर, नितान्त व्यक्तिगत र स्वार्थकेन्द्रित बनी आफ्नो अनुहार नभएका मुर्कट्टा भयौँ कि भन्ने हीनभावना छ । अमरजस्ता पात्रहरू जन्मभूमिको ममता र कर्मभूमिको सम्भावनाबाट च्यापिएका छन् । भूत र भविष्यको चेपुवामा पात्रहरू परेका छन् । पत्नी र छोराछोरीको सपना र सम्भावना पूरा गर्न तिनीहरू आश्रित भूमिमा बस्न बाध्य छन् । तिनलाई आफ्नो भाषा र संस्कृति हराउँछ कि भन्ने त्रास छ । त्यसैले भाषा र संस्कृति जोगाउन तथा हार्दिकता र आत्मीयता साटासाट गर्न उनीहरू संगठन खोल्छन् ।

उपन्यासकारले विश्वशक्तिको नेतृत्व गर्ने अमेरिका आन्तरिक त्रासदीमा फसेको संकेत गरेका छन् । पेन्टागन र अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका जुम्ल्याहा भवनहरू ध्वस्त हुनु, लादेन मारिए पनि अलकायदा जिउँदै हुनु, पारिवारिक संगठन कमजोर बन्दै जानु, महाराष्ट्रका शासकहरू हलिउडका नायकजस्ता देखिए पनि आरम्भजस्ता युद्धसँग सरोकार नभएका पात्रहरू आफूले नगरेको अपराधको मृत्यु मर्न अभिशप्त हुनु चिन्ताको विषय बनेको छ । उपन्यासकारले स्वैरकल्पनाको उपयोग गरी दार्शनिक थेरो, इमर्सन, पूर्वराष्ट्रपति अब्राहम लिङ्कन र जोन एफ केनडीमार्फत अमेरिकाले नै आतंकवादीहरू जन्माइरहेको संकेत गरेका छन् । मूल रूपले यो उपन्यास नेपाली डायस्पोराको कथा भए पनि यसले विश्व आतंकवाद, अमेरिकी साम्राज्यवाद, विश्व पर्यावरण र वातावरण विनाशजस्ता वैश्विक समस्यालाई गम्भीरतापूर्वक उठाएको छ । एक प्रसंगमा यसले सम्भावित अन्तरिक्षीय हमलालाई पनि संकेत गरेको छ ।

नेपालीहरू विदेश पलायन हुनाका कारण खोतल्दै लेखकले नेताहरूका स्वार्थ र गैरजिम्मेवार आचरण, असक्षम सिंहदरबार, अन्तर्राष्ट्रिय हस्तक्षेप, सम्भावित जातीय द्वन्द्व/गृहयुद्ध, गरिबी/आर्थिक दुरवस्थालाई उल्लेख गरेका छन् । बाउबाजेले विश्वयुद्ध लडे । अहिले नेपालीहरू खाडीको तातो हावा खान बाध्य छन् । पढे–लेखेका बुद्धिजीवीहरू अमेरिकाजस्ता विकसित देशमा पलायन भएका छन् । उपन्यास त्रासहरूको संग्रह बनेको छ । अन्तर्राष्ट्रिय सन्त्रासको छायामुनि नेपाली अस्तित्वको सन्त्रास र पारिवारिक अस्तित्वको सन्त्रास नै उपन्यासको मुख्य विषय बनेको छ । अहंलाई सिर्जनशील बनाउन सके संसारमा घिनाहा मान्छेहरू हुने छैनन् भन्ने मान्यता राख्दै आएका सरुभक्तले यस उपन्यासमा आफ्ना पूर्ववर्ती मान्यता केही मात्र संशोधन गरेका छन् । अहंको खोज भनेको चाहनाको खोज पनि हो । यसले मान्छेलाई महत्त्वाकांक्षी बनाउँछ । महत्त्वाकांक्षी मान्छे स्वार्थी हुन्छ । अहंको खोजभन्दा खुसीको खोजलाई उनले जोड दिँदै मुख्य पात्र अमरमार्फत भन्छन्– ‘आज मानिसका लागि यो खुसीको खोज नै जीवनको खोज हो, सपनाको खोज हो । यदि जीवनमा सगरमाथाको चुलीमा पाइला राख्न सकिँदैन भने टाढैबाट सगरमाथालाई हेरेर खुसी हुन सकिन्छ ।’ आज्ञाकारी छोरा सिद्धार्थको आतंककारी हमलामा परेर मृत्यु भएपछि उसका सपनाहरूको मृत्यु हुन्छ । अधिकांश जीवन तुफानमै बिताएको अमर पारिवारिक सपनाहरू लडेपछि बाँच्नुको औचित्य देख्दैन अनि उपन्यासको कथानक पनि समाप्त हुन्छ ।

‘प्रतिगन्ध’ शब्दको मर्म बुझाउने शब्द हरक हो । गन्धले वासना र दुर्गन्ध दुवै जनाए पनि यसले मूलतः वासना जनाउँछ । हरक भनेको विपरीत गन्ध हो । वस्तु सडे गलेपछि हरक आउँछ । पारिवारिक, सामाजिक र राष्ट्रिय विग्रह बढ्दै गएको अवस्थामा समाजमा विपरीत गन्ध अर्थात् प्रतिगन्ध बढ्दै गएको छ । सपनाको देश अमेरिका पुगे पनि नेपाली डायस्पोरा प्रतिगन्धबाट मुक्त हुने अवस्था छैन भन्नु उपन्यासको मूलमर्म हो ।

उपन्यासमा जीवित र मृत चरित्रहरूको, भूतप्रेत् र आत्माहरूको, यथार्थहरूको प्रयोग समान रूपले गरिएका छन् । यस दृष्टिले यसलाई स्वैरकल्पना, सामायिकता र यथार्थको मिश्रित उपन्यास भन्न सकिन्छ । यस उपन्यासको विशिष्टता कथा वाचनशैलीमा छ । प्रत्येक चरित्रका आफ्ना व्यक्तिगत कथा र व्यक्तिगत कथाहरूका जोडले समष्टिगत कथा– यस उपन्यासको विशेषता हो । पाठकहरूले उपन्यास पढ्दा सुरुमा छुट्टाछुट्टै लघु उपन्यास पढेको स्वाद पाउँछन् र पछि ती सबै लघु उपन्यासहरू एउटा

सिङ्गो उपन्यासमा विलीन भएको अनुभूति गर्छन् । जस्तै : सहायक नदीहरू पछि एउटै मूल नदीमा विलीन हुन्छन् त्यसरी नै उपन्यासमा व्यक्तिगत कथाहरू एउटै मूल कथामा विलीन हुन्छन् ।

प्रकाशित : वैशाख ४, २०७८ १३:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×