झ्यालबाट हेरिरहेकी कुमारी 

राजव

झ्यालबाट हेरिरहेकी 
कुमारी 
के हेर्छे ? 
के खोज्छे ? 
के देख्छे ?

झ्यालबाट हेरिरहेकी कुमारी 

उसका आँखामा आउने दृश्यहरु

कस्ता–कस्ता हुन्छन् ?

त्यसपछि उसको मुटुको चाल र गालाको रङमा

के परिवर्तन आउँछ ?

ठीक

ठीक

भन्न

कि कवि (कविले आमाको आत्मा चोरेको हुन्छ)

कि उसकी आमा सक्छिन्


यात्रुहरु भरेर

यो बस

कतै सुदूर सहर पुग्दै छ


त्यै सहरमा जाँदै छे

झ्यालबाट हेरिरहेकी कुमारी

सँगै छेउमा बसेकी छन्

आफ्ना सबै बैंसहरु निथारिसकेकी

उसकी आमा

उनले जीवनका धेरै झ्यालहरु हेरिसकेकी छन्

अब हेर्नु छैन उनलाई कुनै झ्याल


झ्यालबाहिर हेर्न एउटा उत्साह चाहिन्छ

जीवनभरि आफ्नो मनमा संगालिएका

चोटहरुले

थिलथिलिएकी उसकी आमा

सब उत्साह पीडालाई बुझाएर

आफ्नो अन्तरको कुनै अज्ञात प्रदेशमा आँखा चिम्लेर डुबेकी छन्


झ्यालबाट हेरिरहेकी कुमारी उसलाई

आमाको अन्तरमा कस्तो हुरी चलिरहेछ ?

के–के चिन्ता खेलिरहेछन् ?

थाहा छैन् तर

उसकी आमालाई थाहा छ–

झ्यालबाट हेरिरहेकी आफ्नी कुमारी छोरीका मनमा

कस्ता–कस्ता माछा खेलिरहेछन् ?

के–के शब्द फुटिरहेछन् ?


यो उमेर पार गरिसकेकी उनलाई थाहा छ–

जवानी मनका लोकेलमा

के–के खेल्छन्, के–के उठ्छन् ?

तृष्णाको लहरो

कसरी शिर चढ्छ ?


झ्यालबाट हेरिरहेकी कुमारी

उसकी आमाझैं

थुप्रै ऋतुहरु भोगेपछि

कुनै दिन

आफ्नी छोरीलाई झ्याल छोडेर

आफ्ना उदास अभ्यन्तरमा डुब्दै

छेउमा चुपचाप बसेकी हुनेछे


सपनाहरु

निख्रिएपछि

जीवनको छेउमा एउटा उदासी आएर धुमधुमती बसेको हुन्छ ।

प्रकाशित : चैत्र २८, २०७७ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?