कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनगीतमा मनमीत

पुष्पन प्रधानको स्वर दुःख, भक्ति र प्रेमको त्रिवेणी हो । आवाज र अन्दाज दुवै निराला छ । मान्छेले सुफी गायक, जनगायक, शास्त्रीय खै के–के भने ! खासमा उसको गायकीको कुनै विधायुक्त सीमा छैन । रेकर्डिङ होइन, उसलाई लाइभ सुन्नुस् ।
पुष्पनलाई बेसारसमेत चल्दैन । बेसार त उसको पूजासामग्री रहेछ । सोधिहाल्नुभयो भने थाहा हुन्छ, उसले खानेभन्दा नखाने खाद्य र पेय पदार्थको लिस्ट लामो छ । सायद गीतसंगीत नै उसको लतकुलत, मायामोह, स्वाद–स्वादको खाद्य र पेय पदार्थ हुन् ।
राजन गोदार

गोरेटोमा एक्लै रुँदा...
सम्झनाले मुटु छुँदा
सम्झेर तिमीलाई दुख्दैन यो मन
दुख्दैन यो मन किन ?
यो रातको प्रहरमा
आएर सपनाभरि
छोपेर यो मनमुटुलाई
छाएर आँखैभरि
यो रात तिम्रै नै भो
यो मुटु तिम्रै नै भो...

मनगीतमा मनमीत

नक्सालको स्टुडियो एमभित्र छु । गनेस पौडेल र राजन गोदारको दिवाना दिमागमा यो गीतको शब्द र लय फुरेको १८ वर्ष भएछ । मदिरारहित कहिल्यै गाइएन, सुनिएन । यतिबेला मदिराबिनै मदहोस मुडमा कोही गाउँदै छ । स्क्रिनमा हेर्दै छु, स्पिकरमा सुन्दै छु । उसको स्वरबाट जादू फुस्किरहेको छ । मदिरा टेबल र हाइवे सिंगर भए पनि स्वर, धुन महसुस गर्छु ।

दुई दिवाना बाइकमा आवारा–सवार गर्दै थिए । गनेसले फुल भोल्युममा ‘दुख्दैन यो मन किन...’ गाएर रोकियो । मैले थपेंँ, ‘यो रातको प्रहरमा...।’ हामी आफैंले गाउने भनेको यो गीत आज किन अर्कैले गाउँदै छ, सोध्दै छु । सोच्दै छु ।

८ वर्ष पुरानो एउटा चिसो साँझको तिक्खर सम्झना आयो । कुन गल्लीको कुन मदिरालय, नाम–ठेगाना विस्मृत भइसकेछ । काठमान्डूमा अनेकन् गल्ली छन् र असंख्य मदिरालय छन् । अनेक गल्लीका थरीथरीका मदिरालयमा भए–गरेका नानाथरी किस्सा छन् । सम्झेर सम्झिसक्नु छैन । समय र स्थानको धमिलो सम्झना छ, तर यादगार किस्साका हिस्सेदार ताजै छन् ।

त्यो सर्दिलो साँझ हाम्रो जम्बो टोली मदिरालयमा मदिराको लयमा लयबद्ध थियो । साथीभाइ, गफगाफ, गीतसंगीत, ठट्यौलीबिनाको मदिरा–मादकता टर्रो र खल्लो हुन्छ । विलम्ब नगरीकन त्यहाँ हाम्रो मदिरामन खुलिहाल्यो । सुरताल समात वा फुस्काऊ तर हरेकले एउटा गीत गाऊ भन्ने प्रस्ताव टेबलमा सजिलै पारित भइगयो । रक्सिलो जमघटको सामान्य नियम हो, अक्करे बन्न पाइँदैन ।

पालो आयो । मैले जीवनमा धक फुकाएर गाउने एउटै गीत छ– ‘गोरेटोमा एक्लै रुँदा...सम्झेर तिमीलाई... ।’ गाएँ, यो गीत गाउँदा कसैले मिल्यो/मिलेन वा भयो/भएन भन्दैन । मुरारी भाइले एउटा भजन गायो, ‘सब से प्यारा...परमधाम हमारा...।’ त्यसो त भजनबाहेक उसले अरू केही गाउन पनि जान्दैन । उसको जीवन उसकै भजनजस्तो शाकाहारी छ । मदिराबिना मदिरामनहरूसँग मन मिलाउन सक्ने उसको अदाको पनि म फ्यान नै हुँ । अरू कसले कुन गीत गाए, सम्झना भएन । भाइ निराजनले एउटा गीत गायो । गीत मात्रै गाएन, मेरो जिन्दगीमा एउटा मित थपिदियो– पुष्पन प्रधान ।

यही साँझ निराजनकै स्वरमा पहिलोपटक सुनेँं– ‘पक्षी फर्केर आऊ....।’ जापानमा धेरै वर्ष बिताएर ऊ नेपाल फर्केको सायद एकाध वर्ष भएको हुँदो हो । गाउँदा–गाउँदै आवाजमा उसको छाती चिरियो । जमघट केहीबेर बरफजस्तै जम्यो । सायद त्यसैले, यसरी मेरो स्मृतिमा कुँदिएर बसेको छ, त्यो साँझ ।

असली गीत त सुन्नै पर्‍यो । भोलि फ्रेसमा सोधेंँ, कुन गीत थियो त्यो ? उसले कृपा अनप्लग्डको लिंक दियो । एकपछि अर्को, पुष्पनको स्वरमा जति गीत भेटिए, सबै गीत सुनेंँ । पक्षी...बारम्बार सुनेँं, थाहा पाउनु थियो कि यो गीत गाउँदा निराजनको छाती किन चिरियो । लाग्यो, निराजनलाई जापानको सबै कुरा भुलाएर नेपाल ल्याएको अरू केही होइन, यही गीत हो ।

पुष्पनको स्वर दुःख, भक्ति र प्रेमको त्रिवेणी रहेछ । उसका गीतले मलाई डिस्टर्ब गरिरहे, निदाउन दिएनन् । पुष्पनलाई फेसबुकमा खोजेंँ, सन्देश पठाएँ :

‘प्रिय गायक, तपाईंको गीत र स्वरले मेरो निद्रा अपहरण गर्‍यो । काठमान्डू आउनुस्, मलाई भेट्नुस् र मेरो निद्रा दिएर जानुस् ।’

सेलिब्रेटीले फ्यानलाई दिने सामान्य जवाफमा ‘धन्यवाद’ मात्रै भनेर राजन गोदारको अनुरोधी आदेशको बेवास्ता गर्‍यो । त्यसरी बेवास्ता मात्रै गरेन । उसको स्वर र गीतले गिथोलिएको प्रशंसकको घोर अपमान गर्‍यो । त्यति मीठो गाउने मान्छे किन पो अनेक स्टारझैं खल्लो हुनुपरेको होला ! मीठो काम गर्ने मान्छे पनि मीठै हुनु नि !

फ्यान भएर जेन्युन जवाफको अपेक्षा राख्नु मेरै गल्ती पो थियो कि, सेलिब्रेटीहरू नै जानुन् । औकातमा बस्नुपर्छ भन्छन् नि ! म पनि उस्तै छु, बेला–कुबेला आफ्नो औकात बिर्सिरहन्छु । जे होस्, उपेक्षाजस्तो अपमान अर्को केही हुँदैन । हुन त फ्यानहरूको उपेक्षा गरेर आत्मरतिमा रम्ने सेलिब्रेटीहरू पनि कम छैनन् । खैर, त्यसपछि कहिल्यै पुष्पनसँगको च्याटबक्स खोलिनँ ।

लगभग डेढ वर्ष बितिसकेको थियो । २०७२ साल वैशाख ११ गते साँझ त्यही च्याटबक्समा पुष्पनले मेरो सम्पर्क नम्बर माग्यो । विस्तारै पुष्पनलाई बिर्सिसकेको थिएँ । पठाएको सन्देश भुलिगएको थिएँ । त्यो च्याटबक्स खुलेपछि आफैँले पठाएको सन्देश पढेँ । हाँस्नु हासेँ ।

झोंँक चल्यो । ‘को हो तपाईं, किन चाहियो ?’ भनेर सोधूँसोधूँ भइसकेको थियो, सकिनँ । किन त्यसरी सोध्नु, जवाफ नफर्काए भैगो भनेर केही बेर कुनै जवाफ दिइनँ । बरु उसकै गीत सुनिबसेँं– ‘अधरमा माया... ।’ धेरै बेर न झोंक टिक्यो न घमन्ड । मेरो एउटा रोग नै जस्तो छ, आफ्नै झोंक र घमन्ड आफैंसँग धेरै बेर टिक्दैन । उसले फेरि लेख्यो– म काठमान्डूमा छु । झोंक टिकेन, मोबाइल नम्बर दिएँ । उसले फोन गर्‍यो र कुनै भूमिका नबाँधी सोध्यो, ‘कहिले, कहाँ र कसरी भेट्न सक्छु ?’

मनले भनिसकेको थियो, अहिल्यै पुतलीसडक आउनुस्, भनिनँ । त्यसको सट्टा ‘स्वागत छ, म पछि फोन गर्छु’ भनेंँ । अलिअलि भाउ त खोज्नै पर्‍यो । भाउ खोज्दै उसको अर्को गीत– ‘वचन भो...’ सुनेंँ । अनि फोन गरेँ,

‘कहाँ हुनुहुन्छ म त्यहीं आउँछु’ भनेँ ।

उसले भन्यो, ‘होइन हौ...भोलि भेटौं न, अहिले साथीहरूसँग अलिक व्यस्त छु । बरु म तपाईंकै ठाउँमा आउँछु ।’

मैले भनेँं, ‘१२ बजे, पुतलीसडक ।’

उसकै गीत ‘ए बूढा बा...यो त मेरो समय हो...’ बजाउँदै प्रतीक्षारत थिएँ । वर्षौं–वर्ष नभेटेको प्रेमिकासँग भेट्ने तयारीको कस्तो हाल हुन्छ, त्यस्तै हाल मेरो थियो । १२ बज्यो, उसको फोन आएन, भुइँचालो आयो ।

धेरै बेरसम्म मलाई थाहै भएन, यो के थियो । भुइँचालो भन्ने थाहा पाएपछि डर लाग्यो । म त घरदेशमै थिएँ, परदेश आएको पुष्पनको चिन्ता लाग्यो । फोन सम्पर्क ३ घन्टापछि मात्रै सम्भव भयो । बत्तिसपुतलीको एउटा रेस्टुराँमा रहेछ । त्यहीं पुगेंँ । सायद ऊ एकदमै अत्तालिएको हुनुपर्छ, उसले म अत्तालिएको देखेन, उसलाई प्रत्यक्ष भेट्दाखेरको मेरो खुसी पनि देखेन ।

परिचय भयो, उसले आफ्ना साथीहरूलाई पनि चिनायो । पानी मागेको थिएँ, उसका साथी मजस्तै रहेछन् । आधा खाइसकेको अक्वा जलको बोटल तेर्स्याए । रित्याएपछि थाहा भयो, बोटलमा पानी थोरै भोड्का धेरै थियो । त्यसपछि के भयो, तपाईं आफैं अन्दाज गर्नुस् ।

साँझ पर्‍यो, पुष्पनलाई महालक्ष्मीस्थान जानुपर्ने रहेछ । मैले छोडिदिने वचन दिएँ । ऊ पहिलोपटक भेटेको र मात लागिसकेको एउटा प्रशंसकको बाइकको पछाडि बस्न हिच्किचाएन । क्षतविक्षत पाटन छिचोल्दै मैले मेरो वचन पूरा गरेँ । उसलाई के थाहा, त्यो विश्वासको बदलामा उसले कति माया कमायो ।

कम्पन–जमघटपछि ऊ काठमान्डू आउजाउ गरिरहन्थ्यो । भेटघाट, जमघट चलिरह्यो । ऊ उतै चिलाउने चियाबारीमा हुँदा पनि संवाद खासै टुटेन । मान्छे जस्तो छ पुष्पन, कहिल्यै उसले पुष्पनलाई ढाकेको, छोपेको देखेको छैन । मानवीय व्यवहार, सात्विक आहारविहार र स्वानुशासनले पनि होला, ऊ जस्तो छ, मान्छेजस्तै छ, जिन्दगीको अँध्यारोमा पनि उज्यालोमा पनि ! कहिलेकाँही बोरै गर्छ । हद पार गर्छ, ढुंगा हो कि देवता हो जस्तो गरेर बसिदिन्छ । कहिले आँधीजस्तो हुटहुटी र छटपटी बोकेर आउँछ । यदाकदा उसको ठट्यौली मुड विस्फोट भइहाल्यो भने नशा तन्कने गरी हाँस्न पनि पाइन्छ । उसको भक्तिमुड चल्यो भने भक्त हुन पनि पाइन्छ ।

कामप्रतिको समर्पण र स्वानुशासन ऊसँग अझै सिक्दै छु । लसुन–प्याज, मद्यपान, धूमपान नचल्ने त मेरा थुप्रै साथी छन् । पुष्पनलाई बेसारसमेत चल्दैन । बेसार त उसको पूजासामग्री रहेछ । सोधिहाल्नुभयो भने थाहा हुन्छ, उसले खानेभन्दा नखाने खाद्य र पेय पदार्थहरूको लिस्ट लामो छ । सायद गीतसंगीत नै उसको लतकुलत, मायामोह, स्वाद–स्वादको खाद्य र पेय पदार्थ हो ।

भनिरहन्छ, संगीतप्रति मेरो मोह भंग भएको दिन म खुसी हुनेछु । उसको चेतनाले जसरी काम गरिरहेको छ, भविष्यमा यो मान्छे साधुसन्त बनिजान्छ कि जस्तो लाग्छ ।

सकेसम्म पुष्पनलाई आफ्ना प्यारा मान्छेहरूसँग चिनाउन, सुनाउन चाहन्थेँ । कुमार थपलियाको ‘यस’ नामको अंग्रेजी म्यागजिन थियो । त्यसमा छापिँदै गरेको उसको अन्तर्वार्ताका लागि फोटोसुटमा उसले मलाई जिस्क्यायो । आफ्नो नीलो कमिजसँग मेरो खैरो टिसर्ट साटिमाग्यो । उसकै भगवान् जानोस्, किन त्यसो गर्‍यो । त्यसरी उसले ऊभित्रबाट झिकेर एउटा मनमित दियो मलाई । साक्षी बस्यो, बुझ्यो । फूलको थुँगालाई पुष्पन–अन्दाजमा गायो र हाम्रो मित्रमण्डलीलाई उपहार दियो । उसको स्वरका अनेकन् गीत दुनियाँलाई सुनाउँदै हिडेँ । उत्साह, साहस थपेंँ, तर मायाले कहिल्यै कमजोर बनाइनँ ।

उसको प्रशंसाबोध जस्तोसुकै होस्, मलाई के मतलब । पटक–पटक अनेकन् गीत फर्माएँ, तर उसले गाइदिएपछि तालीसमेत कहिल्यै बजाइनँ । उसलाई चिनाउन र सुनाउन मिल्ने अवसरहरू मैले कहिल्यै चुकाइनँ । फकाएर, रिसाएर अनेकन् ठाउँमा उसलाई सुनेंँ, सुनाएँ ।

कहिले जानाजान सोधेंँ, साथी कहिलेकाहीं हामीलाई मात्रै गीत सुनाउन मिल्दैन ? कहिलेकाहीं सोधेँं, आज म फलफूल र रोटी प्याक गर्दै छु है ! कतिपटक बुधबारलाई पनि आज शुक्रबार हो कि क्या हो भनेर सोधेंँ । यस्तै–यस्तै । धुलिखेलमा पुष्पन प्रधान एकल साँझ सम्पन्न भयो । सैंबु साँझमा मलाई मदिराले बरालेछ । भोलि ऊ मुर्छा परेर मेरै कृत्य मैलाई सुनाउँदै थियो । भाइ निराजनको दाम्पत्य सुखोत्सवमा उसको गायनलाई झरीले रोकेन । किस्सामाथि किस्सा थपिँदै गए ।

अर्को भेटमा उसले मलाई सोध्यो–

साथी, घर नलग्ने ?

मैले भनेंँ, जाऊँ न !

यहाँ होइन हौ, पोखरा ।

यो प्रश्नले पोखरा सम्झायो । घर, साथीभाइ सम्झायो । नजिकै थियो एउटा अस्ट्रेलियन शैक्षिक संस्थाको परिचयात्मक कार्यक्रम । औपचारिक कार्यक्रमपछि रमाइलो कार्यक्रमको योजना थियो । सन्दर्भ मिल्ने र नमिल्ने सबै साथीभाइलाई निम्तो दिएँ । पुष्पन पोखरा आयो, पोखरेली सर्कलमा उसलाई चिनाउन र सुनाउन पाएँ ।

गनेसले पैतला–गाथा ‘शिरैमा थापी पैतला म नाच्छु शब्द छमछमी...’ पढेर सुनायो । सुन्नेबित्तिकै लाग्यो, त्यस्तै–उस्तै गायकले गनेसी शब्दहरूमा प्राण भर्न सक्दैन । निर्धक्क सुझाएँ, द पुष्पन प्रधान । ‘पैतला’ प्रकाशकले पैतला–गाथा पुष्पनको जिम्मा लगाएछन् । तयार गरेर पुष्पनले मलाई पनि पठायो । सुन्दासुन्दै म चार बित्ता उफ्रेको थिएँ ।

२०७६ सालको जेठमा अस्ट्रेलिया थिएँ । फेसबुकिङ गर्दागर्दै देखेँं– पुष्पन इन सिड्नी ! सोधेंँ– साथी, अस्ट्रेलियाको फोन नम्बर ?

कुरा चल्दाचल्दै मनले भन्यो, ब्रिसबेनमा पुष्पनको एकल साँझ किन गर्दैनस् राजन ? ऊ एउटा सम्झौतामा आएको रहेछ । उसलाई सम्झौतामा अस्ट्रेलिया बोलाएका ती जेन्टलम्यानसँग कुरा गरेंँ । बार्गेनिङ चल्यो । पुष्पनलाई ब्रिसबेन ल्याउन सशुल्क अनुमति पाएँ । पुष्पनलाई ब्रिसबेनमा सुन्ने, सुनाउने मेरो सामान्य रहरलाई मित्रजन, भाइसाथीले जेठ ३ गते शुक्रबारको साँझ, ‘रक दि बोट विथ पुष्पन’ को नाममा सफल सम्पन्न गरिदिए । यो ब्रिसबेन साँझ एउटा प्रेमिल सम्झना बन्यो ।

पोखराकै हुँ, तर चलिरहेको डुंगामा यो किसिमको आनन्द कहिल्यै लिन पाइएन, न त आफैँले त्यस्तो काम कहिल्यै गर्न सकियो । रहर ज्युँदै छ, नमरी बाँचे फेवातालमा त्यस्तो कन्सर्ट अवश्य हुनेछ । बोटमा ब्रिसबेन नदीको फेरो लगाइयो, मदिराको प्याला चढाइयो, उसको गीतमा झुम्दै करिब १५० प्रियजनसँग नाचियो, रमाइयो । पुष्पन र मेरा लागि यो नितान्त नौलो अनुभव थियो ।

लामो समय बितिसकेको थियो । कोरोनाको कहर थियो । बन्दाबन्दी अलिक सहज भएपछि पुष्पन काठमान्डू आयो । दुईपटक पनि नसोची ‘ब्लु पार्टी, शिवरात्रि पूर्वसन्ध्या उत्सव’ डिजाइन भयो । पार्टी गजब–गजब भयो । केही प्रियजनले उसको अन्दाज महसुस गरे । मलाई स्टेजमा बोलाएर ‘उसले तेरे जैसा यार कहाँ..’. गाउँदा म लगभग पग्लिसकेको थिएँ । ‘मिट एन्ड ग्रिट विथ पुष्पन प्रधान एट लालिमा क्याफे’ पनि गजब भैगयो ।

आजकाल व्यस्त छ । ‘काली’ गीतले चर्चामा छ । कुमार नगरकोटीको गीतले उसलाई कस्तो पुष्पन बनाउने हो, थाहा छैन । शीतल गिरीको गीतमा उसले आफ्नो कुन रूप देखाउने हो, थाहा छैन । निता फिल्म्स्को श्रीमद्भागवत् गीतामा उसको स्वर र संगीतको कुन विराट् स्वरूप देख्न पाइने हो, थाहा छैन । अनेकन गीत छन्, ओभररेटेड, अन्डररेटेड । भाइ नवराज र आशिषलाई उसको मुखबाट ‘सानी...लथालिङ्गै भो जिन्दगानी...’ नसुनी पिएको पच्दैन । मलाई, ‘ए बूढा बा...यो त मेरो समय हो...’ नसुनी हुँदैन ।

आज, २०७८ साल चैत २२ को साँझ । हाम्रो नितान्त निजी गीत– ‘गोरेटोमा एक्लै रुँदा...’ अब निजी रहेन । धक फुकाएर गाउने कुनै गीत बाँकी रहेन । एउटै थियो, त्यो पनि पुष्पनले गायो । गनेस र राजनको लय मारेन । यसरी गायो कि मानौं ऊ पनि १८ वर्ष अगाडिबाटै हरदिन यही गीत गाइरहेको छ । अब त मैले गाउँदा मान्छेले मिल्यो/मिलेन भन्छन् नै ।

गनेस खुट्टाको ख्याल राख्दै पोखरामै छ । म स्टुडियो एममा छु, यो गीत गाएका र सुनेका एकएक साथीहरूलाई मिस गरिरहेको छु । हाम्रो मित्रमण्डलीले यो गीतजति अर्को गीत न गायो न सुन्यो । जसरी गनेसको र राजनको कुरा कहिल्यै मिल्दैन, त्यसैगरी यो गीतको शब्द र लय कहिल्यै मिल्दैन । गनेसको आफ्नै शब्द र लय, राजनको आफ्नै । दुवै मिक्स भएपछि के हुन्छ ? जे हुन्छ, यस्तै हुन्छ । रिलिज भएपछि थाहा पाउनुहोला । चार वर्षसम्म पुष्पनले भनिरह्यो, यो गीत मिल्दै मिल्दैन । अचानक मिल्यो भन्यो । कति मिलायो कति मिलाएन । सुन्दै गर्दा लाग्यो, केही पनि नमिलाईकनै सबै मिलायो । हाम्रो बेसुरा गीतलाई सुरले बाँधेर जुरुक्क उठायो । जिन्दगीजस्तो बेसुरा चीजमा सुर खोज्नेहरू मूर्ख हुन् । पुष्पनले यो मान्यता भत्काइदियो । सुर खोज्नेहरूले जसै खोज्छन्, नखोज्नेहरू मूर्ख हुन् । स्टुडियोबाट बाहिर आयो पुष्पन र भन्यो, साथी यो गीत मेरै भागमा लेखेको रहेछ । मेरै भाग्यमा लेखिएको रहेछ । म स्वयं रोमाञ्चित छु, ल यो उपहार भो ! मैले धन्यवादसमेत भनिनँ । अब यो गीत गाउनेभन्दा पनि स्पिकरमा सुन्ने भइयो । मनको गीत मान्छेको हातहातमा पुग्ने भयो भनेर म विचलित भैगएँ । चिन्तित भैगएँ, अब मदिरा टेबलमा धक फुकाएर म कुन गीत गाउँला !

यो गीतमा दुई हरफ बोल्नुपर्नेछ :

थाहै छ तिमीलाई,

जीवनको यो खाली पाना तिमीलाई नै साँचेको थिएँ

आउन त आयौ तर केरेझैं छन् अक्षरहरू किन.... ।

यसैमा आफ्नो आवाज दिन म स्टुडियोभित्र छिरेंँ ।

प्रकाशित : चैत्र २८, २०७७ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?