कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नवाल सादवी र नारी क्रान्तिका पाठ

इजिप्टकी नारीवादी लेखिका, महिला क्रान्तिकारी नवाल एल सादवी (८९) को निधनले अरबको नारीजगत्‌मा मात्रै होइन, विश्वभरिकै नारी आन्दोलनमा तरंग ल्याएको छ ।
अभि सुवेदी

इजिप्टकी विश्वविख्यात नारीवादी लेखिका र महिला क्रान्तिकारी नवाल एल सादवीको ८ चैत २०७७ (२१ मार्च २०२१) मा ८९ वर्षको उमेरमा निधन भयो । तिनको निधनले अरबको नारीजगत्मा मात्रै होइन, विश्वभरिकै नारी आन्दोलनमा तरंग ल्याएको छ । नेपाल र दक्षिण एसियामा अहिले नारी आन्दोलन गर्नुपर्ने आवश्यकतामाथि लगभग आम सहमति तयार भइसकेको अवस्थामा यी विख्यात नारी अधिकारकर्मीको जीवन, यिनका दर्शन र कर्मबारे थोरै भए पनि चर्चा हुनैपर्छ भनेर यो लेख लखिरहेको हुँ । एल सादवीका ५० वटा किताब धेरैजसो अरबी भाषामा लेखिएका छन् । तर, केही किताब अंग्रेजीमा अनुवादित भएर व्यापक पढिएका छन् ।

नवाल सादवी र नारी क्रान्तिका पाठ

संजोगले सादवीलाई भारतको इन्डियन काउन्सिल अफ कल्चरल रिलेसन (आईसीसीआर) ले फेब्रुअरी २००६ मा निम्राना फोर्ट वा ऐतिहासिक किल्लामा आयोजना गरेको चारदिने एसियाली र अफ्रिकी लेखक, एकेडेमिकहरूको सम्मेलन र अन्तरक्रियामा भेट्ने अवसर पाएको थिएँ । त्यसबेला मैले उनको एउटा मात्रै, तर महत्त्वपूर्ण अंग्रेजीमा अनुवादित किताब ‘द हिडेन फेस अफ इभ : विमिन इन द अरब वर्ल्ड’ (१९८०) पढेको थिएँ । त्यो किताबबाट म अत्यन्त प्रभावित भएको हुँ । त्यसपछि उनका अरू केही कृति पढेको छु ।

राजस्थानको अराबली पहाडको फेदीतिर पन्ध्रौं शताब्दीमा बाह्र तहमा बनिएको निम्राना किल्ला रिसोर्टको एउटा उच्च तहमा तलको भूभाग हेर्दै ढाड धेरै दुखेकाले ढल्किने लामो मेचमा बसेकी सादवीसँग उनको लेखन, नारी आन्दोलन र उनको किसिमको मार्क्सवादको विषयमा कुरा गर्न पाएको थिएँ । एल सादवी मैले त्यो किताब ‘द हिडेन फेस अफ इभ’ नेपालमै पढेको थिएँ भन्दा खुसी भएकी थिइन् । उनले भनिन्– उनको त्यो किताब उनका तेस्रा र अन्तिम अनि जेलनेल भोगेका पति सेरिफ हेताताले अनुवाद गरेका थिए । उनका तीन पतिहरूमा यीसँग उनले सबभन्दा धेरै अथवा ४३ वर्ष बिताएकी थिइन् । यिनलाई संसारको सबभन्दा ठूलो नारीवादी पुरुष ठानेकी थिइन्, एल सादवीले । तर, यीसँग पनि अरबी पुरुषका अरू नारीसँग सम्बन्ध राख्ने गुण बुझेपछि पारपाचुके गरेकी थिइन् । सादवीका संस्मरणहरूले जोसुकैलाई हल्लाउँछ । उनको वर्णनमा अरबी महिलाका विभिन्न उमेरका कथा छन् । उनले आफ्नै जीवनबाट यो विषयको अत्यन्त संवेदनशील र मार्मिक चित्र प्रस्तुत गरेकी छन् ।

उनी ६ वर्षकी हुँदा उनकी आमाको उपस्थितिमा एउटी नारीले उनलाई अँठ्याएर बाथरुमको भुइँमा धारिलो छुराले उनको बालयोनिको सर्कमसिजन गरेको कुरा अहिले पनि स्मृतिमा बल्झाएर वर्णन गरेकी छन्, सादवीले । दस वर्षकी हुँदा एक दिन ‘तिमीलाई भेट्न एउटा मान्छे आउँछन्, क्रिम रङको जामा लाएर आऊ नानी’ भनेर फकाएको उनले बुझिहालिन् । जामा त लाइन् तर दाँत कालो हुनेगरी काँचो बैगुन चपाएर आइन् । त्यो मानिस कालो दाँत भएकी केटी पो रहिछ भनेर हच्कियो । त्यसो त उनले बिहे नगर्न विद्रोह गरेपछि त्यो उमेरमा अरूसँग बिहे गराउन कसैको केही लागेन । पछि एल सादवीले आमाको समर्थन पाइन् । एल सादवीका यहाँदेखि लिएर पछिसम्मका कथा संघर्षले भरिएका छन् । जीवनमा उनको नर्तकी हुने इच्छा थियो । उनी संगीत मनपराउँथिन् तर बाबुसँग पियानो किनिदिने पैसा नभएकाले त्यो सपना अधूरै रह्यो । पढाइमा अब्बल हुनाले उनलाई डाक्टरी पढ्न छात्रवृत्ति मिल्यो र तिनी एक अब्बलै डाक्टर भइन् ।

सादवीको लेखन कर्म बलियो थियो । अरबजगत्मा नारीले भोग्नुपरेका दैहिक र भावनात्मक विषयको विरोध गरेर तिनले लेखिन् । उनले ‘विमिन एन्ड सेक्स’ (१९६९) किताबमा यसको चर्चा गरेकी छन् । यो किताबले गर्दा यी कुशल डाक्टरको स्वास्थ्य मन्त्रालयको जागिर गयो । यसरी लेख्दा यिनको विश्वमा विख्यात अधिनायकवादी इजिप्टका राष्ट्रपतिहरूसँग शत्रुता भयो । अन्बर सदातले खेदो खन्नेमध्ये यी पर्थिन् । एल सादवीको लोकप्रियता अनि उनको लेखाइको सामर्थ्यले ती शक्तिशाली राष्ट्रपतिहरू झस्किएका थिए । देशभरिका केही निश्चित संख्याका मानिस समातेर जेल हाल्ने सदातको घोषणामा एल सादवी पनि परिन् । सेप्टेम्बर ५, १९८१ को दिन उनको गिजाको एपार्टमेन्टबाट सादवीलाई सदातका प्रहरीले पक्रेर लगे । जेल पर्दा अरू महिलाहरू हतास भएका थिए । तर, एल सादवीले उनीहरूलाई भनिन्, ‘सधैं आशावादी हुनुपर्छ, बलियो हुनुपर्छ ।’ यिनलाई ३ महिना जेल हालियो । उनलाई त्यो बेला एक जना प्रस्टिट्युट महिलाले आँखीभौं र वरिपरि रङ लाउने पेन्सिल दिइन् । त्यसैले उनले ट्वाइलेट पेपरमा आफ्नो संस्मरण लेखिन् ।

एल सादवीले कुनै डर र त्रास नराखी लेखिन् । अरबीमा उनका किताब र लेखहरू निस्किँदै गए । उनलाई राष्ट्रपतिदेखि अरू पुरुष संयन्त्रका मानिसले खेदो गर्थे । उनलाई टेलिभिजनमा निस्किने वा बोल्ने अनि इजिप्टको सबभन्दा ठूलो पत्रिका ‘अल अहराम’ मा लेख छाप्ने अनुमति थिएन किनभने यी अत्यन्त लोकप्रिय र क्रान्तिकारी थिइन् । उनको विश्वास थियो, क्रान्तिले लेखकहरूलाई ठूलो मद्दत गर्छ । लेखक त्यसमा पनि नारीहरूले विचार प्रस्ट र निर्भीक भएर राख्नुपर्छ भन्ने तिनको विश्वास थियो र त्यो उनले पालना गरिन् ।

सन् १९७८ देखि १९८० सम्म राष्ट्रसंघको नारी विकासकी सल्लाहकारका रूपमा सादवीले काम गरिन् तर उनलाई देशमै रहेर क्रान्ति गर्ने र नारीको विषयमा बलिया विचार प्रवाहित गर्ने आवश्यकताको बोध भयो र उनी मिश्र फर्किइन् । उनी कतिसम्म तारो थिइन् भने प्रार्थनाका निम्ति आह्वान गर्ने मस्जिदको मज्जिनले एल सादवीलाई मार्नुपर्छ भनिरहेको उनले एकपटक सुनिन् । एल सादवीको एउटा शक्तिशाली उपन्यासको धेरै चर्चा हुन्छ । त्यो ‘उमन याट प्वाइन्ट जिरो’ (१९८३) भन्ने उपन्यासमा जेलमा मृत्युदण्डको पालो पर्खेर बसेकी एउटी नारीको कथा छ । आफूलाई जबर्जस्ती करणी गर्ने एउटा मान्छेलाई त्यो नारीले मारेकी थिई । यो अत्यन्त तीव्र भावना भएको लेखटनमा एल सादवीले आफूलाई त्यो पात्रको समर्थकको रूपमा प्रस्ट देखाएर लेखेकी छन् र त्यसका भावनाको कदर गरेकी छन् । मेरो संस्मरणमा एकाध अरू कुरा जोडिन्छन् । त्यो सम्मेलनमा भाग लिन जापानी विख्यात कवि काजुको शिराइसी पनि आइपुगिन् । जापानमा बिसौं शताब्दीको अन्त्यतिर टोकियो विश्वविद्यालयमा भिक्षु एकाइ कावागुचीमाथि अनुसन्धान गर्ने क्रममा मैले यी जापानी विद्रोही कविलाई भेटेको थिएँ । ती एक मित्र भएकी र उनको काव्य–जीवनबारे निकै अध्ययन गरेको हुनाले मैले उनको विषयमा अलग्गै लेखहरू लेखेको छु । नेपालीमा यसरी नै लेख्नु छ ।

बिन्दु र म शिराइसीका नजिकका मित्र भएका थियौं । ती अहिले पनि ९० वर्षको उमेरमा विद्रोही कविता लेखेर टोकियोमा बस्छिन् । शिराइसी एलन गिन्स्वर्ग, जाज संगीतकार कोल्ट्रानेकी मित्र र उसको जाज शैलीमा कविता लेख्ने, साठीको दशकको धारलाई अनुशीलन गर्ने एक क्रान्तिकारी नारी कवि हुन् । मैले तिनलाई एल सादवीसँग चिनाएँ । दुई जनाबीच कुराकानी भयो । मैले त्यहाँ काजुको शिराइसीबारे सादवीलाई भनेँ । त्यसैगरी पत्रकार र नेपालमा बसेकी राम्ररी चिनेकी मित्र बेला मलिक निम्राना फोर्टमा दिल्लीबाट त्यहाँको गतिविधिबारे लेख्न आइपुगिन् । कुराकानीको क्रममा मैले एल सादवीको विषयमा भनेपछि बेलाले उनलाई भेटिन् । म उनीहरूको कुराकानीमा बसिनँ । बेलाले ऊसँग गरेको कुराकानी कहीं लेखिन् कि लेखिनन्, मलाई केही थाहा भएन । यी प्रतिभाशाली र सिर्जनशील मानव बेला दिवंगत भएका पनि निकै वर्ष बिते ।

एल सादवीलाई मैले त्यो बेला देखेपछि लागेको थियो, यी क्रान्तिकारी अब सायद थाकेकी छन् । तर, त्यो सम्मेलनमा आएकी इजिप्टकै एक युवती लेखकले भनिन्– यिनी पोहोर २००५ मा होस्नी मुबारकसँग राष्ट्रपतिको प्रतिस्पर्धामा उठ्न लागेकी थिइन् । तर मुबारकले यिनलाई मिडियामा आउन र बोल्न अनेक बन्देज लगाएपछि उनले चुनाव लड्ने विचार छोडेकी थिइन् । निम्राना फोर्टमा भेटेकी ती अलिक थाकेजस्तो लाग्ने सादवी इजिप्टको क्रान्तिकी एक अग्रणी महिला भएर सन् २०११ मा ताहरिर स्क्वायरमा सामेल थिइन् । उनी झन् प्रखर क्रान्तिकारी भएर गइछन् । इजिप्ट र विश्वमा यिनलाई अनेकौं सम्मान गरिएका छन् ।

एल सादवीको सन्देश नारी आन्दोलनका निम्ति अत्यन्त मननयोग्य छ । सादवीले भनेकी छन्, ‘नारीहरू क्रान्तिकारी हुनुपर्छ । क्रान्तिले लेखकहरूलाई बल दिन्छ ।’ उनले भनिन्, ‘नारी शिक्षा सबैभन्दा ठूलो विषय हो ।’ एडवार्ड सइदले भनेजस्तै एल सादवी यस्ती विद्रोही थिइन्, जसले सहजै सत्य बोल्छ । उनले भनिन्, ‘विद्रोहीले धेरै किसिमका दृष्टिकोण र सिर्जनाका सम्भावनालाई प्रयोग गर्नुपर्छ, एउटा मात्र विषय रटेर क्रान्ति हुँदैन । क्रान्तिकारी एक सिर्जनशील व्यक्ति हो ।’ निर्भर्की, सिर्जनात्मक र अध्ययनशील भएर आफ्ना विचार राख्नु अनि भित्रसम्म गढेर बसेका नारीमाथि गरिने अत्याचारलाई शक्तिशाली लेखहरूद्वारा उदाङ्ग पार्दै जानु र दैहिक उपस्थितिको सामर्थ्य हुन्छ भन्ने बुझेर विद्रोहमा भाग लिइबस्नु नेपालको नारी आन्दोलनले नवाल एल सादवीबाट सिक्न सक्ने कुरा हुन सक्छन् ।

प्रकाशित : चैत्र २८, २०७७ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?