१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दिवंगत हुक्काको यादमा

मेरो बाल्यकालको काठमाडौं हुक्कामय थियो । काठमाडौंका अभिन्न अंग हुक्का, चिलिम, नली र तमाखु मेरै जीवनकालमा लोप भएको छ ।
मेरो समयमा मान्छेको फुर्ती चुरोट, पाइप र सिगारमा प्रदर्शन हुन्थ्यो । आजभोलि सुर्तीको फुर्ती प्राय: नगन्य भइसकेको छ । तैपनि धेरै मानिस यो लतमा छन् ।

मेरो जन्म काठमाडौं इलाकाको महाबौद्ध टोलमा ब्लक नम्बर १०/४३९ को एक घरमा भएको थियो । विसं १९९४ दसैंताका सोही घरको एउटा सानो कोठामा आमाले मलाई जन्माउनुभयो । वीर अस्पताल नजिकै थियो, तर प्रसूति सेवा थिएन । विसं २००२ ताका दरबार हाई स्कुलमा सबभन्दा तल्लो प्रारम्भिक कक्षा ‘अइट क्लास’ (आठौं) मा भर्ना भएँ । त्यस बेलाको त्यो दुई स्तरको कक्षा थियो । प्रत्येक वर्ष कक्षा उत्तीर्ण हुँदै फस्ट क्लास पुगेर प्रवेशिका परीक्षा अर्थात् एसएलसी उत्तीर्ण भएपछि स्कुल छोडेर कलेज गइन्थ्यो । दसौं कक्षालाई ‘फस्ट क्लास’ अर्थात् पहिलो कक्षा भन्ने चलन थियो ।

दिवंगत हुक्काको यादमा

स्कुल भर्ना भएकै दिन पहिलो भेट भएका मास्टर साहेब हुनुहुन्थ्यो– एक बंगालीबाबु अर्थात् अमरबाबु । कालो अनुहारमा ठुल्ठूला आँखा र सेता चम्किला दाँतहरू देख्दै सातो जालाजस्तो लाग्थ्यो । उहाँले सोध्नुभयो, ‘तुमिरो बाबुले हुक्का खान्छ कि खाँदैन ? नलीले ठोक्छ कि ठोक्दैन ?’ मैले भने, ‘नलीले पिट्नुहुन्छ मार्साब ।’ उहाँले थप्नु’भो, ‘हो † बदमासी गर्‍यो भने तुमिरो बाबुलाई भनिदिन्छु ।’

सम्झनाको त्यही त्यान्द्रोमा अल्झिएको हुक्का र नलीको प्रसंगबाट मेरो कुरा थाल्छु किनभने काठमाडौंमा एक अभिन्न अंगको रूपमा स्थापित हुक्का, चिलिम, नली र तमाखु मेरै जीवनकालमा लोप भएको छ ।

०००

हुन त हाम्रो प्राचीन सभ्यतामा सुर्ती, तमाखुको स्थान हुने कुरै आउँदैन किनभने क्रिस्टोफर कोलम्बसले अमेरिका भ्रमण (सन् १४९२) गरेपश्चात् मात्रै सुर्ती युरोप र एसिया तथा अफ्रिकातिर प्रवेश भएको हो । भारतमा पनि मुगल बादशाह अकबर (इ.सं. १५४२–१६०५) को पालामा मात्रै हुक्का–तमाखु प्रचलनमा आएको मानिन्छ । मेरो बाल्यवस्थाको काठमाडौं समाजमा भने हुक्का, तमाखु, चिलिम र नली नभएको कुनै परिवार थिएन भन्दा फरक नपर्ला ।

मेरो बुबाको हुक्का एक घरानिया हुक्का थियो । त्यसको बनोट विशेषलाई सम्झँदा हुक्काको फेदी भाग चम्किलो धातुको थेप्चो करुवाजस्तो र गर्दन सुराइको जस्तो साँघुरो तर निकै छोटो हुन्थ्यो । त्यही गर्दनमा टम्म मिल्ने काठको सुमेरु घुसारिएको हुन्थ्यो । करिब दुई बित्ता लामो काठले बनेको सुमेरुको टुप्पोमा चिलिम जड्ने आसन हुन्थ्यो । सुमेरुको काठ अनेकौं बुट्टाले सजिएको काष्ठकलाको एक विशेष नमुना थियो । हुक्कामा करुवाको जस्तो टुट्टी हुन्थ्यो । त्यो निकै छोटो हुन्थ्यो । र, त्यसमा बाँस वा निगालोको नली टम्म जोडिने मुख हुन्थ्यो । हुक्काको पेट–भागमा भित्र पानी हुन्थ्यो । र, बाहिर भने विभिन्न कलात्मक बुट्टाले सजिएको हुन्थ्यो ।

धनीमानीका घरमा चाँदीको हुक्का हुन्छ भन्ने सुनेको थिएँ । मुगल बादशाहका दरबारिया हुक्काका चित्रहरू हेर्‍यौं भने त्यहाँ जुहारात जडिएको पारसी कलाका उत्कृष्ट नमुनाहरू देख्न पाइन्छ । उनीहरूले प्रयोग गर्ने नली लामो घुमाउरो लचकदार रबर आदिले बनेजस्तो देखिन्छ । मेरो बुबाको नली भने केटाकेटीलाई ठटाउन मिल्ने निगालोको थियो । त्यसमा विभिन्न फूल–बुट्टाका साथै तासका बादशाह, बजिर र गुलामका विभिन्न आकृति कुँदिएका थिए । प्राकृतिक रूपमै बुट्टेनली भने डोटी खप्तड लेकमा पाइने बाघबुट्टे निगालोबाट बनेको हुन्थ्यो ।

तमाखु खाने हुक्काको प्रमुख अवयव चिलिम हो । कुमालेहरूले बनाएको माटोको चिलिम कमलको फक्रेको फूलझैं देखिन्थ्यो । बाहिरी भागमा विभिन्न बुट्टाहरू छापिएका हुन्थे । भित्रबाट एउटा सानो प्वाल हुन्थ्यो । त्यही प्वाल टाल्ने गरी तमाखु खाँदेको सानो पातो चिलिम भित्र घोप्ट्याएर राखिन्थ्यो । सानो रिकापिजस्तो, मात्र एक/डेढ इन्च व्यासको, त्यो पातो पनि माटोले नै बनेको हुन्थ्यो । पातोको किनारा भने दाँती दाँती परेको हुन्थ्यो । हुक्का तान्दा त्यसले हावा छिर्न मद्दत गथ्र्यो । त्यसपछि असल खालको दाउराको गोललाई आगोले सल्काएर चिलिम भर्ने काम गरिन्थ्यो ।

बाँझ, खसु, कटुसको दाउरा सल्काएर बनाएको गोल (अंगार) तमाखुका लागि उत्तम मानिन्छ । तमाखुका सौखिनहरू आफैं चिलिम भर्दैनन्, अरूलाई भर्न लगाउँछन् । मेरो घरमा बुबाका लागि चिलिम भर्ने काम आमाले गर्नुपथ्र्यो । ठुल्दाइ र काका चाहिँ हुक्का भर्ने काम केटाकेटीलाई लगाउँथे । चिलिम तातेपछि तमाखु डढ्न थाल्छ र चुइइं आवाज आएपछि चिलिमलाई हुक्कामा जोड्ने काम हुन्छ । त्यसपछि चकटीमा विराजमान बुबा नलीलाई हुक्कामा जोडेर क्वार–क्वार तमाखु तान्न सुरु गर्नुहुन्थ्यो । फुफु धूवाँ छोड्दै आनन्दसँग गफिन थाल्नुहुन्थ्यो । तमाखुको धूवाँ चिलिमबाट सुमेरुको बाटो हुँदै हुक्काभित्रको पानीमा बुलबुलाउँथ्यो । र, नलीको बाटो हुँदै धुवाँ मानिसको मुखभित्र रूमल्लिन थाल्थ्यो । सायद फोक्सोमा पनि त्यो धुवाँ मुखमा जस्तै गरि रूमल्लिन्थ्यो । तमाखुको धूवाँ हुक्काको पानीभित्र बुलबुलाएपछि मात्रै मान्छेको श्वास प्रणालीमा पुग्ने हुनाले अरू चुरोट, बिडी, खैनी आदि सेवनभन्दा हुक्का कम दूषित मानिन्छ ।

तमाखु घरमा बन्दैनथ्यो । बजारबाट किनेर ल्याउनुपथ्र्यो । तमाखु किन्न हामी असन बजार पुग्थ्यौं । साहुजीको पसलमा सुर्तीका पातहरू पानीमा भिजाइ राखिएको हुन्थ्यो । पहिले पातलाई फलामे औजारले काटिन्थ्यो । त्यसपछि परालको भुस्साजस्तो कुड्कामा सुर्ती काटेर त्यसलाई सख्खरको खुदोमा पकाइ राम्रोसँग मलेर तमाखु तयार पारिन्थ्यो । त्यही ल्याचल्याचे तमाखुलाई तराजुमा जोखेर बिक्री गरिन्थ्यो । पसलेले तमाखुलाई हरियो सालको पातमा बेरेर परालले बाँधी पोका पारेर दिन्थ्यो । त्यसबेला कागज वा प्लास्टिकको थैलो हुने कुरै भएन । घरमा पनि तमाखुको पोका सालको पातमै राखिछाड्ने चलन थियो । सख्खर वा चाकुको खुदोले गर्दा तमाखु पसल र पसले साहुभन्दा मैलो सायदै कोही देखिन्थे ।

काठमाडौंमा हुक्का संस्कृति निकै बाक्लो र बलियो थियो । प्राय: सबैका घरमा हुक्का हुन्थ्यो । बढी प्रचलनमा नरिवलको हुक्काले विशेष स्थान पाएको थियो । नरिवलको हुक्का बोकी–बोकी हिँड्न पनि सजिलो, डुली–डुली वा लुकी–लुकी पनि खान र आपसमा साटासाट गर्न पनि सजिलो ! आपसमा हुक्का साट्नु भनेको आत्मीयताको प्रदर्शन पनि थियो । भात–भान्छा नचल्नेसँग हुक्का साटिँदैनथ्यो, तर चिलिम जोसँग पनि साटिन्थ्यो । त्यसमा आगो भएकाले पानी नचल्नेसँग पनि चिलिम चाहिँ साटिन्थ्यो । हुक्काको प्रचलन यति गाढा भइसकेको थियो कि राणा शासकका दरबारमा ‘हुक्के’ पदसमेत स्थापित थियो । शासकको समीप विशेषमा तैनाथ हुने पद भएकाले हुक्केहरूको सामाजिक फुर्ति पनि बेग्लै हुन्थ्यो ।

तमाखु, चुरोट, बिँडी वा सिगारको लत मानिसलाई छिट्टै लाग्छ । तमाखुको लत लागेकी मेरी एक छिमेकी ‘काकी’ सम्झन्छु । मेरै चोकभित्र बस्थिन् र मेरी आमाभन्दा जेठी थिइन् । बिहानी झिसमिसेमा ‘ए भत् मैजू’ (ए बुहारी) भन्दै आमाकोमा आइपुग्थिन् । आगोको बीउ माग्न आएकी उनी ‘मि पुसा फों वया’ भन्थिन् । त्यसबखत आगोको बीउ माग्ने चलन थियो । सलाई वा लाइटर बहुतै कम खपत हुने समय थियो । मेरी आमा भने बिहानै सलाई कोरेर मकलमा आगो तयार पारी बुबालाई चिलिम भर्ने तरखरमा हुन्थिन् । काकी पनि आफ्नो सानो मकलमा आगो फुक्दै गफिन थाल्थिन् । जाने बेला ‘एक चिलिम तमाखु पनि लान्छु’ भन्दै मस्यौरा जत्रो तमाखु लिएर बिदा हुन्थिन् । धन्य तमाखुको तिर्सना !

०००

तमाखुलाई अंग्रेजीमा टोबाको भनिन्छ । दक्षिणी अमेरिकाको उत्तरी खण्डमा अवस्थित एक सुन्दर टापु ‘टोबागो’ बाट ‘टोबाको’ बनेको हो । आजभन्दा लगभग ५२३ वर्ष पहिले (सन् १४९८) मा क्रिस्टोफर कोलम्बस त्यस टापुमा पुगेका थिए । सुर्तीको धूमपान त्यहाँको सभ्यताको एक पहिचान थियो । धूमपानको आनन्द कोलम्बसले पनि अनुभव गरे । सुर्तीका पात र बीउ उनले स्पेनमा लिएर गए । त्यसपछि अन्य युरोपभरि सुर्ती धूमपानले प्रभुत्व जमाउन थाल्यो । भारतीय उपमहादेशमा भने पुर्तुगाली जहाजीहरूले सन् १६०५ तिर वनस्पतिको पहिलो खेती सुरु गरेका थिए । खेती गुजरातमा आरम्भ भएको थियो । सुरतको उत्पादन भएको हुनाले भारतमा त्यसलाई ‘सुरती’ भन्ने नामले सम्बोधन गरियो । र, नेपालमा पनि त्यस बिरुवाको नाम सुर्ती भयो । टोबागो टापुको रैथाने वनस्पति भएकाले युरोप, अमेरिकालगायत विभिन्न क्षेत्रमा त्यसलाई ‘टोबाको’, ‘टाबाक’ वा यस्तै नामले पुकारिन्छ । भारतीय महादेशमा सुर्ती नामले यो बिरुवा प्रख्यात छ । वैज्ञानिक नामकरणमा यसलाई ‘निकोटियाना टाबाकम’ भनिन्छ । स्पेनदेखि फ्रान्ससम्म यस बिरुवालाई लोकप्रिय बनाउन ‘जाँ निकोट’ नामक एक कूटनीतिज्ञको विशेष भूमिका रहेको हुनाले उनकै सम्झनामा वनस्पति शास्त्रीहरूले यसको वैज्ञानिक जातीय नाम निकोटियाना राखेका थिए । त्यस बिरुवाको प्रमुख रासायनिक पदार्थलाई पनि ‘निकोटिन’ भनिन्छ । धूमपानको गुण–अवगुणका मुख्य कारक रसायन पदार्थ निकोटिन मानिएको छ ।

सुर्तीको पात, जरा र बीउमा समेत निकोटिन हुन्छ । धूमपानलगत्तै आठ सेकेन्डभित्र यो रसायन रगतमा सञ्चार भएर मगजसम्म पुगिसक्छ । सम्पूर्ण स्नायुप्रणाली तथा मुटुलगायत अन्य अंगप्रत्यंग यसबाट उत्तेजित हुन्छ । त्यस उत्तेजनाले मानिसलाई शारीरिक तनाव तथा थकान कमी महसुस हुन थाल्छ । र, मन आनन्दित भएको भ्रम हुन्छ । धूमपानको लत लागेकाहरूमा उत्पन्न हुने तलतलको तिर्सना यसको सेवनपछि समन हुने नै भयो । त्यसैले आजभन्दा ५०० वर्ष पहिलेदेखि नै धूमपानले युरोपलगायत अन्य सबै महादेशको जनजीवनमा गहिरो जरा गाडिसकेको थियो । वेस्ट इन्डिज द्वीप समूहका बासिन्दा एवं दक्षिणी अमेरिकी आदिवासीहरूमा भने धूमपानको संस्कार ५ हजार वर्ष अघिबाटै कायम रहेको मानिन्छ ।

धूमपानको त्यो बिलासी इतिहास बोकेर हुक्का, चिलिम, चुरोट, बिडी, पाइप तथा सिगार नेपाली समाजमा पनि व्याप्त थियो । सम्भ्रान्त परिवारदेखि सडकछाप युवासम्म चुरोट र बिडीमा हुरुक्क हुन्थे । कवि, लेखक र चिन्तकहरू पनि त्यसबाट मुक्त थिएनन् । मानिसलाई चुरोट पिउने अनेक बहाना हुन्थे ।

मेरा धेरै साथी चुरोट पिउँथे । कतिपयका हात, विशेषगरी चोरीऔंला र माझको औंलाका टुप्पा पहेंलो हुन्थ्यो । म प्रज्ञा–प्रतिष्ठानमा कार्यरत छँदा लेखकहरू विजय मल्ल र भूपी शेरचनलाई चुरोट नपिउन आग्रह गर्दा उहाँहरू भन्नुहुन्थ्यो, ‘बिना चुरोट सिर्जनाको आइडिया नै आउँदैन ।’ भूपीजीले एक दिन ठट्टा गर्दै भन्नुभयो, ‘हामीले खाने–पिउने सबै वस्तुको अवशेष शरीरको तल्लो भागबाट फ्याँकिन्छ तर चुरोटको अवशेष धूवाँ माथि–माथि आकाशतिर लाग्छ ।’ धूमपानको पावनताको त्यस व्यंग्यमा भूपीजीले थप्नुभएको थियो– धूमपानले मानिसलाई पनि छिट्टै माथि ‘परलोक’ तिर पुर्‍याउँछ । हुन पनि अमेरिकाको एक अध्ययनले देखाएको थियो– जीवनभर धूमपान गर्नेहरूको आयु धूमपान नगर्नेको भन्दा १८ वर्ष कम हुन्छ । मानिस भन्छन्– हुक्का, तमाखुका अम्मली कहिल्यै बूढा हुँदैनन् किनभने ती उमेरमै परलोक पुग्छन् । तिनीहरूलाई कुकुरले टोक्दैन किनभने दुर्बलताले लठ्ठी टेक्ने स्थितिमा पुर्‍याउँछ । तिनका घरमा चोर पनि पस्दैन किनभने खोकिरहँदा जाग्राम घरमा चोरले आँट्दैन ।

सुर्तीको बिरुवामा २५ सयभन्दा बढी विभिन्न रासायनिक पदार्थहरू रहेको पुष्टि भएको छ । त्यस बिरुवालाई धूमपान गर्दा त्यो ७ हजारजति रासायनिक पदार्थमा अनूदित हुन्छ । तीमध्ये ४३ वटा रासायनिक पदार्थले मानिसमा क्यान्सर उत्पन्न गराउने ठहर गरेको छ । सबैभन्दा प्रमुख रसायन निकोटिन नै हो । आज विश्वभरका वैज्ञानिकको एकै राय छ– धूमपानले अंग्रेजी वर्णमालाका तीनवटा ‘डी’ निम्त्याउँछ । पहिलो, ‘डेथ’ अर्थात् मृत्यु । दोस्रो, ‘डिजिज’ अर्थात् रोगव्याधि र तेस्रो ‘डिसाविलिटी’ अर्थात् अपांगता । चिकित्साशास्त्रीहरूको मान्यता छ, विभिन्न क्यान्सर रोगीमध्ये ४० देखि ४५ प्रतिशत पीडित धूमपानमा लागेकैहरू हुन्छन् । फोक्सोमा हुने क्यान्सरको कुरा गर्दा ९० देखि ९५ प्रतिशत धूमपानमा लागेका मानिस नै हुन्छन् भन्ने मान्यता छ । त्यस अतिरिक्त धूमपान नगर्ने व्यक्ति पनि धूमपानको वातावरणमा अधिक बसेका छन् तिनीहरू क्यान्सरको जोखिममा हुन्छन् । तसर्थ विश्वभरका देशले धूमपान–निषेधका विभिन्न पाइला चाल्न थालेका छन् । आजभोलि त टेलिभिजन, रेडियो र चलचित्रमा पनि चुरोट, सिगार आदि धूमपानका सामग्री प्रयोग भएको दृश्य एवं तिनका विज्ञापन निषेध गरिएको छ ।

मेरो किरोशावस्था र युवा समयमा हेरिने चलचित्रका नायक एवं खलनायकको फुर्ती चुरोट, पाइप र सिगारमा प्रदर्शन हुन्थ्यो । हाम्रै समाजमा पनि वयष्क हुँदाको फुर्ती चुरोट, सिगरेट र बिडीको प्रयोगमा प्रदर्शन हुने प्रचलन थियो । सुर्तीको फुर्तीको सर्वोत्कृष्ट प्रदर्शन गर्न सफल व्यक्ति हुन्– दोस्रो विश्वयुद्धका विजेता सर विन्स्टन चर्चिल । मुखमा सिगार नच्यापी उनी कहिल्यै सार्वजनिक भएनन् भन्ने मान्यता छ । आजभोलि सुर्तीको फुर्ती प्राय: नगन्य भइसकेको छ । तैपनि धेरै मानिसले यो लत छोड्न सकेका छैनन् ।

चुरोट, खैनी आदि सुर्तीजन्य उत्पादनको बिक्री–वितरण पूरै बन्द हुन सकेको छैन । तर, हुक्काले भने हाम्रो समाजबाट बिदा लिइसकेको अवस्था छ । मेरो सम्झनाको हुक्का पनि बिलाउँदो छ, बिर्संदो छ ।

(शनिबार प्रकाशन हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : चैत्र २७, २०७७ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?