१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अनुवादका अम्मली

छात्रवृत्तिमा रूस पढ्न जाने सयौं नेपालीमध्ये नम्र, विनयशील र विचारशील कृष्णप्रकाश श्रेष्ठ सायद सबैभन्दा बढी सुनिएका, पढिएका र योगदानका हिसाबले अग्ला व्यक्ति थिए ।
जीवा लामिछाने

विश्वव्यापी महाव्याधि लिएर आएको कोरोना भाइरसको कहरले यो एक वर्षभित्र हामीले गुमाएका र अझै गुमाइरहेका कुराहरूको सूची लम्बिँदै गर्दा विश्वासै गर्न नसकिने गरी रुसमा सबै नेपालीका अभिभावक, नेपाली साहित्यका अथक् साधक र मेरा साहित्यिक गुरु कृष्णप्रकाश श्रेष्ठलाई पनि निर्ममतापूर्वक चुँडाएर लग्यो । उहाँ ८२ वर्षको उमेरमा पनि तन्दुरुस्त–जाँगरिलो हुनुहुन्थ्यो ।

अनुवादका अम्मली

कोरोना भाइरसको संक्रमण लाग्नु एक महिनाअघिसम्म पनि उहाँ भाषा र साहित्यको उत्थान्मा अनवरत लागिरहनुभएकै थियो । उहाँको यही सक्रियता र भाषा–साहित्यमाथिको लामो योगदानलाई सम्मान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानले अनुवाद क्षेत्रमा दिइने सबैभन्दा ठूलो ‘अनुवाद प्रज्ञा सम्मान’ उहाँलाई प्रदान गर्ने घोषणा गरेको थियो । त्यो सम्मान राष्ट्रपतिकै हातबाट प्रदान गर्ने गरी कृष्ण दाइको नेपाल आगमनको प्रतीक्षा प्रतिष्ठानले गरिरहेको थियो । तर, दैवको लीला अर्कै रहेछ !

रुसमा छात्रवृत्तिमा पढ्न जाने सयौं नेपालीमध्ये कृष्णप्रकाश सबैभन्दा बढी सुनिएका, पढिएका र योगदानका हिसाबले निकै अग्ला व्यक्ति हुनुहुन्थ्यो । सोभियत संघ र रुसमा ६० वर्ष रहँदा उहाँले नेपाल–रुस जोड्न जति काम गर्नुभयो, त्यति काम शायद अब कहिल्यै नहोला ।

...

शीतयुद्धकालमा विश्व दुई ध्रुवमा विभक्त थियो । शक्तिको प्रतिस्पर्धा हरेक क्षेत्रमा विद्यमान थियो । यही प्रतिस्पर्धामा बेलायतको बीबीसी सञ्चारमाध्यमले आफ्नो प्रभाव क्षेत्रमा स्थानीय भाषामा रेडियो कार्यक्रम चलाइरहेको थियो । बीबीसीको हिन्दी र नेपाली रेडियो कार्यक्रमलाई चुनौती दिन मस्को रेडियोले पनि सन् १९६२ मा नेपाली भाषामा कार्यक्रम चलाउने निर्णय गर्‍यो । कार्यक्रम चलाउने मान्छेको खोजीमा नेपालबाट मस्को स्टेट युनिभर्सिटीमा छात्रवृत्तिमा पत्रकारिता पढिरहेका कृष्णप्रकाशसँग रेडियोका कर्मचारीहरू पुगे ।

उहाँ पत्रकारिता पढेर गोरखापत्रमा जागिर खाने योजनामा हुनुहुन्थ्यो । त्यसबेला गोरखापत्रमा प्राविधिक ज्ञानसहितको जागिर खानु निकै आकर्षक मानिने रहेछ । वास्तवमा, सन् १९६० मा उहाँ सोभियत संघमा पत्रकारिता पढ्न जानुको मूल उद्देश्य नै त्यही थियो । त्यसैले मस्को रेडियोका पदाधिकारीलाई उहाँले प्रेमपूर्वक अस्वीकार गर्दै फर्काइदिनुभएछ । उहाँले नमानेपछि नेपाल सरकारलाई अनुरोध गरेर रेडियोले नेपालबाट कार्यक्रम सञ्चालक मगाएको रहेछ । तर, रेडियोको निरन्तर अनुरोधपछि उहाँले पढाइ सकिएपछि नेपाल फर्कने सर्तमा विद्यार्थीकालमै मस्को रेडियोमा जागिर खान थाल्नुभयो ।

रेडियोसँग जोडिनु नेपाली भाषा र रुसी भाषाबीच जोडिनु थियो । नेपाली साहित्य र रुसी साहित्यसँग जोडिनु थियो । नेपाली राजनीति र सोभियत राजनीतिसँग जोडिनु थियो । मस्को रेडियोमा पसेपछि उहाँ कहिल्यै स्थायी रूपमा नेपाल फर्कन सम्भव भएन । विदेशमा लाखौं नेपाली जसरी कुनै दिन नेपाल जाने सपना पाल्दै आफ्नो कर्म गर्छन्, त्यही नियति कृष्ण दाइको पनि थियो । सोभियत संघको पतनपछि सन् १९९३ मा मस्को रेडियोले नेपाली कार्यक्रम बन्द नगरुन्जेलसम्म उहाँ अनवरत त्यहीँ खटिइरहनुभयो । यसबीचमा उहाँ नेपाली र रुसी भाषाको सेतु बनिसक्नुभएको थियो । नेपालबाट रुस भ्रमणमा पुग्ने सबैजसो औपचारिक, अनौपचारिक भेटघाटमा दोभासेका रूपमा उहाँको विकल्प थिएन । सोभियत संघ अनि पछि रुसको भाषा, साहित्य, संस्कृति र राजनीतिको गहिरो ज्ञानका कारण नेपालबाट गएको राजनीतिक–सांस्कृतिक टोलीको उहाँ सधैं अभिन्न अंग बन्नुभयो । छात्रवृत्तिमा रुस पुगेका पछिका पिँढीका युवाका लागि उहाँ अत्यन्त प्रिय अभिभावक हुनुहुन्थ्यो । अझ भाषा–साहित्यमा अलिकति रुचि भएका भाइ पुस्ताका लागि गुरु नै हुनुहुन्थ्यो । उहाँको सान्निध्यमा पुगिरहनेमध्येको म पनि एक हुँ ।


सद्गुणी व्यक्तिका पहिचान के–के हुन् ? आमजीवन र शास्त्रहरूमा धेरै कुरा उल्लेख भएका छन् । जब कृष्ण दाइबारे हामी सोच्छौं, उहाँमा ती सबै गुण पाउँछौं । उहाँ नम्र र विनयशील हुनुहुन्थ्यो । विचारशील हुनुहुन्थ्यो । अनुज पुस्ताप्रति अभिभावकीय व्यवहार थियो । उहाँसँगको ३० वर्षभन्दा बढी लामो संगतमा मैले उहाँलाई कहिल्यै कुनै विषयमा अभिमान गरेको, बोलीमा टर्रोपन ल्याएको वा समस्याबाट विचलित भएको देखिनँ । उहाँलाई दुई छोरी झान्ना र मारिनाको स्नेह, साथ अनि हामी सबैको आदर र माया त थियो, तर तीन वर्षअघि श्रीमती इरिना बितेपछि भने उहाँले एक्लोपन महसुस गर्न थाल्नुभए जस्तो लाग्थ्यो । तर, कृष्ण दाइ साहित्य साधनाबाट थाकेको देखिएन ।

कृष्ण दाइसँगको मेरो पहिलो भेट उहाँ प्रमुख रहनुभएको रेडियो मस्कोको नेपाली विभागमा भएको थियो । उहाँको सहयोगीका रूपमा काम गरिरहनुभएका भरत शाक्य र म एकै विश्वविद्यालयमा इन्जिनियरिङ विषय पढ्थ्यौं । सोभियत संघमा अध्ययन गर्ने नेपाली विद्यार्थीको रुस बसाई कस्तो छ भन्ने अनुभव रेडियोमार्फत नेपाली युवालाई सुनाउनका लागि भरतजीले मलाई रेडियो स्टेसन लिएर गएका थिए । कृष्ण दाइसँग मेरो भेट त्यहीँ भयो । र, त्यसपछि भने म निरन्तर उहाँसँग जोडिइरहेँ ।

मस्कोजस्तो ठूलो सहरमा व्यावसायिक व्यस्तता हुँदा पनि विभिन्न बहानामा हामी निरन्तर भेटिइरहन्थ्यौं । भाषाप्रतिको लगावले नै होला, आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउन उहाँ हामीलाई प्रेरित गर्नुहुन्थ्यो । आज मेरा दुई छोराहरू विदेशमा रहँदा पनि जे–जति नेपाली भाषा पढ्न–बुझ्न सक्छन्, त्यसमा कृष्ण दाइको योगदान छ भन्दा मलाई गौरव अनुभव हुन्छ । मेरो मात्र होइन, त्यहाँ रहने हरेक नेपालीका सन्तानले कुनै न कुनै रूपमा नेपाल बिर्सनु हुँदैन र भाषा, साहित्यमार्फत नै यो दिगो रहन्छ भन्ने विश्वास उहाँमा थियो । यसका लागि उहाँ निरन्तर प्रयास गरिरहनुहुन्थ्यो ।


कृष्ण दाइ भेट्दा मलाई नेपाल भेटेझैं लाग्थ्यो । पत्रकारिता–साहित्यसँग जोडिएका कारण हामीले थाहा नपाएका सूचना–ज्ञानसँग उहाँको पहुँच थियो । उहाँसँग भेटेर कुरा गर्न थालेपछि ज्ञान र सूचनाको धेरै तिर्खा मेटिन्थ्यो । अचम्म पनि लाग्थ्यो, नेपालबाट टाढा बसेको त्यतिका वर्षपछि पनि उहाँको नेपालसम्बन्धी अनुसन्धानको गहिराइ झन् बढिरहेको थियो ।

उहाँ हिन्दी, अंग्रेजी, संस्कृत, नेपाली, नेवारी र रुसी भाषा गरी ६ भाषाका राम्रो जानकार हुनुहुन्थ्यो । तर, उहाँ जुन भाषा बोल्नुहुन्थ्यो, त्यो छक्कै पार्ने गरी पूर्ण शुद्ध हुन्थ्यो । ६० वर्ष रुस बस्दा पनि उहाँले बोल्ने नेपालीमा कहिल्यै मिसावट भएन । उहाँ रुसी र नेवारी भाषा बोल्दा पनि अन्य भाषाका शब्द र लवज मिसाउनु हुन्नथ्यो । जत्ति प्रयास गरे पनि त्यो अद्भुत क्षमतालाई हामीले आफूमा उतार्न सकेनौं ।

उहाँको अनुवाद गर्ने शैली पनि विशेष थियो । रुसी भाषाको वाक्य संयोजन निकै कठिन हुन्छ । त्यसैले रुसी साहित्यका गहन सिर्जनालाई नेपाली भाषामा ठाडै अनुवाद गर्नु निकै गाह्रो काम हो । जतिसुकै गरे पनि भावानुवाद मात्रै सम्भव छ । तर, रेडियोमा रुसी भाषाका समाचार नेपालीमा अनुवाद गर्दा सानो गल्ती भए पनि राजनीतिक रूपमा अप्ठ्यारो पर्थ्यो । सुरुदेखि नै सचेत अनुवाद–शैली अपनाएकाले हुन सक्छ, करिब–करिब ठ्याक्कै अनुवाद गर्ने उहाँको शैली जीवनभरि कायम रह्यो ।

६ दशकको रुस बसाइमा उहाँले आफ्नो समय रेडियो र साहित्य सेवामा मात्रै लगाउनुभयो । रेडियो विशुद्ध राजनीतिक कर्म थियो । यसमा रुसको राजनीति र नेपाल–रुस सम्बन्ध केन्द्रमा थियो । यहीकारण रुसी लेखक र पत्रकारसँग उहाँको सम्बन्ध निकै गहिरो बन्यो । सन् १९९३ मा नेपाली सेवा बन्द भए पनि उहाँ रुसका साहित्यिक संस्थाहरूसँग जोडिनुभयो । पछिल्लो समय मस्को लेखक संघ र प्राच्य विद्या अध्ययन संस्थानमा सक्रिय हुनुहुन्थ्यो । नेपाली साहित्यकारको रुसी भ्रमणमा रुसका प्रसिद्ध लेखकसँग भेटघाट र नेपाली साहित्यको रुसी अनुवाद एवं रुसी साहित्यलाई नेपाली अनुवाद गर्न–गराउन पनि उहाँ सक्रिय हुनुहुन्थ्यो । अनुवादबाहेक बालसाहित्य, लोक परम्परा, किम्बदन्ती, प्राच्य विद्यामा पनि उहाँको विशेष योगदान छ । मौलिक–अनूदित गरी उहाँका झन्डै एक सय किताब प्रकाशित छन् भने झन्डै ५ दर्जन पाण्डुलिपि प्रकाशन हुन बाँकी रहेको कृष्ण दाइले मलाई सुनाउनुभएको थियो । पछिल्लो समय प्रत्यक्ष रूपमा नेपाल र नेपालीसँग जोडिन नेपाली भाषा–साहित्यका विभिन्न संस्थामा उहाँ आबद्ध हुनुहुन्थ्यो भने गैरआवासीय नेपाली संघको स्थानीय कार्यक्रममा पनि केही सक्रिय हुनुहुन्थ्यो ।

नेपालको राजनीतिमा पनि उहाँको योगदान रहेको मान्न सकिन्छ । उहाँले अनुवाद गर्नुभएका पुस्तक पढेर हुर्केको ठूलो पुस्ता छ नेपालमा । मार्क्स, एंगेल्स, लेनिनका साम्यवादी दर्शनसम्बन्धी पुस्तक पढेर नेपालमा राजनीति गरिरहेका पुस्तालाई उहाँले ठूलो गुन लगाउनुभएको छ । त्यसैगरी रुसी साहित्यका धेरै अनमोल कृतिहरूको अनुवाद गरेर नेपाली साहित्यलाई ठूलो मलजल गर्नुभएको छ । उहाँले अनुवाद गरेका लियो टोल्सटोय, म्याक्सिम गोर्की, मिखाइल शोलोखोभ, आन्तोन चेखभ, मिखाइल लेर्मेन्तोभ, अलेक्जान्दर पुश्किनलगायत कैयौं रुसी क्लासिक कृतिले नेपाली अनुवाद साहित्यको समृद्धिमा ठूलो इँटा थपेको छ । त्यसैगरी उहाँले नेपाली भाषाका पुस्तकको रुसी भाषामा पनि अनुवाद गर्नुभएको छ । नेपालका प्रसिद्ध लेखकले उहाँद्वारा अनूदित रुसी साहित्य नेपाली भाषामा पढेर आफ्नो लेखाइमा तिनको प्रभाव परेको कुरा सञ्चारमाध्यममा लेखेको, भनेको सुन्दा म कृष्ण दाइको अहोरात्र मेहनत र साधना सम्झन पुग्छु । सायद अनुवाद उहाँका लागि एक अम्मल थियो ।

सोभियत संघ अस्तित्वमा रहँदा उहाँबाट अनूदित र उहाँका मौलिक कृतिहरू प्रसिद्ध रादुगा र प्रगति प्रकाशनबाट प्रकाशित हुन्थे । केही कृति नेपाल प्रज्ञा प्रतिष्ठान र हिमाल किताबबाट पनि प्रकाशन भएका छन् । केही प्रसिद्ध कृति निजी क्षेत्रका प्रकाशन गृहबाट प्रकाशन भएका देखिन्छन् । सोभियत संघमा अध्ययन गर्ने नेपाली विद्यार्थीको मुखपत्र ‘किरण’, ‘सार्थवाह’, ‘नारी’को पनि सम्पादन गरेर उहाँले थुप्रै साहित्य सेवकहरूलाई नयाँ ज्ञान सिकाउनुभएको छ, विदेशमा बसेर पनि नेपाली साहित्यमा निरन्तर लागिरहन प्रेरित गर्नुभएको छ ।

सोभियत प्राज्ञ इल्या रेद्को, ल्युद्मिला आगानिना जस्ता लेखकलाई नेपाल विज्ञ मानिन्छन् । ती विज्ञका लागि कृष्ण दाइ ज्ञानको मुख्य स्रोत हुनुहुन्थ्यो । ती नेपाल विज्ञहरूको सहकार्यमा उहाँले धेरै काम गर्नुभएको छ । वास्तवमा नेपाल–रुस सम्बन्धलाई विकसित र सुदृढ बनाउन उहाँले गरेको प्रयत्न कुनै कूटनीतिज्ञको भन्दा कम थिएन । चुपचाप काम गर्न रुचाउने उहाँका कतिपय काम अझै बाहिर आउन बाँकी छन् ।

नेपाल–रुस जोड्न उहाँ नयाँ–नयाँ शैलीको खोजी गरिरहनुहुन्थ्यो । डेढ महिनाअघि मात्रै विमोचित ‘दुई राजधानी, मस्को र काठमाडौं’ नामक पुस्तकको संयोजन पनि कृष्ण दाइले नै गर्नुभएको थियो । उक्त पुस्तकमा दशजना रुसी लेखकले मस्को सहरबारे लेखेका छन् भने दश नेपाली लेखकले काठमाडौंबारे लेखेका छन् । कृष्ण दाइले मलाई पनि काठमाडौंबारे आफ्नो अनुभव लेख्न अनुरोध गरेर त्यस पुस्तकमा राख्नुभएको छ । पुस्तक दुई देशका राजधानी काठमाडौं र मस्को बुझ्ने सुन्दर आँखीझ्याल बनेको छ ।


कृष्णप्रकाशको दीर्घ साधनाको कदर गर्दै मदन पुरस्कार गुठीले उनलाई २०५९ सालमा जगदम्बाश्री पुरस्कारले सम्मान गरेको थियो । ‘प्रज्ञा अनुवाद सम्मान’ ग्रहणका लागि उहाँ नेपाल आउँदै हुनुहुन्थ्यो । शायद, वृद्ध उमेरमा हुने कमजोरीका कारण उहाँको शरीरले कोभिड–१९ सँग हार खानुपर्‍यो । र, हामीले एक असल अभिभावक गुमायौं । नेपाली भाषा–साहित्य क्षेत्रले एउटा साधक गुमायो । नेपाली राजनीतिले रुस–नेपाल जोड्ने जनस्तरको असल कूटनीतिज्ञ गुमायो । र, नेपाली साहित्यले एउटा धरोहर गुमायो ।

आफ्ना नेपाली र रुसी भाषाका असंख्य कृतिमा उहाँ जीवित हुनुहुन्छ । जब–जब अनुवाद साहित्य, नेपाल–रुस सम्बन्ध र मार्क्सवादी–लेनिनवादी दर्शनलाई नेपालको तल्लो तहसम्म पुर्‍याउने विषयको खोज गरिनेछ, कृष्णप्रकाश श्रेष्ठलाई नेपालले बिर्सिन सक्नेछैन ।

प्रिय कृष्ण दाइ, तपाईंको भौतिक उपस्थितिको भयंकर अभावमाझ नेपाली–रुसी भाषामा आफूले सकेको साधना गरेर तपाईंको सम्झनाको दियो बालिरहने छौं ।

प्रकाशित : चैत्र २१, २०७७ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?