बिछोड : एक व्यग्रता
म छु
बिछोडको सँघारमा
अब मैले जानैपर्छ ...
यी निर्जीव भव्य महलका इँटाहरुमा
भेट्दिनँ म
इँटा बनाउने
ससाना केटाकेटीप्रति स्नेह
अहँ, भेट्दै भेट्दिनँ
इँटा ओसार्ने
ज्यामी दिदीप्रति आदर
गारो लगाउने
डकर्मी दाइप्रति प्रेम
ढलान गर्ने
मजदुर भाइप्रति कृतज्ञता
शोषणको यो
बान्ता छुटाउने दुर्गन्धमा
म कसरी लिऊँ
प्रेम र संवेदनाको सुगन्ध ?
यी लासजस्ता अरट्ठा पर्खालहरुलाई
न कसैको हाँसोको पर्वाह छ, न रोदनको
भड्किलो सजावटमा डुबेका
भावना–रिक्त कोठाहरुका
आँखीझ्यालहरुबाट
अविराम बहिरहन्छन् खेतालाका
थकानका सुस्केराहरु
हरबखत यी सुस्केराहरु
अँठ्याइरहन्छन् मेरो घाँटी
म यदाकदा भौंतारिन्छु
दरबारमार्गको मुख्य सडकमा
भरियाहरु एडिडास, नाइक
र पुमाका जुत्ताको पहाड बोकेर
हतार–हतार हिँडिरहेका हुन्छन्
साहुजीको गोदामतिर
तिनका खुट्टाले धारण गरेका
चप्पलका आर्तनादलाई
गिज्याइरहन्छन् बहुराष्ट्रिय कम्पनीका
ट्रेडमार्कहरु ।
महलका भान्छाहरुमा
मग्मगाउँछ बासमती चामलको भात
व्यञ्जन थरीथरी
स्वाद थरीथरी
डाइनिङ टेबल
ज्युनारकर्ताको प्रतीक्षामा छ
मलाई थाहा छ
बासमती फलाउने किसानलाई
यसको बास्ना लिने हक हुँदैन
कहिलेकाहीं
बासमतीको बास्नाले पनि चिढाउँछ
नपत्याए सोध
एकाबिहानै म्यानहोल पसेका सफाइकर्मीलाई
छुट्नु छ मलाई
यी सारा–सारा शोषणका बास्नाहरुबाट
बिछोडिनु छ मलाई
कठोर जन्जिरबाट
र, फेर्नु छ आजादीको सास
छुट्नु छ कुण्ठित मनोगीतबाट
र, मिसिनु छ दुःखीहरुको सङ्गीतमा
थप्नु छ आफ्ना पाइला
ती नांगा पाइलाहरुमा
जो समानताका जुत्ता
खोज्न युद्धमा हिँडेका छन् ।
प्रकाशित : चैत्र २१, २०७७ १२:५२