२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

‘निबन्धको स्वास्थ्यमा सुधार हुँदै गएको देख्दै छु’ 

लेखक हरि अधिकारीको नयाँ निबन्धसंग्रह ‘संकलित गद्यरचना’ भर्खरै प्रकाशनमा आएको छ । करिब १० वर्षअघि उनको पहिलो निबन्धसंग्रह ‘६० वर्षपछि’ प्रकाशित भएको थियो । बहुविधाका लेखक अधिकारीका यसअघि उपन्यास, कथासंग्रह र कवितासंग्रह गरी ७ थान कृति प्रकाशित भइसकेका छन् ।

‘निबन्धको स्वास्थ्यमा सुधार हुँदै गएको देख्दै छु’ 

यस संग्रहका रचनामा उनले आफ्नै जीवन र समयका स्मृतिलाई उधिन्दै एउटा विशिष्ट कालखण्डबाट गुज्रिएको नेपाली समाज, त्यसले निर्माण गरेको अधुरो, अपूरो र खण्डित सभ्यताको अभिलेख राख्ने जमर्को गरेका छन् । समकालीन निबन्ध र समीक्षा लेखनका सन्दर्भमा उनका अनुभव कस्ता छन् ? अधिकारीसँग गरिएको वार्ता :

आजकल नेपालीमा लेखिइरहेका अधिकांश निबन्ध विचार, कला र भाषिक लालित्यका दृष्टिले कत्तिको शक्तिशाली लाग्छन् तपाईंलाई ? के नेपाली निबन्धको स्वास्थ्य राम्रै छ ?

नेपाली साहित्यको निबन्ध विधामा उत्साहवर्द्धक संख्यामा कृति आइरहेका छन्, त्यो सकारात्मक हो । धेरै लेखिएपछि प्रयत्न र प्रयोग पनि धेरै किसिमले हुने नै भयो, जसले अन्त्यमा गएर धेरै ठूला कृति तयार हुने सम्भावनाको ढोका खोल्नेछ भन्ने आशा गर्न सकिन्छ । अहिलेका अधिकांश निबन्धमा विचार, कला र भाषिक सौन्दर्य तीनै कुराको परिपाक त्यति धेरै मिलेको भने पाउन्न म । तैपनि नेपाली साहित्यको निबन्ध विधा सम्पन्न हुँदै छ । र, निबन्धको स्वास्थ्य सुधार हुँदै गएको देख्दै छु ।

यस संग्रहमा संकलित लेखहरूको रचना अवधि लामो र विषयहरूको परिधि ठूलो छ । आफ्ना निबन्धहरूमा जन्मभूमि कुशादेवीदेखि २०२९–२०३१ को पोखरा, पुराना प्रतिष्ठत नेता बीपी, गणेशमान, किसुनजी, मोहनविक्रम सिंह, नामी व्यंग्यकार भैरव अर्याल र काठमाडौंका ओसिला गल्लीका रक्सी पसलसम्मका विविध विषय समेट्नुभएको छ । तपाईंले ४० वर्ष बिताएको काठमाडौंचाहिँ तपाईंको आफन्त किन हुन नसकेको हो ?

हो, मेरा यी निबन्धहरूमा मेरो जीवनयात्राको लामो कालखण्डको प्रतिविम्ब परेको छ । मेरो जीवन नै मेरा अनुभव र अनुभूतिको संग्रह हो । एक साहित्यकारको रुपमा मेरो सिर्जनात्मक यात्राको बाटो तयार हुनमा मलाई प्रेरित गर्ने स्थिति परिस्थिति, बाटो देखाउने गुरुहरू, प्रकृति, मलाई प्रेम गर्नेहरू, घृणा गर्नेहरू र मैले आदर्श ठानेका व्यक्तित्वहरू सबैको आआफ्नो हिस्साको योगदान छ । मैले मेरा रचनामार्फत ती सबैलाई सम्झिने, तिनको चर्चार् गर्ने र आभार प्रकट गर्ने प्रयत्न गरेको छु ।

मलाई लाग्छ, काठमाडौंले मलाई कहिल्यै आफन्त ठानेन, तर मलाई एउटा कवि वा लेखक बनाएको भने यसैले हो । मैले काठमाडौं र मेरो सम्बन्धका पाटाहरूको खुलासा तपाईंले उल्लेख गरेको यसै संग्रहमा संकलित एउटा निबन्धमा गरेको छु ।

यस किताबका अधिकांश निबन्धमा तत्समयका पात्र, प्रवृत्ति र घटनाप्रति असन्तोष र असहमति छ । आफू हिँडेर आएको बाटो र बाँचेको समयप्रति यतिविघ्न असन्तुष्टि किन ?

मेरो विगतलाई हेर्ने दृष्टिकोणका विषयमा तपाईंले निकाल्नुभएको निचोडप्रति म सहमत हुन सकिन । मैले कुनै पनि स्थिति परिस्थिति, प्रवृत्ति, पात्र र घटनालाई एउटा कोणबाट मात्र हेर्ने र पर्गेल्ने गरेको छैन । विक्रमीय २००७ साललाई नेपाल आधुनिक युगमा प्रवेश गरेको बिन्दु मान्ने हो भने त्यसयता हाम्रो देश र नेपाली जाति जुन किसिमले उन्नति र प्रगतिको पथमा अगाडि बढ्नुपर्ने हो, बढ्नसकेका छैनन् भन्ने सबैलाई थाहा छ । त्यसलाई लिएर उठ्ने असन्तुष्टि ममा पनि छ र एक लेखकका रुपमा त्यो असन्तुष्टि मेरा रचनामा प्रकट हुनु अस्वाभाविक हो भन्ने लाग्दैन ।

आफूलाई कुन अग्रज लेखकको निकट मान्नुहुन्छ ? नेपालीमा लेखिएको कुनै मनपर्ने एक निबन्ध सम्झिनु हुन्छ ?

म कवितामा मोहन कोइराला, कथामा विश्वेश्वरप्रसाद कोइराला र दौलतविक्रम विष्ट, निबन्धमा लक्ष्मीप्रसाद देवकोटा र जनकलाल शर्माको निकट पाउँछु, आफूलाई । मेरा प्रिय नेपाली निबन्धकारहरूको नाम लिनुपर्दा देवकोटा र शर्माको अतिरिक्त शंकर लामिछाने, तारानाथ शर्मा र ध.च.गोतामेको नाम लिन्छु । व्यंग्यरचनाका दृष्टिले भैरव अर्याल बेजोड लाग्छन् । कुनै एक निबन्धको नाम लिन त्यति सजिलो छैन । सम्भवतः देवकोटाको ‘के नेपाल सानो छ’ को प्रभाव गहिरोसँग गडेर बसेको छ, मेरो मनमा ।

एउटा विधामा स्थापित भइसकेको लेखकले अर्को विधा किन लेख्नुपर्छ ?

एउटा विधामा स्थापित भइसकेको लेखकले अर्को विधामा किन लेख्नु हुँदैन भनेर मैले प्रश्न गरेँ भने जसरी तपाइँ सहज किसिमले उत्तर दिन सक्नु हुन्न, मलाई पनि यो प्रश्नको उत्तर दिन असजिलो लागिरहेको छ । लेखकलाई एउटै विधामा सीमित वा केन्द्रित हुनुपर्छ भन्न मिल्दैन ।

पाठकहरूले तपाईंलाई लामो समयदेखि बलियो, खरो, ठाडो, खस्रो, रूखो समीक्षकका रूपमा पढ्दै आइरहेका थिए । अब समीक्षकको रूपमा तपाईंलाई पढ्न पाइने दिन गए ? हालका दिनमा तपाईंलाई मनपर्ने कोही समीक्षक छन् ?

मेरो समीक्षालाई यति धेरै नराम्रा विशेषण दिन मिल्दोरहेछ भन्ने कुरा थाहा पाउँदा खुसी लाग्यो । मैले आइन्दा समीक्षा लेख्दै लेख्दिन भनी विद्याकसम नखाएकाले समीक्षकका रूपमा मलाई पढ्न पाउने दिन सधैँका लागि गए भन्न मिल्दैन । म भविष्यमा समीक्षा लिएर आउन पनि सक्छु । हालका दिनमा समीक्षा लेखिरहेका लेखकमा राजकुमार बानियाँ मनपर्छन् ।

अहिले आफ्नै विषयमा सिंहावलोकन गर्दा एउटा शानदार कविले निबन्धमा आफूलाई कुन बिन्दुमा भेट्टायो ?

आफ्ना निबन्धमा यसरी खोजेको नै छैन मैले आफूलाई । मेरो पहिलो निबन्धसंग्रह प्रकाशमा आएको समय, २०६९ सालमा सुधी पाठक र साहित्यका पारखीले मेरो गद्यलेखनको शैली र भंगिमा मनपराइदिएर मेरो हौसला बढाइदिएका थिए । आरम्भदेखि नै मेरो लेखनयात्रालाई नियाल्दै आएका र मेरोबारे यदाकदा लेखिरहेका एकजना वरिष्ठ समालोचकले त ‘नेपाली भाषाको जीवन्तता र लालित्यको संरक्षणप्रति सदैव सजग स्रष्टा’ भनेर मेरो प्रशंसासमेत गरेका थिए ।

मलाई स्नेह गर्ने ती अग्रज साहित्यमर्मज्ञले गरेको त्यस्तो प्रशंसाका लागि म आफू योग्य छु भनेर ढुक्कसँग भन्न त सक्दिन, तर हरेकपल्ट लेख्न बस्दाखेरि म ती अग्रजले भनेझैँ नेपाली भाषाको जीवन्तता र लालित्यको संरक्षणप्रति सजग रहन प्रयत्न भने गरिरहेको हुन्छु ।

तपाईंका निबन्धका विशेषताहरूलाई थोरै शब्दमा बयान गर्नुपर्दा कसरी गर्नु हुन्छ ?

यी निबन्धका विशेषताको गन्ती गराउने आँट छैन मसँग । यतिमात्र भन्न सक्छु, मेरा निबन्ध प्रबन्धहरूमा मैले भोगेको समयको अभिलेख राख्ने प्रयत्न सफलताका साथ पूरा भएको छ । यिनमा मेरो जीवनयात्राका अगणित पदचापहरूको मन्दमन्द ध्वनि सुन्न सकिनेछ । यी गैरआख्यान रचना भए पनि यिनमा आख्यानका तत्त्वहरू यथेष्ट मात्रामा भेट्न सकिन्छ ।

प्रकाशित : चैत्र २१, २०७७ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?