१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जसका निम्ति ‘पेसा’ थिएन राजनीति 

जुन बेला विष्णुबहादुर मानन्धर कम्युनिस्ट पार्टीमा सामेल हुनुभयो, त्यस बेला विश्व कम्युनिस्ट आन्दोलनको चमक बेग्लै थियो ।
एउटा क्रान्तिकारीको विचलन किन हुन्छ ? विष्णुबहादुर मानन्धरले आफ्ना अन्तर्वार्तामा कम्युनिस्टमा आउने विचलनको आलोचना गर्नुभएको छ ।
मोहनविक्रम सिंह

कामरेड विष्णुबहादुर मानन्धरको निधन नेपालको कम्युनिस्ट आन्दोलनका लागि एउटा ठूलो क्षति हो । इतिहास प्रसिद्ध रौतहटको किसान आन्दोलनमा उहाँको महत्त्वपूर्ण भूमिका थियो । पहिले उहाँ नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो ।

जसका निम्ति ‘पेसा’ थिएन राजनीति 

पछि कम्युनिस्ट पार्टीमा सामेल हुनुभएको थियो । नेकपाको चौथो केन्द्रीय कमिटीमा उहाँलाई केन्द्रीय समितिमा सामेल गरिएको थियो । पार्टीका तत्कालीन महामन्त्री डा. केशरजंग रायमाझीसित हाम्रो मतभेद हुँदा उहाँ रायमाझीको पक्षमा सामेल हुनुभएको थियो । तर, पछि उहाँले आफ्नो नेतृत्वमा बेग्लै पार्टी गठन गर्नुभयो । त्यसपछि उहाँ लगातार वामपन्थी आन्दोलनमा संलग्न रहँदै आउनुभएको थियो । त्यही क्रममा पछिल्लो चरण उहाँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सामेल हुनुभएको थियो ।

२००७ सालको आन्दोलनका बेला उहाँ धनगढी र नेपालगन्जको मोर्चामा लड्नुभएको थियो । तर, नेपाली कांग्रेसका शीर्षस्थ नेताका कतिपय व्यवहारका कारण उहाँ लामो समयसम्म ने.कामा बस्न सक्नुभएन । उहाँले २००८ सालमै त्यस पार्टीबाट राजीनामा दिनुभयो । र, कम्युनिस्ट पार्टीमा सामेल हुनुभयो ।

उहाँ तराईको एउटा ठूलो जमिनदार परिवारसँग सम्बन्धित हुनुहुन्थ्यो । आफूले अपनाएको मार्क्सवादी–लेनिनवादी सिद्धान्तका कारण उहाँ सर्वप्रथम आफ्नै परिवारविरुद्ध संघर्षमा उत्रनुभयो । त्यो संघर्ष बढ्दै गयो । र, संघर्षले रौतहटको ऐतिहासिक किसान आन्दोलनको रूप लियो । त्यस किसान आन्दोलनलाई का. तुल्सीलाल अमात्यले नेतृत्व गर्नुभएको थियो । त्यसमा विष्णुबहादुरको पनि अग्रणी भूमिका थियो ।

त्यस किसान आन्दोलनका कारण रौतहट पार्टीको एउटा बलियो गढ बन्न पुग्यो । त्यसैको परिणाम थियो, २०१५ सालको चुनावमा पार्टीले ४ वटा संसद् सिटमा विजय प्राप्त गरेको थियो, जसमध्ये २ वटा रौतहटकै थिए । रौतहटमा पार्टीको आधार त्यति शक्तिशाली बन्नुपछाडिको कारण विष्णुबहादुरको सफल र सही नेतृत्व पनि थियो । पछि देशका सबै भागमा जस्तै रौतहटमा पनि किसान आन्दोलन कमजोर हुँदै गयो । र, त्यसको परिणामस्वरूप त्यहाँ पार्टीको स्थिति पनि कमजोर भयो ।

२०१४ सालमा नेकपाको दोस्रो महाधिवेशन काठमाडौं फोहरा दरबारमा सम्पन्न भएको थियो । त्यो महाधिवेशनमा डा. केशरजंग रायमाझी नेतृत्वमा आए । उनको नेतृत्वमा पार्टीले दक्षिणपन्थी संशोधनवादी दिशा लियो । त्यसको असर किसान आन्दोलनमा पनि पर्‍यो । देशका सबै भागमा किसान आन्दोलन शिथिल हुँदै गए ।

रुसको २० औं पार्टी महाधिवेशन (कांग्रेस) पछि विश्व कम्युनिस्ट आन्दोलनमै दक्षिणपन्थी भड्कावको लहर आयो । नेपाल पनि त्यो लहरबाट बच्न सकेन । नेपालमा दक्षिणपन्थी भड्कावका मुख्य नेता डा. केशरजंग रायमाझी नै थिए । उनको त्यो भ्रमको असर कैयौं क्रान्तिकारी कम्युनिस्टमाथि पर्‍यो । यो सत्य हो । र, यो सत्यलाई हामीले स्वीकार गर्नैपर्छ, त्यो असर विष्णुबहादुर माथि पनि केही न केही पर्‍यो । उच्च जमिनदार वर्गबाट आएर स्वयम् आफ्नै परिवारविरुद्ध संघर्ष गर्ने, रौतहटको ऐतिहासिक किसान आन्दोलनका एउटा प्रमुख सेना नै डा. केशरजंग रायमाझीको असरमा पर्नु सामान्य घटना थिएन । त्यसले के बताउँछ भने एक क्रान्तिकारीमा खाली इमानदारिता, त्याग र बलिदानको स्प्रिट भएर मात्रै पुग्दैन । उसमा वैचारिक स्पष्टता पनि हुनुपर्छ । विष्णुबहादुर जस्तो क्रान्तिकारी नेता किन रायमाझीजस्तो दक्षिणपन्थी नेताको असरमा पर्नुभयो ? त्यो एउटा गम्भीर प्रश्न हो । तर, त्यो उहाँसित सम्बन्धित व्यक्तिगत प्रश्न मात्रै होइन, विश्व कम्युनिस्ट आन्दोलन र स्वयम् नेपालको कम्युनिस्ट आन्दोलनसँग पनि सम्बन्धित एक गम्भीर प्रश्न हो । त्यो प्रश्नको सही जवाफ निकालेपछि नै क्रान्तिकारी आन्दोलनको निरन्तरतालाई सुनिश्चित गर्नु सम्भव हुनेछ । त्यसमाथि नै नेपाल र विश्व कम्युनिस्ट आन्दोलनको पनि भविष्य निर्भर रहनेछ ।

दक्षिणपन्थी भड्कावका कारण मात्रै कम्युनिस्टहरूले पतनको बाटो समात्छन् भन्ने होइन, उग्र ‘वामपन्थी’ भड्कावका कारण पनि कैयौं कम्युनिस्टको पतन हुने गरेको छ । ठूल्ठूला क्रान्तिकारी आन्दोलनको नेतृत्व गरेका कम्युनिस्ट नेता वा त्यसरी हजारौं कार्यकर्ताले पतनको बाटो समातेका उदाहरण विश्व र नेपालकै इतिहासमा पनि कम छैन । पूर्वमाले र पूर्वमाओवादी केन्द्रका उदाहरण पनि हाम्रैसामु छन् । उनीहरूको नेतृत्व पंक्ति कहाँसम्म साँच्चै क्रान्तिकारी स्प्रिटद्वारा निर्देशित थियो ? यसबारे बेग्लाबेग्लै मत र विवाद हुन सक्छन् । तर, उनीहरूका हजारौं कार्यकर्ता त्याग र बलिदानको स्प्रिटले समर्पित भएको कुरामा कुनै शंका छैन । त्यस प्रकारका संगठनले पछि गएर दक्षिणपन्थी बाटो समाते ।

वास्तवमा एउटा क्रान्तिकारी पार्टी वा क्रान्तिकारीको विचलन किन हुन्छ ? यो साँच्चिकै गम्भीर प्रश्न हो । स्वयं विष्णुबहादुरले पनि आफ्ना कतिपय अन्तर्वार्तामा कम्युनिस्टमा आउने त्यस प्रकारका विचलनको आलोचना गर्नुभएको छ र त्यसमाथि दुःख प्रकट गर्नुभएको छ । उहाँ र उहाँजस्ता सबै क्रान्तिकारीप्रतिको हाम्रो सच्चा श्रद्धाञ्जली उहाँले प्रकट गर्ने गरेका त्यस प्रकारका दुःख र चिन्ताको निवारण गर्नु नै हुनेछ या, कमसेकम त्यसका लागि सकेसम्म योगदान दिनु ।

मुख्य प्रश्न यो होइन कि उहाँ रायमाझीको नेतृत्वको संगठनमा सामेल हुनुभयो । धेरै मानिस त्यो वा त्यस्तै प्रकारको कुनै संगठनमा गएर पूरै बिग्रेका हुन्छन् । तर, त्यो संगठनले पनि विष्णुबहादुरको स्प्रिट, इमानदारिता र आस्थालाई बिगार्न सकेन । उहाँ सधैं एक सच्चा कम्युनिस्टको रूपमा जीवित भइरहनुभयो र अन्त्यमा त्यही रूपमै उहाँको निधन भयो । जीवनभरि नै उहाँले आफ्नो विचार र आस्थाको रक्षाका लागि संघर्ष गरिरहनुभयो ।

उहाँ सर्वप्रथमतः आफ्नै परिवारका वर्गीय स्वार्थविरुद्ध संघर्षमा उत्रनुभयो । त्यसबेला उहाँले व्यक्तिगत स्वार्थबाट माथि उठ्ने जुन सोचाइ देखाउनुभयो, त्यो उहाँमा जीवनभरि नै रहिरह्यो । कुनै क्रान्तिकारीमा हुनुपर्ने त्यो नै एउटा सबैभन्दा उच्च गुण हो । त्यो गुणको कमीले नै कुनै क्रान्तिकारीलाई विभिन्न प्रकारका विचलन, पतन वा गद्दारीसम्मको बाटोमा लैजान्छ । तर, विष्णुबहादुर त्यस प्रकारको व्यक्तिगत स्वार्थबाट धेरै माथि उठेको पाइन्छ । त्यो यसबाट पनि प्रस्ट हुन्छ कि पछि उहाँको नेतृत्वमा बनेको संगठनलाई कैयौंपल्ट सरकारमा जाने अवसर प्राप्त भयो, तर उहाँ कहिल्यै सरकारमा जानुभएन बरु आफ्ना साथीहरूलाई नै सरकारमा पठाउने नीति अपनाउनुभयो । २०१५ सालको चुनावलाई हेरौं, त्यो चुनावमा पनि उहाँ स्वयम् उम्मेदवार बन्नुभएन र आफ्ना २/२ साथीहरूलाई नै चुनावमा विजय बनाउनुभयो । उहाँमा सुरुदेखि नै उच्च प्रकारको त्यागको भावना रहेको पाइन्छ ।

डा. केशरजंग रायमाझीले प्रतिक्रियावादी सत्ता वा राजाका अगाडि आत्मसमर्पण गरेका थिए । तर, त्यसको असर विष्णुबहादुरमा परेन । त्यो कुरा यसबाट पनि प्रस्ट हुन्छ, पछि उहाँ राजाविरुद्धको संघर्षमा पनि उत्रनुभयो । २०४६ को आन्दोलनमा उहाँको सहभागिताले त्यो पक्षबारे बताउँछ । त्यसपछि पनि उहाँ लगातार संघर्षमा अघि बढिरहनुभयो । पार्टीमा रायमाझीविरुद्धको संघर्षका बेला उहाँ रायमाझीको पक्षमा गएको भए पनि रायमाझीको राजावादी स्प्रिट उहाँले अपनाउनुभएन । त्यसैले उहाँ राजाविरुद्धको संघर्षमा उत्रन सक्नुभएको थियो । प्रश्न रायमाझीको मात्र थिएन । रुसको २० औं पार्टी महाधिवेशन (कांग्रेस) ले विश्वव्यापी रूपमै जुन वैचारिक भ्रम ल्याएको थियो, त्यसबाट संसारका धेरै कम्युनिस्ट पार्टी प्रभावित भएका थिए । त्यसबेला संसारका कैयौं कम्युनिस्ट पार्टीले रुसको पार्टीलाई नै सच्चा कम्युनिस्ट पार्टी ठानेका थिए । रायमाझी त्यही पार्टीसँग सम्बन्धित थिए । रायमाझीको पक्षमा उहाँ (का. विष्णुबहादुर) जानुको कारण त्यो पनि बनेको हुन सक्छ । जे होस्, त्यो कुराले (रायमाझीको प्रभावले) उहाँलाई सधैंका लागि बाँधेर राख्न सकेको थिएन ।

समग्रमा के भन्न सकिन्छ भने विष्णुबहादुर नेपालको कम्युनिस्ट आन्दोलनको एउटा अमूल्य सम्पत्ति हुनुहुन्छ । उहाँले आफ्नो सम्पूर्ण जीवन देश, जनता तथा पार्टी र क्रान्तिका लागि समर्पण गर्नुभयो । त्योबाहेक उहाँको कुनै बेग्लै व्यक्तिगत करियर वा पेसा रहेन ।

बनारस विश्वविद्यालयमा पढ्ने भर्खरका युवक विष्णुबहादुर २००७ सालको आन्दोलनमा सामेल हुनुभयो । लगातार अगाडि बढिरहनुभयो । जुन बेला उहाँ पार्टीमा सामेल हुनुभयो, त्यो बेला विश्व कम्युनिस्ट आन्दोलनको चित्र बेग्लै प्रकारको थियो । त्यो बेला विश्वको एउटा ठूलो भागमा समाजवादी व्यवस्था कायम थियो र विश्व कम्युनिस्ट आन्दोलन धेरै नै शक्तिशाली थियो । पछि त्यसमा कैयौं प्रकारका घुम्ती र उतार–चढाव आए । अब विश्व समाजवादी व्यवस्थाको पतन भएको छ, विश्व कम्युनिस्ट आन्दोलन अत्यन्त कमजोर र रक्षात्मक अवस्थामा पुगेको छ ।

वैचारिक, राजनीतिक र संगठनात्मक प्रकारले विश्व कम्युनिस्ट आन्दोलनमा आएको उथलपुथलबाट संसारको कुनै पनि देशको कम्युनिस्ट पार्टी वा कम्युनिस्टहरू बचेनन् । का. विष्णुबहादुरको पार्टी जीवन पनि त्यसको असरबाट अगाडि बढ्यो । त्यसक्रममा कैयौं कम्युनिस्ट पार्टी वा कम्युनिस्टहरू आन्दोलनबाटै बाहिरिन पुगेका छन् । तर, त्यो सम्पूर्ण स्थितिको मुख्य पक्ष के भने ती सबैका बीचबाट उहाँ कम्युनिस्ट आन्दोलनको दिशातिर लगातार अगाडि बढ्दै आउनुभयो ।

उहाँमा कहिल्यै कम्युनिस्ट आन्दोलनबाट निराशा, विचलन वा पलायनको प्रवृत्ति देखापरेन । त्यो उहाँको जीवनको प्रधान पक्ष हो । उहाँ आफ्नो जीवनको अन्त्यसम्म त्यसमा अडिग रहनुभयो । तर, जो जीवित छौं, हामी सबैका लागि त्यस प्रकारको सौभाग्य प्राप्त हुन्छ वा हुँदैन ? त्यो हाम्रो बाँकी जीवनले निर्णय गर्ने कुरा हो । हामी सबै परीक्षामा छौं । तर, का. विष्णुबहादुर त्यो परीक्षामा उत्तीर्ण भइसक्नुभयो । हामी सबैले उहाँबाट शिक्षा र प्रेरणा लिनुपर्छ ।

प्रकाशित : चैत्र २१, २०७७ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?