एक ‘धुरन्धर ऐतिहासिक’ को दु:खान्त- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक ‘धुरन्धर ऐतिहासिक’ को दु:खान्त

‘त्रिभुवन विश्वविद्यालयमा जागिरे, इतिहासका अरूअरू अध्यापक–अन्वेषकहरूभन्दा धनवज्र वज्राचार्यको ल्याकत कता हो कता माथिल्लो भए पनि प्रचलित पद्धतिबाट उनी पराजित हुनपुगे । पराजयको विषादले उनी क्रमश: आधिव्याधिग्रस्त भई अकालमै कीर्तिशेष भए ।’
सुजित मैनाली

नेपालको इतिहास लेखन परम्परामा धनवज्र वज्राचार्य (वि.सं. १९८८–२०५१) को अग्रणी स्थान छ । नेपाली इतिहासका मूल सामग्रीहरूको पहिचान गरी तिनको परिशिलन र प्रकाशन गर्ने प्रामाणिक कोटीका एकाध ऐतिहासिकमध्येमा उनी पर्छन् ।

नेपालको ज्ञात इतिहास आरम्भ हुनु अघिदेखि शाहकालसम्मको अवधिबारे प्रकाश पार्नेगरी एकल र अन्य व्यक्तिसँगको सहकार्यमा उनले थुप्रै ग्रन्थको लेखन, सम्पादन, अनुवाद र व्याख्या गरेका छन् । यसका अतिरिक्त विभिन्न पत्रपत्रिकामा उनका अनुसन्धानमूलक लेख छापिएका छन् । यी कामका कारण उनी नेपाली इतिहासबारे काम गरेका त्यस्ता अग्रगण्य ऐतिहासिकमध्येमा दरिन्छन्, जसबारे चर्चा गर्दा उनको व्यक्तित्वको मात्र नभई नेपाली इतिहास लेखन परम्पराकै एउटा महत्त्वपूर्ण अध्यायको चर्चा हुनपुग्छ ।

शिक्षाको सोपान

काठमाडौंको मासंगल्लीमा बस्ने वज्राचार्य परिवारमा वि.सं. १९८८ चैत १६ गते धनवज्रको जन्म भएको थियो । उनका बाबुको नाम दुर्गावज्र र आमाको नाम तीर्थकुमारी हो । धनवज्रको परिवार पुस्तौंदेखि वैद्य पेसामा संलग्न थियो । धनवज्र सानो छँदा मासंगल्लीस्थित उनको पुख्र्यौली घरमा पीयूषवर्षी औषधालय सञ्चालित थियो ।

वैद्य पेसामा दक्ष बन्न आयुर्वेदको ज्ञान चाहिन्छ । आयुर्वेदका आधार–ग्रन्थ संस्कृत भाषामा लेखिएका छन् । ती ग्रन्थ छिचोल्न संस्कृत भाषाबारे जानकार हुनुपर्छ । यस कुराको महसुस धनवज्रका जेठा दाजु दिव्यवज्र (वि.सं. १९७६–२०५६) ले गरेका थिए । दिव्यवज्र आयुर्वेद विद्याको खस्कँदो अवस्थाप्रति चिन्तित पनि थिए । यो कुरा आफ्ना सहपाठीसमेत रहेका संस्कृत वाङ्मयका विद्वान पं. नयराज पन्त (वि.संं. १९७०–२०५९) को सान्निध्यमा रहेर उनले वि.सं. २०१६ देखि २०२० ‘आयुर्वेद–रक्षा’ नामक पर्चाका १६ वटा अंक छापेको सन्दर्भबाट पनि पुष्टि गर्छ ।

आयुर्वेद र संस्कृत भाषाप्रतिको दिव्यवज्रको यस्तो रुझानका कारण उनले पाठशाला चलाउन भनेर नयराजलाई आफ्नो पुख्र्यौली घरको एउटा क्षेत्र नि:शुल्क प्रदान गरे । त्यसबाट प्राचीन भारतीय पद्धतिको शिक्षा प्रणाली ब्युँताई संस्कृत वाङ्मयका धुरन्धर पण्डितहरूको पुस्ता तयार गर्ने ध्येयसहित पाठशाला सञ्चालन गर्न खोजिरहेका नयराजलाई सहयोग मिल्यो । घरमै पाठशाला खुल्दा नयराजबाट आफ्ना भाई धनवज्र र छोरो गौतमवज्रले संस्कृत भाषामा प्रशिक्षित हुने मौका पनि पाउँछन् भन्ने दिव्यवज्रको बुझाइ थियो ।

वि.सं. १९९७ मा स्थापना भएको नयराजको पाठशालामा धनवज्र शिष्य बने । त्यसअघि उनले देवीदत्त पराजुली, श्रीनाथ पाण्डे, ऋषभदेव शास्त्री आदिसँग पढेका थिए । वि.सं. २००३ मा १६ वर्षको छँदा धनवज्रले नयराजलाई गुरु थापे । त्यस घटनाले धनवज्रको जीवनलाई नयाँ मोड दियो । गुरुको प्रेरणाबाट उनले व्याकरण र काव्यसहित संस्कृत वाङ्मय, प्राचीन लिपि, पञ्चाङ्ग, प्राचीन संवत्, अभिलेख र प्रतिमालक्षण अध्ययन आदि विषयको कठोर प्रशिक्षण लिए । वैद्य पेसामा प्रविण बन्न भनेर नयराजलाई गुरु थाप्न पुगेका उनी प्रकारान्तरमा अब्बल ऐतिहासिकका रूपमा ख्यात भए ।

नयराजको पाठशाला भिन्न थियो । अन्यत्र सयमा ३३ अंक ल्याउने विद्यार्थीलाई उत्तीर्ण गराइन्थ्यो । त्यस्तो शिक्षालाई नयराजले त्रिखण्डी अर्थात् एक तिहाइमात्रै बुझे पुग्ने शिक्षा भनी पन्छाए । विकल्पमा उनले पढेको विषयमा विद्यार्थीहरू शतप्रतिशत दक्ष बन्नैपर्ने शिक्षणविधि लागू गरे । प्राचीन भारतीय शिक्षापद्धति पछ्याउँदै उनले आधार ग्रन्थहरूको नित्य पाठ गरी तिनलाई कण्ठ गर्नुपर्ने नियम बसाले । एकपटक प्रमाणपत्र हासिल गरेको विद्यार्थी सधैँ विद्वान कहलिन सक्दैन, आफूले आर्जन गरेको विद्वता कायम राख्न शास्त्रलाई शस्त्रझैं निरन्तर साँध लगाइरहनुपर्छ भन्ने मान्यता अन्तर्गत रहेर उनले विद्यार्थीलाई उत्तीर्ण भएको प्रमाणपत्र नदिने र पाठशालाबाट बिदा भएपछि पनि विद्यार्थीहरूले आजीवन स्वाध्यायमा प्रवृत्त हुनुपर्ने मान्यता लागू गरे । एकसाथ दुई भाषामा पाण्डित्य हासिल गर्न असम्भव छ भनी उनले पाठशालामा अंग्रेजी लगायत पश्चिमी भाषाको अध्ययनमाथि रोक लगाए ।

एकसाथ परम्परागतसँगै नूतन प्रतित हुने शिक्षा प्रणाली भएको पाठशालामा धनवज्रले लगनशील भई आठ वर्षसम्म अध्ययन गरे । यसबारे उनी स्वयंले लेखेका छन्, ‘श्रीगुरु नयराज पन्तको निर्देशनमा संशोधनमण्डलद्वारा सञ्चालित नयाँ ढङ्गको ‘आठवर्षे पढाइ’ वि.सं. २००३ देखि २०१२ भित्र मैले पूरा गरेंँ । ‘प्रमाणपत्रको भरमा होइन; कार्यक्षमताको भरमा अगाडि बढ’ भन्ने सो विद्यापीठको घोषित सिद्धान्त छ ।’

पाठशालामा छँदा उनी नयराजका सर्वाधिक योग्य, भरपर्दा र प्रिय शिष्य बने । अध्ययन सिध्याएपछि पनि उनी पाठशालामै शिक्षक र शोधार्थीका रूपमा सक्रिय रहे ।

पाठशालामा अध्ययनरत धनवज्रसहितका शिष्यहरू इतिहास सम्बन्धी अध्ययनमा प्रविण बनेपछि कल्पना र यथार्थ छ्यासमिस मिसिएका वंशावलीहरूलाई मुख्य आधार बनाई नेपाली इतिहास लेख्ने क्रममा अल्पविराम लाग्यो । पाठशालाले अभ्यासमा ल्याएको शोधविधिका कारण वंशावलीलगायत सामग्रीमा उपलब्ध विवरणलाई तत्कालीन अभिलेखमा उपलब्ध तथ्यहरूसँग रुजु गराउने र त्यस्ता विवरणहरू एकअर्कासँग बाझिए तत्कालीन अभिलेख्य प्रमाणलाई आधिकारिक मान्ने विधिले त्यसपछिका दिनमा प्रश्रय पायो । नेपालमा इतिहास लेखनको यस्तो विधि संस्थागत गराउन नयराज र उनका आधा दर्जनभन्दा बढी शिष्यहरूको मुख्य हात छ । त्यसमध्ये पनि धनवज्रको योगदान विशिष्ट छ । लिच्छविकालदेखि शाहकालसम्मका महत्त्वपूर्ण अभिलेखहरूको पाठ उतार गरी उनले गरेको तिनको अनुवाद र व्याख्यालाई माथ गर्ने ग्रन्थ त्यसयता प्रकाशन हुन नसकेको तथ्यले पनि यस्तो दाबीलाई बल पुर्‍याउँछ ।

प्रारम्भिक प्रकाशन

नयराजको पाठशालामा विद्या आर्जन गर्दै जाँदा पर्चा लेखनबाट धनवज्रको औपचारिक लेखन यात्रा सुरु भयो । इतिहास संशोधनप्रति नयराजको गहिरो अभिरुचि थियो । उनकै प्रेरणाबाट उनका शिष्यहरू पनि इतिहास संशोधन सम्बन्धी काममा लागे । यही मेसोमा धनवज्रले वि.सं. २००९ देखि सहपाठीहरूसँग मिलेर ‘इतिहास–संशोधन’ शीर्षकमा पर्चा लेख्न सुरु गरे ।

‘इतिहास–संशोधन’को भाषा आक्रामक थियो । वि.सं. २०२० असार ७ गते भोलानाथ पौडेलसँग मिलेर धनवज्रले प्रकाशन गरेको ‘इतिहास–संशोधन’मा भनिएको छ, ‘रायल–नेपाल–एकेडेमीका सदस्य सचिव श्रीसूर्यविक्रम ज्ञवाली बी.ए.बी.टी.ज्यू पढ्ने, खोज्ने काममा नलागी जथाभावी कल्पित कुरा लेखी नेपालको इतिहासलाई भ्रष्ट पार्दै हुनुहुन्छ ।’ त्यसअघि वि.सं. २०१६ मंसिर १५ गते प्रकाशित ‘इतिहास–संशोधन’मा धनवज्रले ‘...तीनै थरी धूर्त (विदेशीका भक्त, चाकडीबाज, जातिगत भ्रमात्मक कुरा फैलाउने) तथा टप्परटुइयाँदेखि हामीले सावधान भई रहनुपरेको छ र तिनको रहस्योद्घाटन गर्दै जानुपरेको छ’ भनी लेखेका थिए । त्यसैताका पाठशालाबाट ‘सावधान–पत्र’ शीर्षकमा छापिएका इतिहासप्रधान पर्चाहरूको लेखनमा पनि धनवज्र संलग्न भए ।

‘इतिहास–संशोधन’मा उठान गरिएका विषय प्राज्ञिक हिसाबले महत्त्वपूर्ण भए तापनि तिनको भाषा पाठ्यसामग्री बन्न नमिल्ने किसिमको थियो । यही कुरा महसुस गरी धनवज्रकै सम्पादनमा वि.सं. २०१९ मा पाठशालाले जगदम्बा प्रेसबाट ‘इतिहास–संशोधनको प्रमाण–प्रेमय (पहिलो भाग)’ छाप्यो । त्यसमा व्यक्तिलक्षित आक्षेपहरू हटाएर इतिहास सम्बन्धी लेखनमा बारम्बार दोहोरिएका त्रुटि औँल्याइ सपार्ने काम गरिएको छ । पाठ्यसामग्रीका रूपमा मान्यता पाओस् भनेर नै यो ग्रन्थ तयार गरिएको थियो भन्ने कुरा नयराजले लेखेको यस ग्रन्थको ‘उपोद्घात’मा रहेको निम्न श्लोकबाट पनि सिद्ध हुन्छ–

सच्चा नै इतिहासजन्य घटना यो देशमा फैलियून,

विद्यार्थीहरू पाठ्यपुस्तक पनि प्रामाणीकै नै पढून् ।

भन्ने आशयले कडा श्रम गरी यो साधना गर्दछु,

धेरैका ननिका कुराकन सही बाँचिरहेको म छु ।।

पाठशालामा छँदा धनवज्रले इतिहास सम्बन्धी लेख छाप्ने, ऐतिहासिक अभिलेख र पत्र खोजी गरी प्रकाशन गर्ने, संस्कृतमा लेखिएका नेपाली इतिहास सम्बन्धी सामग्रीहरू नेपालीमा उल्था गर्ने आदि काम पनि गरे ।

वि.सं. २०१८ मा त्यस पाठशालाले विधिवत रूपमै आफ्नो नाम ‘संशोधन–मण्डल’ राख्यो । त्यसको तीन वर्षपछि वि.सं. २०२१ वैशाखबाट संशोधन–मण्डलले नेपालको इतिहास लेखन परम्परामा सार्थक हस्तक्षेप गर्ने उद्देश्यले इतिहास–प्रधान त्रैमासिक पत्रिका ‘पूर्णिमा’को प्रकाशन सुरु गर्‍यो । पत्रिकाका सम्पादकद्वय थिए, गौतमवज्र वज्राचार्य र महेशराज पन्त । संशोधन–मण्डलमा माथिल्लो कक्षाका विद्यार्थीले तल्लो कक्षाका विद्यार्थीलाई पढाउने परिपाटी रहेकाले धनवज्रबाट गौतमवज्र र महेशराजले पनि शिक्षा लिएका थिए । यस अर्थमा उनीहरू धनवज्रका शिष्य थिए । धनवज्रले ‘पूर्णिमा’को प्रबन्धकको जिम्मेवारी सम्हालेका थिए । यसका अतिरिक्त ‘पूर्णिमा’मा छापिनेलगायत सामग्रीको लेखनमा संशोधन–मण्डलका सदस्यहरूलाई परिचालन र मार्गदर्शन गर्ने जिम्मा पनि गुरुले धनवज्रलाई नै दिएका थिए ।

‘पूर्णिमा’को पहिलो अंकमा धनवज्रको नाममा ‘श्रीकलहाभिमानी राजा’ शीर्षकको लेख छापियो, जुन लिच्छविकालीन शासक अंशुवर्माबारे थियो । त्यस लेखको आरम्भमै भनिएको छ, ‘नेपालको इतिहासमा अरू कालमा भन्दा लिच्छविकालमा अनेक कुरामा विशिष्ठता पाइन्छन् । त्यसबेलाका विद्याको तह, आकर्षक कला, व्यवस्थित शासन पद्धतिले हाम्रो मनमा प्रभाव नपारी छोड्दैन ।’ यसबाट धनवज्रमा लिच्छविकालप्रति बढी अभिरुचि थियो भन्ने कुरा झल्किन्छ । यो कुरा ‘पूर्णिमा’मा त्यसपछिका दिनमा छापिएका उनका लेखहरूको विषयवस्तु र वि.सं. २०२८ मा संशोधन–मण्डलबाट अलग भएपछि उनले लेखेका ग्रन्थहरूको साङ्गोपाङ्ग अध्ययन गर्दा पनि स्पष्ट हुन्छ ।

अर्को मोड

संशोधन–मण्डलमा आबद्ध भएर धनवज्रले इतिहास लेखन परम्परामा सार्थक हस्तक्षेप गरे पनि त्यसबाट उनको वृत्ति चल्न सकेन । पर्चा र पत्रिका बेचेर आएको पैसाबाट इतिहास–संशोधकहरूको गर्जो टर्नसक्ने अवस्था थिएन । काठमाडौंको हुनेखाने परिवारका मानिस भए पनि नियमित आम्दानीको स्रोत नहुँदा उनको आर्थिक जीवन खस्किँदै गएको थियो । विद्याको एकोहोरो उपासक बन्दा धनकी देवीबाट उनको परिवारको आर्थिक जीवनमा वज्रपात हुनथालेको थियो । यो कुरा धनवज्रका पुत्र अशोकले ‘नेपालको इतिहासलेखनमा धनवज्र वज्राचार्यको योगदान’ शीर्षकको किताबका लेखक सुरेन्द्र केसीसँग भनेको निम्न कुराले पनि सिद्ध गर्छ, ‘खालि पढ्ने–पढाउने र अनुसन्धान गर्ने काममा मात्र लाग्दा मेरा पिताजीको आर्थिक अवस्था ठीक थिएन । मेरो जन्मदिनको दिन उहाँले मलाई केही चीज दिन खोज्नुभयो । तर, उहाँसँग कत्ति पनि पैसा थिएन । उहाँले कसै गरे पनि पैसा खोज्न सक्नुभएन । अनि साइकल चढेर पाटन जानुभयो र पूर्णिमाको ग्राहकसँग भुक्तानी गरेर पैसा ल्याउनुभयो ... तर त्यो पैसा संशोधन–मण्डलको कोषमा जम्मा गर्नुपथ्र्याे । उहाँले संशोधन–मण्डलको कोषमा जम्मा गरेर त्यो पैसा फेरि संशोधन–मण्डलबाट सापटी लिएर आफ्नो मनको धोको पूरा गर्नुभयो, मेरो जन्मोत्सवमा मलाई केही उपहार दिएर । मेरो बाको मनमा खल्लो पार्ने यस्तो आर्थिक संकट त कति परे कति...।’

जीविकोपार्जनका लागि धनवज्रले वि.सं. २०२७ भदौ १ गतेदेख त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल अध्ययन संस्थान (जसको नाम पछि गएर ‘नेपाल एसियाली अनुसन्धान केन्द्र’ राखियो) मा तीनवर्षे करार सेवा अन्तर्गत जागिर सुरु गरे । त्यसप्रति प्रसन्नता व्यक्त गर्दै नयराजले वि.सं. २०२७ चैत २३ गते आफ्नो डायरीमा लेखेका छन्, ‘धनवज्रले त्रिभुवन विश्वविद्यालयमा अस्थायी अध्यापक पाएकोमा म अत्यन्त प्रसन्न छु । उनको यो पद स्थायी होस् । विश्वविद्यालयका उच्च प्राध्यापकहरूले पाएसरह सम्मान तथा वृत्ति उनलाई प्राप्त होस् । उनको आदर्शले संशोधन–मण्डलका अरू सदस्यहरूको पनि प्रगति हुन सकोस् भन्ने मेरो भित्री इच्छा छ ।’

त्यसउप्रान्त पनि धनवज्रको पाण्डित्य खस्किन नपाओस् भनी नयराजले योजना बनाए, ‘धनवज्र वज्राचार्य प्रतिसप्ताह एक दिन आफूले पढेको अष्टाध्यायी, महाकाव्य, अमरकोष, रघुवंशहरू कण्ठस्थ सुनाउन् र हर्षचरितको अर्थ गरुन् । उनको लेख प्राञ्जल भइसकेको हुनाले उनले लेख देखाउनुपर्ने आवश्यकता छैन ।’

त्यतिन्जेल धनवज्रलाई गुरु र संशोधन–मण्डलको आदर्श बोझिलो लाग्न थालिसकेको थियो । उनी थाकिसकेका थिए । संस्कृत वाङ्मयको अन्वेषणमार्फत नेपालमा बौद्धिक पुनर्जागरण ल्याउने संशोधन–मण्डलको ध्येयमा निरन्तर लागिपर्ने अठोटलाई उनको निरन्तर गहिरिँदै गएको विपन्नताले ओझेल पारिसकेको थियो । अन्तत: वि.सं. २०२८ मा उनले गुरुसमक्ष राजीनामा बुझाए, ‘पूज्य श्रीगुरुका चरणतलमा प्रणामपूर्वकपत्रमिदम् । बराबर शरीरमा अस्वस्थ्यता आउन लागेको र कामको बोझले गर्दा आजकल बढी परिश्रम गर्न नसक्ने भएँ । यसो हुनाले पढाइ स्वीकार गराउने काम पूरा गर्न सकूँला जस्तो लागेन । यसकारण कति इच्छा नभए तापनि संशोधन–मण्डलको सदस्यताबाट राजीनामा दिँदैछु । वचन पूरा गर्न नसकेकोमा क्षमा चाहन्छु ।’

संशोधन–मण्डलबाट अलग हुने धनवज्रको निर्णय उनको जीवनको दोस्रो महत्त्वपूर्ण मोड थियो । यसबारे सुरेन्द्र केसीले लेखेका छन्, ‘हुन त आधारभूत रूपमा नयराज पन्तको पाठशालामा गुरुले सिकाएको इतिहास लेखनको कौशललाई उनले परित्याग गरेनन् । त्यहाँ पनि नयाँनयाँ कृतिहरू लेख्ने, छपाउने कार्य जारी नै रह्यो । प्रामाणिक र विचारोत्तेजक लेखरचनाहरू प्रकाशित हुँदै रहे । तर, संशोधन–मण्डलको जुन गुरुत्वपूर्ण कार्य उनीसमेतको समूहले मण्डलमा रहेर गर्ने गरेको थियो, अब त्यो संलग्नता, प्रतिवद्धता र अभियान भने उनको जीवनको लक्ष्य रहेन ।’

केसीले भनेको कुरा धेरै हदसम्म सही भए पनि संशोधन–मण्डलबाट अलग भएपश्चात उनको गुरुत्वपूर्ण कार्य खस्कियो भन्ने कुरा सकार्न सकिँदैन । त्यसपछिका दिनमा पनि उनको कार्यकुशलतामा ह्रास आएन । बरु बटवृक्ष अर्थात् गुरुको छायाबाट अलग्गिएपछि उनको प्रतिभाले अझ फिँजारिने मौका पायो ।

वि.सं. २०३० मा ‘लिच्छविकालका अभिलेख’ नामक उनको बृहत् ग्रन्थ नेपाल तथा एसियाली अनुसन्धान केन्द्रबाट छापियो । त्यसले उनलाई देशभित्र र बाहिर ख्याति दिलायो । त्यस ग्रन्थलाई उनको बौद्धिक जीवनको उत्कर्ष मान्न सकिन्छ । नेपाल तथा एसियाली अध्ययन केन्द्रबाट आजका मितिसम्म प्रकाशित किताबमध्ये यो अब्बल त हुँदै हो, साथै नेपाली इतिहासबारे लेखिएका उत्कृष्ट किताबहरूमध्ये पनि एक हो ।

उनको निधनपछि नेपाल तथा एसियाली अध्ययन केन्द्रबाट ‘मध्यकालका अभिलेख’ (२०५६), ‘गोपालराज वंशावलीको ऐतिहासिक विवेचना’ (२०६४) र ‘पूर्वमध्यकालका अभिलेख’ (२०६८) छापिए । अन्य अनुसन्धाताहरूसँग मिलेर उनले जीवनकालमै थुप्रै किताबहरूको अनुवाद, सम्पादन तथा लेखन गरे, जसमध्ये ‘गल्लीमा फ्याँकिएका कसिंगर’ (२०१८), ‘त्रिरत्नसौन्दर्यगाथा’ (२०१९), ‘दोलखाको ऐतिहासिक रूपरेखा’ (२०३१), ‘नुवाकोटको ऐतिहासिक रूपरेखा’ (२०३२), ‘पाञ्चाली शासनपद्धतिको ऐतिहासिक विवेचना’ (२०३५), ‘शाहकालका अभिलेख’ (पहिलो भाग) (२०३७), ‘द गोपालराज वंशावली’ (सन् १९८५) आदि केही हुन् । यसका अतिरिक्त ‘पूर्णिमा’, ‘कन्ट्रिब्युसन्ज् टु नेपालीज् स्टड्इज’, ‘मधुपर्क’, ‘गोरखापत्र’, ‘खेलुइता’ लगायत पत्रपत्रिकामा उनका अनुसन्धानमूलक लेख छापिएका छन् ।

कसरी सम्झिने ?

संशोधन–मण्डलबाट अलग भएका धनवज्रको प्राज्ञिक जीवन परिस्कृत बन्दै जाने क्रम नरोकिए पनि जीवनको नयाँ मोडले उनको व्यक्तित्वको ढाँचालाई चाहिँ पूरै बदलिदियो । पाण्डित्यमा उनी त्रिभुवन विश्वविद्यालय र नेपाल तथा एसियाली अध्ययन केन्द्रका सहकर्मीहरूभन्दा अब्बल थिए । विलियम हेज्लिटरलाई उद्धृत गरी महेशराज पन्तले लेखेझैं त्रिभुवन विश्वविद्यालयका अध्यापकहरूमाझ ‘उनको सबैभन्दा नराम्रो अरू कसैको सबभन्दा राम्रोभन्दा राम्रो’ हुने अवस्था थियो । तर, उनीसँग कक्षा उत्तीर्ण गरेको प्रमाणपत्र थिएन । यसले गर्दा करारमा जागिर सुरु गरेपछि आफूभन्दा कमजोर पात्रको अनुयायीसरह देखिएर उनले अनुसन्धानकर्ममा सरिक हुनुपर्‍यो । धनवज्रको यस्तो कमजोरीको फाइदा उठाउँदै त्रिभुवन विश्वविद्यालयका स्थायी जागिरेहरूलाई आ–आफ्नो कीर्ति चम्काउने अवसर मिल्यो ।

उनको नामभन्दा अगाडि तुलसीराम वैद्यको नाम राखेर त्रिभुवन विश्वविद्यालयबाट ‘गोरखाको ऐतिहासिक सामग्री’ (२०२९) र हेमन्त राणा नाम अगाडि राखेर ‘टिस्टुङ–चित्लाङ भेगका ऐतिहासिक सामग्री’ (२०२९) नामक किताब छापिए । त्यसबखतको धनवज्रको निरीहताबारे महेशराज पन्तले लेखेका छन्, ‘धनवज्र वज्राचार्यले ... उनको खुट्टामा पनि बाँध्न नसुहाउने भने पनि हुने कालिदासको शब्द सापटी लिने हो भने ‘नायं मे पादरजसापि तुल्य:’ अर्थात् ‘मेरो खुट्टाको धूलो बराबर पनि छैन यो’ जस्ता, आफूभन्दा विद्या र वयस् दुवैमा कान्छाको नाउँ अगाडि राखी आफ्ना पुस्तक छाप्नुपर्‍यो ।’

प्रमाणपत्र बिनाको शिक्षा लिएका धनवज्र प्रचलित औपचारिक शिक्षा लिएका आफूभन्दा अल्पपठित सहकर्मी र त्यस्तो शिक्षालाई मात्र मान्यता दिने विश्वविद्यालयको परिवेशबीच च्यापिए । यसले मनोवैज्ञानिक रूपमा उनलाई कमजोर पार्दै लग्यो । संशोधन–मण्डलमा छँदाताकाको उनको आत्मविश्वास र रवाफ हरायो । यस सन्दर्भमा प्रयागराज शर्मा र कमलप्रकाश मल्लले भनेको निम्न कुरा महेशराजले धनवज्र सम्बन्धी आफ्नो लेखमा उद्धरण (अंग्रेजीबाट अनुवादसहित) गरेका छन्, ‘(नाउँ चलेका मानिसहरूको विरोधमा) जवानीमा (शिक्षाविषयक) जिहाद छेड्ने कामबाट झन्डै पर्लक्क पल्टी आफू बढी नरम हुँदा उनले कहिल्यै कसैलाई खिस्रिक्क पारेर वा कसैको आलोचना गरेर चित्त दुखाएनन् । आफ्नो क्षेत्रका, आफूसँगै काम गर्ने साथीहरू र कम उमेरका विद्वान्हरूलाई उनी धेरैजसो सदाशयमय सुझाव दिन्थे । ‘कन्ट्रिब्युशन्ज् टु नेपालीज् स्टड्इज्’मा छापिन आएका लेखको विषयमा त्यस पत्रिकाका सम्पादकको हैसियतले यहाँ यो लेख नछापिने भयो वा सच्याएर ल्याऊ भनी कसैलाई भन्न पनि उनी अक्सर धकाउँथे ।’

सायद यस्तै बदलावको कारण होला, त्रिभुवन विश्वविद्यालय प्रवेश गरेपछि उनी गुरु नयराजबाट टाढिँदै गए । यसबारे महेशराजको लेखको निम्न अंश उद्धरण गर्नु उपयुक्त हुन्छ, ‘पढ्न आएदेखि गुरुपूर्णिमाको दिन गुरुपूजा गर्न र दसैँमा टीका थाप्न गुरुकहाँ आउने धनवज्र वज्राचार्य विस्तारै ती पर्वमा पनि आउन छोडे । गुरुचेलाको सामान्य भलाकुसारी पनि बाटामा भेट हुँदामात्रै हुनथाल्यो ।’

प्राज्ञिक जीवनका आरोह–अवरोह पार गर्दै जाँदा धनवज्रले प्रचलित पाश्चात्य पद्धतिको शिक्षालाई न त पूरै नकार्नसके, न त आफूले सिकेको गुरुकुलीय शिक्षालाई सर्लक्कै सकार्नसके । त्यस्तो द्विविधामा अल्झिएका उनको प्रतिभालाई त्रिभुवन विश्वविद्यालयका अध्यापकहरूले दुरुपयोग गरे । त्यस्ता अध्यापकको पङ्क्तिमा संशोधन–मण्डलका प्रखर आलोचक कमलप्रकाश मल्ल (वि.सं. १९९३–२०७५) पनि थिए । संशोधन–मण्डलका सदस्यहरूसँग पौंठेजोरी खेल्न तम्सिए पनि उनी इतिहास अध्ययनबारे राम्रोसँग प्रशिक्षित थिएनन् । उनलाई लिच्छविकाल र मल्लकालमा प्रचलित भाषा, लिपि, संवत् आदिको पर्याप्त ज्ञान थिएन । यसकारण इतिहास सम्बन्धी अन्वेषण गर्ने काममा उनी चाहेजति फैलिन सकिरहेका थिएनन् ।

त्यतिकैमा संशोधन–मण्डल छोडेर आएका धनवज्रसँग कमलप्रकाशले सम्पर्क बढाए । अन्तत: दुईजनाको सहलेखनमा वि.सं. २०४२ (सन् १९८५) मा जर्मनीबाट ‘द गोपालराज वंशावली’ प्रकाशन भयो । मल्ल राजा स्थितिराजको पालामा तयार भएको गोपालराज वंशावली भ्रष्ट संस्कृत र नेवारी भाषामा लेखिएको छ । विज्ञहरूका अनुसार, यसका अक्षर पढ्न र अर्थ गर्न तत्कालीन भाषा र लिपिमा बलियो पकड चाहिन्छ । त्यस्तो क्षमता धनवज्रसँग थियो । संशोधन–मण्डलमा छँदै उनले त्यहाँका अन्य शोधार्थीहरूसँग मिलेर गोपालराज वंशावली पढेका थिए । त्यसमा आधारित उनका केही लेख ‘पूर्णिमा’मा छापिएका पनि थिए । संशोधन–मण्डलबाट निस्किएपछि धनवज्रले गोपालराज वंशावलीका अक्षरहरू उतारी तिनलाई नेपाली भाषामा अनुवाद गर्ने कष्टसाध्य काम गरे । धनवज्रले गरेको वंशावलीको नेपाली अनुवादलाई अंग्रेजी भाषामा अनुवाद गर्ने लगायत काम गरी कमलप्रकाश मल्लले त्यस ग्रन्थको सहलेखकमा धनवज्रसँगै आफ्नो पनि नाम राखे, जसबारे ‘द गोपालराज वंशावली’को भूमिकामा पनि उल्लेख छ ।

धनवज्रले वि.सं. २०३१ मा एसियाली अध्ययन संस्थानमा उपप्राध्यापक सरहको स्थायी नियुक्ति पाए । वि.सं. २०४२ मा उनी इतिहास विषयका सहप्राध्यापकमा पदोन्नति भए । त्यस्ता धुरन्धर ऐतिहासिकलाई सहप्राध्यापकमै सीमित गरेर त्रिभुवन विश्वविद्यालयले प्रतिभाको कदर गर्ने एउटा उत्तम अवसर गुमायो ।

समयक्रममा धनवज्रलाई मधुमेह र उच्च रक्तचापले गाँज्यो । आफूबाट फगत फाइदा उठाउन खोज्नेहरूबाट घेरिएका उनलाई औपचारिक शिक्षाको डिग्री नहुनु लगायत कारणले चिन्तित तुल्याएको थियो भनी जगदीशचन्द्र रेग्मीले लेखेका छन् । समयक्रममा उनको मुटु र किड्नीमा समस्या देखिन थाल्यो । उनले नियमित डायलसिस गर्नुपर्ने अवस्था आयो । उपचारका क्रममा सञ्चित बिदाहरू सकिएपछि विश्वविद्यालयले उनलाई सेवामा फर्किन ताकेता गर्न थाल्यो । अन्तत: उनले जागिरबाट राजीनामा दिन बाध्य हुनुपर्‍यो । त्यसपछिका दिनमा रोगसँग संघर्ष गरी बाँच्नु नै उनको जीवनको एकमात्र प्रयोजन बन्न पुग्यो ।

वि.सं. २०५१ असार २० मा नियमित डायलसिस गर्न भनेर उनी वीर अस्पताल पुगेका थिए । अस्पतालको शैयामा उनको निधन भयो । उनको मृत्युबारे टिप्पणी गर्ने क्रममा महेशराजले जगदीशचन्द्रको माथि उल्लेखित कुरामा सहमति जनाउँदै लेखेका छन्, ‘त्रिभुवन विश्वविद्यालयमा जागिरे, इतिहासका अरू अरू अध्यापक–अन्वेषकहरूभन्दा धनवज्र वज्राचार्यको ल्याकत कता हो कता माथिल्लो भए पनि प्रचलित पद्धतिबाट उनी पराजित हुनपुगे । त्यही पराजयको विषादले गर्दा उनी क्रमश: आधिव्याधिग्रस्त भई अकालमै कीर्तिशेष भए ।’

धनवज्रको शेषपछि नेपाल तथा एसियाली अनुसन्धान केन्द्रले सुरेन्द्र केसीमार्फत धनवज्रबारे किताब लेखाएर र उनीसमेतको नाममा विद्वत्वृत्ति स्थापना गरेर उनलाई बाँचुन्जेल यथोचित कदर दिन कञ्जुस्याइँ गरी गरेको भूल सपार्न खोजेको छ । केन्द्रलाई प्राज्ञिक उचाइ दिलाउन यथेष्ट योगदान गरेका धनवज्रप्रति केन्द्रले गर्नसक्ने काम अरू पनि छन् । शेषपछि उनको परिवारले केन्द्रलाई बुझाएका अप्रकाशित पाण्डुलिपिहरू प्रकाशन गर्ने तत्परता देखाएर केन्द्रले धनवज्रको ऋण तिर्ने शृङ्खला सुरु गर्न सक्छ । ‘लिच्छविकालका अभिलेख’ लगायत धनवज्रका किताब बजारमा पाउन छाडेको वर्षौं बितिसकेको छ । बजारमा ती किताबको माग अद्यापि छ । त्रिभुवन विश्वविद्यालय परिसरबाटै उनको किताबको फोटोकपी बिक्री भइरहेको छ ।

योजनाविहीनताका कारण तिनको पुनर्मुद्रण गर्ने काममा केन्द्र उदासीन रहँदै आएको छ । आफैँले ती ग्रन्थ पुनर्मुद्रण गरेर अथवा अन्य प्रकाशन संस्थालाई पुनर्मुद्रण गर्ने अनुमति दिएर केन्द्रले धनवज्रका किताबहरू सर्वसुलभ बनाउन सक्छ । यसका साथै केन्द्रबाट प्रकाशित हुने ‘कन्ट्रिब्युशन्ज् टु नेपालीज् स्टड्इज्’को सम्पादक मण्डलले धनवज्र सम्बन्धी विशेषांक प्रकाशन गरी आफ्ना संस्थापक सम्पादकप्रति आदर दर्शाउन सक्छन् । सन् १९९६ मा छापिएको ‘कन्ट्रिब्युशन्ज् टु नेपालीज् स्टड्इज् २३(१)’ को अंक धनवज्रको नाममा समर्पित छ । यद्यपि यसमा छापिएका २० वटा लेखमध्ये तीनवटा मात्र धनवज्रबारे छन् । हरेक वर्ष उनको नाममा एउटा विद्वत सम्भाषण अथवा प्राज्ञिक गोष्ठी गरेर पनि केन्द्रले धनवज्रको योगदानको कदर गर्ने र एकजना विलक्षण कलमजीवीलाई सदैव सम्झिरहने सन्दर्भ दिलाउन सक्छ ।

(शनिबार प्रकाशन हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : चैत्र २०, २०७७ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्

पठन संस्कृतिका पूर्वसर्त

विद्यालाई अभिलेख्य रूपमा राख्ने परम्परा कमजोर भएकाले पनि हामीकहाँ पुस्तकालय र पठन संस्कृतिको समुचित विकास हुन सकेन, जसको प्रभावबाट नेपाली समाज मुक्त हुन सकेको छैन ।
सुजित मैनाली

पठन संस्कृतिलाई लिएर नेपालमा दुई खालका समस्या छन्— पुस्तकालय नहुनु र भएका ठाउँमा पनि पढ्नेहरूको कमी हुनु । नवलपुर प्रहरीले जिल्लाभरि शृङ्खलाबद्ध रूपमा चलाइरहेको ‘प्रहरीसँग विद्यार्थी’ कार्यक्रमअन्तर्गत पङ्क्तिकारले डेढ साताअघि कावासोती नगरपालिकाका विद्यार्थीहरूसँग पठन संस्कृतिबारे अन्तरक्रिया गर्ने मौका पाएको थियो ।

विद्यार्थीका अतिरिक्त शिक्षक र नगरपालिकाका अधिकारीहरूसँग विद्यार्थीले पाठ्यक्रमबाहिरका सामग्री कत्तिको पढ्छन् भनी बुझ्दा त्यहाँ पठन संस्कृतिसम्बन्धी माथि उल्लिखित दुवै खाले समस्या रहेको थाहा भयो । नगरपालिकामा रहेका सार्वजनिक र शैक्षिक संस्थाका पुस्तकालय पुस्तक संकलनका दृष्टिले गरिब रहेछन् । पुस्तकालयमा मानिसहरू नजाने समस्या अझ विकराल रहेछ । पठन संस्कृति तैबिसेक राम्रो रहेको भनिएको काठमाडौंका सार्वजनिक पुस्तकालयमा पढ्न जाने मुठीभर मानिसमध्ये अधिकांश लोकसेवा आयोगका परीक्षार्थी रहने गरेको कुरा सुन्दै आएको पङ्क्तिकारलाई कावासोतीमा पठन संस्कृति र पुस्तकालयको अवस्था कमजोर हुनु अनौठोचाहिँ लागेन ।

काठमाडौं र कावासोतीको पठन संस्कृति र त्यहाँका पुस्तकालयको अवस्था प्रतिनिधि उदाहरण मात्र हुन् । यो नेपालभरिको साझा समस्या हो । अहिले ‘नेपाल’ भनी चिनिएको सरहदभित्र प्राचीन समयमा भारतीय उपमहाद्वीपभरि फैलिएको भनिएको समृद्ध विद्वत्परम्पराको प्रभाव परेको सन्दर्भलाई बिर्सिदिने हो भने त्यसयता विद्याका क्षेत्रमा हामीले गौरव गर्नलायक एउटै काम गर्न सकेनौं ।

सयौं वर्षसम्म हामीले भोगेको बौद्धिक दरिद्रताको साक्षी बनेर नाम मात्रका पुस्तकालय र विपन्न पठन संस्कृतिले हामीलाई आजपर्यन्त गिज्याइरहेका छन् । देश संघीयतामा गएपछि स्थानीय सरकारले अपेक्षाकृत राम्रो कार्यकुशलता देखाइरहेकाले तिनैलाई अघि सारेर पुस्तकालय र पठन संस्कार सबल बनाउने राष्ट्रव्यापी अभियान चलाउन सकिन्छ भन्ने लागेर यस लेखमा त्यसबारे चर्चा गर्न लागिएको हो ।

संकुचनको कारण

ज्ञात इतिहास आरम्भ भएदेखि नै नेपालमा पठन संस्कृति र विद्वत्परम्परा कहिल्यै समृद्ध थिएन । लिच्छविकालताकाका चिनियाँ यात्रु युआन च्वाङ (सन् ६०२–६६४) ले नेपाल (काठमाडौं) बारे चर्चा गर्ने क्रममा यहाँका मानिस कालिगडीमा निपुण रहे पनि अपठित छन् भनेका थिए । मल्लकालीन अभिलेखमा प्रयुक्त भाषाको प्राञ्जलता लिच्छविकालीन अभिलेखहरूको भन्दा निम्नकोटिको रहेकाले मल्लकालीन बौद्धिक अवस्था अझ खस्किएको थियो भन्ने गरेका छन्, संस्कृत भाषा र लिपिमा पोख्त अभिलेखविद्हरूले । मल्लकालको अन्त्यपछि पनि नेपालको बौद्धिक परम्परा सुध्रिएन ।

यसको संकेत काठमाडौंस्थित इस्ट इन्डिया कम्पनीका आवासीय प्रतिनिधि ब्रायन हज्सन (सन् १८००–१८९४) ले सन् १८३७ मा लेखेको एउटा लेखोटमा पनि पाइन्छ, जहाँ उनले ‘यिनी (नेपाली) हरूको ध्यान हतियारबाट विमुख गराउने गरी यिनीहरूसँग न कला छ, न साहित्य छ, न व्यापार छ, न त उब्जाउ हुने जमिन नै छ’ भनी टिप्पणी गरेका थिए । नेपालको शैक्षिक दरिद्रताबारे टिप्पणी गर्ने क्रममा अर्का अंग्रेज अधिकारी डेनियल राइटले यहाँका शैक्षिक संस्थालाई ‘आइसल्यान्डका सर्प’ सँग तुलना गरेका थिए ।

नेपालको बौद्धिक विपन्नता र कमजोर पठन संस्कृतिलाई गिज्याउँदै उनले सन् १८७७ को आफ्नो किताब ‘हिस्ट्री अफ नेपाल’ मा लेखेका थिए, ‘गोर्खालीहरू आफूलाई कसरी व्यस्त राख्छन् र के गरेर रमाइलो गर्छन् भन्ने मैले अहिलेसम्म बुझ्न सकेको छैन । सैनिक बन्नुबाहेक उनीहरूसँग अर्को कुनै काम छैन, घरबाहिर खेल्ने उनीहरूसँग कुनै खेल छैन; तराई गएको बेलामा बाहेक उनीहरू कहिल्यै सिकार गर्दैनन्; र घरभित्रै आफूहरूलाई व्यस्त राख्ने गरी उनीहरूसँग कुनै साहित्य छैन । सारमा भन्नुपर्दा, फुर्सदिलो समय व्यतीत गर्नर् उनीहरूसँग कुनै चीज छैन, त्यसैले उनीहरू कुरा कथुर्ने, जुवा खेल्ने र दैहिक ऐयासीमा डुब्ने क्रियाकलापमा निर्लिप्त हुने गर्छन् ।’

यस्तो अवस्थाबाट बाहिर निस्किने मौका नेपाललाई बेलामौकामा प्राप्त भएको थियो । पहिलो र दोस्रो विश्वयुद्धताका मानव सभ्यताले विद्याका क्षेत्रमा ठूलो फड्का मार्‍यो । तर, त्यस्ता अवसरबाट लाभ लिन नेपाली राज्य र यहाँको विद्वत् समुदाय चुक्यो । राणाकालताका लेखपढ र कर्मकाण्ड जानेको एउटा पुरेत र एउटा साँढे एउटा गाउँलाई पर्याप्त हुन्छ भन्ने आमधारणा थियो भनी भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’ मा लेखेका छन् । एउटा गाउँमा कर्मकाण्ड चलाउन र सरकारी अड्डाबाट आउने टाँसपुर्जा पढ्न सक्ने दुई–चार साक्षर मानिस भए पुग्छ भनी त्यति बेलाका मानिस सोच्ने गर्थे । विसं २००७ मा प्रजातन्त्र आएपछि पनि नेपालको विद्वत् परिवेश र पठन संस्कृतिमा सुधार आएन । त्यति बेला साक्षरता दर १ प्रतिशतभन्दा कम थियो । देशभर सिर्फ ३२१ विद्यालय र ८,००० विद्यार्थी थिए ।

विज्ञानलाई नेपाली समाजले जीवनपद्धति बनाउन सकेको भए अध्ययन–अनुसन्धान हामीसँग अभिन्न रूपले गाँसिने थिए । तर, नेपाली समाजले आधुनिकतातिर फड्किनुको सट्टा परम्परागत जीवनपद्धतिलाई नै अँगालिरह्यो । जीविकालाई सहज र समृद्ध तुल्याउने गरी अन्यत्रका सफल प्रयोगबाट सिक्ने अभिरुचि हामीले देखाएनौं । पढेर अथवा अवलोकन गरेर नयाँ कुरा जान्ने र त्यसलाई व्यवहारमा उतार्ने अभीप्सा हामीमा रहेन । साक्षर कहलिएका पुरेतहरू फगत कर्मकाण्डी शिक्षामै सीमित भएकाले वैज्ञानिक ज्ञानपद्धति प्रकट भएन, जसका कारण साक्षरता र पठन संस्कृतिमा सुधार आउन सकेन ।

भारतीय उपमहाद्वीपको सभ्यताले मौखिक परम्पराबाट हुने ज्ञान हस्तान्तरणलाई प्रश्रय दिएकाले पनि साक्षरता र पठन संस्कृति हामीकहाँ विकसित हुन नसकेको हो । मौखिक ज्ञान परम्परामा गुरुले दिने शिक्षा उपदेश कहलिन्छ । शिष्यको हैसियत भक्तसरहको हुन्छ । त्यस्तो शिक्षण प्रणालीले खोज–अनुसन्धानमा स्वयं प्रवृत्त हुने चरित्रलाई प्रोत्साहन गर्दैन । विद्यालाई अभिलेख्य रूपमा राख्ने परम्परा कमजोर भएकाले पनि हामीकहाँ पुस्तकालय र पठन संस्कृतिको समुचित विकास हुन सकेन, जसको प्रभावबाट नेपाली समाज अझै मुक्त हुन सकेको छैन ।

खाँचो अझ टड्कारो

नेपालले साक्षरता दर बढाउने दिशामा एक हदसम्म सन्तोषजनक नतिजा हासिल गरेको छ । विसं २०६८ को जनगणनाअनुसार, नेपालको साक्षरता दर ६६ प्रतिशत छ । तर, साक्षर जमातको शैक्षिक गुणस्तर चित्तबुझ्दो छैन । हामीले दातामुखी भएर साक्षरताको अंकगणितीय पाटोलाई एकोहोरो महत्त्व दियौं । यसले गर्दा लेखपढ गरेर सामान्य व्यवहार चलाउन सक्ने, तर आफूलाई कल्पनाशील र सिर्जनशील तुल्याउनचाहिँ नसक्ने जनशक्तिको निर्माण भयो ।

सुपठित र योग्य जनशक्ति नेपालमा अझै निर्माण हुन सकिरहेको छैन भन्ने कुरा देशका सबै ठाउँमा पुस्तकालयको पहुँच नपुगेको र पुगेका ठाउँमा पनि पुस्तकालय धाउने मानिसको अभाव रहेको सन्दर्भले पनि पुष्टि गर्छ । पुस्तकालयको सहज उपलब्धता र पठन संस्कृतिको विकासबाट मात्रै गुणस्तरीय शिक्षा हासिल हुन्छ । वैज्ञानिक जीवनपद्धति संस्थागत हुने बाटो पनि यही हो । विश्वकै उत्कृष्ट शिक्षा प्रणाली रहेको भनिने फिनल्यान्डलाई हेर्दा पनि यो स्पष्ट हुन्छ, जहाँ ७० प्रतिशत मानिस पुस्तकालयबाट तीन किलोमिटरभित्रको दूरीमा र ९३ प्रतिशत मानिस दस किलोमिटरभित्रको दूरीमा बस्छन् । त्यहाँको करिब आधा जनसंख्याले प्रतिमहिना कम्तीमा एकपटक सार्वजनिक पुस्तकालयको उपभोग गर्छ ।

नेपालमा पनि शिक्षा र वैज्ञानिक जीवनपद्धतिको विकास गर्ने हो भने हामीले पुस्तकालय र पठन संस्कृतिको विकासमा समुचित ध्यान दिन आवश्यक छ । पठन संस्कार हामीलाई हिजोको तुलनामा अझ बढी अपरिहार्य भएको छ । अहिले नेपाली समाज तीव्र सहरीकरण र आधुनिकीकरणबाट गुज्रिरहेको छ । जसै मानिस सहरवासी बन्छ, परम्परागत ज्ञान र सीप उसलाई पर्याप्त हुँदैन । यसको प्रभाव गाउँमा पनि पर्छ । सहरीकरण तीव्र बन्दै जाँदा कृषिमा आश्रित जनसंख्या घट्दै जान्छ । त्यसपछि कृषकले परम्परागत निर्वाहमुखी कृषिको सट्टा बजारमुखी आधुनिक खेतीतिर फड्किनुपर्छ, नत्र अन्य पेसामा संलग्न मानिसका लागि खाद्यान्न उत्पादन गर्न सकिँदैन । बढी उब्जाउ गर्न कृषकलाई कृषिसम्बन्धी आधुनिक ज्ञान चाहिन्छ । यसका लागि उसले पठन, अवलोकन र तालिमको सहारा लिनु अनिवार्य हुन्छ ।

पठन संस्कृति र पुस्तकालय विद्यार्थीको मात्र सरोकारको विषय होइन भन्नका लागि कृषकको उदाहरण दिइएको हो । अब व्यापारीहरू पनि परम्परागत ढाँचामा चलेर अहिलेको प्रतिस्पर्धी बजारमा टिक्न सक्दैनन् । बजार तीव्रसँग डिजिटलाइज्ड भइरहेको छ । अब ‘भर्चुअल मार्केट’ बारे नपढ्ने अथवा नसिक्ने व्यापारीहरूको दिनगन्ती सुरु हुने निश्चित छ भन्ने ठोकुवा टुटल र पठाओले विस्थापन गर्दै गएको ट्याक्सी व्यवसायलाई हेरेर पनि गर्न सकिन्छ । पछिल्ला सूचना–प्रविधिका कारण अपराधको चरित्र बदलिँदै गएको छ ।

हामीभन्दा अगावै त्यस्ता सूचना–प्रविधि प्रयोग गर्ने समुदायमा भएका अपराधबारे बुझेको प्रहरी र अपराध विश्लेषकले मात्रै अब अपराधरहित समाज निर्माण गर्ने जिम्मेवारी प्रभावकारी रूपमा वहन गर्न सक्छन् । गुगलमै अधिकांश उत्तर पाइने जमाना सुरु भएकाले कक्षाकोठामा गएर वर्षौं पुरानो डायरीबाट विद्यार्थीलाई ‘नोट्स’ टिपाउने शिक्षकले अब विद्यार्थीको लयलाई समात्न सक्दैनन् । यसका लागि उनीहरू शिक्षा क्षेत्रमा भइरहेका पछिल्ला विकासबारे अद्यावधिक हुनैपर्छ । विश्वसंस्कृति र राष्ट्रिय मनोविज्ञानमा आउने फेरबदल पछिल्लो समय तीव्र बनेकाले देशहित र जनताको मनोभाव राम्रोसँग बुझ्न नेताहरूका लागि पठनपाठन अझ बढी आवश्यक भएको छ ।

आन्तरिक बढुवाका लागि फगत सामान्य ज्ञान पढ्ने, प्रशासन सञ्चालनका पछिल्ला तौरतरिकाबारे चाहिँ ठ्याम्मै नपढ्ने सरकारी कर्मचारी हुँदा देशको कस्तो दुरवस्था हुन्छ भन्ने अनुमान ‘डिजिटल वालेट’ को अवधारणा छ्यापछ्याप्ती भइसक्दा पनि दस्तुर तिर्न सरकारी अड्डामा घण्टौं लामबद्ध हुन बाध्य पारिएका करदाताहरूलाई हेरेर पनि गर्न सकिन्छ । विद्यार्थीसहित सबै पेसाकर्मीको कार्यकुशलता अभिवृद्धि गर्ने पूर्वसर्त पुस्तकालय र पठन संस्कृति रहेकाले यसका लागि राष्ट्रिय अभियान सञ्चालन गर्नु अत्यावश्यक छ ।

केही सुझाव

यसका लागि सरकारले विशेष अग्रसरता लिनुपर्छ । त्यसमा गैरसरकारी संघसंस्था, व्यापारिक प्रतिष्ठान, नागरिक समाज, मिडिया, पेसागत संघसंगठनसहित सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । सरकारले पुस्तकालय निर्माणबारे केही महत्त्वपूर्ण नीतिगत निर्णय गरिसकेको छ । राष्ट्रिय शिक्षा नीति, २०७६ ले सबै आधारभूत विद्यालयमा पुस्तकालय र बुक कर्नरजस्ता भौतिक तथा शैक्षिक पूर्वाधार तयार गरिनेछ (१०.७.२), प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सार्वजनिक पुस्तकालयको स्थापना गरी त्यसलाई आधुनिक सूचना तथा सञ्चार प्रविधियुक्त बनाइनेछ (१०.२६.३.) भनेको छ । प्रत्येक वडासम्म पुस्तकालयको पहुँच विस्तार गर्न घुम्ती पुस्तकालय सेवा सञ्चालन गरिने पनि नीतिमा उल्लेख छ (१०.२६.४) ।

यी विषय कार्यान्वयनमा ल्याउने जिम्मा मूलतः स्थानीय सरकारको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहमा पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ (परिच्छेद ३, ११ज) । राष्ट्रिय शिक्षा नीति र स्थानीय सरकार सञ्चालन ऐनमा गरिएका यस्ता व्यवस्थाहरू कार्यान्वयनमा ल्याउन विद्यार्थी, शिक्षक, नागरिक समाज र गैरसरकारी संस्थाले स्थानीय सरकारलाई झकझकाउनुपर्छ । करिब तीन वर्षमा स्थानीय सरकारहरूले देखाएको कार्यकुशलता र विकासप्रतिको तिनको तत्परतालाई ध्यानमा राख्दा पुस्तकालयसम्बन्धी नीति र ऐनको कार्यान्वयनमा तिनलाई प्रेरित गर्नु अप्ठेरो देखिँदैन ।

पुस्तकालय र पठन संस्कृति विकासका लागि मौजुदा नीतिको कार्यान्वयन पर्याप्तचाहिँ छैन । यसका लागि केन्द्र सरकारले नीतिगत सुधार गर्न अग्रसरता लिनुपर्छ । स्थानीय सरकार सञ्चालन ऐनमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा अनिवार्य हुनुपर्ने पूर्वाधारबारे उल्लेख छ । पूर्वाधारको सूचीमा पुस्तकालय छैन । ऐनमा संशोधन गरी हरेक वडामा कम्तीमा ५,००० पुस्तकको संकलन रहेको सार्वजनिक पुस्तकालय अनिवार्य हुनुपर्ने व्यवस्था गरिनुपर्छ ।

यसका अतिरिक्त केन्द्र सरकारले पुस्तकालय निर्माण र पठन संस्कृतिको विकासका लागि छुट्टै ऐन पनि बनाउन सक्छ । यस दिशामा त्यस्तै खालको ऐन कार्यान्वयन गरिरहेको फिनल्यान्डको अनुभव हाम्रा लागि प्रेरक बन्न सक्छ । शैक्षिक संस्थाहरूको सञ्चालनसँग सरोकार राख्ने ऐनमा संशोधन गरी हरेक शैक्षिक संस्थाले कुल आम्दानीको कम्तीमा ५ प्रतिशत रकम पुस्तकालय र पठन संस्कृति प्रवर्द्धन कार्यक्रममा अनिवार्य रूपले खर्च गर्नुपर्ने नियम बनाउन पनि आवश्यक छ ।

यति काम गरियो भने पूरै देशलाई पुस्तकालयमय बनाउन सकिन्छ । ती पुस्तकालयहरूको समुचित उपयोग होस् भनेर पठन संस्कृति अभिवृद्धि गर्न सरकारी र गैरसरकारी पक्षले संयुक्त रूपमा पहलकदमी लिनुपर्छ । विद्यालय प्रशासनको अग्रसरतामा हरेक स्कुल र कक्षाकोठामा किताबसम्बन्धी चर्चालाई अनिवार्य गरेर पठन स्वभावलाई संस्कारको रूप दिनुपर्छ । सरकारी र गैरसरकारी कार्यालय तथा व्यावसायिक प्रतिष्ठानका कर्मचारी, पेसागत संघसंगठन आदिले आ–आफ्ना क्षेत्रमा पठन संस्कृति प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ । थुनुवा र बन्दीका लागि जेलभित्रै पुस्तकालय स्थापना गर्ने क्रम त्यस्तो अभियानको एउटा नमुना हो ।

प्रहरी प्रशासनले ती पुस्तकालयलाई प्रहरीहरूमाझ पठन संस्कृति प्रवर्द्धन गर्ने दिशामा पनि प्रयोग गर्नुपर्छ । प्रत्येक अस्पताल अथवा कार्यालयमा कर्मचारी र सेवाग्राहीका लागि लाइब्रेरी स्थापना गर्ने अभियान देशैभरि सञ्चालन गराउनुपर्छ । सबै क्षेत्रबाट यस्तो पहल गरिए पुस्तकालय र पठन संस्कृतिलाई सघन रूपमा संस्थागत गर्न सकिन्छ ।

प्रकाशित : माघ २३, २०७७ ०८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×