कम्युनिस्ट ह्याचरी- कोसेली - कान्तिपुर समाचार

कम्युनिस्ट ह्याचरी

मार्क्सवादी लेखक, अर्थशास्त्री, कूटनीतिज्ञ आदि थुप्रै चिनारी बोकेका गोविन्दप्रसाद लोहनीको ९३ वर्षको उमेरमा तीन महिनाअघि निधन भयो । आखिरी तीन महिना उनको अस्पताल–बास भयो । उनमा ज्ञानको भोक कति थियो भने भेन्टिलेटरमा बस्दा पनि किताब पढ्न छाडेनन् । अस्पतालको शय्यामा आफ्नो किताब ‘नेतृत्वको भोक र अन्य कथा’ विमोचन गरे ।
डा. केआई सिंहले काठमाडौंमा गरेको जेल विद्रोहलगत्तै सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउँदा पनि गोविन्दले कम्युनिस्ट कोरल्ने क्रम रोकेनन्
राजकुमार बानियाँ

घट्टेकुलो (काठमाडौं) स्थित एक निवासको बैठक कोठामा दशकौंदेखि ठूलो फ्रेममा सजाइएको छ, गुरु–चेलाको फोटो । फोटोमा देखिन्छन्, गुरु गोविन्दप्रसाद लोहनी र चेला पुष्कर लोहनी । पुष्करका एक मात्र घोषित गुरु गोविन्द मार्क्सवादी थिए भने उनी आफैंचाहिँ फ्रायडवादी । बीपी कोइरालादेखि तुलसी गिरी अनि प्रदीप गिरिसम्म चकित–विस्मित भए, कट्टर मार्क्सवादी गुँडमा फ्रायडवादीको जन्म !

२००८ सालसम्म टुपी पालेका थिए पुष्करले । गोविन्दले उकासे, ‘यो टुपी किन राख्ने ? काट । म तिम्रो बुबालाई भनुँला ।’ पुष्करले मानिहाले । तर, बुबाबाट खप्की मात्र खाएनन्, टाउकै खौरने सजाय पाए । पुष्कर दुई दिन कोठाभित्रै अनशन बसे । टोपी लगाएर स्कुल जाऊ भन्दा पनि मानेनन् ।

जहाँ जाँदा पनि पुष्करलाई आफूसँगै लिएर हिँड्दा रहेछन् गोविन्द । साहित्य, अर्थराजनीति, मनोविज्ञान र दर्शनका ज्ञान दिँदा रहेछन् । उनी काठमाडौंका गल्ली–गल्ली कम्युनिस्ट नेताहरूको सेल्टरमा पुग्थे । सदर टुँडिखेलमा बिहान–बेलुका कम्युनिस्ट क्लास लिन्थे । पुष्कर थाहै नपाईकन त्यसमा सामेल हुन्थे ।

गोविन्दकै चेला भैरव रिसालका शब्दमा २००८ देखि २०१३ सम्म नेपालमा कम्युनिस्टको चल्ला कोरल्ने ह्याचरी मेसिन नै थिए गोविन्द । २००८ माघमा डा. केआई सिंहले काठमाडौंमा गरेको जेल विद्रोहलगत्तै सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउँदा पनि गोविन्दले कम्युनिस्ट कोरल्ने क्रम रोकेनन् । पहिलो पुस्ताका सबैजसो कम्युनिस्ट उनकै चेलाचपेटा मानिन्छन् ।

भैरवको भाषामा गोविन्द त्यतिबेला कम्युनिस्ट दर्शन, द्वन्द्वात्मक भौतिकवाद, पुँजी, वर्गसंघर्ष, जनवादी केन्द्रीयता, उपनिवेशवाद, पुँजीवाद, साम्राज्यवाद, सामन्तवाद, जग्गा धनी, मोही, किसान, बाली, कुत, मोहियानी हक, बिर्ता, रैकर, गुठी, मालपोत अनेक शीर्षकमा कक्षा लिन्थे । भैरव त्यतिबेला तीनधारा पाकशालामा बसेर उनीसँग मार्क्सवादी दर्शन पढ्दा रहेछन् ।

टुपीकाण्डपछि गोविन्दलाई साँच्चै अप्ठ्यारो पार्‍यो । किनभने डिल्लीबजार, कुमारीस्थान (धोबीधारा) मा रहेको उनकै घरमा बस्थ्यो, पुष्करको परिवार । गोविन्दपत्नी रुचिलावालाका कान्छा मामा हुन् पुष्करका पिता । तर, गोविन्दले पुष्करलाई कम्युनिस्ट बन्न कहिल्यै कर गरेनन् । बरु साम्यवाद र पुँजीवादको लम्बेतान व्याख्या गरे । उनले भने, ‘म कम्युनिस्ट हुँ तर तिमी कम्युनिस्ट नै बन्नुपर्छ भन्ने छैन । तिम्रो रुचि लेखनमा छ । लेखक स्वतन्त्र हुन्छ । लेखनले जनताको हृदय हुन्छ । लेखक अमर हुन्छ, सालिक बन्छ । तिमी के बन्ने हो, आफैं विचार गर ।’ पछि त गोविन्द र पुष्कर गुरु–चेला मात्र भएनन्, घट्टेकुलोमा साँध जोडिएका छिमेकीसमेत भए ।

पुष्करका गुरु गोविन्द थिए भने गोविन्दका गुरु बुद्धिप्रकाश पाण्डे । पाण्डे निवासकै बौद्धिक जमघटमा मार्क्सवाद, साहित्य, अन्तर्राष्ट्रिय राजनीति, आधुनिक मनोविज्ञान, भौतिक विज्ञान आदिको परिचय पाएका रहेछन् उनले । आफ्नो कथासंग्रह ‘नेतृत्वको भोक’ उनले तिनै बौद्धिक धरातल बनाइदिने गुरूप्रति समर्पित गरेका छन् ।

‘धोबीधारामा हामी तल्लो तला बस्थ्यौं र भिनाजुको परिवार माथिल्लो तलामा । उनीकहाँ देशभरिका कांग्रेस र कम्युनिस्टहरू जम्मा हुन्थे,’ पुष्कर सम्झन्छन्, ‘ज्ञानेश्वरमा घर छाडेपछि १४ वर्ष त्यही घरमा बस्दा गोविन्दप्रसादकै बौद्धिक प्रभावमा मैले यौन साहित्य लेख्न थालेको हुँ ।’

विसं १९८५ कात्तिकमा न्हैकन्तला, काठमाडौंमा जन्मेका गोविन्द तीन वर्षको उमेरमा मामाघर (बनारस) तिर लागे । उनी नेपाली बोल्नै नजान्ने भएर घर फर्किए । जुद्धोदय स्कुलमा पढ्दा हिन्दी लवजका कारण सहपाठीले ‘मर्स्या’ पनि भन्थे रे । उनले कलेजसम्मको शिक्षा उतै लिए । बनारस हिन्दू विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरे पनि उनी स्वाध्यायनबाटै राजनीति, साहित्य, दर्शनशास्त्र, विकास, योजना, बैंकिङलगायतका विषयका समेत ज्ञाता भए । त्यसैले बाबुराम भट्टराईले उनलाई उपनाम दिएका थिए, ‘आधुनिक कम्प्युटर’ ।

गोविन्दका पिता दीपकेश्वर शर्मा लोहनी माध्यमिक कालका प्रख्यात शृंगारिक कवि थिए । बनारसबाट दर्शनमा आचार्य उत्तीर्ण गरेका उनी जोग मण्डली (१९६५) का सक्रिय सदस्य थिए । कवि जोगवीरसिंह उदास नेतृत्वको त्यो मण्डलीमा लेखनाथ पौडेल, चक्रपाणि चालिसे, चित्तधर हृदय, शम्भुप्रसाद ढुंगेल आदि पनि थिए । बनारसमा १९४३ मा मोतीराम भट्टले खोलेको मोती मण्डलीकै सिको गरेर एकअर्कालाई रचना सुनाउँथे । १९८७ को पुस्तकालय पर्वताका झोसपोलमा परेपछि उनले निर्वासन रोज्नुपर्‍यो । गोविन्दका कनिष्ठ पुत्र विकास अर्थशास्त्री कपिल लोहनी भन्छन्, ‘विद्रोह गर्ने र अत्याचारको विरोधमा लड्ने बानी हार्मीले पुर्ख्यौली विरासतमै पाएका रहेछौं ।’

शिक्षामा अब्बल भईकन पनि गोविन्दले राजनीतिक कारणवश उचित अवसर पाएनन् । आफ्नै आमासँग खटपट भएर उनले पत्नीसहित घर छाड्नुपर्‍यो र माइतीले किनिदिएको घरमा बस्दा उनलाई ग्लानि र हीनताबोध भएको थियो । नेपाली राष्ट्र्रिय कांग्रेसको पहिलो अधिवेशनमा काठमाडौंको प्रतिनिधित्व गरेका र पछि डिल्लीरमण रेग्मीको हाँगो समातेका गोविन्द बिस्तारै कम्युनिस्टतिर ढल्के । त्यसै कारण सरकारी सेवामा ‘अनफिट’ भए । हरेक लिखित परीक्षामा सर्वप्रथम हुन्थे तर अन्तर्वार्तामा ‘आउट’ । केही सीप नलागेपछि सीताराम हाइस्कुलमा मास्टरी गरे । पछि नरप्रताप शाहको सहयोगमा नेपाल बैंकको सिनियर क्लर्कमा भर्ना भए ।

अर्कोपटक लोकसेवा आयोगको अधिकृत तहको लिखित परीक्षामा प्रथम भए । अन्तर्वार्तामा दोस्रा भए पनि जागिर नपाउने निश्चित थियो । ‘एकचोटि कम्युनिस्ट साम्यवादी समर्थक भयो भन्दैमा जनमभरि जागिर खान नपाउनु अन्यायको कुरा हो, यसमा न्याय दिलाई पाऊँ’ भन्ने बेहोराको बिन्तीपत्र राजदरबारमा पठाएपछि मात्र उनको भाग्योदय भयो । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको जोडबलमा गोविन्दले केन्द्रीय बैंकमा प्रवेश पाए ।

२०१३ मा नेपाल राष्ट्र्र बैंक खडा गर्नेमा हिमालयशमशेर राणा, विश्वनाथ उपाध्याय र उनकै नाम आउँछ । गोविन्दले त्यहाँ अनुसन्धान विभागमात्र खडा गरेनन्, मौद्रिक नीति समेत बनाए । उनकै पहलमा भर्ती गरेका २५–३० जना युवाहरूरूले नै कालान्तरमा केन्द्रीय बैंकको नेतृत्व लिए । त्यसताका वसन्तपुरमा थियो राष्ट्र्र बैंक । पछि विश्वनाथ अदालततिर लागे । गोविन्दले आफ्ना चेला पुष्करलाई पनि राष्ट्र बैंक छिराएका थिए तर उनी लामो समय बसेनन् ।

राजा महेन्द्रको सदिच्छा थियो, मुलुकभर नेपाली मुद्रा चलाउने । राष्ट्र्र बैंकभन्दा अगाडि नेपाल बैंक लिमिटेडले निकाल्थ्यो नोट । काठमाडौंभित्र मात्र चल्ने त्यो नोटमा खजान्चीका रूपमा बडागुरुज्यूले हस्ताक्षर गर्थे । समस्या खडा भयो, देशभरि नोट त चलाउने तर विनिमय दर कति तोक्ने ?

गोविन्दप्रसाद लोहनी र विश्व बैंकबाट आएका अमेरिकी आर्थिक सल्लाहकारले खुला सीमा क्षेत्रका बजारमा महिनौं लगाएर गरेको शोधका आधारमै भारतीय रूपैयाँ १०० को नेपाली रुपैयाँ १६० सटही दर तोकियो । त्यो अद्यापि छँदै छ । नेपाली मुद्रालाई आजको अवस्थामा मुलुकभरि सर्वत्र चल्ने बनाउनुमा पनि उनको टोलीको मिहिनेत परेको थियो ।

पञ्चायतकालमा भूमिसुधारको पहिलो दस्ताबेज बनाउने पनि उनै भए । २०२१ देखि २०२३ सम्म उनले भूमिसुधार र पञ्चायत मन्त्रालयमा काजमा काम गरेका थिए । उनका ‘नेपालमा भूमि सम्बन्धको इतिहास,’ र ‘भूमिसुधार’ नामक पुस्तक प्रकाशित छन् । एमालेको नौमहिने सरकारका पालामा केशव बडालले लोहनीकै मार्गदर्शनमा काम गरेका थिए ।

राजा वीरेन्द्रले उनलाई जाँचबुझ केन्द्रमा बस्न भने पनि राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्ति दिए । उनको टिममा रत्नशमशेर राणा, हर्क गुरुङ, बद्रीप्रसाद श्रेष्ठ, मोहनमान सैंजू थिए । उनले विकास रणनीति बनाउनुका साथै नयाँ शिक्षा योजना, प्राविधिक शिक्षामा काम गरे । राष्ट्र्र बैंककै जागिरे भए पनि गोविन्दका दिन अच्छा थिएनन् । आधाजसो तलब घरकर्जामै कट्टी हुने भएकाले आफ्नो घर २०३२ सम्म प्रधान न्यायाधीशको सरकारी निवासका लागि दिए । प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने प्रस्तावलाई पन्छाए । त्यही बेला तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पाकिस्तानका लागि राजदूत भएर काम गर्ने प्रस्ताव गरे । २०३५ पछिका चार वर्ष त्यता बसे । त्यहाँ उनको चिया भेलामा राजनीतिज्ञ, बुद्धिजीवी र पत्रकारहरूको धुइरो लाग्थ्यो रे ।

उनका कतिपय स्वभाव दूतावासका कर्मचारीले मन नपराएपछि उनले बीचमै फर्कने मनसाय बनाएर राजालाई २० पाने पत्र पठाए । राजाले थामथुम पारे । उनको सुझबुझ कस्तो भने पाकिस्तानी राष्ट्र्रपति जनरल जियाउल हक रावलपिन्डीस्थित निवासमै बोलाएर सल्लाह लिन्थे । सोभियत संघले अफगानिस्तानमा हमला गरेपछि पाकिस्तान पसेका २० लाख शरणार्थीलाई घर फर्कने वातावरण बनाइदिन जनरल हकले गोविन्दलाई अनौपचारिक आग्रह गरेका रहेछन् । उनले राजा वीरेन्द्रसँग भने रे, ‘यी राजदूत मेरा भाइसमान हुन्, मलाई आर्थिक विकासका कुरामा सल्लाह दिइरहन्छन् । यिनलाई छिटो सरुवा नगरिबक्सियोस् है ।’

क्युबाको राजधानी हवानामा हुने असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा जाने क्रममा कराँचीमा इन्धन भर्न रोकिएका राजा वीरन्द्रले गोविन्दलाई कुवेतसम्म जाने प्रस्ताव गरेछन् । पासपोर्टबिनै गएका गोविन्दलाई राजाले सोधे रे, ‘लोहनी, मैले घोषणा गरेको जनमतसंग्रह तिमीलाई कस्तो लाग्यो ?’ उनले भने रे, ‘सरकार, बीपी कोइरालालाई भेटेर कुराकानी गरेपछि बहुदलीय पञ्चायती व्यवस्था घोषणा गरेको भए राम्रो हुन्थ्यो ।’ राजाले गम्भीर मुद्रामा टाउको हल्लाए पनि परराष्ट्र्रमन्त्री पदमबहादुर खत्री, सचिव केबी शाहीलगायत उच्चपदस्थले आँखा तरे रे । त्यसपछि यी बौद्धिक विद्रोहीलाई दरबारका रैथानेहरूले राजासँगको भेटघाटमै बन्देज लगाइदिए ।

पाकिस्तानबाट फर्केपछि फ्रान्सको राजदूत हुने प्रस्ताव आए पनि उनले स्विकारेनन् । बरु उनले २०४६ मा दरबार र दलबीच सेतु बनेर बहुदलीय व्यवस्थाका लागि पहल गरे । त्यो नभएपछि आफ्नै घरमा बहुदल पक्षका नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीलगायत नेता, कवि, कलाकार, अधिकारवादी, पत्रकारको भेला गरे र जनआन्दोलनका लागि हौस्याए । उनको समयबोध अद्भुत थियो ।

बालसखा भट्टराई प्रधानमन्त्री भएपछि उनले कांग्रेसको टीका लगाए । प्रधानमन्त्रीको सल्लाहकारका रूपमा नेपाललाई सिंगापुर बनाउने स्वप्न–योजना बनाए । विकास निर्माणजति सेनालाई ठेक्का लगाउने उनको योजना थियो । किसुनजीले जताततै त्यही रटान लगाए । उनले चुनाव हारेपछि त्यसै सामसुम भयो सिंगापुर । त्यही देश विकासको खाका लिएर उनी शेरबहादुर देउवादेखि वामदेव गौतमको घरसम्म पुगेछन् । तर, वामदेव ‘लोहनीजीलाई चिया ल्याइदेऊ’ भनेर तीन घण्टा बेपत्ता भएछन् ।

यसबीचमा उनकी पत्नी रुचिलावालालाई मुटुको रोगले समात्यो । उपचारका लागि दिल्ली गए पनि रुचिलाले शल्यक्रिया गर्न मानिनन् । त्यसको केही महिनामै बितिन् । पत्नीको उपचारका लागि जापानको राजदूत हुने उनको इच्छा थियो । तर, एमाले नेताहरूले उनलाई धोका दिए । पत्नीको उपचार नपाएकामा खेद मानेर उनी २०५३ पछिका चार–पाँच वर्ष विक्षिप्त भएर हिँडे । होटल गएर भात खाने, साथीहरूसँग रक्सी खाएर सडकमै ढल्ने, बेलाबेलामा बेपत्ता हुने आदि इत्यादि । कतिसम्म भने घरमा बिजुलीको लाइन नै काटिएछ । त्यसका लागि भूमिगत रहेका माओवादी नेता बाबुराम भट्टराईले २० हजार पठाएको थाहा पाएको पुत्र कपिल सुनाउँछन् ।

त्यतिबेला उनले छोरा कपिललाई समेत घरनिकाला गरिदिएका रहेछन् । उनी नास्तिक थिए भने पत्नी आस्तिक । कति नास्तिक भने मनकामना मन्दिरको दियो सल्काउने ठाउँमा समेत उनले चुरोट सल्काए रे । कपिललाई आमाले सम्झाएकी थिइन्, ‘तेरो बा इमान, ज्ञान, विद्या, बुद्धि, अध्ययन भन्दाभन्दै कहिल्यै व्यावहारिक हुन सकेनन् । धेरै बोल्दैनन्, आफैं डाक्टर बन्छन् । एकोहोरा छन्, कसैले भनेको मान्दैनन्, आफूखुसी गर्छन् ।’ कपिलले पनि थाहा पाए, जो कोहीले पिताजीसँग व्यवहार गर्न सक्दैनन् । तर, नराम्रा मान्छे होइनन् ।

प्रायः बिहान लेख्थे गोविन्द । राति लेखे भने सुत्नै सक्दैनथे । बिहान चिया पिउँदा पत्नी र छोराछोरीलाई विश्व इतिहास, कला, संगीत, सिनेमा, महान् व्यक्तित्वका गाथा सुनाउने उनको बानी थियो । पछि त छोराछोरी पनि ज्ञानगुनमै गहिरिए । ‘म २० वर्षको छँदा पिताजीले रोजैजसो यहाँ पुर्‍याइदे, त्यहाँ पुर्‍याइदे भनिरहनुहुन्थ्यो र गन्तव्यमा पुगेपछि एकैछिन हो, सँगै फर्कौंला भनेर रोकेर राख्नुहुन्थ्यो,’ चालक बनेर पितालाई यताउता पुर्‍याउने कपिल भन्छन्, ‘मन नपरे पनि उहाँका कुरा मान्न करै लाग्थ्यो । थुप्रै नेता तथा विद्वान्कहाँ जाँदा–जाँदा र त्यहाँ भएका कुरा सुन्दा–सुन्दा ममा पनि एक किसिमको प्रभाव जमायो ।’

गोविन्दप्रसाद लोहनीको पहिलो कथा २००२ को ‘युगवाणी’ मा प्रकाशित भएको थियो । त्यसपछि २०१२ सम्म उनी नारावादी र प्रचारवादी साहित्यमा लागे । ‘कामरेड जाने होइन’ (२००८) लेखे । नेपाल कम्युनिस्ट पार्टीमै छँदा उनले स्टालिनको चर्को विरोध गरे । व्यक्तिगत स्वार्थ र स्तुतिमा रमाउने नेताहरूका कारण उनको मोहभंग हुँदै भयो । उनी मात्र होइन, उनका चेलाहरू लीलाराज विष्ट, रेवतीरमण खनाल, अम्बिकाभक्त अधिकारीले पनि कम्युनिस्टलाई माया मारे । यद्यपि उनको कोठामा मार्क्स, एंगेल्ससँगै गान्धी र राजदम्पतीको फोटो टाँसिएकै हुन्थ्यो ।

‘प्रत्येक विकासोन्मुख राष्ट्रलाई प्रचारवादी साहित्यको आवश्यकता हुन्छ । तर, त्यसको आयु छोटो हुन्छ । बुद्धिजीवीलाई खुराक हुन सक्दैन । तर, विकसित देशलाई प्रचारवादी र नारावादी साहित्यको जरुरत छैन,’ उनले ‘स्रष्टा र साहित्य’ (२०२३) मा उत्तम कुँवरसँग भनेका छन्, ‘यहाँ पाम्पलेट पढेका भरमा मार्क्सवादको व्याख्या गर्छन् । असल शक्तिको विजय हुनु नै प्रगतिशीलको चिह्न हो । रामायण, महाभारत आदि पनि प्रगतिशील साहित्य नै हुन् ।’ उनको स्पष्ट मान्यता छ, कलाबिना साहित्य नीरस हुन्छ र त्यसको प्रचारमूल्य र प्रभावित गर्ने शक्ति नै हुन्न । साहित्य, कला, विज्ञान, दर्शन, धर्म, भाषा, मनोविज्ञान सबै फिटिएको ‘गोविन्द लोहनीका दार्शनिक रचनाहरू’ मा ज्ञानका रश्मि छन् ।

२०७७ पुस ११ गते ९३ वर्षको उमेरमा श्वासप्रश्वासको समस्या र निमोनियाका कारण जिन्दगीबाट अवकाश लिएका गोविन्दप्रसाद लोहनीले पछिल्ला तीन महिना मेडीसिटी अस्पताल बस्नुपर्‍यो । उनमा ज्ञानको भोक कति थियो भने भेन्टिलेटरमा बस्दा पनि किताब पढ्न छाडेनन् । अस्पतालको शय्यामै बसेर उनले ‘नेतृत्वको भोक र अन्य कथा’ विमोचन गरे । यसमा २०१० देखि २०१८ सम्म लेखिएका १६ वटा गहकिला कथाहरू छन् । साहित्यसम्बन्धी मार्क्सवादी उद्बोधन भएको भूमिकासहित यसमा राजनीतिक, दार्शनिक र शिष्ट यौनकथा छन् । पहिलो संस्करणमा उनले कडा भूमिका लेखेका छन्, ‘एक शो सिनेमा वा एक–दुई बट्टा सिगरेट या एक टाइमको चियाको त्यागले हामीलाई अनुगृहीत गर्न सक्नुहुन्छ । केवल निष्क्रिय समर्थनले केही पनि हुन्न, एक इन्च पनि प्रगति हुन्न । निष्क्रिय समर्थकहरूलाई जमानाले फेसनेबल प्रगतिशीलमा गन्नेछ, प्रगतिशील शिविरमा सडान र गडबडी, विलास र कायरता उत्पन्न गर्न पसेका जमिनदार पुँजीपति र निम्न पुँजीपति वर्गका एजेन्टहरूमा गन्नेछ ।’

पुष्करको अनुभवमा उनी खेलकुदबाहेक सबै विषय पढिरहेकै हुन्थे । उनले पछिल्लो पटक पढेको पुस्तक थियो, ‘परराष्ट्रका पात्र’ । ‘दास क्यापिटल’ को अर्थ बुझ्ने तीन जना उनले ठम्याएका थिए, प्रदीप गिरी, बाबुराम भट्टराई र स्वयं । आत्मवृत्तान्तको भने रहरै गरेनन् उनले । पुत्र कपिलले कर गर्दा पनि टारिरहे, ‘के फाइदा ? कसले पढ्छ ?’ बरु २०६० सम्म उनले नियमित डायरी लेखेछन् । लगभग ६० वटा डायरी उनले कपिललाई हस्तान्तरण गरेका छन् । तिनै डायरी अनुसार उनले हेरेका सिनेमाको सूची बनाउँदै छन् ।

उनी कति विद्वान् थिए भने गफ गर्ने साथी नै पाएनन् । आफू विद्वान् भएर हो कि बुढ्यौलीले छोएकाहरूलाई समेत युवा देख्थे । तर, तिनको घमण्ड देखेर उनी जिल्ल पर्थे । उनले आफ्नो डायरीमा लेखेका छन्, ‘अबको २० वर्षपछि देश बनाउने यिनै घमण्डीले हो । अहिले किशोर नेपाल जल्दोबल्दो पत्रकार छ, २० वर्षपछि ऊ पनि बूढो हुन्छ । तर, उसलाई कसैले वास्ताबेस्ता गर्ने छैनन् । त्यतिबेला उसले कसरी हजम गर्न सक्ला ?’

नेपालका ‘साइनोलोजिस्ट’ (चीनविद्) का रुपमा पनि परिचित थिए गोविन्द । चीनको विकासबाट सम्मोहित उनी थुप्रै पटक चीन पुगेका थिए । उनले आफू कम्युनिस्ट छँदै लेखेका हुन्, ‘आजको चीन’ र ‘चीनी संघर्षको इतिहास’ । ‘यो हो सोवियत रुस’ पनि उनकै पुस्तक हो । ।

फोटोग्राफीका पनि सोखिन थिए गोविन्द । रसियन र जापानी क्यामरा हुँदै उनले खिच्न नपाउँदै फोटो निस्कने पोलराइड क्यामरा पनि चलाए । संगीतको पनि उत्तिकै ज्ञान थियो उनमा । शास्त्रीय संगीतदेखि बाख, मोजार्टसम्म सुन्थे । बनारसमा पढ्दा एक उस्तादसँग बाँसुरी सिकेका रहेछन् । कपिललाई कुनै बेला आमाले सुनाएकी थिइन्, ‘तिमीहरूको बाउ कम छ ? मसित बिहे गरेपछि पनि झ्यालमा बसेकी केटीतिर हेरेर मुझे किसी से प्यार हो गया भन्ने धुनमा बाँसुरी बजाउँथ्यो ।’ पाकिस्तानमा राजदूत हुँदा उनले पाकिस्तानी गीत र गजलका थुप्रै एलबम उपहार दिएका रहेछन् रेडियो नेपाललाई । उनकै पहलमा मेहदी हसन, गुलाम अली आदिले नेपाल आएर गजल प्रस्तुति दिएका थिए ।

चार सन्तानमध्ये माइलो छोरा हरिश, पत्नी र बुहारी रजनीको निधनपछि बह्माण्ड, मृत्युआदिबारे चिन्तन–मनन गरिरहन्थे गोविन्द । केही वर्षअघि आखिरी इच्छाबारे सोध्दा उनले भनेका थिए, ‘देश त ढिलोचाँडो बनाइहाल्लान् । अब मलाई अनुभव लिन मन छ, कसरी मरिन्छ र मरेपछि के हुन्छ ? अफसोस के भने त्यो अनुभव मैले तपाईंलाई लेखेर दिन पाउने छैन ।’

प्रकाशित : चैत्र १४, २०७७ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्

उडुवा सर्पसँग साक्षात्कार

‘श्रमाटन’ विधागत रूपमा संस्मरणात्मक निबन्ध भए पनि यसमा कथा, कविता, निबन्ध, नाटक आदिको मक्टेल–कक्टेल तीक्ष्ण छ ।
राजकुमार बानियाँ

बाह्रै मास–चौबीसै घन्टा नित्य चलिरहने लस्कर छ, वैदेशिक रोजगारीमा । सरकार भट्याइरहन्छ, ‘सुखी नेपाली, समृद्ध नेपाल’ । तैपनि वैदेशिक रोजगार विभागका झ्यालढोका खुलै छन् । श्रममन्त्रीको योग्यता मापन हुन्छ, सस्तामस्ता श्रम बजार खोजेर युवाशक्ति निर्यात गर्नुमा । रेमिट्यान्सबिना देश–दुनियाँ नै नचल्ने छाँट छ ।

परदेशबाट फिरेका जेठाबाठाको शान, मान र रवाफ देखेर लोभिएका तनहुँको म्याग्दे गाउँपालिका छाङ, मनहरीका बीएन जोशी एसएलसीलगत्तै मुगलान (भारत) को एक फन्को लगाउँछन् । पोखरामा अनाहक कुनै घटनामा एक साता हिरासत बसेपछि कलेजको पढाइ टुट्छ । अनि राहदानी बनाएर पहिलो गन्तव्य बनाउँछन्, कतारलाई । अन्तिमतिरको बसाइमा त ‘आउट जेल’ नै बस्नुपर्ने हुन्छ । कतारबाट छुटकारा पाएर नेपाल फर्किएपछि पढाइमा जोडिन खोज्छन् । तर, फेरि पनि उनको मन स्थिर हुन्न । बैंकक हुँदै मलेसिया छिर्नतिर लाग्छन् । अवैध मार्गबाट समूहगत रूपमा छिर्न खोज्दा १२ दिन लामो हिरासत बस्छन् ।

प्रहरी कति भ्रष्ट भने थुनुवा जोशीले डिक्सनेरीभित्र लुकाएर राखेको चार सय डलर समेत चोर्छन् । छुटेपछि पासपोर्ट फिर्ता माग्दा उल्टै पैसा माग्छन् । कुरा मिलेपछि प्रहरीले नै सिमानाको पर्खालबाट हामफाल्न पठाउँछन् । जोशी लेख्छन्, ‘उतापट्टि रेल स्टेसनको झाडी मलेसिया त यतापट्टि हामफालेर पाइला टेकेको ठाउँ थाइल्यान्डको एउटा भव्य होटलको कम्पाउन्ड पो हुन्छ ।’

घर फर्कने चाहना भए पनि जसरी पनि विदेश छिर्ने साथीभाइका कुरा काट्न सक्दैनन् र जंगलको बाटो झाडी पन्छाउँदै घन्टौँ हिँडेर थुप्रै दिन ठाँटीमा बास बस्न पुग्छन् । त्यो अनकन्टार जंगलमा उडुवा सर्पको बिगबिगी छ । वनसाँढेहरू छट्टाइरहेका छन् । लामखुट्टेको फौजसँग जोगिन रातभरि धुवाँ नलगाई धरै छैन ।

त्यस्तो ठाउँमा बोकेर लगेको खानाले कति दिन पुग्नु ? पैसा भए पनि किन्न कहाँ पाउनु ? पानी कहाँ छ, थाहा छैन । उनले आँपको भात, भातको अचार खानुपर्ने हुन्छ । भोकसँग बहादुरीपूर्वक लड्न नसकेपछि मध्यसागरमा जीवनको भिख माग्नुपर्ने क्षण पनि आउँछ । उनका साथीहरू दीपक, पदम दाजु, गुरुङ दाइ, लिम्बू भाइहरूका टिठलाग्दा अनुहार झलझली नाच्छन् ।

ठाँटीबासका क्रममा बेचल्तीको बाटोमा पहिलो पटक नेपाली पाइला परेको भान हुन्छ जोशीलाई । उनको नजर ठाँटीको टाँडमुनि ढुंगाको तीनमुखे चुलो, सिलावरको डेक्ची, मुख काटिएका जर्किनमा मात्र पर्दैनन्, दलिनमा घुसारिएको ब्राइटर टुथपेस्ट नामक नेपाली मन्जनको खोलमा पुग्छन् । अनि थाहा हुन्छ, यो चोरबाटो भएर विदेशी भूमिमा श्रम बेच्न जाने अभागी युवाहरूको लावालस्करै छ । विभिन्न मोडबाट गुज्रिएपछि बल्लतल्ल थाइल्यान्डको राजधानी बैंककको एयरपोर्टमा मनाङे साहुको सामान पास गरिदिएर उनी स्वदेश फर्किन्छन् । बीएन जोशीले वैदेशिक रोजगारीका क्रममा भोगेको त्रासद संस्मरणलाई सिंगो पुस्तककार रूपमा पस्किएका छन्, ‘श्रमाटन’ । ‘पुनर्जीवन’ र ‘सफर’ गरी दुई किस्तामा कहरैकहरको फेहरिस्त छ । पहिलो किस्तामा एउटै गन्तव्यका शृंखलाबद्ध १० वटा संस्मरण छन् भने दोस्रोमा अलग–अलग आधा दर्जन संस्मरण । १६ वटा संस्मरण छुट्टाछुट्टै पढ्दा पनि त्यसको मिठासमा कुनै व्यवधान आउँदैन ।

लेखक जोशी सन् १९९५ देखि २००४ सम्म चार–पाँच देशमा भौँतारिएका देखिन्छन् । दलालमार्फत अवैध मार्ग भएर जाँदा सास्ती खेप्छन्, पटकपटक जेल बस्छन्, मृत्युसँग साक्षात्कार गर्छन्, तर खासै कमाउन सक्दैनन् । यस्तो लाग्छ, दुःख पाउनु, पछुताउनु अनि विदेशतिरै धाउनु नेपाली युवाहरूको साझे कथाव्यथा हो । नयाँ नयाँ भूगोलमा रहँदा उनीहरूले भिसादेखि भाषासम्मको धर्मदेखि संस्कृतिसम्मको समस्या झेलेका हुन्छन् ।

उदाहरणका लागि जोशी नै आफ्ना बोससँग निडरताका साथ बोलेको निहुँमा कतारी जेलमा पाहुना लागेका छन् । त्यहाँ उनले चिनेजानेका साथीभाइ समेत फेला पार्छन् । वास्तवमा वर्षौं बेखबर भनिएका नेपाली युवा कि जेलमा छन् कि त सुकुटी भइसकेका छन् । महिनौँ लगाएर लुकीछिपी मरुभूमिमा हिँड्दा कति भोकले पिल्सिएर मरेका छन्, कति देह जंगली जनावरको आहारा भएका छन् । कतिका शरीर समुद्रमै समाहित भएका छन् ।

जोशीले नै मरुभूमिको यात्रामा मृगका बथान र खरायोका टोलीसँगै मानिसकै सुकुटी (लास) पनि भेटेका छन् । बेपत्ता भएका भनिएका कति भुइँतहका नेपाली दाजुभाइ त्यसरी सुकुटी भएका होलान् ? निम्नकोटि श्रम गर्न बाध्य कतिपयले असामयिक मृत्युवरण गर्नुपरेकै छ । पुस्तकमा लेखक जोशीकै भाइ गोविन्द समेत बन्द बाकसमा पार्सल भएर आइपुगेको दृष्टान्त छ ।

‘श्रमाटन’ लेखककै जीवनको ‘फ्ल्यासब्याक’ हो । देशमा जोर बन्दुकको नग्ननृत्य चलिरहँदा उनले स्वदेशमै इलम गर्ने अठोट नगरेका पनि होइनन् । केही लाख जोरजाम पारेर राजधानीको चक्रपथबाहिर स्वव्यवसाय गर्न खोज्छन् । तर, फेरि पनि ‘भगौडा’ डीएसपीको पछि लागेर विदेशकै बाटो तताउँछन् । तर, एयरपोर्टबाट फर्काइँदा जहाजमा उड्दाउड्दै डेढ लाख ओम स्वाहा भएको छ ।

संस्मरण विधा घटना, दृश्य, क्षण र अनुभवको स्मृतिसागर हो । यसमा अविस्मरणीय घटना अनि संवेदात्मक अनुभूतिको प्रबलता हुन्छ । लेखकहरू पुराना घटनालाई तरोताजा बनाएर प्रस्तुत गर्छन् । लेखकहरू केमा विश्वास गर्छन् भने संस्मरण लेख्नु भनेको आफैँसँग इमानदार हुनु हो । मनका स्वीकारोक्तिहरूको साक्षी बस्नु हो ।

संस्मरण साहित्यमा लेखकको निजी इतिहास हुन्छ, तर कोरा इतिहास चाहिँ होइन । त्यस हिसाबमा ‘श्रमाटन’ मा लेखक जोशीले आफ्नै बढाइचढाइ गरे भन्न मिल्दैन । यो विधाको स्वभाव नै यस्तै हो । साथीसंगाती या अरु पात्र त साक्षी मात्र हुन्छन् । यो इतिहासको त्यस्तो किताब होइन, जसको पहिलो पृष्ठमा मात्रै लेखकको नाम होस् ।

कुनै कुनै अध्याय लामा पनि छन् तर पट्यारलाग्दा छैनन् । संस्मरणको सीमा के भने छोट्यायो छुट्छ, लम्यायो भने पाठकलाई ‘बोर’ हुन्छ । संस्मरणको कथामात्र नभएर वाचक र नायक लेखक नै हुन्छ । सबैजसो पाठमा लेखक जोशी मायालाग्दा नै भेटिन्छन् । उनका एकाध कमजोरीमा पाठक आँखा चिम्लन विवश हुन्छ ।

‘श्रमाटन’ को पीँधमा कम्तीमा पनि २०–२५ वर्ष पुराना घटनावलि छन् । विधागत रुपमा संस्मरणात्मक निबन्ध भए पनि यिनमा कथा, कविता, निबन्ध, नाटक आदिको मक्टेल–कक्टेल तीक्ष्ण छ । यस अर्थमा यो पुस्तक सहरको गमला होइन, गाउँको फूलबारीजस्तो छ ।

संस्मरण आफ्नो पनि हुन्छ, अरूको पनि । तर, यो पराख्यान होइन, स्वआख्यान हो । संवाद, परिवेश र चरित्रचित्रण औपन्यासिक लाग्छ । ठाउँठाउँमा आत्मालोचनाजस्ता घच्चीका सूक्तिमय पंक्ति भेटिन्छन्– ‘उमेर र उमंगको भर हुँदैन ।’ ‘पहिलो गल्तीको उपज पनि गल्ती नै हुँदोरहेछ ।’ ‘भाग्यमा विश्वास नगर्ने मान्ठा म तर उसैले ठग्यो ।’ लेखक ठाडै घटनाको चाङ लगाउँदैनन् । अलिकति पृष्ठभूमि बाँध्नु उनको लेखनको समस्या भन्दा पनि सबलता हो । संस्मरणहरू चप्पलका फितामा टिमिक्क बाँधिएका गोडाजस्तै छन् । निजी दुःखको कथाव्यथा समेत रौसे यायावरले जसरी लेख्नसक्नु बीएन जोशीको गद्यशिल्पको अभूतपूर्व सफलता हो । यसमा उनीभित्रको सम्पूर्ण लेखकीय प्रतिभा उद्घाटित छ । यावत् कुरालाई तपसिलमा राख्ने हो भने पनि बीएन जोशीले नेपाली साहित्य संग्रहमा कमसेकम एउटा शब्दोपहार दिएका छन्, ‘श्रमाटन’ ।

प्रकाशित : माघ २४, २०७७ १२:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×