आत्मविश्वासको जरो- कोसेली - कान्तिपुर समाचार

आत्मविश्वासको जरो

नेसनल जियोग्राफिक च्यानलमा सिंहको आक्रमणमा परेका मृगहरूको भागदौड र सार्वजनिक स्थानमा हिँडिरहेका स्त्रीहरूको अवस्था उस्तै लाग्छ मलाई
दिपा कोइराला

प्राथमिकदेखि माध्यमिक तहसम्मका कक्षामा मेरा गुरुहरू भन्थे, ‘जीवनमा सफलता प्राप्त गर्न हामीले आत्मविश्वास बढाउनुपर्छ ।’ आत्मविश्वासको परिभाषा उतिखेर राम्ररी नबुझेको म आफैंमाथि प्रश्न गर्थें– यो आत्मविश्वास भन्ने जिनिस हुन्छ कहाँ ?

उतिखेर स्कुलमा ‘स्त्री गुरु’ हरू बिरलै हुन्थे । कतिपय स्कुलमा त एक जना पनि महिला शिक्षक हुन्थेनन् । सम्झन्छु, आत्मविश्वासको अर्थ नबुझेका हामी स्कुले केटीहरूलाई जब ‘छोटो नित्यकर्म’ का लागि नजिकैको खोल्छा या पल्लो डाँडोतर्फ जानुपर्थ्यो, त्यति स्वाभाविक कर्म पनि अत्यन्तै सकसपूर्ण र कहालिलाग्दो हुन्थ्यो । लाज, घिन, समाजले निर्माण गरेका प्रतिष्ठा र आतंक–मानकका कारण केटाभन्दा पचास या सय पाइला टाढा हिँडेर हामी छात्रा कुनै उपायले छेकिने स्थल खोज्थ्यौं । अहिले पनि सरकारी स्कुलका शौचालय देख्दा म कहालिन्छु । उतिखेर सरकारी स्कुलमा अहिलेजस्तो ढोका बन्द गर्न मिल्ने शौचालय नै थिएनन् ।

छात्राका लागि जाबो पिसाब फेर्नु पनि एउटा सकसपूर्ण विषय थियो । शौचका लागि साथी लिएर जानुपर्ने अवस्थाबाट हुर्कियौं हामी । साथीबिना लुक्न मिल्ने झाडी वा खोल्छामा जानु पनि डरलाग्दो हुन्थ्यो । डर– ‘जंगली मान्छे’ को, जंगली जीवको । साथीबिनै ‘पाँच मिनेट’ जाने छात्रहरू भने बाटैतिर निर्धक्क लघुशंका गरिरहेका भेटिन्थे । तर, एउटा ‘नेचर कल’ का लागिसमेत साथी र सुरक्षा चाहिने कुरो उदेकलाग्दो थियो । र, उस्तै मान्छेका लागि लज्जा पनि फरक–फरक थिए । केटाहरूलाई त्यही विषय हाम्रा लागि भन्दा सहज थियो । लाज, घिन, त्रास हामीलाई धेरै थियो, छात्रलाई कम ।

...

बाटोघाटो, स्कुल र सडक सार्वजनिक क्षेत्र हुन् । ती ठाउँमा छोरीमान्छेले आफूलाई निर्बल, निःसहाय र ‘अवला’ महसुस गर्नुका कारण के होलान् ? सायद हाम्रा शिक्षकले उतिखेर भन्ने गरेको ‘आत्मविश्वास’ यहीं लागू हुन्छ । हाम्रा र हामीजस्तै समाज भएका दक्षिण एसियाका देशका सार्वजनिक जीवनमा छोरी मान्छेहरू कति हिम्मतका साथ बाटोमा हिँड्छन् ? महिलाका लागि हाम्रा सार्वजनिक क्षेत्र कति सुरक्षित छन् ? स्कर्ट, गाउनमै साँझतिर बार–डिस्कोमा सुरापान अनि नृत्यका लागि आफ्ना साथीहरूका कम्मर समाउँदै घरबाट निस्किने अत्यन्तै एलिट वर्गका थोरै ‘भाग्यमानी’ का बेग्लै कुरा, तर आममहिला अहिले पनि रात–बिरात केटाहरूझैं निर्धक्क हिँड्न सक्छन् ?

आजकाल बिरलै देखिएलान्, नत्र केही वर्षपहिले राजधानीको सडकका भित्तामा अडेस लागेर सहजै पिसाब फेरिरहेका हुन्थे पुरुषहरू । सार्वजनिक शौचालय नहुनुको बाध्यता थियो त्यो, बुझ्न सकिन्थ्यो । तर, त्यस्ता दृश्य देख्दा महिलाहरूले लाज मान्नुपर्थ्यो र तर्कनुपर्थ्यो । एक्कैछिनलाई त्यस्ता पुरुषका ठाउँमा महिलाको कल्पना गरौं । भयो, त्यसो नगरौं किनकि हामीलाई त्यस्ता दृश्य अपाच्य लाग्छ । हाम्रो मनोग्रन्थीले महिलाको ‘त्यस्तो उपस्थिति’ स्विकार्दैन ।

संरचनाले महिलालाई हजारौं वर्षदेखि नै सार्वजनिक जीवन दिएको छैन । महिलाले सार्वजनिक ठाउँमा आफ्ना दाबी, अस्तित्व र आत्मविश्वास ग्रहण गर्न सकेका छैनन् । समाजले महिलालाई गोप्य–निजी वस्तुका रूपमा ट्रिट गरेको छ । अहिले पनि बाटामा, सार्वजनिक मञ्चमा, भेलामा, जुलुसमा, सडकमा, मोटरसाइकलमा, बसमा हेर्नुहोस्– कति छन् महिला ? सडक र जुलुसहरूमा अहिले नै हिँडिरहेका मान्छेको जेन्डरको अनुपात नियाल्नुस् त ! अब विमर्श हुनुपर्छ– घरबाहिरको समाजसँग महिलाहरू किन त्रस्त छन् ?

सधैं त्रासमा हिँडिरहेकै छन् महिलाहरू । सडक–बजारमा हुँदा आममहिलाको मनोदशा हुन्छ– कतै आफूनजिकैको व्यक्तिले छुन्छ कि ? दूराचार गर्छ कि ? तर, सार्वजनिक ठाउँमा अरू कसैले छुन्छ भन्ने त्रास पुरुषलाई विरलै होला ! कसैले आफूमाथि हिंसा या दुराचार गर्ला भनी हर्दम सतर्क भएर हिँड्नुपर्ने प्राणीको मनोदशा तपाईं–हामी अनुमान गर्न सक्छौं । नेसनल जियोग्राफिक च्यानलमा सिंहको आक्रमणमा परेका मृगहरूको भागदौड र सार्वजनिक स्थानमा हिँडिरहेका स्त्रीहरूको अवस्था उस्तै लाग्छ मलाई । मृगहरू सदैव त्रस्त र चनाखो देखिनुपर्ने व्यवहार पनि सम्भवतः सिंहहरूको आक्रमणका कारण विकास भएको ‘इभोल्युसनरी बानी’ होला । ठाडा र टाठा कान पार्दै छिनछिनमा वरपर, दायाँबायाँ हेरिरहने मृगहरू, सडकमा सामान्य घटनामा पनि आत्तिँदै ठूलो आवाजमा चिच्याउने महिला/केटाकेटी उस्तैउस्तै लाग्छ मलाई । सार्वजनिक स्थानमा महिलाको उपस्थिति बढ्दै जाँदा यस्तो अवस्था पहिलेभन्दा घटेको होला तर वृद्धिको रफ्तार धीमा छ । यी सबै सन्दर्भ आत्मविश्वासका हुन् । तर, त्यो आत्मविश्वासको जरो के हो ?

यसको जरो हो– हजारौं वर्षदेखिका मानव सभ्यताको अभ्यास । गर्भिणी बन्नुपर्ने, बच्चा हुर्काउनुपर्ने प्रारम्भिक जिम्मेवारीबाट भाग्न नमिल्ने हुँदा महिलाको बास प्रायः घरमै भयो । आंशिक समुदायबाहेक सिकारी युगमा समेत किशोरी र महिलाले घरबाट बाहिर निस्किन पाएनन् । सम्भवतः त्यहीँबाट सुरु भएको अभ्यास औद्योगिक युग कटेर अन्तरिक्ष युग र कम्प्युटर युगसम्म आउँदा जारी छ । र, महिलाले सार्वजनिक स्थानमा अझै बिरानो हुनुपरेको छ ।

सार्वजनिक ठाउँ र एकदमै संकुचित ठाउँमा बस्दा, रहँदा, हिँड्दा त्रस्त र कायल रहने समस्यालाई मेडिकल साइन्सले ‘एगोरोफोबिया’ भन्दो रहेछ । चाखलाग्दो यो छ कि यो समस्या केटामा भन्दा केटीमा दोब्बर हुने गर्छ । पुरुषभन्दा महिला दोब्बर प्रभावित हुनु सम्भवतः यो डिस्अर्डर (गडबडी) कै कारण हुन सक्छ । यहाँनिर स्मरणयोग्य कुरा के छ भने, केही हप्ताअघि भागरथी भट्टको हत्या भयो । र, आफूभन्दा कम उमेरको केटाले करणीपछि भागरथीको हत्या गरेको प्रहरीले नै पुष्टि गरिसकेको छ । यस्ता बलात्कार र महिला हिंसाका घटना हुनुका अनेक कारणमध्ये एक कमजोर मनोविज्ञान पनि हो । आफूभन्दा सानो उमेरका केटाले समेत सहजै महिलामाथि आक्रमण गर्नुको अर्थ हो, पुरुषहरू महिलामाथि सहजै हाबी छन् । युगौंदेखि महिलाको आत्मविश्वास कमजोर बनाउन हामी बाँचेको परिवेश उद्यत छ ।

मान्छेलाई सुरवीर, बहादुर, आत्मविश्वासी बनाउने समाज र सिकाइले हो । समाजको ‘हाइरार्की’ ले हो । समाजले महिलालाई ‘बिचरा, ‘निर्बल’, ‘अबला’ भनिदिएकै कारण र सार्वजनिक जीवनमा सहजै प्रवेश नदिएकै कारण स्त्री–जातिको आत्मविश्वास नउठेको हो ।

‘आत्मविश्वास बढाऊ’ भन्ने नारा लगाउँदैमा आत्मविश्वास बढ्दैन । महिलाको आत्मविश्वास कमजोर पार्न समाज, संस्कृति, आनिबानी, व्यवहार, शिक्षा सबै उत्तिकै जिम्मेवार छ ।

प्रकाशित : चैत्र १४, २०७७ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्

चन्द्रमान मास्के र चन्द्रशमशेर राणा

कलाकारको निर्भीक अनि निरपेक्ष यात्रा नेपाल, दक्षिण एसिया र युरोपतिरका कलाकारको ओडिसी वा महायात्राको साझा रूपक हो
अभि सुवेदी

स्पेनी फ्लुको महामारीले दक्षिण एसियाली क्षेत्रमा लाखौं मानिसले ज्यान गुमाइरहेको बेला थियो । त्यो अवस्था अहिलेको कोभिड महामारीभन्दा अझ उग्र र भयावह थियो । सन् १९१८ मा बम्बै–ज्वरोको नामले प्रख्यात त्यस इन्फ्लुएन्जाले विभाजनपूर्वको भारतमा झन्डै १ करोड ८० लाख मानिसको ज्यान लिएको थियो ।

त्यस वर्षको सेप्टेम्बर महिनामा इन्फ्लुएन्जा सबैभन्दा उचाइमा पुगेको थियो । महात्मा गान्धीलाई पनि त्यस महामारीले भेटेको थियो । उनको नेतृत्वमा चलिरहेको आजादीको संघर्षलाई समेत यसले निकै प्रभावित पारेको थियो । महामारी सबैतिर फैलियो । नेपालमा पनि आइपुग्यो तर यसको खासै वर्णन र सम्झना पढ्न पाएको छैन । एकाध ठाउँमा थोरै पढेको हुँ । तर, एक हिउँद महिनामा काठमाडौं बाङ्गेमुडाको एउटा सानो पुरानो, शुभ्र र शान्त घरमा गएका बेला त्यो स्पेनी फ्लुको अप्रत्यक्ष प्रसंग आयो । कलाकार चन्द्रमान मास्के (१९००–१९८४) को घरको प्रसंग हो यो ।

दुखेको दाँतले दहन गरेर सुन्निएको गालामाथि फलामको किला दौडाएर एउटा मुडोमा ठोकिदिएपछि दन्तपीडाबाट आराम हुने विश्वास छ । त्यो किला बाङ्गेमुडामा छ । त्यहाँ मेरो पनि एउटा किला ठोकिएको छ । त्यसैको ठीक अगाडिको घरको पहिलो तलामा मेरो निम्ति एक महान् कलाको स्पन्दन भएको कोठा छ । थियो भन्नुपर्छ । त्यो कलाकार चन्द्रमान मास्केको घर र मानिस भेट्ने स्निग्ध सानो थलो हो । कलाकारका पुत्र र हाम्रा साथी त्रिविका हिसाबका प्राध्यापक सन्तोष मास्के, जो अहिले पिताको महान कला यात्रामाथि काम गर्दै छन्, सायद त्यो घरमा बस्दैनन् । म कलाकार चन्द्रमान मास्केलाई भेट्न त्यस घरमा बरोबर जान्थेँ । मलाई ‘मेरा युवक मित्र’ भनेर उनले मानिसका आगाडि भन्दा अत्यन्त आनन्द र गौरवको अनुभूति हुन्थ्यो । कलाकार चन्द्रमान मास्केले मलाई र मेरा साथी ब्रिटिस नेपाली इतिहासकार जोन व्हेल्पटनलाई एउटा जाडोको बिहानीमा उनको जीवनको अथवा हाम्रो आधुनिक कलाको इतिहासको एउटा अत्यन्त महत्त्वपूर्ण कथा सुनाए ।

सन् १९१८ को अत्यन्त जाडो महिनाको एक बिहानको कुरा हो । युवक चन्द्रमान मास्के घरैमा थिए । लाग्छ, तिनी कलकत्तामा मेडिकल शिक्षा पढ्थे । अहिले घर आएका थिए । काठमाडौंमा धेरैको ज्यान लिएको महामारीले चन्द्रमान मास्केका पिताजीको पनि मृत्यु भएको थियो । परिवार शोकसँग सामना गरिरहेको थियो । पिताजीको अकस्मात् यसरी मृत्यु हुँदा घरमा ठूलो चुनौती थपिएको थियो । त्यही चिसो बिहानमा शान्त सडकको सन्नाटा चिरेर एक जना मान्छे करायो, ‘ए चन्द्रमान ! माथि को छ, ए चन्द्रमान मास्के ! यहाँ चिठी बुझ्न आऊ !’ यस्तै भनेर ऊ कराइरह्यो । ऊ थप्दै गयो, ‘श्री ३ महाराजको हुकुम छ, आइहाल ! लिएर आउने हुकुम छ ! एक छिन पर्खिन्छु । तयारी गरेर झर ।’ परिवारमा सबै जना एकछिन स्तब्ध भए, मुखामुख गरे । दाजुले सोधे, ‘तैंले के गरेको थिइस् ? सम्झना छ ?’ युवक चन्द्रमान मास्केले केही सम्झिन सकेनन् । कलकत्ताको मैदानमा महात्मा गान्धीको आह्वानमा भएको एउटा आमसभा हेर्न गएको सम्झना भयो उनलाई । लाग्यो, राजाको कुनै जासुसले यो कुरा यहाँ आएर सुनायो । उनले अरू केही सम्झिन सकेनन् । विचार गरे, त्यही हुनुपर्छ ।

साना काँटीका युवक चन्द्रमान मास्के पछिपछि अनि लिन आउनेहरू अघि–अघि हुँदै भद्रकाली पुगे । त्यहाँ अगाडि जाडोयामको बाली उठाएको खेतको फाँट थियो । अगाडि आफू कहिल्यै नगएको सिंहदरबार त्यो शान्त परिवेशमा भयानक रूप लिएर उठ्यो । बिहानको फाट्दै गरेको कुइरोमा त्यस दरबारका गजुरहरू पनि खुल्दै गए । ढोकामा सन्देशवाहकले केके मिलायो, अनि उनलाई भित्र लग्यो । त्यस बेलासम्म चन्द्रमान साहसी भइसकेका थिए । उनलाई खरायो र सिंहको कथाको सम्झना भएको थियो । आखिर मरिनै हाल्छु भने किन डराएर जाने ? यस प्रश्नले उनलाई साहसी बनाएको थियो ।

चन्द्रशमशेर बिहानको घाममा आफ्ना वरिपरिका मान्छे, भाइभारदारहरूसँग हरियो चौरमा टहलिइरहेका थिए । चन्द्रमान मास्केले तिनलाई त्यसरी नजिकैबाट देखेका थिएनन् । त्यो सन्देशवाहकले उनलाई उपस्थित गरायो । मास्के आफ्नो अन्तिम र अनिश्चित भविताका निम्ति तयार र साहसी भइसकेका थिए । चन्द्रशमशेरले यसो उनलाई तलदेखि माथिसम्म हेरे अनि सोधे, ‘ए चन्द्रमान, कलकत्तामा आर्ट पढ्न जान्छस् ?’ चन्द्रमान मास्केले मलाई र जोनलाई प्रेम र हँसिलो मुद्राले हेर्दे भने, ‘हजुरको त्यो बेला मलाई आगोबाट निकालेर हिउँमा फालिदिएको जस्तो अनुभव भयो ।’ ‘जान्छु सरकार, जो निगाहा ।’ ‘ल दुई वर्षलाई पढ्न जा ।’ चन्द्रमानले प्रस्ट भने, ‘सरकार, दुई वर्षले पुग्दैन । सबै सक्दा ६ वर्ष लाग्छ ।’ चन्द्रशमशेरले भने, ‘ल, छ वर्ष नै भयो । चित्र बनाउन आउँछ ?’ ‘आउँछ सरकार ।’ अनि उनको त्यही नजिकको मान्छेलाई देखाएर चन्द्रशमशेरले भने, ‘ल, यो मान्छेको अनुहार बनाइराख्, म हिँडेर फर्किन्जेलसम्ममा ।’ ‘जो हुकुम, सरकार ! तर, मसँग कागत–पेन्सिल केही छैन, सरकार ।’ ‘ल बन्दबस्त गरिदेओ ।’ त्यो डाक्टरलाई अगाडि राखेर चन्द्रमानले उसको पेन्सिल चित्र बनाए । उनको भनाइमा त्यो मान्छे महाराजको ध्यान आकर्षित हुन पाएकोमा अत्यन्त प्रसन्न भएको थियो । उसले चन्द्रमानसँग पनि कृतज्ञताका भाव व्यक्त गरिरह्यो ।

चन्द्रमानले यो कथा भनिरहँदा केहीपटक ‘हजुरहरूले यो चन्द्रशमशेर महाराजको कुरामा चाहिँ माफ गरिबक्सनुपर्छ’ भने । मैले त्यो भनाइको अर्थ धेरैपछि उनले मलाई पछि भनेका कुराबाट बढी बुझें । उनी राणाशासनविरोधी भए पनि चन्द्रशमशेरलाई भने तिनबाट अलग राख्न चाहन्थे । मैले ‘कान्तिपुर’ को अघिल्लो लेख ‘चन्द्रमान मास्के र त्रिभुवनका जुँगा’ (४ पुस, २०७७) मा मास्केको राजनैतिक चेतना र उनको जेल जीवनवारे लेखिसकेको छु ।

त्यही सालपछि अर्का नेपाली कलाकार तेजबहादुर चित्रकार (१८९८–१९७१) पनि त्यही गभर्मेन्ट स्कुल अफ आर्टमा अध्ययन गर्न गए । त्योबेला कलकत्तामा पश्चिमी कलाको शिक्षा, पूर्वीय कला र परम्परा वा ई.बी. हावेल र अवनीन्द्रनाथ ठाकुरले चलाएको ओरियन्टालिज्मको विषयमा तीव्र बहसहरू भइरहेका थिए । नवीन्द्रमान राजभण्डारीले सम्पादन गरेको भर्खरै प्रकाशित ‘सिर्जना’ कला पत्रिका, वर्ष–७ मा यो महत्त्वपूर्ण बहसको विषयमा ‘वाइडेनिङ स्फेयर अफ मोडर्न आर्ट’ भन्ने लेख लेखेको छु । गभर्मेन्ट स्कुल अफ आर्टमा कलाको अध्ययन गर्न जाने तेस्रा नेपाली विद्यार्थी लैनसिंह वाङ्देलको ‘चन्द्रमानसिंह मास्के’ (२०४२) शीर्षक प्रज्ञा–प्रतिष्ठानको किताबमा छापिएको ‘सम्झनाका टुक्राहरू’ संस्मरणबाट चन्द्रमानले त्यहाँ कस्तो प्रभाव पारेका थिए र उनको व्यक्तित्व कस्तो थियो भन्ने कुरा खुल्छन् । ‘पिक्चरेस्क नेपाल’ नामको प्रसिद्ध किताबका लेखक पर्सी ब्राउन चन्द्रमान मास्केले पढेको बेला त्यो गभर्मेन्ट स्कुलका प्रिन्सिपल रहेछन् ।

वाङ्देललाई भेट्दा ब्राउनले चन्द्रमानको विषयमा सोधेछन् । वाङ्देलले मास्केको नाउँ पहिलोपटक त्यहीं सुनेका रहेछन् । वाङ्देलले त्यसपछि चन्द्रमानको उपस्थिति र उनको चर्चा अनेकौं पटक सुनेछन् । पछि २००८ मा दार्जिलिङमा कला प्रदर्शनी गर्न नेपालबाट केशव दुवाडी र अमर चित्रकारसहित चार जना कलाकार गएछन् । बालकृष्ण समले ‘त्यहीँ छेउमा उभिइरहेका, पुड्को–पुड्को सुगठित शरीर भएको, हँसिलो व्यक्तिसँग परिचय गराउँदै, यहाँ नै चन्द्रमान मास्के हुनुहुन्छ’ भनेर चिनाएपछि वाङ्देल उनका जीवनभरका मित्र हुने क्रम सुरु भएको रहेछ । वाङ्देल अध्ययन गर्न प्यारिस गए । दस वर्षपछि नेपाल आए । अनि चन्द्रमान मास्के र उनको सम्बन्ध घनीभूत भयो– बंगाली बोल्ने, त्यहीँ कलेज र कलाकारका कुरा गर्ने, नेपालको कलाको विषयमा छलफल गर्ने । वाङ्देल भन्छन्, ‘ती दुई दाजुभाइ जस्तै भए ।’ वाङ्देललाई नेपालको मूर्तिकला अध्ययन गर्न चन्द्रमानले नै पहिला लगाएका रहेछन् । वाङ्देल अनेकौं संस्मरणमा चन्द्रमानको आत्मविश्वास, साहस र कोमलता अनि प्रगीतात्मक भावनाको सामर्थ्यबारे लेख्छन् ।

‘तपार्इंले चन्द्रमान मास्केलाई नजिकैबाट चिन्नुभएको छ । उहाँमाथि एउटा लेख लेखिदिनुपर्‍यो, मैले सम्पादन गरेको एकेडेमीको पत्रिकालाई । अंग्रेजीमा लेखिदिनू,’ मनुजबाबु मिश्रले भने । मैले यही लेखको विषय ‘द आर्टिस्ट विदाउट अ पेन्सिल एन्ड पेपर’ शीर्षकमा लेखेर बुझाएँ । मनुजबाबुले त्यो पत्रिका दुई वर्षपछि मात्रै निकाले । तर जुन दिन अर्थात् जुलाई २८, १९८४ मा त्यो पत्रिका निस्क्यो, त्यही दिन यी महान् प्रिय कलाकार दिवंगत भए । मनुजबाबुले यो सन्जोग मेरो लेखको अगाडि लेखेका छन् । त्यो लेख मेरो श्रद्धाञ्जली भयो कलाकार चन्द्रमान मास्केमाथि ।

नेपालमा आधुनिक कलाको पश्चिमी शिक्षा, स्थानीय विषयको शाश्वत साधना र प्रयोग गर्ने यी महान् कलाकारको चन्द्रशमशेर राणासँगको त्यो बिहान आमनेसामने भएको घटनाले हामी सबै कलाफ्रेमीहरलाई भन्छ– कलाकारको निर्भीक अनि निरपेक्ष यात्रा नेपाल, दक्षिण एसिया र युरोपतिरका कलाकारको ओडिसी वा महायात्राको साझा रूपक हो ।

प्रकाशित : चैत्र १४, २०७७ १०:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×