एक ‘जीवित ज्ञानकोश’ का नाममा

माणिकलाल श्रेष्ठ त्यस्ता अति कम मानिसमध्ये एक थिए, जो ‘दास क्यापिटल’ का तीन खण्ड पचाएर व्याख्या गर्न सक्थे ।
राजेन्द्र महर्जन

सत्ता पक्षमा कम्युनिस्ट, प्रतिपक्षमा कम्युनिस्ट, सदनमा कम्युनिस्ट, सडकमा कम्युनिस्ट ! पार्टीका साइनबोर्ड मात्रै हेर्दा नेपाल कम्युनिस्टमय भएको भान हुन्छ । नाम मात्रकै किन नहोस्, देशमा सबैतिर कम्युनिस्ट छाएको भ्रान्ति हुन सक्छ । यस्तो देशमा धेरैजसो कम्युनिस्ट नेताका सल्लाहकार र कम्युनिस्ट आन्दोलन सचेतकको मृत्यु भएको छ, जसको कथनी र करणीमा भेदको रेखा कम छ ।

एक ‘जीवित ज्ञानकोश’ का नाममा

आफूलाई खाँटी कम्युनिस्ट मान्ने नेताहरू र कम्युनिस्ट साइनबोर्डधारी पार्टीका प्रशासकमा सिद्धान्त र व्यवहारको तालमेलको मामिलामा व्याप्त खाडलबीच आफूले जे भन्ने हो, त्यही गर्ने एक माक्र्सवादी बौद्धिक व्यक्तित्वको देहान्त भएको छ । चैत्र ३ गते ८९ वर्षमा देहान्त भएका प्रो. माणिकलाल श्रेष्ठले कुनै कम्युनिस्ट पार्टीमा आबद्ध नभईकन पनि आजीवन माक्र्सवादीको रूपमा जिउन र अरूलाई माक्र्सवादी शिक्षाबाट प्रशिक्षित गर्न सकिन्छ भन्ने उदाहरण देखाएका छन् ।

आफूलाई माक्र्सवादी ठान्ने अधिकांश नेता–कार्यकर्ताले द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद शब्द पाठ गरेका हुन्छन्, तर व्यवहारमा भने धार्मिक–आध्यात्मिक–आदर्शवाद अभ्यास गरेका हुन्छन् । मल्ल के. सुन्दरको आँखामा माणिकलाल श्रेष्ठ सिद्धान्त र व्यवहारमा पूर्ण समानता भएका अग्रज हुन्, जसले माक्र्सवादको मूल अवयव : द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादलाई व्यवहारमा लागू गरेर देखाए । उनको सिद्धान्तनिष्ठ व्यवहार धार्मिक कर्मकाण्डमा प्रखर रूपमा प्रकट हुन्छ । २०४० सालमा बुबा देहान्त हुँदा उनले बरखीबारे पनि पूजाआजा गरेनन् । उनी मसँग भन्ने गर्थे, ‘मैले पाँच–छ दशकदेखि टीका लगाइनँ ।’

पुँजीवादको आलोचनात्मक चिरफार गर्न कार्ल माक्र्सद्वारा लिखित ‘दास क्यापिटल’ (पुँजी) पुस्तक पढेका माक्र्सवादी नेपालमा धेरै कम छन्, त्यसको सही व्याख्याता अझै न्यून छन् । अत: कम्युनिस्ट नेताहरू शम्भुराम श्रेष्ठदेखि मनमोहन अधिकारीसम्म भन्ने गर्थे, माणिकलाल श्रेष्ठ त्यस्ता अति कममध्ये एक हुन्, जसले ‘दास क्यापिटल’ का तीन खण्ड पचाएर व्याख्या गर्न सक्थे । विज्ञानको विद्यार्थी भएर फ्रेडरिक एंगेल्सको ‘परिवार, निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्ति’ पुस्तक पढ्दै माक्र्सवादतिर लहसिएका श्रेष्ठ जीवनभर धेरैका लागि माक्र्सवादी शिक्षक र समाज–विज्ञानका प्रोफेसर भए । उनीबाट माक्र्सवादी ज्ञानगुन सिक्ने र सरसल्लाह नलिने पुरानो पुस्ताका कम्युनिस्ट नेता कमै होलान् । पुष्पलाल, मनमोहन अधिकारी र निर्मल लामादेखि मोहन वैद्य र पुष्पकमल दाहाल प्रचण्डसम्मले उनीसँग गरेका सल्लाह उल्लेखनीय छ । उनको बृहत् ज्ञान र सल्लाहलाई कसले कसरी लागू गरे, त्यो आ–आफ्नो ठाउँमा छँदै छ ।

स्वतन्त्र कम्युनिस्ट र वाम एकता सामान्यत: एक माक्र्सवादी व्यक्ति कम्युनिस्ट पार्टीसँग अलग हुन सक्दैन । तर, जब कम्युनिस्ट पार्टी बेठीक बाटोमा लाग्छ, टुटफुटको सिकार हुन्छ, तब पार्टीसँग माक्र्सवादी व्यक्तिको आबद्धता धर्मराउन थाल्छ । कम्युनिस्ट पार्टीसँग श्रेष्ठको सम्बन्ध द्वन्द्वात्मक छ । उनी त्यस्ता कम्युनिस्ट बौद्धिक हुन्, जसको गहिरो सम्बन्ध र संलग्नता २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थापना हुँदादेखि नै त्यसका नेताहरूसँग रह्यो । फेरि उनी त्यस्ता माक्र्सवादी चिन्तक पनि हुन्, जो कुनै कम्युनिस्ट पार्टीसँग आबद्ध भएनन् । हुन त ‘लाल कम्युनिस्ट पार्टी’ को प्रतिनिधित्व गर्दै उनले २०१४ सालमा नेकपाको दोस्रो महाधिवेशनमा सहभागिता जनाएका पनि थिए । लाल कम्युनिस्ट पार्टीलाई नेकपासँग एकीकरण गर्ने पक्षमा पेस गरेको रिपोर्ट अस्वीकृत भएपछि उनी त्यस पार्टीबाट अलग्गिएका थिए ।

कम्युनिस्ट पार्टीको सांगठनिक राजनीतिमा उनको असंलग्नताको एउटा कारण जनवर्गीय संगठनमाथि पार्टीको नियन्त्रणप्रति गम्भीर असहमति पनि हो । सात सालमा राणाशासनविरोधी संघर्षमा ‘नेपाल छात्र संघ’ का संस्थापक सदस्यका रूपमा क्रियाशील श्रेष्ठ प्रजातन्त्र स्थापनापछि संघमाथि नेपाली कांग्रेसको प्रभुत्वपछि अलग्गिएका थिए । त्यसपछि उनी वामपन्थी विचार बोक्ने नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसनमा आबद्ध भए । फेडरेसनमाथि पनि नेकपाको एकाधिकार कायम भएपछि उनले विद्यार्थी संघ मात्रै होइन, कुनै पनि जनर्वीय संघसंस्थामाथि एउटै राजनीतिक पार्टीको मात्रै आंगिक संगठन बनाउन नहुने विचार राख्न थाले । विभिन्न पेसा र वर्गका संगठनमाथि कुनै न कुनै नाममा पार्टीको पकडले राजनीतीकरण होइन, दलीयकरण र दलतन्त्रलाई सुदृढ गर्ने विषयमा वाम–लोकतान्त्रिक आन्दोलनमा कमै चिन्तन भएको छ । यस अर्थमा श्रेष्ठको अनुभवसिद्ध जायज मत अझै पनि मननीय छ ।

अध्येता श्रीलक्ष्मी श्रेष्ठ र डा. बालगोपाल श्रेष्ठका अनुसार, २०१९ सालमा तेस्रो महाधिवेशनपछि नेकपामा भएको विभाजनबीच उनले महेन्द्रकालीन शासनमा तीन वर्षको जेलजीवनपछि बीसको दशकमा मनमोहन अधिकारी र शम्भुराम श्रेष्ठसँग मिलेर कम्युनिस्ट एकताका लागि पहल गरेका थिए । अन्तत: उनीहरू पनि एक–एक पार्टी बनाउँदै, कुनै न कुनै दलसँग एकीकृत हुँदै जान थालेपछि पनि श्रेष्ठ भने सबै विभाजित कम्युनिस्ट समूहहरूबीच एकीकरणको प्रयत्नका लागि स्वतन्त्र वाम बुद्धिजीवीकै हैसियतमा क्रियाशील रहे । ‘नेपाल कम्युनिस्ट लिग’ बनाएका शम्भुराम श्रेष्ठसँग निकट वैचारिक सामीप्यता र राजनीतिक सहकार्य हुँदाहुँदै पनि उनी अलग्गिएरै बसे । उनी कम्युनिस्ट आन्दोलनको नयाँ जनवादी क्रान्तिको पक्षमा वा स्टालिनवादी–माओवादी धारको एकताको पक्षमा सक्रिय भइरहे । जब आफ्नै जीवनकालमा नेपालमा अनेक नामधारी कम्युनिस्ट पार्टीहरू एक्लै वा संयुक्त रूपमा पटक–पटक सरकार सञ्चालन गर्न सफल भए, उनी भने सरकारी कामकाजमा कुनै पनि हिसाबले कम्युनिस्ट रङ र वामपन्थी ढंग नदेखिएपछि आलोचनात्मक भए ।

विश्व कम्युनिस्ट आन्दोलनमा जोसेफ स्टालिनको जगजगी भइरहेका बेला हुर्केका र किम इल सुङको शासनकाल देखेका कारण पनि हुन सक्छ, श्रेष्ठमा स्टालिन र सुङको व्यक्तित्व र विचारप्रतिको माया भक्तिभावको स्तरमा छ । कुनै पनि कुरालाई आँखा चिम्लेर नहेर, सन्देहको नजरले हेर्ने गर भन्ने माक्र्सको प्रिय भनाइ आत्मसात् गर्दै समालोचकीय कार्यमा लागेका श्रेष्ठमा यस्तो भक्तिभाव पनि ‘पुँजीवादविरोधी कम्युनिस्ट सिद्धान्त–निष्ठता’ कै नाममा देखिएको हुन सक्छ । विश्वको जुनसुकै कुनामा भएको थिचोमिचोविरुद्ध आवाज उठाउने गरेका स्वतन्त्र वामपन्थी बुद्धिजीवीले हवानादेखि अल्जियर्ससम्म, लिस्बनदेखि कलकत्तासम्म गएर पुँजीवादको सर्वाेच्च रूप : साम्राज्यवादको विरोधमा र समाजवादको पक्षमा आवाज उठाएका थिए ।

सांस्कृतिक लोकतन्त्रको पक्षमा माक्र्सवादी सोभियत रुसमा स्टालिनले लागू गरेको भाषा, जाति, संस्कृतिको स्वशासनबाट प्रभावित भएरै उनीजस्ता माक्र्सवादी नेपालमा पनि आदिवासी जनजातिको अधिकारका अगुवा र बौद्धिक पृष्ठपोषकका रूपमा उभिएको हुन सक्छ । सहिद गंगालाल र चिनियाँलालका विद्यार्थी श्रेष्ठ कलकत्ता विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेर पर्केपछि फत्तेबहादुर सिंहको प्रकाशन र सम्पादनमा निस्कने ‘नेपालभाषा न्हिपौ’ (दैनिक) को सम्पादनमा संलग्न हुने क्रमले उनको माक्र्सवादमा सांस्कृतिक लोकतन्त्रको पाटो विस्तार गरेको हुन सक्छ । २०१३–१६ सालसम्म ‘नेपाल पत्रकार संघ’ को महासचिवको रूपमा अगुवाइ गरेका श्रेष्ठले सांस्कृतिक लोकतन्त्रका लागि गरेको राजनीतिक हस्तक्षेप उल्लेखनीय देखिन्छ ।

२०१४ माघ ८ गते भएको काठमाडौं नगरपालिकाको दोस्रो निर्वाचनमा सबैभन्दा विवादास्पद बनेको मुद्दा थियो, नेपालभाषालाई नगरपालिकाको माध्यम भाषा बनाउने सिद्धान्तलाई मान्ने कि नमान्ने ? नेकपाका संस्थापक नेता पुष्पलालले निर्वाचन अघिदेखि नै उठाइरहेको यही मुद्दा नेकपाको चुनावी घोषणापत्रमा नसमेटिएपछि माणिकलाल श्रेष्ठले आफ्नो वैचारिक–राजनीतिक आस्था भएको पार्टीका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिए । नेकपाका नेपाली भाषा पक्षधर नेतृत्वले काठमाडौंमा बहुसंख्यक जनताले बोल्ने नेवा: भाय् (नेपालभाषा) लाई नगरपालिकाको कामकाजी भाषाको रूपमा स्थापित गर्न चाहने अभियन्ता र उम्मेदवारहरूलाई ‘साम्प्रदायिक तत्त्व’ को आरोप लगाउँदै चुनावी अभियान छेडे पनि जित हासिल गर्न सकेन ।

भाषिक अधिकार स्थापनाका खातिर आफ्ना निकटतम मित्र शम्भुराम श्रेष्ठलाई पराजित गरेका माणिकलाल श्रेष्ठ र नेकपासँगै नेपाली कांग्रेस र प्रजा परिषद्का नेवार प्रतिनिधिहरूको जोडबलमा नेपालमा नगरपालिका स्तरमा नेपालभाषा वा गैरनेपाली भाषालाई माध्यम भाषा बनाउने अभ्यास पहिलोपटक भएको थियो । त्यही लोकतान्त्रिक अभ्यास र विचारमाथि दमनको लामो शृंखलापछि संघीय लोकतान्त्रिक गणतन्त्रमा भाषिक लोकतन्त्रको अभ्यास पुन: सुरु भएको छ । यस अभ्यासको नेपथ्यमा ६ दशकदेखि भाषिक लोकतन्त्रको पैरवी गर्दै आएका श्रेष्ठलगायत अग्रज बौद्धिक र अभियन्ताहरूको योगदानलाई कम आँक्न मिल्दैन ।

सार्वजनिक बौद्धिक, जसको प्रतिध्वनि सुन्न पाइन्छ श्रेष्ठ नेपालमा जातीय स्वशासन, भाषिक लोकतन्त्र, सांस्कृतिक स्वायत्तताको पक्षमा माक्र्सवादी दृष्टिकोणबाट लेखन र प्रवचनसँगै हरेक ठाउँमा बहस–पैरवी गर्ने बौद्धिक अगुवा हुन् । उनको अगुवाइको राप–ताप र प्रकाश यी सबै क्षेत्रमा भएका आन्दोलनमा मात्रै होइन, प्रत्येकजसो सामुदायिक संघर्ष, वर्गीय–जातीय मुक्ति आन्दोलनसँगै नयाँ संविधानमा समेत गुन्जिएको सुन्न सकिन्छ । यो उनको पृथक् र बृहत् खालको प्रतिपक्षीय बौद्धिक सत्ताको प्रतिध्वनि हो । एक वर्ग, एक नश्ल, एक जाति, एक भाषाको अलोकतान्त्रिक सत्ताविरुद्ध वैकल्पिक सत्ता खडा गरेका श्रेष्ठ पदका लागि सिद्धान्त र विवेकलाई बन्धकी नराख्ने सार्वजनिक बौद्धिक हुन् ।

उनको एउटा कविताको शीर्षक थियो– ‘स्टालिन मसीनि’ (स्टालिन मरेका छैनन्) । आफ्नो कविता लेखन कमजोर भएको ठम्याइपछि नेपालभाषाको समालोचनासँगै वैचारिक, राजनीतिक र ऐतिहासिक लेखनमा उनी लागेका थिए । त्यसैको परिणामस्वरूप: उनले नेपालभाषा, नेपाली भाषा र अंग्रेजी भाषामा गरी हजारभन्दा बढी लेख लेखेको हुन सक्ने अनुमान गरिन्छ । उनले माक्र्सवादी दृष्टिकोणबाट सयौं किताबका भूमिका र समालोचना लेखेर पुराना लेखकलाई दिशा दिने र नयाँ लेखकलाई प्रोत्साहित गर्ने काम गरेका थिए । उनले २३–२४ दिनभित्रै ‘समालोचनाया सिद्धान्त’ नामक मोटो किताब लेखेर चित्तधर हृदय र प्रेमबहादुर कसा:हरूलाई नै चकित पारेका थिए ।

सानैदेखि तीक्ष्ण स्मरणशक्तिका धनी विद्यार्थी र किताब नै चाट्ने खालका पाठकको रूपमा स्थापित श्रेष्ठको सरल व्यक्तित्व निकै फराकिलो छ । विज्ञान, कानुन, अंग्रेजी भाषा साहित्य विद्यार्थीको रूपमा विश्वविद्यालयबाट निस्केका माणिक सर धेरै विषयका ज्ञाता हुन् नै, धेरै लेखक र अभियन्ताका गुरू पनि हुन् । उनी अनेक किताब हुबहु याद गर्न सक्ने, एक एक तिथिमिति, घटना, विचार भाषणमा व्यक्त गर्न सक्ने, धेरैका जिज्ञासा मेट्न सक्ने, सिक्न–सिकाउन हर्दम तयार रहने ‘जीवित ज्ञानकोश’ हुन् । सत्यभामा माथेमादेखि प्रतिसरा सायमिको भाषामा नेपालको भाषा, साहित्य, संस्कृति, इतिहासको इन्साइक्लोपेडियाको रूपमा सम्मानित माणिक सर अब विचार र लेखनमा मात्रै जीवित छन् ।

अलबिदा माणिक सर !

प्रकाशित : चैत्र ७, २०७७ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?