कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

एक ‘आलोचक’ को घनचक्कर

लामो कालखण्ड राजनीति र पत्रकारितामा बिताएका रेशम विरहीको हालको दिनचर्या लेखन–पठन नै हो । पुष्पलाल श्रेष्ठसँगको संगतले कम्युनिस्ट रापतापमा होमिएका उनी अहिलेको राजनीतिप्रति दिग्भ्रमित छन् । भन्छन्, ‘सिद्धान्तअनुसार न पार्टी रह्यो न उसका गतिविधि । कम्युनिस्ट मुभमेन्ट नै कुहिरोको कागजस्तो भयो ।’
‘खुराफात, जालझेल र षड्यन्त्रले लखेट्न थालेपछि क्षयोन्मुख बन्दै गएँ । मैले धेरै पोस्ट देखेँ तर गोल गर्न सकिनँ । मूलभूत कारण त मै हुँ ।’
‘त्यो बेला गद्दार भन्नेहरू नै अहिले पुष्पलालको फोटो झुन्ड्याउँछन्, गद्दार त यिनीहरू हुन् ।’
फणीन्द्र संगम

मोटो गाता भएको पहेँलो फाइल एकसुरमा उधिनिरहेका छन्, जहाँ मिलाएर राखिएको छ– अखबारमा प्रकाशित कविता, लेख र निबन्धका कटिङ । बेलाबेला आफ्नो कवितासंग्रह ‘सातौं बादशाहको रातो कोट’ को लेआउट हेर्न डिजाइनरको कम्प्युटरतिर आँखा पुर्‍याउँछन् । गएको कात्तिक पहिलो साता बागबजारस्थित एक प्रकाशन गृहमा रेशम विरही यस्तै धपेडीमा भेटिए ।

एक ‘आलोचक’ को घनचक्कर

सर्ट, पाइन्ट र इस्टकोट । हिउँजस्तो केस । सदाबहार सफाचट हुलिया । थपिएको थियो त केवल सेतो मास्क । नाकमुख छोपिए पनि उनको परिचित मुस्कान आँखाबाट प्रकट भइहाल्थ्यो । पौने घण्टा गफिएपछि डिजाइनरले डिजाइन फाइनल गरे । आवरणको रातो रङ दाइले मन पराए र केहीबेरमै फुत्त निस्किइहाले ।

करिब सात वर्षअघिसम्म रेशम विरही मेरा लागि बिराना थिए । न चिनेको न कतै भेटेको । राजधानीबाट प्रकाशित ब्रोडसिट अखबारका शनिबारीय परिशिष्टांकमा पहिलोपटक देखेको हुँ, उनलाई । गहकिला शब्द चयन, राजनीतिक चेत र काव्यिक शैलीले म प्रभावित हुँदै गएँ । र, बनेँ नियमित पाठक । सम्झिन्छु, बागबजारमा पहिलो भेट हुँदा उनले रातो हाफ स्वेटरमाथि कोट लगाएका थिए । अनुज पुस्तासँगको घुलमिल निकै लोभलाग्दो छ ।

यसबीच उनको निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’ निस्कियो, जसको ‘ब्लर्ब’ मा लेखिएको छ– म जे हुँ, मलाई त्यही मन पर्दैन । म जातको अहंकार बोक्ने बाहुनको छोरा हुँ तर बाहुन मन पर्दैन । म पेसाले पत्रकार हुँ, पत्रकार देख्दैमा रिस उठ्छ । म सोखले कवि हुँ, कविको आवरण देख्दैमा रन्को छुट्छ । यो मेरो कस्तो मानसिकता हो ? ‘डिप्रेसन’ हो कि अज्ञात विषयको गहिरो ‘इम्प्रेसन’ ?

‘देब्रे आँखा’ निबन्धसंग्रह र ‘प्रेमदासको डायरी’ उपन्यासको इम्प्रेसनले नै मैले लगालग उनका २५ थान निबन्ध पढिभ्याएँ ।

पछिल्लो भेटमा सोधेँ, ‘कतिपय निबन्धमा त मृत्यु चिन्तन पो देखेँ त दाइ, जीवनप्रति किन यस्तो चरम निराशा ?’

‘कहिलेकाहीँ त्यस्तो अनुभूति आउँदो रहेछ,’ उनले प्रस्ट्याउन खोजे । संग्रहका ७ निबन्ध त उनले क्यान्सर अस्पतालको बेडमै बसेर लेखेका रहेछन्, जतिबेला उनको शरीरमा केमो सञ्चार भइरहेको थियो ।

२०७६ को सुरुवाततिरै पायल्सको शंका लागेर उनी उपचारविधिमा थिए । जनसांस्कृतिक महासंघले जेठमा एकल कविता वाचनको कार्यक्रम राख्यो । उनी उपस्थित त भए, तर वाचन गर्न केही कविको साथ लिनुपर्‍यो ।

त्यही बेला समकालीन कवि–लेखकले सोधेछन्, ‘के भयो यार, निकै दुब्लाइसकेछौ त ?’

अनि पो उनी झस्किए । र, केही दिनमै पुगे, त्रिवि शिक्षण अस्पताल । छोरोलाई डाक्टरले खुसुक्क भनेछन्, ‘बुबालाई त आन्द्रामा दोस्रो स्टेजको क्यान्सर छ ।’ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा थप जाँच गर्दा एउटै आन्द्राको दुई ठाउँमा क्यान्सर फैलिइसकेको रहेछ । चारवटा केमो चलाएपछि २०७६ असोज ३० मा उनको शल्यक्रिया भयो । ‘अप्रेसन सफल हुन्छ भन्नेमा डा. विनय मात्रै ५० प्रतिशत आशावादी देखिए,’ विरही सुनाउँछन्, ‘कुल १२ वटा केमो चलाइदिए, अहिले स्वस्थ अनुभव गरिरहेको छु ।’

यहीबीच उनले एउटा कवितासंग्रहको पाण्डुलिपि तयार पारे । केही निबन्ध लेखे । उपचारका लागि प्रियजनले आर्थिक सहयोग जुटाइदिए, जसले आफ्नो आत्मबल बढेको उनी बताउँछन् । ‘साथीभाइले बैंक खाता खोलिदिएर खर्च जम्मा गर्न थाले । उपचारको चिन्ता नगर्नु भन्ने सान्त्वनाले म ढुक्क हुँदै गएँ,’ उनी भन्छन्, ‘त्यही कारण अस्पतालमै लेख्न सक्ने आँट बढ्यो ।’

‘राजनीतिमा फिट भइनँ’

लामो कालखण्ड राजनीति र पत्रकारितामा बिताएका विरहीको अहिलेको दिनचर्या लेखन–पठन नै हो । कुनैबेला पुष्पलाल श्रेष्ठसँगको संगतले कम्युनिस्ट रापतापमा होमिएका उनी नेपालको राजनीतिप्रति नै दिग्भ्रमित छन् । सिद्धान्तअनुसार न पार्टी रह्यो न उसका गतिविधि, उनको बुझाइ छ । ‘कम्युनिस्ट मुभमेन्ट नै एक किसिमले कुहिरोको कागजस्तो भयो,’ उनी भन्छन्, ‘डा. केशरजंग रायमाझीको पालादेखि नै दरबारको घूसपैठ र विदेशी शक्ति हाबी भयो । माक्र्सवादी दर्शनलाई अंगिकार गरेर कुनै पनि कम्युनिस्ट चलायमान हुन सकेनन् ।’

सुरुवातमा पुष्पलाल समूह, पछि एमाले र माओवादीसँग जोडिएका विरहीले हालसम्म कुनै राजनीतिक लाभ लिएनन् । धेरै समकालीनले राजनीतिक नियुक्ति पाइसके, कतिपय त्यही लोभमा चाकडीहरूको लाइनमा घुस्रिएका छन् । तर, विरहीलाई चितवन–काठमाडौं धाउनुमै आनन्द छ ।

‘आफूले ठानेजस्तो राजनीति भएन कि तपाईं राजनीतिमा फिट हुनुभएन दाइ ?’

‘म फिट नभा’ को हो । अहिले पनि कुनै राजनीतिमा लागेँ भने म फेल नै हुन्छु । राजनीतिमा त झूटो बोल्न सक्नुपर्ने, बेइमानी गर्न सक्नुपर्ने, कार्यकर्तालाई भ्रममा राख्न सक्नुपर्ने फरक चरित्र चाहिने रहेछ । खरो कुरा गरेर नेतृत्वमाथि आलोचना गर्‍यो, पूर्वाग्रह साधिहाल्छन् ।’

चितवन गीतानगरस्थित अरुणोदय माविमा उनी २०२६ सालमा विद्यार्थी संगठनको सभापति बनेका थिए । उनको राजनीतिक इन्ट्री त्यही थियो । पछि अनेरास्ववियुको जिल्ला सदस्य बने । २०२८ मा रूपलाल विश्वकर्मामार्फत पुष्पलाल श्रेष्ठ समूहको पार्टी सदस्यता लिए । त्यसबेला कम्युनिस्ट पार्टी टुटफुटमा रुमल्लिइसकेको थियो । पुष्पलालसँग तुलसीलाल अमात्यहरू छुट्टिइसकेका थिए । पछि मदन भण्डारी, जीवराज आश्रित, मोदनाथ प्रश्रितहरू पनि अलग भए ।

२०२९ मा पुष्पलालनिकट अखिल भारत नेपाली छात्र फेडेरेसनको अधिवेशन हुने भयो । विद्यार्थी फाँटको केन्द्रीय कमिटीमा रहेकाले नेपालबाट विरहीसहितका प्रतिनिधि वनारस पुगे । सम्मेलनमा राति सांस्कृतिक कार्यक्रम चल्थ्यो, जसमा मोदनाथ प्रश्रितको टोलीले ‘पचास रुपैयाँको तमसुक’ नाटक देखाएको स्मरण गर्छन्, उनी । यही अधिवेशनले पुष्पलालसँग उनको निकटता बढ्यो । पार्टी कामकै सिलसिलामा दरभंगा र पटना पुग्दा उनले पुष्पलालकै सान्निध्य पाए ।

पार्टीमा जब स्वार्थ र जालझेल झाँगिदै गयो, विरहीमा विरह जाग्न थाल्यो । २०३८ देखि उनी सक्रिय राजनीतिबाट टाढिए । पुष्पलालमाथि गद्दारको संज्ञा दिँदा नै उनलाई निकै बिझिसकेको थियो । नेपालमा संयुक्त आन्दोलन हुनुपर्छ भन्दै पहिलोपटक प्रस्ताव राख्दा कम्युनिस्टहरू नै पुष्पलालमाथि खनिए । कांग्रेससँग मिलेर पञ्चायत र राजा फाल्नुपर्छ भन्ने उनको प्रस्ताव अस्वीकार्य बन्यो । यसका लागि उनले बीपी कोइरालासँग पनि छलफल गरे । तर, कम्युनिस्टले धोका दिने ‘शंका’ ले बीपीले समेत सहमति जनाएनन् । मोहनविक्रम सिंहले त ‘गद्दार पुष्पलाल’ शीर्षकमा किताबै लेखे । भलै पछि नाम परिवर्तन गरी ‘क्रान्तिमा भ्रान्ति’ बनाइएको छ ।

‘एउटा गुलेलीले दुइटा चरा (राजतन्त्र र पञ्चायत) कसरी मर्छ भन्ने उनीहरूको प्रश्न थियो,’ विरही सम्झन्छन्, ‘पुष्पलाललाई सहयोद्धाहरूले बिस्तारै साथ छाड्दै गए । अवस्था निकै कमजोर बन्दै गयो । एक असल कम्युनिस्टको दयनीय अन्त्य हुन पुग्यो ।’ पुष्पलालको त्यही संयुक्त आन्दोलनको अवधारणामा टेकेरै २०४६ को आन्दोलन सफल भएको उनको दाबी छ । ‘त्यही अवधारणाले २०६२/६३ को आन्दोलन सफल भयो,’ विरही भन्छन्, ‘त्यो बेला गद्दार भन्नेहरू नै अहिले पुष्पलालको फोटो झुन्ड्याउँछन्, गद्दार त यिनीहरू हुन् ।’

विरहीका बुझाइमा कम्युनिस्ट दुईखालका छन्– विचारका लागि विचार भन्ने अति जडसूत्रवादी । र, सिद्धान्तलाई आफ्नो देशअनुसार लागू गर्नुपर्छ भन्ने नरमपन्थी । भन्छन्, ‘मलाई एमालेको लेबल लगाए लगाऊन्, जनताको बहुदलीय जनवाद नै नेपाली माटो सुहाउँदो राजनीतिक सिद्धान्त हो । त्यसैको प्रभावले एमाले शक्तिशाली बनेको थियो ।’ तर, त्यसैलाई भजाएर राजनीतिक लाभ लिनेहरूप्रति उनको खुब घृणा र आक्रोश छ ।

कम्युनिस्टको आवरणमा सामन्तवादी चरित्र देखाउने अनि विदेशीको छाया बनेर नांगो राष्ट्रवादको नारा उराल्ने कम्युनिस्ट पनि देखेका छन् उनले । ‘माक्र्सवादले राष्ट्र, धर्म, व्यक्तिगत सम्पत्तिलाई अस्वीकार गर्छ तर केपीजस्तो कम्युनिस्ट भन्नेले पशुपतिमा सुनको जलहरी हाल्छन्, सत्तामा आउनेबित्तिकै प्रचण्ड भैंसी पूजा गर्न पुग्छन्,’ आक्रोश मिश्रित आवाजमा उनी चर्किए, ‘बोका काटेर सिंहदरबार प्रवेश गर्नेहरूलाई पनि मैले राम्रैसँग चिनेको छु ।’

माओवादी धम्की

२०५९ को एक साँझ विरही ‘नेपालगन्ज एक्सप्रेस’ को कार्यालयमा लेख छोडेर फर्किइरहेका थिए । अचानक बन्दुकधारीको समूहले घेरा हाल्यो । धम्क्याउँदै भन्यो, ‘सक्छस् भने हाम्रो समर्थनमा लेख्, हामीविरुद्ध यस्तै लेख्दै गइस् भने कारबाहीमा पर्लास् ।’ पत्रिका भर्खर प्रेस नपुग्दै कसरी उनीहरूसम्म सूचना पुग्यो भनेर विरही चकित परे । आफ्ना तर्क पेस गरे र जसोतसो फुत्किएर घर पुगे ।

तत्काल सम्पादक शिव डोटेल र काठमाडौंमा अरू पत्रकारलाई जानकारी गराए । एफएम र भोलिपल्ट अखबारमा उनलाई धम्की दिइएकोबारे समाचार सार्वजनिक भयो । ‘म त रुपैडियामा गएर पत्रकार सम्मेलन गर्ने योजनामा थिएँ, यता एमाले र माओवादीबीच संवाद भइसकेको रहेछ,’ उनले सम्झिए, ‘माओवादीकै एक इन्चार्जले पनि खबर गरेर घटनाप्रति गल्ती स्विकारे । भोलिबाट कुनै समस्या हुन्न भनेपछि मात्रै म चुप लागेँ ।’

भोलिपल्ट उनको लेख छापियो– ‘कमरेड प्रचण्ड, तपाईंलाई रगत कति मिठो लाग्छ ?’ शीर्षकमा । ‘सुरुवातमै रगतको तात्पर्य रगतै खाने भन्ने होइन, रगतको खेल कहिलेसम्म भनेर प्रस्ट पारेको थिएँ,’ विरही भन्छन्, ‘उनीहरूको धम्कीले मेरो कलम रोकिने पनि होइन । त्यसपछि मसँग जोरी खोज्न पनि चाहेनन् ।’ नौलो जनवादी गणतन्त्र नआउन्जेल दीर्घकालीन जनयुद्ध भन्ने कार्यदिशा उनलाई चित्त बुझेको रहेनछ । ‘यो वा त्यो ढंगले तपाईंहरूले आत्मसमर्पण गर्नुपर्ने हुन्छ । कहिलेसम्म रगतबाट सन्तुष्टि प्राप्त हुन्छ ? भनेर प्रश्न गरेको थिएँ,’ लेखको मजबुनबारे उनले भने ।

संयोग वा दुर्घटना, उनी पछि माओवादीमै लागे । त्यो प्रवेशलाई उनी ‘मनोवैज्ञानिक दबाब’ भन्छन् । ‘एमालेमा सबै स्वार्थका झुन्ड मात्रै भए, मलाई माथि आउनै नदिने,’ उनले बाध्यता सुनाए, ‘चितवनका सबै साथीभाइ माओवादी बनिसकेका थिए । यता एमालेप्रति वितृष्णा जागिसकेको थियो ।’

सिधै जिल्ला कमिटीमा प्रवेश त पाए तर राजनीति त्यहाँ पनि उनले सङ्लो देखेनन् । ‘उही जालझेल, खुराफात, अहंकार, मैमत्त ट्यापे–मुन्द्रेहरू,’ उनी भन्छन्, ‘बाहिरबाट निकै क्रान्तिकारी चरित्र होला भन्ने लाग्थ्यो, भित्र पसेपछि चित्त बुझेन । भोलि मन्त्री पाउँछु भने पनि म बसिराख्नु हुन्न भनेर तीन महिनामै बाहिरिएँ ।’

अनि फर्किए, पुरानै घर । नेपागन्जमै रहेर एमाले अञ्चलको प्रचार विभागमा बसे । तीन–चार वर्षयता उनी पूर्णरूपमा निष्क्रिय छन् ।

पार्टी छाडी पत्रकारिता

कम्युनिस्ट पार्टीको टुटफुट र गुटका कारण पनि विरही विरक्तिइसकेका थिए । २०३७/३८ देखि राजनीति छाडेर सक्रिय पत्रकारितामा लागे । त्यसो त २०२५ मै उनी हस्तलिखित पत्रिका ‘भुंग्रो’ निकाल्थे । २०२८ मा गोविन्द वियोगीको ‘मातृभूमि’ र २०३७ मा बालमुकुन्ददेव पाण्डेको ‘प्रतिध्वनि’ पत्रिकाको डेस्कमा काम गरे । चितवन गएर आफैँले ‘मुलुकी आवाज’ र ‘भरतपुर’ पत्रिका निकाले । फर्केर २०४८ मा ‘कामना’ पब्लिकेसन्सको सह–सम्पादक बने । फिल्मी रिपोर्टिङदेखि ‘साधना’ मा अपराध रिपोर्टिङसमेत गरेका उनले नेपालगन्जमा करिब १५ वर्ष नेपाल प्रेस इन्स्टिच्युटमा रहेर प्रशिक्षण दिए ।

ललितपुरमा ‘अभिनन्दन’ दैनिक पनि सञ्चालन गरेको उनीसँग अनुभव छ । ‘एक रुपैयाँमा बेच्थ्यौंं, पछि कान्तिपुर प्रकाशनपछि यो पत्रिका बन्द भयो,’ उनी सम्झिन्छन् ।

पञ्चायतकालीन र अहिलेको पत्रकारितामा उनी तात्त्विक भिन्नता देख्दैनन् । त्यो बेला पीतपत्रकारिता थियो । हरेक मिडियामा पञ्चायतको घूसपैठ । आफूलाई ठूला कम्युनिस्ट र कांग्रेस भन्ने पनि दरबारसँग मिलिराखेका हुन्थे । पञ्चायतमै दुई गुट थिए, जो एकअर्काको भरमार आलोचना गर्थे । परिस्थिति भिन्न भए पनि दलको पछाडि नलाग्ने पत्रकारिता अहिले पाउन गाह्रो हुने उनको ठम्याइ छ । ‘स्वतन्त्र पत्रकारिता कहाँ छ नेपालमा ? यो त फगत नारा हो,’ उनी ढुक्क छन्् ।

उनी पत्रकारिताबाट समेत निवृत्त भए, घरायसी व्यवहारबाट मुक्त भए । अहिले धेरैजसो बसाइ छोराहरूसँग काठमाडौंमै छ । निरन्तर लेखिरहेका छन्, भ्याएसम्म कार्यक्रममा सहभागी हुन्छन् । ‘तर म प्रचारको भोकोचाहिँ होइन,’ भन्छन्, ‘ब्रोडसिटमा एकै दिन तीनतिर लेख छापिएको मलाई फिटिक्कै मन पर्दैन ।

१३ महिना जेल

गोरखाको हर्मीमा २००९ मा जन्मिएका विरही २०१५ मा परिवारसहित चितवन झरे । २०५२ मा नेपालगन्ज पुगे र फेरि चितवनै फर्किए, २०६६ मा । आफ्नै सुरमा भौंतारिँदै नेपालगन्जमा १४ वर्ष बिताएका उनीसँग त्यहाँका अनेक स्मृति मस्तिष्कमा खाँदाखाँद छन् । कविता, निबन्ध वा आख्यानमा त्यसको प्रतिविम्ब झल्किन्छ नै ।

२०३२ मा दुई वर्षजति स्कुल पढाएका उनले छोटो समय साझा प्रकाशनको इलाम शाखामा काम गर्ने मौका पाए । त्यसभन्दा बढ्ता जागिरे अनुभव उनीसँग छैन । इलाम छँदा चितवनमा भएको पर्चा काण्डमा उनको नाम पनि मुछियो । रूपलाल विश्वकर्माको समूहले पञ्चायत र राजाविरोधी पर्चा छरेपछि धेरै जना गिरफ्तार भएका थिए । इलामबाट वीरगन्जतिर हान्निएका उनी त्यहीँबाट पक्राउ परे– २०३३ सालमा । ‘६ महिनामै जागिर गुम्यो,’ उनी भन्छन्, ‘राजकाज अपराधमा ९ महिना र हिरासतमा ४ गरी १३ महिना जेलको चिसो हावा खानुपर्‍यो ।’

‘देब्रे आँखा’ मा निकट साथी श्यामलसँगको संवादमा उनले भनेका छन्, ‘राजनीति मेरा लागि दुनियाँ बदल्ने खेल हो । तर, अचेल देख्छु– दुनियाँ बदल्नेहरू आफैँ बदलिएका छन् । ती भारतका र अमेरिकाका दलाल भएर बदलिएका छन् । म जहाँ थिएँ त्यहीँ छु । एक अंश बदलिएको छैन ।’

जीवनको घनचक्करमा रुमल्लिएका विरही किन बदलिन चाहेनन् ?

‘मैले धेरै पोस्ट देखेँ तर गोल गर्न सकिनँ,’ उनको आत्मस्वीकृति छ, ‘मेरा साथीहरूले अनेक तिकडम गरेर फड्को मारिरहे, त्यो देख्दा मेरो राजनीतिक–साहित्यिक सक्रियता तिरोहित हुन पुग्यो । म क्षयोन्मुख बन्दै गएँ । खुरापात, जालझेल, षड्यन्त्रले मलाई असर गर्‍यो तथापि मूलभूत कारण त मै हुँ ।’ उनी कतिसम्म मुडी पनि छन् भने दुई दशकअघि आफ्नै शैक्षिक प्रमाणपत्रसमेत च्यातेर फालिदिएका रहेछन् । ‘उमेर पनि नाघ्यो, जागिर खान पनि आवश्यक छैन भन्ने लाग्यो,’ फिस्स हाँस्दै भन्छन्, ‘उमेरमा अराजक स्वभावकै थिएँ, सोचें– यो कागजको के काम †’

‘मुलाको बोक्रा र आलीमुनिको झ्याउँकिरी’, ‘भित्ताको रङ’, ‘मंगली गुप्ताको पान’, ‘थालथालमा सपना’ र ‘तुरुप’ उनका प्रकाशित कवितासंग्रह हुन् । नयाँ कविता–किताब चाँडै प्रकाशन हुँदै छ भने दुई उपन्यासको ड्राफ्ट तयार छ । यी कलमजीवी फकिरलाई जीवनमा केही पाइनँ वा गुमाएँ भन्ने कुनै गुनासो छैन । सबैले शिखरै चढ्ने हो भने भुइँमा बस्ने को ? भनेर चित्त बुझाउँछन् । ‘मन्त्री, सांसद हुनु नै ठूलो कुरा हो र ?’ उनी भन्छन्, ‘लामो समय पत्रकारिता गरेँ । साहित्य लेखिरहेकै छु । भावनात्मक रूपमा शिखर चढी नै रहेको छु । मेरो सन्तुष्टि यही हो ।’

(शनिबार प्रकाशन हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : चैत्र ६, २०७७ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?