कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

म एउटा विषय हुँ

सविता गौतम दाहाल

चुप लागेर घरमै बसिरहूँ
वा सबै भुलेर अघि बढूँ,
जे गरे पनि, म एउटा विषय 
सुन्दरतम– समाजको ।

म एउटा विषय हुँ

रमाएर नाचूँ वा हासूँ,

भक्कानिएर रोऊँ वा चिच्चाऊँ,

क्रमशः म एउटा विषय

विद्वत्–विमर्षको, भलाकुसारीको ।

उद्देश्यपूर्ण जीवन,

एक्कासि विषय बन्नु

नियतिको नियमितता,

जो कतै–कतै झल्किरहन्थ्यो

आज यो आँगनमा झुल्कियो ।


जागरूक भएर अध्ययनशील बनी पढूँ

वा साहसी भएर रावण वा कंशसँग लडूँ,

अब, म एउटा सटल विषय

परम्परागत–परिवेशको ।

व्यथाले मरुँ वा व्यायामको उज्यालो बाचूँ,

अदृश्य छन् अनुभूति

मेरो छेऊको सिरानीमा

सधैं हुने साथ छैनन्,

चुपचाप छ जीवन गति ।

जीवन–मोह–विद्रोह

सबै दूर–दूर छन्,

हुनुको झझल्को

कसले बुझ्छ धड्कन यो समयको ?


मुटु छिया–छिया परेर चर्कन्छ,

अनेक भाव आफैंलाई छलेर तर्कन्छ

कोरिन बाँकी कथा कहूँ वा चुपचाप सहूँ,

अब, म एउटा रोचक विषय

जीवनमय–जमघटको, खासखुसको ।


नटुंगिने चिन्ता हूँ, बुबा–आमाको

सम्झिसक्दा मन दुख्ला, भाइ–दादाको

देखिसक्दा, कठै मेरी ! मुखबाट निस्केला,

मामाघरकी हजुरआमाको ।

प्रियजनलाई अनायास पोल्ने

आगो हुँ, झिल्का हुँ,

अब, म एउटा विषय–विन्दु हुँ ।


कोर्नेहरु त्यहींबाट सुरू भएर

त्रिकोण, षट्कोण, वृत्त

बनाउँदा हुन्,

कति त स्वयंसिद्ध तथ्य लगाएर

कति–कति गणित प्रमाणित गर्दा हुन् ।


कहीं कतै रहूँ वा छोडिऊँ,

म एउटा सदाबहार विषय

समाजको, शास्त्रको, गणितको

सम्भवतः भेटिने हरेक परिचित–पात्रको ।

प्रकाशित : फाल्गुन २९, २०७७ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?