कर्णालीका मान्ठ

हिमाल, डाँडापाखा र उराठलाग्दा चाउरिएका अनुहारहरू भएर कर्णाली दुर्गम भएको होइन । भएको हो– सामाजिक कुरीतिले ।
हीरा बिजुली नेपाली

केही वर्षअघि कर्णालीको गुम्दै गएको समृद्धिबारे लेखिएको, सायद पहिलो पुस्तक, ‘समृद्ध कर्णालीको दुःख’ पढ्ने अवसर पाएको थिएँ । सोमत घिमिरे र टीका भट्टराई लिखित उक्त पुस्तकले राज्यका मूलधारका भनिएका पत्रकार, लेखक र राजनीतिक दलहरूले ‘दुर्गम, भोकमरी’ हुने ठाउँ भनेर दिएको परिचयको खरो प्रतिकार गरेको छ । साथै ‘गोर्खे राज्य’ को जितअघिको समृद्ध कर्णालीले सिमान्तीकरणको चपेटामा परी आफूसँग भएका समृद्धिका आधार भत्काउँदै कालान्तरमा दुःखी र दरिद्र भएको तीतो सत्य प्रकाश पारेको छ ।

कर्णालीका मान्ठ

भर्खरै लेखकद्वयमध्येका भट्टराई र मित्र सम्राट् कट्वालको ‘कर्णाली पिपुल एन्ड प्लेसेस’ नामक फोटो किताब हात परेको छ ।

पुस्तकभित्रका कैयौं फोटासँग मेरो कसिलो साइनो पनि छ । मुगु, हुम्ला र जुम्लाका बस्तीहरूमा सडक नाटक देखाउँदै फेरो मारिरहँदा कति ठाउँमा राति पुगेको छु त कति ठाउँमा बिहानै । केही ठाउँमा पकाएको कुखुराको मासु बोकेर हिँडेको छु त कुनै ठाउँमा छुवाछुतका कारण गाउँलेको बारीमा पकाएर खाएर हिँडेको छु । धेरै फोटा मुगुकै भएकाले होला तिनले मेरो बालापनलाई पनि ताजा बनाइदिएका छन् ।

पुस्तकले कर्णालीवासीले नै कहिल्यै याद नगरेका र खासै महत्त्व नठानेका हाम्रा सामाजिक, सांस्कृतिक तथा वातावरणीय पक्षलाई सुन्दर तरिकाले प्रकाशमा ल्याएको छ । बाहिरियाहरूको चस्मा फेरिदिएको छ । तर, पुस्तकको भूमिकामा केदारभक्त माथेमा लेख्छन्, ‘कर्णाली नेपालको सबैभन्दा दुर्गम ठाउँ हो ।’ पछिल्ला अनुच्छेदहरूमा भने कर्णालीको सुन्दरतालाई उनले नकारेका छैनन् । त्यसैगरी नेपालका लागि स्विटजरल्यान्डकी राजदूत एलिजावेथ भोन क्यापलरले भूमिकामै ‘जातीय विविधता, भौगोलिक विविधता, कृषि उत्पादन र सांस्कृतिक सम्पदाहरूको धनी हुँदाहुँदै कर्णालीले दुर्गमताको पनि प्रतिनिधित्व गर्छ’ भनेकी छन् ।

यी दुई भूमिकामा घोरिने हो भने सजिलै बुझ्न सकिन्छ– कर्णालीको ‘दुर्गमता’ प्रचारमा बौद्धिकहरू जुटेका छन् । कुनै ठाउँको भौगोलिक कठिनताले मात्रै दुःखको भीमकाय भासभित्र छिराउँछ भनेर कसरी भन्न सकिन्छ ? यदि मान्छेको चेतना समृद्ध हुने हो भने उसले भीरपहरामै अत्याधुनिक वैज्ञानिक प्रविधिको प्रयोगले आफ्नो जीवनलाई सजिलो बनाउन सकिहाल्छ, जसको प्रमाण संसारभरै छरपस्ट छन् ।

हाम्रो समाजलाई दयनीय परिस्थितिमा पुर्‍याउने त हिन्दु धर्मीय भाग्यवादी सोचद्वारा निर्मित तहगत सामाजिक संरचना हो । मूल कुरो बिर्सेर खालि भीरपाखाको पछि दौडिरहनु कसरी सही विश्लेषण हुन्छ ?

सामाजिक कुरीतिको कालो बादलमाथि टेकेर पुस्तकले कर्णालीका कैयौं सकारात्मक पाटालाई केलाउने प्रयास गरेको छ । हिमाल भएर, डाँडापाखा भएर, उराठलाग्दा चाउरिएका अनुहारहरू बस्ने भएर कर्णाली दुर्गम भएको होइन । भएको हो– धार्मिक अन्धभक्ति, सामाजिक कुरीति, सामन्ती जातिवादी समाज भएकाले । यो तथ्य मानवशास्त्री डोरबहादुर विष्टबाहेक कसैले विश्लेषण गर्नै चाहेनन् ।

कर्णालीबाहिर बसेर कर्णालीसम्बन्धी फिक्का टिप्पणी गर्न रुचाउने बाँकी संसारले कर्णालीबारे शताब्दीऔंदेखि कर्णालीका दुर्गमताका एकतर्फी कथा लेख्दै आएका छन् ।

भौगोलिक विकटता, शून्य कृषि उत्पादन, चामल, भोकमरी र खडेरी, पुग्नै महिनौं लाग्ने कथा, यावत् यावत्...। तर, आजको बदलिँदो पर्यटन उद्योगको फड्कोले कर्णालीमा नयाँ साहु मात्रै जन्माएको छैन, जनसमुदायलाई आफ्ना कला, सिप र ज्ञानको प्रक्रियाको महत्त्व बुझ्नसमेत सघाएको छ । सदियौंदेखिको एकोहोरो कोकोहोलोलाई भंग गरेको छ । आज कर्णालीले परिचयका नयाँ वाक्यांश पाएको छ । जस्तो, हाइकिङ र ट्रेकिङको अपार सम्भावना बोकेको स्थान, कला–साहित्यको ऊर्वरभूमि, यार्सागुम्बा पाइने ठाउँ, अर्ग्यानिक कृषि र तरकारी हुने ठाउँ, स्याउ र सिमीका लागि प्रख्यात ठाउँ, आदिइत्यादि । दृष्टिकोण परिवर्तन गर्न यस्ताखाले पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् ।

‘मनोरञ्जन’ शीर्षकमा राखिएका दुई फोटाहरूमध्ये पहिलो फोटोमा कुनै गाउँमा महिलाले देउडा खेलिरहेका छन् र छेवैमा एक जना पुरुषले मादल बजाइरहेका छन् । त्यस्तै अर्को फोटोमा एउटा हुड्केले हुड्को बजाउनुको साटो खैंजडी बजाइरहेको देखिन्छ । यी दुई फोटाले समयको बदलिँदो रेखामा कर्णालीको बदालिँदो सांस्कृतिक पुनर्गठनको प्रक्रिया झल्काउँछन् । यसबाट समाजमा नयाँ कुराले पुरानो कुरालाई प्रतिस्थापन गर्दै छ भन्ने तथ्य झल्काउँछ । पुस्तकले कर्णालीमा परम्परागत ज्ञान, सिप, कला र संस्कृतिको अन्तरपुस्तैनी हस्तान्तरण प्रक्रिया विस्तारै गुम्दै गइरहेको प्रस्ट पार्छ ।

‘एन्थिनिसिटी ग्रुपस्’ शीर्षकको सायद मुगु र हुम्ला जिल्लाको दोसाँधको कुनै गाउँमा खिचिएको, फोटोमा परम्परागत र स्थानीय स्तरमै उत्पादित कपडाको भेषभूषामा सजिएकी एक महिलासँगै दुई साना बालकले बजारिया फेन्सी कपडा लगाएका छन् । ती महिला र बालकहरूले कर्णालीका फरक पुस्ताको प्रतिनिधित्व गर्छन् । यो फोटोले उत्पादनको आफ्नो संयन्त्र गुमाएर हामी बजारमुखी र परनिर्भर बन्न थालेको संकेत गर्छ । पुस्तकले १० वर्षे माओवादी ‘जनयुद्ध’ लाई पनि समेट्ने प्रयास गरेको छ । कर्णालीका जनतामा जनयुद्धप्रेम कति थियो ? कुन स्तरसम्ममा जनयुद्ध स्थानीयकरण भएको थियो ? बुझ्न ‘द पिपुल्स वार’ भन्ने शीर्षकमा समेटिएको एउटै फोटो हेरे पुग्छ, जसमा एक जना अधबैंसे महिलाले एक हातमा सुल्फा समातेकी छन् त अर्को हातले लालसलाम गरिरहेकी छन् ।

केहीको मत यो पनि छ कि ‘जनयुद्ध’ ले कैयौंको घरबार भत्कायो, कैयौंलाई विस्थाापित बनायो । तर, त्यही ‘जनयुद्ध’ ले सोझासाझा, गरिब, आदिवासी, जनजाति, दलित, महिलाजस्ता हजारौं वर्षदेखि राज्यद्वारा नै नियोजित रूपमा सिमान्तकरणमा पारेका समुदायलाई आफ्ना लागि आफैं लड्नुपर्छ भन्ने ‘महान् शिक्षा’ दिएको हो । ‘जनयुद्ध’ झल्काउने सहिद गेटहरू, पथ्थरमा कुदिएका हँसिया हथौडा अंकित झन्डाहरू, कयौं भित्ताहरूमा लेखिएका मन र शरीर दुवै हल्लाउने मार्क्सवादी नाराहरू अहिले पनि कर्णालीका कुनाकन्दरामा छरपस्ट देख्न सकिन्छ । भलै, अहिले परिस्थिति बदलिएको छ । ‘वर्ग संघर्ष’ अहिले ‘व्यापार संघर्ष’ बनेको छ । नेपाली ‘उच्च जातीय कमाउनिस्ट’ अहंकारले मार्क्सवादलाई आत्था बनाइरहेको छ । पुस्तकले कर्णालीमा व्याप्त जात व्यवस्था र यसको कुरूपताको छोटो चर्चा पनि गरेको छ । तर, धारणा बनाउन पर्याप्त छैन, जसमा कालीकोटको कुनै गाउँमा एक जना कथित माथिल्लो जातको मानिसले एक गिलास दूध कथित तल्लो जातको मानिसले समातेको गिलासमा नछोईकन खन्याइरहेको छ ।

न्यारेसनमा लेखकहरूले यसलाई पनि ठूलो परिवर्तनको संज्ञा दिँदै खुसी व्यक्त गरेका छन् । किनकि त्यसअघि त्यस ठाउँमा कुनै पनि बाहिरियाहरूलाई गाईको दूध किन्न दिइँदैनथ्यो, जसको मारमा समाज रूपान्तरणको नारासहित गएका गैरसरकारी संस्थाका हाकिमहरू पनि पर्थे । केही अपवादबाहेक आजसम्म कर्णालीका दलितका विषयमा लेखिएका सन्दर्भहरू पूराका पूरा भाग्यवादी चिन्तनबाट ग्रसित छन् । अझै पनि कर्णालीवासी नै भएर लेखेका योगी नरहरिनाथदेखि आजसम्मको कुनै पनि साहित्यमा यहाँका दलित र महिलालाई ब्युँझाउने प्रगतिशीलता देखिँदैन । पढेलेखेका यी ‘अबुझ’ हरूलाई पनि लाग्छ कि दलित र महिला भएर जन्मिनु भाग्य वा कर्मको फल हो । यही कर्मकै फल सम्झेर यहाँका दलितका कैयौं पुस्ता आफ्नो पुर्पुरोमा धारेहात बजार्दै विरहका गीत गाउन विवश भए–

कालिका लड्कन्या माछा कर्णालीका भेल फेर्नै नसकिन्या भैगो करिमका खेल खासमा कर्णालीका दलितमा यो मानसिकताको विकास हिन्दु धर्मीय भाग्यवादी चिन्तनले गरेको हो भन्नेमा दुईमत छैन, जुन अँध्यारो पाटोलाई च्यात्नै पर्छ ।

पुस्तकले सामान्यतः जात व्यवस्थाबाहिरको विभेदरहित समाज भनेर चिनिएको कर्णालीको लामा समुदायभित्र पनि छुवाछुत र विभेद उजागर गरेको छ । लामा समुदायका दलितलाई घारा भनिन्छ, जसले खसान क्षेत्रका दलितको भन्दा सयौं गुणा उत्पीडन सहेर बसेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी र प्राकृतिक सम्पदामा पूर्णतः बन्देज लगाइएको छ, जुन कुरामा जिल्ला सदरमुकाममा संघर्षरत दलित अगुवासमेत अनभिज्ञ छन् । थोरै जनसंख्याको त्यो समुदाय धन र बलले शक्तिशाली लामा वा भोटे समुदायसँग जुध्न सकेको छैन । उनीहरूको यो विभेदको कथा खसान दलितको जत्तिकै लामो हो या लामाहरूले पनि पछि हिन्दु तहगत जातीय संरचनाको देखासिकी गरेर हो ? अनुसन्धानको विषय छ ।

तलको कालीकोट पाचाल झरनादेखि माथिको यारी हिल्सासम्म, दख्खिनको सिंजा उपत्यकादेखि उत्तरको लिमी उपत्यकासम्म, बाजुराको कोल्टी बजारदेखि डोल्पाको भिजार गाउँसम्मका सानाभन्दा साना नानीदेखि बूढापाकाका फोटा लोभलाग्दा छन् । यो फोटो–किताबले कर्णालीभित्र रहेको कृषिप्रणाली, मौसम र हावापानी, जनसमुदायको लवाइखवाइ, धार्मिक तथा सांस्कृतिक परम्परागत सिप तथा ज्ञानको प्रणाली, चलिरहेको शैक्षिक परिवेश, स्थानीय उत्पादन र औद्योगिकता, वन तथा वातावरण र जनयुद्धको प्रभावलगायत धेरै विषय समेट्ने प्रयास गरेको छ । बहुआयामिक विषय समेटेको यो पुस्तक कर्णाली अध्ययन/अनुसन्धान गर्नेलाई सन्दर्भ सामग्री बन्न सक्छ ।

पुस्तकले सिंगो कर्णाली घुमाउँदा–घुमाउँदै पनि कुनै विशेष विषयमा गहिरो ज्ञान दिन भने चुक्यो भन्ने लाग्न सक्छ । कर्णालीसम्बन्धी लेखिएका अन्य पुस्तकजस्तै यो पनि कुनै एउटै विषयमा धारिलो तर्क र दृष्टिकोण पेस गर्न चुकेको छ ।

प्रकाशित : फाल्गुन २९, २०७७ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?