कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्ञानु : ५० वर्षअघि, ५० वर्षपछि !

त्रिपन्न वर्ष भइसकेछ पारिजात दिदीसँग भेट भा’को । आज दिदी हुनुहुन्न । स्थिति धेरै बदलिइसक्यो । मञ्जुल र मेरो मित्रता टुटेको पनि करिब ३३ वर्ष भइसकेछ । ज्ञानु र मलाई समयले बूढो बनाइसकेछ । पहिलेझैं चञ्चल थिएन ऊ ।
रामेश

टेबहालको एउटा कोठा । कोठा भाडा महिनाको ३५ रुपैयाँ । एक जनाको आयस्ताले नभ्याउने भएकाले तीन जना साथीहरू मिलेर लिएको । नयाँसडकछेउको डेरा । साँझ यसो न्युरोड घुमेपछि हाम्रो कोठामा सुस्ताउन आइपुग्थे किसिम किसिमका साथीहरू ।

ज्ञानु : ५० वर्षअघि, ५० वर्षपछि !

धेरै अल्लारे त गफै लडाउन मात्रै आउँथे । कोही भने पढ्न आएका सोझा विद्यार्थीजस्ता लाग्थे । कोही चैं धन कमाउन खेलोफड्को मार्न आएका चतुरेहरू । कोही बोल्दै नबोल्ने, कुरैमात्र सुनिरहने अनि एउटा चैं थियो– अरूले बोलेको कुरा कागजमा टिपेर मात्रै बसिरहने । कोही सतर्क हुँदै भन्थे, ‘हन, यो विद्यार्थी हो कि सीआईडी ? हाम्रो कुराहरू सरकारलाई बुझाएर तलबै पो खान्छ कि क्या हो यो हरामी !’ मलाई चैं किन हो त्यो बबुरोको माया लाग्थ्यो । बिचरा कागजमा लेखेको लेख्यै, टिपेको टिप्यै...!

एक जना साथी थियो, ऊ आएको अघि नै थाहा पाइने । भर्‍याङबाटै होहल्ला मच्चाउँदै आउने र खल्तीमा भएका अनेकखाले कागजका टुक्राहरूबाट एउटा छानेर सुनाउन थालिहाल्ने । ऊ भन्थ्यो, ‘यो चैं मेरो नयाँ कविता ।’ सुन्न नचाहनेलाई ऊ गाली गरेरै भए पनि आफ्नो कविता सुनाएरै छाड्ने । ध्यान दिएर सुन्नेहरू भेटे झन् सुरिँदै सुरिँदै वाचन गर्न थाल्ने । सुन्दै जाँदा उसको कविताको भावले कताकता मन छुँदै लगेको आभास हुन्थ्यो मलाई । तर, उसलाई त्यसको रत्तिभर पर्वाह थिएन । कविता सुनाउन पाए पुग्यो । आफ्नो मात्रै कविता सुनाउने हो र, अरूका राम्रा, मीठा कविता पनि गोजीभरि बोकेर हिँड्ने र मौका पाउनेबित्तिकै सुनाउन थालिहाल्ने । त्यसमध्ये भोजपुरतिरबाट काठमाण्डू पसेको एउटा कवि–केटोको कविता पनि खुबै रस लिईलिई सुनाउँथ्यो ऊ । कहिलेकाहीँ त कागजै नहेरी कण्ठै सुनाउँथ्यो उसको कविता † खप्न नसकेर एक दिन त मैले त्यो कविको नाम सोधेरै छाडें । ‘नाम चैं मेघराज भन्छ, कवितामा चैं उसले मञ्जुल भनेर लेख्छ । गीत पनि पो लेख्छ त्यल्ले त...†’ उदेक मान्दै भन्थ्यो ज्ञानु ।

कहिलेकाहीँ उसका गीतका हरफहरू आफ्नै ढंगको लयमा सुनाउँथ्यो । उसको मनबाट निस्केको त्यो लय सुनेर म मनमनै हाँस्थें । जे होस् मान्छे चैं थियो फूर्तिलो र रहरलाग्दो । ऊ आयो कि कोठै उज्यालो हुने । अरूलाई गाली गर्न पनि जान्ने, आफूलाई कसैले गाली गर्‍यो भने पनि किञ्चित पर्वाह नगर्ने । कविता पनि कहिलेकाहीँ त कोठैभित्र फुर्ने अनि फर्रर सुनाउन थालिहाल्ने । कहिलेकाहीँ त ज्ञानु कवि मात्रै हुन जन्मेको हो कि झैं लाग्थ्यो मलाई ।

०२२–२३ तिरको समय । काठमाण्डूको असह्य जाडो । चिसो पानी टाउकोमा पर्दा टाउकै फुट्लाजस्तो हुने, छालाको मासु नै मर्ने । कुनैबेला ऊ बिहानै आएर हामीलाई हुट्हुटी लाउँदै नजिकैको सुन्धारातिर लिएर जान्थ्यो । भन्थ्यो, ‘केटा हो, कलको पानीले नुहाउँदा ज्यान जान बेर छैन । मूलको पानीमा नुहाउन हिँड् । जाडो भए कविता भट्याउँदै नुहाउलास्, जाडो भाको थाहै हुन्न ।’ ज्ञानु जाडो भगाउने तरिका पनि सम्झाउँथ्यो । आँसु–कविजस्तो पनि थियो । त्यस बिहान पनि सुन्धारामा हल्ला गर्दै नुहाउने तरखरमा थियौं । उसको मनमा कविता फुरिहालेछ । धरहरातिर हेर्दै सुनाउन थालिहाल्यो– धरहराकै कविता । छेउकै ब्यारेकबाट नुहाउन आएका सिपाहीहरू पनि मुसुमसु हाँस्दै कविता सुन्न थाले । कवितामा उसले धरहरालाई ‘काठमाण्डूको भाले चिह्न’ भनेर सम्बोधन गरेको थियो । हाँस्दा–हाँस्दा अररो भएर झन्डै ढलिएन ।

अति फरासिलो साथी ऊ । पूरा नाम ज्ञान उदास । ओखलढुंगाबाट गायक–कलाकार हुने सोखले हामी राजधानी पसेजस्तै चैनपुरवाट कवि–मन लिएर ऊ पनि काठमाण्डू छिरेको रहेछ । लाग्थ्यो, सफल कवि भएर कविताको इतिहासमा एउटा अविस्मरणीय नाम दर्ज गराउने ऊसँग एउटा भव्य सपना छ । हृष्टपुष्ट शरीर, नेपाली उचाइको ज्यान । ‘यस्तो रहरलाग्दो ज्यान कुन केटीको भाग्यमा जुर्ने हो,’ कल्पिदै भन्थ्यो ज्ञानु अनि आफूलाई मनपर्ने मैंयालाई सपनामा मीठो–मीठो कविता सुनाएको कुरा रसिलो पारामा वर्णन गर्थ्यो । ‘तर सपनाको मैयाको त्यो हिस्सी परेको अनुहार चैं मैले पूरै बिर्सें यार,’ हैरान भएर भन्थ्यो । आफू नहाँसी सबैलाई हँसाउन जान्ने ऊ ।

मञ्जुलको कोठामा पनि ज्ञानुले मेरो तारिफ लाएर खुबै कुरा गर्दो रहेछ । ‘हन हौ, पूर्वका लोकगीतहरू रेडियोबाट छरेर अचम्मै पो गरेका छन् त तिनीहरूले ! हेर्दा नपत्याउँदा लाग्छन् तर तिनका गीत भनेपछि हुरुक्कै हुने कति छन् कति ! के गर्नु र, गाउँ–बजारवाट आएका ती लाटासोझा बिचराहरूलाई आफ्ना बारेका यस्तो कुरा क्यै थाहै छैन ! भेडाजस्तो एकोहोरिएर रेडियोबाट गाएको छ छ !’ धेरै पटकको तारिफ सुनेपछि मञ्जुल पनि मसँग परिचय गर्न लोभिएछ । जहिले पनि ज्ञानुले ‘पख है त’ भन्ने तर भेट गराउने संजोग चै जुर्दै नजुर्ने ! असारको याम, झमझम पानी परिरहेका बेला न्युरोड गेटबाट टेबहाल छिर्ने बाटोमा ज्ञानुसँग भेट भयो । ‘कता हो यस्तो पानीमा ?’ ज्ञानुले भन्दा नभन्दै एक जना अर्को केटो पनि अचानक त्यहीं आइपुग्यो । यत्रो आँखाले अचम्म मान्दै ज्ञानुले भन्यो, ‘लौ आज दुई जनाको भेट आफैँ भयो, मैले भेटाउनै परेन ।’ मञ्जुल र मेरो भेट–परिचय यसरी भयो काठमाण्डूमा । चिनाजानी गराउने उही थियो– पूर्वचैनपुरको फरासिला कवि साथी ज्ञान उदास !

मञ्जुल र म आत्मीय साथी भयौं । मेरो मनको गीत लेख्ने गीतकार साथी थियो ऊ अनि उसको गीतमा लयभर्नेे संगीतकार साथी म । आफ्नो गीतलाई संगीतमा सुन्दा खुसी हुन्थ्यो मञ्जुल, उसको गीतमा संगीत रचना गर्दा गदगद हुन्थेँ म । नियमित भेट हुन थाल्यो । गीत–संगीतको समुद्रभित्र हेलियौं हामी !

साँझ एक फन्को न्युरोडतिर चक्कर काटेपछि ज्ञानु हाम्रो कोठामा छिर्थ्यो छिर्थ्यो । अनि सुरु गर्थ्यो कविहरूका कुरा, कविताहरूका बयान, गोष्ठीका खबरहरू । नयाँ, पुराना कविहरूको तुलनात्मक चर्चा गर्न माहिर थियो । उसले राम्रा–नराम्रा कवि र कविताको समीक्षा गरिरहँदा वाल्ल परेर सुन्नेमा म पनि एक हुन्थें । नारी कवयित्रीका कुरा गर्दा उसको मन बिछट्टै खुसी भएको प्रस्टै थाहा हुन्थ्यो । ‘हन हौ, कवयित्रीहरू भएको गोष्ठीको मजै अर्को ! लोग्ने मान्छेहरूको धोद्रो स्वर सुन्दासुन्दा थाकेका बेला नारी स्वरमा मधुर कविता सुन्दा बेहोस हुन लागेको मान्छे बौरे जस्तो पो हुने त हौ !’ कवि केदारमान व्यथितको जन्डो कविता सुनेर आएको कुरा गथ्र्यो कहिले । कहिले नीरविक्रम प्यासीको सुरो कविताको वर्णन गथ्र्यो । ‘वासु शशीको कवितामा ज्यान छ यार’ भन्थ्यो त, प्रेमा शाहको रूप र कविताको तारिफ गरेरै थाक्दैनथ्यो । नबुझ्ने खाले अमूर्त कवितालाई कवितै नमान्ने ऊ जंगिँदै भन्थ्यो, ‘नाम चलेर मात्र हुन्छ ? नाम त गुन्डाको पनि चल्छ । आफैँले लेखेको कविता आफैं नबुझ्ने कवि के कवि ? त्यस्तो कविता के कविता ?’ अनि नरम भाषामा बोल्न सुरु गर्थ्यो, ‘भूपिजस्तो कवि मात्र सायद सधैं बाँचिरहला । सबैले बुझ्ने भाषामा, सबैको मनका कुरा लेख्ने, बोल्दिने...।’ ज्ञानुको कुराले धेरै सिकायो मलाई । कविताको मर्म र महत्त्व बुझायो । ‘पारिजातले त्यसै मदन पुरस्कार पाएको हैन नि हौ । उनको गद्य पनि कविताजस्तो । एक पटक पढेर नहुने, जति दोहोर्‍यायो उति मर्म र स्वाद फुक्दैफुक्दै आउने ।’ ‘शिरीषको फूल’ मा शंकर लामिछानेले लेखेको लामो भूमिका बारे पनि मज्जैले बोल्थ्यो ऊ । सबैका कविताबारे कुराहरू गरेपछि आफ्नो बारे पनि बोल्थ्यो ज्ञानु, ‘कसैले राम्रो भनोस्–नभनोस् आफू त कविता लेख्न छाडिँदैन । तारिफ पाउन मात्र लेख्नेलाई म त कवि पनि मान्दिनँ । मनबाट भावना उम्लेर जब फुट्न थाल्छ अनि पो बन्छ कविता । सबैलाई मनपर्ने कविता त संसारमा कसैले लेख्न सक्दैन ।’

रायन, अरिम र मैले रेडियो नेपालविरुद्ध मुद्दा दिइसकेका थियौं । हाम्रो गीतको पारिश्रमिक राष्ट्र बैंकबाट रेडियोका कर्मचारीमध्ये कसैले किर्ते गरेर लैजाँदो रहेछ । सबुतप्रमाणसहित भ्रष्टाचार विभागमा मुद्दा दर्ता गरेपछि हामी रेडियो नेपालको शत्रु भइसकेका थियौं । हामीलाई गीत गाउने ढोका बन्द भइसकेको थियो । अनेकखाले धम्किले आतंकित बनाइरहेको थियो । ओखलढुंगा फर्कनुबाहेक अर्को विकल्प थिएन । ओइलिएको बिरुवाजस्तै थियो हाम्रो अवस्था ।

डेरा सरेर जहाँ पुगे पनि ज्ञानु खोजीखोजी आइपुग्थ्यो हाम्रो कोठामा । त्यस दिन पनि ऊ कताकताबाट आइपुग्यो र आफ्नै तालमा भन्यो, ‘ए, तिमीहरूलाई पारिजातले भेट्न खोजेको छ है ।’ हामीजस्तो पहाडे निमुखा केटाहरूलाई त्यस्तो नाम चलेकी मान्छेले मन पराएर बोलाएको कुरा पत्याएनौं । वास्तै गरेनौं । उसै हामीलाई उल्याउन हावा कुरा भन्देको होला !

केही दिनपछि फेरि साँझतिर आएर ज्ञानुले भन्यो, ‘एइ, तिमीहरूले नपत्याएको ? पूर्वका लोकगीत गाउने तिमीहरूलाई खोजेको खोज्यै छ त । हिजै मात्रै म आफैँ पारिजातकहाँ गएर आ’को । मैले चिनेको छु भन्दा खुसी भइन् । लु हिँड, पारिजातलाई भेट्न ।’ जीउ अप्ठयारो, लुलो भएजस्तो भयो । जानै मन लागेन । पछि जाने कुरा गरेर त्यो दिन टार्‍यौं हामीले । अर्काेपल्ट चैं दिउँसै आएर ‘आजचैं पारिजातकाँ लाने लाने’ भनेर धर्नाढुक् दियो । ‘जस्तो होला, जे पर्लापर्ला’ भन्दै दिन ढल्केपछि ज्ञानुको पछि लाग्यौं । पुतलीसडकछेउको घरभित्र पसायो । एक तला चढेर सानो कोठाभित्र पुग्नेबित्तिकै ज्ञानुले बाहिरैवाट भन्यो, ‘लौ ल्याएँ है लोकगीत गाउने केटाहरूलाई ।’ भित्र पसेपछि पारिजात दिदीले हामीतिर हेर्दै सानो स्वरमा भन्नुभो, ‘तिमीहरू नै हौ पूर्वेली लोकगीतहरू गाउने ? खुसी लाग्यो ।’

उभिन, हिँड्न नसकिने खाटमाथि घुँडा खुम्च्याएर बस्नुभएको थियो पारिजात दिदी । इच्छा भएर पनि बोल्न नसक्ने, कताकता हराएझैं । मनभरि दुखैदु:ख, पीडैपीडा भरिएजस्तो । त्यत्रो नाम चलेको मान्छे यस्तो दु:खमा ! साह्रै नमज्जा लाग्यो । एकछिन्मा अफिसबाट सुकन्या दिदी पनि आइपुग्नुभयो । ज्ञानुले हाम्रो परिचय दिइसकेपछि सुकन्या दिदी बोल्नुभो, ‘कहिलेदेखि खोजेको हो त दिदीले । हेर दिदी बिरामी छ । यस्तो बेला पनि ट्रान्जिस्टरबाट तिमीहरूको गीत सुन्दा दिदी कम्ता रमाउँदैन त !’ बिदा हुने बेला पारिजात दिदीले भन्नुभयो ‘बेलाबेलामा आइराख है ।’

५३ वर्ष भइसकेछ पारिजात दिदीसँग भेट भा’को । आज दिदी हुनुहुन्न । हँसिली, फरासिली सुकन्या दिदी पनि धेरै बोल्नुहुन्न । स्थिति धेरै बदलिइसक्यो । मञ्जुल र मेरो मित्रता टुटेको पनि करिब ३३ वर्ष भइसकेछ । साथीहरू भन्नुहुन्छ, ‘त्यतिका जीवन बिताइसक्यौ आफ्ना अनुभव केही त लेख । पछिकाले पढ्लान्, बुझ्लान् ।’ नभन्दै मैले केही लेखेँ । छापिएछ पनि । त्यही लेख पढेर एक दिन मलाई खोज्दैखोज्दै ज्ञान उदास आइपुगेछ । आत्मीय हात मिलायौं । दुवैलाई समयले बूढो बनाइसकेछ । ‘हन हौ, मैले त सोचेकै थिइनँ मञ्जुल र पारिजातलाई चिनाइदिएर मैले ठूलो काम गरेको भनेर तपाईंले लेख्नुभएछ । म त खुसीले अटेसमटेस भएर थाम्न नसकेपछि खोजीखोजी भेट्न पो आएँ त !’

पहिलेझैं चञ्चल थिएन ज्ञानु । पत्नी र छोराछोरीका जिम्मेवार अभिभावक थियो । ‘तपाईं’ भनेर सम्बोधन गरिएको औपचारिक भाषाले नै हामीलाई टाढा पारेको अनुभव भयो । सायद ‘तिमी’ भनेको भए पहिलाझैं स्वाभाविकता अनुभव हुन्थ्यो ! निरन्तर सक्रिय थियो उसको कविजीवन । प्यारा छोराछोरीसँग आत्मीय परिचय गराएजस्तै आफ्ना प्रकाशित कविताका पुस्तक मेरो हातमा थमाउँदै भन्यो, ‘यी पनि मेरा छोराछोरी...!’ बाहिर त सामान्य नै थिएँ, तर मेरो भित्री मन भावुक बनेको थियो । कता–कता मनभित्र आँसु भरिएजस्तो भयो ।

ज्ञानु बिदा भएर गयो । ऊ गएपछि मेरो मन कता–कता हराइरह्यो । ज्ञानुले परिचय नगराएको भए मञ्जुल र मैले त्यतिका सुन्दर रचना कसरी सिर्जना गर्न सक्थ्यौं ! चेतनाका बीउहरू लिएर देशभरिका जनतामा कसरी जान सक्थ्यौं ! बाधक सामन्तीसत्ता ढाल्न जनतासँग त्यसरी एकाकार हुन कसरी सम्भव हुन्थ्यो ! उसले पारिजात दिदीसँग भेट नगराएको भए ‘राल्फा’ कसरी जन्मन सक्थ्यो ! ‘राल्फा’ का विद्रोही गीत–संगीत, साहित्य अनि ‘संकल्प’ का प्रगतिशील गीतले नेपालको राजनैतिक परिवर्तनका लागि त्यति अहं भूमिका कसरी खेल्न सक्थ्यो ! ओहो ! चराले ल्याएको सानो बीज ठीक ठाउँमा पर्दा कसरी त्यो घनाबोट भएर फैलिन सक्दो रहेछ...! बाइस–तेइस सालतिरको चञ्चल ज्ञानुको सम्झनामा धेरैबेर हराइरहेँ...!

(शनिबार प्रकाशन हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : फाल्गुन २८, २०७७ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?