गलत कायामा अड्केको मान्छे !

लिंग फेर्ने औडाहाको जबर्दस्त आँधी छातीभित्र थुनेर अर्थाभावका कारण बलवान् समयको सारथि बन्न बाध्य वीर–वीरांगनाहरुलाई सहानुभूतियुक्त सलाम !
विश्व रंगमञ्चमा ट्रान्ससेक्सुअल मानिसले इच्छाएको सेक्स–चेन्ज अप्रेसन पहिलोपटक नेदरल्यान्ड्समा सन् १९५९ देखि १९६० सम्ममा पटक–पटक गरेर सम्पन्न भएको थियो । र, यो दोस्रो विश्वयुद्धपश्चात्को कुरो थियो ।
कल्पना बान्तवा

विभिन्न मन्दिरहरूका प्रांगणमा, सन्चोले चारा टिपेर भुर्रर उडिहिँड्ने परेवालाई एकाएक अँठ्याएर उड्न नदिँदा कस्तो अनुभव गर्दो हो बिचरा त्यो ! वनमा खाइखेली हुर्किरहेका चरालाई पक्रिएर ल्याई पिँजडामा थुनेर बजारमा बिक्रीका लागि राखिएको देखिन्छ, स्वतन्त्रता गुमाएर पराधीन बनेका ती निरीह पन्छीलाई कैदमा कुँजिँदा कति छटपटी हुँदो हो !

गलत कायामा अड्केको मान्छे !

ट्रान्ससेक्सुअल मानिस पनि आफूलाई ठ्याक्कै यस्तै पराधीन पन्छीझैं दुःखी आत्मा मानेर सदैव दिग्दार भइरहन्छन् । फिटिक्कै नचाहेको शरीरमा जबर्जस्ती अड्कँदाको अप्ठ्यारो तीव्र महसुस भैरहन्छ । एउटा विपरीतलिंगको शरीरमा फसेको असन्तुष्ट मनसहित बाँचिरहेका हुन्छन् उनीहरू !

वरत्र जस्तोसुकै होस् परत्र बबाल हुने भरोसामा धेरै छोरी जन्माइसकेर पनि छोरा जन्माउने भगीरथ प्रयासमा हरिवंश पुराण लगाउन पछि नपर्ने मातापिता, बालबच्चाको लालनपालन र तिनको उज्ज्वल भविष्यका खातिर अथाह मायाममतासाथै जिन्दगीभर पसिना बगाएर कमाएको जायजेथा हाँसीहाँसी सन्तानका नाउँमा सुम्पिदिनेले बाबुआमाको पवित्र गौरव–गाथालाई अघि लाइरहेका हुन्छन् । तर, यिनै वृद्धावस्थालाई प्राप्त मातापिताको हेरविचार/स्याहारसुसार गर्न समय नहुने र एकछिन् नजिक बसेर आमाबाबुको मनको बह बिसाउने चौतारी बन्न नसक्ने छोराछोरीको संख्या पनि बढ्दो छ ! यसरी अपहेलना खेपिरहेका अशक्त, रोगी र पराश्रित आमाबाबु वरपर बग्रेल्ती देखेर पनि, अपुतो हुँदा आफन्त–पराई सबैका हेपाहा आँखाको तारो भइन्छ, मृत्युपश्चात् छोराले भाग छुट्याइदिएको पिण्ड खाने र वैतरणी तर्न समाउने गाईको पुच्छरका लागि गौदान गरिदिने छोरा पाउने लालसामा, गर्भ रहेलगत्तै एमनियोसिन्टेसिस् गरेर अथवा बाह्र हप्तापछि अल्ट्रासाउन्ड गरेर गर्भमा छोरी रहेको पत्तो पाउनासाथ भ्रूणहत्या गर्न अघिसरा हुने दम्पती... ।

माथि उल्लिखित साराका सारा बाबुआमाले अग्घोर इच्छा गरेर हरबखत सपना–जपनामा चित्त लगाएको एक मात्र जिनिस के हो भने, कटीप्रदेशमा झुन्डिएका दुई अण्डकोष तथा एक लिंग धारण गरेको पुरुष नामधारी उत्तराधिकारीको प्राप्ति !

तर, सँगसँगै अचम्मको कुरा यो छ कि जन्मनासाथ हर्ष र गर्वले आँसुसरि हुँदै बाबुआमाले चुप्पा खाएको नवजात छोराको त्यो लिंग र अण्डकोष त एउटी ट्रान्सजेन्डर नारीका निम्ति ‘भिल्लको देशमा कौडी’ बराबरको हुँदो रहेछ ! कौडीभन्दा पनि काउसोजस्तो !कौडी त लौ ! कुनै कुनामा मिल्काइदिराख्दा पनि हुन्छ, तर काउसो त जीउबाट पन्छाएको धेरै बेर भइसक्दा पनि उखरमाउलो हुनेगरी ज्यान चिलाइरहन्छ, सकसकाइरहन्छ । ट्रान्सजेन्डर नारीका लागि, इस्कुसजस्तो तर्ल्याङतुर्लुङ ताल न सुरसँग अस्तित्वमा झुन्डिरहेको जिलीगाँठी नै भइदिँदोरहेछ मर्दको सानको रूपमा चिनिएको त्यो अंग त !

त्यसैले होला, टेक्सास अमेरिकाकी नौ वर्षीया ट्रान्सजेन्डर बालिका काई स्याप्ली, आमा किम्बलेले ‘यु गा’ट पिनस एन यु नेभर सो एनिबडी ! यु आर हाइनिङ...’ भन्दा बालसुलभ मुद्रामा बेस्मारी लजाउँछिन् । पुरातनवादी इसाई आमा किम्बलेले छोराको रूपमा जन्मिए पनि छोरी भएर बाँच्ने उसको इच्छाबमोजिम सात वर्षीया काईको स्वाभाविक लैंगिक अधिकारको संरक्षण हुनुपर्ने माग उठाइरहिन् । स्कुलमा पनि आवश्यकताअनुसार शौचालय सुविधाको चाँजोपाँजो मिलाइयोस् तथा आफ्नो अस्तित्वबारे खिसीट्युरी नगरियोस् भन्ने काईको तीव्र चाहनाको यथोचित सम्मान हुनुपर्छ भन्ने अभियानमा लागिपरेकी उनको गतिविधिलाई स्थानीय अखबार र अनलाइन खबरहरूले शीर्ष स्थानमा छापिरहे । बालक सन्तानको लैंगिक पहिचानको मुद्दा सजिलो विषय हुँदै होइन भनेर स्विकारेकी किम्बले भन्छिन्, ‘मानिसका मनमस्तिष्क परिवर्तन हुने आशामा ट्रान्सजेन्डर जन्मेको मेरो बच्चाको खातिर यो संघर्षपूर्ण यात्रा अरूसँग बाँड्न चाहिरहेकी छु... ।’

किम्बलेको यो हृदयस्पर्शी कदमले दुरुस्त उस्तै समस्या भोगिरहेका तमाम अभिभावकका हृदय छुन सफल भयो र उनी अधिकांश बाबुआमाका प्रेरणा बनिरहिन् । ट्रान्सजेन्डर छोरीका लागि आवाज बुलन्द गरेर अनवरत लडिरहेकी किम्बलेको सत्प्रयासले तिनताका टेक्सास मजैले थर्कियो । यो सब देख्दा–सुन्दा लाग्छ, ठूली भएर कमाउने भएपछि काईले पक्कै आफूले भिरिरहन परेका ती बेकारका पुरुष जनेन्द्रियहरू अप्रेसन गरेर जीउबाट पन्छाउनेछिन् ! हाम्रै मुलुकका एक ख्यातिप्राप्त अभिनेताकी छोरीले पनि आफूले नचाहेका ती यौनांग विदेशमा गएर अप्रेसनद्वारा हटाइसकिन् । अन्तर्राष्ट्रिय परिदृश्यमा सुपरिचित नाउँ बनाइसकेका दुई प्रख्यात नेपाली ट्रान्सजेन्डर महिला मोडलले पनि पुरुष जनेन्द्रिय फालेर हार्मोनथेरापीद्वारा आफूलाई शारीरिक रूपमा लगभग पूर्ण महिला बनाइसके ! अझै कति ट्रान्सजेन्डर नारीहरू अर्थाभावका कारण आफ्नो चाहना पूरा गर्न सकिरहेका छैनन् ।

विश्व रंगमञ्चमा ट्रान्ससेक्सुअल मानिसले इच्छाएको सेक्स–चेन्ज अप्रेसन पहिलोपटक नेदरल्यान्ड्समा सन् १९५९ देखि १९६० सम्ममा पटक–पटक गरेर सम्पन्न भएको थियो । र, यो दोस्रो विश्वयुद्धपश्चात्को कुरो थियो । एक अमेरिकन नागरिक क्रिस्टिन जोगन्सन् (मे ३०, १९२६–मे ३, १९८९) को प्रथम सेक्स रिअसाइनमेन्ट सर्जरीद्वारा महिलाबाट पुरुष बनेको ट्रान्सजेन्डरको रूपमा युनाइटेड स्टेटमा उतिखेर व्यापक परिचय बन्यो । यो अप्रेसनमा एउटा लिंगको निर्माण गरेर क्रिस्टिनको शरीरमा प्रत्यारोपण गरिएको थियो, जसलाई ‘तथाकथित्

फ्यालोप्लास्टी’ वा ‘फ्यालोप्लास्टी भनाउँदो अप्रेसन’ भनियो । न्युयोर्क सहरमा हुर्केकी क्रिस्टिन, सन् १९४५ मा हाइस्कुलको पढाइ सक्नासाथ दोस्रो विश्वयुद्धमा यूएस सैनिक बनेर लडिन् । सैन्य सेवापश्चात् केही स्कुलहरूमा काम गर्दै गर्दा सेक्स रिअसाइनमेन्ट सर्जरीबारे थाहा पाएपछि उनले युरोपको यात्रा गरिन् र त्यहाँबाट सो अप्रेसनका लागि विशेष अनुमति प्राप्त गरिन् । अनि नेदरल्यान्ड्समा गरिएको अप्रेसनद्वारा उनी पुरुषमा रूपान्तरित भइन् । तत्पश्चात् जोगन्सन् पूर्णरूपेण सन्तोषको जिन्दगी अनुभूत गरेर बाँचे ।

ट्रान्ससेक्सुअल मानिसमा आफ्नो जन्मजात लिंगविरुद्ध यो हदसम्म द्वेष हुन्छ कि सामर्थ्यले भ्याएसम्म उनीहरू लिंग परिवर्तन गर्न हरहमेसा तयार रहन्छन् । सेक्स रिअसाइनमेन्ट सर्जरी र हार्मोनथेरापीको माध्यमबाट जोकोही ट्रान्ससेक्सुअल व्यक्तिले आफ्नो लिंग परिवर्तन गर्न सक्छन् ।

समलिंगी, तेस्रोलिंगी, यौन शंकर–भाव शंकर, ट्रान्ससेक्सुअल वा किन्नर एकै हुन् ? जस्ता अलमललाई पहिला त आफ्नो बुझाइको आधारमा पोलिटिकल्ली करेक्ट गर्न चाहन्छु किनकि यस्ता संवेदनशील विषयमा अत्यन्त सचेत ठान्ने हामीबाट हेलचेक्र्याइँ हुनु हुँदैन भन्ने लाग्छ मलाई ! माथि परेका नाउँहरू सबै एकै होइनन् ! थर्ड जेन्डर अथवा तेस्रोलिंगीभित्र ट्रान्ससेक्सुअल र ट्रान्सजेन्डर (किन्नर) पर्छन् । न महिलाको न पुरुषको, अथवा दुवैको झैं देखिने अस्पष्ट यौनांगसहित जन्मिएका किन्नरहरूको व्यवहार र यौनतुष्टि व्यक्तिअनुसार फरक हुन्छ । ट्रान्ससेक्सुअलहरू रतिरागको मामिलामा विपरीतलिंगीप्रति कडा आकर्षण र अनुराग महसुस गर्छन् । समलिंगीमाझ चाहिँ प्रणय र यौनआनन्दका कुरामा रमाउन र आत्मसन्तुष्टि पाउन पुरुषलाई पुरुषै र महिलालाई महिला नै चाहिन्छ ।

संसारभर छरिएर रहेका अल्पसंख्यक तेस्रोलिंगी र समलिंगीको सन्दर्भमा तेस्रोलिंगी अथवा किन्नरहरूको संख्या उच्च र पकड बलियो देखिन्छ । हिन्दु मिथप्रतिको श्रद्धा र विश्वासका कारण भारतमा किन्नरहरूको पहुँच ज्यास्ती मानिन्छ । त्यसैले त्यहाँ, यौनिक अल्पसंख्यकको रूपमा रहेका तेस्रोलिंगीको गहकिलो सामाजिक पक्ष पनि छ । विभिन्न चाडपर्व वा संस्कारमा उनीहरूलाई बोलाएर नाचगान गर्न लगाएर उनीहरूको आशीर्वाद लिने चलन छ र उनीहरूले दिने श्राप लाग्छ भन्ने विश्वास पनि छ । ‘हिजडा’ नाउँले पुकारिने तेस्रोलिंगीको जीवनशैली, उनीहरूको प्रेम र समाजमा उनीहरूको हैसियत भारतमा उल्लेखनीय भेटिन्छ । अल्पसंख्यक तेस्रोलिंगी, समलिंगीको सम्मान र अधिकारका लागि देश–काल बुझेका हामीले जगत्मा महिला र पुरुषमा मात्र मानव जाति विभक्त छैन, तेस्रोलिंगी र समलिंगी पनि त्यो जातिमा समाविष्ट छन् भन्ने तथ्य जान्न ! स्विकार्न आवश्यक भइसकेको छ । किन्नर, जो महिला वा पुरुष दुवै होइनन् अथवा दुवै हुन्, उनीहरूको र समलिंगीको अस्तित्वलाई सदैव बोली र व्यवहारमा कायम राख्न जरुरी देखिन्छ । उनीहरूप्रतिको लैंगिक विभेद अबको सचेत समाजमा अमान्य भइसकेको छ ।

महाभारतमा ‘शिखण्डी’ को उदय हुनुअघि नै रामायणमा किन्नरहरू अस्तित्वमा आइसकेका थिए । तुलसीदासकृत रामायणमा उल्लेख छ— राम वनवास प्रस्थान गर्दा अयोध्याका नागरिकले पम्पाको तटसम्म पछिपछि आएर रामलाई अयोध्या फर्कन आग्रह गरे । तर, रामले पिता–आज्ञा मान्ने संकल्प लिइसकेकाले आफू चौध वर्षपछि मात्र फर्कने बताउँदै, सबै स्त्री तथा पुरुषलाई आ–आफ्नो घर फर्कन अनुरोध गरे र वनतर्फ लागे । ग्रामवासीको समूहमा स्त्री, पुरुषसँगै किन्नर पनि थिए— स्त्री र पुरुष फर्किए, किन्नर त्यहीँ बसे । वनबासबाट फर्कंदा सोही ठाउँमा चौध वर्षदेखि आफ्नो प्रतीक्षा गरिरहेका किन्नरहरू भेट्दा राम चकित हुन्छन् । साथै, स्वस्थानी र अन्य धार्मिक कथाहरूमा पनि देव, दानव, मानव, नाग, यक्ष र गन्धर्वसँगै ‘किन्नर’ नामधारी तेस्रोलिंगी मानवबारे हामी धेरैले पढेका छौं । पुराणकथामा वर्णित ती शिखण्डी र किन्नरहरूको सामाजिक पहिचान उसबेला स्तुत्य थियो ।

पुराण र धर्मग्रन्थमा मात्र उल्लिखित नभएर यो कालखण्डको जिउँदो इतिहास खोतल्दै जाँदा आफ्नो संविधानको १४औं संशोधन (१८६८) मा युनाइटेड स्टेटले समलैंगिकतालाई अनुमोदन गरेको पाइन्छ भने, ‘ट्रान्ससेक्सुअल’ शब्द प्रथमपटक १९२३ मा लागू गरेको देखिन्छ र १९४९ मा हार्मोनथेरापीको सुरुवात भएको छ ।

हजारौं वर्षअघिदेखि अस्तित्वमा रहेको देखाएको र ‘अमेरिकामा तेस्रोलिंगी मानिसहरूको इतिहास’ नामक लेखमा सन् १६०० को प्रारम्भसम्ममा तत्कालीन विश्वको एउटा भूभाग जसलाई अहिले यूएसए भनिन्छ, मा युरोपियन सम्पर्कमा जानुपहिले त्यहाँका केही स्थानीय आदिवासीहरूमा तेस्रोलिंगी मानिस पनि थिए भन्ने अभिलेख छ । ती तेस्रोलिंगी मानिसको सामाजिक व्यवहार ! दायित्व एक आदिवासी समूहदेखि अर्को समूहमा फरक फरक थियो । उनीहरू जन्मले निर्धारण गरेअनुसारको पहिरन लगाउने र बेग्लैखाले जीवन बाँच्थे । अमेरिकन इतिहास र संस्कृतिको पक्षमा पनि उनीहरूको योगदान रह्यो भन्ने उल्लेख छ ।

ट्रान्ससेक्सुअल मानिसहरू पुरुषवादी अथवा महिलावादी विचारको रनाहामा हरघडी उत्प्रेरित तथा चलायमान रहन्छन् । ट्रान्ससेक्सुआलिटी सबै स्तनधारी प्रजातिमा हुन्छ भनिन्छ, तर ती ट्रान्ससेक्सुअल स्तनधारीहरूमा यो भाव एकतर्फी हुन्छ, पोथी स्वभाव र व्यवहारबाट भाले स्वभाव र व्यवहारतर्फ उन्मुख ! र, यो ट्रान्ससेक्सुआलिटी भन्ने मानसिकता व्यक्तिविशेषले एक्कासि चाहँदैमा

फ्याट्ट मनमा उब्जने इच्छाका कारण हुने होइन । शोधखोजले देखाएअनुरूप यसो हुनुमा विकासशील भ्रूणको स्नायु कोशिकाको हार्मोनल विकृति या परिवर्तन कारक हुन्छ । त्यसैले यस्ता मनोभाव व्यक्तिविशेष स्वयंले चाहेर सिर्जेको अवस्था मानेर उनीहरूलाई जिम्मेवार ठान्ने प्रवृत्ति सर्वथा अनुचित देखिन्छ । पारलैंगिकता वा भावशंकरता वा यौनशंकरता शब्द, लिंग परिवर्तन गर्ने चाहना बुझाउन प्रयोगमा ल्याइन्छ ।

तुलनात्मक रूपमा गन्तीमा कम रहेर विश्वभर छरिएर जीविकोपार्जन गरिरहेका फरक यौनिकताका यी मानवलाई जानीजानी अनादर गर्ने कार्य अक्षम्य हो भन्ने बोध आफूमा निहित रहेको पाउँदा खुसी लाग्छ । तर, ‘लोग्नेमान्छे भएर रुन हुन्न रे’ गाउने गीतांगे जमातमा लहैलहैको एउटा आधारहीन विश्वासले जरा गाडेको छ कि महिलामा मात्र– अथवा तेस्रोलिंगी वा समलिंगी नारी पात्रमा मात्र दुःख, पीर र पीडाको घडीमा अत्यन्त विचलित हुने ग्रन्थी सक्रिय रहन्छ भन्ने ! तर, यो सोचलाई मानिसअनुसार, भिन्न हुने स्वाभाविक मानवीय गुण–दोषको रूपमा स्विकार्नु उचित हुन्छझैं मान्छु मचाहिँ ! जन्मबाट महिला अनि तेस्रोलिंगी र समलिंगीमध्ये महिलामा रूपान्तर भएका व्यक्तिमा यो रुन्चेपिन्चे आचरण बढी देखिन्छ भन्ठान्नु गलत बुझाइ हो । पुरुष र पुरुषमा फेरिएका व्यक्ति पनि यस्तो मानसिक झन्झाबातबाट गुज्रन्छन् । अहंको तुष्टिका निम्ति संकटको समयमा आफूलाई जसोतसो उभ्याइराखे पनि मनको एउटा कुनामा स्नेह र आफ्नोपनले सुम्सुम्याइदिने मायालु हात र साथको उत्कट चाहना तिनले पनि पालिराखेका हुन्छन् ।

भावनात्मक तरलताको त्यस्तो अवस्थामा जोकोहीले सोही अपेक्षा गर्नु अस्वाभाविक पनि होइन । जीवनजगत्‌बारे वाकिफ विचारक, मोक्ष प्राप्तिको पथमा अघि सरेका योगी महात्मा, खरानी घसेर चिम्टा फट्कार्दै दस गाउँ डुल्दै कमण्डलुमा मागेको अल्प भोजनले पेट भरिहिँड्ने जोगी र धुनी जगाएर सांसारिकतादेखि निस्पृह रमाइरहेका साधुसन्तले यो कुरा नकार्न सक्छन् । अन्यथा परेका बखत मिलेको स्नेहीसाथ र सहयोग, साधारण मनुष्यको आहत चित्तमा मल्हम बनिदिन्छ । र, दुःखको घडीमा प्रेम र आत्मीयताको अपार सन्तुष्टि पाउँदा संकटसँग डटेर लड्ने हौसला मिलिरहन्छ । भलै दुःखमा साथ दिने प्रशस्त मान्छे होऊन् तर त्यतिखेर नितान्त वैयक्तिक सुविधा र सन्तोषका लागि मायालु साथ जत्तिको प्यारो सुख अर्को कदापि हुँदैन । अनि, मान्छेले एक्लै दुःख खप्न सक्दैन, त्यो विशेष बेलामा उसलाई कोही नजिकको साथ चाहिन्छ नै, चाहे पुरुष होस् वा स्त्री वा समलिंगी वा तेस्रोलिंगी !

मान्छे जातको यो मानसिकता र भावनात्मक पाटो विचित्रको छ, एक अर्थमा विस्मयकारी पनि छ । तर, संसारमा जे नहोस् त्यो कम छ ! हरेक मान्छे, आफूजस्तै मान्छे र आफू गुज्रिरहेको अवस्था सादृश्य अवस्थातर्फ जादूले खिचेजसरी तानिन्छ— एकोहोरिन्छ । वेग मारेर उड्दै असीम नभमा कावा खाइरहेको चरालाई कर्‍यापकुरुप पारेर घरको चार पर्खालभित्र थुनिदिएझैं, मलाई पनि नियतिले निसासिने वर्तमानमा कुँजाइदिएको बोध हुन्छ । भावनाका उत्ताल तरंगहरू छातीभित्र खात लगाएर, लोभी नजरले अनन्त आकाशको एक चोक्टा जेलको डन्डीबाट चियाइरहेको कैदीजस्तै पाउँछु आफूलाई !

‘अपोजिट अटय्राक्ट्स’ को सामान्य सिद्धान्त पछ्याएर यो लेख लेख्न तम्सिएको भान हुन सक्छ । तर, हिजोका चल्तीका कतिपय मान्यताहरू अहिले डेट एक्सपायर्ड दबाईजस्ता भइसके ! विषय र प्रसंगले अर्कै अर्थ नलागेमा, ठ्याक्क उस्तै नभए पनि ट्रान्ससेक्सुअल मानिस र स्वयंको मजबुरी कता कता मिलेजस्तो लागेर पो बरु यो लेख्न म तानिएँ कि !

सेक्स रिअसाइनमेन्ट सर्जरी प्रक्रियाका एकपछि अर्को, नजाने कतिऔं मेजर अप्रेसनमा ज्यान दाउमा थापेर जेनरल एनेस्थेसियाको लामो बेहोसीलाई तन सुम्पिदिने ती आँटिला योद्धाहरूलाई मेरो सत्सत् नमन ∕ अनि, लिंग फेर्ने औडाहाको जबर्जस्त आँधी छातीभित्र थुनेर अर्थाभावका कारण बलवान् समयको सारथि बन्न बाध्य वीर–वीरांगनाहरूलाई सहानुभूतियुक्त सलाम !

प्रकाशित : फाल्गुन २२, २०७७ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?