हिम्मतको गोल्डेन बुट- कोसेली - कान्तिपुर समाचार

हिम्मतको गोल्डेन बुट

जब मौनताले घाँटी अँठ्याउँछ तब बोली फुट्न सक्दैन । फुट्न नसकेको बोली आँखाबाट बग्छ– मुसलधारे । म एकदम विक्षिप्त बनें । भित्रभित्रै निथ्रुक्क भिजें । आफूले आफैंलाई सम्झाउन पनि सकिनँ । हिक्कहिक्क गर्दै हिँडिरहेँ ।
सविता आचार्य

त्यस दिन आफूलाई सतत् कमजोर ठानेर चुपचाप बसेँ । डरले मरिचझैं चाउरिएँ ।

मेरा आँखाबाट आँसु पनि बग्न सकेन । विक्षिप्त थिएँ ।

भित्रभित्रै हजारौं टुक्रामा चोइटिएको महसुस गरेँ ।

तर, १० वर्षपछिको त्यस्तै अर्को घटनामा हिम्मतको गोल्डेन बुट आफैंलाई पहिर्‍याएँ १ कहाँबाट आयो शक्ति जान्दिनँ । तर, आयो १

१० वर्षअगाडि आफूलाई त्यसरी विक्षिप्त र असहाय ठानेकी त्यही केटीले १० वर्षपछिको उस्तै घटनामा बलियो भएर हिम्मत देखाई ।

प्रस्तुत छ, एउटा डरको कथा र अर्को हिम्मतको कथा ।

डरको कथा

त्यस दिन म बर्दियामा रहेकी ठुल्दीको घरबाट नेपालगन्ज जाँदै थिएँ । बर्दियाबाट नेपालगन्जसम्मको यात्रा मेरा लागि पहिलो थियो, त्यो पनि एक्लै । कोहलपुरबाट नेपालगन्जको बस चढ्नुपर्ने ! प्रतीक्षालयजस्तो एउटो टहरोमा उभिएकी थिएँ । बस्न त के हेर्न पनि घिनलाग्ने त्यो टहरो पान र गुट्खाले ‘रक्ताम्य’ थियो । टहरोले अरू केही नगरे पनि गर्मी छेकिदिने दुस्साहस गर्दो थियो । नेपालगन्जको गर्मी त ‘वर्ल्ड फेमस’ गर्मी न हो १ लाग्थ्यो, आकाशबाट आगोको मुस्लो आइरहेको थियो ।

केही परबाट एउटा बस आउँदै थियो, पेन्गुइनझैं ढल्किँदै । ढोकामा जादूगर तरिकाले झुन्डिएको देखिन्थ्यो सहचालक भाइ । नजिक आएपछि देखें ऊ सावालो वर्णको थियो । ‘धम्बोजी भन्साआआआर...आउनूउउस्’ भन्दै चिच्याइरहेको थियो । उसको बोली यस्तो थियो, लाग्थ्यो, राम हेर्न

जाँदा कसैले आफ्नो दोकानको जुलेबी खान आउनूस् भन्दै चिच्याइरहेछ ।

बस मछेऊ आएर ढसमस्स रोकियो ।

‘रेडस्किन’ लेखेको नीलो टोपी पछाडि फर्काएर लगाएको, कालो–खैरो लेघ्राले कब्जा गरेको जिनको पाइन्ट लगाएको थियो खलासी भाइले । बसबाट ओर्लेर ऊ मुसुक्क हाँस्यो । अनि ‘आउनूस् दिदी’ भन्यो । अनि, म पनि मुसुक्क हाँस्दै

खुसुक्क बसभित्र छिरें । एकछिन बसबाट ओर्लने र चढ्नेको लडाइँ चल्यो ।

तेस्रो लहरमा गल्लीपट्टिको खाली सिट पाएर टुसुक्क त्यही बसें । बेजोड गर्मी । त्यहीमाथि भीडभाड । यात्रा बडो मुस्किलको थियो । मेरो बुबाको भन्दा अझ धेरै उमेरका वृद्ध मेरो छेउमा थिए । मतिर हेरेर उनी मुस्कुराए । हँसिलो मुहारले उनीसँग कुरा गर्न सजिलो भयो मलाई । त्यसैले फ्याट्टै सोधें, ‘होटल वाटिका कति टाढा छ यहाँबाट ?’ उनले हाँसेरै भने, ‘म भन्सारसम्म जानी हो, होटल आएपछि मैले भनम्ला ।’ म ढुक्क भएँ । किनभने, साथीले ‘वाटिका होटलनिर ओर्लिनू, म त्यहीं लिन आउँछु’ भनेकी थिई । ऊ भेरी एफएममा काम गर्थी । उसैलाई भेट्न र नेपालगन्ज घुम्न भनेर गएकी थिएँ ।

बस खचाखच भरिइसकेको थियो । मेरो ठ्याक्क पछाडि कोही मान्छे उभिएको थियो । बस हिँडेको लगभग पाँच सात मिनेटपछि मेरो ढाडमा केही कुराले छोइरहेको अनुभव गरेँ । केही कुराले घोचिरहेको थियो ।

कलेज जाने समय भएकाले पनि सायद खचाखच भीड भएको हुन सक्छ– ठेलमठेल । घरी अगाडिबाट म बसेको ठाउँमा मान्छे ठोक्किन आउँथे त घरी पछाडिबाट । त्यो बेलाको भीडले भने अलि फरक महसुस भइरहेको थियो । भीडकै बीच आफ्नै कुममाथि टाउको राखेर कर्के आँखाले हेरो । मेरो पछाडि उभिने मान्छे एउटा युवक रहेछ ।

लोकल बसको सानो सिट, त्यसमाथि जो मसँग सिटमा थिए उनको ज्यान अलि ठूलै थियो । म खुम्चिएर बसेकी थिएँ । मेरो एउटा खुट्टा बसको गल्लीमा थियो भने अर्को भित्रपट्टि । मलाई बस्न पनि सकस भइरहेको थियो । त्यसमाथि मेरो पछाडि उभिएको केटा ∕ उफ ∕ उसको कुरा के गर्नॅ ।

ऊ यसरी उभिएको थियो, उसको आधा शरीर मैमाथि टपक्कै टाँसिएको थियो !

गल्लीतिर भएको मेरो खुट्टा र आधा ढाडलाई बीचमा पारेर ऊ उभिएको थियो । मलाई सुरुमा त बस यस्तो भीड छ कता जाओस् त्यो बिचरा, जस्तो लाग्यो । अझ, उसलाई सजिलो होस् भनेर झन् खुम्चिरहेकी थिएँ । तर, ऊ त सजिलो गरी बस्नुको सट्टा झन्झन् मलाई असहज बनाइरहेको थियो । ऊ आफ्नो शरीर मेरो शरीरमा छुवाएर तलमाथि तलमाथि गर्दै थियो । मलाई थाहा थिएन ऊ किन त्यस्तो गर्दै छ । उसको हर्कतले मलाई भने एकदमै गाह्रो भइरहेको थियो । म फेरि, थोरै सरेजस्तो गर्थें । तर, ऊ फेरि त्यसरी नै टाँसिएर पहिलेजस्तै गर्न थाल्थ्यो । केहीबेर यस्तै गरेपछि म निस्सासिन थालें ।

मलाई केही कुराले बेस्सरी घोचिरहेको थियो, छोइरहेको थियो ।

त्यसपछि बल्ल मलाई महसुस हुन थाल्यो कि, ममाथि गलत हुँदै छ । किनभने मलाई एकदम असहज लागिरहेको थियो । त्यो केटाले जे गरिरहेको छ मेरो शरीरमा, त्यो ठीक होइन भन्ने लाग्यो । किनकि, उसको यौनांग मेरो ढाडमा सलबलाएको मलाई प्रस्ट भइसकेको थियो । मैले उसलाई केही भन्न पनि सकिनँ । न त कसैले ‘यो नानीलाई के गरेको’ भनेर हप्काएको नै सुनें । उसले निस्फिक्री आफ्नो हर्कत गरिरह्यो । मेरो मुखबाट एक शब्द पनि निस्केन । डरले मेरो शरीर पूरै तातो भयो, चिडचिडाहट भयो, उसको त्यो व्यवहारले मनमनै चिच्याएँ । तर अहँ, मेरो मुखबाट एक शब्द पनि निस्किन सकेन । म चिच्याइरहें । रोइरहें । तर, चुपचाप !

अचानक मेरो ढाडमा केही चिसो भएझैं लाग्यो । हात बढाएँ । छामें । त्यो चिप्लो थियो । त्यसपछि, एकदम आत्तिएँ । मलाई उकुसमुकुस भयो । हुलुक्क भयो । यताउता हेरें तर आँखा तिर्मिरायो । केही देखिनँ । त्यत्तिकैमा हँसिलो सहचालक भाइले ‘धम्बोजी, धम्बोजी’ भनेको सुनें । अनि बस रोकियो । हातमा भएको नोट उसलाई थमाएँ । अनि, जुरुक्क उठें र बसबाट ओर्लें । मुखमा आएको अमिलो पानी थुकें । टाउको समाएर थचक्कै बसें । घुँडामा मुख लुकाएर रुन थालें । एक जना दिदी नजिकै आएर, ‘बैनी के भयो ?’ भनेर बोलाइन् । म जुरुक्क उठें र केही नबोली सरासर हिँडें ।

मलाई आफ्नो शरीर देखेर साह्रै घिन लागिरहेको थियो । मेरो गल्ती नहुँदानहुँदै पनि मैले आफूलाई नै कोसीरहें ।

जब मौनताले घाँटी अँठ्याउँछ तब बोली फुट्न सक्दैन । फुट्न नसकेको बोली आँखाबाट बग्छ– मुसलधारे । म एकदम विक्षिप्त बनें । भित्रभित्रै निथ्रुक्क भिजें । आफूले आफैंलाई सम्झाउन पनि सकिनँ ।

हिक्कहिक्क गर्दै हिँडिरहें ।

हिम्मतको कथा

काठमाडौंमा बिमस्टेक सम्मेलनको चटारो थियो । सवारीसाधन व्यवस्थित गर्नका लागि उपत्यका ट्राफिक प्रहरीले जोरबिजोर नियम लगाएको थियो । बिजोर सवारीसाधन चल्ने दिन थियो, मेरो स्कुटर जोर । चलाउन मिलेन । त्यसैले, त्यो दिन म सार्वजनिक बसमै अफिस आएर साँझ फर्किंदै थिएँ ।

अफिसबाट निस्केर तीन जना साथीहरू नख्खु दोबाटोमा गाडी पर्खियौं । साँझ पर्दै थियो । केहीबेरमा सातदोबाटोतिरबाट साझा बस आयो, चढेँ । बसमा एउटा सिट मात्रै रित्तो थियो । भएको त्यही एउटा सिटमा दुई साथीलाई बस्न पठाएर म अगाडि गएँ । अनि चालकको पछाडि उभिएँ ।

आजभोलि बसमा उभिएर यात्रा गर्नॅपर्दा दुवै हात अलि फराकिलो पारेर राख्ने गरेकी छु । त्यो दिन एउटा हातले बसको डन्डी र अर्को हातले ब्याग समातेर हात फराकिलो पारें अनि सजिलो गरी उभिएँ । नख्खुदोबाटो पछिको स्टेसन पुगेपछि बस रोकियो । एक हुल मानिस बसमा चढे । बस्नका लागि सिट त थिएन तर ठूलो साझा बसमा उभिने ठाउँ प्रशस्त थियो । कोही कता कोही कता छरिएर उभिए क्यारे !

म उभिएको ठाउँनजिकै मेरो बुबाको उमेरको मान्छे उभिएको थियो । ऊ सेतो वस्त्रमा थियो । सायद बरखीमा थियो । मैले पछाडि फर्केर हेर्दा उसको आँखा मतिरै थिए । हुन पनि पछाडिको मान्छेले हेर्ने अगाडि नै हो । म उसलाई हेरेर मुसुक्क हाँसें, जवाफमा ऊ पनि हाँस्यो ।

बस जाममा ढल्किँदै घस्रिरहेको थियो । हामी बल्खु चोक पुग्यौं । बल्खु चोक पुग्दासम्म मेरो पछाडि भएको त्यो व्यक्ति मनजिक आइसकेको थियो । नजिक पनि यति नजिक कि मलाई नेपालगन्ज घटना याद आउन थाल्यो । दिमाग चर्चरिन थालिसकेको थियो । तर, केहीबेर नबोली बसें । नेपालगन्ज घटना झन् पछि झन् ताजाताजा हुन थाल्यो । यसको मतलब म फेरि दुर्व्यवहारमा पर्न लागेको चाल पाइहालें । रिसको पारा चढिहाल्यो । १० वर्षअगाडिको त्यो घटनाले मलाई एक्कासि विचलित पनि बनायो, त्यो बेलाको रिस फेर्न नपाएको झोंकले म असिनपसिन पनि भएँ ।

मेरा दुवै हात यू आकारको पोजिसनमा थिए । मैले बसको डन्डी समातेको हात बिस्तारै छुटाएँ । आँखा चिम्लिएँ अनि दुवै हातले मलाई मन नपरेको हर्कत गर्ने त्यो वृद्धलाई सकेको बल लगाएर भ्वाक्क हानें । लामो सास तानें । बसमा सन्नाटा छायो । सबैले मतिर हेरे, मचाहिँ पछाडि फर्किएँ । बूढो उछिट्टिएर भुइँमा लडेको थियो । बूढालाई चोरऔंला देखाएर म बेस्सरी चिच्याएँ, ‘लाज लाग्दैन बूढा ? तेरो छोरीलाई यस्तै हर्कत गर्न सक्छस् ?’ ‘के भयो बैनी’ भन्ने आवाज आउन थाल्यो । उचो स्वरमा फेरि कराएँ, ‘मलाई होइन त्यो बूढालाई सोध्नूस् के भयो भन्ने !!’ फेरि सन्नाटा छायो । भुइँमा लडेको त्यो बूढो अँध्यारो अनुहार बनाएर हतारहतार ढोकानिर गएर उभियो । बसमा हल्लाखल्ला सुनेपछि चालकले बस स्लो गरे । त्यही मौकामा बूढो बसबाट फुत्त झर्‍यो । अनि खोइ कता बिलायो ।

केहीबेरमा घर पुगें । अनि १० वर्षअगाडि र आज घटेको घटना दुवै एकसाथ सम्झिएँ । आजको घटनामा मैले आफैंलाई गाली गर्नुपर्ने अवस्था थिएन । सम्झेर आनन्द आयो । १० वर्षमा बल्ल आफूमा आएको परिवर्तन र प्रतिकार गर्न सक्ने क्षमता देखेर मनमनै मुस्कुराएँ । हिम्मतको गोल्डेन बुट आफैंलाई पहिर्‍याएँ ।

कहिले थाहा पाईपाई यौनदुर्व्यवहार भोगें त कहिले योबारे नजानेर । कहिले, प्रतिकार गर्नॅपर्छ भन्ने जान्दाजान्दै प्रतिकार गर्न सकिनँ । कहिले नजानेर प्रतिकार गरिनँ । प्रतिकार गर्नका लागि हामी दुर्व्यवहार गर्ने व्यक्तिजस्तै आक्रामक हुनुपर्छजस्तो लाग्दैन मलाई । तत्काल प्रतिक्रिया नजनाएर पनि उसलाई सबक सिकाउन अवश्य सकिन्छ, जसरी मैले त्यो वृद्धलाई सिकाएँ, जसले धर्म कमाउन आमा या बुबाको बरखी बारेर शरीरमा सेतो लुगा लगाएको छ तर मनमा कालो बोकेर बसेको छ । मलाई लाग्छ, उसले थाहा पायो होला मैले किन उसलाई मेरा दुइटा कुइनाको आडमा बसभरिका मान्छेको अगाडि भुइँमा पछारें भन्ने कुरा । तर, यति गर्ने हिम्मत जुटाउन मलाई यत्तिका वर्ष लाग्यो । नेपालगन्जमा भोगेको दुर्व्यवहार सम्झेर म अहिले पनि आफूलाई सम्हाल्न सक्दिनँ । अहिले लेख्दै गर्दा पनि मेरा हात काँपिरहेका छन् । मुटुको धड्कन तेज भएको छ । त्यस्ता दुर्व्यवहार नराम्रोसँग मुटुमा खिल बनेर बसिरहन्छ, दुखाइरहन्छ । बारम्बार झस्काइरहन्छ । तर, उत्तिखेरै साझा बसमा मैले गरेको प्रतिकार सम्झँदा त्यो पीडा बिर्सेर आफैंले आफैंलाई धाप मार्छु ।

जब जब म यस्ता अकल्पनीय दुर्व्यवहारबारे घोत्लिन्छु, लाग्छ– म र मजस्ता धेरैलाई दुर्व्यवहार गर्ने त्यो वृद्ध पनि झस्कन्छ होला कि झस्कँदैनन् होला बेला–बेला ?

के उनीहरू पनि त्यो घटना सम्झेर मजस्तै बेला–बेलामा विचलित हुन्छन् होला कि हुँदैनन् होला ?

के उनीहरूलाई कहिल्यै मैले गल्ती गरें भन्ने महसुस हुन्छ होला कि हुँदैन होला ?

प्रकाशित : फाल्गुन २२, २०७७ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्

सुश्री आमा सुन्दरी

अभय श्रेष्ठ

१.मैले आफ्नो सौन्दर्यमा त्यतिखेरै पाएकी हुँ निखारजब गुराँसजस्तो निख्खर मेरो प्रेमको नासोसंगीत भएर ओर्लियो सुनौलो धरतीमा ।

उसले मच्चाएको थियो

एउटा खतरनाक भूकम्प मेरो शरीरभित्र

जब धरती चिहाउन गरिरहेको थियो ऊ संघर्ष

निस्कँदा निमेषभर ऊ शान्त थियो ध्यानमग्न बुद्धजस्तै

र, छिनमै उसले मच्चाएको कोकोहोलो

कुनै निपुण संगीतकारले दिएको

संगीतजस्तै सुमधुर थियो ।

ऊ जन्मिएपछि नै

नित्य उसकै आँखामा हेर्न थालेकी हुँ

मैले आफ्नो अनुहार ।

फक्रेको सूर्यमुखीझैं

मैले आफूलाई संसार सुन्दरी पाएको

त्यतिखेरै हो

जब सम्पूर्ण फूलबारीझैं

भएँ म सम्पूर्ण नारी ।

२.

केवल एउटा ताज पहिरिँदा

अर्बौं मानिसहरुले भन्न थाले मलाई

संसार–सुन्दरी

तिनीहरुलाई थाहा थिएन–

धेरैअघि नै म भइसकेकी थिएँ

सम्पूर्ण सुन्दरी

जसको सामु यो ताज थियो निष्तेज–निष्तेज ।

जब खोलिदिएँ

मैले एउटा शान्त र सुन्दर सत्य

कि म गर्वोन्नत आमा हुँ

संसार आश्चर्यचकित भयो तब

मानौं भर्खरै एउटा महाभूकम्प गयो

बलात्कार माफ र प्रेम पाप हुने

यो झिलीमिली अन्धकारमा

मुनाफाखोरहरू एक्कासि राख्न थाले पुर्पुरोमा हात

बन्द भयो प्रेम र बलात्कारबीच भेदहरुजस्तो

निरन्तर गुन्जिरहेको संगीत

मानौं यो संसार एउटा भव्य चिहानघारी हो

जहाँ ज्युँदा आवाजहरूको हुन्छ अन्त्येष्टि

र, एक्कासि खोसियो

संसार–सुन्दरीको मेरो ताज ।

सृष्टिको बगैंचामा एउटा अर्को फूल फुलेको

खबर दिँदा

विश्व–सुन्दरीबाट एकाएक

म कसरी कुरुप भएँ, महाजन ?

वसन्तको बतासमा झुल्ने हरियालीजस्तो

यो मुलायम मातृत्वको मूल्यमा

त्याग्न सक्छु म संसारको जुनसुकै ताज ।

म नदीझैं बगूँ वा पहराझैं गीत गाऊँ

म चराझैं उडूँ वा आफ्नै रफ्तारमा दौडूँ

म अप्सराझैं नाचूँ वा भिक्षुणी भई बाँचूँ

म कसैलाई प्यार गरुँ वा अस्वीकार गरुँ

म कसैसँग सुतूँ वा उसैसँग उठूँ

म अक्षत कन्या बसूँ वा अविवाहित आमा बनूँ

हो, मेरै मर्जी

मनमग्न छु,

म स्वाधीन छु ।

३.

आन्दोलनमा उठ्ने ज्युँदा हातहरुजस्तो

मेरो मातृत्व यदि कसुर हो भने

संसारमा जुनसुकै कुनाका

जुनसुकै प्राणी किन ओर्लिन्छन् धरतीमा

आमाकै देह र चित्तको अंश भएर ?

एकपल्ट आमाको आँखाको ऐनामा

आफ्नै आँखालाई नियालेर हेर !

हेर, अझै राम्ररी हेर !

मुहारका अवयवलाई हेर

प्याजजस्तो मनको पत्रपत्र केलाएर

चेतनाका आँखाले हेर

बैंसको लहरमा बगिरहेको देहको वासनालाई

एकछिन बिसाएर हेर

पातमा हरियाली मिसिएझैं

तिम्रो देह र चित्तको कुन–कुनामा

मिसिएको छैन आमाको अंश ?

बायाँतिर छातीको ढुकढुकीलाई

स्पर्श गरेर हेर

देहका हरेक अंगलाई हृदयका आँखाले

नियालेर हेर ।

(मिस वर्ल्ड–१९७४ हेलेन मोर्गनको जीवन–प्रसंगबाट प्रेरित, जसको ताज अविवाहित आमा भएको खुलेपछि खोसिएको थियो ।)

प्रकाशित : फाल्गुन २२, २०७७ १३:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×