पुनर्विवाहमा किन प्रश्‍न ?

एकल महिलाको निरीक्षण र परीक्षणमा समाज किन बारम्बार उत्रिन्छ ? यो समाजले कुनै एकल पुरुषको चारित्रिक प्रमाणपत्रको खोजतलास कहिल्यै गरेको छ ?
प्रमिला रिमाल

सुरक्षा दिदी र म एउटा विवाहको उत्सवमा गएका थियौँ । दिदी बिहे भएको एक वर्षमै श्रीमान्बाट अलग्गिएर बस्नुभएको दशक पुग्न लाग्यो । शैक्षिक–यात्रा सकेपछि राम्रो जागिरका साथ सामाजिक क्षेत्रमा निकै सक्रिय दिदी मिजासिली हुनुहुन्छ । अझ मेरो त बेस्टफ्रेन्डजस्तै हुनुहुन्छ । उहाँलाई देख्दा मलाई खुब आत्मविश्वास जाग्छ । 

पुनर्विवाहमा किन प्रश्‍न ?

विवाह उत्सव चल्दै थियो । भीडबाट एउटा अपरिचित आवाज आयो, ‘सुरक्षा, के छ खबर ?’

दिदीको उज्यालो अनुहारले भन्दै थियो– पक्कै कोही घनिष्ठ मित्र हुनुपर्छ ।

‘ओहो मेरो सब ठिकठाक छ । तिमीचाहिँ १२ वर्षपछि पनि उस्तै छौ त !’

‘तिमी पनि त झन् राम्री भैछ्यौ नि !,’ ठट्टामा दिदीले मिठो मुस्कान थपेर ‘फेरि उही..’ भन्दै हाँसिदिनुभयो । माहोल रोमाञ्चक बनिदियो ।

घर फर्कंदा मैले कौतुहल रोक्न नसकेर सोधिहालें, ‘दिदी को हुन् उनी ?’

‘मेरो स्कुलदेखिको आत्मीय मित्र ।’

दिदीको जवाफमा छुट्टै खुसी थियो । त्योभन्दा अगाडि दिदीलाई त्यसरी खुलेर हाँसेको कहिल्यै देखेकी थिइनँ । मौकामा भनिहालेँ, ‘के छ त दिदी विचार ? भिनाजु बनाउने त ?’ मैले पहिलेदेखि नै चाहेर पनि दिन नसकेको सुझावका लागि मुख खोल्ने मौका मिलिहाल्यो !

केहीबेरको सन्नाटापछि दिदीले लामो सुस्केरा हाल्नुभयो,‘३५ हुन लागो । अब कुन नयाँ जीवनको आशा राख्नु ? फेरि तिमीले सोचेजस्तो असल कहाँ छ र समाज ? निर्दयी छ नि !’ दिदीको पीडा म बुझ्थें । त्यो रात दिदीकै कुरा मनमा खेल्यो ! मध्यरातसम्म सुत्न सकिनँ ।

‘वर्षौं वर्ष बिते व्यर्थ प्रतीक्षामा जिईजिई

सुकुमार पला सारा बलिदान दिईदिई

यात्री त्यो भेटियो क्यारे यस मोहन मूर्तिमा

बैंसको आज सञ्चार अधबैंसे उमेरमा’

अलि पहिले पढेको अर्धनारिश्वर कविताको यो हरफको सार्थकता यतिखेर बल्ल बुझ्दै छु । के एउटी महिलालाई पुनर्विवाह यति गह्रुँगो नै छ त ? के उमेरले सम्बन्धको खुसीलाई रोक्छ ? के समाजले दिदीको यति खुसी पनि स्वीकार गर्न सक्दैन ? पुरुषहरूको पुनर्विवाह त निर्बाध चलिरहेकै छ त ! भोलिपल्ट बिहानै दिदीबहिनी सँगै निस्कियौँ । बूढानीलकण्ठबाट चाबहिल पुग्दा मैले एउटा अठोट गरेँ– जेजस्तो परिस्थिति आए पनि दिदीको लागि भिनाजु खोज्छु खोज्छु ! दिनभरि काम गरेर साँझ घर पुगेपछि कफी पिउनै लागेकी थिएँ, ममीले अचानक सोध्नुभयो, ‘तँ र सुरक्षा हिजो कोसँग मस्कीमस्की कुरा गर्दै थियौ रे नि ?’

‘दिदीको मिल्ने साथी । १२ वर्षपछि भेट भएको, अलिअलि हाँसिमजाक त भैहाल्यो नि । त्यही त हो ।’

‘त्यति मात्र ? मैले त के–के पो सुनेको थिएँ ।’

‘लौ केके सुन्नुभयो हजुरले ?’

‘खै, सुरक्षाको केटा रहेछ क्यारे, खुब मस्कीमस्की कुरा गरिथी ! एक्लै बस्छे, संस्थामा काम गर्छॅ भन्छे, हाम्री सानी पनि उसकै पछि लागेर हिँड्ने भा’की छ, होस् गर्नॅस् है दिदी भन्दैथे ।’ मलाई झनक्कै रिस उठ्यो । भनिहालें, “सँगसँगै उभिएको मेरा आँखा–कान खुलै थिए । मैले त त्यस्तो केही थाहा पाइनँ ! सुन्ने पनि आफैं, सुनिएका शब्द पनि आफ्नै । क्या गजबको समाज छ हाम्रो !’ ममीले नियाली मात्र रहनुभयो । मैले थपें, ‘भनेपछि हल्ला राम्रैसँग फैलिएछ हैन त ?’ उहाँले कुनै जवाफ दिनुभएन । सुरक्षा दिदीको हिजोको उदासीको अर्थ त यो पो रहेछ ! उहाँको ठाउँमा कुनै पुरुष भएको भए यस्ता कुरा चर्चाको विषय नै बन्दैनथे । एउटी एकल नारीको निन्दा गर्न अन्य कैयौं नारी एकताबद्ध भएछन् !

आखिर महिलाहरू कहिलेसम्म यसरी परस्पर अर्की महिलाको दुश्मनी गरिरहलान् ? एउटी महिलाले अन्य महिलासँगै यति धेरै संघर्ष किन गर्नुपर्छ ? एकल महिलाको निरीक्षण र परीक्षणमा यो समाज किन बारम्बार उत्रिन्छ ? यो समाजले कुनै एकल पुरुषको चारित्रिक प्रमाणपत्रको खोजतलास कहिल्यै गरेको छ ? एउटी स्वतन्त्र बालिग महिलाले एक्लै कहीँ जान–आउन पनि इजाजतपत्र बोकेर हिँड्नुपर्ने ? स्त्रीद्वेषी सामाजिक संरचनाले बोकाएको विभेदको आयु अझै कति लम्बिएला ?

यस्तो भयानक विरोधाभाषको आयु अनादिकालदेखि निरन्तर लम्बिँदै छ । नारीकै पूजा हुने पूर्वीय समाजमा वैदिक– पौराणिक कालयताका कथाहरू मात्रै केलाउँदा पनि यस्तो कुरीतिको म्याद गुज्रिने मिति नआई युगौंयुग बितिसकेको प्रतीत हुन्छ । रामायणकालीन युगका प्रमुख पात्र रामलाई नै एउटा सामाजिक धरातलमा उभ्याएर हेरौँ ।

आजको समाजमा रामलाई आदर्श पुरुष मान्ने जनसमूह ठूलै छ । यदि रामराज्यमा नारीको सम्मान थियो भने सीताले पटकपटक चरित्रको प्रमाण दिइरहनु पर्दैनथ्यो । पुरुष अहंकारको सिकार हुँदै बलपूर्वक एक्लिनुपरेको समय सकिएपछि पनि समाजले ‘शुद्धता’ को सबुतप्रमाण मागेको जवाफस्वरूप धरतीमा अलप हुनुपर्ने थिएन उनलाई । आफ्नो स्वतन्त्र अस्तित्वमाथि प्रश्न उठाउने त्यसबेलाको अति पुरुषप्रधान समाजसँग गर्नुपरेको उच्चतम् विद्रोह थियो त्यो ।

रावणबाट अपहरित भएपछि सीताले एक्लै बिताएको कहालीलाग्दो अवधिमा राम पनि एक्लै थिए । त्यसबेलाको रामराज्यमा रमाएको समाजले जसरी उनको चरित्रको प्रमाण खोजेन, त्यस्तै दुनियाँबाट परिक्षित हुन लामबद्ध सीताहरू हौं हामी । हामी बाँचेको यो समय र समकालीन समाजको कुन सौन्दर्यलाई मानवीय मान्ने ? यही एउटा प्रश्नको ऐनामा नारी–पुरुष सबैले आ–आफ्नो अनुहार नियाल्ने हिम्मत नगर्दा आज कैयौं सुरक्षा दिदीहरूले इच्छा–आकांक्षा दबाएर कुरीतिसँग आत्मसमर्पण गर्दै बाँच्नुपरेको छ ।

मनमा आँधीबेहेरीझैं विचारका अनेक ज्वारभाटा मडारिइरहेको थियो । ल्यापटप खोलेर सोसल मिडियाका न्युज फिड हेर्न थालें । एउटा गसिपले खुब ठाउँ पाइरहेको रहेछ । विषय थियो– नायिका श्वेता खड्काको विवाह । त्यसमाथि धेरैजसोका प्रतिक्रिया सकारात्मक नै थिए, जसले उनको जस्तै जीवन भोगेका जोकसैलाई पनि प्रेरित गर्थ्यो । तर, कतिपय टीकाटिप्पणी निकै निराश पार्ने खालका थिए ।

एक सफल व्यक्ति, सफल अभिनेत्री, महिला उद्यमी र समाजसेवी, जसले जीवनमा निभेको खुसीको दियो फेरि बाल्न चाहिन्, त्यसलाई उनको जन्मसिद्ध अधिकारका रूपमा स्विकार्ने संस्कारका लागि अझ अनेकौं श्वेता निन्दित हुन अभिषप्त छन् । जीवनमा लामो निसास, निराशा र पीडापछि आत्मबल लिएर उठ्दै गरेकी एक्ली नारीमाथि निन्दाका पत्थरहरू बर्साउनेहरूलाई मानव जातिको कुन कोटिमा राख्नु ?

मैले फेरि पनि सुरक्षा दिदीलाई सम्झिएँ । विवाह र मातृत्वपछि जीवनसाथी वियोगको शोकलाई दबाएर उठ्दै गर्दा यस्ता सारा कुरीतिको पहाडले ङ्याकिँदै गरेकी आफैंलाई नियालें । अब भने मैले सहन सकिनँ । मभित्रको एउटी सशक्त नारी पात्रले विद्रोह बोल्ने अठोट गरी । त्यसैको आडमा आज यी प्रश्न उठाइरहेकी हुँ । परिपक्व उमेरमा विवाह हुँदै गर्दा कसैले पनि यो सोचेको हुँदैन कि दोस्रोपटक विवाह गर्नॅपर्ला ! हाम्रो समाज र परिवेशमा एउटा सम्बन्धको उतारचढावपछि पुनः त्यस्तै अर्को सम्बन्धमा जोडिनु सहज छैन ।

धेरै प्रतिकूल परिस्थितिसँग जुध्दै निकै ठूलो हिम्मत र आँट बटुलेर अरूहरूको अनुमतिमा आधारित ‘अनुकूलता’ पर्खनुपर्छ । त्यस्तो निर्णयमा पुग्नु नै भयानक युद्ध जित्नुसरह दुःसाध्य परिणाम ठान्न विवश प्राणीको पहिचान हो– नेपाली एकल महिला । श्वेता खड्कात प्रतिनिधिपात्र मात्रै हुन्, जसका हजारौं प्रतिरूपहरू अझै पनि एक्लो जीवनको अँध्यारो छायामा उज्यालो कुरिरहेका छन् । त्यस्ता सुपरिचित पात्रलाई त आफ्नो जीवनको गन्तव्य आफैं निर्धारण गर्दा अनेकौं चुनौतीबाट गुज्रनुपर्‍यो भने साधारण महिलाको जीवनमा यो संघर्ष कति पीडादायी होला ?अनुमान लगाउँदा पनि फतक्कै गलिन्छ ।

एउटा अबोध बच्चाका लागि आमा मरेपछि बाबुले उही घरमा अर्की आमालाई स्वागत गर्नु सामान्य ठहरिने अर्थात् जीवन गुमाएकी एउटी नारीलाई अर्की नारीले प्रतिस्थापन गर्न मिलिरहेको छ । तर, उही बच्चाले बाबु गुमाएमा तिनकी आमाले गुमेको पुरुषको ठाउँमा अर्को पुरुषलाई स्वागत गर्न किन नमिल्ने ? हाम्रो समाजले नारी–पुरुषबीचको भेदभाव जन्मजात उपहारकै रूपमा दिँदै आयो । तर, यी दुई विपरीतलिंगका मानवबीच मरणमा पनि किन यस्तो विभेद ?

छोरा ‘विधुर’ हुनेबित्तिकै अर्की बुहारीको आशा गर्ने आमा–बाबुलाई बुहारी ‘विधवा’ हुँदा उनलाई एक्लिएकी आफ्नी छोरीसरह ठानेर स्वतन्त्र निर्णय लिन रोक्ने कुरीतिको फल हो– तमाम एकल महिलामाथिको अपमान । यसको एक्सपाइरी डेट अर्थात् म्याद गुज्रिने समय किन कहिल्यै आउँदैन ? हरिवंश आचार्य, कृष्ण धरावासीलगायतका पुरुषले गरेको पुनर्विवाहमा जुन परिमाणमा बधाईको वर्षा भयो, लोकपरिचय बनाएका कुनै महिलाले उस्तै कदम चाले त्योभन्दा बढी प्रश्नहरूको ओइरो लाग्छ । सम्झँदा यस्तो लाग्छ– मानौं, महिलालाई पुनर्विवाह वर्जित गर्ने कानुन ती प्रश्नकर्ताको जिब्रोमा लेखिएको छ !

मानवतामाथि सदावहार चुनौती बनेको यो उपक्रम बदल्ने पहिलो जिम्मेवारी कसको त ? हरेक घरका शिक्षित छोरीहरूको । किनभने छिमेककी कुनै एकल महिलाका विषयमा हरेक घरका आमाले नकारात्मक टिप्पणी गरिरहँदा कुनै छोरीले ‘यो गलत हो आमा’ भनेर सम्झाएको मैले कमै देखेकी छु । बरू उल्टै आफैँले थपथाप गर्ने र आमालाई उकेरा लगाईलगाई अझ अप्रिय टिप्पणी सुन्न चाहने छोरीहरू प्रशस्त भेटेकी छु ।

झन् बढी निराशा त्यतिबेला लाग्छ, जब विश्वविद्यालयसम्म पुगेर पढेलेखेका छोरीहरू नै आफ्नो बुझाइको क्षितिजलाई खुम्च्याएर आमाहरूकै बोलीमा लोली मिलाउँछन् । युग जतिसुकै आधुनिक हुँदै गए पनि पुरातन मान्यता र संस्कारको पक्षमा वकालत गर्ने महिला जमातको आत्मघाती बल उत्तिकै जबर्जस्त भएर अस्तित्वमा छ । यो चुनौती चिन्नु र चिर्नु अहिलेको सबैभन्दा गुरुत्तर अभिभारा हो । त्यसपछि मात्र हामी पुरुष प्रभुत्ववादी सोचविरुद्ध लड्न सक्छौं ।

प्रकाशित : फाल्गुन २२, २०७७ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?