अनि डुंगा खियाउन थालें

'मेरा कोही रोलान् भन्ने छैन, कोही कराउलान् भन्ने छैन । आफू मरिहालिन्छ । मान्छेहरु रोएको/नरोएको नदेखेपछि मतलब हुने कुरा पनि भएन !'
'अहिले छालको सिजन छ । हावाहुरीको सिजन छ । झ्याप्पै छाल आयो भने के गरौं, कसो गरौं हुन्छ । अहिले बिहान–बेलुका छाक टार्न एकछिन्–एकछिन् डुंगा चलाउँछु ।'
हस्तमाया विक

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीबाट झन्डै ३ घण्टा पर खुर्कोटनजिकैबाट बगेको छ, सुनकोसी नदी । बेतोडले बगेको कोसीको छाल काट्दै माझीले डुंगा तारेको हेरेर हुर्किएँ । डुंगा चढ्ने आँट कहिल्यै आएन । १४ वर्षअघि पोखरा आएपछि पहिलोपल्ट यति ठूलो फेवाताल देखेँ । अहिले ६४ वर्षको उमेरसम्म यही तालमा डुंगा खियाइरहेछु ।

अनि डुंगा खियाउन थालें

म ५ वर्षकै छँदा बुबा बित्नुभयो । दुई भाइ पैसा कमाउन भारततिर गएका थिए । त्यतिबेला नेपालमा पैसा कमाउने कहीँ केही उपाय थिएन । दुईटै भाइ नेपाल फर्किन पाएनन् । उतै बिते । तिनीहरूलाई आफ्नो आँखाले देखिएन । के भएर बिते भन्ने पनि पत्तो भएन । दिदी १८ वर्षअघि बित्नुभयो । म आमा पालेर बसेकी थिएँ । उहाँ पनि बितिहाल्नुभयो । आमा बित्नुभएको १५ वर्ष भयो ।

बिहे गर्न सकिन्थ्यो होला तर आमालाई रुवाएर गर्न मन लागेन । छोरा भने पनि छोरी भने पनि मै थिएँ । अरू सबै सकिए । म बिहे गरेर एउटासँग जाउँला, ममाथि लोग्नेकै खटन होला मलाई खान–लाउन दुःख नहोला, तर मेरी आमालाई कसले हेर्ने ! खासमा आमालाई दुःख हुन्छ भनेर बिहे गरिनँ । मेरी आमा मेरै हातमा बित्नुभो । आमाको काजकिरिया सबै आफैं गरेँ । छोराले बोक्ने जुठो बोकेर फालेँ । एक वर्षसम्म बारेर बसेँ । आमा बितेपछि एक्लै भएँ ।

गाउँमा आमा हुँदा खेतीपाती थियो । बस्तुभाउ पालिन्थ्यो । अहिले खेती गर्न पनि छोडियो । जंगलमा गएर घाँस, दाउरा काट्नुपर्ने ! लडेर मरे पनि खोजी गर्ने मान्छे कोही नहुने ! दिनदिन बुढ्यौली लाग्दै गएपछि गाउँमा खेतीपाती गरेर खान सकिएनँ ।

दिदीकै ज्वाइँ सुन्दर विक ४० वर्षअघि पोखरा आएर डुंगा चलाउन थाल्नुभएको थियो । उहाँले दिदीका ४ छोरी, ३ छोरालाई यतै बोलाउनुभयो । ज्वाइँले डुंगा चलाएरै लेकसाइडमा घर–घडेरी जोड्नुभएको छ । दिदीका छोरीहरूले ‘खाए सँगै खाउँला, भोकै परे भोकै बसौंला’ भनेर यतै बोलाए । मलाई पनि गाउँ छोड्न मन थिएन । गाई, भैंसी, बाख्रा पालेर बसेकी थिएँ । नसक्ने भएरै यता आएँ । अझै पनि गाउँमा गए जग्गा छ । घर भूकम्पले लडाइहाल्यो । म एउटालाई गाउँमा घर बनाएर बस्न सक्दिनँ भनेर छोडे । जग्गा सबै बाँझो छ ।

पोखरा आएपछि सुरुको एक वर्ष छोरीहरूकै घरमा भान्से भएँ । ज्वाइँहरू डुंगा चलाउँथे, छोरीहरू तालकिनारमा सानोतिनो व्यापार गर्थे ! उनीहरूलाई खाना पकाएर ल्याइदिने काम मेरो थियो । तालमा आउँदाआउँदै डुंगा सिकेँ । डुंगा सिकेपछि चलाउन जानियो । त्यसपछि फेवातालमा डुंगै चलाइयो ।

त्यसबेला बाहिरबाट आएर डुंगा चलाउने महिला म मात्रै थिएँ । केही स्थानीय महिलाले त चलाउँथे नै । आफ्नो डुंगा हुनेहरू आफैँ चलाउँछन् । म साहुकै डुंगा चलाउँछु । सुरुमा दिदीको छोराछोरीकै डुंगा चलाए । उसबेला दिनमा ८–९ सय रुपैयाँ कमाइ हुन्थ्यो । चलाउन जानेपछि अरू साहुको पनि चलाएँ । कुनै बेला मन धरधरी रुँदा पनि डुंगा चलाइयो ।

आफ्नो कोही भइदिएदेखि मैले यस्तो दुःख गर्नुपर्ने थिएन होला भन्ने सोचेर पनि आँसु पनि आउँथ्यो । काम नगरी पनि भएन, खानुपरेको छ । कुनै बेला रोएर पनि डुंगा चलाइयो, कुनै बेला हाँसेर पनि डुंगा चलाइयो । बुबा–आमा भइदिएको भए ‘छोरी यतिखेर भोकाइ होली’ भन्थे होलान्, खाना लिएर आउँथे होलान् । खाना, खाजा लिएर आउने बुबा–आमा भइदिएको भए म पनि आफ्ना सबै दुःख बिर्सिन्थें होला ।

डुंगा चलाउँदा सिजनमा एकै दिनमा १५ सयसम्म कमाएको छु । अझै पनि महिला चालक देखेपछि यात्रु चढ्न डराउँछन् । महिलासँग हामी जाँदैनौं भन्छन् । यात्रुहरू पुरुष चालक नै खोज्छन् । हामीले डुंगामा चढाइसकेका मान्छे पनि महिलासँग जाँदैनौं भनेर ओर्लिन्छन् । तिनीहरू नगए अरू भेटिन्छन् भन्ने आस हुन्छ । कहिल्यै डुंगा नचढेकाहरू पहिलोपल्ट चढ्दा चालक महिला पर्‍यो भनेर झन् डराउँछन् ।

टिकट हातमा लिइसकेका हुन्छन्, डुंगामा चढिसकेका हुन्छन् । हामीलाई देखेपछि ‘महिलासँग जाँदैनौं’ भनेर टिकट फिर्ता गर्छन् । र, पुरुष खोजेर जान्छन् । महिलासँग जान्नौं भन्दा साह्रै नरमाइलो लाग्छ । कसैकसैलाई मैले भनेको पनि छु, ‘तिमीहरू केटा मान्छेले जन्माएर आएका हौ ? तिमीहरूलाई आमाले पाएको होइन, बाउले मात्रै पाएका हुन् ?’ महिलालाई विश्वास नगर्दा भित्रैदेखि मन दुःख्छ । चढाएर लैजान ठिक्क परेको मान्छे ओर्लेर अर्को डुंगा चढ्दा मन असाध्यै तीतो हुन्छ ।

यहाँ तीसौं वर्षदेखि डुंगा चलाएरै जीविका चलाएका महिला छन् । मैले डुंगा चलाउने लाइसेन्स नै बनाएको छु । यत्तिका वर्ष भयो डुंगा चलाएको तर किन्न सकिएन । डुंगाको पैसा उतिबेलै ८–९ लाख रुपैयाँ पर्थ्यो । त्यो पैसाले दाल–भात खानै ठिक्क हुन्थ्यो । अहिले त १२ लाख रुपैयाँ दिन्छुभन्दा पनि डुंगा बेच्दैनन् । अनि रुट पनि किन्नुपर्छ । रुट किन्नै ७०–८० हजार रुपैयाँ पर्छ । त्यही पनि अहिले डुंगा व्यवसायी समितिले रुट दिनै बन्द गरेको छ ।

म एक्लैलाई मरुन्जेल काम गर्नुपरेको पनि छैन । कमाएको पैसाले यसो अलिकति गरगहना जोडियो, लगाइयो । एक्लो ज्यानलाई के सोच्नुपरेको छ र ! मरिहालिएछ भने यिनै दिदीका छोराछोरीले लगेर फाल्देलान् नि ! मेरा कोही रोलान् भन्ने छैन, कोही कराउलान् भन्ने छैन । आफू मरिहालिन्छ । मान्छेहरू रोएको/नरोएको आफ्नो आँखाले नदेखेपछि मतलब हुने कुरा पनि भएन !

मेरो दाहिने खुट्टामा समस्या छ । म अपांग पनि हुँ । गाउँमै हुँदा लडेर खुट्टा यस्तो भयो । हिँड्न अप्ठेरो हुन्छ । बिरामी परेर थला परिएछ भने यही जोडेको गहना बेच्नुबाहेक अर्को उपाय छैन । रोगले भेटेन र थला परिनँ भने अझैं ५ वर्ष डुंगा चलाउँला/खाउँला ।

अहिले छालको सिजन छ । हावाहुरीको सिजन छ । झ्याप्पै छाल आयो भने के गरौं, कसो गरौं हुन्छ । अहिले बिहान–बेलुका छाक टार्न एकछिन्–एकछिन् डुंगा चलाउँछु । बाँकी समय बाराहीघाटको चौतारीमा बसेर पानी बेच्छु । पहिले–पहिले विदेशी यात्रु चढेका बेला टिप्स दिन्थे । अहिले विदेशी छैनन् । सुनसान छ फेवाताल । अहिले कोरोना महामारीले गर्दा मान्छे आउँदैनन् । व्यापार केही छैन । आयो चौतारो कुर्‍यो, फर्क्यो ! दिनमा २ सयको पनि व्यापार हुँदैन । आखिर पानी बेचेर के नै चल्छ र ! फेरि पनि चलाउने त डुंगै हो ।

(दीपक परियारसँगको कुराकानीमा आधारित)

प्रकाशित : फाल्गुन २२, २०७७ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?